सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको मार्ग सिक्ने

यहोवाको मार्ग सिक्ने

यहोवाको मार्ग सिक्ने

“मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, र म तपाईंलाई चिन्‍नसकूँ।”—प्रस्थान ३३:१३.

१, २. (क) एक जना मिश्रीले एक जना हिब्रूलाई दुर्व्यवहार गरेको देखेपछि मोशाले जस्तो प्रतिक्रिया देखाए त्यो प्रतिक्रिया देखाउनुको कारण के थियो? (ख) यहोवाको सेवाको लागि उपयुक्‍त हुन मोशाले कुन कुरा सिक्नुपर्थ्यो?

 मोशा फिरऊनको घरानामा हुर्केका थिए र तिनले मिश्रको कुलीन वर्गले उच्च कदर गरेको बुद्धिअनुसारको शिक्षा पाएका थिए। तैपनि, आफू मिश्री होइन भन्‍ने कुरा मोशालाई थाह थियो। तिनी हिब्रू आमाबाबुबाट जन्मिएका थिए। चालीस वर्षको भएपछि तिनी आफ्ना इस्राएली दाजुभाइहरूको अवस्था बुझ्न गए। एक जना मिश्रीले एक जना हिब्रूलाई दुर्व्यवहार गरिरहेको देखेपछि मोशाले देखेको नदेख्यै गरेनन्‌। तिनले त्यस मिश्रीलाई मारे। मोशाले यहोवाका जनहरूको पक्ष लिन रोजे अनि आफ्ना दाजुभाइहरूलाई छुटाउन परमेश्‍वरले आफूलाई चलाइरहनुभएको छ भन्‍ने सोचे। (प्रेरित ७:२१-२५; हिब्रू ११:२४, २५) यस घटनाबारे थाह पाएपछि मिश्रको शाही घरानाले मोशालाई विद्रोहीको रूपमा हेऱ्‍यो अनि आफ्नो ज्यान जोगाउन तिनी भाग्नुपऱ्‍यो। (प्रस्थान २:११-१५) परमेश्‍वरद्वारा चलाइने हो भने मोशा यहोवाको मार्गसित अझ राम्ररी परिचित हुनुपर्थ्यो। के मोशा सिक्न तयार हुने थिए?—भजन २५:९.

त्यसपछिको ४० वर्ष मोशाले निर्वासनमा एक जना गोठालोको रूपमा बिताए। आफ्ना हिब्रू दाजुभाइहरूले आफ्नो कुनै कदर नगरेको कारण दुःखी र निराश हुनुको सट्टा परमेश्‍वरले जे हुन दिनुभयो त्यो कुरा मोशाले स्वीकारे। कुनै विशेष अनुमोदन प्राप्त नगरी वर्षौं बिते तापनि मोशाले आफूलाई यहोवाले चाहनुभएको आकार वा रूपमा ढालिन दिए। आफूबारे घमन्ड गर्दै त होइन तर परमेश्‍वरको पवित्र आत्माको प्रभावद्वारा पछि तिनले यस्तो लेखे: “मोशाचाहिं पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्‍ति थिए।” (गन्ती १२:३) यहोवाले मोशालाई उल्लेखनीय तरिकाहरूमा चलाउनुभयो। हामीले पनि नम्रता खोज्यौं भने यहोवाले हामीलाई आशिष्‌ दिनुहुनेछ।—सपन्याह २:३.

एउटा कार्यभार दिइयो

३, ४. (क) यहोवाले मोशालाई कस्तो कार्यभार दिनुभयो? (ख) मोशाको लागि कस्तो सहयोगको प्रबन्ध मिलाइएको थियो?

यहोवाको प्रतिनिधित्व गर्ने एउटा स्वर्गदूतले एक दिन सीनै प्रायद्वीपको होरेब पर्वत नजिकै मोशासित कुरा गरे। मोशालाई यसो भनियो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ। यसैले तिनीहरूलाई मिश्रीहरूका हातबाट छुटकारा दिएर त्यस देशबाट एक असल र ठूलो देश, अर्थात्‌ दूध र मह बहने . . . देशमा ल्याउनलाई म ओर्लिएको छु।” (प्रस्थान ३:२, ७, ८) यस सन्दर्भमा परमेश्‍वरले मोशालाई एउटा काम दिनुहुने थियो तर यो काम यहोवाले निर्देशन दिनुहुने तरिकामा गर्नुपर्थ्यो।

यहोवाको स्वर्गदूतले अझ यसो भने: “अब आइज, मेरा प्रजा, अर्थात्‌ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन म तँलाई फिरऊनकहाँ पठाउनेछु।” मोशा अनकनाए। तिनले आफूलाई अयोग्य ठाने र हुन पनि तिनको आफ्नै योग्यतामा भर पर्ने हो भने तिनी योग्य थिएनन्‌। तथापि, यहोवाले मोशालाई यस्तो आश्‍वासन दिनुभयो: “निश्‍चय म तँसित हुनेछु।” (प्रस्थान ३:१०-१२) मोशालाई साँच्चै परमेश्‍वरले पठाउनुभएको हो भनेर प्रमाणित गर्न यहोवाले तिनलाई चमत्कारहरू गर्ने शक्‍ति दिनुभयो। मोशाको दाजु हारून प्रवक्‍ताको रूपमा तिनीसितै जाने थिए। अनि के भन्‍ने र के गर्ने भनेर तिनीहरूलाई यहोवाले नै सिकाउनुहुने थियो। (प्रस्थान ४:१-१७) के मोशाले त्यो जिम्मेवारी वफादारीपूर्वक पूरा गर्ने थिए?

५. इस्राएलीहरूको मनोवृत्तिले मोशाको लागि किन एउटा चुनौती खडा गऱ्‍यो?

सुरुमा त इस्राएलका बूढा-पाकाहरूले मोशा र हारूनलाई विश्‍वास गरे। (प्रस्थान ४:२९-३१) तथापि, चाँडै “इस्राएली सरदारहरूले” मोशा र तिनको दाइलाई फिरऊन र तिनका चाकरहरूको दृष्टिमा इस्राएलीहरूलाई “तिरष्कृत” तुल्याएको आरोप लगाए। (प्रस्थान ५:१९-२१; ६:९) इस्राएलीहरूले मिश्र छोड्‌दा, मिश्रीहरूको रथले आफूहरूलाई खेदिरहेको देख्दा तिनीहरू डराए। तिनीहरूको अगाडि लाल समुद्र थियो भने पछाडि युद्धका रथहरू, त्यसैले इस्राएलीहरूले आफू फन्दामा परेको ठाने अनि मोशालाई दोष लगाए। तपाईं हुनुभएको भए कस्तो प्रतिक्रिया देखाउनुहुन्थ्यो? इस्राएलीहरूसित डुङ्‌गा नभए तापनि यहोवाको निर्देशन अनुरूप मोशाले मानिसहरूलाई आ-आफ्ना सरसामानहरू पोको पारेर तयार बस्न आग्रह गरे। त्यसपछि परमेश्‍वरले लाल समुद्रको पानीलाई दुई भाग पारिदिनुभयो र समुद्रको पींधको ओबानो जमिन भएर इस्राएलीहरू पार तर्न सके।—प्रस्थान १४:१-२२.

छुटकाराभन्दा अझ महत्त्वपूर्ण एउटा विवाद

६. मोशालाई कार्यभार दिंदा यहोवाले कुन कुराबारे जोड दिनुभयो?

मोशालाई कार्यभार दिंदा, यहोवाले ईश्‍वरीय नाउँको महत्त्वबारे जोड दिनुभयो। त्यो नाउँ र त्यस नाउँले प्रतिनिधित्व गर्ने व्यक्‍तिप्रति आदर देखाउनु अत्यावश्‍यक थियो। उहाँको नाउँबारे सोध्दा यहोवाले मोशालाई यसो भन्‍नुभयो: “म हुँ जो म हुँ।” साथै, मोशाले इस्राएलीहरूलाई यसो भन्‍नुपर्थ्यो: “तिमीहरूका पिता-पुर्खाका परमप्रभु [“यहोवा,” NW ] परमेश्‍वर अर्थात्‌ अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकूबका परमेश्‍वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।” यहोवाले अझै यसो भन्‍नुभयो: “मेरो नाउँ सदा यही रहनेछ, र सबै पुस्तासम्म मेरो सम्झना यही हुनेछ।” (प्रस्थान ३:१३-१५) पृथ्वीभरका आफ्ना सेवकहरूसामु परमेश्‍वर अहिले पनि यहोवा भन्‍ने नाउँद्वारै चिनिनुहुन्छ।—यशैया १२:४, ५; ४३:१०-१२.

७. फिरऊनको अहङ्‌कारको बावजुद परमेश्‍वरले मोशालाई के गर्न आग्रह गर्नुभयो?

फिरऊनसामु देखापर्दा मोशा र हारूनले यहोवाको नाउँमा आफ्नो सन्देश बताए। तर अहङ्‌कारी हुँदै फिरऊनले यसो भने: “परमप्रभु [“यहोवा,” NW ] को हो, र म तिनको कुरा सुनेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई [“यहोवालाई,” NW ] म चिन्दिनँ, औ इस्राएलीहरूलाई म जान पनि दिंदिनँ।” (प्रस्थान ५:१, २) फिरऊनले आफू कठोर हृदयका साथै छली पनि भएको कुरा देखाए, तैपनि फिरऊनलाई बारम्बार सन्देश घोषणा गर्न यहोवाले मोशालाई आग्रह गर्नुभयो। (प्रस्थान ७:१४-१६, २०-२३; ८:१, २, २०) फिरऊन रिसले आगो भएको कुरा मोशाले देख्न सक्थे। फेरि तिनीसामु जाँदा के कुनै असल नतिजा प्राप्त हुन सक्थ्यो र? इस्राएल छुटकारा पाउन आतुर थियो। इस्राएलीहरूलाई जान नदिने आफ्नो निर्णयमा फिरऊन अडिग थिए। मोशाको ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो?

८. फिरऊनसित यहोवाले जुन तरिकामा व्यवहार गर्नुभयो त्यसबाट के फाइदा भयो र ती घटनाहरूले हामीलाई कसरी असर गर्नुपर्छ?

मोशाले अझै अर्को सन्देश पनि यसरी घोषणा गरे: “हिब्रूहरूका परमप्रभु [ “यहोवा,” NW ] परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मेरो सेवा गर्नलाई मेरा मानिसहरूलाई जानदे।’ ” परमेश्‍वरले यसो पनि भन्‍नुभयो: “मैले आफ्नो हात पसारेर तँलाई र तेरा प्रजालाई रूढीले मारेको भएदेखि ता तेरो नाउँ निशानै पृथ्वीबाट मेटिनेथियो। तर मेरो शक्‍ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्‌।” (प्रस्थान ९:१३-१६) कठोर हृदय भएको फिरऊनमाथि न्याय ल्याएर परमेश्‍वरलाई इन्कार गर्नेहरू सबैको लागि एउटा चेतावनी हुने ढङ्‌गमा उहाँले आफ्नो शक्‍ति प्रकट गर्ने उद्देश्‍य राख्नुभयो। यसरी इन्कार गर्नेहरूमा शैतान अर्थात्‌ दियाबल पनि थियो जसलाई येशू ख्रीष्टले पछि “संसारको शासक” भन्‍नुभयो। (यूहन्‍ना १४:३०; रोमी ९:१७-२४) भविष्यवाणी गरिएझैं यहोवाको नाउँ सारा संसारभरि घोषणा गरियो। उहाँको धीरजको कारण इस्राएलीहरू र तिनीहरूसित मिलेर यहोवाको उपासना गर्ने एउटा ठूलो मिश्रित दल बच्न सके। (प्रस्थान ९:२०, २१; १२:३७, ३८) त्यस बेलादेखि यता, साँचो उपासना अँगालेका लाखौं व्यक्‍तिहरूलाई यहोवाको नाउँको घोषणाले लाभ पुऱ्‍याएको छ।

एउटा अप्ठ्यारो जातिसित व्यवहार गर्ने

९. मोशाका आफ्नै मानिसहरूले कसरी यहोवाप्रति अनादर देखाए?

हिब्रूहरूलाई परमेश्‍वरको नाउँ थाह थियो। तिनीहरूसित कुरा गर्दा मोशाले यो नाउँ चलाए तर यो नाउँ जसको हो ती व्यक्‍तिप्रति तिनीहरूले सधैं उचित आदर देखाएनन्‌। यहोवाले इस्राएलीहरूलाई चमत्कारपूर्ण ढङ्‌गले मिश्रबाट छुटाउनुभएको केही समयपछि नै तिनीहरूले राम्रो खालको पिउने पानी तुरुन्तै नपाउँदा के भयो? तिनीहरूले मोशा विरुद्ध गनगन गरे। अर्को पल्ट तिनीहरूले खानाको विषयमा गनगन गरे। तिनीहरूको गनगन आफू र हारून विरुद्ध मात्र नभई यहोवा विरुद्ध हो भनेर मोशाले तिनीहरूलाई चेतावनी दिए। (प्रस्थान १५:२२-२४; १६:२-१२) सीनैको पर्वतमा यहोवाले इस्राएलीहरूलाई व्यवस्था दिनुका साथै अलौकिक घटनाहरू देखाउनुभयो। तर मानिसहरूले अनाज्ञाकारी हुँदै उपासनाको लागि सुनको बाछो बनाए अनि “परमप्रभुको निम्ति एउटा चाड” मनाएको दाबी गरे।—प्रस्थान ३२:१-९.

१०. प्रस्थान ३३:१३ मा लिपिबद्ध मोशाको आग्रह आजका मसीही निरीक्षकहरूको लागि किन एउटा विशेष चासोको विषय हो?

१० यहोवा स्वयम्‌ले हठी मानिसहरू भनी वर्णन गर्नुभएको जातिसित मोशाले कस्तो व्यवहार गर्नुपर्थ्यो? मोशाले यहोवालाई यस्तो बिन्ती गरे: “बिन्ती छ, यदि तपाईंको निगाह ममाथि भएको छ भने अब मलाई तपाईंको मार्ग देखाउनुहोस्‌, र म तपाईंलाई चिन्‍नसकूँ र तपाईंको दृष्टिमा निगाह पाऊँ।” (प्रस्थान ३३:१३) यहोवाका वर्तमान समयका साक्षीहरूको हेरविचार गर्दा मसीही निरीक्षकहरूले इस्राएलीहरूभन्दा कता हो कता नम्र बगालको गोठालो गर्छन्‌। तैपनि, यी निरीक्षकहरू मोशालेझैं यसरी प्रार्थना गर्छन्‌: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनुहोस्‌।” (भजन २५:४) यहोवाको मार्गबारेको ज्ञानले कुनै परिस्थितिको सामना गर्नुपर्दा परमेश्‍वरको वचन र उहाँको व्यक्‍तित्व अनुरूप सामना गर्न निरीक्षकहरूलाई मदत गर्छ।

आफ्ना जनहरूबाट यहोवा के चाहनुहुन्छ

११. यहोवाले मोशालाई कस्तो मार्ग निर्देशन दिनुभयो र त्यसमा हामी किन चासो राख्छौं?

११ आफ्ना जनहरूबाट यहोवा के चाहनुहुन्छ भन्‍ने कुरा सीनैको पर्वतमा मौखिक तवरमा प्रकट गरिएको थियो। पछि मोशाले दस आज्ञाहरू लेखिएको दुईवटा पाटी पाए। पर्वतबाट झर्दै गर्दा, ढालेर बनाइएको बाछोलाई इस्राएलीहरूले उपासना गरिरहेको तिनले देखे अनि रिसाएर पाटी भुँइमा फ्याँक्दा यो चकनाचूर भयो। मोशा आफैले तयार पारेको ढुङ्‌गाको पाटीमा यहोवाले फेरि दस आज्ञा लेखिदिनुभयो। (प्रस्थान ३२:१९; ३४:१) पहिलो पटक दिंदा यी आज्ञाहरू जस्ता थिए त्यसमा कुनै परिवर्तन भएको थिएन। मोशाले यी आज्ञाहरू अनुरूप काम गर्नुपर्थ्यो। आफू कस्तो प्रकारको व्यक्‍ति हुँ भन्‍ने कुरा पनि परमेश्‍वरले मोशालाई जोडदार ढङ्‌गमा प्रकट गर्नुभयो र यहोवाको प्रतिनिधिको हैसियतमा मोशाले कसरी व्यवहार गर्नुपर्छ भनेर देखाउनुभयो। हुन त मसीहीहरू मोशाको व्यवस्थाको अधीनमा छैनन्‌ तैपनि यहोवाले मोशालाई भन्‍नुभएका कुराहरूमा समावेश आधारभूत सिद्धान्तहरूमा कुनै परिवर्तन भएको छैन र यहोवाको उपासना गर्नेहरू सबैलाई यो अझ पनि लागू हुन्छ। (रोमी ६:१४; १३:८-१०) आउनुहोस्‌, ती सिद्धान्तहरूमध्ये केही विचार गरौं।

१२. यहोवाले ऐकान्तिक भक्‍ति माग गर्दा यसले इस्राएललाई कसरी असर गरेको हुनुपर्छ?

१२ यहोवालाई ऐकान्तिक भक्‍ति चढाउनुहोस्‌। आफूलाई ऐकान्तिक भक्‍ति चाहिन्छ भनी यहोवाले घोषणा गर्नुहुँदा इस्राएल राष्ट्र उपस्थित थियो। (प्रस्थान २०:२-५) यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ भन्‍ने प्रशस्त प्रमाण इस्राएलीहरूले देखेका थिए। (व्यवस्था ४:३३-३५) अरू राष्ट्रहरूले जेसुकै गरिरहेको भए तापनि आफूले भने आफ्ना जनहरू माझ कुनै पनि प्रकारको मूर्तिपूजा वा प्रेतवाद सहनेछैनँ भनी यहोवाले स्पष्ट पार्नुभयो। उहाँप्रति तिनीहरूको भक्‍ति एउटा औपचारिकता मात्र हुनु हुँदैनथ्यो। तिनीहरू सबैले यहोवालाई आफ्नो सम्पूर्ण मनले, आफ्नो सम्पूर्ण प्राणले र आफ्नो सम्पूर्ण शक्‍तिले प्रेम गर्नुपर्थ्यो। (व्यवस्था ६:५, ६) यसमा तिनीहरूको बोली, तिनीहरूको आचरण र अझ भन्‍ने हो भने तिनीहरूको जीवनको हरेक पक्ष समावेश हुने थियो। (लेवी २०:२७; २४:१५, १६; २६:१) यहोवा ऐकान्तिक भक्‍ति चाहनुहुन्छ भन्‍ने कुरा येशू ख्रीष्टले पनि स्पष्ट पार्नुभयो।—मर्कूस १२:२८-३०; लूका ४:८.

१३. परमेश्‍वरप्रति इस्राएल किन पूर्णतया आज्ञाकारी हुनुपर्थ्यो र उहाँको आज्ञा पालन गर्न हामीलाई कुन कुराले उत्प्रेरित गर्नुपर्छ? (उपदेशक १२:१३)

१३ यहोवाका आज्ञाहरू पूर्णतया पालन गर्नुहोस्‌। यहोवासित करारको सम्बन्धमा प्रवेश गर्दा तिनीहरूले उहाँको आज्ञा पूर्णतया पालन गर्ने वाचा बाँधेका थिए भनी इस्राएलका मानिसहरूलाई सम्झाउनुपऱ्‍यो। तिनीहरूले विभिन्‍न खालका व्यक्‍तिगत स्वतन्त्रताको आनन्द उठाउन सक्थे तर त्यस्ता विषयहरू जसबारे यहोवाले तिनीहरूलाई आज्ञा दिनुभएको थियो त्यस सन्दर्भमा भने तिनीहरू पूर्णतया आज्ञाकारी हुनुपर्थ्यो। यसले परमेश्‍वरप्रति तिनीहरूको प्रेमको प्रमाण दिन्थ्यो अनि तिनीहरू र तिनीहरूका सन्तानहरूलाई लाभ पुऱ्‍याउँथ्यो किनभने यहोवाका सबै आज्ञाहरू तिनीहरूकै भलाइको निम्ति थिए।—प्रस्थान १९:५-८; व्यवस्था ५:२७-३३; ११:२२, २३.

१४. आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनुको महत्त्वबारे परमेश्‍वरले इस्राएललाई कसरी जोड दिनुभयो?

१४ आध्यात्मिक कुराहरूलाई प्राथमिकता दिनुहोस्‌। आफ्नो भौतिक आवश्‍यकताहरूको हेरविचार गर्ने धुनमा इस्राएल राष्ट्रले आध्यात्मिक क्रियाकलापहरूप्रति दिइरहेको चासोलाई निसासिन दिनु हुँदैनथ्यो। इस्राएलीहरूको जीवन सांसारिक कुराहरूको पछि लाग्नमा मात्र केन्द्रित हुनु हुँदैनथ्यो। साँचो परमेश्‍वरको उपासनासित सम्बन्धित क्रियाकलापहरूको लागि मात्र प्रयोग गर्न यहोवाले हरेक हप्ताको केही समय पवित्र समयको रूपमा छुट्ट्याउनुभयो। (प्रस्थान ३५:१-३; गन्ती १५:३२-३६) तोकिएका पवित्र अधिवेशनहरूका लागि हरेक वर्ष थप समय छुट्ट्याउनुपर्थ्यो। (लेवी २३:४-४४) यसले यहोवाका शक्‍तिशाली कार्यहरूबारे बताउने, उहाँको मार्गबारे सम्झने र उहाँका सबै भलाइको लागि उहाँप्रति कृतज्ञता व्यक्‍त गर्ने मौका दिने थियो। मानिसहरूले यहोवाप्रति आफ्नो भक्‍ति प्रकट गर्दा तिनीहरू ईश्‍वरीय भय र प्रेममा बढ्‌ने थिए अनि उहाँको मार्गमा हिंड्‌न मदत पाउने थिए। (व्यवस्था १०:१२, १३) ती निर्देशनमा भएका स्वास्थ्यकर सिद्धान्तहरूले यहोवाका सेवकहरूलाई आज पनि लाभ पुऱ्‍याउँछ।—हिब्रू १०:२४, २५.

यहोवाका गुणहरूको मूल्याङ्‌कन गर्ने

१५. (क) यहोवाका गुणहरूप्रतिको मूल्याङ्‌कन मोशाको लागि किन लाभकारी थियो? (ख) कस्ता प्रश्‍नहरूले हामीलाई यहोवाका प्रत्येक गुणहरूबारे गहिरिएर सोच्न मदत गर्न सक्छ?

१५ यहोवाका गुणहरूप्रतिको मूल्याङ्‌कनले पनि मानिसहरूसित व्यवहार गर्न मोशालाई मदत दिने थियो। परमेश्‍वर मोशाको सामनेबाट गएर यसो भनी घोषणा गर्नुभयो भनेर प्रस्थान ३४:५-७ बताउँछ: “परमप्रभुनै टिठाउनमा भरिपूर्ण र दयालु [“दयालु र अनुग्रही,” NW ] परमेश्‍वर, रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त हुनुहुन्छ, हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने, दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने, पिता-पुर्खाको दुष्टताको दण्ड तिनीहरूका छोरा-छोरीहरू, नाति-पनाति, र तेस्रो र चौथो पुस्तासम्म दिनुहुने हुनुहुन्छ।” यी शब्दहरूमा समय लगाएर मनन गर्नुहोस्‌। आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘हरेक गुणको अर्थ के हो? यहोवाले यो गुण कसरी प्रदर्शित गर्नुभयो? मसीही निरीक्षकहरूले यो गुण कसरी देखाउन सक्छन्‌? हामी प्रत्येकले गर्ने कामहरूमा यो खास गुणले कस्तो असर पार्नुपर्छ?’ केही उदाहरणहरू विचार गर्नुहोस्‌।

१६. परमेश्‍वरको दयाप्रति हाम्रो मूल्याङ्‌कन कसरी अझ गहिरो बनाउन सक्छौं र यसो गर्नु किन महत्त्वपूर्ण छ?

१६ यहोवा “दयालु र अनुग्रही परमेश्‍वर” हुनुहुन्छ। तपाईंसित इन्साइट अन द स्क्रिप्चर्स भन्‍ने सन्दर्भसामग्री छ भने “दया” भन्‍ने शीर्षकमा बताइएको कुरा पढ्‌नुभए कसो होला? अथवा वाच टावर पब्लिकेसन्स्‌ इन्डेक्स वा वाचटावर लाइब्रेरी (सी डी-रोम) a भन्‍ने कम्प्युटर प्रोग्राम चलाएर त्यस विषयमा अनुसन्धान गर्नुहोस्‌। दयाबारे उल्लेख गरिएका शास्त्रपदहरू फेला पार्न शास्त्रपदहरूको सूची भएको पुस्तक अर्थात्‌ कन्कर्डेन्स चलाउनुहोस्‌। यहोवाको दयाले कहिलेकाहीं पाउनुपर्ने सजाय कम गर्नुका साथै यसमा कोमल अनुकम्पा पनि झल्कन्छ भनी तपाईंले देख्नुहुनेछ। आफ्ना जनहरूलाई छुटकारा दिनको लागि कदम चाल्न दयाले परमेश्‍वरलाई उत्प्रेरित गर्छ। यसको प्रमाण स्वरूप, इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशतर्फ यात्रा गर्दा परमेश्‍वरले तिनीहरूलाई भौतिक र आध्यात्मिक दुवै कुरा दिनुभयो। (व्यवस्था १:३०-३३; ८:४) तिनीहरूका गल्तीहरूलाई यहोवाले दयालुपूर्वक क्षमा दिनुभयो। उहाँले आफ्ना पुरातन जनहरूप्रति दया देखाउनुभयो। त्यसैले वर्तमान समयका उहाँका सेवकहरूले एकअर्काप्रति कत्ति बढ्‌ता अनुकम्पा देखाउनुपर्ला!—मत्ती ९:१३; १८:२१-३५.

१७. यहोवाको अनुग्रहबारे राम्ररी बुझ्दा यसले साँचो उपासनालाई कसरी बढवा दिन सक्छ?

१७ यहोवाको दया अनुग्रहसित सम्बन्धित छ। तपाईंसित शब्दकोश छ भने “अनुग्रह” शब्दको अर्थ कसरी बताइएको छ सो पढ्‌नुहोस्‌। यसलाई यहोवा अनुग्रही हुनुहुन्छ भनेर बताउने शास्त्रपदहरूसित तुलना गर्नुहोस्‌। यहोवाको अनुग्रहमा आफ्ना जनहरूमध्ये दुःखमा परेका व्यक्‍तिहरूप्रति उहाँको मायालु चासो समावेश छ भनी बाइबलले देखाउँछ। (प्रस्थान २२:२६, २७) कुनै पनि देशमा प्रवासीहरूका साथै अरू पनि कतिपय सुविधाहरूबाट वञ्चित हुन सक्छन्‌। यस्ता व्यक्‍तिहरूप्रति निष्पक्ष हुन र दया देखाउन आफ्ना जनहरूलाई सिकाउँदा यहोवाले मिश्रमा तिनीहरू पनि प्रवासी थिए भन्‍ने कुरा तिनीहरूलाई सम्झाउनुभयो। (व्यवस्था २४:१७-२२) परमेश्‍वरका जनहरूको हैसियतमा आज हामीबारे के भन्‍न सकिन्छ नि? हामी अनुग्रही हुँदा यसले हामीलाई एकताबद्ध हुन र अरूलाई यहोवाको उपासनाप्रति आकर्षित गर्न मदत गर्छ।—प्रेरित १०:३४, ३५; प्रकाश ७:९, १०.

१८. अरू राष्ट्रका मानिसहरूसित व्यवहार गर्दा तिनीहरूको मार्गबाट जोगिनेबारे यहोवाले इस्राएलको लागि सीमा तोक्नुभएको कुराबाट हामी के सिक्छौं?

१८ तथापि, यहोवा र उहाँको नैतिक स्तरप्रति इस्राएलको प्रेम भन्दा अरू राष्ट्रका मानिसहरूप्रतिको दयालु चासो बढी महत्त्वपूर्ण हुनु हुँदैनथ्यो। त्यसैले इस्राएलीहरूलाई वरपरका राष्ट्रहरूको जस्तो मार्ग नपछ्याउन अनि तिनीहरूको धार्मिक प्रचलन तथा अनैतिक जीवन शैली नअँगाल्न सिकाइएको थियो। (प्रस्थान ३४:११-१६; व्यवस्था ७:१-४) यो कुरा आज हामीलाई पनि लागू हुन्छ। हाम्रा परमेश्‍वर यहोवा पवित्र हुनुभएजस्तै हामी पनि एउटा पवित्र जाति हुनुपर्छ।—१ पत्रुस १:१५, १६.

१९. गलत कार्यप्रति यहोवाको दृष्टिकोण बुझ्दा यसले उहाँका जनहरूलाई कसरी जोगाउन सक्छ?

१९ मोशाले यहोवाको मार्ग बुझून्‌ भनेर उहाँले पापलाई समर्थन नगर्नुभए तापनि उहाँ रिस गर्नमा ढिलो हुनुहुन्छ भन्‍ने कुरा यहोवाले प्रस्ट पार्नुभयो। उहाँका आवश्‍यकताहरूबारे सिक्न र त्यस अनुरूप चल्न उहाँले मानिसहरूलाई समय दिनुहुन्छ। पश्‍चात्ताप गरेको खण्डमा यहोवाले पाप क्षमा गर्नुहुन्छ तर गम्भीर गल्तीहरूका लागि उहाँले उचित सजाय नदिई छोड्‌नुहुन्‍न। इस्राएलीहरूले गरेको कामले भावी पुस्तालाई राम्रो वा नराम्रो असर पार्न सक्छ भनेर उहाँले मोशालाई चेतावनी दिनुभयो। यहोवाको मार्गप्रति मूल्याङ्‌कन देखाउँदा, आफैले गर्दा आइपरेको परिस्थितिको दोष परमेश्‍वरलाई दिनदेखि वा उहाँ लोसे हुनुहुन्छ भन्‍ने निष्कर्षमा पुग्नदेखि परमेश्‍वरका जनहरूलाई जोगाउन सक्छ।

२०. हाम्रा सँगी विश्‍वासीहरूसित र सेवकाईमा हामीले भेट्‌ने मानिसहरूसित सही तरिकाले व्यवहार गर्न हामीलाई कुन कुराले मदत दिन सक्छ? (भजन ८६:११)

२० यहोवा र उहाँको मार्गसम्बन्धी आफ्नो ज्ञान अझ बढाउने इच्छा गर्नुहुन्छ भने बाइबल पढ्‌दा अनुसन्धान र मनन गरिरहनुहोस्‌। यहोवाको व्यक्‍तित्वका विभिन्‍न मनमोहक पक्षहरू होसियारीपूर्वक केलाउनुहोस्‌। तपाईं कसरी अझ राम्ररी परमेश्‍वरको अनुकरण गर्न सक्नुहुन्छ र आफ्नो जीवनलाई उहाँको उद्देश्‍य अनुरूप अझ बढी ढाल्न सक्नुहुन्छ भनेर प्रार्थनापूर्वक विचार गर्नुहोस्‌। यसले तपाईंलाई खतराहरूदेखि जोगिन, सँगी विश्‍वासीहरूसित सही तरिकाले व्यवहार गर्न र हाम्रा महिमित परमेश्‍वरबारे थाह पाउन तथा उहाँलाई प्रेम गर्न अरूलाई सहयोग दिन मदत गर्नेछ।

[फुटनोट]

a सबै यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईंले के सिक्नुभयो?

• नम्र हुनु मोशाको लागि किन महत्त्वपूर्ण थियो र यो हाम्रो लागि किन अत्यावश्‍यक छ?

• यहोवाको वचन लिएर बारम्बार फिरऊनसामु जाँदा कस्तो असल नतिजा प्राप्त भयो?

• मोशालाई सिकाइएको र हामीलाई पनि लागू हुने केही उल्लेखनीय सिद्धान्तहरू कुन-कुन हुन्‌?

• यहोवाका गुणहरूसम्बन्धी हाम्रो समझ कसरी अझ बढाउन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २१-मा भएको चित्र]

वफादारीपूर्वक मोशाले फिरऊनलाई यहोवाको वचन सुनाए

[पृष्ठ २३-मा भएको चित्र]

आफूले चाहने कुराहरू यहोवाले मोशालाई प्रकट गर्नुभयो

[पृष्ठ २४-मा भएको चित्र]

यहोवाका गुणहरूमा मनन गर्नुहोस्‌