सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार

हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार

हाम्रा छोराछोरी—एउटा बहुमूल्य उत्तराधिकार

“छोराहरू परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।”—भजन १२७:३, Nrv.

१. पहिलो मानव बच्चाको जन्म कसरी सम्भव भयो?

 यहोवा परमेश्‍वरले जुन किसिमले प्रथम पुरुष र स्त्रीको सृष्टि गर्नुभयो, त्यसले कस्ता अद्‌भुत कुराहरू सम्भव तुल्यायो, विचार गर्नुहोस्‌ त। बुबा आदम र आमा हव्वा दुवैको केही तत्त्व मिलेर हव्वाको कोखमा एउटा कोष बन्यो र त्यही कोष बढेर नयाँ व्यक्‍ति अर्थात्‌ पहिलो मानव बच्चाको जन्म भयो। (उत्पत्ति ४:१) आज हाम्रो समयसम्म पनि गर्भधारण र बच्चाको जन्मले हामीलाई आश्‍चर्यचकित तुल्याउँछ र यसलाई थुप्रैले एउटा चमत्कारको रूपमा लिन्छन्‌।

२. गर्भवती महिलाको गर्भभित्र हुने कुराहरूलाई तपाईं किन एउटा चमत्कार भन्‍न सक्नुहुन्छ?

आमा र बुबाको मिलनले आमाको गर्भमा पहिलो कोष बनेको लगभग २७० दिनभित्रमा लाखौं लाख कोषहरू मिलेर एउटा बच्चा बन्छ। यो सुरुको कोषमा २०० भन्दा बढी किसिमका कोषहरू बन्‍नको लागि चाहिने निर्देशनहरू हुन्छन्‌। ती अद्‌भुत निर्देशनहरू अनुसारै, जुन कुरा मानव समझले बुझ्न सक्दैन, ती अति जटिल कोषहरू एकदमै सही ढङ्‌गले अनि एकदमै सही क्रमले बढ्‌छन्‌ र त्यसको फलस्वरूप एक जना नयाँ जीवित व्यक्‍तिको सृजना हुन्छ!

३. परमेश्‍वरले गर्दा नै एक जना नयाँ जीवित मानवको जन्म हुन सम्भव भएको हुनुपर्छ भन्‍ने कुरामा सुझबुझ भएका धेरै मानिसहरू सहमत हुनुको कारण के हो?

तपाईंको विचारमा बच्चालाई सृष्टि गर्ने व्यक्‍ति वास्तवमा को हो जस्तो लाग्छ? निस्सन्देह, सुरुमा जीवन रच्नुहुने व्यक्‍ति नै हुनुहुन्छ। बाइबलका भजनहारले यस्तो भजन गाए: “परमप्रभुनै [“यहोवानै,” NW] परमेश्‍वर हुनुहुन्छ भनी जान। उहाँलेनै हामीलाई बनाउनुभएको हो।” (भजन १००:३) आमाबाबु हो, तपाईंहरूलाई थाह भएकै कुरा हो कि तपाईंहरूको कुनै असाधारण क्षमताले गर्दा तपाईंले यो मायाको पोको जन्माउन सक्नुभएको होइन। असीमित बुद्धि भएको परमेश्‍वरले मात्र चमत्कारपूर्ण ढङ्‌गमा एक जना नयाँ जीवित व्यक्‍ति बनाउन सक्नुहुन्छ। सुझबुझ भएका मानिसहरूले आमाको गर्भमा बच्चा बन्‍ने प्रक्रियाको श्रेय एक जना महान्‌ सृष्टिकर्तालाई दिंदै आएको हजारौं वर्ष भइसक्यो। के तपाईं उहाँलाई त्यस्तो श्रेय दिनुहुन्छ?—भजन १३९:१३-१६.

४. मानिसमा देखिने कस्तो त्रुटि यहोवामा कहिल्यै देखिंदैन?

के यहोवा एक जना भावशून्य सृष्टिकर्ता हुनुहुन्छ जसले केवल सन्तान जन्माउन सक्ने जैविक प्रक्रिया राखिदिनुभएर पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो? कोही-कोही मानिसहरू भावशून्य हुन्छन्‌ तर यहोवा त्यस्तो पटक्कै हुनुहुन्‍न। (भजन ७८:३८-४०) भजन १२७:३ मा (NRV) यसो भनिएको छ: “छोराहरू [अनि छोरीहरू पनि] परमप्रभुले दिनुभएको उत्तराधिकार हुन्‌, छोराछोरीहरू उहाँका इनाम हुन्‌।” आउनुहोस्‌, उत्तराधिकार भनेको के हो अनि यसले हामीलाई कुन कुराको प्रमाण दिन्छ, विचार गरौं।

उत्तराधिकार र इनाम

५. छोराछोरी किन एउटा उत्तराधिकार हुन्‌?

उत्तराधिकार भनेको एउटा उपहारजस्तै हो। आफ्ना छोराछोरीको लागि उत्तराधिकार छोड्‌न आमाबाबुले निकै परिश्रम गर्छन्‌ र धेरै समय खर्च गर्छन्‌। यस्तो उत्तराधिकारमा पैसा, सम्पत्ति वा अन्य बहुमूल्य कुराहरू हुन सक्छ। तर जे होस्‌, यसले आमाबाबुको प्रेमको प्रमाण दिन्छ। बाइबलले बताएअनुसार छोराछोरीहरू भनेको परमेश्‍वरले आमाबाबुलाई दिनुभएको उत्तराधिकार हुन्‌। छोराछोरीहरू परमेश्‍वरले दिनुभएको मायालु उपहार हुन्‌। तपाईं आमाबाबु हुनुहुन्छ भने आफ्ना छोराछोरीलाई ब्रह्‍माण्डको सृष्टिकर्ताले मलाई सुम्पनुभएको उपहार ठानेको छु भनेर के तपाईंको कामले देखाउँछ जस्तो लाग्छ?

६. मानव जोडीलाई छोराछोरी जन्माउन सक्ने क्षमता दिनुमा परमेश्‍वरको उद्देश्‍य के थियो?

यहोवाले यो उपहार दिनुको उद्देश्‍य आदम र हव्वाका सन्तानले पृथ्वी भर्नु थियो। (उत्पत्ति १:२७, २८; यशैया ४५:१८) लाखौं स्वर्गदूतहरूलाई यहोवा आफैले सृष्टि गर्नुभएको थियो तर प्रत्येक मानवलाई भने उहाँले आफ्नै हातले सृष्टि गर्नुभएन। (भजन १०४:४; प्रकाश ४:११) त्यसो नगरी, आमाबाबुले आफूजस्तै छोराछोरीहरू जन्माउन सक्ने क्षमतासहित परमेश्‍वरले प्रथम मानव जोडी सृष्टि गर्ने निर्णय गर्नुभयो। यस्तो नयाँ व्यक्‍ति जन्माउनु र उसको हेरचाह गर्न पाउनु आमा र बुबाको लागि कस्तो अद्‌भुत सुअवसर हो! यस बहुमूल्य उत्तराधिकार प्राप्त गर्न सम्भव तुल्याइदिनुभएकोमा आमाबाबुको हैसियतमा के तपाईंहरू यहोवालाई धन्यवाद दिनुहुन्छ?

येशूको उदाहरणबाट सिक्नुहोस्‌

७. कोही-कोही आमाबाबुले देखाउने व्यवहारजस्तो नभएर येशूले “मानव-जाति[प्रति]” कसरी चासो र अनुकम्पा देखाउनुभयो?

दुःखको कुरा, सबै आमाबाबुले आफ्ना छोराछोरीलाई इनाम ठान्दैनन्‌। थुप्रै आमाबाबुले आफ्ना सन्तानप्रति अनुकम्पा देखाउँदैनन्‌। यस्ता आमाबाबुले यहोवा वा उहाँको पुत्रको मनोवृत्ति झल्काउँदैनन्‌। (भजन २७:१०; यशैया ४९:१५) यी आमाबाबुजस्तो नभएर येशूले साना केटाकेटीप्रति कस्तो चासो देखाउनुभयो, सो विचार गर्नुहोस्‌। मानवको रूपमा येशू यस पृथ्वीमा आउनुअघि नै, जब उहाँ स्वर्गमा शक्‍तिशाली आत्मिक व्यक्‍ति हुनुहुन्थ्यो, उहाँको “आनन्द चाहिं मानव-जातिमा थियो” भनेर बाइबल बताउँछ। (हितोपदेश ८:३१) मानिसहरूलाई उहाँ यति धेरै प्रेम गर्नुहुन्थ्यो कि हामीले अनन्त जीवन पाउन सकोस्‌ भनेर उहाँले खुसीसाथ आफ्नो जीवन बलिदानको रूपमा दिनुभयो।—मत्ती २०:२८; यूहन्‍ना १०:१८.

८. येशूले आमाबाबुको लागि कसरी राम्रो उदाहरण बसाल्नुभयो?

पृथ्वीमा छँदा येशूले आमाबाबुको लागि असाध्यै राम्रो उदाहरण बसाल्नुभयो। उहाँले के गर्नुभयो, विचार गर्नुहोस्‌। आफू अत्यन्तै व्यस्त अनि तनावमा भएको बेलासमेत उहाँले केटाकेटीहरूसित समय बिताउनुभयो। तिनीहरू बजारमा खेलिरहेका उहाँले हेर्नुभयो अनि तिनीहरूले गरेको व्यवहार आफ्नो शिक्षामा चलाउनुभयो। (मत्ती ११:१६, १७) अन्तिम पटक यरूशलेम जाँदा आफूले दुःख भोग्नुका साथै मर्नुपर्नेछ भन्‍ने कुरा येशूलाई थाह थियो। त्यसकारण मानिसहरूले साना केटाकेटीहरू येशूकहाँ ल्याउँदा सायद उहाँलाई अझ बढी तनाव नदिनको लागि उहाँका चेलाहरूले ती केटाकेटीहरूलाई रोक्न खोजे। तर येशूले आफ्ना चेलाहरूलाई हकार्नुभयो। यी साना केटाकेटीहरूमा आफू ‘आनन्दित’ भएको देखाउँदै उहाँले यसो भन्‍नुभयो: “साना केटाकेटीहरूलाई मकहाँ आउनदेओ, तिनीहरूलाई नरोक।”—मर्कूस १०:१३, १४.

९. हामीले भन्‍ने कुराभन्दा हाम्रो व्यवहार किन अझ महत्त्वपूर्ण हुन सक्छ?

हामी पनि येशूको उदाहरणबाट सिक्न सक्छौं। साना केटाकेटीहरू हामीकहाँ आउँदा हामी अत्यन्तै व्यस्त भएको बेलासमेत कस्तो प्रतिक्रिया देखाउँछौं? के हामी पनि येशूले गर्नुभएजस्तै गर्छौं? छोराछोरीले आमाबाबुबाट विशेष गरी जे चाहन्छन्‌, त्यही कुरा येशूले तिनीहरूलाई खुसीसाथ दिनुभयो अर्थात्‌ उहाँको समय र ध्यान। हो, “म तिमीलाई माया गर्छु” भन्‍ने शब्दहरू व्यक्‍त गर्नु महत्त्वपूर्ण छ। यद्यपि, बोलीभन्दा काम प्रभावकारी हुन्छ। तपाईंले भन्‍ने कुराबाट मात्र होइन तर तपाईंले गरेर देखाउने कुराबाट तपाईंको प्रेम अझ बढी प्रकट हुन्छ। आफ्ना साना छोराछोरीलाई तपाईंले दिने समय, ध्यान र चासोबाट यस्तो प्रेम देखिन्छ। यी सबै गरे तापनि कुनै ठोस परिणाम प्राप्त नहुन सक्छ। धैर्य गर्नुपर्छ। येशूले आफ्ना चेलाहरूसित व्यवहार गर्नुभएको तरिका अनुकरण गऱ्‍यौं भने हामी धैर्य गर्न सिक्न सक्छौं।

येशूले देखाउनुभएको धैर्य र स्नेह

१०. येशूले आफ्ना चेलाहरूलाई कसरी नम्रताबारे पाठ सिकाउनुभयो अनि के त्यस्तो प्रयास सुरुमै सफल भयो?

१० आफ्ना चेलाहरूमाझ नाउँ र ख्याति कमाउनको लागि होडबाजी चलिरहेको कुरा येशूलाई थाह थियो। एक दिन आफ्ना चेलाहरूसित कफर्नहुममा आइपुगेपछि उहाँले तिनीहरूलाई सोध्नुभयो: “ ‘बाटोमा तिमीहरूले के बहस गरिरहेका थियौ, हँ?’ तर तिनीहरू चूप रहे, किनकि बाटोमा तिनीहरूले ‘को ठूलो हो’ भनी आफू-आफूमा कुरा गरिरहेका थिए।” तिनीहरूलाई बेसरी हप्काउनुको साटो नम्रताबारे सिकाउन येशूले तिनीहरूलाई धैर्यपूर्वक एउटा शिक्षामूलक उदाहरण बताउनुभयो। (मर्कूस ९:३३-३७) के यसबाट उहाँले चाहनुभएको जस्तो परिणाम प्राप्त भयो? तुरुन्तै त भएन। यसको लगभग छ महिनापछि, परमेश्‍वरको राज्यमा सबैभन्दा महत्त्वपूर्ण स्थानमा बस्न पाऊँ भनी याकूब र यूहन्‍नाले आफ्नी आमालाई येशूसित आग्रह गर्न लगाए। फेरि पनि येशूले धैर्यपूर्वक तिनीहरूको सोचाइलाई सच्याउनुभयो।—मत्ती २०:२०-२८.

११. (क) येशूसित माथिल्लो तलाको कोठामा आइपुग्दा उहाँका चेलाहरूले त्यहाँको चलनअनुसार कुन काम गरेनन्‌? (ख) येशूले के गर्नुभयो अनि के त्यति नै खेर उहाँको प्रयास सफल भयो?

११ केही समय नबित्दै सा.यु. ३३ को निस्तार चाड मनाउने दिन आयो अनि येशूले आफ्ना प्रेरितहरूसित गोप्य रूपमा त्यस उत्सव मनाउनुभयो। माथिल्लो तलाको कोठामा आइपुग्दा १२ जना प्रेरितमध्ये कोही पनि त्यहाँको चलनअनुसार अरूको धूलाम्मे गोडा धोइदिन अग्रसर भएनन्‌ र यो घरको दास वा आइमाईले गर्ने तुच्छ काम थियो। (१ शमूएल २५:४१; १ तिमोथी ५:१०) आफ्ना चेलाहरूले अझै पनि ओहदा र मान खोजिरहेको देख्दा येशू कत्ति दुःखित हुनुभएको हुनुपर्छ! त्यसैले येशूले तिनीहरू सबैको खुट्टा धोइदिनुभयो अनि अरूको सेवा गर्ने सन्दर्भमा उहाँको उदाहरण अनुकरण गर्न तिनीहरूलाई गम्भीरतापूर्वक आग्रह गर्नुभयो। (यूहन्‍ना १३:४-१७) के तिनीहरूले उहाँको उदाहरण अनुकरण गरे? त्यही साँझ “तिनीहरूमध्ये को सबैभन्दा ठूलो गनिएको छ भनी तिनीहरूका बीचमा वादविवाद हुनलाग्यो” भनेर बाइबल बताउँछ।—लूका २२:२४.

१२. आफ्ना छोराछोरीलाई प्रशिक्षण दिन प्रयास गर्ने सन्दर्भमा आमाबाबुले कसरी येशूको अनुकरण गर्न सक्छन्‌?

१२ आमाबाबु हो, तपाईंका छोराछोरीले सल्लाह नस्वीकार्दा यस्तो अवस्थामा येशूले पनि कस्तो महसुस गर्नुभएको थियो होला भनेर के तपाईं बुझ्न सक्नुहुन्छ? सम्झनुहोस्‌ त, चेलाहरूले तिनीहरूका कमीकमजोरीहरू तुरुन्तै सच्याउन नसक्दा येशू आफ्ना प्रेरितहरूदेखि हरेस खानुभएन। उहाँले धैर्य गर्नुहुँदा त्यसले पछि राम्रो परिणाम ल्यायो। (१ यूहन्‍ना ३:१४, १८) आमाबाबु हो, आफ्ना छोराछोरीलाई प्रशिक्षण दिने प्रयास गर्न कहिल्यै हरेस नखाने सन्दर्भमा येशूले देखाउनुभएको प्रेम र धैर्यको अनुकरण गर्नु बेस हुनेछ।

१३. कुनै प्रश्‍न सोध्न आएको बच्चालाई आमाबाबुले किन हप्काएर पन्छाउनु हुँदैन?

१३ आमाबाबुले हामीलाई माया गर्छन्‌ अनि हाम्रो ख्याल गर्छन्‌ भनेर साना केटाकेटीले महसुस गर्नुपर्छ। आफ्ना चेलाहरूले के सोचिरहेका छन्‌ भनी जान्‍न चाहनुभएको हुँदा तिनीहरूले प्रश्‍न गर्दा येशूले सुन्‍नुभयो। कुनै-कुनै विषयमा आफ्ना चेलाहरूको विचार बुझ्न येशूले तिनीहरूलाई प्रश्‍न गर्नुभयो। (मत्ती १७:२५-२७) हो, राम्ररी सिकाउनको लागि ध्यान दिएर सुन्‍नु र साँचो चासो देखाउनु आवश्‍यक छ। कुनै प्रश्‍न सोध्न आएको बच्चालाई हप्काउँदै यस्तो प्रतिक्रिया नदेखाउन आमाबाबु सजग हुनुपर्छ: “कचकच नगर्‌! म यहाँ काम गर्न लागेको देखिनस्‌?” आमाबाबु साँच्चै व्यस्त छन्‌ भने पछि कुरा गर्नेछु भनेर छोराछोरीलाई बताउनुपर्छ। अनि आमाबाबुले त्यस विषयमा पछि कुरा गर्न भने अवश्‍य बिर्सनु हुँदैन। यसो गर्दा आमाबाबुले साँच्चै आफ्नो कुरामा चासो लिंदा रहेछन्‌ भनेर छोराछोरीले महसुस गर्नेछन्‌ अनि आफ्नो मनको कुरा आमाबाबुलाई पोख्न सजिलो हुनेछ।

१४. छोराछोरीलाई स्नेह देखाउने सन्दर्भमा आमाबाबुले येशूबाट के सिक्न सक्छन्‌?

१४ आमाबाबुले आफ्ना छोराछोरीको काँधमा हात राखेर अनि तिनीहरूलाई अँगालो हालेर तिनीहरूप्रतिको स्नेह देखाउनु राम्रो होइन र? यस सन्दर्भमा पनि आमाबाबुले येशूबाट सिक्न सक्छन्‌। येशूले “तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो” भनी बाइबल बताउँछ। (मर्कूस १०:१६) यसो गर्दा ती साना केटाकेटीले कस्तो प्रतिक्रिया देखाए होलान्‌ जस्तो तपाईंलाई लाग्छ? पक्कै पनि यसले तिनीहरूको हृदय छोयो र तिनीहरू येशूतिर आकर्षित भए! तपाईं आमाबाबु र तपाईंका साना छोराछोरीबीच साँचो स्नेह र प्रेम छ भने तिनीहरूलाई अनुशासन दिने तथा सिकाउने प्रयास गर्नुहुँदा तिनीहरूले सजिलै स्वीकार्नेछन्‌।

आफ्ना छोराछोरीसित कति समय बिताउनुपर्छ भन्‍ने प्रश्‍न

१५, १६. छोराछोरी हुर्काउने सन्दर्भमा एउटा लोकप्रिय धारणा कुन हो अनि सम्भवतः यस्तो सोचाइ आउनुको कारण के हो?

१५ छोराछोरीलाई तिनीहरूका आमाबाबुले साँच्चै धेरै समय दिनुका साथै मायालु चासो देखाउनुपर्छ भन्‍ने विषयमा कोही-कोहीले प्रश्‍न उठाएका छन्‌। छोराछोरीलाई हुर्काउने सन्दर्भमा एकदमै राम्ररी अघि सारिएको एउटा धारणा गुणस्तरीय समयको धारणा हो। यस धारणालाई अघि सार्ने व्यक्‍तिहरूअनुसार आमाबाबुले आफ्ना छोराछोरीसित बिताउने समय अर्थपूर्ण, सुनियोजित र अग्रिम तयारी गरिएको छ भने धेरै समय बिताउनु आवश्‍यक छैन। के यो गुणस्तरीय समयको धारणा साना केटाकेटीहरूको हितलाई मनमा राखेर बनाइएको राम्रो कुरा हो?

१६ थुप्रै केटाकेटीसित कुरा गरिसकेका एक जना लेखकले के बताए भने, छोराछोरीले “आफ्ना आमाबाबुबाट सबैभन्दा चाहने कुरा भनेकै अझ बढी समय” र “एकाग्र ध्यान” हो। महत्त्वपूर्ण कुरा, कलेजका एक जना प्राध्यापकले यस्तो टिप्पणी गरे: “[गुणस्तरीय समय] भन्‍ने अभिव्यक्‍ति आमाबाबुको दोषी भावनाको उपज हो। आमाबाबुले आफ्ना छोराछोरीसित कम समय बिताए पनि केही फरक पर्दैन भनेर सफाइ दिन खोजिरहेका थिए।” आमाबाबुले आफ्ना छोराछोरीसित कति समय बिताउनुपर्छ?

१७. छोराछोरीलाई आफ्ना आमाबाबुबाट के चाहिन्छ?

१७ कति समय बिताउनुपर्छ भनेर बाइबलले बताएको छैन। तथापि, घरमा बस्दा, बाटोमा हिंड्‌दा, ढल्केर बस्दा र उठ्‌दा आफ्ना छोराछोरीसित कुरा गर्न इस्राएली आमाबाबुलाई आग्रह गरिएको थियो। (व्यवस्था ६:७) आमाबाबुले आफ्ना छोराछोरीसित कुराकानी गर्न अनि तिनीहरूलाई सिकाउन हरेक दिन निरन्तर समय बिताउनुपर्छ भनेर यसले स्पष्ट पार्छ।

१८. आफ्ना प्रेरितहरूलाई प्रशिक्षण दिने मौकाको येशूले कसरी सदुपयोग गर्नुभयो अनि यसबाट आमाबाबुले के सिक्न सक्छन्‌?

१८ आफ्ना प्रेरितहरूसित खाँदा, तिनीहरूसित यात्रा गर्दा र तिनीहरूसित आराम गर्दा समेत येशू तिनीहरूलाई सिकाउन सफल हुनुभयो। यसरी तिनीहरूलाई सिकाउने हरेक मौकाको उहाँले सदुपयोग गर्नुभयो। (मर्कूस ६:३१, ३२; लूका ८:१; २२:१४) यसरी नै, आफ्ना छोराछोरीसित कुराकानी गर्न अनि त्यस्तो कुराकानीलाई निरन्तरता दिनुका साथै तिनीहरूलाई यहोवाको तौरतरिकामा प्रशिक्षण दिन मसीही आमाबाबुहरू हर मौकाको सदुपयोग गर्न सजग हुनुपर्छ।

के सिकाउने अनि कसरी सिकाउने

१९. (क) छोराछोरीसित समय बिताउनुको अलावा के आवश्‍यक छ? (ख) आमाबाबुले आफ्ना साना छोराछोरीलाई मुख्यतया के सिकाउनुपर्छ?

१९ छोराछोरीलाई राम्ररी हुर्काउनु भनेको तिनीहरूसित समय बिताउनु अनि तिनीहरूलाई सिकाउनु मात्र पनि होइन। के सिकाउने भन्‍ने कुरा पनि महत्त्वपूर्ण छ। कुन-कुन कुराहरू सिकाउनुपर्छ भन्‍ने सन्दर्भमा बाइबल कसरी जोड दिन्छ, त्यसमा ध्यान दिनुहोस्‌। बाइबल यसो भन्छ: “मैले तिमीहरूलाई सुनाएको आज्ञा . . . आफ्ना छोराछोरीहरूलाई . . . सिकाओ।” छोराछोरीलाई सिकाउनुपर्ने यी “आज्ञा” के-के हुन्‌? स्पष्टतः माथि उल्लेख गरिएका आज्ञा नै हुन्‌। ती हुन्‌: “तिमीहरूले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर।” (व्यवस्था ६:५-७) परमेश्‍वरका आज्ञाहरूमध्ये यो सबैभन्दा महत्त्वपूर्ण हो भनी येशूले बताउनुभयो। (मर्कूस १२:२८-३०) आमाबाबुले आफ्ना साना छोराछोरीलाई मुख्यतया यहोवाबारे सिकाउनुपर्छ अनि हाम्रो पूरा तनमनको प्रेम र भक्‍ति पाउने योग्यको उहाँ मात्र किन हुनुहुन्छ भनेर बुझाउनुपर्छ।

२०. आफ्ना छोराछोरीलाई कुन कुरा सिकाउनू भनेर परमेश्‍वरले पुरातन समयका आमाबाबुलाई आज्ञा दिनुभएको थियो?

२० तथापि, आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउन आग्रह गरिएको “आज्ञा” भनेको आफ्नो सम्पूर्ण तनमनले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भनेर तिनीहरूलाई सिकाउनु मात्र होइन। व्यवस्थाको पुस्तकको अघिल्लो अध्यायमा परमेश्‍वरले ढुङ्‌गाको पाटीमा लेख्नुभएका नियम अर्थात्‌ दस आज्ञा मोशाले पुनः दोहोऱ्‍याएको तपाईंले पाउनुहुनेछ। यी नियमहरूमा झूटो नबोल्नू, नचोर्नू, हत्या नगर्नू र व्यभिचार नगर्नूजस्ता आज्ञाहरू छन्‌। (व्यवस्था ५:११-२२) त्यसैले आफ्ना छोराछोरीलाई नैतिक मूल्यमान्यताहरू सिकाउनु कत्तिको महत्त्वपूर्ण छ भनेर पुरातन समयका ती आमाबाबुलाई स्पष्ट पारिएको थियो। आफ्ना छोराछोरीलाई सुरक्षित तथा आनन्दमय भविष्य प्राप्त गर्ने मदत दिन चाहन्छन्‌ भने आज मसीही आमाबाबुले पनि त्यस्तै निर्देशन दिनु आवश्‍यक छ।

२१. साना केटाकेटीहरूलाई परमेश्‍वरको वचन “होशियारीसाथ सिकाओ” भनेर निर्देशन दिनुको अर्थ के थियो?

२१ ध्यान दिनुहोस्‌, आमाबाबुले आफ्ना साना छोराछोरीलाई ती “आज्ञा” कसरी सिकाउनुपर्छ भनेर बताइएको छ: “ती तिमीहरूले आफ्ना छोरा-छोरीहरूलाई होशियारीसाथ सिकाओ।” “होशियारीसाथ सिकाओ” भनेर अनुवाद गरिएको मूल हिब्रू शब्दले “पटक पटक दोहोऱ्‍याएर वा सल्लाह दिएर सिकाउनु वा स्पष्ट पार्नु: प्रोत्साहन दिनु वा मनमा ठप्प बसाल्नु” भन्‍ने अर्थ बुझाउँछ। वास्तवमा परमेश्‍वरले आमाबाबुलाई भन्‍न खोज्नुभएको कुरा के हो भने, आफ्ना छोराछोरीको मनमा आध्यात्मिक कुराहरू स्पष्टसित ठप्प बसाल्न बाइबलका निर्देशनहरू दिने सुनियोजित कार्यक्रम बनाउनुपर्छ।

२२. आफ्ना छोराछोरीलाई निर्देशन दिन इस्राएली आमाबाबुलाई के गर्न भनिएको थियो अनि त्यसको अर्थ के थियो?

२२ त्यस्तो सुनियोजित कार्यक्रम बनाउन आमाबाबु आफै अग्रसर हुनुपर्छ। बाइबल यसो भन्छ: “ती [परमेश्‍वरका आज्ञाहरू] आफ्नो हातमा चिह्नको लागि बाँधिराख। ती तिमीहरूका निधारमा व्यवस्था-पत्री होऊन। ती आफ्नो घरको सँघार र मूल-ढोकाहरूमा लेख।” (व्यवस्था ६:८, ९) यसको मतलब आमाबाबुले परमेश्‍वरको व्यवस्था साँच्चै घरको सँघार र मूल ढोकाहरूमा लेख्नुपर्छ, छोराछोरीको हातमा व्यवस्थाको एउटा प्रति बाँधिदिनुपर्छ र निधारको बीचमा व्यवस्था-पत्री राखिदिनुपर्छ भनेको होइन। त्यसो नभई महत्त्वपूर्ण कुरा भनेको आफ्ना छोराछोरीलाई परमेश्‍वरको शिक्षाबारे निरन्तर सम्झाइरहनु हो। आफ्ना छोराछोरीलाई नियमित तवरमा अनि एकरूपले सिकाउनुपर्छ जसले गर्दा परमेश्‍वरका शिक्षाहरू सधैं तिनीहरूकै सामु भएझैं हुनेछ।

२३. अर्को हप्ताको लेखमा कुन कुरा छलफल गरिनेछ?

२३ आमाबाबुले आफ्ना छोराछोरीलाई सिकाउनुपर्ने अत्यन्तै महत्त्वपूर्ण कुराहरू के-के हुन्‌? आज छोराछोरीलाई आफ्नो सुरक्षा गर्न सिकाउनु र प्रशिक्षण दिनु किन अत्यावश्‍यक छ? आफ्ना छोराछोरीलाई प्रभावकारी ढङ्‌गमा सिकाउन आमाबाबुसित अहिले कस्तो मदत उपलब्ध छ? आमाबाबुले जान्‍न चाहने यी तथा अन्य प्रश्‍नहरूबारे यसपछिको लेखमा छलफल गरिनेछ।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• आमाबाबुले आफ्ना छोराछोरीलाई किन बहुमूल्य ठान्‍नुपर्छ?

• आमाबाबु र अरूले येशूबाट के सिक्न सक्छन्‌?

• आमाबाबुले आफ्ना छोराछोरीसित कति समय बिताउनुपर्छ?

• छोराछोरीलाई के सिकाउनुपर्छ अनि कसरी सिकाउनुपर्छ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १०-मा भएको चित्र]

येशूले सिकाउनुभएको तरिकाबाट आमाबाबुले के सिक्न सक्छन्‌?

[पृष्ठ ११-मा भएका चित्रहरू]

इस्राएली आमाबाबुले आफ्ना छोराछोरीलाई कहिले अनि कसरी सिकाउनुपर्थ्यो?

[पृष्ठ १२-मा भएका चित्रहरू]

आमाबाबुले परमेश्‍वरका शिक्षाहरू आफ्ना छोराछोरीको सामु राखिदिनुपर्छ