सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलो शमूएलको पुस्तकका विशेषताहरू

पहिलो शमूएलको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

पहिलो शमूएलको पुस्तकका विशेषताहरू

सा.यु.पू. १११७ सालको कुरा हो। यहोशूले प्रतिज्ञा गरिएको भूमिमाथि विजय हासिल गरेको लगभग तीन सय वर्ष बितिसकेको छ। इस्राएलका बूढाप्रधानहरू यहोवाको अगमवक्‍ताकहाँ एउटा उल्लेखनीय अनुरोध लिएर आउँछन्‌। अगमवक्‍ताले यस कुरालाई प्रार्थनामा राख्छन्‌ र यहोवाले तिनीहरूको त्यो अनुरोध पूरा गरिदिनुहुन्छ। यसले न्यायकर्ताहरूको अवधि टुङ्‌गिएको र मानव राजाहरूको युग सुरु भएको स्पष्ट सङ्‌केत दिन्छ। बाइबलको पहिलो शमूएलको पुस्तकले इस्राएल राष्ट्रको इतिहासको त्यस उल्लेखनीय परिवर्तनको बेला घटेका रोचक घटनाहरूबारे बताउँछ।

शमूएल, नातान र गादद्वारा लेखिएको पहिलो शमूएलको पुस्तकले सा.यु.पू ११८० देखि १०७८ गरी जम्मा १०२ वर्षको समयावधि ढाक्छ। (१ इतिहास २९:२९) यो इस्राएलका चार नेताहरूको विवरण हो। तीमध्ये दुई जनाले न्यायकर्ता र दुई जनाले राजाको रूपमा सेवा गर्छन्‌, दुई जना यहोवाप्रति आज्ञाकारी हुन्छन्‌ र दुई जना हुँदैनन्‌। हामी दुई जना उदाहरणीय स्त्रीहरू र एक जना साहसी तर कोमल लडाकूलाई पनि भेट्‌छौं। यस्ता उदाहरणहरूले अनुकरण गर्नुपर्ने र तिरस्कार गर्नुपर्ने मनोभाव तथा कार्यहरूबारे अमूल्य पाठ सिकाउँछ। अतः पहिलो शमूएलका विवरणहरूले हाम्रो सोचाइ र कामहरूमा प्रबल असर गर्न सक्छ।—हिब्रू ४:१२.

न्यायकर्त्ताको हैसियतमा शमूएल एलीको उत्तराधिकारी बन्छन्‌

(१ शमूएल १:१–७:१७)

यो अन्‍न भित्र्याउने चाडको बेला हो, रामा निवासी हन्‍ना अत्यन्तै खुसी छिन्‌। a यहोवाले तिनको प्रार्थनाको जवाफ दिनुभएको छ र तिनले एउटा छोरा जन्माएकी छिन्‌। आफ्नो भाकल पूरा गर्न हन्‍नाले छोरा शमूएललाई “परमप्रभुको भवनमा” चढाउँछिन्‌। त्यहाँ ती केटा “पूजाहारी एलीको अधीनमा परमप्रभुको” सेवक बन्छन्‌। (१ शमूएल १:२४; २:११) शमूएल कलिलै छँदा यहोवाले एलीको घराना विरुद्ध न्यायको घोषणा गर्नुभएर शमूएलसित कुरा गर्नुहुन्छ। शमूएल हुर्कंदै जाँदा इस्राएलका सारा मानिसहरू उनलाई यहोवाको अगमवक्‍ता मान्‍न थाल्छन्‌।

अन्ततः पलिश्‍तीहरू इस्राएल विरुद्ध जाइलाग्छन्‌। तिनीहरू करारको सन्दुक कब्जा गर्छन्‌ र एलीका दुई छोराहरूलाई मार्छन्‌। यो समाचार सुनेपछि “चालीस वर्षसम्म इस्राएलका न्यायकर्ता भएका” वृद्ध एली मर्छन्‌। (१ शमूएल ४:१८) करारको सन्दुक हात पार्नु पलिश्‍तीहरूको लागि विनाशकारी साबित हुन्छ। त्यसैले तिनीहरूले त्यस करारको सन्दुक इस्राएलीहरूलाई नै फर्काइदिन्छन्‌। शमूएल अब इस्राएलको न्यायकर्ता बन्छन्‌ र देशमा शान्ति छाउँछ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

२:१०—इस्राएलमा कुनै मानव राजा नहुँदा हन्‍नाले ‘आफ्ना राजालाई शक्‍ति दिनुहोस्‌’ भनेर यहोवालाई पुकार्नुको कारण के थियो? इस्राएलीहरूको मानव राजा हुनेछ भनेर मोशाको व्यवस्थामा भविष्यवाणी गरियो। (व्यवस्था १७:१४-१८) आफ्नो मृत्युशैयामा याकूबले यस्तो भविष्यवाणी गरे: “यहूदाको हातबाट राजदण्ड [शाही आख्तियारको प्रतिक] हट्‌नेछैन।” (उत्पत्ति ४९:१०) साथै, इस्राएलीहरूको पुर्खा साराबारे यहोवाले यसो भन्‍नुभयो: “जाति जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन्‌।” (उत्पत्ति १७:१६) अतः हन्‍ना भावी राजाबारे प्रार्थना गर्दै थिइन्‌।

३:३—के शमूएल साँच्चै महा-पवित्र स्थानमा सुते? अहँ, सुतेनन्‌। शमूएल गैर-पूजाहारी कहातीहरूको परिवारका लेवी थिए। (१ इतिहास ६:३३-३८) त्यसैले “पवित्र कुराहरू हेर्न” उनलाई अनुमति थिएन। (गन्ती ४:१७-२०) शमूएल जान सक्ने पवित्रस्थानको ठाउँ वासस्थानको चोक मात्र थियो। उनी त्यहीं सुतेको हुनुपर्छ। सम्भवतः एली पनि उक्‍त चोकमा कतै सुतेका हुन सक्थे। “परमेश्‍वरको सन्दूक भएको” ठाउँ भन्‍ने अभिव्यक्‍तिले वासस्थानको इलाकालाई सङ्‌केत गर्छ भनेर प्रस्ट हुन्छ।

७:७-९, १७—यहोवाले चुन्‍नुभएको ठाउँमै नियमित रूपले बलिदान चढाउनुपर्ने भए तापनि शमूएलले किन मिस्पामा होमबलि चढाए र रामामा वेदी बनाए? (व्यवस्था १२:४-७, १३, १४; यहोशू २२:१९) शिलोमा भएको वासस्थानको पवित्र सन्दुक हटाएपछि त्यसउप्रान्त त्यहाँ यहोवाको उपस्थिति रहेन। त्यसैले यहोवाको प्रतिनिधिको हैसियतमा शमूएलले मिस्पामा होमबली चढाए र रामामा बेदी पनि बनाए। यी कार्यहरूमा यहोवाको अनुमोदन भएको देखिन्छ।

हाम्रो लागि पाठ:

१:११, १२, २१-२३; २:१९. हन्‍नाको प्रार्थनापूर्ण मनोभाव, नम्रता, यहोवाको दयाप्रतिको कृतज्ञता अनि चिरकालिन मातृ स्नेह सबै ईश्‍वरभीरु स्त्रीहरूको लागि उदाहरणीय छन्‌।

१:८. अरूलाई आफ्ना शब्दहरूले बलियो तुल्याउने सन्दर्भमा एल्कानाले कस्तो राम्रो उदाहरण बसाले! (अय्यूब १६:५) उदास हन्‍नालाई दोषी महसुस नगराउन उनले पहिले प्रश्‍न सोधे: “तिमी किन यति दुःखित छौ?” यसले हन्‍नालाई आफ्ना भावनाहरू पोखाउन सजिलो भयो। एल्कानाले हन्‍नालाई आफ्नो स्नेहबारे आश्‍वासन गराउँदै यसो भने: “के म तिम्रो निम्ति दश जना छोराहरूभन्दा पनि बढ्‌ता छैन र?”

२:२६; ३:५-८, १५, १९. परमेश्‍वरले खटाउनुभएको काममा लगनशील भई लागिरहँदा, आध्यात्मिक प्रशिक्षणहरूबाट लाभ उठाइरहँदा, अरूसित शिष्ट र आदरणीय व्यवहार देखाइरहँदा हामी परमेश्‍वर र मानिस दुवैको “प्रशंसाका पात्र” बन्छौं।

४:३, ४, १०. करारको सन्दुक जस्तो पवित्र वस्तु समेत सुरक्षाको जन्तर बन्‍न सकेन। हामी ‘मूर्तिहरूबाट जोगिनैपर्छ।’—१ यूहन्‍ना ५:२१.

इस्राएलको प्रथम राजा —सफल कि असफल?

(१ शमूएल ८:१–१५:३५)

शमूएल आफ्नो जीवनभर यहोवाप्रति विश्‍वासी हुन्छन्‌ तर उनका छोराहरू ईश्‍वरीय मार्गमा हिंड्‌दैनन्‌। इस्राएलका बुढाप्रधानहरूले एउटा मानव राजाको लागि अनुरोध गर्दा यहोवाले एक जना राजा नियुक्‍त गर्ने अनुमति दिनुहुन्छ। शमूएलले यहोवाको निर्देशन पालन गर्छन्‌ र एक सुन्दर बिन्यामिनी शाऊललाई राजा नियुक्‍त गर्छन्‌। अम्मोनीहरूलाई पराजित गरेर शाऊलले राजाको रूपमा आफ्नो स्थान बलियो बनाउँछन्‌।

शाऊलको वीर छोरा जोनाथनले पलिश्‍ती फौजलाई हराउँछन्‌। एउटा ठूलो फौज लिएर पलिश्‍तीहरू इस्राएल विरुद्ध जाइलाग्छ। शाऊल आत्तिन्छन्‌ र अनाज्ञाकारी हुँदै आफैले होमबली चढाउँछन्‌। हतियार बोक्ने केवल एक जना मानिस साथमा लिएर साहसी जोनाथनले पलिश्‍तीहरूको अर्को नाकामा आक्रमण गर्छन्‌। यद्यपि, शाऊलको हडबडे सपथले गर्दा पूर्ण विजय हासिल हुँदैन। आफ्ना सारा शत्रुहरू विरुद्ध शाऊल “चारैतिर” जान्छन्‌। (१ शमूएल १४:४७) यद्यपि, अमालेकीहरूलाई पराजित गर्ने क्रममा नाशको निम्ति “अर्पण गरिएको” कुराहरूलाई बाँकी राखेर उनले यहोवाको अनादर गर्छन्‌। (लेवी २७:२८, २९) फलस्वरूप यहोवाले शाऊललाई राजाको रूपमा इन्कार गर्नुहुन्छ।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

९:९—“हिजोआजका अगमवक्‍तालाई त्यस बेला दर्शी भन्दथिए” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? शमूएलको दिनमा अनि इस्राएलमा राजाहरूको युगको दौडान अगमवक्‍ताहरूको ख्याति बढ्‌दै जाँदा “दर्शी” भन्‍ने शब्दको ठाउँ “अगमवक्‍ता[ले]” लिएको कुरालाई यी शब्दहरूले सङ्‌केत गर्न खोजेको हुन सक्छ। अगमवक्‍ताहरूको सूचीमा शमूएललाई पहिलो मानिन्छ।—प्रेरित ३:२४.

१४:२४-३२, ४४, ४५—शाऊलको सपथको उल्लङ्‌घन गरेर मह खाएकोमा के जोनाथनले परमेश्‍वरको अनुमोदन गुमाए? यस कार्यद्वारा जोनाथनले यहोवाको अनुमोदन गुमाएको जस्तो देखिंदैन। पहिलो कुरा त, जोनाथनलाई आफ्नो बुबाको सपथबारे थाह थिएन। साथै, गलत जोस अथवा राजकीय शक्‍तिबारे गलत दृष्टिकोणले शाऊललाई यो सपथ खान उक्साएको हुन सक्छ जुन सपथले मानिसहरूलाई समस्यामा पाऱ्‍यो। यस्तो सपथमा कसरी परमेश्‍वरको अनुमोदन हुन सक्थ्यो र? सपथ तोडेकोमा जोनाथन त्यसको परिणाम भोग्न इच्छुक भए तर उनको ज्यान भने जोगाइयो।

१५:६—केनीहरूले शाऊलबाट किन विशेष निगाह पाए? केनीहरू मोशाको ससुराका छोराहरू थिए। इस्राएलीहरूले सीनै पर्वत छोडेपछि केनीहरूले तिनीहरूलाई सहायता गरे। (गन्ती १०:२९-३२) कनानको भूमिमा केही समयको लागि केनीहरू यहूदाका छोराहरूसित पनि बसेका थिए। (न्यायकर्त्ता १:१६) केनीहरू अमालेकी तथा अन्य धेरै मानिसहरूबीच बसेको भए तापनि तिनीहरूले इस्राएलीहरूसित मित्रवत व्यवहार कायम राखे। त्यसैले, शाऊलले केनीहरूलाई जीवितै राख्नुको ठोस कारण छ।

हाम्रो लागि पाठ:

९:२१; १०:२२, २७. पहिले राजा हुँदा शाऊलको विनय र नम्रताले गर्दा केही “बदमाशहरू[ले]” उनलाई राजाको रूपमा नस्वीकार्दा उनले मूर्खतापूर्ण कदम चालेनन्‌। विनयी र नम्र मनोभावले हरप्रकारका अविवेकी कार्यहरू गर्नबाट हामीलाई कस्तो ठूलो सुरक्षा दिन्छ!

१२:२०, २१, NRV. मानिसमाथिको विश्‍वास, राष्ट्रहरूको सैन्य शक्‍ति अथवा मूर्तिपूजामाथिको भरोसा जस्ता “व्यर्थ”-का कुराहरूले यहोवाको सेवा गर्नबाट तपाईंलाई कहिल्यै नतर्काओस्‌।

१२:२४, २५. यहोवाप्रति श्रद्धापूर्ण भय कायम राख्न र पूरा हृदयले उहाँको सेवा गर्न नभई नहुने एउटा कुञ्जी आधुनिक र पुरातन समयका उहाँका जनहरूको खातिर यहोवाले ‘गर्नुभएका ठूला कामहरू विचार गर्नु’ हो।

१३:१०-१४; १५:२२-२५, ३०. अहंकारदेखि जोगिनुहोस्‌—चाहे त्यो अनाज्ञाकारी काम वा घमन्डी मनोभावद्वारा प्रकट होस्‌।—हितोपदेश ११:२.

राजा बन्‍न एक गोठालो ठिटोलाई रोजिन्छ

(१ शमूएल १६:१-३१:१३)

भावी राजा बन्‍न शमूएलले यहूदा कुलका दाऊदलाई नियुक्‍त गर्छन्‌। केही समयपछि दाऊदले एउटा चिल्लो ढुङ्‌गाले बडेमाको पलिश्‍ती गोल्यतलाई मार्छन्‌। दाऊद र जोनाथनबीच गहिरो मित्रता विकास हुन्छ। शाऊलले दाऊदलाई आफ्नो सेनाका कप्तान नियुक्‍त गर्छन्‌। दाऊदले हासिल गरेका धेरै विजयहरूले गर्दा स्त्रीहरू यसरी गाउँछन्‌: “शाऊलले हजारौं हजारलाई ध्वंस गरे, तर दाऊदले ता लक्खौं लाखलाई ध्वंस गरे।” (१ शमूएल १८:७) ईर्ष्याले भरिएर शाऊल दाऊदलाई मार्न खोज्छन्‌। शाऊलले तीन चोटि आक्रमण गरेपछि दाऊद भाग्छन्‌ र भगुवा बन्छन्‌।

भगुवा जीवन बिताउँदै गर्दा दुई चोटि मार्ने मौका पाउँदा पाउँदै पनि तिनले शाऊललाई मार्दैनन्‌। तिनले सुन्दरी अबीगेललाई भेट्‌छन्‌ र अन्ततः उनीसित विवाह गर्छन्‌। पलिश्‍तीहरू इस्राएलीहरू विरुद्ध जाइलाग्दा शाऊलले यहोवालाई खोज्छन्‌। तर यहोवाले तिनलाई त्यागिसक्नुभएको छ। शमूएलको मृत्यु भइसकेको छ। बेचैन शाऊलले आत्मिक माध्यमसित सम्पर्क राख्छन्‌ र पलिश्‍तीहरू विरुद्धको युद्धमा आफै मारिने खबर सुन्छन्‌। उक्‍त लडाइँमा शाऊल नराम्ररी घाइते हुन्छन्‌ र उनका छोराहरूको मृत्यु हुन्छ। एक असफल व्यक्‍ति भएर शाऊल मर्नुपर्छ र विवरण टुङ्‌गिन्छ। दाऊद अझै लुकेरै बसेका छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको उत्तर:

१६:१४—शाऊललाई कुन दुष्ट आत्माले तर्सायो? शाऊलको मनोशान्ति खोस्ने दुष्ट आत्मा उनको मन र हृदयको खराब झुकाव अथवा गलत काम गर्न उनलाई भित्रबाट घचघच्याइरहने तत्त्व थियो। यहोवाले आफ्नो पवित्र आत्मा हटाउनुभएपछि शाऊलले पवित्र आत्माको सुरक्षा गुमाए र उनी आफ्नै खराब आत्माको वशमा परे। यहोवाले आफ्नो पवित्र आत्माको ठाउँ उक्‍त आत्मालाई ओगट्‌न दिनुभएकोले उक्‍त दुष्ट आत्मालाई “परमप्रभुबाटको एउटा दुष्ट आत्मा” भनिएको हो।

१७:५५१ शमूएल १६:१७-२३ लाई विचार गर्दा शाऊलले दाऊद कस्को छोरा थिए भनेर सोध्नुको कारण के थियो? दाऊदको बुबाको नाउँ जान्‍न मात्र शाऊलले सोधेका थिएनन्‌। एउटा बडेमाको मानिसलाई मारेर अकल्पनीय काम गर्ने त्यो केटोलाई लालन-पालन गर्ने बुबा कस्ता होलान्‌ भनेर शाऊलले जान्‍न खोजेका हुन सक्छ।

हाम्रो लागि पाठ:

१६:६, ७. कसैको बाहिरी रूपरङ्‌ग हेरेर प्रभावित हुने अथवा कसैको छिट्टै न्याय गर्नुभन्दा सबैलाई यहोवाले झैं हेर्न हामीले कोसिस गर्नैपर्छ।

१७:४७-५०. हामी साहसी भई गोल्यतरूपी शत्रुहरूबाट आउने विरोध अथवा सतावटहरूको समाना गर्न सक्छौं किनकि “लडाइँ परमप्रभुकै” हो।

१८:१, ३; २०:४१, ४२. यहोवालाई प्रेम गर्नेहरूमाझ साँचो मित्रहरू भेट्टाउन सकिन्छ।

२१:१२, १३. जीवनमा आउने कठिन परिस्थितिहरूको सामाना गर्न आफ्नो मानसिक क्षमता र दक्षता प्रयोग गरेको यहोवा चाहनुहुन्छ। उहाँले हामीलाई आफ्नो प्रेरित वचन दिनुभएको छ जसले चतुर ज्ञान र सोच्ने क्षमता दिन्छ। (हितोपदेश १:४) हामीसित नियुक्‍त मसीही प्राचीनहरूको मदत पनि उपलब्ध छ।

२४:६; २६:११. यहोवाले नियुक्‍त गरेकाहरूप्रति साँचो आदर देखाएर दाऊद कस्तो उत्तम नमुना बसाल्छन्‌!

२५:२३-३३. अबीगेलको विवेकीपन उदारणीय छ।

२८:८-१९. मानिसहरूलाई गलत बाटोतिर लैजाने अथवा हानि गर्ने प्रयासमा दुष्ट आत्माहरूले कुनै खास मृतक व्यक्‍ति बनेको स्वाङ पार्न सक्छ। हामीले आफूलाई हर प्रकारको प्रेतवादबाट अलग राख्नैपर्छ।—व्यवस्था १८:१०-१२.

३०:२३, २४. यो निर्णय गन्ती ३१:२७ आधारित थियो जसले मण्डलीमा सहयोगी भूमिका निभाउनेहरूको यहोवा मोल गर्नुहुन्छ भन्‍ने कुरालाई प्रस्ट्याउँछ। त्यसोभए, हामीले जेजति गरिरहेका छौं, “मानिसलाई जस्तो होइन, तर प्रभुको निम्ति जस्तैगरी मनतनले” गरौं।—कलस्सी ३:२३.

“बलिदानभन्दा उत्तम” के हो?

एली, शमूएल, शाऊल र दाऊदको अनुभवले प्रकाश पारेको एउटा मुख्य सत्य के हो? त्यो हो: “आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्‍नु साँढ-भेडाको बोसोभन्दा असल हो। उहाँको आज्ञा उल्लङ्‌घन गर्नु मन्त्रतन्त्रको पापजस्तै हो, हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो।”—१ शमूएल १५:२२, २३.

विश्‍वव्यापी राज्य-प्रचार र चेला बनाउने कार्यमा भाग लिन पाउनु हाम्रो लागि कस्तो ठूलो सुअवसर! यहोवालाई “आफ्ना ओठका स्तुति” चढाउँदा उहाँको लिखित वचन अनि उहाँको संगठनको पार्थिव भागले दिएको निर्देशन पालन गर्न हामीले यथासक्दो गर्नैपर्छ।—होशे १४:२; हिब्रू १३:१५.

[फुटनोट]

a पहिलो शमूएलमा उल्लेखित विभिन्‍न ठाउँहरूको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित “सी द गुड ल्याण्ड” पुस्तिकाको पृष्ठ १८-१९ हेर्नुहोस्‌।

[पृष्ठ २३-मा भएको चित्र]

इस्राएलको पहिलो राजा नम्र र विनयी शासकबाट घमन्डी र अंहकारी राजा बने

[पृष्ठ २४-मा भएको चित्र]

गोल्यतरूपी शत्रुहरूको सामना गर्नुपर्दा हामी कुन कुरामा निर्धक्क हुन सक्छौं?