सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

पाठकहरूका प्रश्‍नहरू

के कुनै मसीहीले सरकारी कर्मचारीलाई तिनको सेवाको लागि टिप्स अथवा उपहार दिन मिल्छ वा त्यसलाई घूसको रूपमा हेर्नुपर्छ?

आफू जहाँसुकै बसे तापनि स्थानीय परिस्थितिअनुसार चल्ने सन्दर्भमा मसीहीहरूले व्यावहारिक बुद्धि चलाउने प्रयास गर्छन्‌ र यसो गर्दा उनीहरूले एउटा देशमा स्वीकार्य र कानुनसम्मत कुरा अर्को देशमा पूरै अस्वीकार्य अनि गैर-कानुनी हुन सक्छ भन्‍ने कुरा ध्यानमा राख्छन्‌। (हितोपदेश २:६-९) निस्सन्देह, “[यहोवाको] बासस्थानमा . . . बास” पाउन चाहने व्यक्‍ति घूस लिन र दिनदेखि अलग्ग बस्नै पर्छ भन्‍ने कुरा एक जना मसीहीले कहिल्यै भुल्नु हुँदैन।—भजन १५:१, ५; हितोपदेश १७:२३.

घूस भनेको के हो? दी वर्ल्ड बूक इन्साइक्लोपीडिया-अनुसार “घूस भनेको . . . कुनै ओहदाका व्यक्‍तिलाई मूल्यवान्‌ वस्तु दिनु वा टक्र्‌याउनु हो, जसको फलस्वरूप तिनले घूस दिने व्यक्‍तिलाई लाभ पुऱ्‍याउन आफ्नो कर्तव्य अथवा कानुन उल्लङ्‌घन गर्छ। तसर्थ, जहाँसुकै बसे तापनि कानुन छल्न न्यायाधीश वा प्रहरी अधिकृतलाई अथवा कुनै गल्ती वा नियम उल्लङ्‌घन हुँदा त्यसको वास्ता नगर्न प्रहरी निरीक्षकलाई पैसा वा उपहार दिनु भनेको घूस दिनु हो। विशेष सुविधा पाउनको लागि वेटिङ लिस्टमा पहिला हुन अथवा अरूलाई उछिनेर लाइनमा सबैभन्दा अघि हुन उपहार दिनु पनि घूस दिनु बराबर नै हो। यस किसिमको कार्यमा प्रेमको कमी पनि देखिन्छ।—मत्ती ७:१२; २२:३९.

तर कानुनसम्मत सेवा प्राप्त गर्न अथवा अन्यायमा पर्नदेखि जोगिन कुनै कर्मचारीलाई उपहार वा टिप्स दिनु पनि के घूस नै हो? उदाहरणका लागि, कुनै-कुनै मुलुकमा अधिकारीहरूले टिप्स नपाउन्जेल केटाकेटीलाई स्कूलमा भर्ना गर्न, अस्पतालमा भर्ना गर्न वा अध्यागमनसम्बन्धी कागजपत्र वितरण गर्न आनाकानी गर्न सक्छन्‌। अथवा अनुमतिपत्र नवीकरण गर्न दिइएको दर्खास्त अघि बढाउन उनीहरूले ढिलाइ गर्न सक्छन्‌।

टिप्स दिने चलन र त्यसप्रतिको जन धारणा ठाउँअनुसार फरक-फरक हुन्छ। टिप्स दिने चलन सामान्य भएको वा टिप्सको आशा गरिने ठाउँमा कानुनको दायराभित्र रहेर कुनै अधिकारीलाई उसको काम पूरा गर्न टिप्स दिंदा बाइबलको सिद्धान्त उल्लङ्‌घन हुँदैन भनी कोही-कोही मसीहीहरूले सोच्न सक्छन्‌। कुनै-कुनै मुलुकमा त अझ उपहारको रूपमा दिइने यस किसिमको टिप्सलाई मानिसहरूले कर्मचारीको न्यून आयस्रोत बढाउन दिएको समेत भन्‍न सक्छन्‌। कानुनसम्मत सेवाको लागि उपहार दिनु र गैरकानुनी काम गराउन घूस दिनुबीच भिन्‍नता छ भन्‍ने कुरा नबिर्सनुहोस्‌।

अर्कोतर्फ, कानुनसम्मत निवेदनहरू गर्ने सन्दर्भमा यहोवाका केही साक्षीहरूले उपहार दिने यस्तो चलन सामान्य भएका ठाउँहरूमा समेत प्रहरी निरीक्षक, भन्सार अधिकृत अथवा अरूलाई टिप्स दिन अस्वीकार गरेका छन्‌। अन्तस्करणको आधारमा लिने यस्तो अडान र इमानदारिताको कारण साक्षीहरू स्थानीय तवरमा चिरपरिचित भएकोले अधिकांश मानिसहरूले पैसा तिरेपछि मात्र पाउने राम्रो व्यवहार कहिलेकाहीं साक्षीहरूले त्यत्तिकै पाउँछन्‌।—हितोपदेश १०:९; मत्ती ५:१६.

समग्रमा भन्‍नुपर्दा, कानुनसम्मत सेवा पाउन अथवा अन्यायमा पर्नदेखि जोगिन टिप्स दिने कि नदिने भन्‍ने विषयमा यहोवाका हरेक सेवकले आफै निर्णय गर्नुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनले आफ्नो अन्तस्करण नखलबलिने, यहोवाको नाउँ कलङ्‌कित नहुने र अरूलाई ठोकर नपुग्ने किसिमको मार्ग अपनाउनुपर्छ।—मत्ती ६:९; १ कोरिन्थी १०:३१-३३; २ कोरिन्थी ६:३; १ तिमोथी १:५.