सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवालाई आफ्नो परमेश्‍वर बनाउने

यहोवालाई आफ्नो परमेश्‍वर बनाउने

यहोवालाई आफ्नो परमेश्‍वर बनाउने

बाइबलकालीन समयमा केही व्यक्‍तिविशेषले यहोवासितको घनिष्ठ सम्बन्धबाट यत्ति आनन्द उठाए कि उहाँ तिनीहरूका परमेश्‍वर कहलाइनुभयो। उदाहरणका लागि, धर्मशास्त्रमा यहोवालाई “अब्राहामका परमेश्‍वर,” “दाऊदका परमप्रभु परमेश्‍वर” र “एलियाका परमेश्‍वर” भनी सम्बोधन गरिएको पाउँछौं।—उत्पत्ति ३१:४२; २ राजा २:१४; २०:५.

यी मानिसहरू परमेश्‍वरसित कसरी यत्ति घनिष्ठ हुन सके? हामीले पनि सृष्टिकर्तासित बलियो व्यक्‍तिगत सम्बन्ध विकास गर्न र त्यसलाई कायम राख्न उनीहरूबाट हामी के सिक्न सक्छौं?

अब्राहामले “यहोवामाथि विश्‍वास” गरे

यहोवामाथि विश्‍वास राख्ने पहिलो व्यक्‍ति अब्राहाम थिए भनी बाइबल बताउँछ। आफ्नो विश्‍वासको कारण नै अब्राहामले परमेश्‍वरको अनुमोदन पाए। हो, अब्राहामले यहोवाको यत्ति अनुग्रह पाएका थिए कि सृष्टिकर्ताले पछि मोशासामु आफूलाई “अब्राहामका परमेश्‍वर” र तिनका छोरा अनि नाति इसहाक र याकूबका परमेश्‍वरको रूपमा चिनाउनुभयो।—उत्पत्ति १५:६; प्रस्थान ३:६.

अब्राहामले कसरी परमेश्‍वरमाथि यस्तो विश्‍वास विकास गर्न सके? सर्वप्रथम, अब्राहामको विश्‍वासको एउटा ठोस आधार थियो। परमेश्‍वरले दिनुभएको छुटकाराको प्रत्यक्षदर्शी नूहको छोरा शेमले तिनलाई यहोवाका मार्गहरूबारे बताएका हुन सक्छन्‌। शेम यहोवाले “अभक्‍तहरूको संसारमा जलप्रलय गराउनुहुँदा धर्मका प्रचारक नूह र अरू सात जनालाई” जोगाउनुभएको देख्ने एक जीवित प्रमाण थिए। (२ पत्रुस २:५) यहोवा जे प्रतिज्ञा गर्नुहुन्छ उहाँ त्यो अवश्‍य पूरा पनि गर्नुहुन्छ भन्‍ने कुरा अब्राहामले शेमबाटै थाह पाएको हुनुपर्छ। जे होस्‌, परमेश्‍वरले अब्राहामसित प्रतिज्ञा गर्नुहुँदा तिनी हर्षित भए र उहाँले गर्नुभएको त्यो प्रतिज्ञा पूरा हुनेछ भन्‍ने पक्का ज्ञानअनुसार तिनले आफ्नो जीवन बिताए।

अब्राहामसित पहिल्यैदेखि विश्‍वासको ठोस आधार भएकोले तिनको कामले यस विश्‍वासलाई थप सुदृढ बनायो। प्रेरित पावलले यस्तो लेखे: “विश्‍वासैबाट बोलावट भएपछि अधिकारको निम्ति आफूले पाउने ठाउँमा निस्केर जानलाई अब्राहामले आज्ञा पालन गरे, र कता जाने हो, सो नजानीकनै उनी निस्केर गए।” (हिब्रू ११:८) त्यस्तो आज्ञाकारिताले अब्राहामको विश्‍वास अझ बलियो भयो, जसको विषयमा चेला याकूबले यस्तो लेखे: “विश्‍वासले उनका कामको साथसाथ काम गरेको, र कामैबाट विश्‍वास सिद्ध भएको तँ देख्तछस्‌।”—याकूब २:२२.

यसबाहेक, यहोवाले अब्राहामको विश्‍वासको परीक्षा हुन दिनुभयो र त्यसलाई अझ बलियो पार्नुभयो। पावलले यसो पनि भने: “विश्‍वासैबाट अब्राहामले परीक्षा हुँदा इसहाकलाई चढाए।” परीक्षाले विश्‍वासलाई खार्छ र त्यसलाई बलियो बनाउँछ, जसको फलस्वरूप यो “सुनभन्दा ज्यादै किम्मितीको” हुन्छ।—हिब्रू ११:१७; १ पत्रुस १:७.

परमेश्‍वरले गर्नुभएका सम्पूर्ण प्रतिज्ञाहरू पूरा भएको अब्राहामले हेर्न नपाए पनि अरूले आफ्नो उदाहरण पछ्याएको देख्दा तिनी आनन्दले गद्‌गद भए। तिनकी पत्नी सारा र परिवारका अन्य तीन जना सदस्य—इसहाक, याकूब र यूसुफको उल्लेखनीय विश्‍वासको कारण बाइबलमा उनीहरूको पनि प्रशंसा गरिएको छ।—हिब्रू ११:११, २०-२२.

आज अब्राहामको जस्तै विश्‍वास

यहोवालाई आफ्नो परमेश्‍वर बनाउन चाहने व्यक्‍तिसित विश्‍वास हुनै पर्छ। पावलले यस्तो लेखे: “विनाविश्‍वास [परमेश्‍वरलाई] रिझाउन असम्भव छ।” (हिब्रू ११:६) आज परमेश्‍वरका सेवकले अब्राहामको जस्तै बलियो विश्‍वास कसरी विकास गर्न सक्छन्‌?

अब्राहामको सन्दर्भमा जस्तै हाम्रो विश्‍वासको पनि एउटा ठोस आधार हुनै पर्छ। यसो गर्ने एउटा सर्वोत्तम तरिका नियमित रूपमा बाइबल तथा बाइबल आधारित प्रकाशनहरू अध्ययन गर्नु हो। बाइबल पढ्‌दा अनि पढेको कुरामा मनन गर्दा त्यसले हामीलाई परमेश्‍वरका प्रतिज्ञाहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुरामा विश्‍वस्त पार्न सक्छ। यसो गरेपछि हामी हाम्रो जीवन शैली त्यसै निश्‍चित आशाअनुसार ढाल्न उत्प्रेरित हुन्छौं। आज्ञाकारी हुँदा हाम्रो विश्‍वास अझ बलियो हुन्छ र यस्तो आज्ञाकारितामा जन सेवकाईमा भाग लिनु र मसीही सभाहरूमा उपस्थित हुनु समावेश छ।—मत्ती २४:१४; २८:१९, २०; हिब्रू १०:२४, २५.

सतावट, गम्भीर रोगबिमार, प्रियजनको मृत्यु अथवा अरू नै कुराद्वारा हाम्रो विश्‍वासको जाँच अवश्‍यै हुनेछ। परीक्षाको घडीमा पनि यहोवाप्रति वफादार रहँदा हाम्रो विश्‍वास बलियो हुन्छ र यस्तो विश्‍वास सुनभन्दा पनि किम्मतीको हुन्छ। परमेश्‍वरले गर्नुभएका सम्पूर्ण प्रतिज्ञाहरू पूरा होउन्जेल हामी बाँचे पनि नबाँचे पनि हाम्रो विश्‍वासले हामीलाई यहोवाको नजिक खिच्नेछ। त्यति मात्र होइन, हाम्रो उदाहरणले अरूलाई पनि हाम्रो विश्‍वासको अनुकरण गर्न प्रोत्साहित गर्नेछ। (हिब्रू १३:७) राल्फको सन्दर्भमा यस्तै भएको थियो जसले आफ्नो आमाबाबुको विश्‍वास देखेर त्यसको अनुकरण गरे। तिनी यसो भन्छन्‌:

“म घरमा हुँदा मेरा आमाबुबाले सँगै बाइबल पढ्‌न परिवारका सबै जनालाई बिहान सबेरै उठ्‌न प्रोत्साहन दिनुहुन्थ्यो। त्यसरी हामीले सम्पूर्ण बाइबल पढिसिध्यायौं।” राल्फ अझै पनि हरेक बिहान बाइबल पढ्‌छन्‌ र यसले गर्दा तिनको दिनको सुरुवात राम्रो हुन्छ। राल्फ आफ्नो बुबासित हरेक हप्ता जन सेवकाईमा जाने गर्थे। “त्यतिबेलै हो मैले पुनःभेट गर्न र गृह बाइबल अध्ययन सञ्चालन गर्न सिकेको।” राल्फ अहिले युरोपस्थित यहोवाका साक्षीहरूको एउटा शाखा कार्यालयमा स्वयम्‌सेवकको रूपमा सेवारत छन्‌। तिनका आमाबुबाको विश्‍वासको कस्तो राम्रो प्रतिफल!

यहोवाले रुचाउनुभएको एउटा मानिस

अब्राहामको समयदेखि लगभग ९०० वर्षपछि जन्मिएका दाऊद धर्मशास्त्रमा उल्लिखित यहोवाका सेवकहरूमध्ये एक उल्लेखनीय व्यक्‍ति हुन्‌। यहोवाले दाऊदलाई भावी राजाको रूपमा रोज्नुभएको विषयमा अगमवक्‍ता शमूएलले यसो भने: “परमप्रभुले [“यहोवाले,” NW ] आफैले रुचाउनुभएको एउटा मानिस खोज्नुहुनेछ।” यहोवा र दाऊदबीच यत्ति घनिष्ठ सम्बन्ध थियो कि पछि अगमवक्‍ता यशैयाले राजा हिजकियाहलाई यहोवा “तेरा पिता-पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर [“यहोवा,” NW ]” हुनुहुन्छ भनी बताए।—१ शमूएल १३:१४; २ राजा २०:५; यशैया ३८:५.

दाऊद यहोवाले रुचाउनुभएको व्यक्‍ति भए तापनि तिनको जीवनमा यस्ता मोडहरू पनि आए जतिखेर तिनले आफ्ना इच्छाहरूलाई नियन्त्रणमा राख्न सकेनन्‌। तीन-तीन चोटि तिनले गम्भीर गल्ती गरे: तिनले गलत ढङ्‌गमा करारको सन्दुकलाई यरूशलेम लैजान दिए; तिनले बेतशेबासँग व्यभिचार गरे र षड्यन्त्र रचेर तिनको पति उरियाहलाई मार्न लगाए; अनि तिनले इस्राएल र यहूदाका मानिसहरूको गणना गर्न लगाए, जुन काम गर्न यहोवाले आज्ञा दिनुभएकै थिएन। यी सबै कुरामा दाऊदले परमेश्‍वरको व्यवस्था उल्लङ्‌घन गरे।—२ शमूएल ६:२-१०; ११:२-२७; २४:१-९.

तथापि, तिनले गरेका पापहरूबारे तिनलाई अवगत गराइँदा तिनले ती सबैको जिम्मेवारी स्वीकारे र अरूमाथि दोष थोपर्ने काम गरेनन्‌। सन्दुक लैजाने कामको राम्रो बन्दोबस्त नमिलाइएको कुरा मानिलिंदै तिनले यसो भने, “हामीले गर्नुपरेअनुसार [यहोवाको] अगुवाइ हामीले खोजेनौं।” दाऊदले गरेको व्यभिचारलाई अगमवक्‍ता नातानले उदाङ्‌ग पारिदिंदा तिनले यसो भनेर जवाफ दिए: “मैले परमप्रभुको [“यहोवाको,” NW ] विरुद्धमा पाप गरें।” अनि जनगणना गरेर आफूले गरेको मूर्ख कामबारे थाह भएपछि तिनले यसरी स्वीकारे: “मैले साह्रै दुष्ट काम गरेछु!” दाऊदले आफूले गरेको पापको पश्‍चात्ताप गरे र यहोवाको नजिक रहिरहे।—१ इतिहास १५:१३; २ शमूएल १२:१३; २४:१०.

जब हामी गल्ती गर्छौं

यहोवालाई आफ्नो परमेश्‍वर बनाउने प्रयत्न गर्दा दाऊदको उदाहरण प्रोत्साहनदायी हुन सक्छ। यहोवाले अत्यन्तै रुचाउनुभएको व्यक्‍तिबाट त यस्तो घोर पाप हुन गयो भने, होसियार हुँदाहुँदै पनि कहिलेकाहीं हामीबाट गल्ती वा गम्भीर भूल हुँदा हामी निरुत्साहित हुनु हुँदैन। (उपदेशक ७:२०) दाऊदले पश्‍चात्ताप गरेपछि तिनका पापहरू क्षमा भए भन्‍ने तथ्यबाट हामी प्रोत्साहन पाउन सक्छौं। केही वर्षअघि उभलाई a यस्तै भएको थियो।

उभ यहोवाका साक्षीहरूको मण्डलीमा प्राचीनको रूपमा सेवा गरिरहेका थिए। एक चोटि तिनी खराब इच्छाहरूको वशमा परे र अनैतिक काम गर्न पुगे। आफूले गरेको पापलाई यहोवाले वास्ता गर्नुहुन्‍न होला भन्ठानेर सुरुमा त तिनले राजा दाऊदले जस्तै त्यो कुरा गोप्य राख्न खोजे। अन्ततः उभको अन्तस्करणले तिनलाई यतिबिघ्न पिरोल्यो कि एक जना सँगी प्राचीनकहाँ गएर तिनले आफ्नो गल्ती स्वीकारे र उभलाई तिनको आध्यात्मिक पतनबाट जोगाउन कदम चालियो।

उभले आफ्नो पापको पश्‍चात्ताप गरे अनि यहोवा र मण्डलीको नजिक रहिरहे। आफूले पाएको मदतको लागि तिनी यत्ति कृतज्ञ भए कि केही हप्तापछि तिनले सहयोगको लागि प्राचीनहरूलाई निष्कपट तथा गहिरो कृतज्ञता प्रकट गर्दै एउटा पत्र लेखे। पत्रमा तिनले यसो भनेका थिए: “तपाईंहरूले मलाई यहोवाको नाउँमा लागेको कलङ्‌क हटाउन मदत गर्नुभयो।” उभले फेरि यहोवासितको आफ्नो सम्बन्ध राम्रो बनाए र समयको अन्तरालमा तिनी त्यही मण्डलीमा एक जना सेवकको रूपमा पुनः नियुक्‍त भए।

‘हामी जस्तै दुःख सुख भोगेका मानिस’

दाऊदभन्दा एक शताब्दीपछि एलिया इस्राएलका प्रथम अगमवक्‍तामध्ये एक थिए। भ्रष्टाचार र अनैतिकता व्याप्त भएको समयमा एलियाले साँचो उपासनाको रक्षा गर्ने काम गरे र यहोवाप्रतिको आफ्नो भक्‍तिमा तिनी कहिल्यै ढलपल भएनन्‌। त्यसैले त तिनका उत्तराधिकारी एलिशाले एक चोटि यहोवालाई “एलियाका परमेश्‍वर” भनी सम्बोधन गर्नु कुनै अचम्मलाग्दो कुरा होइन!—२ राजा २:१४.

यद्यपि, एलिया असाधारण मानिस थिएनन्‌। याकूबले यस्तो लेखे: ‘एलिया पनि ता हामी जस्तै दुःख सुख भोगेका मानिस थिए।’ (याकूब ५:१७) उदाहरणका लागि, तिनले इस्राएलमा बालका उपासकहरूलाई नमीठो हार चखाएपछि रानी ईजेबेलले तिनलाई मार्ने धम्की दिइन्‌। तिनले कस्तो प्रतिक्रिया देखाए? तिनी डराएर उजाडस्थानतिर भागे। अम्लिसोको एउटा झाडीमा बसेर एलियाले यस्तो बिलौना गरे: “बस भयो! हे परमप्रभु [“यहोवा,” NW ], अब मेरो प्राण लिनुहोस्‌, किनभने म मेरा अघिअघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!” एलिया अब अगमवक्‍ता हुन चाहँदैनथे बरु मर्न चाहन्थे।—१ राजा १९:४.

तथापि, यहोवाले एलियाको भावना बुझ्नुभयो। एलिया एक्लो छैनन्‌ किनभने साँचो उपासनाप्रति वफादार रहने अरू व्यक्‍तिहरू पनि छन्‌ भन्‍ने आश्‍वासन दिनुभएर परमेश्‍वरले तिनलाई बलियो पार्नुभयो। साथै, यहोवाले एलियामाथि भरोसा गर्न छोड्‌नुभएन र तिनलाई अझै अरू काम गर्न अह्राउनुभयो।—१ राजा १९:५-१८.

एलियाले जुन भावनात्मक उथलपुथल भोगे त्यो तिनले यहोवाको अनुग्रह गुमाएको चिह्न थिएन। लगभग १,००० वर्षपछि पत्रुस, याकूब र यूहन्‍नासामु ख्रीष्ट येशूको रूप परिवर्तन भएको बेला दर्शनमा यहोवाले कसलाई येशूको छेउमा देखापर्न रोज्नुभयो? मोशा र एलियालाई। (मत्ती १७:१-९) कुरा स्पष्ट छ, यहोवाले एलियालाई एक जना उदाहरणीय अगमवक्‍ताको रूपमा हेर्नुभयो। एलिया ‘हामी जस्तै दुःख सुख भोगेका मानिस’ भए तापनि शुद्ध उपासना पुनर्स्थापित गर्ने र उहाँको नाउँ पवित्र पार्ने सन्दर्भमा तिनले गरेको कडा परिश्रमको परमेश्‍वरले मूल्याङ्‌कन गर्नुभयो।

हाम्रो भावनात्मक सङ्‌घर्ष

अहिले पनि यहोवाका सेवकहरू कहिलेकाहीं निरुत्साहित वा चिन्तित हुन सक्छन्‌। एलियाले पनि त्यस्तै महसुस गरेका थिए भन्‍ने कुरा थाह पाउनु कत्ति सान्त्वनादायी छ! अनि जसरी यहोवाले एलियाको भावना बुझ्नुभयो त्यस्तै गरी उहाँले हाम्रो भावनात्मक सङ्‌घर्षलाई पनि बुझ्नुहुन्छ भन्‍ने कुरा एकदमै आश्‍वासनदायी छ।—भजन १०३:१४.

एकातिर हामी परमेश्‍वर तथा हाम्रा सँगी विश्‍वासीहरूलाई प्रेम गर्नुका साथै राज्यको सुसमाचार घोषणा गर्ने यहोवाको काम गर्न चाहन्छौं भने, अर्कोतर्फ प्रचार गर्दा मानिसहरूले देखाउने भावशून्यताको कारण निरुत्साहित अथवा साँचो उपासनाका शत्रुहरूबाट आउने धम्कीको कारण चिन्तित पनि हुन सक्छौं। तथापि, यहोवाले एलियालाई अघि बढ्‌न जसरी सुसज्जित पार्नुभयो त्यसै गरी उहाँले आज पनि आफ्ना सेवकहरूलाई सुसज्जित पार्नुहुन्छ। उदाहरणका लागि, हबर्ट र गरटर्टलाई विचार गर्नुहोस्‌।

हर्बट र गरटर्टले भूतपूर्व जर्मन प्रजातान्त्रिक गणतन्त्र लिपजिगमा सन्‌ १९५२ मा यहोवाका साक्षीहरूको रूपमा बप्तिस्मा लिएका थिए। त्यतिखेर परमेश्‍वरका सेवकहरूलाई सजिलो थिएन किनभने तिनीहरूको जन सेवकाईमाथि प्रतिबन्ध लगाइएको थियो। घर-घरमा प्रचार गर्ने सन्दर्भमा हर्बटलाई कस्तो लागेको थियो?

“कहिलेकाहीं हामीलाई साह्रै चिन्ता लाग्थ्यो। घर-घरको प्रचारकार्यमा जाँदा कुन बेला अधिकारीहरू फुत्त आएर हामीलाई पक्रने हुन्‌ हामीलाई केही थाह हुँदैनथ्यो।” कुन कुराले हर्बटलगायत अरूलाई यस्तो डर हटाउन मदत गऱ्‍यो? “हामीले धेरै व्यक्‍तिगत बाइबल अध्ययन गऱ्‍यौं। अनि यहोवाले हामीलाई प्रचारकार्यमा लागिरहन बल दिनुभयो।” आफ्नो जन सेवकाईमा हर्बटले यस्ता थुप्रै अनुभवहरू बटुले जसले तिनलाई सुदृढ बनाउनुका साथै अचम्म पनि बनायो।

हर्बटले बाइबलमा चासो देखाउने एउटी अधबैंसे आइमाईलाई भेटे। केही दिनपछि हर्बट उनलाई पुनःभेट गर्न जाँदा त्यहाँ तिनले एक जना जवान मानिसलाई पनि भेटे, जसले उनीहरूको कुराकानी सुने। केही मिनेटपछि हर्बटले एउटा चीज देखे जसले गर्दा तिनी झसङ्‌गै भए। कोठाको एक कुनामा भएको कुर्सीमा प्रहरी अधिकृतको टोपी थियो। त्यो टोपी यही जवान मानिसको रहेछ र ऊ प्रहरी हुनुका साथै हर्बटलाई समात्ने हिसाबले त्यहाँ आएका थिए।

जवान मानिसले यसो भने, “तिमी यहोवाका साक्षी रहेछौ! खोई तिम्रो परिचयपत्र हेरूँ।” हर्बटले आफ्नो परिचयपत्र दिए। त्यसपछि एउटा अप्रत्याशित कुरा भयो। प्रहरीतिर फर्केर आइमाईले उसलाई यस्तो चेतावनी दिइन्‌: “खबरदार, परमेश्‍वरको यस मानिसलाई केही होस्‌ त तिमीले यस घरमा पाइला टेक्न पाउनेछैनौ।”

केहीछिन अक्क न बक्क भएपछि उसले हर्बटलाई परिचयपत्र फर्काइदिए र तिनलाई जान दिए। ती आइमाईकी छोरीसित त्यस प्रहरीको मायाप्रीति चलिरहेको रहेछ भन्‍ने कुरा हर्बटलाई पछि मात्र थाह भयो। कुरा स्पष्ट थियो, हर्बटलाई समात्नुभन्दा त बरु छोरीसित डेटिङ गर्नु नै ती प्रहरीलाई ठीक लाग्यो।

यहोवालाई आफ्नो परमेश्‍वर बनाउनुहोस्‌

यी घटनाहरूबाट हामी के सिक्न सक्छौं? अब्राहामको जस्तै हामीसित पनि यहोवाका प्रतिज्ञाहरूमा दृढ विश्‍वास हुनै पर्छ। गल्ती गर्दा दाऊदले जस्तै हामीले पनि साँचो पश्‍चात्ताप गरेर यहोवातर्फ फर्कनुपर्छ। अनि चिन्तित भएको बेला हामी पनि एलियाजस्तै बलको लागि यहोवामाथि भर पर्नु खाँचो छ। यसो गऱ्‍यौं भने हामी यहोवालाई अहिले र सदासर्वदा आफ्नो परमेश्‍वर बनाउन सक्नेछौं किनभने उहाँ ‘जीवित परमेश्‍वर हुनुहुन्छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्‍वास गर्नेका, मुक्‍तिदाता हुनुहुन्छ।’—१ तिमोथी ४:१०.

[फुटनोट]

a नाउँ परिवर्तन गरिएको छ।

[पृष्ठ २५-मा भएका चित्रहरू]

आज्ञाकारिताले अब्राहामको विश्‍वासलाई सुदृढ बनायो

[पृष्ठ २६-मा भएको चित्र]

पाप गर्दा हामीले दाऊदले जस्तै पश्‍चात्ताप गर्नुपर्छ

[पृष्ठ २८-मा भएको चित्र]

यहोवाले एलियाको भावना बुझ्नुभएझैं उहाँले हाम्रो भावना पनि बुझ्नुहुन्छ