सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गरिबी मुक्‍त संसार नजिकै

गरिबी मुक्‍त संसार नजिकै

गरिबी मुक्‍त संसार नजिकै

गरिबीमा बाँचिरहेका मानिसहरूलाई यस पत्रिकाको आवरणमा देखाइएको चित्रले आकर्षित गर्छ। प्रमोदवन पहिलो मानव जोडी आदम र हव्वाको लागि वास्तविक थियो। अदनको बगैंचा तिनीहरूको घर थियो। (उत्पत्ति २:७-२३) उक्‍त प्रमोदवन गुमे पनि भावी प्रमोदवनमाथिको विश्‍वास अर्थात्‌ गरिबी मुक्‍त एउटा नयाँ संसार केवल सपना होइन। यो बाइबल आधारित प्रतिज्ञाहरूमा आधारित छ।

पृथ्वीमा आफ्नो जीवनको अन्तिम दिन येशू ख्रीष्टले गर्नुभएको प्रतिज्ञालाई विचार गर्नुहोस्‌। येशूसित मर्ने एक जना अपराधीले मानिसजातिको समस्या समाधान गर्ने परमेश्‍वरको क्षमतामाथि विश्‍वास देखाए। तिनले यसो भने: “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्‌।” राजाको हैसियतमा येशूले शासन गर्नुहुनेछ र मृतकहरूलाई पुनः जीवन दिइनेछ भन्‍ने कुरामा त्यस अपराधीले विश्‍वास गरे भनी उक्‍त शब्दहरूले देखाउँछ। येशूले यस्तो उत्तर दिनुभयो: “आज, म तिमीलाई साँच्चै भन्दछु तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:४२, ४३, NW.

प्रमोदवनमा बस्नेहरूको जीवनबारे बाइबल यसो भन्छ: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌।” (यशैया ६५:२१) हो, “तिनीहरूको हरेक मानिस आफ्नो आफ्नो दाखको बोट र नेभाराको बोटमनि बस्नेछ। कसैले तिनीहरूलाई डर देखाउनेछैन, किनभने सेनाहरूका परमप्रभुको मुखलेनै यो कुरो भनेको छ।”—मीका ४:४.

तर आज गरिबी रहने अनुमति किन दिइएको छ? गरिबीले पिरोलिएकाहरूलाई परमेश्‍वरले कस्तो मदत दिनुहुन्छ? गरिबीको अन्त्य कहिले हुनेछ?

गरिबी रहने अनुमति किन दिइएको छ?

दुष्ट स्वर्गदूत शैतान अर्थात्‌ दियाबलले उक्साएको विद्रोहले गर्दा आदम र हव्वालाई राखिएको प्रमोदवन गुम्यो। कुनै खास रूखको फल नखाने परमेश्‍वरको नियम भङ्‌ग गर्न शैतानले सर्पलाई चलाएर हव्वालाई भर्मायो। परमेश्‍वरबाट स्वतन्त्र हुँदा अझ राम्रो जीवन पाइन्छ भन्‍ने कुरामा विश्‍वास दिलाउन त्यसले हव्वालाई धोका दियो। हव्वाले आदमलाई निषेधित फल दिंदा आदमले पनि त्यो खाए, यसरी आफ्नी पत्नीलाई खुसी बनाउन आदमले परमेश्‍वरलाई लत्याए।—उत्पत्ति ३:१-६; १ तिमोथी २:१४.

यस विद्रोही दम्पतीलाई प्रमोदवनबाट निकाल्नु उचित थियो, त्यसपछि तिनीहरूले बाँच्नको लागि सङ्‌घर्ष गर्नुपऱ्‍यो। परमेश्‍वरप्रतिको अनाज्ञाकारिताको परिणाम प्रत्यक्षतः भोग्न दिनुभएर यहोवाले आजसम्म शैतानलाई पापी मानवजातिमाथि शासन गर्ने अनुमति दिनुभएको छ। मानिसजातिले पृथ्वीमा प्रमोदवन ल्याउन सक्दैन भनेर मानव इतिहासले पुष्टि गरेको छ। (यर्मिया १०:२३) बरु, परमेश्‍वरबाट स्वाधीन हुँदा गरिबीलगायत विनाशकारी समस्याहरू निम्त्याएको छ।

तथापि आज समस्यै-समस्याले भरिएको संसारमा गरिबहरूलाई निस्सहाय छोडिएको छैन। परमेश्‍वरको प्रेरित वचन बाइबलमा तिनीहरूका लागि राम्रा-राम्रा निर्देशनहरू छन्‌।

“फ्रिकी नगर”

धेरै गरिबहरू पनि रहेको ठूलो समूहका स्रोताहरूलाई बताउनुहुँदा येशूले यसो भन्‍नुभयो: “आकाशका चरा-चुरुङ्‌गीहरूलाई हेर। तिनीहरूले नता बिउ छर्छ, न अन्‍न काट्‌छ। न भकारीहरूमा बटुल्छ, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा ज्यादा श्रेष्ठ होइनौ ? . . . यसकारण के खाउँला ? कि के पिऔंला ? कि के पहिरौंला ?’ भनेर फिक्री नगर, किनकि अन्यजातिहरूले मात्र यी सब थोक खोज्दछन्‌। किनभने तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई यी सबै थोकको दर्कार छ भनी जान्‍नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:२६-३३.

कुनै गरिबले चोर्नै पर्छ भन्‍ने छैन। (हितोपदेश ६:३०, ३१) आफ्नो जीवनमा परमेश्‍वरलाई प्रथम स्थान दिएमा उसलाई आवश्‍यक कुरा दिइनेछ। अफ्रिकाको दक्षिणी भागमा अवस्थित लेसोथोमा बस्ने टुकिसोको घटनालाई विचार गर्नुहोस्‌। सरकार विरुद्धको विद्रोहलाई साम्य पार्न सन्‌ १९९८ मा विदेशी फौज लेसोथो प्रवेश गऱ्‍यो। युद्धले गर्दा पसलहरू लुटिए, मानिसहरूले आफ्नो जागिर गुमाए र खानेकुराको ठूलो अभाव भयो।

टुकिसो राजधानीकै अति गरिब इलाकामा बसोबास गर्थे। उनका अधिकांश छिमेकीले बाँच्नको लागि पसलहरू लुटे। एउटा मात्र कोठा भएको आफ्नो घरमा आउँदा टुकिसोले आफ्नो कोठमा आफूसित बस्दै आएकी केटी मसेसोले लुटेर ल्याएका सामानहरू टन्‍नै देखे। चोर्नु परमेश्‍वरको व्यवस्था विरुद्ध हो भनी सम्झाउँदै टुकिसोले यसो भने, “यो सब बाहिर निकाल।” मसेसोले यो कुरा मानिन्‌। छिमेकीहरूले तिनीहरूको उपहास गरे अनि चोरेर ल्याएको सबै सामानहरू मजाले लगे।

यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्दा सिकेका कुराहरूले गर्दा टुकिसोले यस्तो अडान लिए। परमेश्‍वरको नियमप्रतिको उनको आज्ञाकारिताले के उनी भोकै बस्नुपऱ्‍यो? परेन। केही समयपछि उनी धाउने यहोवाका साक्षीहरूको मण्डलीका प्राचीनहरूले उनीसित सम्पर्क गरे र उनलाई केही खानेकुराहरू ल्याइदिए। वास्तवमा, छिमेकी राष्ट्र दक्षिण अफ्रिकाका यहोवाका साक्षीहरूले लेसोथोमा बस्ने आफ्ना मसीही भाइ-बहिनीहरूको लागि दुई टनभन्दा धेरै उद्धार सामग्रीहरू पठाएका थिए। परमेश्‍वरप्रतिको टुकिसोको आज्ञाकारिता र मण्डलीको मायालु सहयोगले मसेसोको मन छोयो। तिनले बाइबल अध्ययन थालिन्‌। अन्ततः दुवै जनाले कानुनी रूपमा विवाह गरे र यहोवाका साक्षीहरूको हैसियतमा बप्तिस्मा लिन योग्य बने। आजसम्म तिनीहरूले विश्‍वासीपूर्वक परमेश्‍वरको सेवा गर्दैछन्‌।

यहोवा परमेश्‍वर गरिबहरूको ख्याल गर्नुहन्छ। (“परमेश्‍वरहरूले गरिबहरूलाई कुन दृष्टिले हेर्नुहुन्छ” शीर्षकको पेटी हेर्नुहोस्‌।) आफूबारे अझ बढी सिक्न परमेश्‍वरले टुकिसो र मसेसोजस्ता व्यक्‍तिहरूलाई मदत गर्न मायालु हुँदै प्रबन्धहरू मिलाउनुभएको छ। अनि उहाँले आफ्नो वचनमा दैनिक जीवन बिताउनको लागि व्यावहारिक सल्लाहहरू दिनुभएको छ।

एउटा लाभदायी प्रबन्ध

यहोवाका साक्षीहरूले सधैं नै गरिबहरूप्रति परमेश्‍वरले जस्तै चासो देखाउने कोसिस गरेका छन्‌। (गलाती २:१०) विपत्तिले प्रहार गर्दा अनि साँचो मसीहीहरू प्रभावित हुँदा आवश्‍यक मदत दिन प्रबन्धहरू मिलाइन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, गरिबहरू लगायत सबैको आध्यात्मिक आवश्‍यकताप्रति साक्षीहरू चासो देखाउँछन्‌। (मत्ती ९:३६-३८) विगत ६० वर्षमा हजारौं प्रशिक्षित सेवकहरूले विदेशी भूमिहरूमा स्वयम्‌सेवकको हैसियतमा मिसनरी सेवा गरेका छन्‌। उदाहरणको लागि, फिनल्याण्डका एक मिसनरी दम्पतीले सेसोथो भाषा सिकेर टुकिसो र मसेसोलाई येशूको चेला बन्‍न सिकाउन सके। (मत्ती २८:१९, २०) मिसनरीकार्यको लागि अक्सर सम्पन्‍न मुलुकको आरामदायी जीवन त्याग गरेर गरिब मुलुकमा बसाइँ सर्नुपर्ने हुन्छ।

बाँच्नको लागि चोरी गर्नु साँचो मसीहीहरूको लागि विकल्प होइन। बरु, मानिसहरूका आवश्‍यकताहरूको प्रबन्ध गर्न सक्ने परमेश्‍वरको क्षमतामाथि तिनीहरू विश्‍वास गर्छन्‌। (हिब्रू १३:५, ६) यहोवाले आफ्ना जनहरूको लागि गर्नुभएको एउटा प्रबन्ध उहाँका उपासकहरूको विश्‍वव्यापी संगठन हो जसले एक-अर्काको ख्याल राख्छ।

दैनिक जीवन बिताउन व्यावहारिक सल्लाहहरू दिनुभएर यहोवाले अर्को तरिकामा पनि मदत गर्नुहुन्छ। उदाहरणको लागि बाइबल यस्तो आज्ञा दिन्छ: “चोर्नेले फेरि नचोरोस्‌, बरू त्यसले परिश्रम गरोस्‌, र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनलाई त्यससँग होस्‌।” (एफिसी ४:२७-२८) धेरै बरोजगारहरूले करेसाबारी लगाउने र त्यसको गोडमेल गर्ने जस्ता कामहरूमा मेहनत गरेर आफै रोजगारी सृजना गरेका छन्‌। बाइबलले रक्सीको दुरुपयोगजस्ता खराब बानीहरूलाई तिरस्कार गर्न सिकाएर पनि गरिबहरूलाई पैसाको वचत गर्न मदत गर्छ।—एफिसी ५:१८.

गरिबी मुक्‍त संसार—कहिले?

हामी शैतानको शासनको “आखिरी दिनमा” बाँचिरहेका छौं भनी बाइबलले सङ्‌केत गर्छ। (२ तिमोथी ३:१) अब छिट्टै यहोवा परमेश्‍वरले मानिसजातिमाथि न्याय गर्न येशू ख्रीष्टलाई पठाउनुहुनेछ। त्यसबेला के हुनेछ? आफ्नो एउटा दृष्टान्तमा येशूले त्यसको जवाफ दिनुभयो। उहाँले यसो भन्‍नुभयो: “तर जब मानिसको पुत्र स्वर्गदूतहरूसमेत आफ्नो महिमामा आउला, तब आफ्नो महिमाको सिंहासनमा बस्नेछ। औ उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्‌, र जसरी गोठालाले भेडाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरूलाई एकलाई अर्कोबाट छुट्याउनेछ।”—मत्ती २५:३१-३३.

उहाँको दृष्टान्तमा भेडाहरू ती हुन्‌ जसले आफैलाई येशूको शासनको अधीनमा राख्छन्‌। येशूले तिनीहरूलाई भेडासित तुलना गर्नुभयो किनकि तिनीहरूले उहाँलाई आफ्नो गोठालाको रूपमा पछ्याउँछन्‌। (यूहन्‍ना १०:१६) यी भेडाखाले मानिसहरूले येशूको सिद्ध शासनमा जीवन प्राप्त गर्नेछन्‌। गरिबी मुक्‍त नयाँ संसारमा जीवन आनन्दित हुनेछ। येशूको शासनलाई इन्कार गर्ने बाख्राखाले मानिसहरू सदाको लागि नाश गरिनेछन्‌।—मत्ती २५:४६.

परमेश्‍वरको राज्यले दुष्टताको अन्त्य गर्नेछ। त्यसपछि गरिबी विगतको कुरा हुनेछ। बरु, एक-अर्कालाई ख्याल राख्ने तथा प्रेम गर्ने मानिसहरूले पृथ्वी भरिनेछ। यस्तो नयाँ संसार सम्भव छ भनेर यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय मायालु भ्रातृत्वमा देख्न सकिन्छ किनकि येशूले भन्‍नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्‍नेछन्‌।”—यूहन्‍ना १३:३५.

[पृष्ठ ६-७मा भएका चित्रहरु]

परमेश्‍वरले गरिबहरूलाई कुन दृष्टिले हेर्नुहुन्छ?

“भोकाहरूलाई खानेकुरा” दिनुहुने भनी बाइबलले मानिसजातिको सृष्टिकर्तालाई वर्णन गर्छ। (भजन १४६:७) यसमा गरिबहरूप्रतिको परमेश्‍वरको चिन्ता प्रकट गर्ने एक सयभन्दा धेरै पदहरू समावेश छन्‌।

उदाहरणको लागि, यहोवा परमेश्‍वरले पुरातन राष्ट्र इस्राएललाई व्यवस्था दिनुहुँदा इस्राएली किसानहरूलाई खेतको कुना कुनासम्मै नकाट्‌नू भन्‍ने आज्ञा दिनुभयो। तिनीहरूले जैतुनको रूख र दाखको रूखमा दोस्रो चोटि फेरि गएर बाँकी रहेका फलहरू बटुल्नु हुँदैनथ्यो। परदेशी, टुहुरो, विधवा र अन्य पीडितहरूको लागि यी नियमहरू मायालु प्रबन्ध थिए।—लेवी १९:९, १०; व्यवस्था २४:१९-२१.

यसको अतिरिक्‍त, परमेश्‍वरले इस्राएलीहरूलाई यस्तो आज्ञा दिनुभयो: “विधवा अथवा टुहुरालाई दुःख नदेओ। यदि तिनीहरूले कुनै किसिमले मेरो पुकारा गरे भने म निश्‍चय तिनीहरूको पुकारा सुन्‍नेछु, र मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, औ तिमीहरूका स्वास्नीहरू विधवा हुनेछन्‌ र तिमीहरूका छोरा-छोरीहरू पितृहीन हुनेछन्‌।” (प्रस्थान २२:२२-२४) दुःखको कुरा धेरै धनी इस्राएलीहरूले यी शब्दहरू इन्कार गरे। यो अनि अन्य धेरै गल्तीहरूको लागि यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई अगमवक्‍ताहरूद्वारा विविध चेतावनीहरू दिनुभयो। (यशैया १०:१, २; यर्मिया ५:२८; आमोस ४:१-३) अन्ततः परमेश्‍वरले अश्‍शुरी र पछि बेबिलोनीहरूद्वारा इस्राएली इलाकामाथि विजय हासिल गर्न दिनुभयो। धेरै इस्राएलीहरू मारिए र बाँचेकाहरूलाई विदेशी भूमिमा बन्दी बनाइयो।

परमेश्‍वरको प्रिय पुत्र येशू ख्रीष्टले गरिबहरूप्रति पिताको मायालु चासो झल्काउनुभयो। आफ्नो सेवकाईको उद्देश्‍य बुझाउँदै येशूले यसो भन्‍नुभयो: “परमप्रभुको आत्मा ममाथि छ, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई नियुक्‍त गर्नुभयो।” (लूका ४:१८) यसको मतलब येशूले गरिबहरूमा मात्र आफ्नो सेवकाई सीमित गर्नुभएन। उहाँले मायालुपूर्वक धनी मानिसहरूलाई पनि मदत गर्नुभयो। तथापि, यसो गर्दा येशूले अक्सर गरिबहरूप्रति चिन्ता प्रकट गर्नुभयो। उदाहरणको लागि एक जना धनी शासकलाई उहाँले यस्तो सल्लाह दिनुभयो: “तिमीसँग भएको जति सबै बेचेर गरिबहरूलाई बाँडिदेऊ, तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, मेरोपछि लाग।”—लूका १४:१, १२-१४; १८:१८, २२; १९:१-१०.

यहोवा परमेश्‍वर र उहाँको पुत्रले गरिबहरूको धेरै ख्याल गर्नुहुन्छ। (मर्कूस १२:४१-४४; याकूब २:१-६) गरिबहरूप्रति आफ्नो चिन्ता प्रकट गर्दै मरेका करोडौं गरिबहरूलाई उहाँ आफ्नो स्मरणमा राख्नुहुन्छ। गरिबी मुक्‍त नयाँ संसारमा ती सबैको पुनरुत्थान हुनेछ।—प्रेरित २४:१५.

[चित्र]

नयाँ संसार सम्भव छ भनेर यहोवाको साक्षीहरूको अन्तरराष्ट्रिय भ्रातृत्वले देखाउँछ

[पृष्ठ ५-मा भएको चित्र]

टुकिसोसित बाइबल अध्ययन गर्ने मिसनरीसित टुकिसो र मसेसो

[पृष्ठ ५-मा भएको चित्र]

आफूसित बाइबल अध्ययन गर्ने मिसनरीसित मसेसो आफ्नो घरको ढोकामा