सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌

आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌

आमाबाबु हो, आफ्नो बहुमूल्य उत्तराधिकारको सुरक्षा गर्नुहोस्‌

“बुद्धि प्राप्त गर। बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन पाउँछ।”—उपदेशक ७:१२.

१. आमाबाबुले आफ्ना छोराछोरीलाई किन उपहार ठान्‍नुपर्छ?

 आमाबाबुले आफ्नो जस्तै शारीरिक बनोट तथा व्यक्‍तित्व भएको नयाँ जीवित व्यक्‍तिलाई यस संसारमा जन्म दिन्छन्‌। बाइबलले ती साना बच्चाहरूलाई “परमप्रभुले दिनुभएको उत्तराधिकार” भन्छ। (भजन १२७:३, NRV) साँचो जीवनदाता उहाँ नै भएको हुँदा यहोवाले वास्तवमा आफ्नो सम्पत्ति आमाबाबुलाई सुम्पनुभएको छ। (भजन ३६:९) आमाबाबु हो, परमेश्‍वरबाट प्राप्त गर्नुभएको यस्तो बहुमूल्य उपहारलाई तपाईं कस्तो दृष्टिकोणले हेर्नुहुन्छ?

२. आफू बुबा बन्‍ने कुरा थाह पाएपछि मानोहले कस्तो प्रतिक्रिया देखाए?

निस्सन्देह, त्यस्तो उपहार नम्र तथा कृतज्ञ भई स्वीकार्नुपर्छ। आजभन्दा ३,००० वर्षअघिको कुरा हो, इस्राएली मानोहलाई तिनकी पत्नीले एउटा बच्चा जन्माउनेछिन्‌ भनेर स्वर्गदूतले बताएपछि तिनले पनि नम्र तथा कृतज्ञ भई यस्तै प्रतिक्रिया देखाए। यस्तो राम्रो खबर सुनेपछि मानोहले यसरी प्रार्थना गरे: “हे परमप्रभु, बिन्ती छ, तपाईंले पठाउनुभएका परमेश्‍वरका ती मानिस फेरि एकपल्ट आऊन्‌ र त्यो जन्मने बालकको निम्ति हामीले के गर्नुपर्छ त्यो हामीलाई बताइदेऊन्‌।” (न्यायकर्त्ता १३:८) आमाबाबु हो, मानोहको उदाहरणबाट तपाईं के सिक्न सक्नुहुन्छ?

अहिले किन परमेश्‍वरको मदत चाहिन्छ

३. छोराछोरी हुर्काउन विशेष गरी अहिले परमेश्‍वरको मदत किन चाहिन्छ?

छोराछोरी हुर्काउन आमाबाबुलाई यहोवाको मदत अहिले जति पहिला कहिल्यै आवश्‍यक परेको थिएन। यसो हुनुको कारण के हो? शैतान अर्थात्‌ दियाबल र त्यसका दूतहरू स्वर्गबाट यस पृथ्वीमा फ्याँकिएका छन्‌। बाइबल यस्तो चेतावनी दिन्छ: “पृथ्वी[लाई] . . . धिक्कार छ, किनभने आफ्नो अल्प समय थाह पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” (प्रकाश १२:७-९, १२) बाइबल यसो भन्छ, “कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर” शैतान “गर्जने सिंहझैं खोजेर हिंड्‌छ।” (१ पत्रुस ५:८) सिंहले अक्सर सबैभन्दा कमजोर र कलिलो जनावरलाई आफ्नो सिकार बनाउँछ। त्यसैले आफ्ना छोराछोरीको सुरक्षा गर्न मसीही आमाबाबुले यहोवाको निर्देशन खोज्नु बुद्धिमानी हो। त्यसो गर्न तपाईंले कत्तिको प्रयास गरिरहनुभएको छ?

४. (क) आफ्नो टोलछिमेकमा एउटा सिंह खुलेआम डुलिरहेको छ भनेर थाह पाउँदा आमाबाबुहरू के गर्न तत्पर हुनुपर्ने हो? (ख) आफ्नो सुरक्षा गर्न छोराछोरीसित के हुनुपर्छ?

तपाईंको टोलछिमेकमा एउटा सिंह खुलेआम डुलिरहेको छ भनेर थाह पाउनुभयो भने आफ्ना छोराछोरीको सुरक्षा गर्नु पक्कै पनि तपाईंको प्रमुख चासो हुनेछ। शैतान एउटा भक्षक सिकारी हो। त्यसले परमेश्‍वरका जनहरूलाई भ्रष्ट पार्न खोज्छ जसले गर्दा तिनीहरू परमेश्‍वरको अनुमोदन पाउन अयोग्य हुन्छन्‌। (अय्यूब २:१-७; १ यूहन्‍ना ५:१९) केटाकेटीलाई सिकार बनाउन सजिलो हुन्छ। दियाबलका पासोहरूबाट उम्कन केटाकेटीले यहोवालाई चिन्‍नुपर्छ अनि उहाँको आज्ञा पालन गर्नुपर्छ। यसको लागि बाइबलको ज्ञान लिनु अत्यावश्‍यक छ। येशूले यसो भन्‍नुभयो: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌ [“ज्ञान लिऊन्‌,” NW]।” (यूहन्‍ना १७:३) साथै, साना केटाकेटीलाई बुद्धि अर्थात्‌ आफूले सिकेको कुरा बुझ्ने तथा त्यसलाई व्यवहारमा उतार्ने क्षमता चाहिन्छ। “बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन” पाउने हुँदा तपाईं आमाबाबुले आफ्ना छोराछोरीको हृदयमा सत्य राखिदिनु पर्छ। (उपदेशक ७:१२) तपाईं कसरी यसो गर्न सक्नुहुन्छ?

५. (क) बुद्धि कसरी प्रदान गर्न सकिन्छ? (ख) हितोपदेशको पुस्तकले बुद्धिको महत्त्व कसरी वर्णन गर्छ?

तपाईं आफ्ना छोराछोरीलाई बाइबलबाट पढेर सुनाउन सक्नुहुन्छ र अवश्‍य त्यसो गर्नुपर्छ। तर यहोवालाई प्रेम गर्न तथा उहाँको आज्ञा पालन गर्न छोराछोरीलाई मदत दिन यति गरेर मात्र पुग्दैन—तिनीहरूले कुरा बुझ्नु आवश्‍यक छ। उदाहरणका लागि: बाटो काट्‌नुअघि दायाँ बायाँ दुवैतिर हेर्नुपर्छ भनेर बच्चालाई सिकाइएको हुन सक्छ। तैपनि, कोही-कोही बच्चाहरूले भनेको कुरा मान्दैनन्‌। किन? त्यसरी बाटो काट्‌दा गाडीले हिर्काएमा हुन सक्ने परिणामबारे पटक-पटक नबुझाइएको वा त्यस्तो “मूर्खतापूर्ण” काम गरेको खण्डमा हुन सक्ने दुर्घटनाको खतराबारे बच्चाले स्पष्टसित बुझ्ने गरी नबताइएको हुन सक्छ। अरूलाई बुद्धि प्रदान गर्न समयको साथसाथै निकै धैर्यता चाहिन्छ। तर बुद्धि अत्यन्तै मूल्यवान्‌ हुन्छ! बाइबल यसो भन्छ: “त्यसका मार्गहरू आनन्ददायक हुन्छन्‌, र त्यसका सबै बाटोहरू उन्‍नतितिर लाग्छन्‌। त्यसलाई समात्नेहरू सबैका निम्ति त्यो जीवनको सहारा हो, र त्यसलाई बलियोगरी समात्नेहरू सुरक्षित रहन्छन्‌।”—हितोपदेश ३:१३-१८; २२:१५.

बुद्धि प्रदान गर्ने शिक्षा

६. (क) केटाकेटीले मूर्खतापूर्ण काम गर्नुको कारण अक्सर के हो? (ख) अहिले कस्तो लडाइँ चलिरहेको छ?

साना केटाकेटीहरूले गलत काम गर्नुको कारण अक्सर तिनीहरूलाई सही कुरा नसिकाइएकोले नभई सिकाइएको कुरा तिनीहरूको हृदयसम्म अर्थात्‌ तिनीहरूको भित्री मनुष्यत्वसम्म नपुगेकोले गर्दा हो। दियाबलले यी साना केटाकेटीहरूको हृदयमाथि कब्जा जमाउन लडाइँ लडिरहेको छ। त्यसले केटाकेटीहरूलाई यस संसारमा व्याप्त परमेश्‍वरको मार्ग विपरीतका कुराहरू सिकाउन अनेकौं तरिका अपनाउँछ। खराब कुराहरू गर्ने तिनीहरूको जन्मजात पापी झुकावको पनि त्यसले नाजायज फाइदा उठाउन खोज्छ। (उत्पत्ति ८:२१; भजन ५१:५) आफ्ना छोराछोरीको हृदयमा कब्जा जमाउन एउटा साँच्चैको लडाइँ चलिरहेको छ भनेर आमाबाबुले बुझ्नु आवश्‍यक छ।

७. बच्चालाई सही के हो र गलत के हो भनेर बताउनु मात्र किन पर्याप्त छैन?

आमाबाबुले आफ्नो बच्चालाई सही के हो र गलत के हो भनेर प्रायजसो बताउँछन्‌ अनि यसरी बताउँदा उसलाई एउटा नैतिक सिद्धान्त सिकाएको ठान्छन्‌। तिनीहरूले बच्चालाई झूटो बोल्नु, चोर्नु वा आफूले विवाह नगरेको व्यक्‍तिसित यौन सम्बन्ध राख्नु गलत हो भनेर बताएका हुन सक्छन्‌। तथापि, केटाकेटीले कुनै पनि आज्ञा पालन गर्नुमा आमाबाबुले भनेकोले मात्र नभई त्योभन्दा बलियो उत्प्रेरणा हुनुपर्छ। यी यहोवाका नियमहरू हुन्‌। यहोवाका आज्ञाहरू पालन गर्नु नै बुद्धिमानी मार्ग हो भनेर बच्चाले सिक्नुपर्छ।—हितोपदेश ६:१६-१९; हिब्रू १३:४.

८. कस्तो प्रकारको शिक्षाले केटाकेटीलाई बुद्धिमानीपूर्वक चल्न मदत गर्न सक्छ?

ब्रह्‍माण्डको जटिलता, जीवित थोकहरूको विविधता, ऋतुहरूको परिवर्तन—यी सबै कुराहरूले साना केटाकेटीलाई सर्वज्ञानी सृष्टिकर्ताको अस्तित्व स्वीकार्न मदत गर्न सक्छ। (रोमी १:२०; हिब्रू ३:४) साथै, परमेश्‍वरले उसलाई प्रेम गर्नुहुन्छ अनि उसलाई अनन्त जीवन दिनको लागि परमेश्‍वरले आफ्नो पुत्रको बलिदानको प्रबन्ध मिलाउनुभएको छ र परमेश्‍वरका आज्ञा पालन गरेर उसले उहाँलाई आनन्दित तुल्याउन सक्छन्‌ भनेर बच्चालाई सिकाउनुपर्छ। यसो गरेको खण्डमा यहोवाको सेवा गर्नदेखि दियाबलले रोक्न खोजे तापनि सम्भवतः उसले यहोवाकै सेवा गर्ने निर्णय गर्न सक्छ।—हितोपदेश २२:६; २७:११; यूहन्‍ना ३:१६.

९. (क) जीवनको सुरक्षा गर्ने शिक्षा दिन के-के गर्नुपर्छ? (ख) बुबाहरूलाई के गर्ने निर्देशन दिइएको छ अनि यसमा कुन कुरा समावेश छ?

बच्चाको सुरक्षा गर्ने तथा उसलाई सही कुरा गर्न उत्प्रेरित गर्ने शिक्षा दिन समय लगाउनुपर्छ, ध्यान दिनुपर्छ अनि पूर्वयोजना चाहिन्छ। यसो गर्न आमाबाबुले परमेश्‍वरको डोऱ्‍याइ स्वीकार्नु आवश्‍यक छ। बाइबल यसो भन्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई . . . प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यसको अर्थ के हो? यहाँ “शिक्षा” भनी अनुवाद गरिएको अभिव्यक्‍तिले मौलिक युनानीमा “मन हाल्नु” भन्‍ने अर्थ बुझाउँछ। त्यसकारण, आफ्ना छोराछोरीको हृदयमा यहोवाको मन हाल्नु भनेर विशेष गरी बुबाहरूलाई आग्रह गरिएको छ। यसो गर्नु साना केटाकेटीहरूको लागि कस्तो सुरक्षा हुनेछ! छोराछोरीको मनमा परमेश्‍वरको सोचाइ र उहाँको सोच्ने तरिका बारम्बार दोहोऱ्‍याएर राखिदिएको छ भने तिनीहरू गलत कुरा गर्नदेखि जोगिन्छन्‌।

प्रेमद्वारा उत्प्रेरित इच्छा

१०. तपाईंको बच्चालाई प्रभावकारी ढङ्‌गमा निर्देशन दिन तपाईंले कुन कुरा थाह पाउनु महत्त्वपूर्ण छ?

१० तपाईंको बच्चालाई राम्ररी हुर्काउने आफ्नो इच्छा पूरा गर्न तपाईंका प्रयासहरू प्रेमद्वारा उत्प्रेरित हुनुपर्छ। एउटा महत्त्वपूर्ण कुरा भनेको राम्रो कुराकानी हो। तपाईंको बच्चाको जीवनमा के कस्ता कुराहरू भइरहेका छन्‌ अनि उसको सोचाइ कस्तो छ भनेर पत्ता लगाउनुहोस्‌। कुराकानी गर्न सजिलो हुने वातावरणमा कौशलतापूर्वक तपाईंको बच्चालाई कुरा गर्न प्रोत्साहन दिनुहोस्‌। उसले व्यक्‍त गर्ने कुराहरू सुन्दा कहिलेकाहीं तपाईं वाल्ल पर्नुहोला। तुरुन्तै विचलित भइहाल्ने वा रिसाइहाल्ने नगर्न होसियार हुनुहोस्‌। बरु, सहानुभूति देखाउँदै ध्यानपूर्वक उसको कुरा सुन्‍नुहोस्‌।

११. आमाबाबुले आफ्नो बच्चाको हृदयमा कसरी परमेश्‍वरको मन हाल्न सक्छन्‌?

११ हुन त, परमेश्‍वरको नियमले यौन अनैतिकतालाई निषेध गर्छ भनेर धेरै चोटि तपाईंले बाइबलबाटै आफ्नो बच्चालाई पढेर सुनाउनुभएको हुन सक्छ। (१ कोरिन्थी ६:१८; एफिसी ५:५) यसो गर्दा तपाईंका छोराछोरीले यहोवालाई मन पर्ने र मन नपर्ने कुराहरू के-के हुन्‌ भनेर स्पष्टसित बुझेको हुन सक्छ। तथापि, छोराछोरीमा यहोवाको मन हाल्न त्यति मात्र गरेर पुग्दैन। यहोवाले कुनै नियम दिनुको कारण राम्ररी बुझ्न साना केटाकेटीहरूलाई मदत चाहिन्छ। उहाँका नियमहरू सही तथा लाभदायक छन्‌ अनि ती पालन गर्नु उचित तथा मायालु कुरा हो भनेर तिनीहरू विश्‍वस्त हुन सक्नुपर्छ। तपाईंका छोराछोरीले परमेश्‍वरको दृष्टिकोण स्वीकार्नको लागि धर्मशास्त्रबाटै तर्क गरेर देखाउनुभएको छ भने मात्र तपाईंले तिनीहरूको हृदयमा उहाँको मन हाल्नुभएको छ भन्‍न सकिन्छ।

१२. यौन सम्बन्धप्रति सही दृष्टिकोण राख्न आमाबाबुले आफ्ना छोराछोरीलाई कसरी मदत गर्न सक्छन्‌?

१२ यौनबारे कुरा गर्दा तपाईं यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ, “के तिम्रो विचारमा विवाह गर्नुअघि कसैसित पनि यौन सम्बन्ध नराख्नु भन्‍ने यहोवाको नियमले मानिसको आनन्द खोस्छ जस्तो लाग्छ?” तपाईंको छोरा वा छोरीलाई कारणसहित जवाफ दिन प्रोत्साहन दिनुहोस्‌। बच्चा जन्माउन परमेश्‍वरले मिलाउनुभएको अद्‌भुत प्रबन्धबारे छलफल गरिसकेपछि तपाईं यस्तो प्रश्‍न गर्न सक्नुहुन्छ: “तिम्रो विचारमा के हाम्रो मायालु परमेश्‍वरले हाम्रो जीवनको आनन्द हरण हुने नियमहरू बनाउनुहुन्छ होला? अथवा उहाँका नियमहरू हामीलाई आनन्दित बनाउन अनि हाम्रै सुरक्षाको लागि हुन्‌ जस्तो लाग्छ?” (भजन ११९:१, २; यशैया ४८:१७) यस विषयमा तपाईंको छोरा वा छोरीको सोचाइ कस्तो छ, सो पत्ता लगाउनुहोस्‌। यसो गरेपछि यौन अनैतिकताले कसरी दुःख अनि समस्या निम्त्याएको छ भनेर देखाउन केही उदाहरणहरू बताउन सक्नुहुन्छ। (२ शमूएल १३:१-३३) तपाईंको बच्चाले परमेश्‍वरको दृष्टिकोण बुझोस्‌ र त्यसलाई स्वीकारोस्‌ भनेर ऊसित तर्क गर्नुभयो भने उसको हृदयमा परमेश्‍वरको मन हाल्न निकै सफल हुनुभएको ठहरिनेछ। तथापि, तपाईंले गर्न सक्ने अर्को कुरा पनि छ।

१३. यहोवाबारे कुन कुरा बुझेपछि बच्चा खास गरी उहाँको आज्ञा पालन गर्न उत्प्रेरित हुन सक्छ?

१३ यहोवाको आज्ञा पालन नगर्दा कस्तो परिणाम भोग्नुपर्नेछ भनेर सिकाउनुको अलावा हामीले जीवन बिताउने तरिकाबाट यहोवालाई व्यक्‍तिगत तवरमा कस्तो असर पर्छ भनेर पनि बुद्धिमानीपूर्वक सिकाउन सक्नुहुन्छ। उहाँको इच्छाअनुसार नगर्दा हामीले यहोवालाई दुःखित तुल्याउन सक्छौं भनेर बाइबलबाटै तपाईंको बच्चालाई देखाउनुहोस्‌। (भजन ७८:४१) “तिमी किन यहोवालाई दुःखी बनाउन चाहँदैनौ?” भनेर सोधेपछि यसरी बुझाउन सक्नुहुन्छ: “यहोवालाई प्रेम गरेकोले नभई आफ्नो स्वार्थ पूरा गर्न हामी उहाँको सेवा गर्छौं भनी परमेश्‍वरको शत्रु शैतानले भन्छ।” यसपछि, निष्ठा कायम गरेर अय्यूबले कसरी परमेश्‍वरको हृदय आनन्दित तुल्याए अनि शैतानको झूटो आरोपलाई मुखभरिको जवाफ दिए भनेर बुझाउनुहोस्‌। (अय्यूब १:९-११; २७:५) उसको आफ्नो व्यवहारले यहोवालाई खुसी वा दुःखी बनाउन सक्छ भनेर तपाईंको बच्चाले बुझ्नु आवश्‍यक छ। (हितोपदेश २७:११) लर्न फ्रम द ग्रेट टिचर a भन्‍ने पुस्तक चलाएर केटाकेटीलाई यो र अरू थुप्रै महत्त्वपूर्ण पाठहरू सिकाउन सकिन्छ।

राम्रा परिणामहरू

१४, १५. (क) टिचर पुस्तकका कुन-कुन पाठहरूले बच्चाहरूलाई उत्प्रेरित गरेको छ? (ख) यो पुस्तक चलाएर तपाईंले कस्ता राम्रा परिणामहरू प्राप्त गर्नुभएको छ? (पृष्ठ १८-१९ को पेटी पनि हेर्नुहोस्‌।)

१४ आफ्नो सात वर्षीय नातिलाई टिचर पुस्तक पढेर सुनाउने क्रोएसियाका हजुरबुबा आफ्नो नातिले यसो भनेको कुरा लेख्छन्‌: “ममीले मलाई एउटा काम गर्न अह्राउनुभयो तर मलाई त्यो काम गर्नै मन लागेन। त्यति नै बेला मैले ‘आज्ञाकारी हुँदा तपाईंको सुरक्षा हुन्छ’ भन्‍ने अध्याय सम्झें अनि ममीलाई गएर उहाँले अह्राउनुभएको काम गर्छु भनें।” “हामीले किन झूट बोल्नु हुँदैन” भन्‍ने अध्यायबारे सं.रा.अ.-को फ्लोरिडाका एक जना दम्पतीले यसो भने: “यसमा दिइएका प्रश्‍नहरूले बच्चाहरूलाई तिनीहरूको मन खोलेर आफ्ना भावनाहरू व्यक्‍त गर्न लगाउँछ अनि साधारणतया तिनीहरूले नस्वीकार्ने गल्तीहरू पनि स्वीकार्न मदत गर्छ।”

१५ टिचर पुस्तकमा २३० वटा भन्दा बढी चित्रहरू छन्‌ अनि हरेक चित्र वा चित्रहरूको समूहको छेउमा क्याप्सन वा विवरण दिइएको छ। यस पुस्तकको लागि कृतज्ञता देखाउँदै एउटी आमाले यस्तो टिप्पणी गरिन्‌, “अक्सर मेरो छोराले यसको चित्र आँखा झिमिक्कै नगरी हेरिरहन्छ अनि पाना पल्टाउनै मान्दैन। यी चित्रहरू आकर्षक हुनुका साथै यसले नै पाठ सिकाउँछ अथवा बच्चालाई प्रश्‍नहरू सोध्न लगाउँछ। अँध्यारो कोठामा एउटा बच्चाले टिभी हेरिरहेको चित्र देखेपछि त्यस केटोले कुनै गलत काम गरिरहेको छ भन्‍ने कुरा उसले बुझेको जस्तो आवाजमा मेरो छोराले मलाई सोध्यो, ‘ममी, यो केटाले के गर्दैछ?’ ” त्यस चित्रको क्याप्सनमा यस्तो लेखिएको छ: “हामीले गर्ने सबै कुरा कसले देख्न सक्नुहुन्छ?”

अहिलेको लागि अत्यावश्‍यक शिक्षा

१६. अहिलेका बच्चाहरूलाई कुन कुरा सिकाउनु अत्यावश्‍यक छ र किन?

१६ आफ्नो शरीरका गुप्ताङ्‌गहरूको उचित तथा अनुचित प्रयोगबारे बच्चाहरूलाई थाह हुनुपर्छ। यद्यपि, यस विषयमा कुरा गर्नु सधैं सजिलो हुँदैन। एउटा अखबारको स्तम्भकारले टिप्पणी गरेअनुसार उनी हुर्केको समयमा यौन अङ्‌गलाई सङ्‌केत गर्ने शब्दहरू प्रयोग गर्नु छाडा ठानिन्थ्यो। आफ्ना छोराछोरीलाई सिकाउने सन्दर्भमा उनले यस्तो लेखिन्‌: “मलाई अप्ठ्यारो लागे तापनि मैले सिकाउनै पर्छ।” हो, अप्ठ्यारो लाग्छ भनेर आमाबाबुले आफ्ना छोराछोरीसित यौनबारे कुरै गरेनन्‌ भने बच्चा सुरक्षित रहन सक्दैन। यौन दुराचारीहरूले बच्चाको अज्ञानताको नाजायज फाइदा उठाउँछन्‌। लर्न फ्रम द ग्रेट टिचर पुस्तकले यी विषयहरू उत्थानदायी र मर्यादित ढङ्‌गमा प्रस्तुत गर्छ। बच्चाहरूलाई यौनबारे बताउँदा तिनीहरूको निर्दोषता खोसिंदैन तर त्यसबारे नबताउँदा भने तिनीहरूको नैतिक शुद्धता खोसिन सक्छ।

१७. बच्चाहरूलाई यौनबारे सिकाउन टिचर पुस्तकले आमाबाबुलाई कसरी मदत गर्छ?

१७ अध्याय १० मा दुष्ट स्वर्गदूतहरू पृथ्वीमा आएर सन्तान जन्माएको कुरा छलफल गरेपछि बच्चालाई यस्तो प्रश्‍न सोधिएको छ: “यौन सम्बन्धबारे तिमीलाई के-के थाह छ?” यस पुस्तकले सरल अनि मर्यादित जवाफ दिन्छ। पछि, अध्याय ३२ ले यौन दुराचारीहरूबाट बच्चाहरूलाई कसरी जोगाउन सकिन्छ भनेर बताउँछ। यस्तो शिक्षा अत्यावश्‍यक छ भन्‍ने अभिव्यक्‍तिले भरिएका थुप्रै पत्रहरू प्राप्त भएका छन्‌। एउटी आमाले यस्तो लेखिन्‌: “गत हप्ता मेरो छोरा जाभानलाई बच्चाहरूको डाक्टरकहाँ जँचाउन लैजाँदा हामीले आफ्नो छोरासित शरीरका गुप्ताङ्‌गहरूको सही प्रयोगबारे छलफल गरिसक्यौं कि गरिसकेका छैनौं भनेर ती डाक्टरले सोधिन्‌। हामीले यो नयाँ पुस्तक चलाएर उसलाई सिकाइसकेको कुरा थाह पाउँदा उनी असाध्यै प्रभावित भइन्‌।”

१८. राष्ट्रिय प्रतीकहरूलाई दण्डवत्‌ गर्ने विषयलाई टिचर पुस्तकले कसरी बताएको छ?

१८ अर्को एउटा अध्यायले भने तीन जना हिब्रू केटा शद्रक, मेशक र अबेद्‌नगोको विषयमा बताउँछ जसले बेबिलोनी राज्यको प्रतिनिधित्व गर्ने मूर्तिको सामु घोप्टो पर्न इन्कार गरेका थिए। (दानियल ३:१-३०) कसै-कसैलाई झण्डा सलामी गर्नु भनेको मूर्तिलाई दण्डवत्‌ गर्नु बराबर हो जस्तो नलाग्न सक्छ भनी टिचर पुस्तकले बताउँछ। तथापि, लेखक एडवर्ड ग्याफ्नीले यु.एस. क्याथोलिक भन्‍ने पत्रिकालाई दिएको अन्तरवार्तामा के भने, याद गर्नुहोस्‌। आफ्नी छोरी स्कूल गएको पहिलो दिन घर फर्केपछि उनले “स्कूलमा नयाँ प्रार्थना” सिकेको कुरा बताइन्‌ र उक्‍त लेखकले आफ्नी छोरीलाई त्यो प्रार्थना आफूलाई सुनाउन लगाए। ग्याफ्नीले यसो भने, “उनले आफ्नो हात छातीमा राखेर एकदमै गर्वसाथ भनिन्‌, ‘म झण्डाप्रति वफादार रहने कसम खान्छु . . . ।’ ” ग्याफ्नीले अझ यसो भने: “अकस्मात्‌ मेरो घैंटोमा घाम लाग्यो। यहोवाका साक्षीहरूले भनेको कुरा सही थियो। हाम्रा स्कूलहरूले अत्यन्तै प्रारम्भिक चरणमै राष्ट्रिय उपासनालाई जोड दिन्छन्‌—कुनै कुराले पनि नरोक्ने पूर्ण वफादारी।”

प्रयास बेकार जाँदैन

१९. छोराछोरीलाई सिकाउँदा कस्ता इनामहरू प्राप्त हुन्छन्‌?

१९ साँच्चै, तपाईंका छोराछोरीलाई सिकाउन गर्नुभएको कुनै पनि प्रयास बेकार जाँदैन। आफ्नो छोराको पत्र पाउँदा सं.रा.अ.-को क्यान्सस्‌की एउटी आमा भावविह्वल भएर रोइन्‌। छोराले यस्तो लेखे: “अरूको तुलनामा केही हदसम्म भावनात्मक तवरमा स्थिर र सन्तुलित हुन सक्ने गरी तपाईंहरूले मलाई हुर्काउनुभएकोमा म अत्यन्तै आभारी छु। तपाईं र ड्याडी साँच्चै प्रशंसाको योग्य हुनुहुन्छ।” (हितोपदेश ३१:२८) यो बहुमूल्य सम्पदाको सुरक्षा गर्ने लक्ष्य राख्दै आफ्ना छोराछोरीहरूलाई सिकाउन लर्न फ्रम द ग्रेट टिचर पुस्तकले अझ धेरै आमाबाबुहरूलाई मदत गर्न सक्छ।

२०. आमाबाबुले कुन कुरा कहिल्यै बिर्सनु हुँदैन र यसले तिनीहरूमा कस्तो प्रभाव पार्नुपर्छ?

२० हाम्रा छोराछोरीहरू हामीले दिन सक्ने हाम्रो सम्पूर्ण समय, ध्यान र प्रयासको योग्य छन्‌। तिनीहरू लामो समयसम्म बच्चै रहिरहँदैनन्‌। तिनीहरूसित समय बिताउन अनि तिनीहरूलाई मदत गर्न हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। यसो गर्नुभएकोमा तपाईं कहिल्यै पछुताउनु पर्नेछैन। पछि गएर तिनीहरूले तपाईंलाई प्रेम गर्न थाल्नेछन्‌। तपाईंका छोराछोरीहरू परमेश्‍वरले दिनुभएको उपहार हुन्‌ भनेर कहिल्यै नबिर्सनुहोस्‌। तिनीहरू साँच्चै बहुमूल्य उत्तराधिकार हुन्‌! (भजन १२७:३-५) छोराछोरीलाई कसरी हुर्काउनुहुन्छ, त्यसको लागि तपाईं परमेश्‍वरसामु जवाफदेही हुनुभएझैं गरी तिनीहरूको हेरचाह गर्नुहोस्‌ किनभने तपाईं साँच्चै जवाफदेही हुनुहुन्छ।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित। “परमेश्‍वरलाई कसरी खुसी बनाउने” भन्‍ने अध्याय ४० हेर्नुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आमाबाबुले विशेष गरी अहिले किन आफ्ना छोराछोरीको सुरक्षा गर्नुपर्छ?

• कस्तो प्रकारको शिक्षाले बुद्धि प्रदान गर्छ?

• अहिले तपाईंका बच्चाहरूसित छलफल गर्नुपर्ने अत्यावश्‍यक विषयहरू के-के हुन्‌?

• आफ्ना छोराछोरीलाई सिकाउन टिचर पुस्तकले आमाबाबुलाई कसरी मदत गरेको छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १८, १९-मा भएको पेटी/चित्रहरू]

सबैका लागि पुस्तक

छोराछोरीसित बसेर ख्रीष्टका शिक्षाहरू पढ्‌न र त्यसबारे छलफल गर्न आमाबाबु वा अन्य वयस्कहरूलाई मदत गर्ने हेतुले लर्न फ्रम द ग्रेट टिचर पुस्तक तयार पारिएको थियो। यद्यपि, यो पुस्तक पढेका वयस्कहरूले आफूले सिकेका कुराको लागि निष्कपट कृतज्ञता प्रकट गरेका छन्‌।

संयुक्‍त राज्य अमेरिकाको टेक्सासका एक जना मानिसले यसो भने: “लर्न फ्रम द ग्रेट टिचर पुस्तकले एकदमै सरल ढङ्‌गमा स्पष्टसित बताउँछ, यसले जुनसुकै उमेरको मानिसलाई पनि उत्प्रेरित गर्छ—जस्तो म ७६ वर्षको बूढोलाई समेत यसले उत्प्रेरित गऱ्‍यो। मैले युवावस्थादेखि नै यहोवाको सेवा गरेको छु र आफ्नोतर्फबाट म तपाईंहरूलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु।”

इङ्‌गल्याण्डको लण्डनका एक जना पाठक यस्तो लेख्छन्‌: “यस पुस्तकमा भएका सुन्दर चित्रहरूले आमाबाबु तथा छोराछोरी दुवैलाई आकर्षित नगरी छोड्‌दैन। यसमा दिइएका प्रश्‍नहरू र यस पुस्तकको बनावट निकै राम्रा हुनुका साथै ‘येशूलाई कसरी बचाइयो?’ भन्‍ने अध्याय ३२ को शीर्षकजस्ता संवेदनशील विषयहरू साँच्चै उत्कृष्ट छन्‌।” अन्तमा तिनले यसो भनिन्‌: “यो पुस्तक यहोवाका साक्षीहरूका छोराछोरीलाई ध्यानमा राखेर तयार पारिएको भए तापनि शिक्षक-शिक्षिकालगायत अरूले पनि यो पुस्तक पाएमा उनीहरू औधी खुसी हुनेछन्‌ जस्तो मलाई लाग्छ। आगामी महिना तथा वर्षहरूमा पनि यसलाई प्रयोग गर्ने मेरो विचार छ।”

संयुक्‍त राज्य अमेरिकास्थित मासाच्युसेट्‌सकी एउटी महिलाले थुप्रै “शिक्षामूलक चित्रहरूबारे” टिप्पणी गरिन्‌। तिनले यस्तो लेखिन्‌: “यो पुस्तक केटाकेटीहरूका लागि तयार पारिएको भए तापनि यसमा छलफल गरिएका विषयहरूले हामी वयस्कहरूलाई पनि यहोवासितको आफ्नो व्यक्‍तिगत सम्बन्धबारे सोच्न मदत गर्न सक्छ जस्तो लाग्यो।”

संयुक्‍त राज्य अमेरिकाको मेनमा बसोबास गर्ने एउटी महिलाले यस्तो उद्‌गार व्यक्‍त गरिन्‌, “वाह! कस्तो मजाको पुस्तक! यो साना केटाकेटीहरूको लागि मात्र नभई परमेश्‍वरका छोराछोरीको रूपमा हामी सबैका लागि पनि हो। यस पुस्तकले मेरो हृदयको कुना-कुनासम्म छुनुका साथै मेरो भावनालाई जागृत गराएर त्यसलाई शान्त पनि पारेको छ। यसो हुँदा मैले ठूलो शान्ति महसुस गरेकी छु। आफ्नो पिताको रूपमा यहोवासित अत्यन्तै घनिष्ठ महसुस गर्न सकेकी छु। वर्षौंको दौडान मैले जति पनि पीडा भोगें ती सबै उहाँले हटाइदिनुभएको छ र आफ्नो उद्देश्‍य छर्लङ्‌ग पार्नुभएको छ।” यसो भन्दै तिनले आफ्नो कुरा टुङ्‌ग्याइन्‌: “ ‘कृपया यो पुस्तक अवश्‍य पढ्‌नुहोस्‌’ भनी म सबैलाई आग्रह गर्न चाहन्छु।”

जापानस्थित क्योटोकी एक महिलाले आफ्ना नातिनातिनासँग यो पुस्तक पढिरहेको बेला उनीहरूले यस्ता प्रश्‍नहरू सोधेको कुरा बताइन्‌: “ ‘यो केटोले के गर्दैछ? यो सानी केटीलाई किन गाली गरेको होला? यी आमा के गर्दैछिन्‌? यो सिंह के गर्दैछ?’ यसले हामीलाई मनपर्ने कुराहरू सिकाउने भएकोले मलाई यो पुस्तक लाइब्रेरीमा पाइने अरू पुस्तकहरूभन्दा बढी मनपर्छ।”

यो पुस्तक पाउनासाथ आफूले यसलाई आफ्नी छ वर्षीया छोरी र नौ वर्षीय छोरालाई पढेर सुनाएको कुरा क्यानाडास्थित क्यालगरीका एक जना बुबा बताउँछन्‌। तिनी यसो भन्छन्‌, “यसको राम्रो नतिजा तुरुन्तै देखियो। मेरा छोराछोरीले ध्यान दिएर सुन्‍न अनि हृदयदेखि नै प्रश्‍नका जवाहरू दिन थाले। अध्ययनमा आफू पनि सामेल भएको उनीहरूले महसुस गरे र यस्तो सोचाइले उनीहरूलाई आफ्नो मनका कुरा व्यक्‍त गर्ने मौका दियो। उनीहरू उत्साहित भएका छन्‌ र मेरी छोरी त यस पुस्तकबाट हरेक रात अध्ययन गर्न चाहन्छु भन्छे।”

एउटा अध्ययनपछि एक जना बुबाले यसो भने: “मेरो छोरा र मैले यहोवा अनि उहाँका उद्देश्‍यहरूबारे घण्टौं कुरा गऱ्‍यौं। उसले मलाई यस पुस्तकमा आधारित थुप्रै प्रश्‍नहरू सोध्यो। उसले मलाई गुड नाइट ड्याडी भनिसकेपछि ‘ड्याडी, के हामी यस्तो कुरा फेरि पनि गर्न सक्छौं? मेरा थुप्रै प्रश्‍नहरू छन्‌ र म यहोवाबारे सबै कुरा थाह पाउन चाहन्छु’ भनेको सुन्दा मेरो गहभरि आँसु उर्लेर आयो। ”

[पृष्ठ १५-मा भएको चित्र]

आमाबाबु हो, मानोहको उदाहरणबाट तपाईं के सिक्न सक्नुहुन्छ?

[पृष्ठ १६-मा भएको चित्र]

साना केटाकेटी हो, तीन जना हिब्रू केटाको घटनाबाट तपाईं के सिक्न सक्नुहुन्छ?

[पृष्ठ १७-मा भएका चित्रहरू]

“टिचर” पुस्तकका चित्र तथा क्याप्सनहरू प्रभावकारी शिक्षण सामग्री हुन्‌

हननियाले पत्रुसलाई कस्तो झूट कुरा बताइरहेका छन्‌?

हामीले गर्ने सबै कुरा कसले देख्न सक्नुहुन्छ?