के मानिसले गरिबीको अन्त्य गर्न सक्छ?
के मानिसले गरिबीको अन्त्य गर्न सक्छ?
लाखौं मानिसहरू गरिबी के हो, पत्तै नपाएर हुर्केका छन्। तिनीहरू कहिल्यै भोको पेट लिएर वा जाडोले लुगलुग काम्दै सुत्नुपरेको छैन। तर तिनीहरूमध्ये त्यस्ता मानिसहरू पनि छन् जो गरिबलाई देखेर दुःखी हुन्छन् अनि गरिबलाई मदत गर्न लागिपर्छन्।
तथापि, गृहयुद्ध, बाढीपहिरो, खडेरी र अन्य समस्याहरूको चपेटामा परेकाहरूका लागि गरिबी एउटा तीतो वास्तविकता बनेको छ। हातमुख जोर्न खेती-किसानीमा भर पर्ने अफ्रिकी किसानहरूका लागि यी तथ्यहरू एउटा तीतो अनुभव भएको छ। कोही-कोही आफ्नो घर छाडेर ठूल्ठूला सहरहरूमा बसाइँ सर्न अथवा अर्कै देशमा गएर शरणार्थी जीवन जीउन बाध्य भएका छन्। सुखमय जीवनको आशामा अरू कतिपय गाउँलेहरू सहरतिर बसाइँ सर्छन्।
कोचाकोच सहर अक्सर गरिबी मौलाउने थलो बन्छ। खेतीपातीको लागि कुनै ठाउँ छैन। अक्सर जागिर पाउनै मुस्किल पर्छ। उग्र निराशाले गर्दा धेरै व्यक्तिहरू आपराधिक जीवनतर्फ उन्मुख हुन्छन्। सहरवासीहरू सहयोगको लागि आवाज उठाउँछन् तर मानव सरकार बढ्दो गरिबीको समस्या समाधान गर्न असक्षम छ। नोभेम्बर २००३ मा विमोचित संयुक्त राष्ट्रसंघको रिपोर्टलाई सङ्केत गर्दै लण्डनको दि इन्डिपेन्डेन्टले यसो भन्यो: “संसार झन्-झनै भोको हुँदै गइरहेको छ।” यसले अझै यसो भन्यो: “आज विश्वभर ८४ करोड २० लाख मानिसहरू अल्प-पोषित छन्। अनि हरेक वर्ष ५० लाख भोका मानिसहरू थपिएर यो आकाँडा अझ बढ्दैछ।”
कहिलेकाहीं यहोवाका साक्षीहरूको दक्षिण-अफ्रिकी शाखाले गरिबीद्वारा पीडित व्यक्तिहरूको पत्र प्राप्त गर्छ। जस्तै, ब्लुमफनटेनका एक जना पुरुषले यस्तो लेखे: “म बेरोजगार छु र मौका पाउने बित्तिकै सहरमा गएर चोरी गर्छु। मैले यसो गरिनँ भने म धेरै दिन भोक-भोकै पर्छु र त्यसमाथि कठाङ्ग्रिने जाडोले सताउने त छँदैछ। काम पाइँदै-पाइँदैन। काम र खानेकुरा पाइन्छ कि भनेर धेरै मानिसहरू सहर-सहर डुल्छन्। फोहोरको ढ्वाङमा खाना खोज्ने मानिसहरू पनि छन्। कसै-कसैले त आत्महत्या गर्छन्। मेरो जस्तै हालत हुने धेरै मानिसहरू घोर निराशा र आशाविहीन छन्। यस्तो लाग्छ, भविष्य अन्धकार छ। खाने र लाउने आवश्यकतासहित सृष्टि गर्नुभएको परमेश्वरले के यी सब कुरा देख्नुहुन्न?”
यस मानिसको दुःखका सान्त्वनादायी जवाफहरू छन्। यी जवाफहरू परमेश्वरको वचन बाइबलमा भएको कुरा अर्को लेखले बताउनेछ।