सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुनरुत्थान एउटा महिमित प्रत्याशा

पुनरुत्थान एउटा महिमित प्रत्याशा

पुनरुत्थान एउटा महिमित प्रत्याशा

पुनरुत्थानमा विश्‍वास गर्ने चलन व्याप्त छ। इस्लाम धर्मको पवित्र पुस्तक कुरानको एउटा अध्यायभरि पुनरुत्थानबारे चर्चा गरिएको पाउँछौं। सुरा ७५ को एउटा अंश यसो भन्छ: “पुनरुत्थानको दिनको नाउँमा म कसम खान्छु . . . के मानिसलाई हामी तिनका हड्डीहरू जोडजाड गर्न सक्दैनौं जस्तो लाग्छ? . . . तिनी सोध्छन्‌: ‘पुनरुत्थान हुने दिन कहिला आउँछ?’ के उहाँसित (जो त्यही हुनुहुन्छ) मरेकालाई जीवित पार्ने शक्‍ति छैन र?”—सुरा ७५:१-६, ४०.

द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका यसो भन्छ, “जरथ्रुस्तवादले दुष्टमाथि अन्तिम विजय, सर्वसाधारणको पुनरुत्थान, अन्तिम न्याय र सफा संसार धार्मिकतामा पुनर्स्थापित हुने कुरामा विश्‍वास गर्छ।”

इन्साइक्लोपीडिया जुडाइका-ले पुनरुत्थानलाई “अन्तमा, मरेका मानिसहरू पुनर्जीवित हुनेछन्‌ र पृथ्वीमा फेरि बाँच्नेछन्‌ भन्‍ने विश्‍वास हो” भनी परिभाषित गरेको छ। मानिस मरे पनि उसको प्राण अमर रहिरहन्छ भन्‍ने यहूदी धर्मले स्वीकारेको विश्‍वासले द्विविधा खडा गर्छ भनी त्यही सन्दर्भ सामग्री टिप्पणी गर्छ। सन्दर्भ सामग्री यसरी स्वीकार्छ: “वास्तवमा पुनरुत्थान अनि अमर प्राणसम्बन्धी दुईवटा विश्‍वास एक-आपसमा ठ्याक्कै मेल खाँदैन।”

हिन्दू धर्ममा मानिसले धेरै चोटि जन्म लिन्छ भनी सिकाइन्छ। यो कुरा साँचो हो भने त मानिससित मृत्युपछि पनि जीवित रहिरहने प्राण हुनै पर्छ। हिन्दूहरूको पवित्र पुस्तक भागवत गीता यसो भन्छ: “शरीरको अङ्‌ग-अङ्‌गमा हुने प्राण अविनाशी हुन्छ। त्यस अविनाशी प्राणलाई कसैले पनि विनाश गर्न सक्दैन।”

बौद्ध धर्मको विचार हिन्दू धर्मको भन्दा भिन्‍न छ किनभने बौद्ध धर्मले प्राण अमर हुन्छ भन्‍ने कुरामा विश्‍वास गर्दैन। यद्यपि, अहिले पूर्वी एसियाका थुप्रै बौद्धमार्गीहरूले एक ठाउँबाट अर्को ठाउँमा सर्ने अमर प्राणमा विश्‍वास गर्न थालेका छन्‌। a

पुनरुत्थानको शिक्षाबारे अन्योल

मसीहीजगत्‌ले अन्त्येष्टिको बेला एकातिर मृत्युपछि प्राण अमर रहिरहन्छ भनी बताउँछ भने अर्कोतिर पुनरुत्थानबारे पनि चर्चा गर्छ। उदाहरणका लागि, एङ्‌गलिकन पादरीहरूले प्रायजसो यी शब्दहरू दोहोऱ्‍याउने गर्छन्‌: “ठूलो कृपाको कारण सर्वशक्‍तिमान्‌ परमेश्‍वरले हाम्रो प्रिय भाइको प्राण लिने इच्छा गर्नुभएको कारण माटो माटोमै, खरानी खरानीमै अनि धूलो धूलोमै मिलेजस्तै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा पुनरुत्थान भएर अनन्त जीवनको पक्का तथा निश्‍चित आशा राख्दै हामी उनको शरीरलाई जमिनमै फर्काउँदैछौं।”— द बूक अफ कमन प्रेयर।

यस्तो भनाइबाट त जो कोही पनि बाइबलले पुनरुत्थानको शिक्षा सिकाउँछ कि प्राण अमर रहन्छ भन्‍ने धर्मसिद्धान्त सिकाउँछ भनी गोलमालमा पर्न सक्छन्‌। तथापि, फ्रेन्च प्रोटेस्टेन्ट प्रोफेसर अस्कर कुलमानको भनाइ विचार गर्नुहोस्‌। इमोरटालिटी अफ द सोल अर रेजरेक्सन अफ द डेड? (प्राणको अमरता वा मरेकाहरूको पुनरुत्थान) नामक आफ्नो पुस्तकमा तिनी यस्तो लेख्छन्‌: “मरेका व्यक्‍तिहरूको पुनरुत्थान हुन्छ भन्‍ने मसीहीहरूको विश्‍वास र प्राण अमर रहन्छ भन्‍ने युनानी विश्‍वासबीच आकाश जमिनको फरक छ। . . . हुन त पछि मसीही धर्मले यी दुई विश्‍वासबीच सम्बन्ध जोड्‌नुका साथै आज साधारण मसीहीहरूले ती दुई विश्‍वासबीचको भिन्‍नता बताउन नसके तापनि मलगायत अन्य बहुसङ्‌ख्यक शास्त्रविद्‌हरूलाई जुन कुरा सही लागेको छ त्यो कुरा गोप्य राख्नुपर्ने म कुनै कारण देख्तिनँ। . . . नयाँ नियमको मूल आशय भनेकै पुनरुत्थानमाथिको विश्‍वास हो। . . . मरिसकेको व्यक्‍तिलाई परमेश्‍वरको नयाँ सृजनात्मक कार्यद्वारा पुनर्जीवित पारिन्छ।”

त्यसैकारण मृत्यु र पुनरुत्थानबारे सर्वसाधारण अन्योलमा पर्नु स्वाभाविकै हो। यो अन्योल हटाउन हामीले बाइबल जाँच्नुपर्छ, जहाँ मानिसको सृष्टिकर्ता यहोवा परमेश्‍वरले प्रकट गर्नुभएका सत्य कुराहरू छन्‌। बाइबलमा पुनरुत्थानका थुप्रै घटनाहरू पाइन्छन्‌। आउनुहोस्‌, अब हामी ती विवरणहरूमध्ये चारवटालाई केलाएर हेरौं र ती विवरणले के प्रकट गर्छ, विचार गरौं।

“स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए”

मसीही भएका यहूदीहरूलाई लेखेको आफ्नो पत्रमा प्रेरित पावलले विश्‍वासी स्त्रीहरूले “आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए” भनी बताए। (हिब्रू ११:३५) ती स्त्रीहरूमध्ये एउटी भूमध्यसागरको तटमा अवस्थित सीदोन नजिकैको फोनिसियाली सहर सारपतमा बसोबास गर्थिन्‌। तिनी एउटी विधवा थिइन्‌ जसले परमेश्‍वरका अगमवक्‍ता एलियालाई अतिथिसत्कार देखाउनुका साथै घोर अनिकालको बेला पनि तिनलाई खानेकुरा दिएकी थिइन्‌। दुःखको कुरा, त्यस स्त्रीको छोरा बिरामी पऱ्‍यो र मऱ्‍यो। एलियाले तुरुन्तै उसलाई आफू बसेको कौसीको कोठामा लगे र त्यस ठिटोको जीवन फर्काइदिन यहोवासँग बिन्ती गरे। एउटा चमत्कार भयो र त्यो ठिटो “पुनर्जीवित भयो।” एलियाले त्यसलाई त्यसकी आमाको जिम्मा लगाउँदै यसो भने: “हेर त, तिम्रो छोरो जीवित भयो।” तिनले कस्तो प्रतिक्रिया देखाइन्‌? खुसी हुँदै तिनले यसो भनिन्‌: “अब मलाई यो निश्‍चय थाह भयो कि तपाईं परमेश्‍वरका जन हुनुहुँदोरहेछ, औ तपाईंको मुखबाट निस्केको परमप्रभुको वचन सत्य रहेछ।”—१ राजा १७:२२-२४.

सारपतबाट झन्डै १०० किलोमिटर दक्षिणमा एक उदार दम्पती बस्थे जसले एलियाको उत्तराधिकारी अगमवक्‍ता एलीशाको हेरविचार गरेका थिए। पत्नीचाहिं आफ्नो गृह नगर शुनैमकी एक प्रतिष्ठित स्त्री थिइन्‌। आफ्नो घरको कौसीको कोठामा एलीशालाई राख्न तिनी तथा तिनको पति राजी भए। आफ्नो सन्तान नभएकोमा ती दम्पती दुःखी थिए तर त्यस स्त्रीले छोरा पाउँदा छोराछोरी नहुँदाको उनीहरूको पीडा हर्षमा परिणत भयो। छोरो बढेपछि ऊ अक्सर आफ्नो बुबा भएको ठाउँमा कटनी गर्नेहरूकहाँ जाने गर्थ्यो। एक दिनको कुरा हो अचानक दुःख प्रहार भयो। कपाल दुख्यो, कपाल दुख्यो भन्दै त्यो केटो कराउन थाल्यो। नोकरले उसलाई हत्त न पत्त घरमा लग्यो। तिनकी आमाकहाँ पुऱ्‍यायो र आमाले उसलाई आफ्नो काखमा राखिन्‌ तर केही समयपछि केटोको मृत्यु भयो। चिन्तित आमाले मदतको लागि एलीशालाई बोलाउने विचार गरिन्‌। आफ्नो नोकरसँग तिनी एलीशा बस्ने ठाउँ उत्तरपश्‍चिमस्थित कर्मेल डाँडातिर लागिन्‌।

सबै कुरा सुनिसकेपछि अगमवक्‍ताले आफ्नो चाकर गेहजीलाई अगि-अगि पठाए र चाकरले साँच्चै ठिटो मरिसकेको भेट्टाए। पछि एलीशा र ती स्त्री पनि आइपुगे तर उनीहरू शुनैम आइपुग्दासम्म के भइसकेको थियो? दोस्रो राजा ४:३२-३७ को विवरण यसो भन्छ: “एलीशा घरभित्र पसे र तिनले ओछ्यानमा राखेको त्यस ठिटालाई मरिसकेको भेट्टाए। तिनी कोठाभित्र पसेपछि ढोका थुनेर परमप्रभुलाई प्रार्थना गरे। त्यसपछि ओछ्यानमाथि चढेर आफ्नो मुख त्यसको मुखमा, आफ्नो आँखा त्यसका आँखामा र आफ्ना हात त्यसका हातमा राखेर त्यस बालकमाथि लमतन्‍न पस्रिए, औ जब तिनले त्यसलाई थिचे तब त्यस बालकको शरीर तातो हुँदै आयो। एलीशा उठेर एकपल्ट कोठाभित्र यताउता हिंडे। त्यसपछि फेरि ओछ्यानमा चढेर तिनी त्यसमाथि लमतन्‍न परे। त्यस ठिटाले सात खेप छिउँ काढ्यो। तब त्यस ठिटाले आँखा खोल्यो। तब ती अगमवक्‍ताले गेहजीलाई बोलाएर भने, “त्यो शुनैमी स्त्रीलाई बोलाऊ।” त्यसले तिनलाई बोलायो। तब अगमवक्‍ताले भने, “तिम्रो बालकलाई लैजाऊ।” तिनी भित्र आइन्‌ र उनको सामने घोप्टो परिन्‌। त्यसपछि आफ्नो छोरालाई लगेर तिनी बाहिर निस्किन्‌।”

सारपतकी विधुवालाई जस्तै शुनैमकी स्त्रीलाई पनि जे भयो त्यो परमेश्‍वरको शक्‍तिले गर्दा भएको हो भन्‍ने कुरा थाह थियो। यी दुवै स्त्री खुसीले गद्‌गद भए किनभने परमेश्‍वरले उनीहरूका मुटुको टुक्राजस्तो प्यारो सन्तानलाई पुनर्जीवित पार्नुभएको थियो।

येशूको सेवकाईको दौडान भएका पुनरुत्थानहरू

लगभग ९०० वर्षपछि शुनैमको उत्तरी भाग नजिकै पर्ने नाइन गाउँबाहिर एउटा पुनरुत्थान भएको थियो। येशू ख्रीष्ट र उहाँका चेलाहरू कफर्नहुमदेखि भ्रमण गर्दै नाइनको ढोका नजिक पुग्नुभएपछि उहाँहरूले एउटा मुर्दा लगिंदै गरेको भेट्‌नुभयो अनि येशूले एउटी विधवालाई देख्नुभयो जसले आफ्नो एउटा भएको छोरो पनि गुमाएकी थिइन्‌। येशूले तिनलाई नरुन भन्‍नुभयो। त्यसपछि के भयो भन्‍ने विषयमा चिकित्सक लूकाले यसो भने: “नजिक गएर [येशूले] अर्थी छुनुभयो, र बोक्नेहरू टक्क अडिए। अनि उहाँले भन्‍नुभयो, ‘ए युवक, म तिमीलाई भन्दछु, उठ।’ तब जो मरेको थियो उठेर बस्यो, र बोल्नलाग्यो, औ उहाँले त्यसलाई आमाको जिम्मा लगाउनुभयो।” (लूका ७:१४, १५) यो चमत्कार देख्ने मानिसहरूले परमेश्‍वरको महिमा गरे। पुनरुत्थानको खबर दक्षिणतिर पर्ने यहूदिया र त्यसको आसपासका जिल्लाहरूमा फैलियो। चाखलाग्दो कुरा के छ भने, बप्तिस्मा दिने यूहन्‍नाका चेलाहरूले यसबारे सुने र यूहन्‍नालाई चमत्कारबारे बताए। फलस्वरूप, तिनले उनीहरूलाई येशू खोज्न पठाए र उहाँ नै प्रतीक्षा गरिएको मसीह हुनुहुन्छ कि भनी सोध्न लगाए। येशूले उनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू आफ्नो बाटो लाग, र जे तिमीहरूले देख्यौ र सुन्यौ, गएर सो यूहन्‍नालाई भन, अर्थात्‌ अन्धाहरूले दृष्टि पाउँछन्‌, लङ्‌गडाहरू हिंड्‌छन्‌, कोरीहरू शुद्ध हुन्छन्‌, बहिराहरू सुन्छन्‌, मुर्दाहरू बिउँतन्छन्‌, गरीबहरूलाई सुसमाचार सुनाइन्छन्‌।”—लूका ७:२२.

येशूले चमत्कारपूर्ण ढङ्‌गमा गर्नुभएका पुनरुत्थानहरूमध्ये सबैभन्दा प्रख्यात आफ्नै घनिष्ठ मित्र लाजरसको पुनरुत्थान थियो। यस सन्दर्भमा चाहिं येशू तिनको परिवारकहाँ आइपुग्नुभन्दा अघि नै लाजरसको मृत्यु भइसकेको थियो। अन्तमा येशू बेथानी आइपुग्नुहुँदा लाजरस मरेको चार दिन भइसकेको थियो। येशूले ओढारको मुखमा भएको ढुढ्‌गा हटाउने निर्देशन दिनुहुँदा मार्थाले आपत्ति जनाउँदै यसो भनिन्‌: “हे प्रभु, यस बेलासम्म ता त्यो गह्नाउन लागिसक्यो होला, किनकि चार दिन भइसक्यो।” (यूहन्‍ना ११:३९) यद्यपि, लाजरसको शरीर जतिसुकै कुहिसकेको भए तापनि त्यसले पुनरुत्थान हुनदेखि रोकेन। येशूले आज्ञा गर्नुभएपछि “त्यो मरेको मान्छे हातखुट्टा बाँधिएको कात्रोसहित निस्की आयो। तिनको अनुहार रुमालले बेह्रिएको थियो।” पुनरुत्थानको त्यस घटनापछि येशूका शत्रुहरूले गरेको कर्तुतबाट पुनर्जीवित हुने व्यक्‍ति पक्का लाजरस नै थियो भन्‍ने कुरा यकिन भयो।—यूहन्‍ना ११:४३, ४४; १२:१, ९-११.

पुनरुत्थानका यी चारवटा विवरणबाट हामी कस्तो निष्कर्षमा पुग्न सक्छौं? पुनरुत्थान भएका सबै जना काटीकुटी पहिलेकै व्यक्‍तिको रूपमा पुनर्जीवित भएका थिए। उनीहरू सबैलाई सबैले, अझ भनौं भने उनीहरूका नजिकका नातेदारहरूले पनि चिने। पुनरुत्थान भएका कसैले पनि आफू मरेको छोटो अवधिभित्र के-के भयो भनी बताएनन्‌। कसैले पनि अर्को संसारमा गयौं भनी बताएनन्‌। स्पष्ट छ, उनीहरू सबै जना एकदम राम्रो अवस्थामा पुनः जीवित भए। उनीहरूका लागि यो मृत्यु त येशूले सङ्‌केत गर्नुभएझैं केही समय सुतेर उठेजत्तिकै थियो। (यूहन्‍ना ११:११) यद्यपि, केही समयपछि पुनरुत्थान भएका सबै जनाको फेरि मृत्यु भयो।

प्रियजनहरूसित पुनर्मिलन —एउटा महिमित प्रत्याशा

अघिल्लो लेखमा उल्लिखित ओवेनको मृत्यु भएको अलि समयपछि तिनको बुबा एक जना छिमेकीको घरमा गए। त्यहाँ तिनले टेबुलमा यहोवाका साक्षीहरूले आयोजना गरेको जनभाषणबारे बताइएको एउटा हातेपर्चा देखे। “ह्वेयर आर द डेड?” अर्थात्‌ “मरेका व्यक्‍तिहरू कहाँ छन्‌?” भन्‍ने भाषणको शीर्षकले तिनको ध्यान खिच्यो। तिनको मनमा त्यही प्रश्‍न खेलिरहेको थियो। तिनी त्यस जनभाषणमा उपस्थित भए र बाइबलबाट साँचो सान्त्वना प्राप्त गरे। मरेका मानिसहरूले दुःख पाउँदैनन्‌ भन्‍ने कुरा तिनले बुझे। नरकको आगोमा सास्ती भोग्नुको सट्टा अथवा स्वर्गमा स्वर्गदूतहरू हुन परमेश्‍वरले उठाइलैजानुको सट्टा पुनरुत्थान भएर ब्यूँतने समय नहोउन्जेल ओवेनलगायत मरेका अन्य व्यक्‍तिहरू चिहानमा पर्खेर बस्छन्‌।—उपदेशक ९:५, १०; इजकिएल १८:४.

के तपाईंको परिवारमा दुःख प्रहार भएको छ? ओवेनको बुबाजस्तै के तपाईं हाल आफ्नो मृत प्रियजनहरू कहाँ होलान्‌ र उनीहरूलाई फेरि भेट्‌न पाइएला कि नपाइएला भनी सोच्नुहुन्छ? यदि त्यसो हो भने, पुनरुत्थानबारे बाइबलले थप कस्ता शिक्षाहरू सिकाउँछ, सो जाँच्न हामी तपाईंहरूलाई आमन्त्रित गर्छौं। तपाईंको मनमा यस्ता प्रश्‍नहरू होलान्‌: ‘पुनरुत्थान कहिले हुनेछ? यसबाट खास गरी क-कसले लाभ उठाउनेछन्‌?’ यी तथा अन्य प्रश्‍नहरूको छलफलको लागि कृपया यसपछिका लेखहरू पढ्‌नुहोस्‌।

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित म्यानकाइन्ड्‌स सर्च फर गड पुस्तकको पृष्ठ १५०-१५४ हेर्नुहोस्‌।

[पृष्ठ ५-मा भएको चित्र]

शुनैमकी स्त्रीको छोराको पुनरुत्थान गर्न यहोवाले एलीशालाई चलाउनुभयो

[पृष्ठ ५-मा भएको चित्र]

एउटा केटोको जीवन फर्काइदिन एलियाले यहोवासँग बिन्ती गरे

[पृष्ठ ६-मा भएको चित्र]

येशूले नाइनकी विधवाको छोराको पुनरुत्थान गर्नुभयो

[पृष्ठ ७-मा भएको चित्र]

पुनरुत्थानले मरेका व्यक्‍तिहरूका नातेदारहरूलाई उनीहरूका प्रियजनहरूसित पुनर्मिलन गराउनेछ