सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा उद्धार

कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा उद्धार

कामद्वारा मात्र होइन तर अनुग्रहद्वारा उद्धार

“तिमीहरूले विश्‍वासद्वारा . . . उद्धार पाएका छौ, . . . कामबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ।”—एफिसी २:८, ९.

१. व्यक्‍तिगत उपलब्धिहरूको सन्दर्भमा साधारणतया मानिसहरूभन्दा मसीहीहरू कसरी भिन्‍न छन्‌ र किन?

 आजकल धेरै मानिसहरू आफ्नो व्यक्‍तिगत उपलब्धिमा निकै गर्व गर्छन्‌ अनि अक्सर त्यसबारे धाक पनि लगाइहाल्छन्‌। मसीहीहरू भने यसो नगर्न सजग हुनुपर्छ। तिनीहरू आफ्ना उपलब्धिहरूलाई बढ्‌तै महत्त्व दिन अग्रसर हुँदैनन्‌ चाहे ती साँचो उपासनासित सम्बन्धित नै किन नहोऊन्‌। यहोवाका जनहरूले एउटा समूहको रूपमा जे-जति उपलब्धि हासिल गर्छन्‌, त्यसमा तिनीहरू रमाउँछन्‌ तर आफ्नो व्यक्‍तिगत योगदानलाई भने महत्त्व दिंदैनन्‌। यहोवाको सेवामा व्यक्‍तिगत उपलब्धिभन्दा सही मनसाय बढी महत्त्वपूर्ण छ भनी तिनीहरूले बुझेका छन्‌। अन्तमा गएर अनन्त जीवनको वरदान पाउने व्यक्‍तिले व्यक्‍तिगत उपलब्धिद्वारा होइन तर विश्‍वास र परमेश्‍वरको अनुग्रहबाट उक्‍त वरदान पाएका हुनेछन्‌।—लूका १७:१०; यूहन्‍ना ३:१६.

२, ३. पावलले कुन कुराको घमन्ड गरे र किन?

यस यथार्थबारे प्रेरित पावललाई राम्ररी थाह थियो। “शरीरमा एक किसिमको छेस्को” हटाइदिनुहोस्‌ भनी तीन चोटि प्रार्थना गरिसकेपछि यहोवाले तिनलाई यस्तो जवाफ दिनुभयो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्‍ति दुर्बलतामा सिद्ध हुन्छ।” नम्र भई यहोवाको निर्णय स्वीकार्दै पावलले यसो भने: “यसकारण ख्रीष्टको शक्‍ति ममा बास गरोस्‌ भनेर म बरु मेरो दुर्बलतामा ज्यादै खुशीसित घमण्ड गर्नेछु।” हामीले पनि पावलको जस्तै नम्र मनोवृत्ति अनुकरण गर्ने इच्छा गर्नुपर्छ।—२ कोरिन्थी १२:७-९.

मसीही कार्यहरू गर्ने सन्दर्भमा पावल उल्लेखनीय भए तापनि तिनको आफ्नै खास क्षमताले गर्दा ती उपलब्धिहरू हासिल गर्न सकेका होइनन्‌ भनेर तिनले बुझेका थिए। विनम्र हुँदै तिनले यसो भने: “सबै पवित्र जनहरूमा म सबैभन्दा क्षुद्र, अन्यजातिहरूमा सुसमाचार अथवा ख्रीष्टको अगम सम्पत्तिको प्रचार गर्नलाई यो अनुग्रह मलाई दिइएको हो।” (एफिसी ३:८) यी शब्दहरूले पावलको घमन्डी मनोभाव थिएन वा अरूभन्दा आफू धर्मी छु भन्‍ने अहङ्‌कार थिएन भन्‍ने कुरा झल्कन्छ। “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (याकूब ४:६; १ पत्रुस ५:५) नम्र भई आफूलाई हाम्रा भाइहरूमध्ये सबैभन्दा तुच्छ ठानेर के हामी पावलको उदाहरण पछ्याउँछौं?

“एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ ठानेर”

४. अरूहरूलाई आफूभन्दा श्रेष्ठ ठान्‍न हामीलाई कहिलेकाहीं किन गाह्रो हुन सक्छ?

प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफूभन्दा श्रेष्ठ” ठान। (फिलिप्पी २:३) विशेष गरी हामी जिम्मेवारीपूर्ण ओहदामा छौं भने यसो गर्नु चुनौतीपूर्ण हुन सक्छ। आज संसारमा अति व्याप्त प्रतिस्पर्धाको मनोभावले हामी केही हदसम्म प्रभावित भएको हुँदा नम्र हुन सायद गाह्रो हुन सक्छ। साना केटाकेटी छँदैदेखि घरमा आफ्ना दाजुभाइ दिदीबहिनी वा स्कूलमा आफ्ना सहपाठीहरूसित प्रतिस्पर्धा गर्न हामीलाई सिकाइएको थियो होला। सायद, स्कूलको उत्कृष्ट खेलाडी बन्‍न वा जेहनदार विद्यार्थीको नाउँ कमाउन हामीलाई सधैं भनिएको थियो। निस्सन्देह, कुनै पनि उचित कार्यको लागि आफूले यथासम्भव प्रयास गर्नु सराहनीय कुरा हो। तथापि, मसीहीहरू आफूप्रति अनावश्‍यक ध्यान खिच्न यसो गर्दैनन्‌ तर आफू संलग्न भएको गतिविधिबाट पूरापूर लाभ उठाउन अनि सायद अरूको पनि हितको लागि यस्तो प्रयास गर्छन्‌। तर अरूले सधैं आफूलाई उत्कृष्ट वा एक नम्बरको ठानेर प्रशंसा गरेको चाहनु खतरनाक हुन सक्छ। कसरी?

५. प्रतिस्पर्धात्मक मनोभावलाई नियन्त्रणमा राखिएन भने के हुन सक्छ?

मानिसले प्रतिस्पर्धात्मक मनोभाव वा अहम्‌भावलाई नियन्त्रणमा राखेन भने ऊ अरूको आदर नगर्ने अनि अहङ्‌कारी बन्‍न सक्छ। ऊ अरूका क्षमता तथा सुअवसरहरूप्रति ईर्ष्यालु हुन सक्छ। हितोपदेश २८:२२ यसो भन्छ: “कञ्जूस [“ईर्ष्यालु,” NW] मानिस धनी हुन आतुरी गर्छ, आफूमाथि पनि अभाव आइलाग्छ भनी त्यसले सपनामा पनि चिताउँदैन।” अहङ्‌कारी हुँदै आफ्नो अधिकार नभएको ओहदा हडप्नसमेत ऊ आतुर हुन सक्छ। आफ्ना कार्यहरूको सफाइ दिन उसले गनगन गर्न अनि अरूको आलोचना गर्न थाल्न सक्छ जबकी यस्ता झुकावहरू मसीहीहरूले त्याग्नुपर्छ। (याकूब ३:१४-१६) जे होस्‌, उसले मपाईंवाद मनोवृत्ति विकास गर्ने खतरा मोलिरहेको हुन्छ।

६. प्रतिस्पर्धात्मक मनोभाव विरुद्ध बाइबलले कसरी चेतावनी दिएको छ?

यसैकारण बाइबलले मसीहीहरूलाई यस्तो आग्रह गरेको छ: “एउटाले अर्कोसित पाखुरा सुर्काउने, र एउटाले अर्कोको डाह गर्ने भएर हामी अति अहंकारी नहोऔं।” (गलाती ५:२६) यस्तो मनोभावको सिकार भएका एक जना सँगी मसीहीबारे प्रेरित यूहन्‍नाले बताए। तिनले यसो भने, “मैले मण्डलीलाई केही लेखेथें, तर तिमीहरूमा ठूलो हुनखोज्ने डियोत्रिफसले हामीलाई ग्रहण गर्दैनन्‌। यसकारण म आएँ भने, त्यसले कुवचनले हाम्रा विरुद्ध बोलेर गरेको . . . कुराहरूको सम्झना म गराउनेछु।” कुनै पनि मसीही यस्तो अवस्थामा फस्नु कस्तो दुःखदायी हुनेछ!—३ यूहन्‍ना ९, १०.

७. आजकल अत्यन्तै प्रतिस्पर्धा हुने कार्यथलोमा मसीही कस्तो कुरादेखि अलग्गै बस्नेछन्‌?

निस्सन्देह, सबै प्रकारको प्रतिस्पर्धात्मक भागदौडबाट मसीही पूर्णतया अलग बस्न सक्छन्‌ भन्‍ने सोचाइ राख्नु अव्यावहारिक हो। उदाहरणका लागि, आफ्नो कामको सिलसिलामा आफ्नो जस्तै मालसामान उत्पादन गर्ने वा आफूले जस्तै सेवा प्रदान गर्ने अन्य व्यक्‍ति वा व्यापारसित आर्थिक प्रतिस्पर्धा गर्नुपर्ने हुन सक्छ। तथापि, यस्ता अवस्थाहरूमा समेत मसीहीले आदर, प्रेम र अरूको ख्याल राख्ने मनोभाव राख्दै आफ्नो व्यापारलाई अघि बढाउन चाहनेछन्‌। तिनले अवैध वा गैरमसीही प्रचलनहरू तिरस्कार गर्नेछन्‌ अनि प्रतिस्पर्धात्मक, कुकुरले जस्तो एकअर्काको लुछाचुँड गर्ने मनोभाव भएको मानिस भनेर चिनिनदेखि अलग्गै बस्नेछन्‌। आफूले गर्ने जुनसुकै कामकुरामा एक नम्बरको हुनु नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनी ठान्‍नेछैनन्‌। सांसारिक कामकुराहरूको सन्दर्भमा त मसीहीले यस्तो मनोभाव देखाउनुपर्छ भने उपासनाको सन्दर्भमा झन्‌ कत्ति महत्त्वपूर्ण छ!

‘अरूसँग तुलना गरेर होइन’

८, ९. (क) मसीही प्राचीनहरूले एकअर्कासित प्रतिस्पर्धा गर्नुपर्ने किन कुनै कारण छैन? (ख) पहिलो पत्रुस ४:१० मा दिइएको सल्लाह किन परमेश्‍वरका सबै सेवकहरूलाई लागू हुन्छ?

मसीहीहरूले उपासनाको सन्दर्भमा राख्नुपर्ने मनोवृत्तिलाई यी प्रेरित शब्दहरूले वर्णन गर्छ: “प्रत्येकले आफ्नै कामको जाँच गरोस्‌, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ।” (गलाती ६:४, NRV) प्राचीनहरूको काम एकअर्कासित प्रतिस्पर्धा गर्ने होइन भनी बुझेको हुँदा तिनीहरू एउटा निकायको रूपमा एकअर्कालाई सहयोग गर्दै एकअर्कासित मिलेर काम गर्छन्‌। मण्डलीको समष्टिगत हितको लागि प्रत्येकले पुऱ्‍याउन सक्ने योगदानमा तिनीहरू रमाउँछन्‌। यसरी तिनीहरूले एकता भङ्‌ग गर्ने प्रतिस्पर्धालाई ठाउँ दिंदैनन्‌ अनि मण्डलीमा अरूको लागि एकताको राम्रो उदाहरण बसाल्छन्‌।

उमेर, अनुभव वा जन्मजात क्षमताले गर्दा कोही-कोही प्राचीनहरू अरूभन्दा कार्यकुशल हुन सक्छन्‌ वा अरूसित भन्दा बढी अन्तरदृष्टि हुन सक्छ। यसैकारणले गर्दा यहोवाको संगठनमा प्राचीनहरूले विभिन्‍न जिम्मेवारीहरू पाएका छन्‌। एकअर्कासित तुलना गर्नुको साटो तिनीहरू निम्न सल्लाह सम्झन्छन्‌: “हरेकले वरदान पाएअनुसार, परमेश्‍वरको नाना प्रकारको अनुग्रहको असल कारिन्दाहरूले जस्तैगरी एउटाले अर्कोको सेवा गर।” (१ पत्रुस ४:१०) वास्तवमा, यो शास्त्रपदमा दिइएको सल्लाह यहोवाका सबै सेवकहरूलाई लागू हुन्छ किनभने सही ज्ञानको वरदान केही हदसम्म सबैले पाएका छन्‌ र मसीही सेवकाईमा भाग लिने सुअवसरबाट सबैले आनन्द उठाउन सक्छन्‌।

१०. हामीले कसरी चढाएको सेवा मात्र यहोवाको लागि स्वीकारयोग्य हुनेछ?

१० अरूभन्दा आफूलाई उच्च पार्न नभई प्रेम अनि भक्‍तिले गर्दा हामीले पवित्र सेवा चढाइरहेका छौं भने मात्र यसले यहोवालाई आनन्दित तुल्याउँछ। त्यसकारण साँचो उपासनाको समर्थनमा हामीले गर्ने गतिविधिहरूप्रति सन्तुलित दृष्टिकोण राख्नु अत्यावश्‍यक छ। हामी कसैले पनि अर्को व्यक्‍तिको मनसाय साँच्चै कस्तो छ भनेर थाह पाउन सक्दैनौं तर यहोवा “हृदयको जाँच गर्नुहुन्छ।” (हितोपदेश २४:१२; १ शमूएल १६:७) त्यसैले बेलाबेलामा हामीले आफूलाई यस्तो प्रश्‍न सोध्नु बेस हुन्छ, ‘म कस्तो मनसाय राखेर यहोवाको सेवा गर्दैछु?’—भजन २४:३, ४; मत्ती ५:८.

विश्‍वासको कामप्रति उचित दृष्टिकोण

११. सेवकाईमा हाम्रो गतिविधिसम्बन्धी कस्ता मनासिब प्रश्‍नहरूबारे विचार गर्न सकिन्छ?

११ यहोवाको अनुमोदन पाउनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो मनसाय हो भने विश्‍वासका कामहरूप्रति हामीले कत्तिको चासो राख्नुपर्छ? सही मनसाय राखेर सेवकाईमा भाग लिएका छौं भने हामी के गर्छौं अनि कति गर्छौं भनेर रेकर्ड राख्नु वास्तवमा आवश्‍यक छ र? यी मनासिब प्रश्‍नहरू हुन्‌ किनभने हाम्रो मसीही गतिविधिको सन्दर्भमा यति-उति गऱ्‍यौं भन्‍नुभन्दा विश्‍वासका कस्ता कामहरू गऱ्‍यौं, त्यसलाई ध्यान दिन चाहन्छौं अनि एउटा राम्रो रिपोर्ट बनाउनु मात्रै हाम्रो प्रमुख चासोको विषय बनाउन चाहँदैनौं।

१२, १३. (क) हाम्रो क्षेत्र सेवाको रेकर्ड राख्नुका केही कारणहरू के-के हुन्‌? (ख) हाम्रो प्रचार गतिविधिको विश्‍वव्यापी रिपोर्टलाई विचार गर्दा आनन्दित हुनुपर्ने हामीसित कस्ता कारणहरू छन्‌?

१२ अर्गनाइज्ड टु डु जेहोभाज्‌ विल भन्‍ने पुस्तकले के भन्छ, याद गर्नुहोस्‌: “येशू ख्रीष्टका प्रारम्भिक अनुयायीहरू प्रचारकार्यको प्रगतिसम्बन्धी रिपोर्टमा चासो राख्थे। (मर्कूस ६:३०) बाइबलको प्रेरितको पुस्तकले पेन्तिकोसमा चेलाहरूमाथि पवित्र आत्मा खन्याइँदा त्यहाँ लगभग १२० जना उपस्थित थिए भनेर बताउँछ। चाँडै नै चेलाहरूको संख्या बढेर ३,००० अनि पछि ५,००० पुग्यो। . . . (प्रेरित १:१५; २:५-११, ४१, ४७; ४:४; ६:७) यस्तो वृद्धिको खबर सुन्दा चेलाहरूले कस्तो राम्रो प्रोत्साहन पाएको हुनुपर्छ!” यही कारणले गर्दा येशूका निम्न शब्दहरूको पूर्ति अनुरूप आज संसारभरि जे-जति भइरहेको छ, त्यसको सही रेकर्ड राख्न यहोवाका साक्षीहरू प्रयास गर्छन्‌: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यस्ता रिपोर्टहरूले संसारभरि वास्तवमा के भइरहेको छ भनेर देखाउँछ। प्रचारकार्यलाई अघि बढाउनको लागि मदत कहाँ चाहिएको छ र कस्तो प्रकारको साहित्यको खाँचो छ अनि कति चाहिएको छ भनेर यस्ता रिपोर्टहरूले देखाउँछ।

१३ तसर्थ, हाम्रो प्रचार गतिविधिसम्बन्धी रिपोर्टले अझ प्रभावकारी ढङ्‌गमा परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न मदत गर्छ। यसबाहेक, संसारका अरू भागहरूमा हाम्रा भाइहरूले गरिरहेका कार्यहरूबारे सुन्दा के हामी प्रोत्साहित हुँदैनौं र? संसारभरि भइरहेको वृद्धि र विस्तारबारे सुन्दा हामी आनन्दले भरिन्छौं, अझ बढी गतिविधिमा भाग लिन उत्प्रेरित हुन्छौं अनि यहोवाको आशिष्‌ पाउने कुरामा ढुक्क हुन सक्छौं। अनि यस विश्‍वव्यापी रिपोर्टमा हाम्रो व्यक्‍तिगत रिपोर्ट पनि समावेश भएको छ भनेर थाह पाउँदा कस्तो सन्तुष्टि मिल्छ! विश्‍वव्यापी रिपोर्टको कुल संख्याको तुलनामा हाम्रो व्यक्‍तिगत रिपोर्ट एकदमै सानो छ तर हामी जे-जति गर्छौं, यहोवाले त्यसलाई ध्यान दिनुहुन्छ। (मर्कूस १२:४२, ४३) नबिर्सनुहोस्‌, तपाईंको रिपोर्टविना विश्‍वव्यापी रिपोर्ट अपूरो हुनेछ।

१४. प्रचार गर्ने तथा सिकाउने कार्यको अलावा यहोवाको उपासनामा के-के समावेश छ?

१४ निस्सन्देह, यहोवाका समर्पित सेवकको हैसियतमा आफ्नो जिम्मेवारी पूरा गर्न प्रत्येक साक्षीले के-कति गरेका छन्‌ भन्‍ने सबै कुरा रिपोर्टमा लेखिएको हुँदैन। उदाहरणका लागि, नियमित व्यक्‍तिगत बाइबल अध्ययन, मसीही सभाहरूमा उपस्थिति तथा सहभागिता, मण्डलीका जिम्मेवारीहरू, आवश्‍यकताअनुसार सँगी विश्‍वासीहरूलाई सहयोग, परमेश्‍वरको राज्यसम्बन्धी विश्‍वव्यापी कार्यको लागि आर्थिक सहयोग इत्यादि कुराहरू रिपोर्टमा समावेश गरिएको हुँदैन। तसर्थ, हाम्रो क्षेत्र सेवाको रिपोर्ट महत्त्वपूर्ण छ तर प्रचारकार्यमा हाम्रो जोस कायम राख्न अनि सुस्त नहुनको लागि यसप्रति उचित दृष्टिकोण राख्नुपर्छ। यसलाई अनन्त जीवनको लागि योग्य ठहराउने आध्यात्मिक लाइसेन्स वा पासपोर्ट जस्तो ठान्‍नु हुँदैन।

“सुकर्ममा जोशिलो”

१५. कामद्वारा मात्र हाम्रो उद्धार नहुने भए तापनि ती किन आवश्‍यक छन्‌?

१५ कामहरूद्वारा मात्रै हाम्रो उद्धार हुने होइन तर ती आवश्‍यक छन्‌ भन्‍ने कुरा स्पष्ट छ। यसैकारण मसीहीहरूलाई “सुकर्ममा जोशिलो भएका उहाँकै आफ्ना एक खास . . . जाति” भनिएको छ अनि तिनीहरूलाई “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार” राख्न प्रोत्साहन दिइएको छ। (तीतस २:१४; हिब्रू १०:२४) अझ जोड दिंदै एक जना बाइबल लेखक याकूब स्पष्टसित यसो भन्छन्‌: “जसरी शरीर आत्माविना मरेको हुन्छ, त्यस्तैगरी विश्‍वास पनि कामविना मरेको हुन्छ।”—याकूब २:२६.

१६. कामहरूभन्दा अझ महत्त्वपूर्ण कुरा के हो तर हामी कुन कुराबारे होसियार हुनुपर्छ?

१६ सुकर्महरू महत्त्वपूर्ण हुन सक्छ तर ती गर्नुको पछाडि कस्तो मनसाय लुकेको छ, त्यो अझ बढी महत्त्वपूर्ण छ। त्यसकारण बेलाबेलामा हामीले आफ्नो मनसाय जाँच्नु बुद्धिमानी हो। कुनै पनि मानिसले अर्को व्यक्‍तिको मनसाय वास्तवमा यही हो भनेर किटेरै भन्‍न सक्दैन, त्यसैले अरूलाई दोष लाउन वा न्याय गर्नदेखि हामी होसियार हुनै पर्छ। हामीलाई यस्तो प्रश्‍न सोधिएको छ: “अर्कोको दासलाई दोष लगाउने तिमी को हौ?” यसको जवाफ स्पष्ट छ: “त्यो ता आफ्नै मालिकको निम्त खडा हुन्छ। अथवा पतित हुन्छ।” (रोमी १४:४) सबैका मालिक यहोवा अनि उहाँले नियुक्‍त गर्नुभएको न्यायकर्ता ख्रीष्ट येशूले हाम्रा कार्यहरूको आधारमा मात्र नभई हाम्रो मनसाय, हाम्रा अवसर, हाम्रो प्रेम र हाम्रो भक्‍तिको आधारमा न्याय गर्नुहुनेछ। मसीहीहरूलाई जुन काम गर्न अह्राइएको छ, त्यो गरेका छौं कि छैनौं भनेर यहोवा र ख्रीष्ट येशूले मात्र सही न्याय गर्न सक्नुहुन्छ र यसै सन्दर्भमा प्रेरित पत्रुसले यसो भने: “शर्माउन नपर्ने र सत्यको वचनलाई ठीकसँग प्रयोग गर्ने कामदारजस्तै आफूले आफूलाई परमेश्‍वरमा ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्न गर।”—२ तिमोथी २:१५, NRV; २ पत्रुस १:१०; ३:१४.

१७. भरमग्दुर गर्ने प्रयास गर्दै हामीले याकूब ३:१७ किन मनमा राख्नुपर्छ?

१७ हामीबाट माग गर्नुहुने कुरामा यहोवा विचारशील हुनुहुन्छ। याकूब ३:१७, ( NRV ) अनुसार “जुन बुद्धि स्वर्गबाट आउँछ, त्यो “विचारशील” पनि हुन्छ। यस सन्दर्भमा हामीले यहोवाको अनुकरण गर्नु के बुद्धिमानी मार्ग र साँचो उपलब्धि हुनेछैन र? तसर्थ, हामीले आफू र आफ्ना भाइहरूबाट अविचारशील अर्थात्‌ अव्यावहारिक र प्राप्त गर्नै नसकिने माग गर्ने प्रयास गर्नु हुँदैन।

१८. हाम्रा कामहरू तथा यहोवाको अनुग्रहप्रति सन्तुलित दृष्टिकोण राख्दा हामी कुन कुराको प्रतीक्षा गर्न सक्छौं?

१८ विश्‍वासका कामहरू अनि यहोवाको अनुग्रहप्रति हामीले सन्तुलित दृष्टिकोण राखुन्जेल हामी आनन्दित रहिरहन सक्नेछौं र यो यहोवाका साँचो सेवकहरूको विशेष चिनारी हो। (यशैया ६५:१३, १४) व्यक्‍तिगत तवरमा हामीले गर्न सक्ने काम जतिसुकै भए तापनि एउटा समूहको रूपमा यहोवाले आशिष्‌ बर्साइरहनुभएकोमा हामी आनन्दित हुन सक्छौं। “धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा” लागिरहेर भरमग्दुर प्रयत्न गर्न मदतको लागि हामी यहोवालाई पुकार्नेछौं। तब “परमेश्‍वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, [हाम्रा] हृदय र [हाम्रा] विचारलाई येशूमा रक्षा गर्नेछ” भन्‍ने कुरामा कुनै शङ्‌का छैन। (फिलिप्पी ४:४-७) हो, कामद्वारा होइन तर यहोवाको अनुग्रहद्वारा हामीले उद्धार पाउन सक्छौं भनी थाह पाएर हामी सान्त्वना र प्रोत्साहन पाउन सक्छौं!

के तपाईं बुझाउन सक्नुहुन्छ?

• मसीहीहरू किन आफ्नो व्यक्‍तिगत उपलब्धिबारे घमन्ड गर्दैनन्‌?

• मसीहीहरू किन प्रतिस्पर्धात्मक मनोभाव देखाउँदैनन्‌?

• मसीहीहरूले किन क्षेत्र सेवकाईमा आफ्नो मसीही गतिविधिको रिपोर्ट बुझाउँछन्‌?

• मसीहीहरू किन आफ्ना सँगी मसीहीहरूको न्याय गर्दैनन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

“मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ”

[पृष्ठ १७-मा भएका चित्रहरू]

मण्डलीको हितको लागि प्रत्येकले पुऱ्‍याउन सक्ने योगदानमा प्राचीनहरू रमाउँछन्‌

[पृष्ठ १९-मा भएका चित्रहरू]

तपाईंको रिपोर्टविना विश्‍वव्यापी रिपोर्ट अपूरो हुनेछ