सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

इमानदार मानिसहरूले यहोवाको प्रशंसा गर्छन्‌

इमानदार मानिसहरूले यहोवाको प्रशंसा गर्छन्‌

राज्य उद्‌घोषकहरूको रिपोर्ट

इमानदार मानिसहरूले यहोवाको प्रशंसा गर्छन्‌

चाहे जवान होस्‌ वा वृद्ध, विश्‍वभरका यहोवाका साक्षीहरू आफ्नो इमानदारिताको कारण चिरपरिचित छन्‌। तीनवटा महादेशबाट प्राप्त उदाहरणहरू विचार गर्नुहोस्‌।

नाइजेरियामा बसोबास गर्ने सत्र वर्षीया ओलुसोला एक दिन स्कूलबाट घर फर्किरहेको बेला तिनले बाटोमा एउटा पर्स भेट्टाइन्‌। तिनले त्यो पर्स लगेर प्रिन्सिपललाई दिइन्‌। प्रिन्सिपलले पर्सको पैसा गन्दा जम्मा ६,२०० नाइरा (लगभग ४५ अमेरिकी डलर) थियो। प्रिन्सिपलले पर्स हराउने शिक्षकलाई त्यो फर्काइदिए। मूल्याङ्‌कनस्वरूप शिक्षकले ओलुसोलालाई १,००० नाइरा (लगभग ७ अमेरिकी डलर) दिए र त्यसैले आफ्नो स्कूलको फीस तिर्न भने। पैसा पाएर पनि प्रिन्सिपललाई दिएको कुरा सुनेपछि अरू विद्यार्थीहरूले ओलुसोलालाई खिसी गरे। केही हप्तापछि एक जना विद्यार्थीले आफ्नो पैसा हराएको रिपोर्ट गऱ्‍यो। सबै विद्याथीहरूको खानतलासी गर्न शिक्षकहरूलाई आदेश दिइयो। एक जना शिक्षकले ओलुसोलालाई यसो भने, “तिमी यहाँ उभ। मलाई थाह छ तिमी यहोवाको साक्षी भएकीले तिमीले चोरेको हुन सक्दैन।” ओलुसोलालाई खिसी गर्ने दुई जना केटाकहाँ पैसा फेला पऱ्‍यो र तिनीहरूले मजाले पिटाइ खाए। ओलुसोलाले यस्तो लेखिन्‌: “यहोवाको साक्षीको रूपमा चिनिन पाएकोमा मलाई खुसी लागेको छ। कहिल्यै नचोरेर यहोवाका साक्षीहरूले यहोवाको महिमा गर्छन्‌।”

एक दिनको कुरा हो, घरबाट निस्कँदा अर्जेन्टिनाका मार्सेलोले आफ्नो घरको पछाडिको ढोकाको केही मिटर टाढा एउटा ब्रिफकेस भेट्टाए। घरभित्र गएर तिनी तथा तिनकी पत्नीले होसियारीसाथ ब्रिफकेस खोले। ब्रिफकेसभित्र धेरै नगद, क्रेडिट कार्ड तथा हस्ताक्षर गरिएका थुप्रै चेकहरू, जसमध्ये एउटा चेक १० लाख पेसोको थियो, ती देख्दा उनीहरू त छक्कै परे। एउटा रसिदमा उनीहरूले फोन नम्बर पनि भेट्टाए। उनीहरूले ब्रिफकेसको मालिकलाई फोन गरे र मार्सेलो काम गर्ने ठाउँमा बिफ्रकेस तथा यिनमा भएका चीजबीजहरू फर्काउने प्रबन्ध मिलाए। ब्रिफकेसको मालिक आउँदा तिनी अलि-अलि हडबडाएका थिए। मार्सेलोको हाकिमले तिनलाई ढुक्क हुन भने किनभने मार्सेलो एक जना यहोवाका साक्षी थिए। ब्रिफकेस पाएकोमा इनामस्वरूप मालिकले मार्सेलोलाई २० पेसो (लगभग ६ अमेरिकी डलर) मात्र दिए। यति थोरै इनाम देखेर हाकिम रिसाए किनकि तिनी मार्सेलोको इमानदारिताबाट निकै प्रभावित भएका थिए। यसले मार्सेलोलाई यहोवाको साक्षीको रूपमा आफू सधैं इमानदार हुन चाहने विचार व्यक्‍त गर्ने मौका दियो।

किरगिस्तानबाट यो अनुभव प्राप्त भएको छ। छ वर्षे केटो, रिनाटले नजिकै बस्ने एउटी आइमाईको पर्स भेट्टाए। पर्समा १,१०० सोम (लगभग २५ अमेरिकी डलर) थियो। रिनाटले त्यो पर्स ती आइमाईलाई फर्काइदिए। आइमाईले पर्सको पैसा गनिन्‌ र अझै २०० सोम हराइरहेको कुरा रिनाटकी आमालाई बताइन्‌। एक पैसा पनि आफूले नलिएको कुरा रिनाटले बताए। त्यसपछि सबै जना हराएको पैसा खोज्न निस्के र पर्स भेट्टाइएको ठाउँमै ती फेला पनि पऱ्‍यो। ती आइमाई तीन छक परिन्‌। तिनले रिनाट अनि उसकी आमालाई कृतज्ञता व्यक्‍ति गरिन्‌, सर्वप्रथम हराएको पैसा फर्काएकोमा र दोस्रो, छोरालाई मसीहीको रूपमा पालनपोषण गरेकोमा।