सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन छैन विश्‍व एकता?

किन छैन विश्‍व एकता?

किन छैन विश्‍व एकता?

“दोस्रो विश्‍वयुद्ध अन्त भएदेखि यता पहिलो चोटि अन्तरराष्ट्रिय समुदाय एकजुट भएको छ। . . . त्यसकारण, यस मौकाको सदुपयोग गरेर एउटा नयाँ विश्‍व समाज निर्माण गर्ने चिरप्रतीक्षित प्रतिज्ञा पूरा गर्न अघि सर्नुपर्छ।”

बीसौं शताब्दीको अन्तिम दशकमा संयुक्‍त राज्य अमेरिकाका एक जना राष्ट्रपतिले यस्तो टिप्पणी गरेका थिए। त्यतिखेर विश्‍वमा घटिरहेका घटनाहरूलाई विचार गर्दा विश्‍व एकताबद्ध हुने समय नजिकै छ जस्तो लाग्थ्यो। एकदलीय व्यवस्था एकपछि अर्को गर्दै ढल्दै थियो। बर्लिनको पर्खाल ढल्यो, जसले युरोपमा नयाँ युगको बिहानी ल्यायो। पश्‍चिमी मुलुकका अधिकांश मानिसहरूको नजरमा विश्‍वलाई युद्ध गर्न उक्साउने सोभियत संघ विश्‍वलाई नै आश्‍चर्यमा पार्दै अस्तित्वबाट बिलाएर गयो। शीत युद्ध अन्त भयो र आणविक निश्‍शस्त्रीकरणलगायत अन्य निश्‍शस्त्रीकरणबारे सकारात्मक वार्ता हुन थाल्यो। हुन त हो, फारसको खाडीमा युद्ध भड्‌कियो तर त्यसले खासै समस्या खडा गरेन। बरु, विश्‍वका धेरैजसो राष्ट्रहरू विश्‍वमा अमनचयन कायम गर्न होस्टेमा हैंसे मिलाउन झनै हौसिए।

यस्ता शुभ सङ्‌केतहरू राजनीतिमा मात्र होइन जीवनका अन्य पक्षहरूमा पनि देख्न सकिन्थ्यो। संसारका थुप्रै भागमा जीवनस्तर उँभो लाग्दै थियो। चिकित्सा क्षेत्रमा भएको प्रगतिले गर्दा केही दशकअघि भए चमत्कारको संज्ञा दिइने कुराहरू गर्न चिकित्सकहरू सफल भइरहेका थिए। थुप्रै देशमा आर्थिक वृद्धि यति राम्रो भयो कि लाग्थ्यो, सारा विश्‍व समृद्धितर्फ अघि लम्किरहेछ। हेर्दा सम्पूर्ण कुरा सोचेजस्तै धमाधम प्रगति हुँदै गइरहेको छ जस्तो देखिन्थ्यो।

आज, धेरै वर्ष नबित्दै हाम्रो मनमा यस्ता प्रश्‍नहरू उब्जिन थालेका छन्‌: ‘खै, के भयो? वाचा गरिएको विश्‍व एकता खोइ?’ संसार सोचेभन्दा ठीक उल्टो दिशातिर उन्मुख भइरहे जस्तो देखिन्छ। आत्मघाती बम विस्फोटन, आतङ्‌ककारी हमला, आमविनाशकारी हतियारको बिगबिगीलगायत अन्य डरलाग्दा घटनाहरू समाचारको नियमित भाग बनेका छन्‌। लाग्छ, यस्ता घटनाहरूले संसारलाई अलि-अलि गर्दै एकताबाट विमुख पार्दैछन्‌। एक जना प्रतिष्ठित अर्थशास्त्रीले हालै यसो भने: “मानवजाति बढ्‌दो हिंसाको चक्रव्यूहमा झन्‌-झन्‌ फस्दै गइरहेको छ।”

विश्‍व एकता वा विश्‍व विभाजन?

संयुक्‍त राष्ट्रसंघ गठन भएको बेला यसको एउटा उद्देश्‍य, “जनताको समान अधिकार र स्वाधीन हुन पाउने सिद्धान्तप्रतिको सम्मानको आधारमा राष्ट्रहरूबीच मैत्री सम्बन्ध कायम राख्नु” थियो। आज झन्डै ६० वर्षपछि के त्यो उच्च विचारले मूर्त रूप लिन सकेको छ? यो त आकाशको फल आँखा तरी मर्‌ भनेझैं भएको छ! राष्ट्रहरू “मैत्री सम्बन्ध” कायम राख्नुको सट्टा “स्वाधीन” हुन बढी लालायित भएजस्तो देखिन्छ। आफ्नो छुट्टै पहिचान बनाउन र सार्वभौम सम्पन्‍न हुन सङ्‌घर्षरत मानिस तथा जातीय समूहहरूले संसारलाई झन्‌-झनै टुक्र्‌याइरहेका छन्‌। संयुक्‍त राष्ट्रसंघ गठन हुँदा यसका जम्मा ५१ सदस्य राष्ट्र थिए। आज यस संघका जम्मा १९१ सदस्य राष्ट्र भइसकेका छन्‌।

भर्खर छलफल गरेझैं २० औं शताब्दीको अन्तसम्म पनि एकताबद्ध संसारको आशा जीवितै थियो। त्यसपछि भने त्यो आशा धमिलिएको छ किनकि मानिसहरूले आफ्नै आँखाअगाडि विश्‍व समुदाय क्रमिक रूपमा विभाजन हुँदै गएको देखेका छन्‌। धेरै रक्‍तपातपछि युगोस्लाभिया विखण्डन हुनु, चेचेन्या र रूसबीचको द्वन्द्व, इराक युद्ध अनि मध्यपूर्वमा बढ्‌दो हत्याकाण्ड—यी सबै कुरा विश्‍व झन्‌-झनै टुक्रिंदै गएका सबुत हुन्‌।

शान्तिको लागि गरिएका कैयौं प्रयासहरू निष्कपट तथा असल मनसाय राखेर गरिएका थिए भन्‍ने कुरामा कसैको दुई मत छैन। यस्ता प्रयासहरूको बावजुद विश्‍व एक हुन सकेको छैन। धेरैको मनमा यस्ता प्रश्‍नहरू खडा हुन्छन्‌: ‘विश्‍व एकता हासिल गर्नु किन मृगतृष्णासरह भएको छ? संसार कतातिर लम्किंदैछ?’

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

AP Photo/Lionel Cironneau

Arlo K. Abrahamson/AFP/ Getty Images