सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विरोधको सामु साहसी

विरोधको सामु साहसी

विरोधको सामु साहसी

प्रेरित पावलका साथमा हिंड्‌ने दुई जना सँगीहरू, गायस र अरिस्तार्खसलाई आक्रोशित भीडले समातेर एफिससको तमासा-घरमा ल्याए। रिसले चूर भएको भीड त्यहाँ दुई घण्टासम्म यसो भनेर करायो: “एफिसियनहरूकी डायना महान्‌ हुन्‌!” (प्रेरित १९:२८, २९, ३४) के पावलका सँगीहरू यस्तो विरोधको सामु दृढ रहे? यस्तो अवस्था आइपर्नुको कारण के थियो?

पावलले झन्डै तीन वर्षसम्म एफिसस सहरमा सफलतापूर्वक प्रचार गरेका थिए। फलस्वरूप एफिससका थुप्रै मानिसहरूले मूर्तिपूजा गर्न छोडेका थिए। (प्रेरित १९:२६; २०:३१) प्रजननकी देवी डायनाको चाँदीको सानो मूर्ति एफिससमा सर्वत्र पाइन्थ्यो र त्यो डायनाको भव्य मन्दिर भएको ठाउँबाट पूरै सहर देखिन्थ्यो। त्यही मन्दिरकै नकल गरेर मानिसहरूले ससाना मूर्तिहरू बनाउँथे अनि त्यसलाई जन्तरको रूपमा लगाउँथे वा घरमा राख्थे। निस्सन्देह, मसीहीहरूले त्यस्ता मूर्तिहरू किन्‍ने थिएनन्‌।—१ यूहन्‍ना ५:२१.

डेमेत्रियस नाउँ गरेका एक जना चाँदीको शिल्पकारीलाई पावलको सेवकाईको कारण आफ्नो मुनाफादायी व्यवसाय खतरामा परेको जस्तो लाग्यो। अर्ध-सत्य अनि बढाइचढाइ गरिएका कुराहरूद्वारा तिनले सँगी शिल्पकारीहरूलाई एसिया माइनरभरिकै मानिसहरूले डायनाको उपासना गर्न छोड्‌ने छन्‌ भनी विश्‍वस्त गराए। क्रोधित शिल्पकारीहरूले डायनाको प्रशंसा गर्दै कराउन थालेपछि साँच्चै हूलदङ्‌गा मच्चियो र पूरा सहरभरि नै हलचल भयो।—प्रेरित १९:२४-२९.

पच्चीस हजार मानिसहरू अटाउने क्षमता भएको तमासा-घरमा हजारौं मानिसहरू ओइरिए। पावलले आक्रोशित भीडको बीचमा गएर सम्बोधन गर्ने प्रयास गरे तर पावलप्रति मित्रैलो अधिकारीहरूले त्यो भीडलाई केही नभन्‍न सल्लाह दिए। अन्ततः सहरका मुख्य हाकिम मानिसहरूलाई शान्त पार्न सफल भए अनि गायस र अरिस्तार्खस सकुशल त्यहाँबाट भाग्न सके।—प्रेरित १९:३५-४१.

आज पनि परमेश्‍वरका जनहरू सेवकाईको दौडान विरोधीहरू र हूलदङ्‌गा मच्चाउनेहरूको आमनेसामने समेत हुन सक्छन्‌। मूर्तिपूजा, अनैतिकता र आपराधिक घटनाहरू व्याप्त भएका सहरहरूमा तिनीहरू अक्सर सुसमाचार प्रचार गर्छन्‌। यद्यपि, तिनीहरू साहसी भई प्रेरित पावलको अनुकरण गर्छन्‌ जसले एफिससको सहरमा ‘घर-घरमा र खुल्लमखुल्ला सिकाए।’ (प्रेरित २०:२०) अनि यहोवाको ‘वचन सामर्थ्यसँग बढ्‌दै र प्रबल हुँदै गएको’ देख्दा तिनीहरू दङ्‌ग पनि पर्छन्‌।—प्रेरित १९:२०.

[पृष्ठ ३०-मा भएको चित्र]

एफिससमा भएको तमासा-घरको भग्नावशेष