विज्ञान र धर्म द्वन्द्वको जन्म
विज्ञान र धर्म द्वन्द्वको जन्म
सत्तरी वर्षका एक खगोलविद् आफ्नो मृत्युशय्यामा केही पढ्न सङ्घर्ष गर्दै थिए। उनको हातमा प्रकाशनको लागि तयार उनैले प्रतिपादन गरेको सिद्धान्त सम्बन्धी कागजात थियो। सायद उनलाई थाह थियो कि थिएन तर उनले प्रतिपादन गरेको त्यो सिद्धान्तले ब्रह्माण्डप्रति मानिसको दृष्टिकोणमै आमूल परिवर्तन ल्याउने थियो। मसीहीजगत्भित्र यसले एउटा चर्को विवाद जन्माउने थियो जसको असर अहिलेसम्म छँदैछ।
मर्नै लागेका ती व्यक्ति एक पोलिस क्याथोलिक निकोलस कपर्निकस थिए र साल थियो सन् १५४३। रिभोलुसन्स् अफ द हेभन्ली स्फेयर्स नामक पुस्तकमा कपर्निकसले प्रतिपादन गरेका त्यो सिद्धान्तले पृथ्वीलाई नभई सूर्यलाई सौर्यमण्डलको केन्द्रमा राखेको थियो। एकै पटकमा कपर्निकसले अत्यन्तै जटिल पृथ्वी-केन्द्रित सिद्धान्तको ठाउँमा सुबोध र सहज सूर्य-केन्द्रित सिद्धान्त प्रतिस्थापन गरे।
सुरुमा सन्निकट द्वन्द्वको सानो झलकसमेत देखिएन। किनकि कपर्निकसले विवेकशील ढङ्गमा आफ्ना विचारहरू राखेका थिए। अनि पृथ्वी-केन्द्रित दृष्टिकोण स्वीकार्ने क्याथोलिक चर्च त्यतिबेला वैज्ञानिक अड्कलबाजीहरूमा अलि सहिष्णु नै देखिन्थ्यो। पोप आफैले कपर्निकसलाई प्रतिपादित सिद्धान्त प्रकाशित गर्न हौस्याए। अन्ततः कपर्निकसले उक्त सिद्धान्त प्रकाशित गरे र एक जना डरपोक सम्पादकले कपर्निकसको उक्त सिद्धान्त एउटा गणितीय अनुमान मात्र भएको र त्यसमा खगोलीय सत्य खोज्न नहुने कुरा प्राक्कथनमा लेखे।
द्वन्द्व चर्कन्छ
द्वन्द्वका अर्का पात्र इटालियन खगोलविद्, गणितज्ञ तथा भौतिकशास्त्री ग्यालिलियो ग्यालिलि (१५६४-१६४२) थिए र उनी पनि एक क्याथोलिक नै थिए। आफूले भर्खरै आविष्कार गरेको लेन्स जडित टेलिस्कोपद्वारा उनले आकाशतिर हेरे र पहिला कहिल्यै नदेखेका कुराहरू देखे। उनको अवलोकनले कपर्निकस सही थिए भन्ने कुरामा उनी विश्वस्त भए। ग्यालिलियोले सूर्यमा धब्बाहरू पनि देखे जसलाई आजकल अङ्ग्रेजीमा सनस्पट भनिन्छ। अतः सूर्य कहिल्यै परिवर्तन र क्षय हुने वस्तु होइन भन्ने त्यतिबेलाको अर्को दार्शनिक र धार्मिक मान्यतालाई यसले चुनौती दियो।
कपर्निकस जस्तो नभई ग्यालिलियो निर्भीक र साहसी भई आफूले प्रतिपादन गरेको सिद्धान्त प्रचारप्रसार गर्थे। अनि उनले अत्यन्तै वैमनस्यपूर्ण धार्मिक वातावरणमै त्यसो a
गरे किनकि त्यतिबेलासम्ममा कपर्निकसको सिद्धान्तप्रति चर्चले खुलेआम असहमति व्यक्त गरिसकेको थियो। त्यसैले, सूर्य-केन्द्रित सिद्धान्त सही मात्र होइन तर धर्मशास्त्र अनुरूप पनि छ भनेर तर्क गर्दा चर्चले उनको कुरामा धर्मविरोधको गन्ध पायो।प्रतिवाद गर्न ग्यालिलियो रोम गए तर केही सीप लागेन। सन् १६१६ मा चर्चले उनलाई कपर्निकसको समर्थनमा बोल्न बन्द गर्ने आदेश दियो। केही समयको लागि ग्यालिलियो चुपचाप बसे। तर सन् १६३२ मा कपर्निकसको समर्थनमा उनले अर्को एउटा लेख प्रकाशित गरे। यसको ठीक एक वर्षपछि ग्लालिलियोलाई इन्क्वीजिशन अर्थात् रोमन क्याथोलिक अदालतले आजीवन कारावासको सजाय सुनायो। यद्यपि, उनको उमेरलाई विचार गर्दै उनको दण्डलाई घरमै नजरबन्दमा राख्ने गरी परिवर्तन गरियो।
धेरैले चर्चसितको ग्यालिलियोको द्वन्द्वलाई धर्म विरुद्ध विज्ञानको ठूलो विजय अर्थात् विज्ञानले बाइबलमाथि गरेको विजय ठान्छन्। तथापि, यस्तो हलुको निष्कर्षले धेरै तथ्यहरूलाई बेवास्ता गर्ने कुरा हामी अर्को लेखमा पढ्नेछौं।
[फुटनोट]
a आफ्नो ओठे जवाफ र घोच्ने व्यङ्ग्यहरूद्वारा प्रतिष्ठित व्यक्तिहरूलाई ग्यालिलियोले आफ्ना शत्रु बनाउन पुगे। साथै, सूर्य-केन्द्रित सिद्धान्त धर्मशास्त्र अनुरूप छ भन्ने तर्क गरेर उनले आफैलाई धर्माधिकारीको रूपमा प्रस्तुत गरेकोमा चर्च अझै आक्रोशित भयो।
[पृष्ठ ३-मा भएको चित्र]
कपर्निकस
[स्रोत]
Taken from Giordano Bruno and Galilei (German edition)
[पृष्ठ ३-मा भएको चित्र]
रोमी अदालतमा ग्यालिलियो आफ्नो प्रतिवाद गर्छन्
[स्रोत]
From the book The Historian’s History of the World, Vol. IX, 1904
[पृष्ठ ३-मा भएको चित्रको स्रोत]
Background: Chart depicting Copernicus’ concept of the solar system