सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

संसार कतातिर लम्किंदैछ?

संसार कतातिर लम्किंदैछ?

संसार कतातिर लम्किंदैछ?

विश्‍व एकता। सुन्दै कत्ति राम्रो! के सबैको चाहना यही होइन र? हो, एकताको बारेमा धेरै चर्चा गरिन्छ। यही विषयलाई लिएर पटक-पटक विश्‍वका नेताहरूले सभा-सम्मेलन डाकेका छन्‌। सन्‌ २००० को अगस्त महिनामा १,००० भन्दा बढी धार्मिक नेताहरू सहस्र विश्‍वशान्ति शिखर सम्मेलनको लागि न्यु योर्कस्थित संयुक्‍त राष्ट्रसंघमा भेला भएका थिए। उनीहरूले संसारमा भइरहेका द्वन्द्वको निकासबारे छलफल गरे। तथापि, सम्मेलन आफै संसारमा चुलिंदो विवादको एउटा प्रतिबिम्ब थियो। सम्मेलनमा यहूदी रब्बी पनि उपस्थित भएकाले यरूशलेमका मुफ्ती अर्थात्‌ मुस्लिम कानुनको अर्थ खुलाउने पेसेवर कानुनविद्‌ले सम्मेलन बहिष्कार गरे। अरू कतिपयचाहिं निराश थिए किनकि चीन क्रुद्ध हुने डरले दलाई लामालाई सम्मेलनको पहिलो दुई दिन आमन्त्रित गरिएन।

सन्‌ २००३ को अक्टोबरमा थाईल्याण्डमा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा प्यासिफिक रिम राष्ट्रहरूले विश्‍वको सुरक्षासम्बन्धी मामिलामा छलफल गरे। उपस्थित २१ राष्ट्रले आतङ्‌ककारी समूहहरूलाई सखाप पार्ने वचनबद्धता जाहेर गर्नुका साथै विश्‍वलाई अझ सुरक्षित बनाउने उपायहरू खोज्ने सन्दर्भमा सहमति जनाए। यद्यपि, सम्मेलनको दौडान थुप्रै प्रतिनिधिहरूले एक जना प्रधानमन्त्रीको टिप्पणीप्रति असन्तोष प्रकट गरे किनभने ती टिप्पणी यहूदीहरूमाथि लक्षित घृणाले भरिएको एउटा तीखो आरोप थियो भनिन्छ।

किन छैन एकता?

विश्‍वलाई एकताबद्ध बनाउने विषयमा कुरा धेरै उठे तापनि ठोस परिणाम भने खासै प्राप्त हुन सकेको छैन। धेरैको निष्कपट प्रयासहरूको बावजुद २१ औं शताब्दीका मानिसहरूले किन अझै पनि विश्‍व एकता प्राप्त गर्न सकेका छैनन्‌?

एपेक सम्मेलनमा उपस्थित एक जना प्रधानमन्त्रीले गरेको टिप्पणीमा यस प्रश्‍नको केही जवाफ पाउन सकिन्छ। तिनले यसो भने: “यसको एउटा कारण हो राष्ट्रिय गौरव।” हो, मानव समाज राष्ट्रियताको भावनामा चुर्लुम्म डुबेको छ। प्रत्येक राष्ट्र र जातीय समूह स्वाधीनताप्रतिको मोहले अभिप्रेरित छन्‌। राष्ट्रिय सार्वभौमिकतालगायत प्रतिस्पर्धी मनोभाव तथा लोभले गर्दा बडो नाजुक स्थिति सृजना भएको छ। थुप्रै अवस्थामा राष्ट्रिय हितको कुरा विश्‍वव्यापी हितको कुरासित बाझिंदा राष्ट्रिय हितलाई नै प्राथमिकता दिइन्छ।

भजनहारले राष्ट्रियताको भावनालाई “हानिकारक रूढी” भनी ठीकसँग वर्णन गरे। (भजन ९१:३) राष्ट्रियताको भावना मानवजातिको लागि एउटा महामारी साबित भएको छ, जसको कारण मानिसजातिले अवर्णनीय दुःखकष्ट झेलेको छ। शताब्दीयौंदेखि राष्ट्रियताको भावनाले अरू मानिसहरूलाई घृणा गर्न उक्साउँदै आएको छ। राष्ट्रियताको भावनाले अझै पनि विभाजनको ज्वालालाई दन्काउने काम गरिरहेको छ र मानव शासकहरू यस ज्वालालाई निभाउन सफल भएका छैनन्‌।

राष्ट्रियताको भावना र स्वार्थ विश्‍व समस्याहरूको मूल कारण हुन्‌ भन्‍ने थुप्रै अधिकारीहरूको ठहर छ। उदाहरणका लागि, संयुक्‍त राष्ट्रसंघका भूतपूर्व महासचिव यु थान्टले यसो भने: “गलत मनोवृत्तिको कारण अथवा त्यसको परिणामस्वरूप आज हामीले तीनथुप्रो समस्याहरू झेल्नुपरिरहेको छ . . . यस प्रकारका गलत मनोवृत्तिहरूमध्ये एउटा हो राष्ट्रियताको सङ्‌कुचित धारणा अर्थात्‌ ‘सही होस्‌ या गलत, मलाई मेरो देश नै ठूलो लाग्छ’ भन्‍ने धारणा।” यद्यपि, स्वार्थपूर्ति गर्न तल्लीन राष्ट्रहरू आज आफ्नै सार्वभौमिकताको लागि झन्‌-झन्‌ चर्को आवाज उठाइरहेका छन्‌। अर्कोतर्फ आफ्नो छुट्टै सार्वभौमिकता भएकाहरूले यो सार्वभौमिकता अलिकता पनि बाँड्‌न चाहँदैनन्‌। उदाहरणका लागि, इन्टरनेशनल हेराल्ड ट्रिब्यून-मा युरोपियन युनियनबारे यस्तो टिप्पणी गरिएको थियो: “होडबाजी र अविश्‍वास युरोपेली राजनीतिको पर्यायवाची बनेको छ। आफ्नो छिमेकी राष्ट्रले बढी प्रभाव जमायो र आफूलाई उछिनेर अघि बढ्यो भने युरोपियन युनियनका अधिकांश सदस्य राष्ट्रहरूलाई त्यो कुरा अझै पनि असह्‍य हुन्छ।”

परमेश्‍वरको वचन बाइबलले सम्पूर्ण मानव शासनको नतिजालाई यस प्रकार सही ढङ्‌गमा वर्णन गर्छ: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय” छ। (उपदेशक ८:९) एउटा सिङ्‌गो संसारलाई ससानो राष्ट्रमा टुक्र्‌याएर मानिसहरूका समूहलगायत अन्य व्यक्‍तिविशेषहरूले बाइबल सिद्धान्तको यो पूर्ति अनुभव गरेका छन्‌: “अमिल्दो मानिस स्वार्थको पछि लाग्छ, त्ससले सबै उचित ठहरको खुला विरोध गर्छ।”—हितोपदेश १८:१, NRV.

मानिसहरूले आफ्नो लागि छुट्टै सरकार खडा गरेर आफै शासन गरून्‌ भन्‍ने सृष्टिकर्ताको उद्देश्‍य पटक्कै थिएन किनकि हाम्रो लागि कुन कुरा सर्वोत्तम छ सो उहाँ जान्‍नुहुन्छ। यसो गरेर मानिसहरूले परमेश्‍वरको उद्देश्‍यलाई लत्त्याउनुका साथै सबै कुरा उहाँकै हुन्‌ भन्‍ने तथ्यलाई नकारेका छन्‌। भजन ९५:३-५ यसो भन्छ: “परमप्रभु [“यहोवा,” NW] महान्‌ परमेश्‍वर हुनुहुन्छ, र सारा देवहरूमाथिका महान्‌ राजा। उहाँकै हातमा पृथ्वीका गहिरा-गहिरा स्थानहरू छन्‌। पहाडका चुचुराहरू पनि उहाँकै हुन्‌। समुद्र उहाँकै हो, औ त्यो उहाँलेनै बनाउनुभएको हो। सुखा जमीन उहाँकै हातद्वारा बनिएको हो।” परमेश्‍वर वैध सार्वभौम हुनुहुन्छ र सबैले उहाँलाई आफ्नो शासक मान्‍नुपर्छ। सार्वभौमसत्ता सम्पन्‍न हुन खोजेर राष्ट्रहरूले परमेश्‍वरको इच्छा विपरीत काम गरिरहेका छन्‌।—भजन २:२.

के आवश्‍यक छ त?

सम्पूर्ण मानिसको हितबारे साँचो चासो राख्ने एउटा विश्‍वव्यापी सरकार गठन गर्नुबाहेक विश्‍वलाई एकताबद्ध बनाउने अर्को उपाय छैन। अहिलेको अवस्थालाई गम्भीरतापूर्वक लिने व्यक्‍तिहरूले यस्तो आवश्‍यकता महसुस गरेका छन्‌। तथापि, यस्तो आवश्‍यकता महसुस गर्नेहरूले पनि अक्सर गलत स्रोतको मुख ताक्छन्‌। उदाहरणका लागि, धार्मिक नेताहरू लगायत थुप्रै टिप्पणीकारहरूले विश्‍व एकताको लागि संयुक्‍त राष्ट्रसंघको बाटो हेर्न आग्रह गरेका छन्‌। तथापि, उद्देश्‍य जतिसुकै महान्‌ भए पनि मानिसजातिको विश्‍वव्यापी समस्या हल गर्न मानव संगठनहरू कहिल्यै सफल भएका छैनन्‌। बरु, यी अधिकांश संगठनहरू विभिन्‍न राष्ट्रहरूमाझ व्याप्त अमेलको एउटा प्रतिबिम्ब मात्र भएका छन्‌।

समस्या समाधानको लागि मानव संघसंस्थाको मुख ताक्ने विषयमा बाइबल यस्तो चेतावनी दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन।” (भजन १४६:३) के यसको मतलब विश्‍व एकताबद्ध हुन सक्ने आशै छैन? त्यसो त होइन। अर्को विकल्प पनि छ।

विश्‍वलाई एकताबद्ध बनाउन सक्ने सरकार परमेश्‍वरले खडा गरिसक्नुभएको छ भन्‍ने कुरा धेरैलाई थाह छैन। यहोवा परमेश्‍वरको विषयमा बाइबल यसो भन्छ: “मैले आफ्नै पवित्र डाँडा सियोनमा आफ्नै राजालाई स्थापित गरेको छु। मसँग माग, र म अन्यजातिहरूलाई तिम्रो सम्पत्ति तुल्याइदिनेछु, र पृथ्वीको पल्लो छेउसम्म तिम्रो अधिकारमा राखिदिनेछु।” (भजन २:६, ८) याद गर्नुहोस्‌, यस शास्त्रपदले यहोवा परमेश्‍वरलाई ‘आफ्नो राजा स्थापित’ गर्नुहुने व्यक्‍तिको रूपमा सङ्‌केत गरेको छ र ती राजालाई उहाँ पद ७ मा “मेरा पुत्र” भन्‍नुहुन्छ। यी पुत्र अरू कोही नभई परमेश्‍वरको प्रमुख आत्मिक पुत्र येशू ख्रीष्ट हुनुहुन्छ जसलाई सारा राष्ट्रहरूमाथि अधिकार गर्ने अख्तियार दिइएको छ।

विश्‍व एकता कसरी सम्भव हुनेछ

परमेश्‍वरले खडा गर्नुभएको यो स्वर्गीय शासनलाई अधिकांश मानिसहरू स्वीकार्न चाहँदैनन्‌। राष्ट्रहरूचाहिं सार्वभौमसत्ता सम्पन्‍न हुने आफ्नो अधिकार हासिल गरिछाड्‌ने हठ गर्छन्‌। तथापि, परमेश्‍वरको सार्वभौमिकता अनि उहाँले खडा गर्नुभएको सरकारलाई मानिलिन अस्वीकार गर्नेहरूलाई उहाँले बाँकी राख्नुहुनेछैन। यस प्रबन्धलाई स्वीकार्न अस्वीकार गर्नेहरूको विषयमा भजन २:९ यसो भन्छ: “फलामको डण्डाले तिमीले [पुत्र, येशू ख्रीष्टले] तिनीहरूलाई फोर्नेछौ। र कुमालेको भाँडालाई जस्तैगरी तिमीले तिनीहरूलाई चक्नाचूर पार्नेछौ।” यो कुरा बुझे पनि नबुझे पनि अहिले राष्ट्रहरू यस्तो मार्गमा हिंडिरहेका छन्‌ जसले तिनीहरूलाई परमेश्‍वरसित मुठभेड हुने बाटोतर्फ डोऱ्‍याउनेछ। बाइबलको अन्तिम पुस्तकमा “सर्वशक्‍तिमान परमेश्‍वरको ठूलो दिनको लडाइँको निम्ति जम्मै पृथ्वीका राजाहरूलाई” जम्मा गरिंदैछ भनी बताइएको छ। (प्रकाश १६:१४) राष्ट्रहरू तथा विभाजन ल्याउने तिनीहरूका तौरतरिकाहरूको नामोनिसान रहनेछैन। यसो भएपछि परमेश्‍वरको सरकारले कुनै बाधाबिघ्नविना आफ्नो काम सम्पन्‍न गर्न सक्नेछ।

ब्रह्‍माण्डका सार्वभौमको हैसियतमा यहोवा परमेश्‍वरले एकताबद्ध संसारको लागि आवश्‍यक परिवर्तनहरू गर्न आफ्नो पुत्रमार्फत बुद्धिमानीसाथ शक्‍ति परिचालन गर्नुहुनेछ। परमेश्‍वरको सरकारले साँचो एकता ल्याउनुका साथै धार्मिकताका सम्पूर्ण प्रेमीहरूमाथि आशिष्‌ बर्साउनेछ। आफ्नो बाइबल खोलेर भजन अध्याय ७२ पढ्‌न केही मिनेट समय निकाल्नुहोस्‌ न, हुन्‍न? यस अध्यायमा परमेश्‍वरको पुत्रको अधीनमा हुने शासनले मानिसजातिका लागि के गर्नेछ भन्‍ने कुराको भविष्यसूचक चित्र वर्णन गरिएको छ। मानिसहरूले साँचो विश्‍व एकता अनुभव गर्न पाउनेछन्‌ र उनीहरूका तमाम समस्याहरू; जस्तै—दमन, हिंसा, गरिबी तथा यस्तै अन्य समस्याहरू केही पनि हुनेछैनन्‌।

आजको यस विभाजित संसारमा यस्तो आशा राख्नु धेरैलाई व्यावहारिक नलाग्न सक्छ। तर यस्तो सोच्नु भूल हुनेछ। परमेश्‍वरका प्रतिज्ञाहरू कहिल्यै असफल भएका छैनन्‌ र हुने पनि छैनन्‌। (यशैया ५५:१०, ११) के तपाईं यस्तो परिवर्तन हेर्न चाहनुहुन्छ? तपाईं हेर्न सक्नुहुन्छ। साँच्चै भन्‍ने हो भने, त्यस समयको लागि पहिल्यैदेखि तयारी गर्दै आएका मानिसहरू पनि छन्‌। उनीहरू विभिन्‍न राष्ट्रका हुन्‌ तर आपसमा झगडा गर्नुको सट्टा उनीहरू अहिले एकताबद्ध भई परमेश्‍वरको सार्वभौमिकताको अधीनमा बसिरहेका छन्‌। (यशैया २:२-४) उनीहरू को हुन्‌? उनीहरू यहोवाका साक्षीहरू भनेर चिनिन्छन्‌। उनीहरूको सभास्थलमा उपस्थित हुने निम्तो स्वीकार्नुभए कसो होला? परमेश्‍वरको सार्वभौमिकताको अधीनमा बस्न तपाईंलाई मदत गर्न सक्ने मानिसहरूसितको स्फूर्तिदायी संगतिबाट तपाईंले अवश्‍य आनन्द उठाउनुका साथै कहिल्यै अन्त्य नहुने एकता अनुभव गर्न सक्नुहुनेछ।

[पृष्ठ ७-मा भएका चित्रहरू]

विभिन्‍न राष्ट्रका मानिसहरू एकताबद्ध संसारमा जीवन बिताउने तयारी गरिरहेका छन्‌

[पृष्ठ ४-मा भएको चित्रको स्रोत]

Saeed Khan/AFP/Getty Images

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Woman grieving: Igor Dutina/AFP/Getty Images; protesters: Said Khatib/AFP/Getty Images; armored cars: Joseph Barrak/AFP/Getty Images