सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निराशाको बीचमा आशा एउटा शरणार्थी शिविरमा सम्मेलन

निराशाको बीचमा आशा एउटा शरणार्थी शिविरमा सम्मेलन

निराशाको बीचमा आशा एउटा शरणार्थी शिविरमा सम्मेलन

काकुमा शरणार्थी शिविर केन्याको उत्तरी भागमा अवस्थित छ र यो सुडानको सीमा नजिकै पर्छ। यहाँ ८६,००० भन्दा बढी मानिसहरू बस्छन्‌। यो ठाउँमा हपहपी गर्मी हुन्छ र दिउँसोको तापक्रम ५० डिग्री सेन्टिग्रेडभन्दा बढी हुन्छ। यहाँ बस्ने शरणार्थीहरूबीच अक्सर हिंसा मच्चिरहन्छ। धेरैजसो शरणार्थीको लागि यो शिविरले कुनै आशा प्रदान गर्दैन। तथापि, यहाँ बस्ने अरू थुप्रै शरणार्थीले भने आशा पाएका छन्‌।

यहाँ बस्ने थुप्रै शरणार्थीहरूमध्ये यहोवाका साक्षीहरू पनि छन्‌ जसले जोसका साथ परमेश्‍वरको राज्यको सुसमाचार सुनाइरहेका छन्‌। तिनीहरू लोड्‌वारको एउटा सानो मण्डलीसित संगत गर्छन्‌ जुन शिविरभन्दा १२० किलोमिटर दक्षिणमा पर्छ। लोड्‌वार सँगैको अर्को मण्डली पुग्न भने गाडीमा आठ घण्टा यात्रा गर्नुपर्छ।

शरणार्थीहरू कुनै रोकटोकविना आफ्नो शिविरबाट बाहिर यताउता जान नपाउने हुँदा यहोवाका साक्षीहरूले आयोजना गर्ने सम्मेलन तथा अधिवेशनहरूमा धेरैजसो उपस्थित हुन सक्दैनन्‌। यसैकारण शिविरभित्रै एउटा विशेष सम्मेलन दिनको प्रबन्ध मिलाइएको थियो।

उत्तरतिर यात्रा गर्दा

यस सम्मेलनलाई सहयोग पुऱ्‍याउन यस शिविरबाट ४८० किलोमिटर दक्षिणतिर पर्ने एल्डोरेट सहरका १५ जना साक्षीहरू अति गर्मी हुने उत्तरी इलाकासम्मको कठिन यात्रा गर्न अग्रसर भए र तिनीहरूलाई एक जना बाइबल विद्यार्थीले पनि साथ दिए जसले आफ्नो मिनिबस प्रयोग गर्न दिनुका साथै ड्राइभर पनि उपलब्ध गराइदिए। तिनीहरूको भित्री इच्छा आफ्ना भाइहरूलाई प्रोत्साहन दिनुका साथै सुदृढ पार्नु थियो।

जाडो यामको एक दिन बिहानै केन्याको पश्‍चिमी पहाडी इलाकाबाट यो यात्रा सुरु भयो। खल्ड्याङखुल्डुङ बाटो हुँदै खेत अनि जङ्‌गलतिर उकालो लागेपछि उखुम गर्मी हुने मरुभूमितिर ओरालो लाग्नुपर्ने थियो। यहाँको उजाड भूमिमा खसी-बोका र ऊँटहरू चरिरहेका थिए। स्थानीयबासीहरू परम्परागत लुगा लगाएर धेरैजसो लट्ठी र धनुकाण बोकेर हिंडिरहेका थिए। यसरी ११ घण्टा लामो यात्रा गरेपछि साक्षीहरू एकदमै गर्मी अनि बुङबुङ धूलो उड्‌ने लोड्‌वार पुगे जहाँ झण्डै २०,००० जना बसोबास गर्छन्‌। त्यहाँका स्थानीय साक्षीहरूले न्यानो स्वागत गरेपछि यात्रुहरू आराम गर्न गए किनभने सप्ताहन्तको लागि तिनीहरूको अत्यन्तै व्यस्त तालिका थियो।

भोलिपल्ट बिहान यात्रुहरू त्यस इलाकाका केही मनोरम ठाउँहरू घुम्न गए। तुर्काना ताल, केन्याको सबैभन्दा ठूलो ताल हो र यो एउटा हेर्नै पर्ने ठाउँ पनि हो। यस तालको चारैतिर धेरै किलोमिटरसम्म मरुभूमिमा पाइने किसिमका झाडीहरू छन्‌ र यो ताल संसारमा सबैभन्दा धेरै गोही हुने ठाउँ पनि हो। यहाँको क्षारयुक्‍त पानीले यसको छेउछाउमा बस्ने केही मानिसहरूको जीवन धान्‍न मदत गरेको छ। साँझमा रमाइलो भयो किनभने यहाँ आएका आगन्तुकहरूले स्थानीय मण्डलीसित ईश्‍वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभाको आनन्द उठाए। यहाँ सन्‌ २००३ मा निर्माण गरिएको एउटा सुन्दर राज्यभवन छ र सीमित स्रोतसाधन भएका देशहरूको लागि अन्य साक्षीहरूबाट प्राप्त मदतद्वारा यो भवन निर्माण गरिएको हो।

विशेष सम्मेलन दिन

आइतबारको दिन, विशेष सम्मेलन दिनको लागि छुट्याइएको थियो। लोड्‌वार मण्डली र आगन्तुक साक्षीहरूलाई बिहान ८:०० बजे भित्र शिविरमा प्रवेश गरिसक्न अनुमति दिइएको थियो। यसैकारण साक्षीहरू बिहान चाँडै त्यहाँ पुग्न उत्सुक थिए। सुडानको सीमा इलाकासम्म पुग्ने बाटो उजाड मरुभूमि हुँदै जाने घुमाउरो बाटो थियो। सडकको छेउमा उबडखाबड चुच्चे पहाडहरू थिए। त्यसपछि परतिर काकुमा गाउँ देखियो। त्यहाँ पानी परिरहेको थियो र शिविरसम्म पुग्ने कच्ची बाटोको ठाउँठाउँमा पोखरी भएको थियो। प्रायजसो घरहरू ईंटाले बनाइएका अनि छाना भने टिन वा तिरपालको थियो। इथियोपियाली, सोमाली, सुडानी र अन्य व्यक्‍तिहरू भने आ-आफ्नै इलाकामा बस्छन्‌। शरणार्थीहरूले बडो उत्साहित भएर यी यात्रुहरूलाई स्वागत गरे।

यो सम्मेलन एउटा तालिम केन्द्रमा गरिएको थियो। भित्तामा झुण्ड्याइएका चित्रहरूले शरणार्थी जीवनका पीडाहरू झल्काउँथ्यो तर त्यस हलमा त्यो दिन आशाको वातावरण छाएको थियो। सबै भाषणहरू अङ्‌ग्रेजी र स्वाहिलीमा भाषामा दिइएका थिए। दुवै भाषामा खप्पीस कोही-कोही वक्‍ताहरू त आफैले अनुवाद पनि गरे। सुरुको भाषण सुडानका एक जना शरणार्थी भाइले दिए र भाषणको विषय थियो, “हाम्रो लाक्षणिक हृदयलाई जाँच्ने।” अन्य भाषणहरू भने आगन्तुक प्राचीनहरूले प्रस्तुत गरे।

सबै सम्मेलनको एउटा विशेष पक्ष भनेको बप्तिस्मा हो। बप्तिस्मा भाषणको अन्तमा सबैको आँखा एक जना व्यक्‍तिमाथि टक्क अडिएको थियो। तिनी जिल्बर थिए जो सन्‌ १९९४ मा जातीय संहार हुँदा आफ्नो बुबासँगै देश छोडेर भागेका थिए। सुरुमा तिनीहरूले बुरूण्डीमा पुगेपछि खतराबाट मुक्‍त भइएला भन्‍ने आशा राखेका थिए तर त्यहाँ पनि तिनीहरूको ज्यानको खतरा थियो। अनि जिल्बर भागेर जायर, त्यसपछि तान्जानिया अनि बीचबीचमा जङ्‌गलहरूतिर लुक्दै अन्तमा केन्या पुगे। वक्‍ताले तिनलाई मण्डलीमा एक जना भाइको रूपमा स्वीकार्दा थुप्रैको आँखा रसाए। जम्मा ९५ जना मानिसहरू उपस्थित भएको सानो सम्मेलनमा उभिएका जिल्बरले वक्‍ताले सोधेका दुईवटा प्रश्‍नको यस्तो स्पष्ट तथा निर्धक्क जवाफ दिए, “एन्डियो!” जसको स्वाहिलीमा अर्थ हुन्छ, “हो, गर्छु!” तिनी र अरू भाइहरू मिलेर एउटा सानो पोखरी खनेका थिए र त्यहाँ तिरपाल बिछ्याए जुन तिरपाल तिनले पहिला आफ्नै घरको छानामा राखेका थिए। बप्तिस्मा लिन अत्यन्तै उत्सुक भएको हुँदा त्यो दिन बिहानैदेखि बाल्टिनले पानी ओसार्दै आफू एक्लैले पोखरीमा पानी भरेछन्‌!

दिउँसोको कार्यक्रमको एउटा विशेषता शरणार्थी साक्षीहरूको असामान्य परिस्थितिबारे अनुभवहरू थियो। एक जना भाइले रूखमुनि आराम गरिरहेका मानिससित कसरी कुरा गरें भनी आफ्नो अनुभव सुनाए।

“के कुनै डरविना रूखमुनि सधैं बस्न सकिन्छ जस्तो तपाईंलाई लाग्छ?”

त्यस मानिसले यस्तो जवाफ दिए, “हो, सकिन्छ।” अनि तिनले अझ यसो भने, “तर राती भने डर हुन्छ।”

त्यसपछि, त्यस भाइले तिनलाई मीका ४:३, ४ पढेर सुनाए: “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन।” अनि यसरी बुझाए, “हेर्नुस्‌ त, परमेश्‍वरको नयाँ संसारमा कहिल्यै डराउनु पर्नेछैन।” त्यस मानिसले एउटा बाइबल अध्ययन सहायक स्वीकारे।

काकुमा गएकी एउटी बहिनीको परिवारमा हालै तीन जना सदस्यको मृत्यु भएको थियो। शिविरका भाइहरूबारे उनले यस्तो टिप्पणी गरिन्‌: “यहाँ जीवन बिताउन कस्तो गाह्रो छ तैपनि तिनीहरूले आफ्नो विश्‍वास बलियो बनाइराखेका छन्‌। तिनीहरू बस्ने ठाउँ आनन्दमय छैन तर तिनीहरू आनन्दित भई यहोवाको सेवा गरिरहेका छन्‌। तिनीहरूको परमेश्‍वरसित शान्तिमय सम्बन्ध छ। मैले पनि परमेश्‍वरसित शान्ति कायम गर्ने र उहाँको सेवा गरिरहने प्रोत्साहन पाएँ। मेरो केही गुनासो छैन!”

सम्मेलन दिनको कार्यक्रम सिद्धिएको त हामीलाई पत्तै भएन। समापन भाषणमा वक्‍ताले यस सम्मेलनमा आठवटा देशका प्रतिनिधिहरू उपस्थित भएको कुरा बताए। यो सम्मेलन, विभक्‍त संसारमा पनि यहोवाका साक्षीहरूमाझ भएको एकता र प्रेमको प्रमाण हो भनी एक जना शरणार्थी साक्षीले टिप्पणी गरे। यो साँचो मसीही भ्रातृत्व हो।—यूहन्‍ना १३:३५.

[पृष्ठ २५-मा भएको पेटी/चित्र]

सुडानबाट हराएका केटाहरू

सन्‌ १९८३ मा सुडानमा गृहयुद्ध सुरु भएदेखि पचास लाख मानिसहरू घरबारविहिन भएका छन्‌। त्यसमध्ये २६,००० जति केटाकेटीहरू थिए जो आफ्नो परिवारबाट अलग भएका थिए। तिनीहरूमध्ये हजारौं भागेर इथियोपियाको शरणार्थी शिविरहरूमा पुगे र त्यहाँ तीन वर्षजति बसे। त्यहाँबाट धपाइएपछि तिनीहरू एक वर्षसम्म पैदल यात्रा गरेर सुडान हुँदै उत्तरी केन्या पुगे जुन ठाउँ सिपाही, डाकु, रोगबिमार र जङ्‌गली जनावरले गर्दा भताभुङ्‌ग भइसकेको थियो। यी कठिन यात्राहरूमा आधीजसो केटाकेटी मात्र बचे र यिनीहरू नै काकुमा शिविरको केन्द्र सबैभन्दा महत्त्वपूर्ण भाग बने। उद्धारकर्मीहरू यिनीहरूलाई सुडानबाट हराएका केटाहरू भनेर चिन्छन्‌।

काकुमा शरणार्थी शिविर अहिले सुडान, सोमालिया, इथियोपिया र अन्य राष्ट्रका शरणार्थीहरू मिलेर बनेको बहुराष्ट्रिय शिविर भएको छ। यस शिविरमा आइपुगेपछि प्रत्येक शरणार्थीलाई घर निर्माण गर्न केही आधारभूत सरसामान र छाना लगाउनको लागि तिरपाल दिइन्छ। महिनाको दुई चोटि प्रत्येक शरणार्थीलाई छ किलो पिठो, १ किलो गेडागुडी, अलिकता तेल र नुन दिइन्छ। थुप्रै शरणार्थीहरू अन्य आवश्‍यक कुराहरू प्राप्त गर्नको लागि आफूलाई दिइएको रासन सट्टापट्टा गर्छन्‌।

हराएका यी केटाहरूमध्ये कसै-कसैको आफ्नो परिवारसित पुनर्मिलन भएको छ वा तिनीहरू अर्कै देशमा बसोबास गरेका छन्‌। तर शरणार्थी पुनर्निवास कार्यालयअनुसार “अरू हजारौं भने धुलाम्मे, झिंगा भन्किने काकुमा शरणार्थी शिविरमै छन्‌ जहाँ तिनीहरूले भोजन आपूर्तिको लागि साह्रै प्रयास गर्नुपर्छ अनि शिक्षा पाउनको लागि सङ्‌घर्ष गर्नुपर्छ।”

[स्रोत]

Courtesy Refugees International

[पृष्ठ २३-मा भएको नक्सा]

(ढाँच मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

केन्या

काकुमा शिविर

तुर्काना ताल

लोड्‌वार

एल्डोरेट

नैरोबी

[पृष्ठ २३-मा भएको चित्र]

शिविरको जीवन सजिलो छैन

[पृष्ठ २३-मा भएको चित्र]

काकुमा शिविरमा पानीको भागबन्डा गरिन्छ

[पृष्ठ २३-मा भएको चित्र]

आफ्ना भाइहरूलाई प्रोत्साहन दिन केन्याका साक्षीहरू एकदमै कठिन उत्तरतिरको यात्रा गर्छन्‌

[पृष्ठ २४-मा भएको चित्र]

स्थानीय विशेष अग्रगामीले दिएको भाषणलाई एक जना मिसनरीले अनुवाद गर्दै

[पृष्ठ २४-मा भएको चित्र]

बप्तिस्मा पोखरी

[पृष्ठ २३-मा भएको चित्रको स्रोत]

Rationing water and Kakuma Refugee Camp: Courtesy Refugees International