सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको बाटो हेर्नेहरूलाई उहाँले रक्षा गर्नुहुन्छ

यहोवाको बाटो हेर्नेहरूलाई उहाँले रक्षा गर्नुहुन्छ

यहोवाको बाटो हेर्नेहरूलाई उहाँले रक्षा गर्नुहुन्छ

“तपाईंको करुणा र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरून्‌।” —भजन ४०:११.

१. राजा दाऊदले यहोवालाई कुन कुराको लागि बिन्ती गरे अनि त्यो बिन्तीको जवाफ उहाँले अहिले कसरी दिनुभएको छ?

 पुरातन इस्राएलका राजा दाऊदले “धीरजसाथ परमप्रभुको बाटो हेरे” अनि तिनी यसो भन्‍न उत्प्रेरित भए, यहोवाले “[तिनीतिर] झुकेर [तिनको] पुकारा सुन्‍नुभयो।” (भजन ४०:१) यहोवालाई प्रेम गर्नेहरूलाई उहाँले कसरी रक्षा गर्नुहुन्छ भनेर दाऊद आफैले पटक-पटक देखे। यसैकारण, निरन्तर मेरो रक्षा गरिरहनुहोस्‌ भनी दाऊद-ले यहोवालाई पुकार्न सके। (भजन ४०:११) “उत्तम पुनरुत्थान[को]” प्रतिज्ञा गरिएका विश्‍वासी पुरुष र स्त्रीहरूमध्ये दाऊद पनि भएकाले त्यो इनाम प्राप्त गर्नको लागि तिनी अहिले यहोवाको सम्झनामा सुरक्षित छन्‌। (हिब्रू ११:३२-३५) तिनको लागि अत्युत्तम भविष्य सुनिश्‍चित छ। यहोवाको “सम्झनाको पुस्तकमा” तिनको नाउँ लेखिएको छ।—मलाकी ३:१६.

२. यहोवाले रक्षा गर्नुहुन्छ भन्‍नुको अर्थ के हो भनी बुझ्न धर्मशास्त्रले हामीलाई कसरी मदत गर्छ?

हिब्रू अध्याय ११ मा उल्लिखित विश्‍वासी जनहरू, येशू यस पृथ्वीमा बाँच्नुभएको समयभन्दा पहिलेका व्यक्‍तिहरू भए तापनि तिनीहरूले येशूको यस शिक्षाअनुसार आफ्नो जीवन बिताए: “आफ्नो प्राणको माया गर्नेले त्यो गुमाउँछ, तर आफ्नो प्राणलाई यस संसारमा तुच्छ जान्‍नेले चाहिं अनन्त जीवनसम्म जोगाइराख्नेछ।” (यूहन्‍ना १२:२५) अतः यहोवाले रक्षा गर्नुहुन्छ भन्‍नुको मतलब दुःखकष्ट वा सतावटबाट मुक्‍त भइहालिन्छ भन्‍ने होइन भनेर स्पष्ट छ। तर आध्यात्मिक तवरमा भने मानिस अवश्‍य सुरक्षित हुन सक्छ जसले गर्दा परमेश्‍वरसित राम्रो सम्बन्ध कायम राखिराख्न सम्भव हुनेछ।

३. यहोवाले ख्रीष्ट येशूलाई रक्षा गर्नुभयो भन्‍ने हामीसित कस्तो प्रमाण छ अनि परिणाम कस्तो भयो?

येशू आफै पनि क्रूर सतावट र आलोचनाको तारो हुनुभयो अनि अन्तमा उहाँका शत्रुहरू उहाँलाई अत्यन्तै अपमानजनक तथा पीडादायी ढङ्‌गमा मार्न सफल भए। यद्यपि, यसको मतलब परमेश्‍वरले मसीहलाई रक्षा गर्ने आफ्नो प्रतिज्ञा तोड्‌नुभयो भन्‍ने होइन। (यशैया ४२:१-६) येशूको अपमानजनक मृत्यु भएको तेस्रो दिनमा उहाँलाई पुनरुत्थान गर्नुहुँदा दाऊदको पुकारा सुन्‍नुभएझैं यहोवाले येशूको पुकारा सुन्‍नुभयो भन्‍ने प्रमाणित हुन्छ। यस पुकाराको जवाफमा यहोवाले येशूलाई निष्ठा कायम गर्न बल प्रदान गर्नुभयो। (मत्ती २६:३९) यसरी रक्षा गरिएको हुँदा येशूले स्वर्गमा अमरता प्राप्त गर्नुभयो अनि उहाँको छुडौतीको बलिदानमा विश्‍वास गरेका लाखौंले अनन्त जीवनको प्रत्याशा राख्न सकेका छन्‌।

४. अभिषिक्‍त मसीहीहरू र “अरू भेडा[लाई]” कस्तो आश्‍वासन दिइएको छ?

दाऊद र येशूको समयमा जस्तै आफ्ना सेवकहरूको रक्षा गर्न यहोवा त्यत्तिकै इच्छुक र सक्षम हुनुहुन्छ भनेर हामी विश्‍वस्त हुन सक्छौं। (याकूब १:१७) यस पृथ्वीमा थोरै मात्र बाँकी रहेका येशूका अभिषिक्‍त भाइहरू यहोवाको यस प्रतिज्ञामा भरोसा राख्न सक्छन्‌: “स्वर्गमा तिमीहरूका निम्ति साँचिराखेको अविनाशी, विशुद्ध र नष्ट नहुने हकको निम्ति, तिमीहरू, जो परमेश्‍वरको शक्‍तिबाट, विश्‍वासद्वारा आखिर समयमा प्रकट हुन तयार भएको मुक्‍तिको निम्ति सुरक्षित राखिएको छौ।” (१ पत्रुस १:४, ५) पार्थिव आशा भएका “अरू भेडा[ले]” पनि परमेश्‍वरमाथि र भजनहारमार्फत व्यक्‍त गरिएको उहाँको यस प्रतिज्ञामा भरोसा राख्न सक्छन्‌: “हे सबै भक्‍त हो, परमप्रभुलाई प्रेम गर। विश्‍वास गर्नेहरूलाई परमप्रभुले रक्षा गर्नुहुनेछ।”—यूहन्‍ना १०:१६; भजन ३१:२३.

आध्यात्मिक तवरमा सुरक्षित

५, ६. (क) वर्तमान समयमा परमेश्‍वरका जनहरू कसरी सुरक्षित भएका छन्‌? (ख) यहोवासित अभिषिक्‍त जनहरूको सम्बन्ध कस्तो छ अनि पार्थिव आशा हुनेहरूको नि?

वर्तमान समयमा यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा सुरक्षित राख्ने प्रबन्धहरू मिलाउनुभएको छ। जीवनमा साधारणतया आइपर्ने सतावट वा कठिनाइ र दुःखहरूबाट उहाँले आफ्ना जनहरूलाई जोगाउनुभएको त छैन तर उहाँसितको घनिष्ठ सम्बन्धलाई सुरक्षित राख्न चाहिने मदत र उत्प्रेरणा भने अटुट रूपमा दिनुभएको छ। परमेश्‍वरले मायालुपूर्वक प्रबन्ध गर्नुभएको छुडौतीको बलिदानमाथिको विश्‍वासको जगमा तिनीहरूले यहोवासित यस्तो सम्बन्ध गाँसेका छन्‌। यीमध्ये केही विश्‍वासी मसीहीहरू स्वर्गमा ख्रीष्टसित सहशासक हुनको लागि परमेश्‍वरको आत्माद्वारा अभिषिक्‍त भएका छन्‌। तिनीहरू परमेश्‍वरका आत्मिक पुत्रहरूको हैसियतमा धर्मी ठहराइएका छन्‌ अनि तिनीहरूलाई यी शब्दहरू लागू हुन्छ: “जसले हामीलाई अन्धकारको शक्‍तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्तन गराउनुभयो, जसमा हाम्रो उद्धार, अर्थात्‌ हाम्रो पापको क्षमा छ।”—कलस्सी १:१३, १४.

अरू लाखौं विश्‍वासी मसीहीहरूले पनि परमेश्‍वरले प्रबन्ध गर्नुभएको छुडौतीको बलिदानबाट लाभ उठाउन सक्छन्‌ भन्‍ने आश्‍वासन दिइएको छ। हामी यस्तो लेखिएको पाउँछौं: “मानिसका पुत्र सेवा लिन होइन तर सेवा गर्न, र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिन आएको हो।” (मर्कूस १०:४५) ती मसीहीहरू तोकिएको समयमा “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रता[को]” आनन्द उठाउने प्रतीक्षामा छन्‌। (रोमी ८:२१) त्यतिन्जेल, परमेश्‍वरसितको आफ्नो व्यक्‍तिगत सम्बन्धलाई तिनीहरू कदर गर्छन्‌ अनि त्यो सम्बन्धलाई अझ बलियो बनाउन साँचो प्रयास गर्छन्‌।

७. यहोवाले कुन माध्यमद्वारा आज आफ्ना जनहरूको आध्यात्मिक हितको सुरक्षा गर्नुहुन्छ?

यहोवाले आफ्ना जनहरूको आध्यात्मिक हितको सुरक्षा गर्नुहुने एउटा तरिका, प्रगतिशील प्रशिक्षण कार्यक्रमको प्रबन्ध गर्नुभएर हो। यस्तो प्रबन्धले गर्दा तिनीहरूले सत्यको सही ज्ञान अझ बढी हासिल गर्न सक्छन्‌। यहोवाले आफ्नो वचन, संगठन तथा पवित्र आत्माद्वारा पनि निरन्तर डोऱ्‍याइ प्रदान गर्नुहुन्छ। “विश्‍वासी र बुद्धिमान दास[को]” निगरानीमा संसारभरिका परमेश्‍वरका जनहरू एउटा अन्तरराष्ट्रिय परिवारजस्तै भएका छन्‌। यहोवाका सेवकहरूको परिवारका राष्ट्रियता वा सामाजिक ओहदाको कुनै पर्वाह नगरी दासवर्गले तिनीहरूको आध्यात्मिक आवश्‍यकताहरू अनि आवश्‍यक परेमा भौतिक आवश्‍यकताहरूको पनि हेरचाह गर्छ।—मत्ती २४:४५.

८. आफ्ना वफादार जनहरूमाथि यहोवाले कस्तो विश्‍वस्तता राख्नुभएको छ अनि उहाँ तिनीहरूलाई कस्तो आश्‍वासन दिनुहुन्छ?

शत्रुहरूको प्रहारबाट यहोवाले येशूलाई शारीरिक तवरमा नजोगाउनु भएझैं आज मसीहीहरूलाई पनि उहाँले त्यस्तो तरिकामा जोगाउनुहुन्‍न। तर यो कुरा परमेश्‍वर आफ्ना जनहरूदेखि अप्रसन्‍न हुनुभएको सङ्‌केत भने होइन। यस्तो कुरा त सोच्नै सकिंदैन! बरु, परमेश्‍वरका जनहरूले विश्‍वव्यापी सार्वभौमिकताको ठूलो विवादमा उहाँको पक्ष लिनेछन्‌ भन्‍ने उहाँको विश्‍वस्ततालाई यसले जोड दिन्छ। (अय्यूब १:८-१२; हितोपदेश २७:११) आफूप्रति भक्‍त अर्थात्‌ वफादार जनहरूलाई यहोवाले कहिल्यै त्याग्नुहुनेछैन “किनकि परमप्रभुले इन्साफ प्रेम गर्नुहुन्छ, र आफ्ना भक्‍तहरूलाई त्याग्नुहुन्‍न, तिनीहरू सधैं सुरक्षित हुन्छन्‌।”—भजन ३७:२८.

करुणा र सत्यताले सुरक्षित

९, १०. (क) यहोवाको सत्यताले उहाँका जनहरूको कसरी सुरक्षा गर्छ? (ख) यहोवाले आफ्ना जनहरूलाई आफ्नो करुणाद्वारा सुरक्षित राख्नुहुन्छ भनेर बाइबलले कसरी देखाउँछ?

भजन ४० मा लिपिबद्ध प्रार्थनामा दाऊदले यहोवाको करुणा र सत्यताले सुरक्षित राख्नुहोस्‌ भनी बिन्ती गरे। यहोवाको सत्यता र धार्मिकताप्रति उहाँको प्रेमले गर्दा उहाँले आफ्ना स्तरहरू के-के हुन्‌ भनेर स्पष्टसित बताउनु आवश्‍यक छ। यी स्तरहरूको बेवास्ता गर्नेहरूले भोग्नुपर्ने सङ्‌कट, डर र समस्याहरूको तुलनामा यी स्तरअनुसार जीवन बिताउनेहरू धेरै हदसम्म सुरक्षित छन्‌। उदाहरणका लागि, लागूपदार्थ तथा रक्सीको दुर्व्यसन, छाडा यौनसम्बन्ध अनि हिंस्रक जीवन शैलीबाट अलग्गै रह्‍यौं भने हामी र हाम्रा प्रियजनहरू थुप्रै हृदयविदारक समस्याहरूबाट जोगिन सक्छौं। यहोवाको सत्यताको मार्गबाट तर्किनेहरूले समेत गल्ती गरेपछि पश्‍चात्ताप गर्नेहरूको लागि परमेश्‍वर अझै एउटा “लुक्ने ठाउँ हुनुहुन्छ” भन्‍ने आश्‍वासन पाउन सक्छन्‌ जसरी कहिलेकाहीं तर्किएका दाऊदले आश्‍वासन पाएका थिए। यसरी तर्किने व्यक्‍तिहरू आनन्दित भई यसरी कराउन सक्छन्‌: “तपाईंले मलाई दुःखबाट रक्षा गर्नुहुनेछ।” (भजन ३२:७) परमेश्‍वरको करुणाको कस्तो बहुमूल्य अभिव्यक्‍ति!

१० परमेश्‍वरको करुणाको अर्को उदाहरण हो, उहाँ आफ्ना सेवकहरूलाई यस दुष्ट संसारबाट अलग्गै बस्ने चेतावनी दिनुहुन्छ जुन संसारलाई उहाँले चाँडै नाश गर्नुहुनेछ। हामी यस्तो लेखिएको पाउँछौं: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। किनकि संसारमा भएको जुनसुकै कुरा पनि, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पितातर्फको होइन, तर संसारतर्फको हो।” यो चेतावनी पालन गरेर अनि यसअनुसार जीवन बिताएर हामी आफ्नो जीवन अनन्तसम्म साँच्चै सुरक्षित राख्न सक्छौं किनभने पदको बाँकी भाग यसो भन्छ: “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्‍ना २:१५-१७.

विवेक, समझ-शक्‍ति र बुद्धिले सुरक्षित

११, १२. विवेक, समझ-शक्‍ति र बुद्धिले कसरी हाम्रो सुरक्षा गर्छ, व्याख्या गर्नुहोस्‌।

११ परमेश्‍वरको अनुमोदन पाउन आशा गरेकाहरूलाई दाऊदका छोरा सुलेमानले यस्तो लेख्ने प्रेरणा पाए: “विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझशक्‍तिले तेरो रक्षा गर्नेछ।” तिनले यस्तो आग्रह पनि गरे: “बुद्धि प्राप्त गर्‌, . . . बुद्धिलाई नत्याग्‌, र त्यसले तँलाई सुरक्षित राख्नेछ। त्यसलाई प्रेम गर्‌, र त्यसले तँमाथि हेरचाहा गर्नेछ।”—हितोपदेश २:११; ४:५, ६, NRV.

१२ परमेश्‍वरको वचनबाट सिकेका कुराहरूमा मनन गऱ्‍यौं भने हामीले विवेक चलाइरहेका हुन्छौं। यसो गर्दा हामी आफ्नो समझ-शक्‍ति अझ तिखार्ने मदत पाउँछौं जसले गर्दा हामी सही प्राथमिकता तय गर्न सक्छौं। यसो गर्नु अत्यावश्‍यक छ किनभने सायद हामीमध्ये धेरैजसोले व्यक्‍तिगत अनुभवबाट कुन कुरा थाह पाएका छौं भने, मानिसहरूले जानाजानी वा अनजानमा मूर्खतापूर्ण प्राथमिकताहरू तय गर्दा समस्याहरू खडा हुन्छन्‌। शैतानको संसारले हामीलाई भौतिक धनसम्पत्ति, प्रतिष्ठा र शक्‍तिलाई आफ्नो लक्ष्य बनाउन प्रलोभन देखाउँछ जबकी यहोवाले बढी महत्त्वपूर्ण आध्यात्मिक मूल्यमान्यताहरूमा ध्यानकेन्द्रित गर्न प्रोत्साहन दिनुहुन्छ। आध्यात्मिक मूल्यमान्यता तथा लक्ष्यहरूलाई भन्दा भौतिक धनसम्पत्ति, प्रतिष्ठा र शक्‍तिलाई प्राथमिकता दिंदा पारिवारिक सम्बन्ध टुक्रन, मित्रता टुट्‌न अनि आध्यात्मिक लक्ष्यहरू ओझेलमा पर्न सक्छन्‌। यसको फलस्वरूप, येशूले भन्‍नुभएको यस्तो दुःखद वास्तविकताबाहेक मानिससित केही नहुन सक्छ: “मानिसले सारा जगत्‌ हात पारेर आफ्नो प्राणचाहिं गुमायो भने त्यसलाई के फाइदा हुन्छ?” (मर्कूस ८:३६) हामीले येशूको निम्न सल्लाह पालन गर्नु बुद्धिमानी हो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।”—मत्ती ६:३३.

आत्मकेन्द्रित हुन सक्ने खतरा

१३, १४. आत्मकेन्द्रित हुनुको अर्थ के हो अनि यसो हुनु किन मूर्खतापूर्ण हो?

१३ मानिसहरू स्वभावैले आफ्नो कुरामा चासो राख्छन्‌। तथापि, व्यक्‍तिगत इच्छा तथा चासोहरू जीवनको सर्वमहत्त्वपूर्ण कुरा हुन थाल्यो भने समस्या हुन्छ। त्यसैले, यहोवासितको हाम्रो मित्रतालाई सुरक्षित राख्न उहाँ हामीलाई आत्मकेन्द्रित नहुने निर्देशन दिनुहुन्छ। आत्मकेन्द्रित हुनु भनेको “आफ्नै इच्छा, आवश्‍यकता वा चासोहरूमा मात्रै मग्न हुनु” हो। के आजकलका धेरैजसो मानिसहरू यस्तै छैनन्‌ र? उल्लेखनीय कुरा के हो भने, शैतानको दुष्ट रीतिरिवाजको “आखिरी दिनमा” “मानिसहरू स्वार्थी” अर्थात्‌ आत्मकेन्द्रित हुनेछन्‌ भनेर बाइबलले भविष्यवाणी गरेको छ।—२ तिमोथी ३:१, २.

१४ अरूको कुरामा ध्यान दिनु अनि अरूलाई पनि आफूलाई जस्तै प्रेम गर्नू भन्‍ने बाइबलको आज्ञा पालन गर्नु साँच्चै बुद्धिमानी हो भनेर मसीहीहरूले बुझेका छन्‌। (लूका १०:२७; फिलिप्पी २:४) साधारणतया मानिसहरूले यसो गर्नु अव्यावहारिक ठान्‍न सक्छन्‌ तर सफल विवाह, सुखी पारिवारिक सम्बन्ध अनि सन्तोषजनक मित्रताको आनन्द उठाउने हो भने यो अत्यावश्‍यक छ। त्यसैले, यहोवाको साँचो सेवकले जीवनमा बढी महत्त्वपूर्ण कुराहरू ओझेलमा पर्ने गरी आफू र आफ्नो कामकुराप्रतिको स्वाभाविक चासोलाई नै जीवनको सर्वमहत्त्वपूर्ण कुरा कहिल्यै बनाउनु हुँदैन। तिनको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यहोवा परमेश्‍वरको उपासनासित सम्बन्धित कामकुराहरू हो।

१५, १६. (क) आत्मकेन्द्रित मनोभावले कतातिर धकेल्न सक्छ र यो कसको उदाहरणबाट थाह पाउन सक्छौं? (ख) वास्तवमा, अरूको इन्साफ गर्न हतार गर्दा त्यस व्यक्‍तिले के गर्छ?

१५ आत्मकेन्द्रित मनोभावले मानिसलाई आत्मधर्मी बन्‍नतर्फ धकेल्न सक्छ जसको फलस्वरूप मानिस सङ्‌कीर्ण अनि अहङ्‌कारी बन्‍न सक्छ। बाइबलको यो भनाई एकदमै सही छ: “अर्कालाई दोष लगाउने ए मानिस, तँ जोसुकै भए तापनि, तेरो निम्ति केही बहाना छैन, किनकि जेमा तँ अर्कालाई दोष लगाउँछस्‌, त्यसैमा आफै पनि दोषी ठहरिन्छस्‌, किनभने तँ दोष लाउनेले पनि त्यही काम गर्छस्‌।” (रोमी २:१; १४:४, १०) येशूको समयका धार्मिक नेताहरू आफ्नो धार्मिकताबारे यति विश्‍वस्त भए कि तिनीहरूले येशू र उहाँका अनुयायीहरूको इन्साफ गर्न आफूलाई योग्य ठाने। यसो गरेर तिनीहरूले आफूलाई न्यायाधीशको ठाउँमा राखे। आफ्ना कमीकमजोरीहरूलाई बुझ्न नसक्दा तिनीहरूले वास्तवमा आफूलाई नै दोषी ठहराए।

१६ येशूका अनुयायी, यहूदा जसले येशूलाई धोका दियो, उसले पनि आफूलाई अरूको इन्साफ गर्ने व्यक्‍ति बनायो। एक चोटि बेथानीमा लाजरसकी दिदी मरियमले सुगन्धित तेलले येशूको पाउ मलिदिंदा यहूदाले कडा आपत्ति जनायो। उसले यस्तो तर्क गर्दै आफ्नो आक्रोश व्यक्‍त गऱ्‍यो: “यो मलहम तीन सय दिनारमा बेचिएर किन गरीबहरूलाई दिइएन?” तर बाइबल विवरण अझ यसरी बताउँछ: “यो त्यसले गरीबहरूको ख्याल राखेर भनेको होइन, किनकि त्यो चोर थियो, र पैसाको थैली बोक्ने भएर त्यसमा राखिएका चीज झिकेर लैजान्थ्यो।” (यूहन्‍ना १२:१-६) यहूदा वा ती धार्मिक नेताहरूजस्तो हामी कहिल्यै नहोऔं जो अरूको इन्साफ गर्न हतार गर्थे तर उल्टै तिनीहरूमाथि नै दोष आइपर्थ्यो।

१७. सेखी गर्नु वा अति आत्म-विश्‍वस्त हुनुमा कस्तो खतरा लुकेको हुन्छ, उदाहरणसहित बताउनुहोस्‌।

१७ दुःखको कुरा, कोही-कोही प्रारम्भिक मसीहीहरू यहूदाजस्तो चोर त थिएनन्‌ तर तिनीहरू घमन्डको सिकार भए अनि आफूलाई सेखीवाल बनाए। तिनीहरूबारे याकूबले यस्तो लेखे: “तिमीहरू आफ्ना आफ्ना शेखीमा घमण्ड गर्दछौ।” यसपछि तिनले यसो भने: “त्यस्तो सबै घमण्ड खराब हो।” (याकूब ४:१६) यहोवाको सेवामा आफूले के-के गरेको छु वा के-कस्ता सुअवसरहरू पाएको छु भनेर धाक लगाउनु भनेको समस्या निम्त्याउनु हो। (हितोपदेश १४:१६) एकछिनको लागि आफू अति आत्म-विश्‍वस्त हुँदै धाक दिएका प्रेरित पत्रुसलाई के भएको थियो, हामी सम्झन सक्छौं: “सबै जना तपाईंप्रति रुष्ट भए तापनि म कहिल्यै रुष्ट हुनेछैनँ। . . . मैले तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ।” वास्तवमा हामीले आफ्नो विषयमा धाक दिन सक्ने कुनै कुरा छैन। हामीले जे जति कुराको आनन्द उठाइरहेका छौं, त्यो सबै यहोवाको करुणाले गर्दा मात्र हो। यो कुरा सम्झ्यौं भने सेखी गर्नदेखि हामी जोगिन सक्नेछौं।—मत्ती २६:३३-३५, ६९-७५.

१८. घमन्डप्रति यहोवा कस्तो महसुस गर्नुहुन्छ?

१८ “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ” भनेर हामीलाई बताइएको छ। किन? यहोवा यस्तो जवाफ दिनुहुन्छ: “अभिमान, अहंकार . . . म घृणा गर्छु।” (हितोपदेश ८:१३; १६:१८) “अश्‍शूरका राजाको अभिमान र चढेको आँखा” देखेर यहोवा रिसले चूर हुनुको कारण बुझ्न सक्छौं! (यशैया १०:१२) तिनको घमन्डले गर्दा यहोवाले तिनलाई सजाय दिनुभयो। चाँडै शैतानको सम्पूर्ण संसारलगायत यसका घमन्डी र आफूलाई महत्त्वपूर्ण ठान्‍ने नेताहरू, दृश्‍य तथा अदृश्‍य सबैलाई सजाय दिइनेछ। यहोवाका विरोधीहरूको हठी मनोभाव हामी कहिल्यै अनुकरण नगरौं!

१९. कुन कुरामा परमेश्‍वरका जनहरूले गर्व गर्नुका साथै नम्र हुन सक्छन्‌?

१९ साँचो मसीहीहरूले आफू यहोवाको सेवक भएकोमा गर्व गर्नुपर्ने ठोस कारण छ। (यर्मिया ९:२४) तर अर्कोतिर तिनीहरू नम्र हुनुपर्ने ठोस कारण पनि छ। किन? किनभने “सबैले पाप गरेका छन्‌, र परमेश्‍वरको महिमारहित हुनगएका छन्‌।” (रोमी ३:२३) त्यसैले यहोवाका सेवकहरूको हैसियतमा हाम्रो अडानलाई सुरक्षित राख्न हामीले प्रेरित पावलको जस्तै मनोवृत्ति राख्नुपर्छ जसले यसो भने, “ख्रीष्ट येशू संसारमा पापीहरूलाई उद्धार गर्न आउनुभएको हो” अनि त्यसपछि अझ यसो भने: “तिनीहरूमध्ये मचाहिं मुख्य हुँ।”—१ तिमोथी १:१५.

२०. यहोवाले आफ्ना जनहरूलाई अहिले कसरी सुरक्षा गर्नुहुन्छ र भविष्यमा उहाँले तिनीहरूलाई कसरी सुरक्षा गर्नुहुनेछ?

२० यहोवाका जनहरूले परमेश्‍वरको इच्छासम्बन्धी कामकुरालाई प्राथमिकता दिन आफ्नो व्यक्‍तिगत चासोलाई खुसीसाथ दोस्रो स्थानमा राख्ने हुँदा यहोवाले तिनीहरूलाई आध्यात्मिक तवरमा सुरक्षित राखिरहनुहुनेछ भन्‍ने आश्‍वासन हामी पाउन सक्छौं। महासङ्‌कष्ट आउँदा यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक तवरमा मात्र होइन तर शारीरिक तवरमा पनि सुरक्षा गर्नुहुनेछ भनेर हामी ढुक्क हुन सक्छौं। परमेश्‍वरको नयाँ संसारमा प्रवेश गर्दा तिनीहरूले ठूलो स्वरले यसो भन्‍न सक्नेछन्‌: “हेर, हाम्रा परमेश्‍वर, हामीले उहाँको बाटो हेऱ्‍यौं, र उहाँलेनै हामीलाई बचाउनुहुनेछ। परमप्रभुलाई हेर, हामीले उहाँको बाटो हेऱ्‍यौं, औ उहाँले दिनुभएको मुक्‍तिमा हामी खुशी हुनेछौं र रमाउनेछौं।”—यशैया २५:९.

के तपाईंलाई याद छ?

• राजा दाऊद र येशू ख्रीष्टलाई कसरी सुरक्षा गरियो?

• आज यहोवाका जनहरू कसरी सुरक्षित छन्‌?

• आफूलाई बढ्‌तै महत्त्व दिनदेखि हामी किन जोगिनुपर्छ?

• हामी किन गर्व गर्नुका साथै नम्र हुन सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ९-मा भएका चित्रहरू]

यहोवाले दाऊद र येशूको कसरी रक्षा गर्नुभयो?

[पृष्ठ ११-मा भएका चित्रहरू]

आज परमेश्‍वरका जनहरू आध्यात्मिक तवरमा कुन-कुन तरिकामा सुरक्षित छन्‌?

[पृष्ठ १२-मा भएका चित्रहरू]

यहोवाको सेवा गर्न पाएकोमा गर्व गरे तापनि हामी सधैं नम्र हुनै पर्छ