सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विज्ञान र बाइबल के वास्तवमा यी आपसमा बाझिन्छन्‌?

विज्ञान र बाइबल के वास्तवमा यी आपसमा बाझिन्छन्‌?

विज्ञान र बाइबल के वास्तवमा यी आपसमा बाझिन्छन्‌?

ग्यालिलियो र क्याथोलिक चर्चबीच द्वन्द्वको बीजारोपण कपर्निकस र ग्यालिलियो जन्मनुभन्दा शताब्दीऔं अघि भएको थियो। ब्रह्‍माण्डबारे पृथ्वी-केन्द्रित दृष्टिकोणलाई पुरातन ग्रीकहरूले स्वीकारे। दार्शनिक अरस्तु (सा.यु.पू. ३८४-३२२) र ज्योतिष-खगोलविद्‌ टोलेमीले (सा.यु. दोस्रो शताब्दी) यसलाई लोकप्रिय बनाए। a

ब्रह्‍माण्डबारे अरस्तुको धारणा ग्रीक गणितज्ञ र दर्शनशास्त्री पाइथागोरसको (सा.यु.पू. छैटौं शताब्दी) सोचाइबाट प्रभावित थियो। गोला र वृत्त शत-प्रतिशत गोलो हुन्छ भन्‍ने दृष्टिकोणलाई स्वीकार्दै ब्रह्‍माण्ड भनेको प्याजको पत्र जस्तै एउटा वृत्तभित्र अर्को वृत्तको संयोजन हो भनी अरस्तु विश्‍वास गर्थे। प्रत्येक गोला पारदर्शी मणिजस्तै हुन्छ र पृथ्वीचाहिं सबैभन्दा बीचको भाग हो भन्‍ने उनको विश्‍वास थियो। भनिन्थ्यो, ताराहरू एउटा घेरामा घुम्छन्‌ र सबैभन्दा बाहिरको वृत्त अर्थात्‌ एउटा अलौकिक शक्‍तिको स्रोतद्वारा ती ताराहरूको चाल निर्धारण हुन्छ। सूर्य तथा अन्य आकाशीय पिण्डहरू खोटरहित हुन्छन्‌ र तिनीहरूमा खोटको छायासम्म हुँदैन र तिनीहरू कहिल्यै परिवर्तन हुँदैनन्‌ भनी अरस्तु विश्‍वास गर्थे।

अरस्तुको परिकल्पना विज्ञानको नभई दर्शनशास्त्रको उपज थियो। पृथ्वी घुम्ने सोचाइ उनलाई अव्यावहारिक लाग्थ्यो। पृथ्वी घुमेको खण्डमा घर्षण उत्पन्‍न हुन सक्ने र कुनै बाह्‍य शक्‍तिविना नै घुम्ने प्रक्रिया रोकिन सक्ने कुरालाई विश्‍वास गर्दै तिनले शून्य अथवा अन्तरिक्षको अवधारणालाई लत्याए। त्यतिबेलाका वैज्ञानिकहरूमा भएको सीमित ज्ञानले गर्दा अरस्तुको सिद्धान्त तर्कसंगत नै देखिन्थ्यो र झण्डै २,००० वर्षभन्दा धेरै समयसम्म यसले आम-मान्यता पायो। सोह्रौं शताब्दीको अन्तमा समेत झाँ बोडाँ नामक फ्रेन्च दार्शनिकले त्यही लोकप्रिय धारणा यसरी व्यक्‍त गरे: “अलिकता जान्‍नेसुन्‍ने र भौतिक विज्ञानको थोरै मात्र ज्ञान हुने व्यक्‍तिले गह्रौं र बडेमाको पृथ्वी . . . आफ्नो अक्ष र सूर्यको वरिपरि घुम्छ भनेर कहिल्यै सोच्नेसम्म छैन, किनभने पृथ्वी अलिकता मात्र चलहल गऱ्‍यो भने हाम्रा सहर, किल्ला, गाउँबस्ती र पर्वतहरू गर्ल्यामगुर्लुम ढल्नेछन्‌।”

अरस्तुको धारणा चर्चद्वारा स्वीकारियो

ग्यालिलियो र चर्चबीचको द्वन्द्व उक्साउने काम १३ औं शताब्दीमा भयो जसमा क्याथोलिक अधिकारी थमस अक्वीनास (१२२५-७४) संलग्न भए। अरस्तुप्रति अक्वीनासको गहिरो श्रद्धा थियो र अरस्तुलाई उनी दार्शनिक मान्थे। अरस्तुको दर्शनलाई चर्चको शिक्षासित मिलाउन अक्वीनासले पाँच वर्ष सङ्‌घर्ष गरे। आफ्नो पुस्तक ग्यालिलियोज्‌ मिस्टेक-मा वेड रोल्याण्डले भनेअनुसार ग्यालिलियोको समयसम्ममा “अरस्तु र चर्चको शिक्षा मिलाएर अक्वीनासले निकालेको सिद्धान्त रोमी चर्चको आधारभूत धर्मसिद्धान्त नै बनिसकेको थियो।” स्मरण रहोस्‌, त्यसताका कुनै स्वतन्त्र वैज्ञानिक समाज थिएन। शिक्षा धेरै हदसम्म चर्चको अधीनमा थियो। धर्म र विज्ञानमा अक्सर एउटै कुराले आधिपत्य जमाएको थियो र त्यो चर्च थियो।

यसरी चर्च र ग्यालिलियोबीचको द्वन्द्वको लागि पूर्वाधार तयार भयो। खगोल विज्ञानमा संलग्न हुनुभन्दा अघि नै ग्यालिलियोले गतिबारे एउटा औपचारिक लेख लेखिसकेका थिए। यसले श्रद्धेय अरस्तुले रचेका धेरै परिकल्पनाहरूमाथि प्रश्‍न उठायो। तथापि, सूर्य-केन्द्रित सिद्धान्तप्रतिको ग्यालिलियोको दृढ समर्थन र सूर्य-केन्द्रित सिद्धान्त धर्मशास्त्र अनुरूप भएको कुरा दर्साउने उनको प्रतिबद्धताले गर्दा नै सन्‌ १६३३ मा इन्क्वीजिशन अर्थात्‌ रोमन क्याथोलिक अदालतले उनको पुर्पक्ष गऱ्‍यो।

आफ्नो पक्षमा प्रतिवाद गर्दै ग्यालिलियोले परमेश्‍वरको प्रेरित वचनको रूपमा बाइबलमाथिको आफ्नो बलियो विश्‍वासबारे ठोकेरै भने। धर्मशास्त्र सर्वसाधारण मानिसको लागि लेखिएको हो र सूर्यको चालबारे बाइबलको सन्दर्भलाई शाब्दिक रूपमा लिनु हुँदैन भनेर पनि उनले तर्क गरे। उनका तर्कहरू व्यर्थमा गए। ग्रीक दर्शनमा आधारित धर्मशास्त्रको व्याख्यालाई ग्यालिलियोले नकारेकोले गर्दा उनको घोर निन्दा गरियो! बल्ल सन्‌ १९९२ मा क्याथोलिक चर्चले ग्यालिलियोलाई दिइएको दण्ड गलत भएको कुरा आधिकारिक रूपमा स्वीकाऱ्‍यो।

सिक्नुपर्ने पाठ

यी घटनाहरूबाट हामी के सिक्न सक्छौं? एउटा कुरा, बाइबलमाथि ग्यालिलियोको कुनै शङ्‌का थिएन। बरु, उनले चर्चका शिक्षाहरूमाथि प्रश्‍न उठाए। धर्मसम्बन्धी एक जना लेखकले यसो भने: “बाइबलीय सत्यहरूप्रति चर्च जत्ति दृढ हुनुपर्थ्यो त्यति दृढ थिएन भन्‍नु नै ग्यालिलियोको भनाइको अर्थ थियो।” आफ्नो धर्मसिद्धान्तलाई ग्रीक दर्शनशास्त्रद्वारा प्रभावित हुन दिएर चर्चले बाइबलका शिक्षाहरू पालन गर्नुको सट्टा स्थानीय रीतिथितिका सामु घुँडा टेक्यो।

यी सबै कुराहरूले बाइबलको यो चेतावनीको सम्झना दिलाउँछ: “होशियार बस, नत्रता कसैले ख्रीष्टअनुसारको होइन, तर मानिसहरूको कुलाचार, संसारको अनुसारका तत्त्वज्ञान, र फोस्रो छलले तिमीहरूलाई शिकार बनाउला।”—कलस्सी २:८.

आज पनि मसीहीजगत्‌का अधिकांश मानिसहरूले बाइबल सिद्धान्त विपरीतका सिद्धान्त र दर्शनहरूलाई उत्सुकतासाथ अँगाल्छन्‌। एउटा उदाहरण डार्विनको विकासवादी सिद्धान्त हो र सृष्टिबारे उत्पत्तिको विवरणको ठाउँमा तिनीहरूले यसलाई स्वीकारेका छन्‌। चर्चले डार्विनलाई आजको अरस्तु मानेको छ र विकासवादलाई आफ्नो विश्‍वास भनेको छ। b

सही विज्ञान बाइबलसित मेल खान्छ

माथिका विवरणहरूले विज्ञानप्रतिको चासो घटाउँदैन। वास्तवमा, बाइबल आफैले परमेश्‍वरका हातका कामहरूबाट सिक्न तथा आफूले देखेका कुराहरूबाट परमेश्‍वरका अद्‌भुत गुणहरू ठम्याउन आग्रह गर्छ। (यशैया ४०:२६; रोमी १:२०) हो, बाइबल विज्ञान सिकाउन तयार पारिएको पुस्तक होइन। यसले त सृष्टिले मात्र सिकाउन नसक्ने परमेश्‍वरका स्तर, उहाँका व्यक्‍तित्वका पक्ष तथा मानवजातिका लागि उहाँका उद्देश्‍यहरू प्रकट गर्छ। (भजन १९:७-११; २ तिमोथी ३:१६) तर प्रकृतिबारे बाइबलले बताउँदा सदैव तथ्य कुराहरू बताउँछ। ग्यालिलियो स्वयम्‌ले यसो भने: “पवित्र धर्मशास्त्र र प्रकृति दुवैको रचयिता परमेश्‍वर हुनुहुन्छ। . . . . दुवै सत्य कहिल्यै एक-आपसमा बाझिंदैन।” तल दिइएका उदाहरणहरू विचार गर्नुहोस्‌:

तारा र ग्रहहरूको चालको त के कुरा, ब्रह्‍माण्डमा यीभन्दा आधारभूत कुराहरूदेखि लिएर सबै कुरा कुनै नियमद्वारा सञ्चालित हुन्छन्‌। जस्तै: गुरुत्वाकर्षणको नियम। भौतिक नियमबारे सबैभन्दा पुरानो गैर-बाइबलीय सन्दर्भ पाइथागोरसले प्रतिपादन गरेका थिए र उनी ब्रह्‍माण्डलाई अंकको हिसाबले व्याख्या गर्न सकिन्छ भनी विश्‍वास गर्थे। दुई हजार वर्षपछि अन्ततः ग्यालिलियो, केप्लर र न्युटनले जुनसुकै पिण्ड कुनै तार्किक नियमहरूद्वारा सञ्चालित हुन्छन्‌ भनी प्रमाणित गरे।

प्राकृतिक नियमबारे सबैभन्दा पुरानो बाइबलीय सन्दर्भ अय्यूबको पुस्तकमा लिपिबद्ध छ। सा.यु.पू. १६०० तिर अय्यूबलाई परमेश्‍वरले यस्तो प्रश्‍न सोध्नुभयो: “आकाशको शासन गर्ने नियमहरूलाई के तैंले घोषणा गरेको होस्‌?” (छड्‌के अक्षर हाम्रो, अय्यूब ३८:३३) सा.यु.पू. सातौं शताब्दीमा लिपिबद्ध यर्मियाको पुस्तकले यहोवालाई “स्वर्ग र पृथ्वीको विषयमा नियमहरू” बनाउने सृष्टिकर्ता भनी सङ्‌केत गर्छ। (छड्‌के अक्षर हाम्रो, यर्मिया ३३:२५) यी वाक्यांशहरूलाई विचार गर्दै बाइबल टिप्पणीकार जी. रलिन्सनले यसो भने: “भौतिक संसारमा व्याप्त नियमहरूलाई आधुनिक विज्ञानले जत्तिकै बाइबल लेखकहरूले किटानका साथ लेखेका छन्‌।”

ब्रह्‍माण्डका पिण्डहरूलाई सञ्चालन गर्ने नियमबारे पाइथागोरसले लेख्नुभन्दा झण्डै एक हजार वर्षअघि अय्यूबको विवरण लेखियो। स्मरण रहोस्‌, बाइबलको उद्देश्‍य भौतिक तथ्यहरू मात्र बताउनु नभई मुख्यतः यहोवा सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ र उहाँले नै भौतिक नियमहरू पनि रच्न सक्नुहुन्छ भन्‍ने कुराको गहिरो छाप पार्नु हो।—अय्यूब ३८:४, १२; ४२:१, २.

हामीले विचार गर्न सक्ने अर्को उदाहरण पृथ्वीमा पानीको चक्र अर्थात्‌ जलचक्र हो। सरल भाषामा भन्‍ने हो भने समुद्रको पानी बाफ बन्छ, बादल बन्छ जमिनमा बर्सन्छ र फेरि समुद्रमै फर्कन्छ। यस चक्रबारे अस्तित्वमा रहेको सबैभन्दा पुरानो गैर-बाइबलीय सन्दर्भ सा.यु.पू. चौथो शताब्दीको हो। तर जलचक्रसम्बन्धी बाइबलका विवरणहरू त्योभन्दा सयौं वर्ष पुरानो हो। उदाहरणको लागि, सा.यु.पू. ११ औं शताब्दीमा इस्राएलका राजा सुलेमानले यस्तो लेखे: “सबै खोलाहरू समुद्रमानै बग्छन्‌, तापनि समुद्र चाहिं कहिल्यै भरिएर पोखिंदैन। जुन स्थानबाट खोलाहरू बग्छन्‌ फेरि बग्नलाई ती त्यतै फर्कन्छन्‌।”—उपदेशक १:७.

त्यसरी नै, लगभग सा.यु.पू. ८०० मा एक जना साधारण गोठालो तथा कृषक आमोसले यहोवा “जसले समुद्रको पानीलाई बोलाएर पृथ्वीको सतहमाथि खन्याउनुहुन्छ” भनी लेखे। (आमोस ५:८) कुनै जटिल, प्राविधिक भाषा प्रयोग नगरी सुलेमान र आमोसले आ-आफ्नै तर अलि भिन्‍नै शैलीमा जलचक्रबारे तथ्य कुरा बताए।

बाइबलले यसो पनि भन्छ, परमेश्‍वरले “अन्तरिक्षमा पृथ्वीलाई झुण्डाउनुभयो,” अथवा याँ संशोधित संस्करण-अनुसार उहाँ “शून्यतामा पृथ्वीलाई झुण्ड्याउनुहुन्छ।” (अय्यूब २६:७) सा.यु.पू. १६०० मा यी शब्दहरू व्यक्‍त गरिंदा जनमानसमा व्याप्त ज्ञानलाई विचार गर्ने हो भने कुनै भौतिक टेवाविना कुनै गह्रौं ठोस वस्तु झुन्डिन्छ भन्‍न साहस चाहिन्थ्यो। माथि उल्लेख गरिएझैं अरस्तु आफैले शून्यताको धारणा अस्वीकार गरे अनि उनी अय्यूबभन्दा १,२०० वर्षभन्दा पनि पछाडि जन्मेका थिए!

आम-मानिसहरूले निकै तार्किक ठानेको तर वास्तवमा त्रुटिपूर्ण शिक्षाहरूले मान्यता पाएको समयमा पनि बाइबलले एक-एक सही विवरणहरू लेखेको कुराले के तपाईंलाई नतमस्तक बनाउँदैन? थोरै मात्र सुझबुझ भएका मानिसहरूको लागि बाइबल ईश्‍वरप्रेरित हो भन्‍ने कुराको यो एउटा थप प्रमाण हो। तसर्थ, बुद्धिमानी यसैमा छ कि, हामी परमेश्‍वरको वचनसित बाझिने हरेक शिक्षा तथा सिद्धान्तहरूबाट सजिलै बहकिनु हुँदैन। इतिहासले बारम्बार देखाएको छ, मानवीय दर्शनहरू लगायत धेरै विद्वानहरू आउँछन्‌ जान्छन्‌ तर यहोवाको “वचन ता सदासर्वदा रहिरहन्छ।”—१ पत्रुस १:२५.

[फुटनोटहरू]

a सा.यु.पू. तेस्रो शताब्दीमा सामोसको अरिस्तार्खस नाउँका एक जना ग्रीकले सूर्य ब्रह्‍माण्डको केन्द्रमा छ भन्‍ने परिकल्पना अघि सारे तर अरस्तुको समर्थनमा उनको धारणा लत्याइयो।

b यस विषयमा गहन छलफलको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित लाइफ—हाउ डिड इट गेट हियर? बाइ इभोलुसन अर बाइ क्रिएसन पुस्तकको “किन धेरैले विकासवादी सिद्धान्त स्वीकार्छन्‌?” शीर्षकको अध्याय १५ हेर्नुहोस्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]

प्रोटेस्टेन्टहरूको मनसाय

प्रोटेस्टेन्ट धर्मसुधार-आन्दोलनका नेताहरू पनि सूर्य-केन्द्रित धारणाको विरोधमा उत्रिए। तिनीहरूमा मार्टिन लुथर (१४८३-१५४६), फिलिप मेल्याङ्‌क्‌थोन (१४९७-१५६०) र जोन क्याल्भिन (१५०९-६४) थिए। कपर्निकसबारे लुथरले यसो भने: “त्यो मूर्खले खगोलविद्याको सम्पूर्ण विज्ञानलाई उल्ट्याउने दुरासय राख्छ।”

सुधारवादीहरूको तर्क कुनै खास शास्त्रपदहरूको शाब्दिक व्याख्यामा आधारित थियो। जस्तै: यहोशू अध्याय १० को विवरण जहाँ सूर्य र चन्द्र ‘अडिरह्‍यो’ भनी बताइएको छ।  c सुधारवादीहरूले किन यस्तो अडान लिए? ग्यालिलियोज्‌ मिसटेक नामक पुस्तक बताउँछ, प्रोटेस्टेन्ट सुधारवादीहरू रोमन क्याथोलिक चर्चबाट छुट्टिए तापनि तिनीहरू अरस्तु र थोमस अक्वीनासको “मुख्य आधिपत्यबाट भने फुत्कन” सकेनन्‌ किनभने अरस्तु र थोमस अक्वीनासको दृष्टिकोण “क्याथोलिक तथा प्रोस्टेन्ट दुवैको लागि मान्य थियो।”

[फुटनोट]

c वैज्ञानिक तवरमा भन्‍ने हो भने “सूर्योदय” र “सूर्यास्त” बुझाउन हामी गलत अभिव्यक्‍ति प्रयोग गर्छौं। तर पृथ्वीबाट हेर्दा देखिने दृश्‍यलाई हामीले विचार गर्ने हो भने दैनिक बोलीचालीमा यी शब्दहरू स्वीकार्य र सही छन्‌। त्यसरी नै, यहोशूले खगोलशास्त्रबारे चर्चा गरिरहेका थिएनन्‌, उनले आफूले जस्तो देखे, केवल त्यो भनिरहेका थिए।

[चित्रहरू]

लुथर

क्याल्भिन

[पृष्ठ ४-मा भएको चित्र]

अरस्तु

[पृष्ठ ५-मा भएको चित्र]

थोमस अक्वीनास

[पृष्ठ ६-मा भएको चित्र]

आइज्याक न्युटन

[पृष्ठ ७-मा भएको चित्र]

पृथ्वीको जलचक्रबारे ३,००० वर्षअघि नै बाइबलले बताएको थियो