सुद्धीबुद्धि चलाउन किन छोडिंदैछ?
सुद्धीबुद्धि चलाउन किन छोडिंदैछ?
एक जना पर्यवेक्षक प्रश्न तेर्स्याउँछन्, “उसलाई के भएको हँ? यसो गर्नु हुन्न भनेर उसलाई त थाह हुनुपर्ने।” ठ्याम्मै चित्त नबुझेजस्तो गरी टाउको हल्लाउँदै अर्कोचाहिं यसो भनेर मुरमुरिंदै एकातिर लाग्छ, “अलिकति मात्र कमन सेन्स अर्थात् सुद्धीबुद्धि चलाएको भए उसले त्यसो गर्ने नै थिएन।” तपाईंले पनि यसो भनेको सुन्नुभएको छ कि? यद्यपि, यो “सुद्धीबुद्धि” भनेको चाहिं के हो?
“सुद्धीबुद्धि” शब्दलाई “सही मूल्याङ्कन,” “समझ” र “व्यावहारिक बुद्धि अथवा निर्णय” भनी परिभाषित गरिएको छ। यसबाट मानिससित बुद्धि चलाएर निर्णय गर्ने तथा खुट्ट्याउने क्षमता छ भन्ने कुरा बोध हुन्छ। स्पष्टतः सुद्धीबुद्धिको लागि हामीले आफ्नो सोच्ने क्षमता चलाउनु खाँचो छ। धेरैजसो मानिसहरू आफ्नो लागि अरूले नै सोचिदिऊन् भन्ने चाहन्छन्। उनीहरू आफ्नो निर्णय आफै नगरेर सञ्चारमाध्यम, आफ्ना साथीभाइ अथवा लोकप्रिय विचारधाराको लहैलहैमा लाग्छन्।
हामी बाँचिरहेको संसारमा मानिसहरूले सुद्धीबुद्धि त्यति नचलाउने हुँदा एक जना पर्यवेक्षकले एक चोटि यस्तो टिप्पणी गरे, ‘साँच्चै भन्ने हो भने, सुद्धीबुद्धि चलाउन छोडिंदैछ।’ हामी कसरी सुद्धीबुद्धि हासिल गर्न सक्छौं? यसका लाभहरू के-के हुन्?
सुद्धीबुद्धि कसरी हासिल गर्ने?
सही समझ र सही निर्णय गर्ने क्षमता विकास गर्न समय लाग्नुका साथै निकै सोचविचार गरेर उत्कट प्रयास गर्नुपरे तापनि सुद्धीबुद्धि हासिल गर्न भने सकिन्छ। सुद्धीबुद्धि हासिल गर्न हामीलाई मदत गर्ने तीनवटा पक्ष विचार गर्नुहोस्।
बाइबल अध्ययन गर्नुहोस् र यसको सल्लाह पालन गर्नुहोस्। बुद्धि र असल समझ प्राप्त गर्ने सन्दर्भमा उत्कृष्ट भाषा अनि तार्किक ढङ्गमा लेखिएको बाइबल एउटा अत्युत्तम सहायक हो। (एफिसी १:८) उदाहरणका लागि, प्रेरित पावलले सँगी मसीहीहरूलाई यस्तो सल्लाह दिए: “जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” (फिलिप्पी ४:८) यो सल्लाह पालन गरिरह्यौं भने हामी सही निर्णय गर्न सक्ने हुनुका साथै सोच-विचार गरेर मात्र काम गर्ने हुनेछौं।
अनुभवबाट सिक्नुहोस्। सुद्धीबुद्धि र जीवनमा भोग्ने अनुभवबीचको सम्बन्ध देखाउँदै स्वीस् कविले यसो भने: “सुद्धीबुद्धिको लागि . . . अनुभव र पूर्वसोच [दूरदर्शिता] चाहिन्छ।” साँच्चै, “निर्बुद्धि मानिसले आफूले सुनेको एक एक कुरा पत्याउँछ, चतुर मानिसले चाहिं प्रमाणको आवश्यकतालाई बुझ्छ।” (हितोपदेश १४:१५) अवलोकन, प्रशिक्षण र अनुभवद्वारा सुद्धीबुद्धि विकास गर्न सकिन्छ। समयको अन्तरालमा हामी कामकुरा राम्ररी गर्न सिक्न सक्छौं। तथापि, आफ्ना गल्तीहरूबाट सिक्न नम्रता चाहिन्छ। यस आखिरी दिनका मानिसहरूको अहङ्कारी, हठी र जिद्दी मनोभाव सुद्धीबुद्धि भएको प्रमाण होइन।—२ तिमोथी ३:१-५.
बुद्धिमानीपूर्वक संगत छान्नुहोस्। बुद्धि र सुद्धीबुद्धि प्रयोग गर्ने सन्दर्भमा हाम्रो संगतिले हामीलाई मदत पनि गर्न सक्छ, बाधा पनि पुऱ्याउन सक्छ। हितोपदेश १३:२० यसो भन्छ: “बुद्धिमानीहरूको सङ्गत गर्नाले बुद्धिमान होइन्छ मूर्खहरूसित लागे बरालिन्छ।” परमेश्वरको आज्ञापालन नगर्ने र उहाँको वचनलाई तिरस्कार गर्नेहरूको सोचाइ अथवा विचारधारा हामीले अपनाइरहनु खाँचो छैन। हितोपदेश १७:१२ यस विषयमा यसो भन्छ: “मूर्ख मानिसलाई त्यसको मूर्खतामा भेट्नुभन्दा ता बरू बच्चा खोसिएको भालूसित भेट गर्नु असल छ।”
के लाभ छ?
सुद्धीबुद्धि विकास गर्नु लाभदायी कुरा हो। यसले जीवनलाई अझ रोचक बनाउनुका साथै हाम्रो समयको बचत गर्छ। सुद्धीबुद्धिले सोचविचार नगरी कामकुरा गर्दा आइपर्ने नैराश्यसमेत कम गर्न सक्छ। सही निर्णय गर्न नसक्ने व्यक्तिहरूले आफ्नो जीवनलाई जटिल बनाउँछन्। “मूर्ख आफ्नो परिश्रमले आफै थाक्छ” भनी बाइबल बताउँछ। (उपदेशक १०:१५) यस्ता व्यक्तिविशेषहरू मरिमेटी काम गरेर थकित भए पनि उनीहरूले आफ्नो परिश्रमको सोचेजस्तो प्रतिफल पाउँदैनन्।
सरसफाइ, कुराकानी, कडा परिश्रम, गरिबीको सामना गर्ने लगायत जीवनका अन्य थुप्रै पक्षहरूबारे बाइबलमा प्रशस्त मात्रामा व्यावहारिक सल्लाह पाउन सकिन्छ। जीवनमा सफल हुने वा नहुने कुरा बुद्धिमानी हुन मदत गर्ने बाइबल सिद्धान्तहरू कुन हदसम्म लागू गरेको छ त्यसैमा भरपर्छ भनी लाखौंले पुष्टि गर्न सक्छन्।
सुद्धीबुद्धिले निर्देशन अथवा नीतिनियमहरू एक-एक गरी पालन गर्न मात्र होइन तर कदम चाल्न पनि हामीलाई सक्षम बनाउँछ। यसले हामीलाई आफ्ना जिम्मेवारीहरू पूरा गर्न मदत दिन्छ। तथापि, सुद्धीबुद्धि भए ज्ञान लिनु पर्दैन भनेको होइन। “बुद्धिमान मानिसले . . . ध्यानसित सुन्यो भने आफ्नो विद्या बढाउनेछ” भनी हितोपदेश १:५ बताउँछ। आफूले जम्मा गर्ने जानकारीलाई विश्लेषण गरेर सही निष्कर्षमा पुग्न पनि हामीले सिक्नै पर्छ। यसले हामीलाई ‘बुद्धिको मार्गमा हिड्न’ मदत गर्छ।—हितोपदेश २८:२६.
सुद्धीबुद्धिसित विनम्रताको नजिकको सम्बन्ध छ। हामीलाई धेरै जिम्मेवारीहरू वहन गर्न मन लाग्ला तर हामीले राम्ररी विचार पुऱ्याउनु खाँचो छ र आफ्नो क्षमताले भ्याउन्जेल मात्र गर्नुपर्छ। हुन त हो, प्रेरित पावल हामीलाई “प्रभुको काममा प्रशस्त हुँदै” जान सल्लाह दिन्छन्। (१ कोरिन्थी १५:५८) यद्यपि, यो सल्लाह र उपदेशक ९:४ मा लिपिबद्ध सिद्धान्तबीच सन्तुलन कायम गर्नुपर्छ: “जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो।” यहोवाको सेवा गर्दा आफ्नो स्वास्थ्यको राम्रो हेरविचार गऱ्यौं भने हामी लामो समयसम्म बाँच्न र सक्रिय रहिरहन सक्नेछौं। सुद्धीबुद्धिले हामीलाई व्यावहारिक सन्तुलन कायम राख्न मदत गर्न सक्छ जसले गर्दा हामी आनन्द नगुमाईकन आवश्यक कुराहरू पूरा गर्न सक्छौं। हो, सुद्धीबुद्धिका थुप्रै लाभहरू छन्।
[पृष्ठ १४-मा भएको चित्र]
बाइबलमा प्रचुर मात्रामा असल सरसल्लाह पाउन सक्छौं
[पृष्ठ १५-मा भएको चित्र]
अवलोकन, प्रशिक्षण र अनुभवद्वारा सुद्धीबुद्धि हासिल गर्न सकिन्छ