सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको वचनमा भरोसा राख्नुहोस्‌

यहोवाको वचनमा भरोसा राख्नुहोस्‌

यहोवाको वचनमा भरोसा राख्नुहोस्‌

“म तपाईंको वचनमा भरोसा राख्तछु।” —भजन ११९:४२.

१. भजन ११९ का लेखकको चिनारी र तिनको मनोभावबारे तपाईं के बताउन सक्नुहुन्छ?

 भजन ११९ अध्यायका रचयिताले यहोवाको वचनको कदर गरे। यस भजनका रचयिता यहूदाका राजकुमार हिजकियाह हुन सक्छन्‌। यस प्रेरित भजनमा व्यक्‍त गरिएका भावनाहरू हिजकियाहको मनोभावसित मेल खान्छ जो यहूदाको राजाको रूपमा सेवा गर्दा “परमप्रभुका भक्‍त भइरहे।” (२ राजा १८:३-७) एउटा कुरा पक्का छ: यसका रचयिता आत्मामा दरिद्र अर्थात्‌ आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सजग थिए।—मत्ती ५:३.

२. भजन ११९ को मुख्य विषय के हो र यो भजन कसरी रचना गरिएको छ?

भजन ११९ को एउटा मुख्य बुँदा परमेश्‍वरको वचन वा सन्देशको महत्त्व हो। a सम्झन सजिलो होस्‌ भनेर हुनसक्छ लेखकले यो भजन वर्णानुक्रमअनुसार लेखे। यसका १७६ वटा पदहरूमा हिब्रू वर्णमालाका अक्षरहरू क्रमैअनुसार प्रयोग गरिएका छन्‌। मौलिक हिब्रूमा हेर्ने हो भने यस भजनका प्रत्येक २२ वटा श्‍लोकमा एउटै अक्षरबाट सुरु हुने ८ हरफहरू छन्‌। यस भजनले परमेश्‍वरको वचन, व्यवस्था, साक्षी-वचन, मार्ग, आदेश, नियम, आज्ञा र इन्साफबारे उल्लेख गरेको छ। यो लेख र अर्को लेखमा हिब्रू बाइबल पदको सही अनुवादअनुसार भजन ११९ अध्याय छलफल गरिनेछ। बितेको समयका र वर्तमान समयका यहोवाका सेवकहरूको अनुभवबारे मनन गर्दा यसले यो ईश्‍वर-प्रेरित भजनप्रति हाम्रो मूल्याङ्‌कन र परमेश्‍वरको लिखित वचन बाइबलप्रति हाम्रो कृतज्ञता बढाउनुपर्छ।

परमेश्‍वरको वचन पालन गर्नुहोस्‌ र आनन्दित हुनुहोस्‌

३. निर्दोष हुनुको अर्थ के हो, वर्णन गर्नुहोस्‌ र उदाहरणसहित स्पष्ट पार्नुहोस्‌।

परमेश्‍वरको व्यवस्थाअनुसार हामी चल्छौं कि चल्दैनौं, त्यसमा साँचो आनन्द निर्भर छ। (भजन ११९:१-८) हामी परमेश्‍वरको व्यवस्थाअनुसार चल्यौं भने यहोवाले हामीलाई ‘हाम्रो चालमा निर्दोष’ सम्झनुहुनेछ। (भजन ११९:१) निर्दोष हुनुको अर्थ हामी सिद्ध छौं भन्‍ने होइन तर हामी यहोवा परमेश्‍वरको इच्छा गर्ने कोसिस गर्छौं भनी यसले सङ्‌केत गर्छ। साँचो “परमेश्‍वरको साथै हिंड्‌ने” मानिसको रूपमा नूहले आफूलाई “आफ्नो पुस्तामा . . . निर्दोष मानिस” साबित गरे। ती विश्‍वासी कुलपिता र तिनको परिवार जलप्रलयबाट बचे किनभने तिनले यहोवाले बताउनुभए अनुसार आफ्नो जीवन बिताए। (उत्पत्ति ६:९; १ पत्रुस ३:२०) त्यसै गरी, यस संसारको अन्त हुँदा आज हाम्रो बचावट पनि ‘परमेश्‍वरका आदेशहरू’ होसियारीपूर्वक पालन गर्दै उहाँको इच्छाअनुसार गर्नुमा निर्भर छ।—भजन ११९:४.

४. हाम्रो आनन्द र सफलता कुन कुरामा निर्भर छ?

यहोवालाई ‘सोझो मनले धन्यवाद चढायौं र उहाँका नियमहरू पालन गरिरह्‍यौं’ भने उहाँले हामीलाई कहिल्यै पनि त्याग्नुहुनेछैन। (भजन ११९:७, ८) ‘व्यवस्थाको पुस्तकमाथि दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरा पालन गर्नू’ भन्‍ने सल्लाह पछ्याउने इस्राएली नेता यहोशूलाई परमेश्‍वरले त्याग्नुभएन। यसले तिनलाई सफलता दिलाउनुका साथै बुद्धिमानीपूर्वक चल्न मदत गऱ्‍यो। (यहोशू १:८) आफ्नो जीवनको अन्ततिर पुग्दा समेत यहोशूले परमेश्‍वरलाई धन्यवाद चढाइरहेका थिए र तिनले इस्राएलीहरूलाई यसरी सम्झाउन सके: “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। . . . तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले [यो] थाह पाएकै छौ।” (यहोशू २३:१४) यहोशू र भजन ११९ का लेखकले जस्तै यहोवाको प्रशंसा गरेर अनि उहाँको वचनमा भर परेर हामी पनि आनन्द र सफलता पाउन सक्छौं।

यहोवाको वचनले हामीलाई शुद्ध राख्छ

५. (क) आध्यात्मिक तवरमा शुद्ध रहिरहन कसरी सम्भव छ, बताउनुहोस्‌। (ख) गम्भीर पाप गरेको युवा वा युवतीको लागि कस्तो मदत उपलब्ध छ?

परमेश्‍वरको वचनमा ध्यान दिंदै होसियार रह्‍यौं भने हामी आध्यात्मिक तवरमा शुद्ध हुन सक्छौं। (भजन ११९:९-१६) हाम्रा आमाबाबुले राम्रो उदाहरण बसालेका छैनन्‌ भने पनि यो कुरा लागू हुन्छ। हिजकियाहको बुबा मूर्तिपूजक भए तापनि हिजकियाहले सम्भवतः मूर्तिपूजक धर्मका प्रभावहरूबाट ‘आफ्नो चालचलन शुद्ध राखे।’ मानिलिनुहोस्‌, अहिले परमेश्‍वरको सेवा गरिरहेको कुनै युवा वा युवतीले गम्भीर पाप गरे। पश्‍चात्ताप, प्रार्थना, आमाबाबुको मदत र मसीही प्राचीनहरूको मायालु सहयोगले तिनलाई हिजकियाहजस्तै हुन अनि ‘आफ्नो चालचलन शुद्ध राख्न’ तथा होसियार रहिरहन मदत गर्न सक्छ।—याकूब ५:१३-१५.

६. ‘आफ्नो चालचलन शुद्ध राख्ने र परमेश्‍वरको वचनमा ध्यान दिएर’ होसियार रहने स्त्रीहरू को-को थिए?

राहाब र रूथ भजन ११९ रचिनुभन्दा निकै अगाडिका व्यक्‍तिहरू भए तापनि तिनीहरूले ‘आफ्नो चालचलन शुद्ध’ पारे। राहाब एउटी कनानी वेश्‍या थिइन्‌ तर तिनी यहोवाको उपासकको रूपमा तिनले देखाएको विश्‍वासको लागि चिनिइन्‌। (हिब्रू ११:३०, ३१) मोआबी रूथले आफ्ना देवताहरू त्यागेर यहोवाको सेवा गरिन्‌ र उहाँले इस्राएललाई दिनुभएको व्यवस्था अनुरूप चलिन्‌। (रूथ १:१४-१७; ४:९-१३) यी दुवै गैर-इस्राएली स्त्रीहरू ‘परमेश्‍वरको वचनमा ध्यान दिएर’ होसियार रहे अनि तिनीहरूले येशू ख्रीष्टको पुर्खा बन्‍ने अद्‌भुत सुअवसर पाए।—मत्ती १:१, ४-६.

७. आध्यात्मिक शुद्धता कायम राख्ने सन्दर्भमा दानियल र अरू तीन जना हिब्रू युवकले कसरी राम्रो उदाहरण बसाले?

“मानिसको हृदयका विचार बालकदेखिनै खराब हुन्छ” तर शैतानको नियन्त्रणमा भएको यस भ्रष्ट संसारमा समेत युवा जनहरूले शुद्ध मार्ग पछ्याउन सक्छन्‌। (उत्पत्ति ८:२१; १ यूहन्‍ना ५:१९) बाबेलको निर्वासनमा छँदा दानियल र अरू तीन जना हिब्रू युवकहरूले ‘परमेश्‍वरको वचनमा ध्यान दिएर’ होसियार बसे। उदाहरणको लागि, “राजाले तिनीहरूलाई दिनू भनी अह्राएका भोजन” खाएर आफूलाई अशुद्ध पार्न चाहेनन्‌। (दानियल १:६-१०) बाबेलका मानिसहरू मोशाको व्यवस्थाले निषेध गरेका अशुद्ध जनावरहरू खान्थे। (लेवी ११:१-३१; २०:२४-२६) जनावरहरू मार्दा तिनीहरूले सधैं नै रगत बगाउँछन्‌ भन्‍ने थिएन र रगत नबगाइएको मासु खाँदा रगतसम्बन्धी परमेश्‍वरको व्यवस्था भङ्‌ग हुन्थ्यो। (उत्पत्ति ९:३, ४) यसकारण ती चार जना हिब्रूले राजाको चौरासी व्यञ्जन नखानु कुनै छक्कलाग्दो कुरा होइन! ती ईश्‍वर-भीरु युवकहरूले आध्यात्मिक शुद्धता कायम राखे र यसरी एउटा राम्रो उदाहरण बसाले।

वफादार रहिरहनको लागि परमेश्‍वरको वचनले मदत गर्छ

८. परमेश्‍वरको व्यवस्था बुझ्ने र त्यसलाई लागू गर्ने हो भने हामीमा कस्तो मनोवृत्ति र ज्ञान हुनुपर्छ?

हामीलाई यहोवाप्रति वफादार रहिरहन मदत गर्ने एउटा महत्त्वपूर्ण कुरा परमेश्‍वरको वचनमा आनन्दित हुनु हो। (भजन ११९:१७-२४) हामी ईश्‍वर-प्रेरित भजनहारजस्तै छौं भने परमेश्‍वरको व्यवस्थाका “उदेकका कुरा” बुझ्ने तीव्र इच्छा गर्नेछौं। हर बखत हामी ‘यहोवाको इन्साफको अभिलाषा गर्नेछौं’ र ‘उहाँका साक्षी-वचनहरूमा’ आनन्दित हुनेछौं। (भजन ११९:१८, २०, २४) हामीले यहोवालाई आफ्नो जीवन समर्पण गरेको केही समय मात्रै भएको छ भने पनि के हामीले परमेश्‍वरको वचनको ‘छलरहित आत्मिक दूधको तृष्णा’ गरेका छौं? (१ पत्रुस २:१, २) हामीले बाइबलका आधारभूत शिक्षाहरू बुझ्नुपर्छ किनभने यी शिक्षाहरू बुझेका छौं भने हामीले परमेश्‍वरको व्यवस्था अझ राम्ररी बुझ्नुका साथै त्यसलाई व्यवहारमा उतार्न सक्नेछौं।

९. परमेश्‍वरको व्यवस्था र मानिसले माग गर्ने कुराबीच द्वन्द्व उत्पन्‍न हुँदा हामीले कस्तो प्रतिक्रिया देखाउनुपर्छ?

हामी परमेश्‍वरका साक्षी-वचनहरूमा आनन्दित त हौंला तर कारणवश “राजाहरू” हाम्रो विरुद्धमा कुरा गर्छन्‌ भने नि? (भजन ११९:२३, २४) अख्तियारप्राप्त स्थानमा भएका मानिसहरूले आज हामीलाई अक्सर परमेश्‍वरको व्यवस्थाभन्दा मानिसका नियमहरूलाई महत्त्वपूर्ण ठान्‍न लगाउन जबरजस्ती गर्न खोज्छन्‌। मानिसले माग गर्ने कुरा र परमेश्‍वरको इच्छाबीच द्वन्द्व उत्पन्‍न हुँदा हामी के गर्नेछौं? परमेश्‍वरको वचनप्रतिको हाम्रो आनन्दले हामीलाई यहोवाप्रति वफादार रहिरहन मदत गर्नेछ। येशू ख्रीष्टका प्रेरितहरूलाई सताइँदा तिनीहरूले भनेझैं हामी पनि यसो भन्‍नेछौं: “हामीले मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा अवश्‍य मान्‍नुपर्छ।”—प्रेरित ५:२९.

१०, ११. असाध्यै कठिन परिस्थितिहरूमा समेत हामी कसरी यहोवाप्रति निष्ठा कायम राख्न सक्छौं, उदाहरणसहित स्पष्ट पार्नुहोस्‌।

१० असाध्यै कठिन परिस्थितिहरूमा समेत हामी यहोवाप्रति वफादार रहन सक्छौं। (भजन ११९:२५-३२) परमेश्‍वरप्रति आफ्नो निष्ठा कायम राख्न सफल हुनको लागि हामी सिक्न इच्छुक हुनै पर्छ अनि उहाँको निर्देशनको लागि व्यग्र प्रार्थना गर्नै पर्छ। हामीले “सत्यको [“वफादारीको,” NW ] मार्ग” पनि रोज्नै पर्छ।—भजन ११९:२६, ३०.

११ हिजकियाह जसले भजन ११९ लेखेका हुन सक्छन्‌, तिनले “वफादारीको मार्ग” रोजे। तिनको वरिपरि झूटा उपासकहरू थिए र शाही सदस्यहरूले समेत तिनलाई गिज्याए होलान्‌ तरैपनि तिनले यस्तो मार्ग रोजे। सम्भवतः यस्तो परिस्थितिको कारण ‘दुःखित भएको हुनाले तिनको मन पग्लिएको थियो।’ (भजन ११९:२८) तर हिजकियाहले परमेश्‍वरमा भरोसा राखे, तिनी एक जना असल राजा थिए र तिनले “परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे।” (२ राजा १८:१-५) परमेश्‍वरमा भर परेर हामी पनि परीक्षाहरू सहन र उहाँप्रति आफ्नो निष्ठा कायम राख्न सक्छौं।—याकूब १:५-८.

यहोवाको वचनले साहस दिन्छ

१२. भजन ११९:३६, ३७ हामी व्यक्‍तिगत तवरमा कसरी लागू गर्न सक्छौं?

१२ परमेश्‍वरको वचनको मार्ग-निर्देशन पछ्याउँदा यसले हामीलाई जीवनका परीक्षाहरू सामना गर्न आवश्‍यक पर्ने साहस दिन्छ। (भजन ११९:३३-४०) हामी नम्रतापूर्वक यहोवाको निर्देशन खोज्छौं किनभने त्यसो गर्दा हामी “पूरा हृदयले” उहाँको व्यवस्था पालन गर्न सक्छौं। (भजन ११९:३३, ३४) भजनहारजस्तै हामी पनि परमेश्‍वरलाई यस्तो आग्रह गर्छौं: “लोभतिर [वा “स्वार्थपूर्ण लाभतिर,” NRV ] होइन, तर तपाईंका साक्षी-वचनहरूतिर मेरो मन झुकाउनुहोस्‌।” (भजन ११९:३६) प्रेरित पावलजस्तै हामी पनि “सबै कुरामा इमान्दारीसाथ” चल्छौं। (हिब्रू १३:१८) काम गर्ने ठाउँमा मालिकले हामीलाई कुनै बेइमान काम गर्न लगाएको खण्डमा हामी परमेश्‍वरका निर्देशनहरू अनुरूप चल्ने साहस बटुल्छौं र यस्तो मार्गलाई यहोवाले सधैं आशिष्‌ दिनुहुन्छ। वास्तवमा, उहाँले हामीलाई हाम्रा सबै खराब झुकावहरू नियन्त्रणमा राख्न मदत दिनुहुन्छ। त्यसैले हामी यसरी प्रार्थना गरौं: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्‌।” (भजन ११९:३७) परमेश्‍वरले घृणा गर्नुभएको व्यर्थको कुरालाई हामी कहिल्यै पनि लोभलाग्दो कुराको रूपमा हेर्न चाहँदैनौं। (भजन ९७:१०) यस्तो प्रार्थनाले हामीलाई अरू कुराहरूको साथ-साथै अश्‍लील सामग्री र प्रेतवादसित सम्बन्धित प्रचलनहरूबाट अलग रहन उत्प्रेरित गर्नेछ।—१ कोरिन्थी ६:९, १०; प्रकाश २१:८.

१३. येशूका चेलाहरूलाई सताइँदा, निर्भयी भई साक्षी दिन आवश्‍यक पर्ने साहस तिनीहरूले कसरी पाए?

१३ परमेश्‍वरको वचनको सही ज्ञानले हामीलाई साहसी भई साक्षी दिन निर्धक्क बनाउँछ। (भजन ११९:४१-४८) अनि ‘हामीलाई गाली गर्नेहरूलाई जवाफ दिन’ साहस चाहिन्छ। (भजन ११९:४२) कहिलेकाहीं हामी येशूका चेलाहरूजस्तै हुन सक्छौं जसले सतावट भोग्दा यसरी प्रार्थना गरे: “हे प्रभु [“यहोवा,” NW ], . . . तपाईंका दासहरूलाई बिलकुल निर्भयतामा तपाईंको वचन बोल्नदिनुहोस्‌।” यस प्रार्थनाको नतिजा कस्तो भयो? “तिनीहरू सबैजना पवित्र आत्माले भरिए, र तिनीहरूले निर्भयतासँग परमेश्‍वरको वचन बोले।” यसरी नै निर्भयी भई उहाँको वचन बोल्ने साहस सर्वसत्ताधारी प्रभुले हामीलाई पनि दिनुहुन्छ।—प्रेरित ४:२४-३१.

१४. पावलले झैं साहसी भई साक्षी दिन कुन कुराले हामीलाई मदत गर्छ?

१४ ‘सत्यको वचनको’ कदर गर्छौं र ‘परमेश्‍वरको व्यवस्था निरन्तर पालन गर्छौं’ भने कुनै लाज नमानी साक्षी दिने साहस हामीसित हुनेछ। (भजन ११९:४३, ४४) परमेश्‍वरको लिखित वचनको लगनशील अध्ययनले हामीलाई ‘राजाहरूका सामने उहाँको साक्षी-वचनको विषयमा बोल्न’ सुसज्जित तुल्याउँछ। (भजन ११९:४६) प्रार्थना र यहोवाको आत्माले पनि हामीलाई सही तरिकामा सही कुरा भन्‍न मदत गर्नेछ। (मत्ती १०:१६-२०; कलस्सी ४:६) पावलले साहसी भई प्रथम शताब्दीका शासकहरूलाई परमेश्‍वरको साक्षी-वचनबारे बताए। उदाहरणका लागि, तिनले रोमी राज्यपाल फेलिक्सलाई साक्षी दिए जसले “ख्रीष्ट येशूमाथिको विश्‍वासको बारेमा तिनीबाट सुने।” (प्रेरित २४:२४, २५) पावलले राज्यपाल फेस्तस र राजा अग्रिपासामु पनि साक्षी दिए। (प्रेरित २५:२२–२६:३२) यहोवाको मदत पाएर हामी पनि कहिल्यै ‘सुसमाचारसँग नशर्माउने’ साहसी साक्षीहरू बन्‍न सक्छौं।—रोमी १:१६.

परमेश्‍वरको वचनले हामीलाई सान्त्वना दिन्छ

१५. अरूले हामीलाई हाँसोमा उडाउँदा परमेश्‍वरको वचनले कसरी सान्त्वना दिन सक्छ?

१५ यहोवाको वचनले भरपर्दो सान्त्वना दिन्छ। (भजन ११९:४९-५६) विशेष गरी कहिलेकाहीं हामीलाई सान्त्वनाको अत्यन्तै खाँचो पर्छ। यहोवाका साक्षीहरूको हैसियतमा हामी साहसी भई बोल्ने भए तापनि “अहंकारीहरू” अर्थात्‌ परमेश्‍वरप्रति अहंकारपूर्ण व्यवहार गर्नेहरूले कहिलेकाहीं ‘हाम्रो ज्यादै हाँसो गर्छन्‌।’ (भजन ११९:५१) तथापि, प्रार्थना गर्दा परमेश्‍वरको वचनमा लेखिएका सकारात्मक कुराहरू हाम्रो सम्झनामा आउन सक्छ र यसरी हामी ‘सान्त्वना पाउँछौं।’ (भजन ११९:५२) प्रार्थनामा बिन्ती चढाउँदा हामीले कुनै धर्मशास्त्रीय नियम वा सिद्धान्त सम्झन सक्छौं जसले हामीलाई तनावग्रस्त अवस्थामा चाहिएकै सान्त्वना र साहस दिन्छ।

१६. सतावटको बावजुद परमेश्‍वरका सेवकहरूले के गरेका छैनन्‌?

१६ भजनहारलाई हाँसोमा उडाउने अहंकारी व्यक्‍तिहरू इस्राएलीहरू नै थिए जो परमेश्‍वरप्रति समर्पित राष्ट्रका सदस्यहरू थिए। कस्तो लाजमर्दो कुरा! तिनीहरूजस्तो हुनुको साटो परमेश्‍वरको व्यवस्थाबाट कहिल्यै पनि नहट्‌न वा नतर्कन हामी कटिबद्ध होऔं। (भजन ११९:५१) नाजीहरूको सतावटसामु र वर्षौंको दौडान त्यस्तै प्रकारको व्यवहार भोग्नुपर्दा, परमेश्‍वरका हजारौं सेवकहरूले परमेश्‍वरको वचनमा पाइने व्यवस्था वा सिद्धान्तहरूबाट तर्कन इन्कार गरेका छन्‌। (यूहन्‍ना १५:१८-२१) अनि यहोवाको आज्ञा पालन गर्नु कुनै गह्रौं बोझ होइन किनभने उहाँका नियमहरू सन्चो महसुस गराउने सुमधुर गीतहरूजस्तै छन्‌।—भजन ११९:५४; १ यूहन्‍ना ५:३.

यहोवाको वचनको लागि कृतज्ञ हुनुहोस्‌

१७. परमेश्‍वरको वचनप्रतिको मूल्याङ्‌कनले हामीलाई के गर्न उत्प्रेरित गर्छ?

१७ परमेश्‍वरको वचनअनुसार जीवन बिताएर हामी यसप्रति कृतज्ञता देखाउँछौं। (भजन ११९:५७-६४) भजनहारले ‘परमेश्‍वरका वचनहरू पालन गर्ने’ प्रतिज्ञा गरे अनि ‘परमेश्‍वरका धार्मिक इन्साफहरूको कारण उहाँलाई धन्यवाद चढाउन आधा रातमा समेत उठे।’ हामी राती ब्यूँझ्यौं भने प्रार्थनामा परमेश्‍वरलाई कृतज्ञता व्यक्‍त गर्ने कस्तो राम्रो सुअवसर त्यति बेला हामीले पाउँछौं! (भजन ११९:५७, ६२) परमेश्‍वरको वचनप्रतिको हाम्रो मूल्याङ्‌कनले हामीलाई उहाँको शिक्षा खोजी गर्न उत्प्रेरित गर्छ अनि हामीलाई ‘यहोवाको डर मान्‍नेहरू’ अर्थात्‌ परमेश्‍वरप्रति श्रद्धेय भय राख्नेहरूका आनन्दित ‘साथीहरू’ बनाउँछ। (भजन ११९:६३, ६४) योभन्दा राम्रो साथी यस पृथ्वीमा अन्त कहाँ पाइएला र?

१८. ‘दुष्टहरूको डोरीले हामीलाई बाँध्दा’ यहोवाले हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?

१८ आफ्नो पूरा हृदयले प्रार्थना गर्दा र हामीलाई सिकाउनुहोस्‌ भनी नम्रतापूर्वक यहोवालाई बिन्ती गर्दा, हामीले परमेश्‍वरको निगाह प्राप्त गर्ने इच्छाका साथ ‘उहाँको मुहारको खोजी गरिरहेका’ हुन्छौं। विशेष गरी ‘दुष्टहरूको डोरीले हामीलाई बाँध्दा’ प्रार्थना गर्नुपर्छ। (भजन ११९:५८, ६१, NRV) यहोवाले दुष्टहरूले चलाएको बन्देजको डोरी काटेर राज्यको प्रचार गर्ने तथा चेला बनाउने काम गरिरहन हामीलाई स्वतन्त्र तुल्याउन सक्नुहुन्छ। (मत्ती २४:१४; २८:१९, २०) हाम्रो काममाथि प्रतिबन्ध लगाइएका मुलुकहरूमा यो कुरा बारम्बार सत्य साबित भएको छ।

परमेश्‍वरको वचनमा विश्‍वास राख्नुहोस्‌

१९, २०. दुःख पाउनु कसरी असल हुन सक्छ?

१९ परमेश्‍वर र उहाँको वचनमाथिको विश्‍वासले हामीलाई दुःखकष्टहरू सहन र उहाँको इच्छा गर्न मदत गर्छ। (भजन ११९:६५-७२) अहंकारीहरूले ‘तिनको विरुद्धमा झूटा कुरा कथेको’ भए तापनि भजनहारले यसरी गाए: “मैले दुःख पाएको मलाई असलै भएको छ।” (भजन ११९:६६, ६९, ७१) यहोवाको कुनै सेवकले दुःख भोग्दा यो कसरी असल हुन सक्छ र?

२० हामीले दुःख भोग्दा पक्कै पनि यहोवालाई व्यग्र बिन्ती गर्छौं र यसले हामीलाई यहोवासित अझ नजिक बनाउँछ। परमेश्‍वरको लिखित वचन अध्ययन गर्नमा हामी अझ बढी समय बिताउन सक्छौं र यसलाई व्यवहारमा उतार्न थप प्रयास गर्न सक्छौं। यसको फलस्वरूप हाम्रो जीवन अझ बढी आनन्दित हुन्छ। तर दुःखकष्ट आइपर्दा हामीले अधैर्यता र घमन्डजस्ता नराम्रा गुणहरू प्रकट गऱ्‍यौं भने नि? व्यग्र प्रार्थना र परमेश्‍वरको वचन तथा उहाँको आत्माको मदतद्वारा हामी यस्ता अवगुणहरूमाथि विजयी हुनुका साथै अझ राम्ररी ‘नयाँ मनुष्यत्व धारण गर्न’ सक्छौं। (कलस्सी ३:९-१४) साथै, कठिनाइहरू सहँदा हाम्रो विश्‍वास बलियो हुन्छ। (१ पत्रुस १:६, ७) पावलले आफ्ना सङ्‌कष्टहरूबाट लाभ उठाए किनकि ती सङ्‌कष्टहरूले तिनलाई यहोवामा अझ बढी निर्भर बनायो। (२ कोरिन्थी १:८-१०) के हामी दुःखकष्टले हामीमाथि राम्रो प्रभाव पार्न दिन्छौं?

सधैं यहोवामाथि भरोसा राख्नुहोस्‌

२१. परमेश्‍वरले अहंकारीहरूलाई शर्ममा पार्नुहुँदा के हुन्छ?

२१ परमेश्‍वरको वचनले हामीलाई यहोवामाथि भरोसा राख्ने ठोस आधार दिन्छ। (भजन ११९:७३-८०) आफ्नो सृष्टिकर्तामाथि साँच्चै भरोसा राख्छौं भने हामी शर्माउनुपर्ने कुनै कारण हुनेछैन। तथापि, अरूले गर्ने व्यवहारको कारण हामीलाई सान्त्वना चाहिन्छ र हामीलाई यसरी प्रार्थना गर्न मन लाग्ला: “अहंकारी शर्माउन परोस्‌।” (भजन ११९:७६-७८) यहोवाले यस्ता व्यक्‍तिहरूलाई शर्ममा पार्नुहुँदा तिनीहरूका दुष्ट मार्गहरूको पर्दाफास हुन्छ र उहाँको पवित्र नाउँमा लागेको कलङ्‌क मेटिन्छ। परमेश्‍वरका जनहरूलाई सताउनेहरूले वास्तवमा केही पनि सफलता हासिल गर्नेछैनन्‌ भन्‍ने कुरामा हामी ढुक्क हुन सक्छौं। उदाहरणका लागि, आफ्नो सारा हृदयले परमेश्‍वरमा भरोसा राख्ने यहोवाका साक्षीहरूलाई तिनीहरूले कहिल्यै नामेट पार्न सकेका छैनन्‌ र सक्ने पनि छैनन्‌।—हितोपदेश ३:५, ६.

२२. कुन अर्थमा भजनहार “धुवाँमा रहेको छालाको भाँडाजस्तै” थिए?

२२ हामीमाथि सतावटहरू आइपर्दा परमेश्‍वरको वचनले उहाँमाथिको हाम्रो भरोसा अझ बलियो बनाउँछ। (भजन ११९:८१-८८) अहंकारीहरूले सताएको कारण भजनहारले आफूलाई “धुवाँमा रहेको छालाको भाँडाजस्तै” महसुस गरे। (भजन ११९:८३, ८६) बाइबल समयमा पानी, दाखमद्य वा अरू तरल पदार्थहरू राख्न जनावरको छालाबाट बनेको भाँडो चलाइन्थ्यो। यी भाँडाहरू प्रयोग नगर्दा यिनलाई धुँवा बाहिर जाने चिम्नी नभएको कोठामा आगो नजिकै झुण्ड्याइएको छ भने चाउरी पर्न सक्थे। कठिनाइ वा सतावटले के तपाईंलाई कहिल्यै “धुवाँमा रहेको छालाको भाँडाजस्तै” महसुस गराउँछ? त्यसो हो भने यहोवामा भरोसा राख्नुहोस्‌ र यसरी प्रार्थना गर्नुहोस्‌: “तपाईंको करुणाअनुसार मलाई जीवित पार्नुहोस्‌, तब तपाईंका साक्षी-वचनहरू म पालन गर्नेछु।”—भजन ११९:८८.

२३. भजन ११९:१-८८ सम्म पुनरावृत्ति गरेर हामीले कुन कुरा विचार गरेका छौं र भजन ११९:८९-१७६ अध्ययन गर्ने प्रतीक्षा गर्दा हामीले आफैलाई कस्तो प्रश्‍न सोध्न सक्छौं?

२३ भजन ११९ को पहिलो भागमा हामीले गरेको छलफलले देखाएअनुसार यहोवा आफ्ना सेवकहरूप्रति करुणा देखाउनुहुन्छ किनभने तिनीहरू उहाँको वचनमा भरोसा राख्छन्‌ अनि उहाँका नियम, साक्षी-वचन, आज्ञा र व्यवस्थामा आनन्दित हुन्छन्‌। (भजन ११९:१६, ४७, ६४, ७०, ७७, ८८) उहाँप्रति वफादार व्यक्‍तिहरूले उहाँको वचनमा ध्यान दिइरहको कारण उहाँ प्रसन्‍न हुनुहुन्छ। (भजन ११९:९, १७, ४१, ४२) यस सुन्दर भजनको बाँकी भाग अध्ययन गर्ने प्रतीक्षा गर्दै तपाईंले आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ: ‘के म साँच्चै यहोवाको वचनको ज्योतिलाई आफ्नो बाटो उज्यालो बनाउन दिन्छु?’

[फुटनोट]

a यहाँ परमेश्‍वरको वचन बाइबलको सम्पूर्ण विषयवस्तुलाई नभई यहोवाको सन्देशलाई सङ्‌केत गरिएको हो।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• साँचो आनन्द कुन कुरामा निर्भर हुन्छ?

• यहोवाको वचनले हामीलाई कसरी आध्यात्मिक तवरमा शुद्ध राख्छ?

• परमेश्‍वरको वचनले कुन-कुन तरिकामा साहस र सान्त्वना दिन्छ?

• यहोवा र उहाँको वचनमा हामीले किन विश्‍वास राख्नुपर्छ?

[प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएका चित्रहरू]

रूथ, राहाब र बाबेलको निर्वासनमा लगिएका हिब्रू युवकहरू ‘परमेश्‍वरको वचनमा ध्यान दिएर’ होसियार बसे

[पृष्ठ १२-मा भएको चित्र]

पावलले साहसी भई ‘राजाहरूका सामने परमेश्‍वरको साक्षी-वचनको विषयमा बोले’