सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईंको बाटोलाई परमेश्‍वरको वचनले उज्यालो बनाउन दिनुहोस्‌

तपाईंको बाटोलाई परमेश्‍वरको वचनले उज्यालो बनाउन दिनुहोस्‌

तपाईंको बाटोलाई परमेश्‍वरको वचनले उज्यालो बनाउन दिनुहोस्‌

“तपाईंको वचन . . . मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.

१, २. हामीले के गरेको खण्डमा मात्र यहोवाको वचनले हाम्रो बाटो उज्यालो बनाउनेछ?

 यहोवाको वचनले आफ्नो बाटोलाई उज्यालो बनाउन दियौं भने यसले हाम्रो बाटो साँच्चै उज्यालो बनाउनेछ। यस्तो आध्यात्मिक ज्योतिबाट लाभ उठाउन हामी परमेश्‍वरको लिखित वचनका लगनशील विद्यार्थीहरू हुनुका साथै यसको सल्लाह व्यवहारमा उतार्नै पर्छ। त्यसो गरेमा मात्र हामी भजनहारले जस्तै महसुस गर्न सक्छौं: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.

अब हामी भजन ११९:८९-१७६ सम्म विचार गरौं। एघारवटा श्‍लोक मिलेर बनेका यी पदहरूमा जानकारीको कत्ति ठूलो खजाना पाइन्छ! यी पदहरूले हामीलाई अनन्त जीवनको बाटोमा हिंडिरहन मदत गर्न सक्छ।—मत्ती ७:१३, १४.

परमेश्‍वरको वचनमा किन आनन्दित हुने?

३. हामी परमेश्‍वरको वचनमा भर पर्न सक्छौं भनी भजन ११९:८९, ९० ले कसरी देखाउँछ?

यहोवाको वचनमा आनन्दित हुँदा यसले आध्यात्मिक स्थिरता ल्याउँछ। (भजन ११९:८९-९६) भजनहारले यसरी गाए: “हे परमप्रभु, तपाईंको वचन सदा सर्वदा, स्वर्गमा स्थिर रहेको छ। . . . तपाईंले पृथ्वीलाई स्थापित गर्नुभएको छ, र त्यो रहिरहन्छ।” (भजन ११९:८९, ९०) परमेश्‍वरको वचन अर्थात्‌ “आकाशको शासन गर्ने नियमहरू[द्वारा]” आकाशीय पिण्डहरू कुनै त्रुटिविना आफ्नो कक्षमा घुम्छन्‌ र पृथ्वी सधैंभरिको लागि स्थिर पारिएको छ। (अय्यूब ३८:३१-३३; भजन १०४:५) यहोवाको मुखबाट निस्कने हरेक वचनमा हामी भर पर्न सक्छौं; परमेश्‍वरले भन्‍नुहुने कुरा आफ्नो उद्देश्‍यमा “सफल” भएरै छोड्‌नेछ।—यशैया ५५:८-११.

४. दुःख भोग्ने परमेश्‍वरका सेवकहरूको लागि उहाँको वचनप्रतिको आनन्दले के गर्छ?

भजनहार ‘परमेश्‍वरको व्यवस्थामा आनन्दित नभएको भए तिनी आफ्नो दुःखमा नष्ट भइसक्ने थिए।’ (भजन ११९:९२) तिनलाई दुःख दिनेहरू विदेशीहरू थिएनन्‌; तिनलाई घृणा गर्नेहरू इस्राएलीहरू नै थिए जसले व्यवस्था उल्लङ्‌घन गरे। (लेवी १९:१७) तर यसले तिनलाई विचलित तुल्याएन किनभने तिनी परमेश्‍वरको व्यवस्थालाई प्रेम गर्थे जसले तिनलाई सँभाल्थ्यो। कोरिन्थमा प्रेरित पावल “झूटा भाइहरूका बीचमा जोखिम[मा]” परेका थिए, सायद तिनीहरूमध्ये कोही-कोही पावलको विरुद्धमा दोष लगाउन खोज्ने “मुख्य प्रेरितहरू” पनि थिए। (२ कोरिन्थी ११:५, १२-१४, २६) तैपनि पावल आध्यात्मिक तवरमा मरेनन्‌ किनभने तिनी परमेश्‍वरको वचनमा आनन्दित थिए। हामी यहोवाको लिखित वचनमा आनन्दित हुने र यसले दिएका निर्देशनहरू व्यवहारमा उतार्ने भएकोले आफ्ना भाइहरूलाई प्रेम गर्छौं। (१ यूहन्‍ना ३:१५) संसारले घृणा गर्दा समेत हामी परमेश्‍वरको एउटै पनि निर्देशन बिर्संदैनौं। सधैंभरि यहोवालाई आनन्दित सेवा चढाउने दिनको बाटो हेर्दै गर्दा हामी मायालुपूर्वक हाम्रा भाइहरूसित मिलेर उहाँको इच्छा पूरा गरिरहन्छौं।—भजन ११९:९३.

५. राजा आसाले कसरी यहोवाको खोजी गरे?

यहोवाप्रति आफ्नो भक्‍ति प्रकट गर्दै हामी यसरी प्रार्थना गर्न सक्छौं: “म तपाईंकै हुँ, मेरो उद्धार गर्नुहोस्‌। किनकि मैले तपाईंका आदेशहरूको खोजी गरेको छु।” (भजन ११९:९४) राजा आसाले परमेश्‍वरको खोजी गरे अनि यहूदाबाट धर्मत्याग जरैसमेत उखेले। आसाको शासनको १५ औं वर्षमा (सा.यु.पू. ९६३) भएको एउटा ठूलो भेलामा यहूदाका बासिन्दाहरूले “परमेश्‍वरको अगुवाइ खोज्न करार बाँधे।” परमेश्‍वर पनि उहाँलाई “तिनीहरूले पाऊन्‌ भनी स्वयं प्रकट” हुनुभयो र “तिनीहरूलाई चारैतिरबाट सुरक्षित” गर्नुभयो। (२ इतिहास १५:१०-१५) यो उदाहरणले मसीही मण्डलीबाट तर्केका व्यक्‍तिहरूलाई फेरि परमेश्‍वरको खोजी गर्न प्रोत्साहन दिनुपर्ने हो। आफ्ना जनहरूसित फेरि सक्रियतापूर्वक संगत गर्न थाल्नेहरूलाई उहाँले आशिष्‌ र सुरक्षा दिनुहुनेछ।

६. कस्तो कदमले हामीलाई आध्यात्मिक हानिबाट जोगाउनेछ?

यहोवाको वचनले बुद्धि दिन्छ र यो बुद्धिले हामीलाई आध्यात्मिक हानिबाट जोगाउन सक्छ। (भजन ११९:९७-१०४) परमेश्‍वरको आज्ञाले हामीलाई हाम्रा शत्रुहरूभन्दा बुद्धिमान्‌ तुल्याउँछ। उहाँका साक्षी-वचनहरू ध्यान दिएर सुन्दा अन्तरदृष्टि पाउँछौं र ‘उहाँका आदेशहरू पालन गर्दा बूढापाकाहरू भन्दा ज्यादा बुझ्ने हुन्छौं।’ (भजन ११९:९८-१००) यहोवाका वचनहरू ‘हाम्रो स्वादमा गुलिया र हाम्रो मुखमा महभन्दा बढी मीठा छन्‌’ भने हामी “सबै झूटा मार्गहरू[लाई]” घृणा गर्नेछौं र त्यसदेखि जोगिनेछौं। (भजन ११९:१०३, १०४) यी अखिरी दिनमा हठी, निष्ठूर र अभक्‍त मानिसहरूको सामना गर्नुपर्दा यसले हामीलाई आध्यात्मिक हानिबाट जोगाउनेछ।—२ तिमोथी ३:१-५.

हाम्रो खुट्टाको निम्ति बत्ती

७, ८. भजन ११९:१०५ अनुरूप चल्न हामीले के गर्नुपर्छ?

परमेश्‍वरको वचन आध्यात्मिक ज्योतिको भरपर्दो स्रोत हो। (भजन ११९:१०५-११२) चाहे हामी अभिषिक्‍त मसीहीहरू हौं वा तिनीहरूका सँगी “अरू भेडा,” हामी यसो भन्छौं: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।” (यूहन्‍ना १०:१६; भजन ११९:१०५) हामी आध्यात्मिक तवर ठेस खाएर नलडौं भनेर परमेश्‍वरको वचन हाम्रो बाटो उज्यालो बनाउने बत्तीजस्तै हो। (हितोपदेश ६:२३) तथापि, हामीले व्यक्‍तिगत रूपमा यहोवाको वचनलाई हाम्रो खुट्टाको निम्ति बत्ती हुन दिनै पर्छ।

हामीमा भजन ११९ का रचयिताको जस्तै दृढ संकल्प हुनै पर्छ। तिनी परमेश्‍वरको आदेशबाट नतर्कन कटिबद्ध थिए। तिनले यसो भने: “[यहोवाको] न्यायका वचनहरू पालन गर्नेछु भनेर मैले शपथ खाएको छु, र त्यसलाई पक्का गरेको छु।” (भजन ११९:१०६) नियमित तवरमा बाइबल अध्ययन गर्नु र मसीही सभाहरूमा उपस्थित हुनुको महत्त्वलाई हामी कहिल्यै पनि हल्कासित नलेऔं।

९, १०. यहोवाप्रति समर्पित व्यक्‍तिहरू ‘उहाँका आदेशहरूबाट हट्‌न’ सक्छन्‌ भनेर हामी कसरी भन्‍न सक्छौं तर यस्तो हुनदेखि कसरी बच्न सकिन्छ?

भजनहार ‘परमेश्‍वरका आदेशहरूबाट हटेनन्‌’ तर यहोवाप्रति समर्पित जन समेत यसबाट तर्कन सक्छन्‌। (भजन ११९:११०) राजा सुलेमान यहोवाप्रति समर्पित राष्ट्रको सदस्य भए तापनि र सुरुमा तिनले ईश्‍वर-प्रदत्त बुद्धिअनुसार काम गरेको भए तापनि तिनी तर्किए। झूटा देवताहरूको उपासना गर्न लोभ्याएर “विदेशी स्त्रीहरूलेनै तिनलाई पाप गर्नलाए।”—नहेम्याह १३:२६; १ राजा ११:१-६.

१० “शिकारी” शैतानले थुप्रै पासोहरू थाप्छ। (भजन ९१:३) उदाहरणका लागि, पहिले-पहिले मण्डलीसित संगत गरेको व्यक्‍तिले हामीलाई आध्यात्मिक ज्योति त्यागेर धर्मत्यागको अन्धकारमा रुमलिन लोभ्याउन सक्छ। थिआटायराका मसीहीहरूमाझ “स्त्री जिजेबेल” पनि थिइन्‌ र त्यो अरूलाई मूर्तिपूजा र व्यभिचार गर्न सिकाउने स्त्रीहरूको समूह हुन सक्छ। येशूले यस्तो दुष्टतालाई सहनुभएन न त हामीले नै सहन हुन्छ। (प्रकाश २:१८-२२; यहूदा ३, ४) त्यसैले यहोवाका आदेशहरूबाट नतर्कन तर सधैंभरि ईश्‍वरीय ज्योतिमा रहिरहन हामी यहोवाको मदतको लागि प्रार्थना गरौं।—भजन ११९:१११, ११२.

परमेश्‍वरको वचनद्वारा सँभालिएको

११. भजन ११९:११९ अनुसार परमेश्‍वरले दुष्टहरूलाई कस्तो ठान्‍नुहुन्छ?

११ परमेश्‍वरका नियमहरूबाट हामी कहिल्यै पनि तर्किएनौं भने उहाँले हामीलाई सँभाल्नुहुनेछ। (भजन ११९:११३-१२०) आजका मसीही भनौंदा मनतातो व्यक्‍तिहरूलाई येशूले अस्वीकार गर्नुभएझैं हामी पनि “दोहोरो मन भएका मानिसहरूलाई” स्वीकार्दैनौं। (भजन ११९:११३; प्रकाश ३:१६) हामीले पूरा हृदयले यहोवाको सेवा गर्ने भएकोले उहाँ ‘हाम्रो लुक्ने ठाउँ’ हुनुहुन्छ र उहाँले हामीलाई सँभाल्नुहुनेछ। चतुऱ्‍याइँ र झूटमा लागेर ‘उहाँका नियमहरूबाट बरालिने जातिलाई उहाँले लत्याउनुहुनेछ।’ (भजन ११९:११४, ११७, ११८; हितोपदेश ३:३२) यस्ता दुष्ट व्यक्‍तिहरूलाई उहाँले चाँदी र सुन जस्ता बहुमूल्य धातुहरूबाट निकालिएको फोहोर अर्थात्‌ “कसरजस्तै” ठान्‍नुहुन्छ। (भजन ११९:११९; हितोपदेश १७:३) परमेश्‍वरका साक्षी-वचनहरूप्रति हामी सधैं प्रेम देखाइरहौं किनभने पक्कै पनि हामी विनाशमा जाने फोहोरको डङ्‌गुरका दुष्टहरूमध्ये गनिन चाहँदैनौं!

१२. यहोवाप्रतिको भय किन महत्त्वपूर्ण छ?

१२ “तपाईंको [यहोवाको] डरले मेरो शरीर काम्छ” भनी भजनहारले बताए। (भजन ११९:१२०) आफ्ना सेवकहरूको रूपमा परमेश्‍वरले हामीलाई सँभाल्ने हो भने उहाँलाई मन नपर्ने कुराहरूदेखि जोगिएर उहाँप्रति स्वस्थकर भय राख्नु महत्त्वपूर्ण छ। यहोवाप्रतिको श्रद्धेय भयले अय्यूबलाई धर्मी जीवन बिताउन उत्प्रेरित गऱ्‍यो। (अय्यूब १:१; २३:१५) ईश्‍वरीय भयले हामीलाई जस्तोसुकै अवस्थाको सामना गर्नुपरे तापनि परमेश्‍वरले मन पराउनुहुने मार्गमा हिंडिरहन मदत गर्न सक्छ। यद्यपि, विश्‍वाससाथ गरिएका व्यग्र प्रार्थनाहरूले धीरजी हुन मदत गर्छ।—याकूब ५:१५.

विश्‍वाससाथ प्रार्थना गर्नुहोस्‌

१३-१५. (क) हाम्रा प्रार्थनाहरूको सुनुवाइ हुनेछ भनेर हामी किन विश्‍वस्त हुन सक्छौं? (ख) प्रार्थनामा के भन्‍ने भनेर हामीलाई थाह छैन भने के हुन सक्छ? (ग) हामीले प्रार्थनामा ‘बयान गर्न नसकेका सोरहरूसित’ भजन ११९:१२१-१२८ कसरी मेल खान सक्छ, स्पष्ट पार्नुहोस्‌।

१३ परमेश्‍वरले हाम्रो पक्षमा कदम चाल्नुहुनेछ भनेर हामी विश्‍वाससाथ प्रार्थना गर्न सक्छौं। (भजन ११९:१२१-१२८) हाम्रा प्रार्थनाहरूको सुनुवाइ हुनेछ भनी भजनहारजस्तै हामी पनि पक्का छौं। किन? किनभने परमेश्‍वरका आज्ञाहरूलाई हामी “सुनभन्दा, र चोखो सुनभन्दा पनि बढी” प्रेम गर्छौं। साथै, ‘सबै कुराको विषयमा परमेश्‍वरका आदेशहरू ठीक हुन्‌’ भनी हामी सम्झन्छौं।—भजन ११९:१२७, १२८.

१४ यहोवाले हाम्रा बिन्तीहरू सुन्‍नुहुन्छ किनभने हामी विश्‍वाससाथ प्रार्थना गर्छौं र होसियारसाथ उहाँका आदेशहरू अनुरूप चल्छौं। (भजन ६५:२) तर कहिलेकाहीं यस्ता अन्योलमा पार्ने समस्याहरू आइपरे कि प्रार्थनामा के भन्‍ने भनेर हामीलाई थाहै भएन भने नि? त्यस्तो बेला “बयान गर्न नसक्ने सोरले आत्मा आफैले हाम्रा निम्ति अन्तरबिन्ती” गर्छ। (रोमी ८:२६, २७) यस्तो समयमा परमेश्‍वरको वचनमा पाइने अभिव्यक्‍तिहरूलाई हामी आफैले गरेका प्रार्थनाहरूको रूपमा उहाँले स्वीकार्नुहुन्छ।

१५ हामीले ‘बयान गर्न नसकेका सोरहरूसित’ मेल खाने प्रार्थना र विचारहरू धर्मशास्त्रमा थुप्रै पाइन्छन्‌। उदाहरणका लागि, भजन ११९:१२१-१२८ लाई विचार गर्नुहोस्‌। यहाँ बताइएका कुराहरू हाम्रो परिस्थितिसित मेल खान सक्छ। उदाहरणका लागि, कसैले हामीलाई ठग्छ कि भनेर डराउँछौं भने भजनहारले जस्तै हामी पनि परमेश्‍वरको मदतको लागि बिन्ती गर्न सक्छौं। (पद १२१-१२३, NW) मानिलिनुहोस्‌, हामीले एउटा असाध्यै गाह्रो निर्णय गर्नुपऱ्‍यो। त्यतिबेला परमेश्‍वरका साक्षी-वचनहरू सम्झन र त्यसलाई व्यवहारमा उतार्न यहोवाको आत्माले हामीलाई मदत देओस्‌ भनेर प्रार्थना गर्न सक्छौं। (पद १२४, १२५) हामीले ‘हरेक झूटो मार्गलाई घृणा गर्ने’ भए तापनि उहाँको व्यवस्था भङ्‌ग गर्ने कुनै पनि प्रलोभनमा नफसौं भनेर हामीले परमेश्‍वरको मदतको लागि बिन्ती गर्नुपर्ने हुन सक्छ। (पद १२६-१२८) हामी दिनहुँ बाइबल पढ्‌छौं भने यहोवालाई बिन्ती गर्दा यस्ता मदतकारी विवरणहरू हाम्रो मनमा झट्टै आउन सक्छन्‌।

यहोवाका साक्षी-वचनहरूद्वारा मदत पाएको

१६, १७. (क) हामीलाई किन परमेश्‍वरका साक्षी-वचनहरू चाहिन्छ र यसप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? (ख) अरूले हामीलाई कस्तो दृष्टिकोणले हेर्न सक्छन्‌ तर महत्त्वपूर्ण कुरा के हो?

१६ प्रार्थनाहरूको सुनुवाइ हुन र ईश्‍वरीय अनुमोदन पाउन हामीले परमेश्‍वरका साक्षी-वचनहरूमा ध्यान दिनै पर्छ। (भजन ११९:१२९-१३६) हामीसित बिर्सने बानी भएकोले हामीलाई यहोवाका अद्‌भुत साक्षी-वचन अर्थात्‌ सम्झौटाहरू चाहिन्छ र यसले उहाँको निर्देशन तथा आज्ञाहरू हामीलाई सम्झाइदिन्छ। निस्सन्देह, परमेश्‍वरको वचनबारे नयाँ-नयाँ समझ प्राप्त हुँदा प्रकट हुने आध्यात्मिक ज्योतिको हामी मूल्याङ्‌कन गर्छौं। (भजन ११९:१२९, १३०) अरूले परमेश्‍वरको व्यवस्था भङ्‌ग गरेको देख्दा ‘हाम्रो आँखाबाट आँसुका धारा बहन्छ’ तर अनुमोदन व्यक्‍त गर्दै यहोवाले ‘आफ्नो मुख हामीमाथि चम्काउनुभएकोले’ गर्दा हामी कृतज्ञ छौं।—भजन ११९:१३५, १३६; गन्ती ६:२५.

१७ परमेश्‍वरका धार्मिक साक्षी-वचनहरू अनुरूप चलिरह्‍यौं भने उहाँको निगाह पाउने कुरामा हामी ढुक्क हुन सक्छौं। (भजन ११९:१३७-१४४) उहाँका धार्मिक साक्षी-वचनहरूतर्फ हाम्रो ध्यान खिच्ने र हामीले ती आज्ञाहरू पालन गरेको आशा गर्ने अधिकार यहोवासित छ भनेर उहाँका सेवकहरूको हैसियतमा हामी मानि लिन्छौं। (भजन ११९:१३८) भजनहारले परमेश्‍वरका आज्ञाहरू पालन गरेको भए तापनि तिनले किन “म क्षुद्र र तुच्छ छु” भने? (भजन ११९:१४१) स्पष्टतः तिनका शत्रुहरूले तिनलाई कुन दृष्टिकोणले हेर्थे भन्‍ने कुरालाई तिनले सङ्‌केत गरिरहेका थिए। धार्मिकताप्रतिको अडानमा हामीले कुनै सम्झौता गरेनौं भने अरूले हामीलाई घृणा गर्न सक्छन्‌। तर महत्त्वपूर्ण कुरा यो हो कि यहोवाका धार्मिक साक्षी-वचनहरू अनुरूप जीवन बिताएको कारण उहाँले हामीलाई निगाह गर्नुहुन्छ।

सुरक्षित र शान्तिमा

१८, १९. परमेश्‍वरका साक्षी-वचनहरू पालन गर्दा कस्तो परिणाम प्राप्त हुन्छ?

१८ परमेश्‍वरका साक्षी-वचनहरू पालन गर्दा यसले हामीलाई उहाँसित घनिष्ठ बनाइराख्छ। (भजन ११९:१४५-१५२) हामीले यहोवाका साक्षी-वचनहरूमा ध्यान दिने भएकोले आफ्नो पूरा हृदयले उहाँलाई पुकार्न हामी कुनै अप्ठ्यारो महसुस गर्दैनौं र हाम्रो पुकारा सुनुवाइ हुने आशा गर्न सक्छौं। “झिसमिसे उज्यालो[मै]” उठेर हामी मदतको लागि पुकारा गर्न सक्छौं। प्रार्थना गर्ने कत्ति राम्रो समय! (भजन ११९:१४५-१४७) हामी छाडा आचरणबाट अलग रहने र परमेश्‍वरको वचनलाई येशूले झैं सत्य ठान्‍ने भएकोले यहोवा पनि हाम्रो नजिक हुनुहुन्छ। (भजन ११९:१५०, १५१; यूहन्‍ना १७:१७) यहोवासितको हाम्रो सम्बन्धले हामीलाई यस संकटग्रस्त संसारका साथै आर-मागेडोनको उहाँको ठूलो लडाइँमा पनि सँभाल्नेछ।—प्रकाश ७:९, १४; १६:१३-१६.

१९ परमेश्‍वरको वचनप्रति हाम्रो गहिरो श्रद्धाको कारण हामी साँचो सुरक्षाको आनन्द उठाउँछौं। (भजन ११९:१५३-१६०) दुष्टहरू जस्तो हामी ‘यहोवाका साक्षी-वचनहरूबाट तर्केका छैनौं।’ हामी परमेश्‍वरका आदेशहरूलाई प्रेम गर्छौं र यसैकारण उहाँको करुणामा सुरक्षित छौं। (भजन ११९:१५७-१५९) यहोवाका साक्षी-वचनहरूले हाम्रो स्मरणशक्‍तिलाई झकझकाउँछ र कुनै खास परिस्थितिहरूमा उहाँ हामीबाट के चाहनुहुन्छ भन्‍ने कुरा हामी सम्झन्छौं। अर्कोतर्फ, परमेश्‍वरका आदेशहरू भने निर्देशनमूलक छन्‌ र हामीलाई निर्देशन दिने हाम्रो सृष्टिकर्ताको अधिकार हामी इच्छुकतापूर्वक स्वीकार्छौं। ‘परमेश्‍वरको वचनको सार सत्य छ’ र हामी आफै आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउन सक्दैनौं भन्‍ने कुराबारे सजग हुँदै हामी खुसीसाथ ईश्‍वरीय निर्देशन स्वीकार्छौं।—भजन ११९:१६०; यर्मिया १०:२३.

२०. हामीसित किन “ठूलो शान्ति” छ?

२० यहोवाको व्यवस्थाप्रति हाम्रो प्रेमले प्रशस्त शान्ति दिन्छ। (भजन ११९:१६१-१६८) सतावटले “परमेश्‍वरको [अतुलनीय] शान्ति” हामीबाट खोस्न सक्दैन। (फिलिप्पी ४:६, ७) त्यसैले यहोवाको न्यायका वचनहरूको हामी जति धेरै मूल्याङ्‌कन गर्छौं, त्यसको लागि त्यति नै धेरै अर्थात्‌ “दिनमा सातचोटि” उहाँको प्रशंसा गर्छौं। (भजन ११९:१६१-१६४) भजनहारले यसरी गाए: “तपाईंको व्यवस्थामा प्रेम राख्नेहरूलाई ठूलो शान्ति हुन्छ, र तिनीहरूले ठेस खाने कुनै कारणै रहँदैन।” (भजन ११९:१६५) व्यक्‍तिविशेषको रूपमा हामीले यहोवाको व्यवस्थालाई प्रेम गऱ्‍यौं र ती पालन गऱ्‍यौं भने अरू कसैले गरेको काम वा अन्य कुनै विषयलाई लिएर हामी कहिल्यै पनि आध्यात्मिक तवरमा ठक्कर खाने छैनौं।

२१. मण्डलीमा समस्याहरू उत्पन्‍न भए भन्दैमा हामीले ठक्कर खानु पर्दैन भनी कस्ता धर्मशास्त्रीय उदाहरणहरूले देखाउँछ?

२१ बाइबलमा लिपिबद्ध थुप्रै व्यक्‍तिहरूले कुनै पनि कुराले आफूलाई सधैंभरिको लागि ठेस पुऱ्‍याइरहन दिएनन्‌। उदाहरणका लागि, डियोत्रिफसको गलत आचरणको बावजुद मसीही पुरुष गायसले ठक्कर खाएनन्‌ बरु ‘सत्यमा चलिरहे।’ (३ यूहन्‍ना १-३, ९, १०) मसीही स्त्रीहरू इयोदिया र सिन्तकेलाई पावलले “प्रभुमा एउटै मनका होओ” भनेर अर्ती दिए किनभने सम्भवतः तिनीहरूबीच कुनै समस्या उत्पन्‍न भएको थियो। स्पष्टतः तिनीहरूले आफ्नो समस्या सुल्झाउने मदत पाए अनि तिनीहरूले विश्‍वासीपूर्वक यहोवाको सेवा गरिरहे। (फिलिप्पी ४:२, ३) त्यसैले मण्डलीमा कुनै प्रकारको समस्या उत्पन्‍न भयो भन्दैमा हामीले ठक्कर खानु आवश्‍यक छैन। ‘हाम्रा सबै चालचलन उहाँको सामने छन्‌’ भन्‍ने कुरा मनमा राख्दै यहोवाका आदेशहरू पालन गर्नमा ध्यान केन्द्रित गरौं। (भजन ११९:१६८; हितोपदेश १५:३) यसो गऱ्‍यौं भने कुनै पनि कुराले हामीमा भएको “ठूलो शान्ति” सधैंको लागि खोस्न सक्नेछैन।

२२. (क) परमेश्‍वरको आज्ञा पालन गऱ्‍यौं भने हामीले कस्तो सुअवसरको आनन्द उठाउन सक्छौं? (ख) मसीही मण्डलीबाट बरालिएर गएका कोही-कोही व्यक्‍तिहरूप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ?

२२ हामीले सधैं यहोवाको आज्ञा पालन गऱ्‍यौं भने उहाँको प्रशंसा गरिरहने सुअवसर पाउनेछौं। (भजन ११९:१६९-१७६) परमेश्‍वरका नियमहरू अनुरूप जीवन बिताउँदा हामीले आध्यात्मिक सुरक्षा मात्र पाउने होइन तर ‘हाम्रो ओठले यहोवाको प्रशंसा उच्चारण गरिरहनेछ।’ (भजन ११९:१६९-१७१, १७४) यी आखिरी दिनमा हामीले पाउन सक्ने सबैभन्दा ठूलो सुअवसर यही नै हो। भजनहार जीवित्‌ रहिरहन र यहोवाको प्रशंसा गरिरहन चाहन्थे तर कुनै अज्ञात तरिकामा तिनी ‘हराएको भेडाजस्तै बरालिएका थिए।’ (भजन ११९:१७५, १७६) मसीही मण्डलीबाट बरालिएर गएका कोही-कोहीले अझै पनि परमेश्‍वरलाई प्रेम गर्न र उहाँको प्रशंसा गर्न चाहन सक्छन्‌। त्यसैले तिनीहरूले फेरि आध्यात्मिक सुरक्षा पाउन सकून्‌ र यहोवाका जनहरूसित मिलेर उहाँको प्रशंसा गर्दा प्राप्त हुने आनन्द महसुस गर्न सकून्‌ भनेर तिनीहरूलाई मदत दिन यथाशक्य गरौं।—हिब्रू १३:१५; १ पत्रुस ५:६, ७.

हाम्रो बाटोको निम्ति चिरस्थायी उज्यालो

२३, २४. भजन ११९ बाट तपाईंले कस्ता लाभहरू उठाउनुभएको छ?

२३ भजन ११९ ले हामीलाई विभिन्‍न तरिकामा लाभ पुऱ्‍याउन सक्छ। उदाहरणका लागि, यसले हामीलाई परमेश्‍वरमा अझ बढी निर्भर बनाउन सक्छ किनभने “परमप्रभुको व्यवस्थामा” चल्दा साँचो आनन्द प्राप्त हुन्छ भनेर यसले देखाउँछ। (भजन ११९:१) ‘परमेश्‍वरको वचनको सार सत्य छ’ भनी भजनहार हामीलाई सम्झाउँछन्‌। (भजन ११९:१६०) परमेश्‍वरको सम्पूर्ण लिखित वचनप्रति यसले पक्कै पनि हाम्रो मूल्याङ्‌कन बढाउनुपर्छ। भजन ११९ बारे मनन गर्दा यसले हामीलाई लगनशील भई धर्मशास्त्र अध्ययन गर्न उत्प्रेरित गर्नुपर्छ। भजनहारले परमेश्‍वरलाई पटक-पटक यस्तो बिन्ती गरे: “मलाई तपाईंका नियमहरू सिकाउनुहोस्‌।” (भजन ११९:१२, ६८, १३५) तिनले यस्तो आग्रह पनि गरे: “मलाई असल विवेकशक्‍ति र ज्ञान सिकाउनुहोस्‌। किनकि मैले तपाईंका आज्ञाहरूमा विश्‍वास गरेको छु।” (भजन ११९:६६) हामीले पनि यसरी नै प्रार्थना गर्नुपर्छ।

२४ ईश्‍वरीय शिक्षाले गर्दा हामी यहोवासित घनिष्ठ सम्बन्धको आनन्द उठाउन सक्छौं। भजनहार आफूलाई बारम्बार परमेश्‍वरको दास भन्छन्‌। वास्तवमा, तिनी यहोवालाई यस्ता हृदयस्पर्शी शब्दहरूद्वारा सम्बोधन गर्छन्‌: “म तपाईंकै हुँ।” (भजन ११९:६५, ९४, १२२, १२५; रोमी १४:८) यहोवाको एक जना साक्षीको हैसियतमा उहाँको सेवा र प्रशंसा गर्न पाउनु कस्तो ठूलो सुअवसर! (भजन ११९:७) राज्य उद्‌घोषकको रूपमा के तपाईंले आनन्दपूर्वक परमेश्‍वरको सेवा गरिरहनुभएको छ? त्यसो हो भने, सधैं यहोवाको वचनमा भरोसा राखिरहनुभयो अनि यसले तपाईंको बाटोलाई उज्यालो बनाउन दिनुभयो भने यस विशेष सुअवसरमा यहोवाले तपाईंलाई सँभाल्नुहुनेछ र आशिष्‌ दिइरहनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• परमेश्‍वरको वचनमा हामी किन आनन्दित हुनुपर्छ?

• परमेश्‍वरको वचनले हामीलाई कसरी सँभालेको छ?

• यहोवाका साक्षी-वचनहरूद्वारा हामीले कुन-कुन तरिकामा मदत पाएका छौं?

• यहोवाका जनहरू किन सुरक्षित र शान्तिमा छन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १६-मा भएको चित्र]

परमेश्‍वरको वचन आध्यात्मिक ज्योतिको स्रोत हो

[पृष्ठ १७-मा भएको चित्र]

यहोवाका साक्षी-वचनहरूलाई प्रेम गर्छौं भने उहाँले हामीलाई कहिल्यै पनि “कसरजस्तै” ठान्‍नुहुनेछैन

[पृष्ठ १८-मा भएका चित्रहरू]

दिनहुँ बाइबल पढ्‌छौं भने प्रार्थना गर्दा मदतकारी विवरणहरू हाम्रो मनमा झट्टै आउन सक्छन्‌