सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको ज्ञानद्वारा सुदृढ भएका परिवारहरू

परमेश्‍वरको ज्ञानद्वारा सुदृढ भएका परिवारहरू

“मलाई गुहार यहोवाबाट नै आउँछ”

परमेश्‍वरको ज्ञानद्वारा सुदृढ भएका परिवारहरू

“बर्लिनको पर्खाल।” आफ्नो घरलाई दुई भाग पार्न आफैले खडा गरेको साँच्चिकै पर्खाललाई अर्जेन्टिनाका एक विवाहित दम्पतीले त्यसो भनेका थिए! उनीहरू आपसमा ठ्याम्मै मिल्दैनथे; उनीहरू एक-अर्काको अनुहारै हेर्न चाहँदैनथे।

अफसोस, ती दम्पतीको अवस्था कुनै नौलो कुरा होइन। झगडा, अवफादारिता र कटु वैमनस्यताको कारण कैयौं परिवारहरू सङ्‌कटमा परेका छन्‌। यो निकै दुःखलाग्दो कुरा हो किनभने परिवार भनेको स्वयम्‌ परमेश्‍वरले स्थापना गर्नुभएको एउटा संगठन हो। (उत्पत्ति १:२७, २८; २:२३, २४) यो ईश्‍वरीय वरदान गहिरो प्रेम देखाउने एउटा अत्यन्तै राम्रो ठाउँ हो। (रूथ १:९) आफूलाई सुम्पिएका ईश्‍वरप्रदत्त अभिभाराहरू पूरा गरेर परिवारका सदस्यहरूले यहोवाको आदर गर्न सक्छन्‌ र परिवारमा एक-अर्काको लागि आशिष्‌ साबित हुन सक्छन्‌। a

परमेश्‍वरले नै पारिवारिक प्रबन्धको स्थापना गर्नुभएको कारण परिवार कसरी चलाउनुपर्छ भन्‍ने सन्दर्भमा हामीले हाम्रो समझलाई उहाँको दृष्टिकोणद्वारा प्रभावित हुन दिनु आवश्‍यक छ। उहाँको वचनमा विशेष गरी चुनौतीहरू खडा भएको बेला परिवारहरूलाई सफल हुन मदत गर्ने हेतुले तयार पारिएका थुप्रै व्यावहारिक सरसल्लाह पाउन सकिन्छ। पतिहरूको भूमिकाको सन्दर्भमा बाइबल यसो भन्छ: “पतिहरूले पनि आफ्ना आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ।” पतिले यो आवश्‍यकता पूरा गर्दा तिनकी पत्नीले खुसीसाथ “आफ्ना पतिको डर” मान्‍नेछिन्‌ अर्थात्‌ गहिरो आदर गर्नेछिन्‌।—एफिसी ५:२५-२९, ३३.

आमाबुबा तथा उनीहरूका छोराछोरीबीचको सम्बन्धको विषयमा प्रेरित पावलले यस्तो लेखे: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) यसो गर्दा परिवारमा सौहार्दपूर्ण वातावरण हुनुका साथै छोराछोरीलाई आफ्ना आमाबुबाको आज्ञापालन गर्न सजिलो हुन्छ।—एफिसी ६:१.

भर्खरै छलफल गरेका बुँदाहरू पारिवारिक जीवनमा लागू हुने बाइबलका लाभदायी सल्लाहका उदाहरणहरू हुन्‌। ईश्‍वरीय सिद्धान्तहरू व्यवहारमा उतारेर धेरैले घरमा आनन्द उठाउँछन्‌। उदाहरणका लागि, सुरुमा उल्लिखित अर्जेन्टिनाका दम्पतीलाई लिनुहोस्‌। यहोवाका साक्षीहरूसित तीन महिना बाइबल अध्ययन गरेपछि उनीहरू दुवैले बाइबलका बुद्धिमानी सल्लाह आफ्नो वैवाहिक जीवनमा लागू गर्न थाले। एक-आपसको कुराकानीलाई अझ राम्रो बनाउन, एक-अर्काका आवश्‍यकताहरूप्रति सहानुभूतिशील हुन र क्षमाशील हुन उनीहरूले निकै प्रयत्न गरे। (हितोपदेश १५:२२; १ पत्रुस ३:७; ४:८) उनीहरूले आफ्नो रिसलाई नियन्त्रण गर्न र परिस्थिति आफ्नो नियन्त्रणबाहिर भएजस्तो लाग्दा मदतको लागि परमेश्‍वरलाई पुकार्न सिके। (कलस्सी ३:१९) धेरै समय नबित्दै “बर्लिनको पर्खाल” ढल्यो!

परमेश्‍वर परिवारलाई सुदृढ पार्न सक्नुहुन्छ

परमेश्‍वरका स्तरहरूको ज्ञान छ र ती स्तरहरू लागू गऱ्‍यौं भने दबाबहरूको सामु पनि परिवार सुदृढ रहन सक्छ। यो एकदमै महत्त्वपूर्ण छ किनभने हाम्रो समयमा पारिवारिक प्रबन्धमाथि क्रूर आक्रमण हुनेछ भनी भविष्यवाणी गरिएको थियो। अहिले व्याप्त नैतिक ह्रास तथा मानव समाजको पतनबारे पावलले पहिल्यै भविष्यवाणी गरेका थिए। “आखिरी दिनमा” मानिसहरू अवफादार, “स्वाभाविक प्रेम रहितका” र “भक्‍तिको भेष चाहिं लिने” मानिसहरूमाझ समेत आमाबाबुको आज्ञा पालन नगर्नेहरू हुनेछन्‌ भनी तिनले बताए।—२ तिमोथी ३:१-५.

परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कोसिस गर्दा परिवारमाथि आइपर्ने यस्ता हानिकारक प्रभावहरूलाई निस्तेज पार्ने मदत पाउन सक्छौं। आफूले सामना गर्ने तीनथुप्रो समस्याहरूलाई चिरेर अघि बढ्‌न परमेश्‍वरको मदत अत्यावश्‍यक छ भन्‍ने कुरा थुप्रै परिवारहरूले अनुभव गरेका छन्‌। परिवारका सदस्यहरू परमेश्‍वरसित असल सम्बन्ध कायम राख्न चाहन्छन्‌ भने, उनीहरूले सबैभन्दा पहिला बाइबल सिद्धान्तहरू लागू गर्नुपर्छ र “परमप्रभुलेनै घर नबनाउनु भएता बनाउनेहरूले व्यर्थमा परिश्रम गर्छन्‌” भनेर मानिलिनुपर्छ। (भजन १२७:१) पारिवारिक जीवनमा परमेश्‍वरलाई प्राथमिकता दिंदा परिवारलाई आनन्दित राख्ने सन्दर्भमा सफल हुन सक्छौं।—एफिसी ३:१४, १५.

हवाईका डेनिस भन्‍ने एक जना व्यक्‍तिले यो कुरा सोह्रै आना सही भएको अनुभव गरे। तिनले आफू मसीही हुँ भनी दाबी गरे तापनि अपशब्द बोल्नु र कचेडा गर्नु तिनको लागि सामान्य कुरा थियो। सेनामा काम गरेपछि त तिनी झनै जङ्‌गी स्वभावका र घृणाले भरिएको व्यक्‍ति भए। तिनी आफ्नो विगत यसरी सम्झन्छन्‌, “म जहिले पनि झगडा गर्थें। केही होला कि भन्‍ने डरै थिएन र मलाई मर्न पनि डर लाग्दैनथ्यो। अपशब्द बोल्न र कचेडा गर्न रोकिएन। यहोवाको साक्षी मेरी पत्नीले मलाई बाइबल अध्ययन गर्न प्रोत्साहित गरिन्‌।”

पत्नीले लाख कोसिस गर्दा पनि डेनिसले मान्दै मानेनन्‌। तथापि, पत्नीको मसीही आचरणले तिनको नकारात्मक मनोवृत्तिमा परिवर्तन ल्यायो। अन्तमा डेनिस आफ्नी पत्नी तथा छोराछोरीसँग मसीही सभा गए। त्यसपछि डेनिससँग बाइबल अध्ययन सुरु गरियो र तिनले पनि राम्रो प्रगति गरे। तिनले २८ वर्षदेखि लागेको चुरोट खाने बानी चटक्क छाडे र आफूले गर्न नचाहेका कामहरू गर्ने साथीहरूसित पनि संगत गर्नै छोडिदिए। यहोवाप्रति धन्यवादी हुँदै डेनिसले यस्तो टिप्पणी गरे: “मेरो पारिवारिक जीवन सुध्रियो। परिवारै मिलेर हामी सभाहरू तथा सेवकाईमा जान थाल्यौं। मैले आफ्नो रिसलाई नियन्त्रणमा राख्न सिक्नुका साथै फोहोर बोली बोल्न छोडेको कारण मेरा दुई छोराहरू मसँग डराउन छाडे। हामीले एक-आपसमा कुराकानी गर्न सक्यौं र बाइबल छलफल गरेर आनन्द उठायौं। बाइबल अध्ययन नगरेको भए आज म यहाँ हुने थिइनँ; म झनक्क-झनक्क रिसाउथें।”

यहोवाको इच्छा गर्ने उत्कट प्रयत्न गर्दा परिवारहरूले आनन्द प्राप्त गर्न सक्छन्‌। कसैले केही पनि नगर्नुभन्दा परिवारको एक जना सदस्यले मात्र भए पनि बाइबलका सिद्धान्तहरू लागू गर्दा अवस्था राम्रो हुने कुरा अनुभवले देखाएको छ। मसीही परिवार निर्माण गर्न कडा मेहनत गर्नुपर्छ, यसको लागि कौशलता र समय चाहिन्छ। तर यस्तो परिवार निर्माण गर्न मेहनत गर्ने परिवारका सदस्यहरू उनीहरूको काममा सफल हुन मदत दिनुभएर यहोवाले इनाम दिनुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छन्‌। उनीहरूले भजनहारका शब्दहरू अनुभव गर्न सक्छन्‌: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

[फुटनोट]

a २००५ यहोवाका साक्षीहरूको क्यालेन्डर, मे/जून हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“[ परमेश्‍वरबाट] स्वर्ग र पृथ्वीमा हरेक परिवारको नाउँ राखिएको छ।”—एफिसी ३:१५.

[पृष्ठ ८-मा भएको पेटी]

यहोवाले पारिवारिक प्रबन्धलाई अनमोल ठान्‍नुहुन्छ

“परमेश्‍वरले तिनीहरूलाई आशिष दिनुभयो, र तिनीहरूलाई भन्‍नुभयो, ‘फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै र त्यसलाई आफ्नो वशमा पादै जाओ।’ ”—उत्पत्ति १:२८.

“हरेक जो परमप्रभुदेखि डराउँछ, . . . त्यो धन्यको हो। तेरी स्वास्नी फल दिने दाखजस्तै तेरो घरको भित्रपट्टि हुनेछ।”—भजन १२८:१, ३.