सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कमजोर भए पनि म बलवान्‌ छु

कमजोर भए पनि म बलवान्‌ छु

जीवनी

कमजोर भए पनि म बलवान्‌ छु

लेयपोल्ट इङ्‌गलाइट्‌नरको वृत्तान्तमा आधारित

एस एस अफिसरले आफ्नो पिस्तौल निकाल्यो, मेरो टाउकोमा तेर्स्यायो र सोध्यो: “के तँ मर्न तयार छस्‌? म पिस्तौलको घोडो खिच्दैछु किनकि अब तँ कुनै पनि हालतमा बच्दैनस्‌।” आवाज सम्हाल्ने कोसिस गर्दै मैले भनें, “म तयार छु।” मैले आफैलाई तयार पारें, आँखा चिम्लें र पिस्तौलको घोडो खिच्ने पर्खाइमा बसें, तर केही भएन। मेरो कन्चटबाट पिस्तौल हटाउँदै ऊ चिच्यायो, “तँ जस्तो मूर्खलाई मारेर पनि के गर्ने!” यस्तो कहालीलाग्दो अवस्थामा म कसरी पुगें?

मेरो जन्म जुलाई २३, १९०५ मा अस्ट्रियाको आल्प्स्‌ पर्वतमालाको छत्रछायामा रहेको ईगेन फोग्स्हबममा भएको थियो। मेरो बुबा काठ चिर्ने कारखानाका मजदुर र आमा स्थानीय किसानकी छोरी हुनुहुन्थ्यो र म उहाँहरूको जेठो छोरा थिएँ। मेरा आमाबाबु गरिब भए पनि साह्रै मेहनती हुनुहुन्थ्यो। मनोरम ताल अनि मनै लोभ्याउने सुन्दर हिमशृङ्‌खलाहरूले सजिएको साल्जवर्ग नजिकैको ब्याट इशेलमा मेरो बाल्यकाल बित्यो।

बालक छँदा परिवारको गरिबीले गर्दा मात्र होइन जन्मजात मेरुदण्ड टेढिने रोगबाट ग्रसित भएकोले पनि जीवनका अन्यायहरूबारे म अक्सर घोरिन्थें। यस रोगले गर्दा भएको ढाड दुखाइले अक्सर मलाई सीधा उभिन पनि साह्रै मुस्किल पर्थ्यो। स्कूलमा जिम्न्यास्टिकमा भाग लिनबाट म बर्जित थिएँ जसले गर्दा आफ्ना सहपाठीहरूबाट म उपहासको पात्र बनें।

प्रथम विश्‍वयुद्धको अन्ततिर १४ वर्षको मात्र पुग्दा नै गरिबीबाट भाग्न मैले जागिर खोज्नुपर्ने निर्णय गरें। सधैं पिरोलिरहने भोक मेरो जीवनको साथी नै बन्यो र लाखौंलाई मसानघाट पुऱ्‍याउने स्प्यानिस फ्लूले गर्दा पटक-पटक धेरै ज्वरो आइरहँदा म कमजोर भएँ। कामको याचना गर्दा अधिकांश किसानले यसो भन्थे, “तिमी जस्तो लिखुरेको के काम?” तर एक जना दयालु किसानले मलाई काम दिए।

परमेश्‍वरको प्रेमबारे सिकेर उत्साहित

मेरी आमा एक जना भक्‍त क्याथोलिक हुनुभए तापनि म विरलै चर्च जाने गर्थे किनकि धर्मबारे बुबाको साह्रै खुल्ला विचार थियो। मलाई चाहिं रोमन क्याथोलिक चर्चले सर्वत्र गर्ने गरेको मूर्तिको उपासना चित्तै बुझ्दैनथ्यो।

एक दिनको कुरा हो, अक्टोबर १९३१ मा एक जना साथीले मलाई त्यतिबेला बाइबल स्टुडेन्ट्‌सको नाउँले चिनिने यहोवाका साक्षीहरूले आयोजना गरेको धार्मिक सभामा सँगै जाने अनुरोध गरे। त्यहाँ मैले यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाएँ: मूर्ति उपासनाले के परमेश्‍वरलाई खुसी तुल्याउँछ? (प्रस्थान २०:४, ५) के अग्निमय नरक छ? (उपदेशक ९:५) के मृतकहरूको पुनरुत्थान हुनेछ?—यूहन्‍ना ५:२८, २९.

परमेश्‍वरको नाउँमै लडिएको किन नहोस्‌ मानिसले लडेका रक्‍तपिपासु युद्धहरूलाई परमेश्‍वरले कहिल्यै पनि अनुमोदन दिनुहुन्‍न भन्‍ने सत्यले मेरो मनमा गहिरो असर पाऱ्‍यो। मैले बुझें, “परमेश्‍वर प्रेम हुनुहुन्छ” अनि उहाँको यहोवा भन्‍ने एउटा उच्च नाउँ पनि छ। (१ यूहन्‍ना ४:८; भजन ८३:१८, NW) यहोवाको राज्यद्वारा सारा पृथ्वीभरि छाउने प्रमोदवनमा मानिसजाति आनन्दसाथ सधैंभरि बाँच्नेछन्‌ भनी थाह पाउँदा म रोमाञ्चित भएँ। परमेश्‍वरले आफ्नो स्वर्गीय राज्यमा येशूसितै सेवा गर्न असिद्ध मानवहरूमध्ये कसै-कसैलाई बोलाउनुभएको छ भन्‍ने अद्‌भुत प्रत्याशाबारे पनि मैले सिकें। यस राज्यको लागि सर्वस्व अपर्ण गर्न म तयार थिएँ। त्यसैले मे १९३२ मा मैले बप्तिस्मा लिएँ र एक जना यहोवाको साक्षी बनें। कट्टर क्याथोलिकहरूको बाहुल्य रहेको त्यतिबेलाको अस्ट्रियामा व्याप्त धार्मिक असहिष्णुलाई विचार गर्दा बप्तिस्माको कदम चाल्न साहस नभई हुँदैनथ्यो।

घृणा र विरोधको सामना गर्दै

मैले चर्च छोड्‌दा मेरा आमाबाबुहरू साह्रै रिसाउनुभयो र यस कुरालाई चर्चको मञ्चबाट फुक्न पादरीले कुनै बेर लगाएनन्‌। मप्रतिको घृणा व्यक्‍त गर्न मलाई देख्नेबित्तिकै छिमेकीहरू भुइँमा थुक्थे। तर पूर्ण-समय सेवक बन्‍न म कटिबद्ध थिएँ र जनवरी १९३४ मा मैले अग्रगामी सेवा थालें।

हाम्रो प्रान्तमा नाजी पार्टीको साह्रै बलियो प्रभावले गर्दा राजनीतिक अवस्था निकै तात्यो। इन्जको स्टिरियन भ्यालीमा अग्रगामी गर्दा पुलिसले मेरो अति खेदो गऱ्‍यो र म ‘सर्पझैं चनाखो’ हुनुपऱ्‍यो। (मत्ती १०:१६) सन्‌ १९३४ देखि लिएर १९३८ सम्म सतावट मेरो दैनिक जीवनको अभिन्‍न अंश बन्यो। बेरोजगार भए पनि बेरोजगारहरूलाई दिइने सहुलियतबाट मलाई वञ्चित गरियो अनि मेरो प्रचार गतिविधिले गर्दा छोटो र चार चोटि लामो अवधि गरेर मलाई धेरैचोटि कैद गरियो।

हिटलरको फौजले अस्ट्रियामा कब्जा जमाउँछ

मार्च १९३८ मा हिटलरको फौज अस्ट्रिया घुस्यो। नाजी व्यवस्थाको विरोध गरेको कारण केही दिनमै कुल वयस्क जनसंख्याको २ प्रतिशत अर्थात्‌ ९०,००० मानिसहरूलाई पक्राउ गरियो र जेल तथा यातना शिविरहरूमा पठाइयो। आइपर्ने कुराहरूको लागि यहोवाका साक्षीहरू धेरथोर तयार थिए। एउटा अन्तरराष्ट्रिय अधिवेशन धाउन १९३७ को गर्मी महिनामा मेरो मण्डलीका केही सदस्यहरूले ३५० किलोमिटर टाढा रहेको प्रागसम्मको यात्रा गरेका थिए। त्यहाँ तिनीहरूले जर्मनीमा हाम्रा सँगी विश्‍वासी विरुद्ध गरिएको बर्बरता सुने। हो, अब हाम्रो पालो थियो।

हिटलरको फौजले अस्ट्रियामा पाइला टेकेको दिनदेखि नै आफ्ना सभा र प्रचार गतिविधि गोप्य रूपमा सञ्चालन गर्नुबाहेक यहोवाका साक्षीहरूसित अरू चारा थिएन। बाइबल साहित्यहरू स्वीस सिमाना पार गरेर लुकीछिपी ल्याइए तापनि त्यो पर्याप्त थिएन। त्यसैले भियनाका सँगी मसीहीहरूले गोप्य रूपमा साहित्यहरू छाप्न थाले। म अक्सर हाम्रा साहित्य एक ठाउँबाट अर्को ठाउँमा पुऱ्‍याउने कुरियरको अर्थात्‌ सन्देशवाहकको काम गर्थें।

यातना शिविरतिर

अप्रिल ४, १९३९ मा ब्याट इशेलमा ख्रीष्टकोमृत्युको स्मणार्थ मनाइरहेको बेला तीन जना सँगी मसीही र मलाई गेस्तापोले पक्य्रो। हामीलाई कारमा राखेर लिन्जको प्रान्तीय पुलिस मुख्यालयमा लगियो। जीवनमा पहिलोपल्ट मैले कार चढेको थिएँ तर त्यसबेला म त्यसको आनन्द लिने अवस्थामा थिइनँ। लिन्जमा एकपछि अर्को पीडादायी केरकार गरियो तर मैले कहिल्यै आफ्नो विश्‍वास त्यागिनँ। पाँच महिनापछि मलाई माथिल्लो अस्ट्रिया जाँचबुँझ अदालतसामु खडा गरियो। अप्रत्याशीत रूपमा म विरुद्ध चलाइएका सारा आपराधिक गतिविधिहरू रोकिए, तर यो मेरो संकष्टको अन्त्य थिएन। त्यति नै बेला, अन्य तीन जनालाई यातना शिविरमा पठाइयो र तिनीहरू त्यहाँ अन्तसम्म विश्‍वासी भएर मरे।

मलाई हिरासतमा लिइयो अनि अक्टोबर ५, १९३९ मा जर्मनीको बुकेनवाल्ड यातना शिविरमा लैजाने कुरा बताइयो। लिन्ज रेल स्टेसनमा हामी कैदीहरूलाई एउटा विशेष प्रकारको रेल कुरिरहेको थियो। प्रत्येक डिब्बा दुई जना मानिस राखिने किसिमको थियो। मसँगै डिब्बामा बस्ने मानिस अरू कोही नभएर माथिल्लो अस्ट्रियाको भूतपूर्व गभर्नर डा. हिनरिक ग्लिस्नर थिए।

डा. हिनरिक ग्लिस्नर र मेरो रोचक कुराकानी सुरु भयो। मेरो यस्तो दुर्दशामा उनको निष्कपट चासो थियो अनि उनी आफू गर्भनर हुँदा समेत आफ्नो प्रान्तमा यहोवाका साक्षीहरूले धेरै कानुनी समस्याहरू झेल्नु परेकोमा साह्रै दुखीत भए। खेद प्रकट गर्दै उनले भने: “मिस्टर इङ्‌गलाइट्‌नर म ती गल्तीहरूलाई सुधार्न त सक्दिनँ तर म माफी माग्न चाहन्छु। न्याय दिन नसकेकोमा हाम्रो सरकार दोषी छ। तपाईंलाई कहिल्यै कुनै मदतको आवश्‍यकता परेमा जेजति गर्न सक्छु, सो गर्न म अत्यन्तै इच्छुक हुनेछु।” युद्धपछि हाम्रो फेरि भेट भयो। उनले मलाई नाजी यातना पीडितहरूका लागि दिइने सरकारी अवकाश रकम हासिल गर्न मदत गरे।

“म तँलाई गोलीले उडाउँछु”

अक्टोबर ९, १९३९ मा म बुकेनवाल्ड यातना शिविरमा आइपुगें। लगत्तै, जेलको चौकीदारलाई भर्खरै आएका कैदीहरूमध्ये एक जना साक्षी पनि छन्‌ भन्‍ने सूचना दिइयो अनि म उसको सिकार भएँ। उसले मलाई निर्ममतासाथ पिट्यो। मेरो विश्‍वास त्याग्न लगाउन नसक्ने कुरा बुझेर उसले भन्यो: “इङ्‌गलाइट्‌नर, अब म तँलाई गोलीले उडाउँछु। तर मार्नुअघि म तँलाईं तेरो आमाबाबुलाई अन्तिम दुई शब्द लेख्ने अनुमति दिन्छु।” आफ्ना आमाबाबुहरूलाई सान्त्वनाका दुई शब्द लेख्ने मैले विचार गरें तर हरेक पटक जब म लेख्न खोज्थें उसले मेरो दाहिने कुहिनामा हिर्काउँथ्यो जसले गर्दा मेरो अक्षर केरमेट हुन्थ्यो। उसले यसरी खिसी गऱ्‍यो: “कस्तो मूर्ख! जाबो दुई अक्षर पनि लेख्न आउँदैन तर बाइबलचाहिं पढ्‌न सक्ने?”

त्यसपछि त्यो चौकीदारले पिस्तौल झिक्यो, मेरो कन्चटमा तेर्स्यायो अनि बन्दुकको घोडो खिच्न लागेको कुरामा मैले कुनै शङ्‌का गर्नु नपर्ने कुरा बतायो जुन कुरा मैले सबैभन्दा माथि उल्लेख गरिसकें। त्यसपछि उसले मलाई सानो र कोचाकोच मानिसहरू भएको कोठरीमा धकेलिदियो। मैले पूरै रात उठेरै बिताउनु पर्थ्यो। तर आफ्नो सारा शरीर नै दुखिरहेकोले म सुत्न सक्ने अवस्थामा पनि थिइनँ। मसँगै कोठरीमा बस्ने मेरा सँगीकैदीहरूले भन्‍न सक्ने “सान्त्वनाका” दुई शब्द केवल यति थिए, “एउटा काम न काजको धर्मको लागि मर्नु साँच्चै बेकार हो।” डा. ग्लिस्नर सँगैको अर्को कोठामा थिए। त्यहाँ भइरहेको सबै कुरा उनले सुने र निकै सोचमग्न हुँदै उनले यसो भने, “मसीहीहरूले भोगिरहेको सतावट फेरि एक पटक एउटा कटु वास्तविकता भएको छ!”

अक्सर आइतबार छुट्टि हुने भए तापनि सबै कैदीहरूलाई सन्‌ १९४० को एक गर्मी महिनामा पत्थर खानीको काममा हाजिर हुन आदेश दिइयो। कुनै-कुनै कैदीहरूले गरेको “गल्तीको बदला” लिनको लागि यसो गरिएको थियो। हामीलाई पत्थर खानीबाट ठूलठूला ढुङ्‌गा बोकेर शिविरसम्म लैजाने आदेश दिइयो। दुई जना कैदीहरूले मेरो ढाडमा एउटा ठूलो ढुङ्‌गा राख्न कोसिस गर्दै थिए र गह्रौं बोझले गर्दा म लड्‌नै लागेको थिएँ। तर आर्थर रोइड जोसित सबै जना डराउँथे, अप्रत्याशित रूपमा बचाउन आए। ढुङ्‌गा उठाउनको लागि मैले गरेको पीडाजनक प्रयासलाई देखेर तिनले मलाई यसो भने: “यत्ति ठूलो ढुङ्‌गा बाकेर तिमी शिविरमा कुनै हालतमा पुग्न सक्दैनौ! तुरुन्तै झारिहाल!” यो एउटा यस्तो आदेश थियो जसलाई पालन गर्दा मलाई हलुको महसुस भयो। त्यसपछि रोइडले धेरै नै सानो ढुङ्‌गोलाई देखाउँदै भने: “त्योचाहिं उचालेर शिविरसम्म लैजाउ। त्यो बोक्न सजिलो हुन्छ!” त्यसपछि हाम्रो सुपरभाइजरतिर फर्कंदै तिनले यस्तो आदेश दिए: “बाइबल स्टुडेन्टहरूलाई ब्यारेकमै फर्कन देऊ। एक दिनको लागि तिनीहरूले पुग्दो काम गरिसकेका छन्‌!”

हरेक दिन कामको अन्तमा आफ्नो आध्यात्मिक परिवारसित संगत गर्न पाउँदा म सधैं खुसी हुन्थें। आध्यात्मिक भोजन वितरण गर्ने हाम्रो प्रबन्ध थियो। एक जना भाइले एउटा सानो टुक्रा कागजमा बाइबलको एउटा पद लेख्ने गर्थ्यो र अरूलाई त्यो पास गर्थ्यो। शिविरभित्र लुकाएर एउटा बाइबल पनि ल्याइएको थियो। यसलाई छुट्याएर अलग-अलग भागमा विभाजन गरियो। मलाई चाहिं तीन महिनाको लागि बाइबलको अय्यूबको पुस्तक राख्न दिइयो। मैले यसलाई मोजाभित्र लुकाएँ। अय्यूबको विवरणले मलाई दृढ रहन मदत गऱ्‍यो।

अन्तमा मार्च ७, १९४१ मा नीडरहगन यातना शिविरमा सार्न लगिएको लामो सैनिक गाडीको ताँतीमा म सामेल भएँ। मेरो अवस्था दिनप्रतिदिन नाजुक हुँदै गइरहेको थियो। एक दिन दुई जना भाइहरू र मलाई बाकसभित्र औजारहरू प्याक गर्ने आदेश दिइयो। त्यो काम गरेपछि अन्य कैदीहरूको अर्को समूहसित ब्यारेक मै फर्कियौं। एक जना सैनिकले म लर्खराउँदै हिंडिरहेको देख्यो। ऊ यत्ति रिसायो कि केही भन्दै नभनी पछाडिबाट निर्दयतासाथ लात हान्यो जसलेगर्दा मलाई गम्भीर चोट लाग्यो। पीडा असह्‍य थियो तर दुखे पनि अर्को दिन म काममा गएँ।

अप्रत्याशित रिहा

अप्रिल १९४३ मा अन्ततः नीडरहगन शिविर खाली गरियो। त्यसपछि मलाई रभेन्स्ब्रुकस्थित मृत्यु शिविरमा सारियो। त्यसपछि जून १९४३ मा मलाई अप्रत्याशित रूपमा यातना शिविरबाट मुक्‍त हुने मौका दिइयो। यसबेला आफ्नो विश्‍वासलाई त्याग्ने शर्तमा मलाई मुक्‍त गरिएको थिएन। आफ्नो बाँकी जीवन खेतमा श्रम गरेर बिताउनुपर्ने कुरामा मैले सहमति जनाउनुपर्ने थियो। शिविरको त्रासबाट मुक्‍त हुन म त्यो काम गर्न इच्छुक थिएँ। अन्तिम स्वास्थ्य परीक्षणको लागि म शिविरको डाक्टरकहाँ गएँ। मलाई देखेर डाक्टर छक्क परे। उनले भने, “अझै तिमी यहोवाको साक्षी नै छौ!” मैले जवाफ दिए, “ठीक भन्‍नुभयो, डाक्टरसाब।” “त्यसोभए, तिमीलाई मुक्‍त गर्नुपर्ने कारण त म देख्दिनँ। तर ठीकै छ, तिमी जस्तो दयनीय हालतको मानिसलाई यहाँ के राख्नु।”

त्यो कुरा बढाइचढाइ गरिएको थिएन। मेरो स्वास्थ्य साँच्चै दयनीय थियो। मेरो छालाको केही भाग जुम्राले खाइसकेको थियो, कुटाइले गर्दा मेरो एउटा कान नसुन्‍ने भइसकेको थियो, अनि मेरो पूरा शरीर नै पीडायुक्‍त घाउका पीपले भरिएको थियो। छयालीस महिनासम्मको अभाव, निरन्तरको भोक अनि श्रमले गर्दा मेरो तौल २८ किलोमा झऱ्‍यो। यस्तो अवस्थामा जुलाई १५, १९४३ मा रभेन्स्ब्रुकबाट मलाई मुक्‍त गरियो।

कुनै सुरक्षा गार्डको निगरानीविना रेलद्वारा मलाई गृहनगर पठाइयो र मैले लिन्जमा रहेको गेस्तापो मुख्यालयमा रिपोर्ट गरें। गेस्तापो अफिसरले मलाई रिहाइ पत्रका साथै यस्तो चेतावनी दियो: “हामीले तँलाई छोडेका छौं त्यसैले अब आफ्नो भूमिगत गतिविधिमा लाग्न सकिएला भनेर तैंले सोचेको होस्‌ भने त्यो तेरो भूल हुनेछ! प्रचार गरिरहेको बेला तँलाई भेट्टायौं भने तँलाई ईश्‍वरले नै बचाओस्‌।”

बल्ल म आफ्नो घर पुगें। अप्रिल ४, १९३९ मा मलाई पहिलो चोटि पक्राउ गरेदेखि अहिलेसम्म मेरो कोठामा एउटा सिन्को सम्म नसारिएको जस्ताको तस्तै थियो। पलङ नजिकैको टेबलमा मेरो बाइबलसमेत खुल्लै थियो! मैले घुँडा टेकें अनि हृदयदेखि धन्यवादको एउटा प्रार्थना गरें।

मलाई तुरुन्तै पहाडी खेतहरूतिर काम गर्न खटाइयो। केही दिनुपर्ने बाध्यता नभए तापनि बाल्यकालको एक जना किसान साथीले मैले काम गरेबापत थोरै तलब दियो। युद्धअघि यो साथीले उनको निवासमा केही बाइबल साहित्यहरू लुकाउने अनुमति दिएको थियो। आध्यात्मिक रूपमा बल प्राप्त गर्न उक्‍त सानो साहित्य भण्डारको सदुपयोग गर्न पाउँदा म खुसी थिएँ। मेरा सारा आवश्‍यकताहरू पूरा भए र युद्ध नसिद्धिउन्जेल यही खेतमा काम गर्दै धीरज धारण गर्न कटिबद्ध थिएँ।

पहाडहरूमा लुक्दै

यद्यपि, स्वतन्त्रताको ती शान्त दिनहरू थोरै समयसम्म मात्र रहे। अगस्त १९४३ को बीचतिर स्वास्थ्य परीक्षणको लागि कुनै सैन्य डाक्टरकहाँ जाने आदेश दिइयो। पहिले त ढाड दुख्ने रोगले गर्दा म सक्रिय सेवाका लागि अयोग्य भएको कुरा उनले बताए। तर एक हप्तापछि उनले रिपोर्टमा यसरी संशोधन गरे: “युद्धमा लड्‌न शारीरिक रूपमा सक्षम।” सेनाले केही समयसम्म मलाई पत्ता लगाउन सकेन तर अप्रिल १७, १९४५ मा दोस्रो विश्‍वयुद्ध सकिनु केही समयअघि सेनाले मलाई भेट्टाइछाड्यो। मलाई अनिवार्य सैन्य सेवा अन्तर्गत लडाइमा जान खटाइयो।

केही लुगाफाटा, खानेकुरा र बाइबल बोकेर मैले नजिकै पहाडमा शरण खोजें। सुरुमा त म खुल्ला मैदानमा सुत्न सकें तर मौसम अझै बिग्रियो र दुई फिटसम्म हिउँ पऱ्‍यो। मेरो जीउ पूरै भिज्यो। म समुद्री सतहभन्दा ४,००० फिट माथि पहाडमा बनाइएको एउटा कोठामा पुग्न सकें। जाडोले काम्न थालेकोले अगेनोमा आगो बालें अनि आफूलाई तताउन र भिजेको लुगा पनि सुकाउन सकें। थाकेकोले गर्दा अगेनो नजिकैको बेन्चमा म भुसुक्कै निदाएँ। छिट्टै तीव्र पीडाले म ब्यूँझिएँ। मेरो शरीरमा आगो लागिसकेको थियो। आगो निभाउन म भुइँमा लडीबुडी गरें। मेरो ढाडभरि फोकै-फोका उठ्यो।

समातिने खतराले गर्दा दिन ढल्नुअघि नै म पहाडी खेततिर लुक्न गएँ तर किसानकी स्वास्नी यति डराइन्‌ कि मेरो तीव्र खोजी भइरहेको छ भन्दै तिनले मलाई निकालिदिइन्‌। त्यसैले म मेरा आमाबाबुकहाँ गएँ। सुरुमा त मेरा आमाबाबुले समेत मलाई घरमा राख्न हिचकिचाउनुभयो तर उहाँहरूले अन्ततः परालहरू राखिएको कोठामा सुत्न दिनुभयो अनि आमाले मेरो घाउमा मलमपट्टी लगाइदिनुभयो। यद्यपि, मेरो उपस्थितिबाट मेरा आमाबाबु यति व्याकुल हुनुभयो कि मैले फेरि पहाडतिरै लुक्नु नै उत्तम हो भनी ठानें।

मे ५, १९४५ मा एउटा ठूलो हल्लाले मलाई ब्यूँझायो। संयुक्‍त सेनाका प्लेन तलतिरबाट उडिरहेको मैले देखें। त्यसैबेला मैले थाह पाएँ, हिटलरको शासन पतन भइसकेको थियो! अकल्पनीय अग्निपरीक्षाहरू सहन यहोवाको आत्माले मलाई बलियो बनाएको थियो। मैले भजन ५५:२२ लिपिबद्ध शब्दहरूको सत्यता अनुभव गरें जुन पदले परीक्षाको सुरु-सुरुतिर मलाई धेरै सम्हाल्यो। मैले ‘आफ्नो भारी यहोवामा बिसाएँ’ अनि म शारीरिक रूपमा कमजोर र “घोर अन्धकारमा” हिंड्‌नुपरे तापनि उहाँले मलाई बचाउनुभयो।—भजन २३:४.

यहोवाको शक्‍ति “दुर्बलतामा सिद्ध हुन्छ”

युद्धपछि बिस्तारै जीवन सामान्य हुँदै गयो। सुरुमा त मैले मेरो किसान साथीको पहाडी खेतमा ज्यालादारी कामदारको रूपमा काम गरें। अप्रिल १९४६ मा अमेरिकी सेनाले हस्तक्षेप गरेपछि मात्र आफ्नो बाँकी जीवनभर अनिवार्य कृषि श्रम गर्ने बाध्यताबाट म मुक्‍त भएँ।

युद्धको अन्तमा ब्याट इशेल र वरपर जिल्लाका मसीही भाइहरूले नियमित रूपमा सभाहरू सञ्चालन गर्न थाले। नयाँ जोस लिएर तिनीहरूले प्रचारकार्य थाले। मलाई एउटा कारखानामा रातमा चौकीदारी गर्ने जागिर दिइयो र यसरी मैले अग्रगामी सेवालाई निरन्तरता दिन सकें। अन्ततः मैले जान्क्ट भोल्फगाङ्‌गमा बसोबास गरें अनि पहिलो विवाहबाट एक छोरी भइसकेकी टेरेजिया कुट्‌र्ससित मैले सन्‌ १९४९ मा विवाह गरें। सधैं यहोवाको उपासनालाई प्रथम स्थानमा राख्दै गम्भीर मधुमेहले पीडित भएर सन्‌ १९८१ मा मेरी प्यारी पत्नीको मृत्यु नहोऊञ्जेल हामीले ३२ वर्ष सँग-सँगै बितायौं। सात वर्षभन्दा धेरै समय मैले उनको हेरचाह गरें।

टेरेजियाको मृत्युपछि मैले फेरि अग्रगामी सेवा थालें र यो सेवाले मलाई ठूलो क्षतिको अभाव महसुस हुन दिएन। अहिले म ब्याट इशेलस्थित आफ्नो मण्डलीमा अग्रगामी र एक जना प्राचीनको रूपमा सेवा गर्दैछु। ह्विलचेयरमा बस्नुपरेकोले गर्दा ब्याट इशेल पार्क अथवा मेरो आफ्नै घरको सामु मानिसहरूलाई बाइबल साहित्य दिन्छु र कुरा गर्छु। बाइबल आधारित एकदमै राम्रा छलफलहरू मेरो लागि असीम आनन्दको एउटा स्रोत हो।

विगतलाई फर्केर हेर्दा आफूले भोग्न बाध्य भएका भयावह अनुभवहरूले गर्दा मेरो मन तितो भएको छैन भनी म भन्‍न सक्छु। निस्सन्देह, परीक्षाहरूले गर्दा निरुत्साहित भएका समयहरू पनि थिए। तर यहोवा परमेश्‍वरसितको न्यानो सम्बन्धले यस्तो नकारात्मक अवस्थाबाट उम्कन मदत गऱ्‍यो। “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ,” भनी प्रभुले पावललाई दिनुभएको सल्लाह मेरो जीवनमा पनि सत्य साबित भयो। अहिले झण्डै १०० वर्ष पुग्न लाग्दा समेत म प्रेरित पावलको यस भनाइसित सहमत हुन सक्छु: “यसकारण ख्रीष्टको निम्ति दुर्बलताहरूमा, हानिहरूमा, दरकारहरूमा, खेदोहरूमा, आपत्‌हरूमा म खुशी हुन्छु, किनभने दुर्बल हुँदा, म शक्‍तिमान हुन्छु।”—२ कोरिन्थी १२:९, १०.

[पृष्ठ २५-मा भएका चित्रहरू]

अप्रिल १९३९ मा गेस्तापोद्वारा गिरफ्तार

मे १९३९, आरोपहरू सहितको गेस्तापोको कागजात

[स्रोत]

Both images: Privatarchiv; B. Rammerstorfer

[पृष्ठ २६-मा भएको चित्र]

नजिकैका पहाडहरूले मलाई शरण दियो

[पृष्ठ २३-मा भएको चित्रको स्रोत]

Foto Hofer, Bad Ischl, Austria