सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“पिमले” बाइबलको ऐतिहासिकताको प्रमाण दिन्छ

“पिमले” बाइबलको ऐतिहासिकताको प्रमाण दिन्छ

“पिमले” बाइबलको ऐतिहासिकताको प्रमाण दिन्छ

राजा शाऊलको समयमा इस्राएलीहरूले आफ्ना फलामे ज्याभलहरू पलिश्‍ती लोहारकहाँ लगेर उध्याउनु पर्थ्यो। बाइबल यस्तो उल्लेख गर्छ: “एउटा फाली वा कोदालो अथवा बञ्चरो उध्याउने दाम शेकेलको दुइ-तिहाइ र गोरु धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाइ लाग्थ्यो।”—१ शमूएल १३:२१.

“शेकेलको दुइ-तिहाइ” भन्‍ने अभिव्यक्‍तिको मौलिक हिब्रू शब्द पिम हो र यो बाइबलमा एक चोटि मात्र प्रयोग गरिएको छ। यो पिम भनेको के थियो? सा.यु. १९०७ मा पुरातन सहर गेजेरमा पिमको तौल बराबरको ढुङ्‌गा उत्खननको क्रममा पहिलो चोटि भेटिंदा मात्र यस प्रश्‍नको जवाफ पाइयो। सुरु-सुरुका बाइबल लेखकहरूलाई यो “पिम” शब्द अनुवाद गर्न गाह्रो भएको थियो। उदाहरणका लागि, किङ जेम्म भर्सन-मा १ शमूएल १३:२१ यसरी अनुवाद गरिएको छ: “तिनीहरूसित फाली वा कोदालो अथवा बञ्चरो उध्याउन र गोरु धपाउने अंकुसे मिलाउन रेती थियो।”

शास्त्रविद्‌हरूले आज आएर यो पिम भनेको नाप्ने एक प्रकारको तौल हो भनेर थाह पाएका छन्‌ जुन सरदर ७.८२ ग्रामको हुन्छ वा हिब्रू तौलअनुसार लगभग शेकेलको दुई-तिहाइ हुन्छ। इस्राएलीहरूको ज्याभलहरू उध्याएबापत पलिश्‍तीहरूले लिने चाँदीको टुक्रा, पिम बराबरको दाम हुन्थ्यो। सा.यु.पू. ६०७ मा यहूदा राष्ट्र र यसको राजधानी यरूशलेमको विनाशसँगै शेकेल तौल प्रणाली पनि प्रयोगबाट हट्यो। त्यसोभए पिमले कसरी हिब्रू पदको ऐतिहासिकताको प्रमाण दिन्छ?

केही शास्त्रविद्‌हरूले पहिलो शमूएललगायत हिब्रू धर्मशास्त्रका सबै पदहरू युनानी-रोमी युगको र कुनै-कुनै त सा.यु.पू. दोस्रोदेखि सा.यु.पू. पहिलो शताब्दीसम्मका हुन्‌ भनी दाबी गर्छन्‌। तसर्थ, “हिब्रू पदहरू . . . ‘गैर-ऐतिहासिक,’ र ‘बाइबलीय’ वा ‘पुरातन इस्राएल’ पुनर्निर्माण गर्न बेकारको वा मूल्यहीन छन्‌, ती त वास्तवमा आधुनिक यहूदी र मसीही साहित्यको उपज मात्र हुन्‌” भन्‍ने दाबी गरिन्छ।

तथापि, १ शमूएल १३:२१ मा उल्लेख गरिएको पिम बराबरको नापलाई सङ्‌केत गर्दै नियर इस्टर्न पुरातत्त्व तथा मानवशास्त्रका प्राध्यापक विलियम जि. डेभर यसो भन्छन्‌: “यी तौल प्रयोग हुन छोडेको साथै यसबारे बिर्सिसकेको पनि केही शताब्दीपछि युनानी-रोमी युगमा लेखकहरूले यो आविष्कार गरेको हुन सक्दैन। साँच्चै भन्‍ने हो भने, बाइबलको यो भाग . . . सा.यु. २० औं शताब्दीको सुरुसम्म बुझ्न सकिने थिएन किनभने २० औं शताब्दीको सुरुतिर मात्रै हिब्रूमा पिम भनी लेखिएको पुरातात्त्विक प्रमाण भेटिएको थियो।” प्राध्यापक अझ यसो भन्छन्‌: “बाइबलका कथाहरू युनानी-रोमी युगका ‘साहित्यिक आविष्कार’ मात्र हुन्‌ भने यो कुराचाहिं हिब्रू बाइबलमा कसरी देखापऱ्‍यो त? कसै-कसैले पिमको कुरा एउटा ‘विवरण’ मात्र हो भनेर आपत्ति जनाउलान्‌। त्यो त हो तर सबैलाई थाह भएकै कुरा हो कि, ‘इतिहास भनेको नै विवरणहरूको संगालो हो।’ ”

[पृष्ठ २९-मा भएको चित्र]

पिमको तौल शेकेलको झन्डै दुई तिहाइ बराबर हुन्थ्यो