सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको प्रशंसा गर्ने युवाहरूले आफ्नो जीवन समृद्ध बनाउँछन्‌

यहोवाको प्रशंसा गर्ने युवाहरूले आफ्नो जीवन समृद्ध बनाउँछन्‌

“मलाई गुहार यहोवाबाट नै आउँछ”

यहोवाको प्रशंसा गर्ने युवाहरूले आफ्नो जीवन समृद्ध बनाउँछन्‌

“म मेरो जीवनमा सबै उत्तम कुराहरू चाहन्छु!” एक किशोरले यसरी आफ्नो अभिलाषा व्यक्‍त गरे। तर कुनै युवाले कसरी आफ्नो जीवनमा उत्तम कुराहरू हासिल गर्न सक्छ? बाइबलले यसको स्पष्ट जवाफ दिन्छ: “युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।”—उपदेशक १२:१.

यहोवाको प्रंशसा र सेवा गर्ने काम पाकाहरूको मात्र होइन। एल्काना र हन्‍नाका छोरा शमूएलले यहोवाको मन्दिरमा सेवा गर्दा तिनी बालकै थिए। (१ शमूएल १:१९, २०, २४; २:११) अरामी सेनापति नामानलाई कोर निको पार्न अगमवक्‍ता एलिशाकहाँ जान सल्लाह दिएर एक कलिली हिब्रू केटीले यहोवामाथि पूर्ण विश्‍वास देखाइन्‌। (२ राजा ५:२, ३) भजन १४८:७ र १२ मा जवान ठिटा र कुमारीहरू दुवैलाई यहोवाको प्रशंसा गर्ने आज्ञा दिइएको छ। a केवल १२ वर्षको हुँदा आफ्नो पिताको सेवा गर्न येशूले उत्कट चासो देखाउनुभयो। (लूका २:४१-४९) धर्मशास्त्रबाट सिकाइएको हुनाले केही ठिटाहरू येशूलाई मन्दिरमा देख्दा यसरी कराए: “होसन्‍ना दाऊदका पुत्रलाई!”—मत्ती २१:१५, १६.

आज यहोवाको प्रशंसा गर्दै

आज यहोवाका साक्षीहरूमध्ये धेरै युवाहरूले आफ्नो विश्‍वासमा गर्व गर्छन्‌ अनि स्कूल तथा अन्य ठाउँहरूमा साहसी भई त्यसबारे बोल्छन्‌। दुईवटा उदाहरणहरू विचार गर्नुहोस्‌।

बेलाइतमा १८ वर्षीया स्टेफनीको कक्षामा गर्भपात तथा अन्य नैतिक विषयहरूमा छलफल भइरहेको थियो। हाल गर्भपात सर्वत्र स्वीकार्य छ र यसको विरोध गर्ने ठोस कारण कुनै केटीसित पनि छैन भनी शिक्षकले बताए। कक्षाका सबैले यस दृष्टिकोणको समर्थनमा मुन्टो हल्लाउँदा स्टेफनीलाई बाइबल आधारित आफ्नो अडानबारे नबोली बस्नै गाह्रो भयो। जब शिक्षकले स्टेफनीको विचार बुझ्न खोजे, उनले त्यो मौका खेर जान दिइनन्‌। सुरुमा नर्भस भए पनि गर्भपातबारे धर्मशास्त्रिय दृष्टिकोण प्रस्तुत गर्न स्टेफनी यस मौकाको सदुपयोग गर्न चुकिनन्‌। उनले प्रस्थान २१:२२-२४ को कुरा बताइन्‌ अनि गर्भको बच्चालाई चोट पुऱ्‍याउनु गलत हो भने गर्भपात परमेश्‍वरको इच्छा विपरीत नहुने त कुरै छैन भनी तर्क गरिन्‌।

पादरीवर्गको एक सदस्य रहेर पनि शिक्षकले कहिल्यै ती पदहरू पढेका थिएनन्‌। यसरी साहसी भई साक्षी दिंदा सहपाठीहरूसित विभिन्‍न विषयमा साह्रै रमाइलो छलफल भयो। अहिले एउटी केटी प्रहरीधरहराब्यूँझनुहोस्‌!-को ताजा अंकहरू नियमित रूपमा पढ्‌छिन्‌ अनि परमेश्‍वरप्रतिको आफ्नो समर्पण पानीद्वारा जनसमक्ष प्रकट गर्न स्टेफनीले लिएको बप्तिस्मा हेर्न अरू दुई जना केटीहरूले यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन धाए।

शिक्षिकालाई धर्मशास्त्रबाट सान्त्वना चाहिएकै बेला दक्षिण अमेरिकाको सुरिनाम निवासी छ वर्षीया भारिताले परमेश्‍वरको प्रशंसा गर्ने मौका खेर जान दिइनन्‌। तीन दिनको छुट्टीपछि शिक्षिका फर्किंदा उनले विद्यार्थीहरूलाई आफू तीन दिन नआउनुको कारण सोधिन्‌। तिनीहरूले यस्तो जवाफ दिए, “तपाईं बिरामी हुनुहुन्थ्यो, हैन?” शिक्षिकाले यस्तो जवाफ दिइन्‌, “हैन, मेरी दिदी बित्नुभयो, म धेरै निराश छु। त्यसैले तिमीहरू आज हल्ला नगरी बस है।”

त्यही दिन दिउँसो आमाले झप्की लिइरहेकी बेला भारिता भने पुराना पत्रिकाहरूको थुप्रोमा एकपछि अर्को गर्दै पत्रिकाका शीर्षक पढ्‌दै थिइन्‌। तिनले प्रहरीधरहरा, जुलाई १५, २००१ को “के मृत्युपछि पनि जीवन छ?” शीर्षकको पत्रिका फेला पारिन्‌। उत्साहित हुँदै तिनले आफ्नी आमालाई जगाइन्‌, “ममी, ममी, हेर्नुहोस्‌ त, मैले मेरो मिसको लागि मरेकाहरू सम्बन्धी पत्रिका फेला पारें नि!” भारिताको पत्रसहित उक्‍त पत्रिका शिक्षिकालाई पठाइयो। भारिताले यस्तो लेखिन्‌: “यो तपाईंकै लागि हो। प्रमोदवनमा तपाईंले आफ्नी दिदीलाई फेरि भेट्‌नुहुनेछ किनकि यहोवा कहिल्यै झूट बोल्नुहुन्‍न। उहाँले स्वर्गमा नभई पृथ्वीमा प्रमोदवन ल्याउने प्रतिज्ञा गर्नुभएको छ।” यो लेखले दिएको बाइबल-आधारित सान्त्वनाको लागि शिक्षिकाले गहिरो कृतज्ञता व्यक्‍त गरिन्‌।

भविष्यको लागि निर्माण गर्ने

यहोवा “आनन्दित परमेश्‍वर” हुनुहुन्छ अनि उहाँ युवाहरू आनन्दित भएको चाहनुहुन्छ। (१ तिमोथी १:११, NW) उहाँको वचनले यसो भन्छ: “आफ्नो युवावस्थामा सुखी होऊ। तेरो बैंस छउञ्जेल सुख-चैन गर्‌।” (उपदेशक ११:९) यहोवा पछिसम्मको लागि हेर्नुहुन्छ अनि उहाँ असल र खराब व्यवहारको दुरगामी परिणामहरू जान्‍नुहुन्छ। अतः उहाँको वचनले युवाहरूलाई यस्तो सल्लाह दिन्छ, “दु:खको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्‍नेछस्‌, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।”—उपदेशक १२:१.

हो, युवाहरूले अमूल्य वरदानको रूपमा पाएको यो जीवनबाट पूर्ण आनन्द उठाऊन्‌ भन्‍ने यहोवा चाहनुहुन्छ। परमेश्‍वरलाई सम्झँदा र उहाँको प्रशंसा गर्दा युवाहरूले एउटा अर्थपूर्ण र इनामदायी जीवन बिताउन सक्छन्‌। चुनौती नै चुनौतीले तिनीहरूलाई घेरे तापनि तिनीहरू ढुक्कसित यसो भन्‍न सक्छन्‌: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

[फुटनोट]

a यहोवाका साक्षीहरूको क्यालेन्डर २००५ को मार्च/अप्रिल हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“परमप्रभुको प्रशंसा गर। . . . जवान ठिटा र कुमारीहरू”—भजन १४८:७, १२

[पृष्ठ ८-मा भएको पेटी]

यहोवा युवाहरूलाई मदत दिनुहुन्छ

“हे परमप्रभु, तपाईं मेरो आशा हुनुहुन्छ, मेरो बाल्यकालदेखिनै तपाईं मेरो भरोसा हुनुहुन्छ।”—भजन ७१:५.

“[परमेश्‍वरले] तेरो मुखलाई उत्तम कुराहरूले तृप्त गराउनुहुन्छ। यसैले कि, तेरो जवानी गरुडजस्तो नयाँ भइहाल्छ।”—भजन १०३:५.