सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!

यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!

यहोवाको बल पाएर शिमशोन विजयी हुन्छन्‌!

ईखालु बन्धकहरूले तिनको आँखा निकालिदिन्छन्‌ र तिनलाई कठोर श्रम गर्न बाध्य तुल्याउँछन्‌। त्यसपछि उनीहरूले तिनलाई मानिसहरूको तमासाको लागि झ्यालखानाबाट बाहिर निकालेर मूर्तिपूजकहरूको मन्दिरमा ल्याउँछन्‌। हजारौं मानिसहरूको अगाडि तिनलाई हिंड्‌न लगाउँछन्‌ र गिल्लाको पात्र बनाउँछन्‌। ती बन्दी न त अपराधी हुन्‌ न विपक्षी सेनाका सेनापति नै। तिनी यहोवाका उपासक हुन्‌ र तिनले इस्राएलमा न्यायकर्ताको रूपमा २० वर्ष सेवा गरिसकेका छन्‌।

अहिलेसम्म बाँचेकाहरूमध्ये शारीरिक रूपमा सबैभन्दा बलियो मानिस शिमशोन कसरी त्यस्तो बेइज्जतीपूर्ण अवस्थामा पुगे? के तिनको असाधारण बलले तिनलाई बचाउने थियो? शिमशोनको बलको रहस्य के थियो? तिनको जीवनीबाट हामीले सिक्न सक्ने केही पाठहरू छन्‌ कि?

तिनले “इस्राएललाई . . . छुटाउन शुरू” गर्नेछन्‌

इस्राएलीहरू साँचो उपासनाबाट पटक-पटक तर्किएका थिए। त्यसैले फेरि तिनीहरूले “परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई चालीस वर्षसम्म पलिश्‍तीहरूका हातमा सुम्पिदिनुभयो।”—न्यायकर्त्ता १३:१.

मानोह नाउँ गरेका इस्राएलीको बाँझी पत्नीकहाँ यहोवाको स्वर्गदूत देखापरेर उनले एक जना छोरा जन्माउने छिन्‌ भनी बताएपछि शिमशोनको विवरण सुरु हुन्छ। स्वर्गदूतले उनलाई यस्तो निर्देशन दिए: “त्यसको कपालमा छुरा नलागोस्‌ किनभने त्यो बालक जन्मेको दिनदेखिनै परमेश्‍वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसैलेनै इस्राएललाई पलिश्‍तीहरूको हातबाट छुटाउन शुरू गर्नेछ।” (न्यायकर्त्ता १३:२-५) शिमशोन गर्भमा रहनुभन्दा अघि नै यहोवाले शिमशोनको लागि विशेष काम निर्धारण गरिसक्नुभएको थियो। जन्मदेखि नै तिनी नाजिरी हुने थिए जो विशेष प्रकारको पवित्र सेवाको लागि छानिएका थिए।

“तिनी नै मेरो निम्ति ठीक छिन्‌”

शिमशोन हुर्कंदै जाँदा ‘परमप्रभुले तिनलाई आशिष्‌’ दिइरहनुभयो। (न्यायकर्त्ता १३:२४) एक दिन शिमशोन आफ्नो बुबा र आमाकहाँ आएर यसो भने: “मैले तिम्नामा एउटी पलिश्‍ती स्त्री देखेको छु, र मलाई त्यससँग विवाह गरिदिनुहोस्‌।” (न्यायकर्त्ता १४:२) तिनीहरू कति छक्क परे होलान्‌, कल्पना गर्नुहोस्‌ त! इस्राएलीहरूलाई दमनकारीहरूको पन्जाबाट छुटाउनुको सट्टा आफ्नो छोराले तिनीहरूसँग वैवाहिक सम्बन्ध गाँस्न चाह्‍यो। मूर्तिपूजकहरूमध्येबाट श्रीमती छान्‍नु परमेश्‍वरको व्यवस्था विरुद्ध थियो। (प्रस्थान ३४:११-१६) त्यसकारण आमाबाबुले यसरी विरोध जनाए: “के हाम्रो आफ्नै कुटुम्बमा अथवा हाम्रै आफ्ना जातिमा कोही स्त्री छैन, र खतना नभएका पलिश्‍तीहरूकी स्त्रीलाई तैंले विवाह गर्नुपर्छ?” तैपनि शिमशोनले यसो भनेर जिद्दी गरे: “ती स्त्री नै मेरो निम्ति ल्याइदिनुहोस्‌। तिनी नै मेरो निम्ति ठीक छिन्‌।”—न्यायकर्त्ता १४:३, NRV.

ती पलिश्‍ती स्त्री नै शिमशोनको लागि किन “ठीक” थिइन्‌ त? म्याकक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया-अनुसार तिनी “सुन्दरी, मनोहर, आकर्षक” भएकीले होइन “तर एउटा निश्‍चित उद्देश्‍य हासिल गर्नको लागि तिनी ठीक थिइन्‌।” कुन उद्देश्‍यको लागि? न्यायकर्त्ता १४:४, [ NW] अनुसार शिमशोन “पलिश्‍तीहरूका विरुद्धमा मौका हेर्दै थिए।” यस कारणले गर्दा शिमशोनले ती स्त्री चाहेका थिए। शिमशोन वयस्क भएपछि “परमप्रभुका आत्माले त्यसलाई प्रेरणा दिनलाग्नुभयो” अर्थात्‌ तिनलाई कदम चाल्न जुरमुऱ्‍याउनुभयो। (न्यायकर्त्ता १३:२५) त्यसकारण पत्नीको लागि शिमशोनको यस्तो अनौठो आग्रहका साथै न्यायकर्ताको रूपमा तिनको सम्पूर्ण कामपछाडि उत्प्रेरणाको स्रोत यहोवाको आत्मा थियो। के शिमशोनले आफूले खोजिरहेको मौका पाए? सर्वप्रथम, तिनले ईश्‍वरीय समर्थन पाएको कुरा यहोवाले कसरी आश्‍वासन दिनुभयो हामी विचार गरौं।

शिमशोन आफ्नो हुनेवाला श्रीमतीको सहर तिम्नातर्फ गइरहेका थिए। धर्मशास्त्रीय विवरण यसो भन्छ, “जब तिनी [तिम्नाको] दाखबारीमा पुगे तब एउटा जवान सिंहले गर्जंदै तिनलाई झम्ट्यो। तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो, र . . . तिनले त्यस सिंहलाई . . . च्यातचुत पारिदिए।” शिमशोन एक्लै हुँदा शक्‍तिको यस्तो उल्लेखनीय प्रदर्शन भएको थियो। कोही पनि प्रत्यक्षदर्शी थिएनन्‌। तिनी नाजिरीको रूपमा परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्न सक्षम छन्‌ भनी शिमशोनलाई विश्‍वस्त गराउने के यो यहोवाको तरिका थियो? बाइबलले यसबारे केही बताएको छैन तर त्यस्तो असाधारण बल आफ्नै होइन भनेर शिमशोनले पक्कै बुझेका थिए। यो परमेश्‍वरबाटै आएको हुनुपर्छ। आफूले पछि गर्नुपर्ने कामको लागि तिनी यहोवामा भर पर्न सक्थे। सिंहसितको घटनाबाट सुदृढ भएका शिमशोन “तल झरेर त्यस स्त्रीसँग बातचीत गरे, र त्यस स्त्रीले तिनलाई रिझाई।”—न्यायकर्त्ता १४:५-७.

पछि ती स्त्रीलाई घर लैजान शिमशोन फेरि आउँदा “त्यस सिंहको सिनु हेर्नलाई तिनी त्यतातिर लागे, औ त्यसमा मौरीसमेतको चाका देखे।” त्यस कुरालाई सम्झँदै शिमशोनले आफ्नो विवाहमा आएका ३० जना पलिश्‍तीलाई यस्तो अड्‌को थापे: “खानेबाट खानेकुरो निस्क्यो, बलियोबाट गुलियो कुरो निस्क्यो।” सही जवाफ दिएको खण्डमा शिमशोनले उनीहरूलाई तीस थान कपडा र तीस जोर लाउने लुगा दिने थिए। सही जवाफ दिन नसकेको खण्डमा चाहिं उनीहरूले पनि शिमशोनलाई ती सबै दिनु पर्थ्यो। पलिश्‍तीहरू तीन दिनपछि पनि त्यो अड्‌को फुकाउन सफल भएनन्‌। चौथो दिनमा उनीहरूले शिमशोनकी स्वास्नीलाई धम्काए। उनीहरूले तिनलाई यसो भने: “तिम्रा लोग्नेलाई फकाऊ र तिनले तिमीलाई त्यो अड्‌को फुकाईदिऊन्‌, नत्रता हामी तिमीलाई र तिम्रा बा’ को घरलाई आगो लगाइदिनेछौं।” कस्तो क्रूर! पलिश्‍तीहरू आफ्नै मानिससित त यस्तो व्यवहार गर्थे भने थिचोमिचोमा परेका इस्राएलीहरूको हालत कस्तो थियो होला, कल्पना गर्नुहोस्‌ त!—न्यायकर्त्ता १४:८-१५.

ती त्रसित स्त्रीले शिमशोनलाई जवाफ बताउन दबाब दिइन्‌। शिमशोनप्रति प्रेम र वफादारिताको कमी देखाउँदै तिनले झट्टै आफ्ना भाइ-बन्धुहरूलाई जवाफ बताइदिइन्‌। उनीहरूले अड्‌को फुकाउन सके र शिमशोनलाई यसो गर्न सक्नुको कारण थाह थियो। तिनले उनीहरूलाई यसो भने: “मेरो कोरलीलाई नजोतेका भए तिमीहरूले यो अड्‌को फुकाउनसक्ने थिएनौ।” शिमशोनले पर्खिरहेको मौका अब आफै तयार भयो। “तब परमप्रभुका आत्मा झट्टै शिमशोनमा आउनुभयो। तिनी तल अश्‍कलोनमा गए, औ त्यहाँ तिनले तीस जना मान्छे मारे, र तिनीहरूका पटुका फुकालेर तिनीहरूका लुगाहरू ती अड्‌को फुकाउने मानिसहरूलाई दिए।”—न्यायकर्त्ता १४:१८, १९.

के अश्‍कलोनमा शिमशोनले गरेको काम बदलाको भावबाट उत्प्रेरित भएको थियो? अहँ थिएन। यो आफ्नो नियुक्‍त उद्धारकमार्फत परमेश्‍वरको काम थियो। शिमशोनमार्फत यहोवाले आफ्ना जनहरूका क्रूर दमनकारीहरू विरुद्ध लडाइँ सुरु गर्नुभयो। यो अभियान चलिरहने थियो। शिमशोन आफ्नी पत्नीलाई भेट्‌न आउँदा तिनले अर्को मौका पाए।

तिनी एक्लै युद्ध लड्‌छन्‌

शिमशोनले आफ्नी स्वास्नीलाई घृणा गर्छ भन्ठानेर केटीको बुबाले तिनलाई अर्कै मानिससँग विवाह गरिदिएको कुरा शिमशोनले तिम्ना फर्कंदा थाह पाए। यसबाट शिमशोन अपमानित भएको देखिन्थ्यो। तिनले ३०० वटा स्याल पक्रे र दुई-दुईवटा गरी स्यालका पुच्छर-पुच्छर बाँधेर हरेक जोडीको बीचमा एउटा-एउटा राँको बाँधिदिए। त्यसपछि ती स्यालहरूलाई छोडिदिंदा तिनीहरूले पलिश्‍तीहरूको वर्षको तीनवटा मुख्य बाली अन्‍न, दाखबारी र भद्राक्षका बगैंचाहरू डढाइदिए। क्रोधित पलिश्‍तीहरूले आफ्नो क्रूरता देखाए। तिनीहरूले यसको लागि शिमशोनकी पत्नी र उनको बुबालाई जिम्मेवार ठहऱ्‍याएर तिनीहरूलाई जलाइदिए। तिनीहरूले देखाएको बर्बरतापूर्ण बदलाले शिमशोनको उद्देश्‍य पूरा गर्ने मौका दियो। अनि शिमशोनले चाहिं तिनीहरूलाई हिर्काउनसम्म हिर्काएर मारे।—न्यायकर्त्ता १५:१-८.

यो सबै काममा यहोवा परमेश्‍वरले शिमशोनलाई आशिष्‌ दिइरहनुभएको थियो र त्यसैले पलिश्‍तीहरूको प्रभुत्वको अन्त गर्न तिनलाई साथ दिनुपर्छ भन्‍ने कुरा के इस्राएलीहरूले बुझे? अहँ, पटक्कै बुझेनन्‌। समस्याबाट जोगिन यहूदाका मानिसहरूले परमेश्‍वरको नियुक्‍त नेतालाई पक्रन र तिनलाई शत्रुहरूका हातमा सुम्पन ३,००० मानिसहरू पठाए। तथापि, इस्राएलीहरूको यो अवफादारिताको कारण शिमशोनले आफ्ना शत्रुहरूमाथि थप विपत्तिहरू ल्याउन सके। अनि तिनलाई पलिश्‍तीहरूको जिम्मामा सुम्पनै लाग्दा “परमप्रभुका आत्मा झट्टै तिनीमा आउनुभयो, र तिनका पाखुरामा भएका डोरीहरू डढेका सनपाटझैं भइहाले, र तिनका बन्धनहरू चुँडिहाले।” त्यसपछि तिनले गधाको बङ्‌गरा उठाएर एक हजार शत्रुहरूलाई मारे।—न्यायकर्त्ता १५:१०-१५.

यहोवालाई पुकार्दै शिमशोनले यसो भने: “तपाईंले आफ्नो दासलाई यो ठूलो विजय दिनुभयो, औ अब के म तिर्खाले मर्नु? यी बिखतनेका हातमा पर्नु?” यहोवाले शिमशोनको प्रार्थना सुन्‍नुभयो र जवाफ दिनुभयो। “तब परमप्रभुले . . . खाल्डालाई चिरेर फुटाइदिनुभयो, त्यहाँबाट पानी फुटेर निस्क्यो। शिमशोनले त्यो पानी पिए, र तिनको त्राण आयो र तिनी फेरि ताजा भए।”—न्यायकर्त्ता १५:१८, १९.

पलिश्‍तीहरू विरुद्धको लडन्तमा शिमशोन पूरै दत्तचित्त भएका थिए। गाजामा एउटी वेश्‍याको घरमा बस्नुको कारण पनि परमेश्‍वरका शत्रुहरू विरुद्ध लड्‌न थियो। शत्रुहरूको सहरमा राती बास बस्न शिमशोनलाई एउटा ठाउँ चाहिएको थियो र वेश्‍याको घरमा मात्र बास पाइयो। शिमशोनसित कुनै अनैतिक मनसाय थिएन। तिनी त्यस स्त्रीको घरबाट मध्यरातमा उठेर गए र सहरको मूल ढोकाका दैलो, दुवै चौकोस उखेलेर हेब्रोनको नजिकैको डाँडाको टाकुरासम्म पुऱ्‍याए जुन झन्डै ६० किलोमिटर टाढा थियो। यस कार्यमा परमेश्‍वरको अनुमोदन थियो र उहाँले बल पनि दिनुभयो।—न्यायकर्त्ता १६:१-३.

असामान्य परिस्थिति भएको हुँदा शिमशोनको सन्दर्भमा पवित्र आत्मा विशेष रूपमा सञ्चालन भएको थियो। आज पनि परमेश्‍वरका विश्‍वासी सेवकहरू बल प्राप्त गर्न त्यही आत्मामा भर पर्न सक्छन्‌। यहोवाले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा दिनुहुनेछ” भनी येशूले आफ्ना अनुयायीहरूलाई आश्‍वासन दिनुभयो।—लूका ११:१३.

यहोवाले किन ‘शिमशोनलाई छोड्‌नुभयो’?

दलीला नाउँ भएकी स्त्रीसँग शिमशोन प्रेम जालमा फसे। पलिश्‍तीका पाँच जना मुखिया शिमशोनलाई हटाउन यति उत्सुक थिए कि तिनीहरूले उक्‍त स्त्रीको मदत लिए। तिनीहरूले दलीलालाई भेटेर यसो भने: “तिनलाई फकाएर सोध कि केले तिनलाई त्यो ठूलो बल दिन्छ, र कसरी हामी तिनलाई काबूमा” पार्न सक्छौं। घूस स्वरूप पाँच जना प्रत्येक मुखियाले उसलाई “चाँदीका एघार-एघार सय सिक्का” दिने बताए।—न्यायकर्त्ता १६:४, ५, NRV.

ती चाँदीको सिक्का शेकेल हुन्‌ भने ५,५०० शेकेल निकै ठूलो घूस थियो। अब्राहामले आफ्नी पत्नी गाड्‌ने ठाउँ किन्‍न ४०० शेकेल तिरेका थिए र एक जना कमारा वा कमारी जम्मा ३० शेकेलमा बेचिन्थ्यो। (उत्पत्ति २३:१४-२०; प्रस्थान २१:३२) पाँचवटा पलिश्‍ती सहरका शासक अर्थात्‌ मुखियाहरूले दलीलालाई आफ्नो जातप्रतिको वफादारिताको कारण नभई उसको लोभलाई तृप्त पार्न खोजेको तथ्यबाट ऊ सम्भवतः इस्राएली हुन सक्ने कुरा बुझिन्छ। जे होस्‌, दलीलाले त्यो प्रस्ताव स्वीकारी।

दलीलाको प्रश्‍नमा शिमशोनले तीन पटकसम्म गलत जवाफ दिए र तीनै चोटि उसले शिमशोनलाई शत्रुहरूका हातमा सुम्पिन प्रयास गरेर धोका दिई। तर “त्यसले तिनलाई यी कुराले विरक्‍त गरी ज्यानै खान” लागी। अनि शिमशोनले अन्ततः आफ्नो गोप्य कुरा बताइदिए—तिनको कपाल कहिल्यै काटिएको थिएन। तिनको कपाल काटेको खण्डमा तिनी कमजोर भएर अरू मानिसहरूजस्तै हुने थिए।—न्यायकर्त्ता १६:६-१७.

आफ्नो असाधारण बलको स्रोत बताउनु नै शिमशोनको पतनको सुरुवात थियो। दलीलाले एउटा चाल चलेर तिनको कपालमा छुरा लगाइदिई। तथापि, शिमशोनको बल वास्तवमा तिनको कपाल त थिएन। तर तिनको कपालले केवल नाजिरीको रूपमा परमेश्‍वरसित विशेष सम्बन्धको प्रतिनिधित्व गर्थ्यो। कपालमा छुरा लगाएकोले तिनको नाजिरी चिनारीलाई असर पार्ने परिस्थितिमा आफूलाई पुऱ्‍याएको हुँदा यहोवाले ‘तिनलाई छोड्‌नुभयो।’ अनि पलिश्‍तीहरूले शिमशोनलाई झ्यापझुप्प समाते, आँखा निकालिदिए र झ्यालखानामा हाले।—न्यायकर्त्ता १६:१८-२१.

यसले हामीलाई कस्तो सशक्‍त पाठ सिकाउँछ! के हामीले यहोवासितको आफ्नो सम्बन्धलाई एकदमै बहुमूल्य ठानेर मोल गर्नु पर्दैन र? हामीले कुनै तरिकामा आफ्नो मसीही समर्पणलाई सम्झौता गऱ्‍यौं भने परमेश्‍वरको आशिष्‌ पाइरहने कसरी आशा गर्न सक्छौं र?

“मलाई पलिश्‍तीहरूसँगै मर्नदिनुहोस्‌”

हर्षित पलिश्‍तीहरूले शिमशोनको पराजयको लागि तिनीहरूको देव दागोनलाई धन्यवाद चढाए। जीत मनाउँदै तिनीहरूले आफ्नो बन्दीलाई दागोनको मन्दिरमा लगे। तर शिमशोनलाई आफ्नो पतनको खास कारण थाह थियो। यहोवाले तिनलाई छोड्‌नुको कारण शिमशोनलाई थाह थियो र तिनले आफ्नो गल्तीको पश्‍चात्ताप गरे। शिमशोन झ्यालखानामा हुँदा तिनको कपाल फेरि बढ्‌न थालेको थियो। अब तिनी हजारौं पलिश्‍तीहरूको अगाडि हुँदा तिनले कस्तो कदम चाल्ने थिए?

शिमशोनले यसरी प्रार्थना गरे, “मलाई याद गर्नुहोस्‌! हे परमप्रभु परमेश्‍वर, मलाई याद गर्नुहोस्‌! हे परमेश्‍वर, मलाई यो एकैपल्ट मात्र शक्‍ति दिनुहोस्‌, र म मेरा दुइ आँखाको बदला यी पलिश्‍तीहरूमाथि एकै पल्टमा लिनसकूँ।” त्यसपछि तिनले मन्दिरको दुइटै खाँबा समाते र “आफ्नो सम्पूर्ण शक्‍ति लगाएर अगिल्तिर झुके।” के भयो? “शासकहरू र त्यसमा भएका सबै मानिसहरूमाथि मन्दिर, ढल्यो। आफ्नो मरणको घडीमा तिनले मारेका मान्छेहरू आफ्नो जीवनकालमा मारेका मान्छेहरूभन्दा धेरै बेसी भए।”—न्यायकर्त्ता १६:२२-३०.

शिमशोनको जत्ति शारीरिक बल अरू कुनै मानिससँग थिएन। तिनका शक्‍तिशाली कामहरू साँच्चै उल्लेखनीय थिए। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाको वचनले शिमशोनलाई बलियो विश्‍वास भएकाहरूमध्ये राखेको छ।—हिब्रू ११:३२-३४.

[पृष्ठ २६-मा भएको चित्र]

शिमशोनको बलको रहस्य के थियो?