सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

एउटा उपयोगी अनुवाद सहायक

एउटा उपयोगी अनुवाद सहायक

एउटा उपयोगी अनुवाद सहायक

बाइबलका ग्रन्थकार यहोवा परमेश्‍वर “हरेक जाति, कुल, भाषा र मानिसहरूलाई” उहाँको राज्यको सुसमाचार घोषणा गरियोस्‌ भन्‍ने चाहनुहुन्छ। (प्रकाश १४:६) सबै मानिसजातिले उहाँको लिखित वचन सजिलै प्राप्त गरेको उहाँ चाहनुहुन्छ। यो उद्देश्‍य प्राप्तीको लागि बाइबल संसारका अरू कुनै पनि पुस्तकभन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ। परमेश्‍वरका विचारहरू अरू भाषामा व्यक्‍त गर्न हजारौं अनुवादकहरूले कुनै कसर बाँकी राखेका छैनन्‌।

तर अनुवादकहरूले भने बाइबल अनुवाद गर्नुपर्ने एउटा सामग्री मात्र ठानेका छैनन्‌। बेलाबेलामा बाइबल आफैलाई पनि अन्य अनुवाद कार्यहरूमा सहायकको रूपमा प्रयोग गरिएको छ। कुनै खास शब्दहरू सही तरिकाले अनुवाद गर्न थुप्रै अनुवादकहरूले बाइबलमा ती शब्दहरूलाई विभिन्‍न भाषामा कसरी अनुवाद गरिएको छ भनेर तुलना गरेर हेरेका छन्‌। अनुवाद सहायकको रूपमा बाइबलको प्रभावकारितालाई अहिले आएर कम्प्युटरमार्फत गरिने अनुवादमा समेत प्रयोग गरिएको छ।

राम्रो अनुवाद गर्नु कम्प्युटरको लागि फलामको चिउरा चपाएजस्तै हो। कोही-कोही विशेषज्ञहरूको भनाइअनुसार अनुवाद भनेको कम्प्युटरले गर्न सक्ने काम होइन। किन? भाषा भनेको शब्दहरूको संग्रह मात्र होइन। हरेक भाषाको आ-आफ्नै वाक्यपद्धति, नियम, ती नियमका अपवादहरू, उखान-टुक्का र उपमाहरू हुन्छन्‌। कम्प्युटरलाई यी सबै कुराहरू सिकाउने सन्दर्भमा खासै सफलता हासिल गर्न सकिएको छैन। कम्प्युटरले गरेका अधिकांश अनुवादहरू बुझ्न असाध्यै गाह्रो भएको छ।

तथापि, कम्प्युटर अनुवादका एक जना अगुवा विशेषज्ञ फ्रान्ज जोसेफ ओकअनुसार अहिले कम्प्युटर वैज्ञानिकहरूले अनुवाद गर्ने नयाँ-नयाँ तरिकाहरू पत्ता लगाउँदै छन्‌। मानिलिनुहोस्‌ तपाईं हिन्दी भाषामा लेखिएको कुनै सामग्रीलाई अङ्‌ग्रेजीमा अनुवाद गर्न चाहनुहुन्छ। सबैभन्दा पहिले ती दुवै भाषामा उपलब्ध कुनै सामग्री लिनुहोस्‌। अनि यसलाई कम्प्युटरमा राख्नुहोस्‌। कम्प्युटरले ती दुई सामग्रीहरू तुलना गर्छ। उदाहरणका लागि, कम्प्युटरले थुप्रै ठाउँमा एउटै हिन्दी शब्द भेट्टायो र अङ्‌ग्रेजी भाषाको त्यही वाक्यांशमा “घर” भन्‍ने शब्द भेट्टायो भने त्यो हिन्दी शब्दको अर्थ पक्कै पनि “घर” हो भन्‍ने निष्कर्षमा कम्प्युटर पुग्छ। अनि त्यस शब्दको अगाडि वा पछाडि “ठूलो,” “सानो,” “पुरानो,” वा “नयाँ” जस्ता विशेषणहरू हुन सक्छ। त्यसैले कम्प्युटरले यस्ता शब्द वा वाक्यपद्धतिको एउटा सूची तयार पार्छ। केही दिन वा हप्तौं लगाएर यसरी “प्रशिक्षण” पाइसकेपछि आफूले “सिकेका” कुराहरू चलाएर कम्प्युटरले नयाँ सामग्रीहरू अनुवाद गर्न सक्छ। हुन त यसरी गरिएको अनुवाद व्याकरण र लेखन शैलीको हिसाबले त्यति स्तरीय त नहोला तर बुझ्नै नसकिने भने हुँदैन किनभने यसको अर्थ र यसले बताउन खोजेको मुख्य कुरा अक्सर बुझ्न सकिन्छ।

अनुवादको गुणस्तर कम्प्युटरमा कति र कस्तो खालको अनुवाद राखिएको छ भन्‍ने कुरामा धेरै हदसम्म भर पर्छ। अनि यस सन्दर्भमा बाइबल अग्रस्थानमा आउँछ। यो होसियारसाथ थुप्रै भाषाहरूमा अनुवाद गरिएको छ, यसलाई सजिलै पाउन सकिन्छ र कम्प्युटरमा राख्नको लागि यसमा प्रशस्त साम्रगी छ। त्यसैले कम्प्युटरलाई नयाँ भाषामा अनुवाद गर्न प्रशिक्षण दिन अनुसन्धाताहरूको पहिलो रोजाइ बाइबल नै थियो।