सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

पुनरुत्थानको आशा—यसले तपाईंको लागि कस्तो अर्थ राख्छ?

“तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भजन १४५:१६.

१-३. कसै-कसैसित भविष्यको कस्तो आशा छ? उदाहरणसहित बताउनुहोस्‌।

 नौ वर्षीय क्रिस्टोफर र तिनको दाइ, आफ्नो अंकल, आन्टी अनि तिनीहरूका दुई जना छोरासित मिलेर इङ्‌गल्याण्डको म्यानचेस्टर नजिकै बिहानभरि घर-घरमा साक्षी दिंदै मसीही सेवकाईमा व्यस्त थिए। यस पत्रिकाको सहपत्रिका ब्यूँझनुहोस्‌!-ले त्यस दिनको घटनाबारे बताएको थियो। “दिउँसो तिनीहरू सबै जना नजिकै समुद्र किनारको रिसोर्ट, ब्लाकपुलमा घुम्न निस्के। त्यतिबेला भएको सडक दुर्घटनामा घटनास्थलमै मरेका १२ जनामध्ये तिनीहरू छ जना पनि थिए र यस दुर्घटनालाई प्रहरीले ‘निकै जनधनको क्षति भएको ठूलो विध्वंस’ भन्यो।”

उक्‍त दुर्घटना हुनुभन्दा अघिल्लो रात यो परिवार मण्डली पुस्तक अध्ययनमा उपस्थित भएको थियो र त्यतिबेला मृत्युको विषयमा छलफल गरिएको थियो। क्रिस्टोफरका बुबाले यसो भने: “क्रिस्टोफर गहिरो सोचविचार गर्ने केटो थियो। त्यस रात उसले नयाँ संसार र भविष्यको लागि आफ्नो आशाबारे स्पष्टसित बताएको थियो। अनि छलफलको दौडान क्रिस्टोफरले अकस्मात्‌ यसो भन्यो: ‘यहोवाको साक्षी हुनुको एउटा फाइदा के हो भने, मृत्यु हुँदा हामीलाई दुःख त लाग्छ तर आफूले गुमाउनुपरेको प्रियजनलाई यसै पृथ्वीमा एक दिन भेट्‌न पाउनेछौं भनेर हामीलाई थाह छ।’ ती शब्दहरू कत्तिको अविस्मरणीय हुनेछन्‌ भनेर त्यहाँ उपस्थित हामीमध्ये कसैलाई पनि पत्तै थिएन।” a

वर्षौंअघि सन्‌ १९४० मा एक जना अस्ट्रियन साक्षी फ्रान्जले यहोवाप्रति अवफादार हुन इन्कार गरेको हुँदा गिलोटिनबाट आफ्नो मृत्यु हुनेछ भनेर तिनलाई थाह थियो। तिनलाई थुनिएको बर्लिनको झ्यालखानाबाट फ्रान्जले आफ्नी आमालाई यस्तो पत्र पठाए: “मलाई जहाँसम्म थाह छ, मैले [सैन्य] वाचा लिएको भए मैले मृत्युयोग्य पाप गरेको हुन्थें। त्यसो गर्नु भनेको अवफादारी हुने थियो। मेरो पुनरुत्थानको आशा नै हुने थिएन। . . . मेरी प्यारी आमा र मेरा सबै भाइबहिनीहरू हो, आज मलाई सजाय सुनाइयो अनि त्यो के हो भनेर सुन्दा नआत्तिनुहोस्‌ किनभने भोलि बिहान मलाई मृत्युदण्ड दिइनेछ। विगतका सबै साँचो मसीहीहरूले झैं मैले पनि परमेश्‍वरबाट बल पाएको छु। . . . तपाईंहरू मृत्युसम्मै स्थिर रहनुभयो भने पुनरुत्थान भएपछि हामी फेरि भेट्‌नेछौं। . . . पछि फेरि भेट्‌ने आशा गर्दै।” b

४.यहाँ बताइएका अनुभवहरूले तपाईंमा कस्तो असर पार्छ अनि यसपछि हामी कुन कुरा विचार गर्नेछौं?

पुनरुत्थानको आशाले क्रिस्टोफर र फ्रान्ज दुवैको निम्ति ठूलो अर्थ राख्यो। यो आशा तिनीहरूको लागि वास्तविक थियो। यी विवरणहरूले पक्कै पनि हाम्रो हृदय छुन्छ! यहोवाप्रति हाम्रो मूल्याङ्‌कनलाई अझ प्रगाढ बनाउन अनि पुनरुत्थानमा हाम्रो आशालाई अझ सुदृढ पार्न आउनुहोस्‌, पुनरुत्थान किन हुनेछ अनि पुनरुत्थानसम्बन्धी ज्ञानले हामीलाई व्यक्‍तिगत तवरमा कसरी असर गर्नुपर्छ भनेर विचार गरौं।

पार्थिव पुनरुत्थानको दर्शन

५, ६. प्रकाश २०:१२, १३ मा प्रेरित यूहन्‍नाले लिपिबद्ध गरेको दर्शनले कुन कुरा प्रकट गर्छ?

ख्रीष्ट येशूको हजार वर्षीय शासनको दौडान हुने घटनाहरूको दर्शनमा प्रेरित यूहन्‍नाले पार्थिव पुनरुत्थान भइरहेको देखे। तिनले यसरी बताए: “मैले ठूला र साना सबै मरेकाहरू . . . देखें। . . . अनि समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले [“हेडिसले,” NW] पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले।” (प्रकाश २०:१२, १३) “ठूला” होऊन्‌ वा “साना,” जस्तोसुकै ओहदा वा प्रतिष्ठाका किन नहोऊन्‌ हेडिसमा (शिओल) अर्थात्‌ मानिसजातिको सामान्य चिहानमा भएकाहरू सबैले छुटकारा पाउनेछन्‌। समुद्रमा आफ्नो जीवन गुमाएकाहरूले पनि त्यतिबेला फेरि जीवन पाउनेछन्‌। यो अद्‌भुत घटना, परमेश्‍वरको उद्देश्‍यको एउटा भाग हो।

शैतानलाई बाँधेर अगाध खाँदमा थुनेपछि ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनेछ। पुनरुत्थान भएकाहरू वा महासङ्‌कष्टबाट बचेकाहरू कसैलाई पनि त्यस हजार वर्षीय शासनको दौडान शैतानले बहकाउनेछैन किनभने त्यतिबेला शैतान निष्क्रिय हुनेछ। (प्रकाश २०:१-३) हजार वर्ष तपाईंलाई एकदमै लामो समय जस्तो लाग्न सक्छ तर वास्तवमा यहोवाको नजरमा भने त्यो “एक दिनझैं” मात्र हो।—२ पत्रुस ३:८.

७. ख्रीष्टको हजार वर्षीय शासनको दौडान कुन आधारमा न्याय गरिनेछ?

त्यस दर्शनअनुसार ख्रीष्टको हजार वर्षीय शासन न्यायको समय हुनेछ। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “मैले ठूला र साना सबै मरेकाहरू सिंहासनको सामने उभिरहेका देखें। औ पुस्तकहरू खोलिएका थिए। औ अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। औ तिनीहरूले जे जे गरेका थिए, ती पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम ती मरेकाहरूको इन्साफ भएको थियो। . . . तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो।” (प्रकाश २०:१२, १३) याद गर्नुहोस्‌, यहाँ बताइएअनुसार कुनै व्यक्‍तिले आफ्नो मृत्यु हुनुअघि गरेको कामको आधारमा उसको न्याय वा इन्साफ गरिने होइन। (रोमी ६:७) तर यो न्याय भविष्यमा खोलिने “पुस्तकहरू[सित]” सम्बन्धित छ। तिनको नाउँ “जीवनको पुस्तक[मा]” लेखिने हो वा होइन भन्‍ने कुरा यी पुस्तकहरूमा दिइएका कुराहरू सिकिसकेपछि गरेको कामको आधारमा निर्णय गरिनेछ।

“जीवनको पुनरुत्थान” वा “इन्साफको पुनरुत्थान”

८. पुनरुत्थान भएकाहरूको सामु कुन दुइटा सम्भाव्य प्रत्याशा हुनेछ?

यूहन्‍नाले पहिला देखेको दर्शनमा “मृत्यु र पातालका [“हेडिसका,” NW] साँचाहरू” येशूसँग छन्‌ भनेर वर्णन गरिएको छ। (प्रकाश १:१८) यहोवाले येशूलाई “जीवनका कर्ता” बनाउनुभएको छ र उहाँलाई नै “जिउँदा र मरेकाहरूको” इन्साफ गर्ने अख्तियार दिनुभएको छ। (प्रेरित ३:१५; २ तिमोथी ४:१) उहाँले यो कसरी गर्नुहुनेछ? मृत्युको निद्रामा परेकाहरूलाई ब्यूँताउनुभएर। आफूले प्रचार गर्नुभएको भीडलाई येशूले यसो भन्‍नुभयो, “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब [“सम्झनाको,” NW ] चिहानमा हुनेहरू सबैले उसको सोर सुन्‍नेछन्‌। . . . [र] निस्किआउनेछन्‌।” उहाँले अझ यसो भन्‍नुभयो: “भलो गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति, तर कुभलो गर्नेहरूचाहिं इन्साफको पुनरुत्थानको निम्ति निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८-३०) त्यसोभए पुरातन समयका विश्‍वासी पुरुष तथा स्त्रीहरूको सामु कस्तो भविष्य छ त?

९. (क) पुनरुत्थान भएपछि थुप्रैले अवश्‍य पनि कुन कुरा सिक्नेछन्‌? (ख) कस्तो विशाल शैक्षिक कार्य गरिनेछ?

पुरातन समयका यी विश्‍वासी जनहरूको पुनरुत्थान हुँदा आफूले भरोसा राखेका प्रतिज्ञाहरू सबै वास्तविकतामा परिणत भएछन्‌ भनेर तिनीहरूले तुरुन्तै थाह पाइहाल्नेछन्‌। बाइबलको उत्पत्ति ३:१५ मा उल्लिखित पहिलो भविष्यवाणीमा बताइएको परमेश्‍वरको स्त्रीको सन्तान को रहेछ भनेर चिन्‍न तिनीहरू अत्यन्तै उत्सुक हुनेछन्‌! यो प्रतिज्ञा गरिएको मसीह अर्थात्‌ येशू मृत्युसम्मै विश्‍वासी रहनुभयो अनि आफ्नो जीवन छुडौतीको बलिदानको रूपमा अर्पण गर्नुभयो भनेर सुन्‍न पाउँदा तिनीहरू कत्ति खुसी हुनेछन्‌! (मत्ती २०:२८) यो छुडौतीको बलिदानको प्रबन्ध यहोवाको असीम अनुग्रह र कृपाको अभिव्यक्‍ति हो भनेर ती पुनरुत्थान भएकाहरूलाई बुझाउन पाउँदा तिनीहरूलाई स्वागत गर्नेहरू असाध्यै आनन्दित हुनेछन्‌। पृथ्वीको लागि यहोवाको उद्देश्‍य पूरा गर्न परमेश्‍वरको राज्यले के-के गर्दैछ भनेर पुनरुत्थान भएकाहरूले थाह पाएपछि यहोवाप्रति प्रशंसाका अभिव्यक्‍तिले तिनीहरूको हृदय अवश्‍य पनि ओतप्रोत हुनेछ। स्वर्गमा हुनुहुने आफ्नो मायालु पिता र उहाँको पुत्रप्रति भक्‍ति प्रदर्शन गर्न तिनीहरूले प्रशस्त मौका पाउनेछन्‌। चिहानबाट निस्किआउने अरबौं मानिसहरूले पनि परमेश्‍वरले प्रबन्ध गर्नुभएको छुडौतीको बलिदानलाई स्वीकार्नुपर्नेछ अनि तिनीहरूलाई सिकाउने विशाल शैक्षिक कार्यमा भाग लिन पाउँदा त्यतिबेला जीवित सबै रमाउनेछन्‌।

१०, ११. (क) हजार वर्षीय शासनले पृथ्वीमा भएका सबैको लागि कस्ता मौकाहरू प्रदान गर्नेछ? (ख) यसले हामीमा कस्तो असर पार्नुपर्छ?

१० आफूले प्रतीक्षा गरेको “शहर[को]” शासनअन्तर्गत साँच्चै जीवित हुन पाउँदा पुनरुत्थान भएका अब्राहामले ठूलो सान्त्वना पाउनेछन्‌। (हिब्रू ११:१०) आफ्नो जीवन पद्धतिबाट यहोवाका अरू थुप्रै सेवकहरूले पनि निष्ठाको परीक्षा सामना गर्ने बल पाए भनेर थाह पाउँदा पुरातन समयका विश्‍वासी व्यक्‍ति अय्यूब कत्ति खुसी हुनेछन्‌! अनि परमेश्‍वरको प्रेरणा पाएर आफूले लेखेका भविष्यवाणीहरू कसरी पूरा भए भनी थाह पाउन दानियल कति उत्सुक हुनेछन्‌!

११ निस्सन्देह, पुनरुत्थानद्वारा होस्‌ वा महासंकष्ट पार गरेर, धार्मिक नयाँ संसारमा जीवन प्राप्त गर्नेहरू सबैले पृथ्वी र यसका बासिन्दाहरूको लागि यहोवाको उद्देश्‍यबारे थुप्रै कुरा सिक्नुपर्नेछ। सधैंभरि बाँच्ने अनि सदासर्वदा यहोवाको प्रशंसा गर्ने प्रत्याशाले गर्दा हजार वर्षीय शासनको दौडान चल्ने शैक्षिक कार्यक्रम साँच्चै आनन्ददायी हुनेछ। तथापि, जीवनको पुस्तकमा दिइएका कुराहरू सिकेपछि व्यक्‍तिगत तवरमा हामी के गर्छौं, त्यो सबैभन्दा महत्त्वपूर्ण हुनेछ। के हामी आफूले सिकेका कुराहरू व्यवहारमा उतार्नेछौं? सत्यबाट हामीलाई तर्काउने शैतानको अन्तिम प्रयासको प्रतिरोध गर्न हामीलाई बलियो बनाउने ती अत्यावश्‍यक जानकारीबारे मनन गर्नुका साथै के हामी ती कुराहरू व्यवहारमा उतार्नेछौं?

१२. शैक्षिक कार्य तथा पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने कार्यमा पूरापूर भाग लिन प्रत्येकलाई कुन कुराले मदत गर्नेछ?

१२ ख्रीष्टको छुडौतीको बलिदानका लाभहरू लागू गर्दा प्राप्त हुने अद्‌भुत आशिष्‌हरू पनि हामीले बिर्सनु हुँदैन। पुनरुत्थानद्वारा जीवन प्राप्त गर्नेहरूले अहिलेको जस्तो अस्वस्थता वा अशक्‍तता भोग्नु पर्नेछैन। (यशैया ३३:२४) स्वस्थ शरीर अनि सिद्ध स्वास्थ्यको प्रत्याशाले गर्दा नयाँ संसारका सबै बासिन्दाहरूले पुनरुत्थान भएका अरबौं मानिसहरूलाई जीवनको मार्ग सिकाउने शैक्षिक कार्यमा पूरापूर भाग लिन पाउनेछन्‌। यस पृथ्वीमा पहिला कहिल्यै नगरिएको विशाल काममा पनि ती बासिन्दाहरूले भाग लिनेछन्‌। त्यो हो, सम्पूर्ण ग्रह नै एउटा प्रमोदवनमा परिणत गर्ने जसले यहोवाको प्रशंसा गर्नेछ।

१३, १४. अन्तिम परीक्षा हुँदा शैतानलाई छुटकारा दिनुको उद्देश्‍य के हो अनि व्यक्‍तिगत तवरमा हामीले कस्तो परिणाम भोग्न सक्ने सम्भावना छ?

१३ अन्तिम परीक्षाको लागि शैतानलाई अगाध खाँदबाट छोडिएपछि त्यसले मानिसहरूलाई फेरि पनि बहकाउन खोज्नेछ। प्रकाश २०:७-९ अनुसार शैतानको दुष्ट प्रभावको सिकार भएर ‘ठगिने देश’ अर्थात्‌ मानिसहरूको समूह सबैले विनाशको न्याय भोग्नेछन्‌: ‘स्वर्गबाट आगो वर्षेर तिनीहरूलाई भस्म गर्नेछ।’ तिनीहरूमध्ये हजार वर्षीय शासनको दौडान पुनरुत्थान भएकाहरूको लागि यो दण्डको इन्साफको पुनरुत्थान हुनेछ। यसको विपरीत, पुनरुत्थान भएपछि निष्ठा पालन गर्नेहरूले भने अनन्त जीवनको वरदान पाउनेछन्‌। निस्सन्देह, तिनीहरूको पुनरुत्थान “जीवनको पुनरुत्थान” हुनेछ।—यूहन्‍ना ५:२९.

१४ पुनरुत्थानको आशाले हामीलाई अहिल्यै पनि कसरी सान्त्वना दिन सक्छ? अझ महत्त्वपूर्ण कुरा, भविष्यमा पुनरुत्थानले प्रदान गर्ने आशिष्‌हरू पाउन हामीले के गर्नै पर्छ?

अहिले सिक्न सकिने पाठहरू

१५. पुनरुत्थानमाथिको विश्‍वासले हामीलाई अहिल्यै कसरी मदत गर्न सक्छ?

१५ मृत्युको कारण हालै तपाईंले आफ्नो प्रियजन गुमाउनुपरेको होला अनि त्यसरी गुमाउनु पर्दा आइपरेको अवस्थासित सामना गर्न निकै ठूलठूला छाँटकाँटहरू गरिरहनुभएको होला। पुनरुत्थानको आशाले तपाईंलाई आन्तरिक शान्ति र बल प्राप्त गर्न मदत गर्छ जुन कुरा सत्य थाह नपाएका व्यक्‍तिहरूले पाउन सक्दैनन्‌। पावलले थिस्सलोनिकीहरूलाई यसरी सान्त्वना दिए: “मरिजानेहरूको विषयमा तिमीहरू अजान बस भन्‍ने हामी इच्छा गर्दैनौं, कि आशा नहुने अरू बाँकीहरूले जस्तो शोक नगर।” (१ थिस्सलोनिकी ४:१३) के तपाईं नयाँ संसारमा पुनरुत्थान भएको दृश्‍य हेरिरहेको कल्पना गर्न सक्नुहुन्छ? त्यसो हो भने, आफ्ना प्रियजनहरूलाई फेरि भेट्‌न पाउने प्रत्याशामा मनन गरेर अहिले सान्त्वना पाउनुहोस्‌।

१६. पुनरुत्थान भएपछि सम्भवतः तपाईंले कस्ता भावनाहरू महसुस गर्नुहुनेछ?

१६ आदमको विद्रोहले निम्त्याएको शारीरिक परिणामस्वरूप सायद तपाईं अहिले कुनै प्रकारको अस्वस्थतासित सङ्‌घर्ष गरिरहनुभएको होला। नयाँ संसारमा पुनरुत्थान भएर नवीन स्वास्थ्य र जोसका साथ फेरि जीवन पाउने आनन्दमय प्रत्याशालाई यस्तो रोगको कारण हुने पीडाले बिर्साउन नदिनुहोस्‌। त्यतिबेला जब तपाईंको आँखा खुल्नेछ अनि तपाईंको पुनरुत्थान भएकोमा आफ्नो आनन्द बाँड्‌न पर्खिरहेका उत्सुक मुहारहरू देख्नुहुनेछ, तब परमेश्‍वरको करुणाको लागि उहाँलाई धन्यवाद दिन तपाईंले अवश्‍य बिर्सनुहुनेछैन।

१७, १८. हामीले कुन दुइटा महत्त्वपूर्ण पाठ आफ्नो हृदयमा राख्नुपर्छ?

१७ तर त्यतिन्जेल, हामीले आफ्नो हृदयमा राख्नुपर्ने दुईवटा पाठलाई विचार गर्नुहोस्‌। एउटा हो, अहिले पूरा तनमनले यहोवाको सेवा गर्नुको महत्त्व। हाम्रा मालिक, ख्रीष्ट येशूको अनुकरण गर्दै हामीले बिताउने आत्मत्यागी जीवनले यहोवा र हाम्रा छिमेकीहरूप्रतिको प्रेम प्रदर्शन गर्छ। विरोध वा सतावटले गर्दा हाम्रो जीविकोपार्जन गर्ने बाटो वा हाम्रो स्वतन्त्रता खोसियो अनि जस्तोसुकै परीक्षाहरू सामना गर्नुपरे तापनि विश्‍वासमा दृढ रहिरहन हामी कटिबद्ध छौं। विरोधीहरूले हाम्रो ज्यानै लिने धम्की दिए तापनि पुनरुत्थानको आशाले यहोवा र उहाँको राज्यप्रति वफादार रहिरहन सुदृढ पार्नुका साथै हामीलाई सान्त्वना दिन्छ। हो, परमेश्‍वरको राज्यको प्रचार तथा चेला बनाउने कार्यप्रति जोसको कारण हामी परमेश्‍वरले धर्मीहरूको लागि साँच्नुभएको अनन्त आशिष्‌हरू पाउने आशा गर्न सक्छौं।

१८ दोस्रो पाठ, पतित शरीरले गर्दा आइपर्ने प्रलोभनहरू हामी कसरी सामना गर्छौं, त्यससित सम्बन्धित छ। पुनरुत्थानको आशाबारे हाम्रो ज्ञान अनि यहोवाको असीम अनुग्रहप्रति हाम्रो मूल्याङ्‌कनले विश्‍वासमा दृढ रहिरहने हाम्रो सङ्‌कल्पलाई अझ सुदृढ बनाउँछ। प्रेरित यूहन्‍नाले यस्तो चेतावनी दिए, “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो। औ संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।” (१ यूहन्‍ना २:१५-१७) हामीलाई आकर्षित गर्न संसारले चलाउने भौतिकवादप्रति संसारको मोहलाई “साँच्चै[को] जीवन[सित]” तुलना गर्दा हामी यसप्रति आकर्षित हुनेछैनौं। (१ तिमोथी ६:१७-१९) अनैतिकतामा संलग्न हुने प्रलोभन आइपर्दा दृढ भई हामी त्यसको प्रतिरोध गर्नेछौं। यहोवालाई अप्रसन्‍न तुल्याउने आचरणमा लागिरहेका छौं भने कारणवश आर-मागेडोन आउनुअघि नै हाम्रो मृत्यु भएको खण्डमा पुनरुत्थानको आशा नभएकाहरूको जस्तै परिणाम हामीले पनि यहोवाबाट भोग्नेछौं भनेर बुझेका छौं।

१९. कुन अतुलनीय विशेषाधिकारलाई हामीले बिर्सनु हुँदैन?

१९ सबैभन्दा महत्त्वपूर्ण कुरा, अहिले अनि सदासर्वदाको लागि यहोवाको हृदयलाई आनन्दित तुल्याउने हाम्रो अतुलनीय विशेषाधिकारलाई हामीले कहिल्यै बिर्सनु हुँदैन। (हितोपदेश २७:११) मृत्युसम्मै वफादार भयौं वा यस दुष्ट रीतिरिवाजको अन्त नहोउन्जेल निष्ठावान्‌ रहिरह्‍यौं भने विश्‍वव्यापी सार्वभौमिकताको विवादमा हामी कसको पक्षमा छौं भनेर यहोवालाई देखाइरहेका हुन्छौं। महासंकष्टबाट बचेर वा चमत्कारपूर्ण ढङ्‌गले पुनरुत्थान भएर पार्थिव प्रमोदवनमा जीवन बिताउन पाउनु कस्तो आनन्ददायी हुनेछ!

हाम्रा इच्छाहरू तृप्त पार्ने

२०, २१. पुनरुत्थानबारे कतिपय प्रश्‍नहरूको जवाफ हामीले अझै नपाए तापनि कुन कुराले हामीलाई विश्‍वासी रहिरहन मदत गर्नेछ? व्याख्या गर्नुहोस्‌।

२० पुनरुत्थानबारे यस छलफलपछि पनि हामीले आफ्ना सबै प्रश्‍नहरूको जवाफ पाइसकेका छैनौं। विवाहित व्यक्‍तिहरूको मृत्यु हुँदा यहोवाले तिनीहरूको लागि कस्तो प्रबन्ध मिलाउनुहुनेछ? (लूका २०:३४, ३५) मानिसहरू जुन इलाकामा मरेका थिए, के तिनीहरू त्यहीं नै पुनरुत्थान हुनेछन्‌? के आफ्ना परिवारहरू जहाँ छन्‌, मृतकहरूको पुनरुत्थान त्यसको नजिकै हुनेछ? पुनरुत्थानको प्रबन्धसित सम्बन्धित अरू थुप्रै प्रश्‍नहरू बाँकी छन्‌। जेहोस्‌, यर्मियाका यी शब्दहरू हामीले बिर्सनु हुँदैन: “परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चूपचाप परमप्रभुको उद्धारको बाटो हेर्नु, मानिसहरूलाई असल हुन्छ।” (विलाप ३:२५, २६) यहोवाले तोक्नुभएको समयमा हाम्रा सबै प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ पाउनेछौं। यसबारे हामी किन पक्का हुन सक्छौं?

२१ यहोवाबारे भजन गाउँदा भजनहारले व्यक्‍त गरेका यी प्रेरित शब्दहरूमा मनन गर्नुहोस्‌: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।” (भजन १४५:१६) उमेरअनुसार हाम्रा इच्छाहरू पनि परिवर्तन हुन्छन्‌। केटाकेटी छँदा हामीले जुन कुरा चाहेका थियौं, त्यो अहिले चाहँदैनौं। हामीले जीवनमा भोगेका कुराहरू अनि हाम्रा आशाहरूले जीवनप्रति हाम्रो दृष्टिकोणलाई असर गर्छ। तैपनि, नयाँ संसारमा हाम्रा जे-जति उचित इच्छाहरू हुन्छन्‌, ती सबै यहोवाले अवश्‍य पूरा गर्नुहुनेछ।

२२. यहोवाको प्रशंसा गर्ने ठोस कारण हामीसित किन छ?

२२ अहिले हामी प्रत्येकले गर्नुपर्ने मुख्य कुरा भनेको विश्‍वासी रहनु हो। “कारिन्दाहरूमानै मानिस विश्‍वासी पाइओस्‌ भन्‍ने चाहिएको छ।” (१ कोरिन्थी ४:२) हामी परमेश्‍वरको राज्यको महिमित सुसमाचारका कारिन्दाहरू हौं। हामीले भेट्‌ने सबै मानिसलाई यो सुसमाचार बताउन लगनशील भयौं भने जीवनको मार्गमा हिंडिरहन मदत पाउनेछौं। अनि “समय र अवसरले” हामी सबैलाई वशमा पारेको हुन्छ भनेर पनि कहिल्यै नबिर्सनुहोस्‌। (उपदेशक ९:११) जीवनका अनिश्‍चितताहरूले गर्दा आइपर्ने जस्तोसुकै चिन्ता कम गर्न पुनरुत्थानको महिमित आशालाई बलियो गरी पक्रिराख्नुहोस्‌। ख्रीष्टको हजार वर्षीय शासन सुरु हुनुअघि नै तपाईंको मृत्यु होला जस्तो लागे तापनि तपाईंले अवश्‍य छुटकारा पाउनुहुनेछ भन्‍ने निश्‍चिततामा सान्त्वना पाउन सक्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। यहोवाको तोकिएको समयमा तपाईंले पनि अय्यूबका यी शब्दहरू दोहोऱ्‍याउन सक्नुहुनेछ जसले सृष्टिकर्तालाई यसो भनेका थिए: “तपाईंले मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ।” यहोवा सबै प्रशंसाको योग्य हुनुहुन्छ जसले उहाँको सम्झनामा हुनेहरू सबैको पुनरुत्थान गर्ने तीव्र इच्छा गर्नुहुन्छ।—अय्यूब १४:१५.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित अवेक! जुलाई ८, १९८८ को पृष्ठ १० हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज्‌ विट्‌नेसेज—प्रोक्लेमर्स अफ गड्‌स किङगडम, पृष्ठ ६६२.

के तपाईंलाई याद छ?

• हजार वर्षीय शासनको दौडान कुन आधारमा मानिसहरूको न्याय गरिनेछ?

• किन कोही-कोहीले “जीवनको पुनरुत्थान” र कोही-कोहीले “इन्साफको पुनरुत्थान” पाउनेछन्‌?

• पुनरुत्थानको आशाले अहिले हामीलाई कसरी सान्त्वना दिन सक्छ?

• पुनरुत्थानसम्बन्धी अहिले जवाफ नपाएका थुप्रै प्रश्‍नहरूको जवाफ पर्खन भजन १४५:१६ का शब्दहरूले कसरी मदत गर्छ?

[प्रश्‍नहरू]

[पृषठ २१-मा भएका चित्रहरू]

पुनरुत्थानमाथिको विश्‍वासले हामीलाई अहिले कसरी मदत गर्न सक्छ?