सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाउँदै!

‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाउँदै!

जीवनी

‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाउँदै!

टेड बकिङगमको वृत्तान्तमा आधारित

पोलियो लागेर अचानक थला पर्दा म पूर्ण-समय सेवक भएको छ वर्ष र विवाह गरेको चाहिं छ महिना भइसकेको थियो। यो कुरा सन्‌ १९५० तिरको हो र त्यतिखेर म केवल २४ वर्षको थिएँ। नौ महिनासम्म अस्पतालमा बस्दा मैले आफ्नो जीवनबारे घोरिएर सोच्ने पर्याप्त समय पाएँ। यस्तो अशक्‍त शरीरसँग मेरी पत्नी जोइस र मैले जिन्दगी कसरी बिताउने?

सन्‌ १९३८ मा धर्ममा आस्था नराख्ने मेरो बुबाले गभरमेन्ट a भन्‍ने पुस्तक प्राप्त गर्नुभयो। राजनैतिक उथलपुथल अनि सम्भावित युद्धको कारण उहाँले त्यो पुस्तक लिनुभएको हुन सक्छ। जहाँसम्म मलाई थाह छ उहाँले त्यो पुस्तक कहिल्यै पढ्‌नुभएन तर धर्ममा गहिरो आस्था राख्ने मेरी आमाले चाहिं त्यो पढ्‌नुभयो। त्यस पुस्तकमा दिइएको सन्देशअनुसार उहाँले तुरुन्त कदम चालिहाल्नुभयो। उहाँले चर्च अफ इङ्‌गल्यान्ड छोड्‌नुभयो र मेरो बुबाले जतिसुकै विरोध गरे पनि उहाँ यहोवाको एक जना विश्‍वासी साक्षी हुनुभयो र सन्‌ १९९० मा आफ्नो मृत्यु नहोउन्जेलसम्म त्यस्तै विश्‍वासी रहिरहनुभयो।

मेरी आमाले मलाई दक्षिणी लण्डनको एप्समस्थित राज्यभवनमा पहिलो चोटि मसीही सभामा लैजानुभएको थियो। पहिला स्टोरको रूपमा प्रयोग गरिएको त्यस ठाउँमा भाइबहिनीहरू भेला हुन्थे र हामीले त्यसबेला यहोवाका साक्षीहरूको कामको निरीक्षण गरिरहेका जे. एफ. रदरफोर्डले दिनुभएको भाषणको रेकर्डिङ सुन्यौं। त्यस भाषणले मेरो मनमा गहिरो छाप पाऱ्‍यो।

लण्डनमा हवाई आक्रमणको बेला भएको ठूलो बमबारीले गर्दा निकै खतरा बढेको थियो। त्यसैकारण सन्‌ १९४० मा मेरो बुबाले परिवारलाई सुरक्षित ठाउँ—लण्डनदेखि ४५ किलोमिटर टाढा पर्ने सानो सहर मेडनहेड सार्ने निधो गर्नुभयो। यसरी बसाइँ सर्दा फाइदै भयो किनभने त्यहाँको मण्डलीका ३० जना सदस्यबाट हामीले धेरै प्रोत्साहन पायौं। सन्‌ १९१७ मा बप्तिस्मा लिएका आध्यात्मिक तवरमा बलियो फ्रेड स्मिथले मलाई विशेष चासो दिएर अझ प्रभावकारी प्रचारक बन्‍न प्रशिक्षण दिए। तिनको उदाहरण अनि मायालु मदतको लागि तिनीप्रति म अझै पनि अत्यन्त आभारी छु।

पूर्ण-समय सेवामा प्रवेश गर्दै

सन्‌ १९४१ मा १५ वर्षको उमेरमा मैले मार्च महिनाको जाडोमा थेम्स्‌ नदीमा बप्तिस्मा लिएँ। त्यतिन्जेल मेरो दाइ जिम पूर्ण-समय प्रचारक भइसक्नुभएको थियो। बेलाइतभरि क्षेत्रीय अनि जिल्ला निरीक्षकको रूपमा काम गरेर यहोवाको सेवामा अधिकांश समय बिताइसकेपछि अहिले उहाँ र उहाँकी पत्नी माज बर्मिङह्‍याममा बस्नुहुन्छ। मेरी बहिनी रोबिना अनि तिनका पति फ्रान्कले पनि विश्‍वासी भई यहोवाको सेवा गरिरहेका छन्‌।

म कपडा उद्योगमा लेखापालको काम गर्थें। एक दिनको कुरा हो, कम्पनीको लागि क्रेताको रूपमा काम गर्ने निकै आशलाग्दो कामको प्रस्ताव राख्न प्रबन्ध निर्देशकले मलाई आफ्नो अफिसमा बोलाए। तथापि, केही समयदेखि आफ्नो दाइको उदाहरण पछ्याउने विचार गरिरहेको कारण मैले हाकिमको प्रस्ताव नम्रतासाथ अस्वीकार गरें र अस्वीकार गर्नुको कारण पनि बताएँ। यस्तो अर्थपूर्ण मसीही गतिविधिमा लाग्न चाहेकोमा उहाँले मेरो हार्दिक सराहना गर्दा म त छक्क परें। त्यसैले, सन्‌ १९४४ मा नर्थएम्पटनमा आयोजित जिल्ला अधिवेशनपछि म पूर्ण-समय प्रचारक भएँ।

मेरो पहिलो असाइनमेन्ट डेभोन प्रान्तको एक्सटर भन्‍ने सहरमा थियो। त्यतिखेर त्यस सहरले युद्धको दौडान भएको बमबारीबाट बिस्तारै राहत पाउँदै थियो। पहिल्यैदेखि दुई जना अग्रगामी बस्दै आएको कोठामा म पनि सँगै बस्न थालें। ती अग्रगामीहरू फ्राङ्‌क अनि रूथ मिडलटन थिए र उनीहरूले मलाई धेरै दयालु व्यवहार गरे। त्यतिखेर म मात्र १८ वर्षको थिएँ, लुगा धुने र खाना पकाउने सन्दर्भमा त्यति अनुभवै थिएन तर मैले आफ्नो सीप विकास गर्दै गएपछि अवस्था राम्रो भयो।

प्रचार गर्ने मेरो साथी आइरिस नागरिक ५० वर्षीय भिक्टर गर्ड हुनुहुन्थ्यो र उहाँले सन्‌ १९२० को दशकदेखि लगातार साक्षी दिने काम गर्दै आउनुभएको थियो। उहाँले मलाई लाभदायी ढङ्‌गमा आफ्नो समय तालिका मिलाउन, बाइबल पढाइप्रति गहिरो चासो विकास गर्न र विभिन्‍न बाइबल अनुवादहरूको महत्त्व बुझ्न सिकाउनुभयो। ती महत्त्वपूर्ण वर्षहरूको दौडान भिक्टरको दृढ उदाहरण मैले खोजेजस्तै थियो।

तटस्थताको चुनौती

युद्ध अन्त्य हुन-हुनै लागेको थियो तरैपनि अधिकारीहरूले जवानहरूलाई सैन्य सेवामा भर्ती गराउन छाडेका थिएनन्‌। सन्‌ १९४३ मा मलाई मेडनहेडको अदालतमा हाजिर गराइयो, जहाँ मैले आफू सुसमाचारका सेवक भएको कारण छुट पाउनुपर्ने प्रस्ट माग राखें। मैले गरेको अपिल अस्वीकार भए तापनि आफ्नो सेवकाईलाई निरन्तरता दिन इक्सटर जाने मैले निर्णय गरें। अन्तमा इक्सटरमै मलाई स्थानीय अदालतमा हाजिर हुने आदेश दिइयो। मलाई जेलमा घोटिएर काम गर्ने छ महिनाको सजाय सुनाइँदा योभन्दा लामो सजाय दिन नसकेकोमा अपसोच लागेको कुरा न्यायाधीशले मलाई बताए। छ महिना जेल सजाय काटिसकेपछि थप चार महिनाको लागि मलाई फेरि जेल पठाइयो।

जेलमा म मात्रै साक्षी भएकोले जेलरहरू मलाई यहोवा भनी बोलाउँथे। हाजिरी लिएको बेला त्यो नाउँ सुनेपछि जवाफ दिन अलि अप्ठ्यारो हुने भए पनि हरेक दिन परमेश्‍वरको नाउँ सुन्‍न पाउनु ठूलै सुअवसर थियो! यहोवाको साक्षीको हैसियतमा मैले अन्तस्करणको आधारमा लिएको अडानको कारण नै मलाई जेल सजाय दिइएको हो भन्‍ने कुरा त्यसबाट अरू कैदीहरूले थाह पाए। पछि, नरमन क्यास्ट्रोलाई म भएकै जेलमा ल्याइयो र मेरो नाउँ पनि परिवर्तन भयो—त्यसपछि हाम्रो नाउँ मोशा र हारून राखियो।

मलाई इक्सटर जेलदेखि ब्रिस्टोल हुँदै अन्तमा विन्चेस्टर जेल लगियो। अवस्था सधैं रमाइलो हुँदैनथ्यो तर त्यसले मलाई रमाइलो ख्याल-ठट्टा गर्न सिकायो। विन्चेस्टरमा छँदा सँगै मिलेर स्मरणार्थ उत्सव मनाउन पाएकोमा नरमन र म खुसी थियौं। जेलमा हामीलाई भेट्‌न आउनुभएका फ्रान्सिस कुकले हाम्रो लागि राम्रो स्मरणार्थ भाषण दिनुभयो।

युद्धपछिका वर्षहरूमा भएका परिवर्तनहरू

सन्‌ १९४६ मा आयोजित ब्रिस्टोलको अधिवेशनमा “लेट गड बी ट्रु” भन्‍ने बाइबल अध्ययन सहायक विमोचन भएको थियो। त्यसै अधिवेशनमा डेभोनमा अग्रगामी गरिरहेकी सुन्दर बहिनी जोइस मुरसित मेरो चिनजान भयो। हाम्रो मित्रता फक्र्‌यो र सन्‌ १९४७ देखि बस्दै आएको टिभर्टनमा हामीले चार वर्षपछि विवाह गऱ्‍यौं। एउटा कोठा भाडामा लिएर हामीले त्यसैलाई आफ्नो घर बनायौं र त्यस कोठाको हामी हप्ताको १५ शिलिङ (१.१० अमेरिकी डलर) भाडा तिर्थ्यौं। हाम्रो जीवन अति नै सुखमय थियो!

विवाह गरेको पहिलो वर्ष हामी ब्रिक्सहमको दक्षिणतिर बसाइँ सऱ्‍यौं। त्यो ठाउँ अत्यन्त सुन्दर बन्दरगाह सहर थियो जहाँ जाल हानेर माछा मार्ने प्रणालीको सबैभन्दा पहिला सुरुवात भएको थियो। तथापि, त्यहाँ गएको धेरै समय नबित्दै लण्डनमा आयोजित अधिवेशनमा उपस्थित हुन यात्रा गर्दै गर्दा मलाई पोलियो लाग्यो। म कोमामा परें। अघि नै उल्लेख गरिएझैं नौ महिनापछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो। मेरो दाहिने हात र दुवै खुट्टामा पोलियोले निकै नराम्रो असर गऱ्‍यो र अहिले पनि हालत त्यस्तै छ। हिंड्‌नको लागि मैले लौरोको सहारा लिनुपऱ्‍यो। मेरी हँसिली प्रिय पत्नीले मलाई सधैं साथ दिइरहनुका साथै अटुट प्रोत्साहन दिइरहिन्‌। विशेष गरी उनी पूर्ण-समय सेवकाईमा लागिरहन सकेको देख्दा म निकै प्रोत्साहित हुन्थें। तर अब हामीले के गर्ने? यहोवाको हात बचाउन नसक्ने गरी शक्‍तिहीन छैन भन्‍ने पाठ मैले चाँडै सिक्न लागेको थिएँ।

त्यसको अर्को वर्ष हामी लण्डनको विमबल्डनमा आयोजित सम्मेलनमा उपस्थित भयौं। त्यतिन्जेल म लौरोको सहाराविनै हिंड्‌न सक्ने भइसकेको थिएँ। सम्मेलनमा हामीले प्राइस ह्‍युजलाई भेट्यौं जसले बेलाइतमा आध्यात्मिक क्रियाकलापको निरीक्षण गर्ने काम गरिहेका थिए। तिनले तुरुन्त यसो भनेर मलाई अविभादन गरे: “क्षेत्रीय काममा हामीलाई तपाईंहरूको जरुरत छ है!” त्योभन्दा ठूलो प्रोत्साहन त मैले पहिला कहिल्यै पाएको थिइनँ! के म त्यस कामको लागि स्वस्थ थिएँ? जोइस र म दुवैलाई त्यसबारे शङ्‌का लागेको थियो तर एक हप्ताको प्रशिक्षणपछि र यहोवामाथि पूर्ण भरोसा राख्दै हामी इङ्‌गल्यान्डको दक्षिणपश्‍चिमी भेगमा सेवा गर्न हिंड्यौं जहाँ मलाई क्षेत्रीय निरीक्षकको रूपमा सेवा गर्न खटाइएको थियो। त्यतिखेर म २५ वर्षको मात्र थिएँ तर म ती साक्षीहरूको दया र धीरजको अझै पनि गहिरो मूल्याङ्‌कन गर्छु जसले मलाई धेरै मदत गरे।

ईश्‍वरतान्त्रिक गतिविधिका विभिन्‍न पक्षहरूमध्ये मण्डलीहरूको भ्रमण गर्दा जोइस र मैले हाम्रा मसीही भाइबहिनीहरूसित घनिष्ठ भएको अनुभव गऱ्‍यौं। हामीसित मोटरगाडी थिएन, त्यसैले हामी कि त रेल अथवा बसबाट यात्रा गर्थ्यौं। रोगले गर्दा उत्पन्‍न अप्ठ्यारो परिस्थितिको कारण छाँटकाँटहरू गर्नुपरे तापनि हामीले विशेष सेवाका सुअवसरहरूबाट सन्‌ १९५७ सम्मै आनन्द उठायौं। त्यो निकै सन्तोषजनक जीवन थियो तर त्यही वर्ष अर्को चुनौती पनि थपियो।

मिसनरी सेवा गर्दै

गिलियडको ३० औं कक्षामा उपस्थित हुने निमन्त्रणा पाउनु हाम्रो लागि ठूलो हर्षको कुरा थियो। पक्षघात भए पनि हामीले दैनिक कामकुरा राम्रोसँग गर्न सकिरहेको कारण जोइस र मैले त्यो निमन्त्रणा सहर्ष स्वीकाऱ्‍यौं। यहोवाको इच्छा गर्ने कोसिस गऱ्‍यौं भने उहाँले सधैं बल दिनुहुन्छ भन्‍ने कुरा हामीले अनुभवबाट बुझेका थियौं। संयुक्‍त राज्य अमेरिकाको न्यु योर्कस्थित सुन्दर साउथ लान्सिङमा अवस्थित वाचटावर बाइबल स्कूल एफ गिलियडमा भएको पाँच महिने जोडदार प्रशिक्षण चालै नपाई सिद्धियो। अधिकांश विद्यार्थीहरू परिभ्रमणकार्यमा सेवारत विवाहित दम्पतीहरू थिए। विदेशी भूमिमा मिसनरीको रूपमा सेवा गर्न कोही इच्छुक छन्‌ कि भनी कक्षामा सोधिंदा खुसीसाथ इच्छुक हुनेहरूमध्ये हामी पनि थियौं। हामीलाई कहाँ पठाइने थियो? पूर्वी अफ्रिकाको युगाण्डा।

त्यतिखेर युगाण्डामा यहोवाका साक्षीहरूको काममाथि प्रतिबन्ध लगाइएको कारण मलाई त्यसै देशमा बसेर जागिर खोज्ने सल्लाह दिइयो। रेल र डुङ्‌गाबाट निकै लामो यात्रा गरेपछि हामी युगाण्डाको काम्पाला आइपुग्यौं। हामीलाई देखेर अध्यागमन कार्यालयका अफिसरहरू खुसी भएनन्‌ र केही महिना मात्र बस्ने अनुमति दिए। त्यसपछि हामीलाई देश छोड्‌ने आदेश दिइयो। मुख्यालयको निर्देशनअनुसार हामी उत्तरी रोडेशियातिर (हाल जाम्बिया) लाग्यौं। त्यहाँ गिलियड स्कूलको एउटै कक्षाका चार जना साथीहरू—फ्राङ्‌क र कारी लुइस अनि हेज र हारियट हस्किन्जलाई भेट्‌न पाउँदा हामी अत्यन्त खुसी भएका थियौं। त्यहाँबाट हामीलाई चाँडै फेरि दक्षिणी रोडेशिया (हाल जिम्बावे) खटाइयो।

हामीले रेलमा यात्रा गऱ्‍यौं र बुलावायो सहर आइपुग्नुभन्दा अघि पहिलो चोटि मनै लोभ्याउने भिक्टोरिया फल्स्‌ हेर्ने मौका पायौं। बुलावायोमा हामी केही समयको लागि म्याकलक्की परिवारसँग बस्यौं, जुन परिवार त्यहाँका सबैभन्दा पुराना साक्षीहरूमध्ये एक थिए। त्यसपछि १६ वर्षको दौडान उनीहरूलाई राम्ररी चिन्‍न पाउनु हाम्रो लागि सुअवसरको कुरा थियो।

परिवर्तनअनुसार छाँटकाँट गर्दै

अफ्रिकी इलाकाबारे राम्ररी परिचित हुनको लागि दुई हप्ताको प्रशिक्षण दिएपछि मलाई जिल्ला निरीक्षकको हैसियतमा सेवा गर्न नियुक्‍त गरियो। अफ्रिकाको जङ्‌गलमा साक्षी दिन जाँदा पानी, खानेकुरा, ओछ्यान, आफ्नो लुगाफाटा, फिल्म प्रोजेक्टर र इलेक्ट्रिक जेनेरेटर, ठूलो पर्दालगायत अन्य आवश्‍यक कुराहरू पनि आफूसँगै बोक्नुपर्थ्यो। एकदमै अप्ठ्यारो बाटोमा पनि मजाले गुड्‌ने एउटा बलियो ट्रकमा यी सम्पूर्ण कुरा लैजाने बन्दोबस्त मिलाइएको हुन्थ्यो।

मैले अफ्रिकाका क्षेत्रीय निरीक्षकहरूसँग काम गर्दा जोइसले चाहिं खुसीसाथ उनीहरूका पत्नी तथा उनीहरूसँगै आएका उनीहरूका छोराछोरीलाई मदत गरिन्‌। अफ्रिकाको जङ्‌गलमा विशेष गरी दिउँसोको टन्टलापुर घाममा हिंड्‌दा निकै थकाइ लाग्छ तर यस्तो हावापानीमा मेरो स्वास्थ्यस्थिति भने धेरै राम्रो भएको मैले पाएँ र त्यसको लागि म कृतज्ञ थिएँ।

साधारणतया मानिसहरू गरिब थिए। धेरै जना परम्परागत रीतिथिति र अन्धविश्‍वासमा चुर्लुम्मै डुब्नुका साथै बहुविवाह गर्ने भए पनि उनीहरू बाइबललाई गहिरो आदर गर्थे। कुनै-कुनै ठाउँमा त मण्डलीका सभाहरू ठूलठूलो रूखका छहारीमुनि सञ्चालन गरिन्थ्यो र साँझपख लालटिन बालेर झुन्ड्याइन्थ्यो। परमेश्‍वरको अद्‌भुत सृष्टि टिलपिल-टिलपिल चम्किरहेका ताराहरूले भरिएको आकाशमुनि बसेर परमेश्‍वरको वचन पढ्‌दा हामीलाई सधैं उदेक लाग्थ्यो।

अफ्रिकी आरक्षणहरूमा वाच टावर सोसाइटीका चलचित्रहरू देखाउनु अर्को एउटा अविस्मरणीय अनुभव थियो। मण्डलीका सबै गरेर ३० जना जति साक्षी थिए होलान्‌ तर चलचित्र देखाएको बेला अक्सर १,००० अथवा त्योभन्दा बढी मानिसहरू उपस्थित हुनेछन्‌ भन्‍ने हामी आशा गर्न सक्थ्यौं!

उष्ण कटिबन्धीय क्षेत्रमा कहिलेकाहीं स्वास्थ्य समस्या हुन सक्छ तर सधैं सकारात्मक मनोवृत्ति राख्नु अत्यावश्‍यक छ। जोइस र मैले सधैं त्यसो गर्न सक्यौं—कहिलेकाहीं म औलोको कारण थला पर्थें भने, जोइसचाहिं अमीबाको कारण बिरामी पर्थिन्‌।

पछि हामीलाई सालिसबरीको (अहिलेको हारारे) शाखा कार्यालयमा खटाइयो, जहाँ हामीले लेस्टर डेभी र जर्ज अनि रूबी ब्राड्‌लीजस्ता यहोवाका अरू विश्‍वासी सेवकहरू सँगसँगै काम गर्ने मौका पायौं। सरकारले मलाई विवाह दर्ता गराउने अधिकारीको रूपमा नियुक्‍त गऱ्‍यो, जुन कामले गर्दा मैले अफिक्री भाइहरूको विवाह गराउनुका साथै मण्डलीभित्र मसीही विवाहको बन्धनलाई अझ बलियो बनाउन सकें। केही वर्षपछि मैले फेरि अर्को सुअवसर पाएँ। मैले त्यस देशका बान्टुबाहेक अरू भाषाका मण्डलीहरूमा भ्रमण गर्नुपर्ने थियो। एक दशकभन्दा बढी जोइस र मैले यस प्रकार हाम्रा भाइबहिनीहरूसित चिनजान बढाएर आनन्द उठायौं। अनि उनीहरूले आध्यात्मिक तवरमा प्रगति गरेको देख्दा हामीलाई साह्रै खुसी लाग्थ्यो। त्यतिखेर हामी बोत्स्वाना र मोजाम्बिकका भाइहरूलाई पनि भेट्‌न गयौं।

फेरि अर्को ठाउँमा सर्दै

दक्षिण अफ्रिकामा धेरै सुखद वर्षहरू बिताइसकेपछि सन्‌ १९७५ मा हामीलाई फेरि पश्‍चिम अफ्रिकाको सियेरा लियोन खटाइयो। हामीलाई खटाइएको आध्यात्मिक गतिविधिको नयाँ क्षेत्र अर्थात्‌ शाखा कार्यालयको सेवाबाट हामीले छिट्टै आनन्द उठाउन थाल्यौं तर यहाँ पनि हामी लामो समयसम्म काम गर्न पाएनौं। औलोले ग्रस्त पारेको कारण म बिरामी पर्नुका साथै कमजोर भएँ र अन्ततः म उपचारको लागि लण्डन जानुपऱ्‍यो, जहाँ मलाई अफ्रिका नफर्किने सल्लाह दिइयो। त्यो कुरा सुनेर हामीलाई दुःख लाग्यो तर जोइस र मलाई लण्डनको बेथेल परिवारमा न्यानो स्वागत गरियो। लण्डनका थुप्रै मण्डलीहरूमा संगत गरिरहेका अनगन्ती अफ्रिकी भाइहरूले हामीलाई अफ्रिकामै भएजस्तो महसुस गराए। मेरो स्वास्थ्यमा सुधार आएपछि अरू नै कामकुरा गर्न हामीले छाँटकाँट गऱ्‍यौं र मलाई किनमेल विभागको रेखदेख गर्न खटाइयो। पछिल्ला वर्षहरूमा भएको प्रगतिलाई हेर्दा त्यो निकै रोचक काम थियो।

सन्‌ १९९० दशकको प्रारम्भमा मेरी प्रिय पत्नी जोइस स्नायुविकारसित सम्बन्धित रोगको कारण बिरामी परिन्‌ र सन्‌ १९९४ मा उनको मृत्यु भयो। हामीले सँगै सामना गरेका विभिन्‍न परिस्थितिहरू अनुसार छाँटकाँट गर्न सधैं इच्छुक उनी मायालु, वफादार र विश्‍वासी पत्नी थिइन्‌। यस्तो बिछोडको पीडा सामना गर्न स्पष्ट आध्यात्मिक दृष्टिकोण कायम राखेर भविष्यलाई सम्झी अघि बढ्‌नु महत्त्वपूर्ण छ भन्‍ने कुरा मैले बुझेको छु। प्रचारकार्यलगायत राम्रो ईश्‍वरतान्त्रिक तालिकाअनुसार चल्न मदतको लागि यहोवालाई प्रार्थना गरेर पनि मैले आफ्नो मन आध्यात्मिक कुराहरूले भर्न सकेको छु।—हितोपदेश ३:५, ६.

बेथेलमा सेवा गर्न पाउनु एउटा सुअवसर र जीवन बिताउने उत्तम तरिका हो। बेथेलमा थुप्रै जवान व्यक्‍तिहरूसित काम गर्न र खुसी बाँड्‌न सकिन्छ। एउटा आशिष्‌ भनेको लण्डनको बेथेलमा घुम्न आउने थुप्रै नव आगन्तुकहरूलाई हामी भेट्‌न पाउँछौं। कहिलेकाहीं म अफ्रिकामा सँगै काम गरेका प्रिय साथीहरूलाई भेट्‌छु र मीठा सम्झनाहरू उर्लेर आउँछन्‌। यी सबै कुराले ‘अहिलेको जीवनबाट’ पूरापूर आनन्द उठाइरहन र “पछि हुने” जीवनबारे विश्‍वास र आशासहित मनन-चिन्तन गर्न मदत दिन्छ।—१ तिमोथी ४:८.

[फुटनोट]

a सन्‌ १९२८ मा यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर हाल छापिंदैन।

[पृष्ठ २५-मा भएको चित्र]

सन्‌ १९४६ मा मेरी आमासँग

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९५० मा हाम्रो विवाहको दिन जोइससँग

[पृष्ठ २६-मा भएको चित्र]

सन्‌ १९५३ को ब्रिस्टोल अधिवेशनमा

[पृष्ठ २७-मा भएका चित्रहरू]

पृथक समूहमा (माथि) र दक्षिणी रोडेशिया हाल जिम्बावेको एउटा मण्डलीमा (बायाँ) सेवा गर्दै