सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा

पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा

पुनरुत्थान—तपाईंलाई असर गर्ने शिक्षा

“धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु।”—प्रेरित २४:१५.

१.महासभासामु पुनरुत्थानको विषय कसरी एउटा विवाद बन्‍न पुग्यो?

 सा.यु. ५६ मा आफ्नो तेस्रो मिसनरी यात्राको अन्ततिर प्रेरित पावल यरूशलेममा थिए। रोमीहरूले गिरफ्तार गरेपछि पावललाई यहूदीहरूको उच्च अदालत, महासभासामु उपस्थित हुन अनुमति दिइएको थियो। (प्रेरित २२:२९, ३०) त्यस अदालतका सदस्यहरूलाई नियालिसकेपछि पावलले त्यहाँ कोही-कोही सदुकीहरूका साथै फरिसीहरू पनि उपस्थित भएको देखे। यी दुइटा समूहबीच एउटा उल्लेखनीय भिन्‍नता थियो। सदुकीहरू पुनरुत्थानमा विश्‍वास गर्दैनथे तर फरिसीहरू भने विश्‍वास गर्थे। यस विषयमा आफ्नो अडान प्रस्ट पार्न पावलले यस्तो घोषणा गरे: “हे भाइ हो, म ता फरिसीको छोरो फरिसीनै हुँ, मरेकाहरूका आशा र पुनरुत्थानको विषयको सवालमा मेरो मुद्दा भएको छ।” यसो भनेर तिनले त्यहाँ भेला भएका महासभाका सदस्यहरूबीच अन्योल उत्पन्‍न गराए!—प्रेरित २३:६-९.

२.पुनरुत्थानमाथि आफ्नो विश्‍वासको पक्षमा बोल्न पावल तयार हुनुको कारण के थियो?

वर्षौंअघि पावल दमीशकको बाटोमा यात्रा गरिरहेको बेला तिनले एउटा दर्शनमा येशूको आवाज सुने। पावलले येशूलाई यस्तो प्रश्‍नसमेत गरे: “हे प्रभु, अब के गरूँ?” येशूले यस्तो जवाफ दिनुभयो: “उठ, दमीशकमा जाऊ, र तिम्रो निम्ति गर्नुपर्ने तोकेका कामहरू तिमीलाई बताइनेछ।” दमीशकमा पुगेपछि हननिया भन्‍ने एक जना मदतकारी मसीही चेला पावललाई भेट्‌न आए जसले यसो भने: “हाम्रा पिता-पुर्खाका परमेश्‍वरले उहाँको इच्छा तपाईंले बुझ्न, र ती धार्मिक पुरुष [पुनरुत्थान हुनुभएको येशूलाई] देख्न, र उहाँको मुखबाट शब्द सुन्‍नसकोस्‌ भनेर तपाईंलाई नियुक्‍त गर्नुभएको छ।” (प्रेरित २२:६-१६) त्यसैकारण पुनरुत्थानमाथि आफ्नो विश्‍वासको पक्षमा बोल्न पावल तयार हुनु कुनै अचम्मको कुरा होइन।—१ पत्रुस ३:१५.

पुनरुत्थानको आशाबारे जनसमक्ष घोषणा गर्दै

३, ४. पावल कसरी पुनरुत्थानको शिक्षाको पक्षमा खडा हुने वफादार समर्थक साबित भए र तिनको उदाहरणबाट हामी के सिक्न सक्छौं?

पछि पावल बडाहाकिम फेलिक्सको सामु हाजिर भए। त्यसबेला पावलको विरुद्ध यहूदीहरूको पक्षमा लडिरहेका जन “वक्‍ता” तर्तुल्लसले पावललाई राजद्रोह र एउटा पन्थको अगुवा भएको आरोप लगाए। अलिकता पनि नहिचकिचाई पावलले यस्तो जवाफ दिए: “यो म हजूरकै सामने स्वीकार गर्दछु, कि जुन मार्गलाई तिनीहरू एउटा पन्थ भन्दछन्‌, त्यहीबमोजिम . . . मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा म गर्दछु।” त्यसपछि मुख्य विषयलाई सम्बोधन गर्दै तिनले यसो भने: “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेको छु, जुन आशाको यिनीहरू आफै पनि बाटो हेर्दछन्‌।”—प्रेरित २३:२३, २४; २४:१-८, १४, १५.

लगभग दुई वर्षपछि, कैदी बनाइएका पावललाई केरकार गर्न फेलिक्सका उत्तराधिकारी पोर्सिअस फेस्तसले राजा हेरोद अग्रिपालाई बोलाए। ‘मरिसकेको येशू अझै जिउँदैछन्‌’ भनी पावलले गरेको जिद्दीमा अभियोगीहरू सहमत नभएको कुरा फेस्तसले बताए। प्रतिवाद गर्दै पावलले यस्तो प्रश्‍न गरे: “परमेश्‍वरले मरेकाहरूलाई बिउँताउनुहुन्छ भन्‍ने कुरा किन तपाईं पत्याउनुहुन्‍न?” त्यसपछि तिनले यस्तो घोषणा गरे: “परमेश्‍वरबाट सहायता पाएको हुनाले, साना ठूला दुवैलाई गवाही दिंदै, र अगमवक्‍ताले र मोशाले पनि बोलेका वचनहरू अवश्‍य पूरा हुनेछन्‌ भन्‍ने कुराबाहेक अरू केही नबोलेर म आजको दिनसम्म खडा छु, कि कसरी ख्रीष्टले शासना भोग्नैपर्छ, र कसरी मरेकोबाट पहिले उहाँकै पुनरुत्थान भएर यी मानिसहरूलाई र अन्यजातिहरूलाई समेत ज्योतिको समाचार सुनाउनुपर्छ।” (प्रेरित २४:२७; २५:१३-२२; २६:८, २२, २३) साँच्चै, पावल पुनरुत्थानको शिक्षाको पक्षमा खडा हुने एक जना वफादार समर्थक थिए! पुनरुत्थान अवश्‍य हुनेछ भनेर पावलजस्तै हामी पनि विश्‍वस्त भएर घोषणा गर्न सक्छौं। तर हामी कस्तो प्रतिक्रियाको आशा गर्न सक्छौं? सम्भवतः पावलले जस्तै।

५, ६. (क) प्रेरितहरूले पुनरुत्थानको पक्षमा बोल्दा कस्तो प्रतिक्रिया प्राप्त भयो? (ख) पुनरुत्थानमा आफ्नो आशा व्यक्‍त गर्दा के गर्नु अत्यावश्‍यक छ?

यसअघि आफ्नो दोस्रो मिसनरी यात्राको दौडान (सा.यु. ४९-५२ तिर) पावल एथेन्स जाँदा के भएको थियो, विचार गर्नुहोस्‌। थुप्रै देवहरूमा विश्‍वास गर्ने मानिसहरूसित तिनले तर्क गरे अनि परमेश्‍वरले नियुक्‍त गर्नुभएको व्यक्‍तिद्वारा धर्मपूर्वक संसारको इन्साफ गर्ने परमेश्‍वरको उद्देश्‍यमा ध्यान दिन तिनले उनीहरूलाई आग्रह गरे। नियुक्‍त भएको यो व्यक्‍ति येशू नै हुनुहुन्थ्यो। येशूको पुनरुत्थान गरेर परमेश्‍वरले उक्‍त कुराको ग्यारेन्टी दिनुभएको थियो भनी पावलले बताए। मानिसहरूले कस्तो प्रतिक्रिया देखाए? विवरण यसो भन्छ: “जब तिनीहरूले पुनरुत्थानको कुरो सुने, तब कसैकसैले गिल्ला गरे। तर अरूहरूले चाहिं ‘हामी फेरि यस विषयमा तिम्रा कुरा सुन्‍नेछौं’ भने।”—प्रेरित १७:२९-३२.

यो प्रतिक्रिया, सा.यु. ३३ पेन्तिकोसभन्दा केही समयपछि पत्रुस र यूहन्‍नाले अनुभव गरेको जस्तै थियो। यो विवादमा पनि सदुकीहरूको प्रमुख भूमिका थियो। त्यतिबेला भएको घटनाबारे प्रेरित ४:१-४ यसो भन्छ: “जब तिनीहरू मानिसहरूसित बोल्दै थिए पूजाहारीहरू, मन्दिरका कप्तान र सदुकीहरू तिनीहरूमाथि आइलागे। किनकि तिनीहरूले मानिसहरूलाई शिक्षा दिएका, र येशूको उदाहरण दिएर पुनरुत्थान भएको कुरा प्रचार गरेको कारण यिनीहरू अति विचलित भएका थिए।” तथापि, अरू कतिपयले भने राम्रो प्रतिक्रिया देखाए। “वचन सुन्‍नेहरूमध्ये धेरैलेनै विश्‍वास गरे, र मानिसहरूको संख्या प्रायः पाँच हजार जति हुनआयो।” पुनरुत्थानको आशाबारे अरूलाई बताउँदा हामी पनि यस्तै मिश्रित प्रतिक्रिया आशा गर्न सक्छौं। यो कुरालाई विचार गर्दा पुनरुत्थानको शिक्षामा हाम्रो विश्‍वास बलियो बनाउनु अत्यावश्‍यक छ।

विश्‍वास र पुनरुत्थान

७, ८. (क) प्रथम शताब्दीको कोरिन्थ मण्डलीलाई लेखिएको पत्रअनुसार विश्‍वास कसरी व्यर्थ हुन सक्छ? (ख) पुनरुत्थानको आशाको सही बुझाइले साँचो मसीहीहरूलाई कसरी अलग्गै छुट्ट्याउँछ?

सा.यु. प्रथम शताब्दीमा मसीही बनेका सबैलाई पुनरुत्थानको आशा स्वीकार्न सजिलो भएन। कोरिन्थको मण्डलीका कोही-कोही सदस्यहरूलाई पुनरुत्थानको आशामा विश्‍वास गर्न गाह्रो भएको थियो। तिनीहरूलाई पावलले यस्तो लेखे: “सबैभन्दा पहिले मैले तिमीहरूलाई त्यो सुम्पिदिएँ जो मैले पाएको पनि थिएँ, अर्थात्‌ धर्मशास्त्रअनुसार कसरी ख्रीष्ट हाम्रा पापको निम्ति मरे, र गाडिए, औ धर्मशास्त्रैअनुसार तेस्रो दिनमा उहाँको पुनरुत्थान भयो।” त्यसपछि, पावलले यस सत्यको पुष्टि दिंदै पुनरुत्थान हुनुभएको येशू “पाँच सयभन्दा बढ्‌ता भाइहरूकहाँ देखा पर्नुभयो” भनी बताए जसमध्ये प्रायजसो त्यतिबेलासम्म अझै जीवित थिए भनेर पनि तिनले बताए। (१ कोरिन्थी १५:३-८) तिनले अझै यस्तो तर्क गरे: “मरेकाहरूबाट पुनरुत्थान हुनुभएको छ भन्‍ने ख्रीष्टको प्रचार हुन्छ भने, तिमीहरूमध्ये कसैकसैले मरेकाहरूको पुनरुत्थान हुँदैन भनी कसरी भन्छौ? तर मरेकाहरूको पुनरुत्थान हुँदैन भनेता! ख्रीष्ट पनि बिउँतनुभएको होइन। औ यदि ख्रीष्ट बिउँतनुभएको होइन भनेता, हाम्रो प्रचार व्यर्थ हो, र तिमीहरूको विश्‍वास पनि व्यर्थै भयो!”—१ कोरिन्थी १५:१२-१४.

हो, पुनरुत्थानको शिक्षा एउटा अत्यन्तै आधारभूत शिक्षा भएको हुँदा पुनरुत्थानलाई एउटा वास्तविकताको रूपमा नस्वीकार्ने हो भने मसीही विश्‍वास व्यर्थै हुनेछ। निस्सन्देह, पुनरुत्थानको शिक्षाको सही बुझाइले नै साँचो मसीहीहरू र झूटा मसीहीहरू अलग्गै छुट्टिन्छन्‌। (उत्पत्ति ३:४; इजकिएल १८:४) त्यसकारण पुनरुत्थानको शिक्षालाई पावलले मसीहीधर्मको “प्राथमिक सिद्धान्त[मा]” समावेश गरेका छन्‌। हामी “परिपक्वतातर्फ” अघि बढ्‌न कटिबद्ध होऔं। पावल यस्तो आग्रह गर्छन्‌: “यदि परमेश्‍वरको अनुमति भयो भने हामी यसै गर्नेछौं।”—हिब्रू ६:१-३, NRV.

पुनरुत्थानको आशा

९, १०. बाइबलमा प्रयोग गरिएको “पुनरुत्थान” शब्दको अर्थ के हो?

पुनरुत्थानमा हाम्रो विश्‍वासलाई अझ बलियो बनाउनको लागि आउनुहोस्‌ हामी यस्ता प्रश्‍नहरूमाथि विचार गरौं: बाइबलले पुनरुत्थान भनेर कुन कुरालाई बुझाउन खोजेको हो? पुनरुत्थानको शिक्षाले यहोवाको प्रेमलाई कसरी उच्च पार्छ? यी प्रश्‍नहरूको जवाफले हामीलाई यहोवासित नजिक बनाउनुका साथै पुनरुत्थानबारे अरूलाई सिकाउन मदत गर्नेछ।—२ तिमोथी २:२; याकूब ४:८.

१० “पुनरुत्थान” भनेको एउटा युनानी शब्दबाट अनुवाद गरिएको हो र यसको शाब्दिक अर्थ “फेरि उभिनु” हुन्छ। यो अभिव्यक्‍तिको अर्थ के हो? बाइबलअनुसार पुनरुत्थानको आशा भनेको मरिसकेको व्यक्‍ति फेरि बाँच्न सक्छ भन्‍ने दृढ विश्‍वास हो। मरिसकेको व्यक्‍ति आफ्नो पार्थिव वा स्वर्गीय आशाको आधारमा मानव वा आत्मिक शरीरमा पुनरुत्थान हुन्छ भनेर बाइबलले बताउँछ। पुनरुत्थानको यस अद्‌भुत प्रत्याशामा झल्किने यहोवाको प्रेम, बुद्धि र शक्‍ति देख्दा हामी आश्‍चर्यचकित हुन्छौं।

११. परमेश्‍वरका अभिषिक्‍त सेवकहरूको सामु पुनरुत्थानको कस्तो प्रत्याशा छ?

११ पुनरुत्थानद्वारा येशू र उहाँका अभिषिक्‍त भाइहरूले स्वर्गमा सेवा गर्नको लागि उपयुक्‍त आत्मिक शरीर प्राप्त गर्छन्‌। (१ कोरिन्थी १५:३५-३८, ४२-५३) येशू र उहाँका अभिषिक्‍त भाइहरूले मसीही राज्यका शासकहरूको रूपमा सेवा गर्नेछन्‌ र यही राज्यले पृथ्वीमा प्रमोदवनरूपी अवस्था ल्याउनेछ। प्रधान पूजाहारी येशूको नेतृत्वमा अभिषिक्‍त भाइहरू मिलेर एउटा शाही पूजाहारीगिरी बन्छ। धार्मिकताको नयाँ संसारमा ती अभिषिक्‍त जनहरूले ख्रीष्टको छुडौतीको बलिदानले सम्भव तुल्याउने लाभहरू मानिसजातिमाथि लागू गर्नेछन्‌। (हिब्रू ७:२५, २६; ९:२४; १ पत्रुस २:९; प्रकाश २२:१, २) त्यतिन्जेल, पृथ्वीमा अझै जीवित रहेका अभिषिक्‍त जनहरू भने परमेश्‍वरको सामु स्वीकार्य रहिरहने इच्छा गर्छन्‌। तिनीहरूको मृत्युपछि स्वर्गमा अमर आत्मिक जीवन बिताउन पुनरुत्थान हुँदा तिनीहरूले आफ्नो “फल” अर्थात्‌ इनाम पाउनेछन्‌। (२ कोरिन्थी ५:१-३, ६-८, १०; १ कोरिन्थी १५:५१, ५२; प्रकाश १४:१३) पावलले यस्तो लेखे: “यदि उहाँको मृत्यु जस्तैगरी हामी उहाँसँग सम्मिलित भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि त्यसरीनै हुनेछौं।” (रोमी ६:५) तर पुनरुत्थानपछि पृथ्वीमा फेरि मानवको रूपमा जीवन बिताउनेहरूबारे चाहिं के भन्‍न सकिन्छ नि? पुनरुत्थानको आशाले तिनीहरूलाई कसरी परमेश्‍वरसित नजिक बनाउन सक्छ? अब्राहामको उदाहरणबाट हामी धेरै कुरा सिक्न सक्छौं।

पुनरुत्थान र यहोवासितको मित्रता

१२, १३. पुनरुत्थानमाथि विश्‍वास गर्न अब्राहामसित कस्तो बलियो आधार थियो?

१२ “परमेश्‍वरका मित्र” कहलिएका अब्राहामसित असाधारण विश्‍वास थियो। (याकूब २:२३) हिब्रूको ११ औं अध्यायमा लिपिबद्ध विश्‍वासी पुरुष तथा स्त्रीहरूको सूचीमा पावलले अब्राहामको विश्‍वासबारे तीन चोटि उल्लेख गरे। (हिब्रू ११:८, ९, १७) पावलले अब्राहामको विश्‍वासबारे तेस्रो चोटि उल्लेख गर्दा भने अब्राहामले आफ्नो छोरा इसहाकलाई बलिदानको रूपमा चढाउन आज्ञाकारी भई तयार हुँदा तिनले देखाएको विश्‍वासमा ध्यान केन्द्रित गरेका छन्‌। इसहाकद्वारा एउटा सन्तान आउनेछ भन्‍ने प्रतिज्ञाको ग्यारेन्टी यहोवाले दिनुभएको छ भनेर अब्राहाम विश्‍वस्त थिए। बलिदानको रूपमा इसहाकको मृत्यु भए तापनि “मरेकोबाट पनि परमेश्‍वरले बिउँताउनसक्नुहुन्छ भन्‍ने” अब्राहामले “विचार गरे।”

१३ घटनाक्रमले देखाएअनुसार अब्राहामसित भएको बलियो विश्‍वास यहोवाले देख्नुभएपछि उहाँले इसहाकको सट्टामा एउटा जनावर बलि चढाउने प्रबन्ध मिलाउनुभयो। तैपनि, इसहाकको अनुभवले पुनरुत्थानलाई एउटा दृष्टान्तको रूपमा चित्रण गऱ्‍यो जसबारे पावलले यसो भने: “यसैले [अब्राहामले] दृष्टान्तको रूपमा तिनलाई [इसहाकलाई] फिर्ता पाए।” (हिब्रू ११:१९) यति मात्र होइन, पुनरुत्थानमाथि विश्‍वास गर्ने एउटा बलियो आधार अब्राहामले पहिल्यै पाइसकेका थिए। के यहोवाले बुढेसकालमा अब्राहाम र साराको प्रजनन शक्‍ति पुनर्जीवित पारेर तिनीहरूको छोरा, इसहाकलाई जन्माउन सक्षम बनाउनुभएको थिएन र?—उत्पत्ति १८:१०-१४; २१:१-३; रोमी ४:१९-२१.

१४. (क) हिब्रू ११:९, १० अनुसार अब्राहाम कुन कुराको प्रतीक्षामा थिए? (ख) नयाँ संसारमा परमेश्‍वरको राज्यले प्रदान गर्ने आशिष्‌हरूबाट लाभ उठाउन अब्राहामको के हुनु जरुरी छ? (ग) परमेश्‍वरको राज्यले प्रदान गर्ने आशिष्‌हरू हामी कसरी प्राप्त गर्न सक्छौं?

१४ पावलले अब्राहामलाई प्रवासी र पालमा बास गर्ने व्यक्‍ति भनेर वर्णन गरे जो “त्यही जग भएको शहरको प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ११:९, १०) यो यरूशलेमजस्तो वास्तविक सहर थिएन, जहाँ परमेश्‍वरको मन्दिर थियो। यो एउटा लाक्षणिक सहर थियो। यो ख्रीष्ट येशू र उहाँका १,४४,००० सहशासकहरू मिलेर बनेको परमेश्‍वरको स्वर्गीय राज्य थियो। यी १,४४,००० आफ्नो स्वर्गीय महिमामा हुँदा तिनीहरूलाई “पवित्र शहर नयाँ यरूशलेम” र ख्रीष्टकी “दुलही” पनि भनिएको छ। (प्रकाश २१:२) सन्‌ १९१४ मा यहोवाले स्वर्गीय राज्यको मसीही राजाको रूपमा येशूलाई सिंहासनमा बसाल्नुभयो अनि शत्रुहरूको माझमा शासन गर्न येशूलाई अह्राउनुभयो। (भजन ११०:१, २; प्रकाश ११:१५) यस राज्य शासनका आशिष्‌हरू प्राप्त गर्न “परमेश्‍वरको मित्र” अब्राहाम फेरि जीवित हुनु पर्नेछ। त्यसरी नै, हामीले परमेश्‍वरको राज्यले प्रदान गर्ने आशिष्‌हरू प्राप्त गर्न आर-मागेडोनबाट बच्ने ठूलो भीडको सदस्य वा मरेकाहरूबाट पुनरुत्थान हुनेहरूको रूपमा परमेश्‍वरको नयाँ संसारमा हामी पनि जीवित हुनै पर्छ। (प्रकाश ७:९, १४) त्यसोभए, पुनरुत्थानको आशाको आधार के हो?

परमेश्‍वरको प्रेम—पुनरुत्थानको आशाको आधार

१५, १६. (क) बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणीले पुनरुत्थानमाथि हाम्रो आशाको आधार कसरी बनाउँछ? (ख) पुनरुत्थानमाथिको विश्‍वासले कसरी यहोवासित हामीलाई नजिक बनाउन सक्छ?

१५ स्वर्गमा हुनुहुने हाम्रो मायालु पितासितको घनिष्ठ सम्बन्ध, अब्राहामको जस्तै हाम्रो बलियो विश्‍वास अनि परमेश्‍वरका आज्ञाहरूप्रति हाम्रो आज्ञाकारिताले गर्दा हामी धर्मी ठहरिन र यहोवाद्वारा उहाँको मित्र कहलिन सक्नेछौं। यसले हामीलाई परमेश्‍वरको राज्य शासनले प्रदान गर्ने आशिष्‌हरूको लाभ उठाउने मौका दिन्छ। वास्तवमा, परमेश्‍वरको वचनमा उत्पत्ति ३:१५ मा लिपिबद्ध सबैभन्दा पहिलो भविष्यवाणीले पुनरुत्थानको आशा र परमेश्‍वरसित मित्रताको आधार बनाउँछ। यो भविष्यवाणीमा शैतानको शिर कुच्च्याउने मात्र होइन तर परमेश्‍वरको स्त्रीको सन्तानको कुर्कुच्चो डस्नेबारे पनि बताइएको छ। खम्बामा येशूको मृत्यु प्रतीकात्मक अर्थमा कुर्कुच्चो डस्नुजस्तै थियो। तेस्रो दिनमा उहाँको पुनरुत्थान हुँदा त्यो घाउ निको भयो अनि यसले “मृत्युको शक्‍ति भएकोलाई, अर्थात्‌ दियाबल” विरुद्ध निर्णायक कदम चाल्ने बाटो खोल्यो।—हिब्रू २:१४.

१६ “परमेश्‍वरले हामीतर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ, कि हामी पापी छँदै, ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो” भनी पावल हामीलाई सम्झाउँछन्‌। (रोमी ५:८) यस असीम अनुग्रहप्रति कृतज्ञताले अवश्‍य पनि येशू र स्वर्गमा हुनुहुने हाम्रो मायालु पितासित हामीलाई नजिक बनाउँछ।—२ कोरिन्थी ५:१४, १५.

१७. (क) अय्यूबले कस्तो आशा व्यक्‍त गरे? (ख) अय्यूब १४:१५ ले यहोवाबारे कुन कुरा प्रकट गर्छ अनि यो थाह पाउँदा तपाईंलाई कस्तो लाग्छ?

१७ मसीहीपूर्व समयका विश्‍वासी पुरुष अय्यूबले पनि पुनरुत्थानको बाटो हेरेका थिए। शैतानको हातबाट तिनले निकै दुःख भोग्नुपऱ्‍यो। पुनरुत्थानबारे एक चोटि पनि उल्लेख नगर्ने तिनका झूटा साथीहरूजस्तो नभई अय्यूबले पुनरुत्थानको आशाबाट सान्त्वना पाए अनि यस्तो प्रश्‍न गरे: “के मानिस मरेपछि ऊ फेरि जिउँछ?” अय्यूब आफैले यस्तो जवाफ दिए: “मेरो कठीन सेवा जतिसुकै लामो भए पनि मेरो नवीकरणको निम्ति म प्रतीक्षा गर्नेछु।” आफ्ना परमेश्‍वर यहोवालाई सम्बोधन गर्दै तिनले यसरी मानिलिए: “तपाईंले मलाई बोलाउनुहुनेछ। म तपाईंको जवाफ दिनेछु।” हाम्रो मायालु सृष्टिकर्ताका भावनाहरूबारे अय्यूबले यसो भने: “आफूले सृजनुभएको प्राणीलाई हेर्न तपाईंले इच्छा गर्नुहुनेछ।” (अय्यूब १४:१४, १५, NRV) हो, विश्‍वासी जनहरू पुनरुत्थान भएर जीवित हुने समयको यहोवा उत्सुकतासाथ प्रतीक्षा गर्नुहुन्छ। हामी असिद्ध भए तापनि यहोवाले हामीप्रति देखाउनुहुने प्रेम र असीम अनुग्रहबारे मनन गर्दा हामी अवश्‍य पनि यहोवासित अझ नजिक हुन्छौं!—रोमी ५:२१; याकूब ४:८.

१८, १९. (क) दानियलसित फेरि जीवित हुने कस्तो प्रत्याशा छ? (ख) यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

१८ परमेश्‍वरका स्वर्गदूतले “अति प्रिय मानिस” भनेर वर्णन गरेका अगमवक्‍ता दानियलले आफ्नो लामो जीवनभरि विश्‍वासी भई सेवा गरे। (दानियल १०:११, १९) सा.यु.पू. ६१७ मा तिनी निर्वासनमा लगिएदेखि फारसका राजा कोरेसको शासनकालको तेस्रो वर्ष, सा.यु.पू. ५३६ मा एउटा दर्शन पाएको केही समयपछि तिनको मृत्यु होउन्जेलसम्म यहोवाप्रति तिनको निष्ठा अलिकता पनि ढलपल भएन। (दानियल १:१; १०:१) कोरेसको शासनको तेस्रो वर्षतिर दानियलले एउटा दर्शन देखे र यो दर्शनमा देखेअनुसार एकपछि अर्को विश्‍व शक्‍तिहरू खडा हुने थिए र त्यसको चरमोत्कर्ष चाहिं आउँदै गरेको महासंकष्टमा हुने थियो। (दानियल ११:१-१२:१३) दानियलले त्यो दर्शन पूर्णतया बुझ्न नसकेको हुँदा तिनले उक्‍त सन्देशवाहक स्वर्गदूतलाई यस्तो प्रश्‍न गरे: “हे, प्रभु, यी सबै कुराको परिणाम के हुनेछ?” यसको जवाफमा स्वर्गदूतले “अन्तको समय[तिर]” ध्यानाकर्षण गरे जब “बुद्धिमान्‌हरूले बुझ्नेछन्‌।” दानियलको भविष्य चाहिं कस्तो हुने थियो? स्वर्गदूतले यसो भने: “तिमीले विश्राम गर्नेछौ, र त्यसपछि तोकिएको उत्तराधिकार प्राप्त गर्नलाई तिमी दिनहरूको अन्तमा खडा हुनेछौ।” (दानियल १२:८-१०, १३, NRV) ख्रीष्टको हजार वर्षीय शासनमा “धर्मीहरूको पुनरुत्थान” हुँदा दानियल फर्कनेछन्‌।—लूका १४:१४.

१९ हामी अन्तको पनि अन्तिम दिनमा बाँचिरहेका छौं अनि हामीले सुरुमा विश्‍वास गर्न थालेको दिनभन्दा अहिले ख्रीष्टको हजार वर्षीय शासन अझ नजिक आइपुगेको छ। यसकारण हामीले आफूलाई यो प्रश्‍न सोध्नै पर्छ, ‘अब्राहाम, अय्यूब, दानियल र अरू विश्‍वासी पुरुष तथा स्त्रीहरूसितै के म पनि नयाँ संसारमा हुनेछु?’ यहोवाको नजिक भयौं र उहाँका आज्ञाहरू पालन गऱ्‍यौं भने हामी अवश्‍य त्यहाँ हुनेछौं। यसपछिको लेखमा पुनरुत्थानको आशाबारे हामी अझ विस्तृत छलफल गर्नेछौं र क-कसको पुनरुत्थान हुनेछ भनेर अझ राम्ररी बुझ्न सक्नेछौं।

के तपाईंलाई याद छ?

• पुनरुत्थानमाथि आफ्नो आशाबारे बताउँदा पावलले कस्तो प्रतिक्रिया पाए?

• पुनरुत्थानको आशाले किन साँचो मसीहीहरूलाई झूटा मसीहीहरूबाट अलग्गै छुट्याउँछ?

• अब्राहाम, अय्यूब र दानियलले पुनरुत्थानमा विश्‍वास गरेका थिए भनेर हामी कसरी थाह पाउँछौं?

[प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएको चित्र]

बडाहाकिम फेलिक्सको सामु हाजिर गराइएका पावलले पुनरुत्थानको आशाबारे पूर्ण विश्‍वस्त भई बताए

[पृष्ठ १०-मा भएको चित्र]

अब्राहामले पुनरुत्थानमा किन विश्‍वास गरे?

[पृष्ठ १२-मा भएको चित्र]

अय्यूबले पुनरुत्थानको आशाबाट सान्त्वना पाए

[पृष्ठ १२-मा भएको चित्र]

धर्मीहरूको पुनरुत्थान हुँदा दानियल फर्कनेछन्‌