सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌

आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌

आमाबाबुहरू हो, आफ्नो परिवारको पालनपोषण गर्नुहोस्‌

“कसैले . . . आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ।”—१ तिमोथी ५:८.

१, २. (क) परिवारहरू एकसाथ मसीही सभाहरूमा उपस्थित भएको देख्न पाउनु किन प्रोत्साहनदायी कुरा हो? (ख) समयमै सभामा पुग्न परिवारहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नुपर्छ?

 सभा सुरु हुनुभन्दा अघि तपाईंले मसीही मण्डलीमा यताउता हेर्नुभयो भने सफा र चिटिक्क परेको लुगा लगाएका बच्चाहरू आफ्ना आमाबाबुहरूसित बसिरहेको देख्नुहुन्छ होला। यस्तो परिवारमा यहोवाप्रति र एक-आपसमा प्रेम देख्न पाउनु के खुसीको कुरा होइन र? तर परिवारलाई यसरी समयमै सभाहरूमा पुऱ्‍याउन कति मेहनत गर्नुपर्छ भन्‍ने कुरामा चाहिं हाम्रो त्यत्ति ध्यान नजान सक्छ।

प्रायजसो अवस्थामा, आमाबाबुहरू दिनभरि असाध्यै व्यस्त हुन्छन्‌ र साँझमा सभा छ भने त परिवार झनै व्यस्त हुन्छ। खाना पकाउनुपर्छ, घरको कामकाज भ्याउनुपर्छ अनि स्कूलको होमवर्क पनि सिध्याउनुपर्छ। सबै जना सफा छन्‌ कि छैनन्‌, सबैले खाए कि खाएनन्‌ अनि समयमै तयार भए कि भएनन्‌ भनेर हेरविचार गर्नुपर्ने हुनाले आमाबाबुले गह्रौं जिम्मेवारी सँभाल्छन्‌। अनि यस्तै चटारोको बेला बच्चाहरूले नानाभाँतिका समस्याहरू खडा गर्न सक्छन्‌। खेल्दाखेल्दै जेठो छोराको पाइन्ट च्यातिन्छ। कान्छोको खाना पोखिन्छ। बच्चाहरू झगडा गर्न थाल्छन्‌। (हितोपदेश २२:१५) यसपछि के हुन्छ? आमाबाबुले राम्ररी योजना बनाएको भए तापनि सोचेजस्तो पटक्कै नहुन सक्छ। तैपनि, यस्ता परिवारहरू सधैंजसो सभा सुरु हुनुभन्दा निकै अघि राज्यभवनमा पुग्छन्‌। हप्तैपिच्छे अनि वर्षैपिच्छे तिनीहरूलाई सधैं सभाहरूमा देख्न पाउनु अनि ती बच्चाहरू ठूलो भएर यहोवाको सेवा गरेको हेर्न पाउनु कस्तो प्रोत्साहनदायी कुरा हो!

३. यहोवाले परिवारहरूलाई असाध्यै मूल्यवान्‌ ठान्‍नुहुन्छ भनेर हामी कसरी थाह पाउँछौं?

आमाबाबुको रूपमा तपाईंको काम कहिलेकाहीं गाह्रो र थकाइलाग्दो समेत हुने भए तापनि यहोवाले तपाईंको प्रयासलाई असाध्यै मूल्यवान्‌ ठान्‍नहुन्छ भन्‍ने कुराबारे आश्‍वस्त हुन सक्नुहुन्छ। यहोवा पारिवारिक प्रबन्धको सुरुवातकर्ता हुनुहुन्छ। यहोवाबाटै हरेक परिवारको “नाउँ राखिएको” छ अर्थात्‌ हरेक परिवार अस्तित्वमा आएको हो भनी उहाँको वचन बताउँछ। (एफिसी ३:१४, १५) त्यसैले तपाईं आमाबाबुहरूले परिवारमा आफ्नो भूमिका ठीक तरिकामा पूरा गर्ने कोसिस गर्नुहुँदा तपाईंले ब्रह्‍माण्डका सार्वभौम प्रभुको आदर गर्नुहुन्छ। (१ कोरिन्थी १०:३१) के यो एउटा ठूलो सुअवसर होइन र? त्यसैले यहोवाले आमाबाबुहरूलाई दिनुभएको जिम्मेवारीबारे हामीले विचार गर्नु उपयुक्‍त हुन्छ। यस लेखमा हामी परिवारको पालनपोषण गर्ने सन्दर्भमा यस जिम्मेवारीलाई विचार गर्नेछौं। आमाबाबुले कुन-कुन तीनवटा तरिकामा परिवारको पालनपोषण गरेको परमेश्‍वर चाहनुहुन्छ त्यसबारे विचार गरौं।

भौतिक तवरमा पालनपोषण गर्ने

४. छोराछोरीहरूको पालनपोषण गर्न यहोवाले परिवारमा कस्तो प्रबन्ध मिलाउनुभएको छ?

प्रेरित पावलले यस्तो लेखे: “कसैले आफू र विशेष गरी आफ्ना परिवारलाई पालन-पोषण गर्दैन भनेता त्यसले विश्‍वासलाई इन्कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।” (१ तिमोथी ५:८) यहाँ पावलले “कसैले” भनी बताउँदा तिनको मनमा को थियो? परिवारको शिर, अक्सर बुबा। परमेश्‍वरले स्त्रीलाई पनि तिनको पतिको सहयोगीको रूपमा एउटा सम्मानजनक भूमिका दिनुभएको छ। (उत्पत्ति २:१८) बाइबल समयका स्त्रीहरूले परिवारको पालनपोषण गर्नको लागि अक्सर आफ्ना पतिहरूलाई मदत गर्थे। (हितोपदेश ३१:१३, १४, १६) आज, एक्लो आमा वा बुबा मात्र भएका परिवारहरू झन्‌ झन्‌ सामान्य हुँदैछन्‌। a थुप्रै एक्लो मसीही आमा वा बुबाले आफ्नो परिवारको पालनपोषण गर्ने सन्दर्भमा निकै सराहनीय काम गरिरहेका छन्‌। निस्सन्देह, परिवारमा आमा र बुबा दुवै हुनु अनि बुबाले नेतृत्व लिनु परिवारको लागि सुनमा सुगन्ध हो।

५, ६. (क) भौतिक तवरमा आफ्नो परिवारको पालनपोषण गर्न प्रयास गरिरहेकाहरूले के-कस्ता चुनौतीहरूको सामना गर्नु परिरहेको छ? (ख) सांसारिक कामप्रति कस्तो दृष्टिकोण राख्दा यसले परिवारको पालनपोषण गर्ने मसीहीहरूलाई आफ्नो काममा लागिरहन मदत गर्नेछ?

पहिलो तिमोथी ५:८ का शब्दहरू बताउँदा, पावलको मनमा कस्तो खालको पालनपोषण थियो? सन्दर्भले देखाएअनुसार तिनले परिवारको भौतिक आवश्‍यकताबारे तोकेरै बताइरहेका थिए। यसरी परिवारका आवश्‍यकताहरू पूरा गर्दा आजको संसारमा परिवारको शिरले थुप्रै अवरोधहरूको सामना गर्नुपर्छ। आर्थिक कठिनाइ, कर्मचारी कटौती, बढ्‌दो बेरोजगारी र अकासिंदो मूल्यवृद्धि विश्‍वभरि नै सामान्य भएको छ। यस्ता चुनौतीहरू आइपरे तापनि हरेस नखान पालनपोषण गर्ने व्यक्‍तिलाई कुन कुराले मदत गर्न सक्छ?

आफूले यहोवाबाट प्राप्त जिम्मेवारी पूरा गरिरहेको छु भन्‍ने कुरा पालनपोषण गर्ने व्यक्‍तिले बिर्सनु हुँदैन। यो आज्ञा पालन गर्न सक्ने अवस्थामा भईकन पनि यसलाई बेवास्ता गर्ने व्यक्‍तिलाई “विश्‍वासलाई इन्कार” गर्ने व्यक्‍तिसित तुलना गर्न सकिन्छ भनी पावलका प्रेरित शब्दहरूले देखाउँछ। परमेश्‍वरसामु यस्तो नहुन एक जना मसीहीले यथाशक्य गर्नेछन्‌। तर दुःखको कुरा, आजको संसारमा थुप्रै व्यक्‍तिहरूसित “स्वाभाविक प्रेम” छैन। (२ तिमोथी ३:१, ३) वास्तवमा, आफ्नो जिम्मेवारीबाट पन्छिएर असंख्य बुबाहरूले आफ्नो परिवारलाई बेसहारा बनाउँछन्‌। आफ्नो परिवारको पालनपोषण गर्ने जिम्मेवारीप्रति मसीही पतिहरू यस्तो निर्दयी सोचाइ राख्दैनन्‌। आफ्ना थुप्रै सहकर्मीहरूजस्तो नभई असाध्यै निम्न श्रेणीको जस्तो देखिने कामलाई समेत परिवारको पालनपोषण गर्ने मसीहीहरूले मर्यादापूर्ण र महत्त्वपूर्ण काम ठान्छन्‌ अनि यहोवालाई खुसी बनाउने माध्यमको रूपमा हेर्छन्‌ किनभने यसले तिनलाई आफ्नो परिवारको पालनपोषण गर्न मदत दिन्छ।

७. आमाबाबुहरूले येशूको उदाहरण मनन गर्नु किन उपयुक्‍त हुन्छ?

येशूको सिद्ध उदाहरण विचार गर्नु पनि परिवारका शिरहरूको लागि मदतकारी हुन सक्छ। नबिर्सनुहोस्‌, बाइबलले येशूलाई “सनातनका पिता” भनेर भविष्यसूचक ढङ्‌गमा सङ्‌केत गरेको छ। (यशैया ९:६, ७) “पछिल्लो आदम” येशूले विश्‍वास गर्ने मानिसहरूका पिताको रूपमा “पहिलो मानिस आदम[को]” ठाउँ लिनुभयो। (१ कोरिन्थी १५:४५) स्वार्थी र अरूको वास्ता नगर्ने आदमजस्तो नभई येशू आदर्श बुबा हुनुहुन्छ। उहाँबारे बाइबल यसो भन्छ: “यसैमा हामीले प्रेम थाह पाउँछौं, किनभने उहाँले हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो।” (१ यूहन्‍ना ३:१६) हो, येशूले खुसीसाथ आफ्नो जीवन अरूको लागि अर्पण गर्नुभयो। साथै, दैनिक जीवनमा उहाँले ससाना कुरामा समेत आफ्नोभन्दा अरूका आवश्‍यकताहरूलाई प्राथमिकता दिनुभयो। तपाईं आमाबाबुहरूले पनि उहाँको आत्म-त्यागी मनोभाव अनुकरण गर्नु पक्कै लाभदायी हुनेछ।

८, ९. निःस्वार्थी भई आफ्ना छोराछोरीहरूको पालनपोषण गर्ने सन्दर्भमा आमाबाबुहरूले चराहरूबाट के सिक्न सक्छन्‌? (ख) थुप्रै मसीही आमाबाबुहरूले कसरी आत्म-त्यागी मनोभाव देखाइरहेका छन्‌?

बाटो बिराएर गएका परमेश्‍वरका जनहरूलाई येशूले बताउनुभएका शब्दहरूबाट निःस्वार्थ प्रेमबारे आमाबाबुहरूले थुप्रै कुरा सिक्न सक्छन्‌: “जसरी कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामनि बटुल्छ, त्यसरीनै कत्तिपल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें।” (मत्ती २३:३७) यहाँ येशूले कुखुराको माऊले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि शरण दिएको कुरा जीवन्त ढङ्‌गमा बताउनुभयो। साँच्चै नै माऊ चराले आफ्ना बचेराहरूलाई कसरी सुरक्षा दिन्छ त्यसबाट आमाबाबुहरूले धेरै कुरा सिक्न सक्छन्‌ किनभने आफ्ना बचेराहरूलाई हानिबाट जोगाउन त्यो आफ्नो जीवन खतरामा पार्न समेत पछि पर्दैन। यद्यपि, माऊ चराहरूले दिनहुँ जे गर्छन्‌ त्यो पनि निकै उल्लेखनीय छ। खानाको खोजीमा तिनीहरू धेरै चोटि ओहोरदोहोर गरिरहन्छन्‌। आफू थकाइले चूर भए तापनि मुख बाउँदै बसिरहेका बचेराहरूको मुखमा खाना हालिदिन्छन्‌ र बचेराहरूले यो निल्छन्‌ अनि अक्सर फेरि मुख आँ गर्दै अझ खाना माग्छन्‌। आफ्ना बच्चाहरूको हेरविचार गर्ने सन्दर्भमा यहोवाका थुप्रै सृष्टिहरू “साह्रै बुद्धिमानी” छन्‌।—हितोपदेश ३०:२४.

यसै गरी, संसारभरका मसीही आमाबाबुहरूले पनि प्रशंसनीय आत्म-त्यागी मनोभाव देखाइरहेका छन्‌। आफ्ना छोराछोरीहरूलाई कुनै हानि हुन दिनुको सट्टा बरु तपाईंहरू आफै हानि व्यहोर्न तयार हुनुहुन्छ। साथै, आफ्नो परिवारको पालनपोषण गर्न तपाईंहरू दिनहुँ खुसीसाथ त्यागहरू गर्न इच्छुक हुनुहुन्छ। तपाईंहरूमध्ये धेरै जना बिहान सबेरै उठेदेखि थकाइलाग्दो वा पट्टाइलाग्दो काम गर्नुहुन्छ। परिवारको लागि पोसिलो खाना जुटाउन तपाईंहरू दसनङ्‌ग्रा खियाउनुहुन्छ। तपाईंका छोराछोरीहरूले सफा लुगा लगाउन पाऊन्‌, ओत लाग्ने एउटा छानो होस्‌ र तिनीहरूले पर्याप्त शिक्षा पाऊन्‌ भनेर तपाईंहरू पसिना बगाउनुहुन्छ। अनि एक दिन वा दुई दिन मात्र होइन तर वर्षौंसम्म यसो गरिरहनुहुन्छ। यस्तो आत्म-त्याग र धीरजले यहोवालाई पक्कै खुसी तुल्याउँछ! (हिब्रू १३:१६) तथापि, यो सबै गर्न आवश्‍यक भए तापनि परिवारको पालनपोषण गर्ने अझै महत्त्वपूर्ण क्षेत्रहरू पनि छन्‌ भन्‍ने कुरा नबिर्सनुहोस्‌।

आध्यात्मिक तवरमा पालनपोषण गर्ने

१०, ११. सबैभन्दा महत्त्वपूर्ण मानव आवश्‍यकता कुन हो र आफ्ना छोराछोरीहरूको यो आवश्‍यकता पूरा गर्न मसीही आमाबाबुहरूले सबैभन्दा पहिला के गर्नै पर्छ?

१० भौतिक तवरमा पालनपोषण गर्नुभन्दा पनि अझ महत्त्वपूर्ण कुरा आध्यात्मिक तवरमा पालनपोषण गर्नु हो। येशूले यसो भन्‍नुभयो: “मानिस भोजनले मात्र होइन, तर परमेश्‍वरका मुखबाट निस्केको हरेक वचनले बाँच्तछ।” (मत्ती ४:४; ५:३) आध्यात्मिक तवरमा पालनपोषण गर्न तपाईं आमाबाबुहरूले के गर्न सक्नुहुन्छ?

११ यस विषयमा, व्यवस्था ६:५-७ जति बढी उद्धरण गरिएको शास्त्रपद सायद अरू छैन होला। कृपया आफ्नो बाइबल खोलेर ती पदहरू पढ्‌नुहोस्‌। याद गर्नुहोस्‌, यहोवाप्रति प्रेम विकास गरेर अनि उहाँको वचन हृदयमा राखेर पहिला आफ्नै आध्यात्मिकता बढाउन आमाबाबुहरूलाई सल्लाह दिइएको छ। हो, नियमित तवरमा बाइबल पढेर अनि यसबारे मनन गरेर तपाईं परमेश्‍वरको वचनको लगनशील विद्यार्थी हुनुपर्छ र यसो गर्दा तपाईंले यहोवाका मार्ग, सिद्धान्त र नियमहरूप्रति सही समझ र प्रेम विकास गर्न सक्नुहुन्छ। फलस्वरूप, तपाईंको हृदय मनमोहक बाइबल सच्चाइद्वारा भरिनेछ, जसले तपाईंलाई आनन्दित हुन अनि यहोवाप्रति श्रद्धा र प्रेम महसुस गर्न उत्प्रेरित गर्नेछ। तपाईंले आफ्ना छोराछोरीहरूलाई प्रशस्त मात्रामा असल कुराहरू दिन सक्नुहुनेछ।—लूका ६:४५.

१२. आफ्ना छोराछोरीहरूलाई होसियारीसाथ बाइबल सत्य सिकाउने सन्दर्भमा आमाबाबुहरूले येशूको उदाहरण कसरी अनुकरण गर्न सक्छन्‌?

१२ आध्यात्मिक तवरमा बलिया आमाबाबुहरू व्यवस्था ६:७ मा दिइएअनुसार मौका मिल्ने बित्तिकै आफ्ना छोराछोरीहरूलाई यहोवाको वचन “होशियारीसाथ सिकाओ” भन्‍ने सल्लाह पालन गर्न सुसज्जित हुन्छन्‌। “होशियारीसाथ सिकाओ” भनेर अनुवाद गरिएको मूल हिब्रू शब्दले पटक पटक दोहोऱ्‍याएर सिकाउनु र मनमा ठप्प बसाल्नु भन्‍ने अर्थ बुझाउँछ। सिक्नको लागि हामी सबैलाई र अझ विशेष गरी बच्चाहरूलाई बारम्बार दोहोऱ्‍याएर सिकाउनु आवश्‍यक छ भनेर यहोवालाई राम्ररी थाह छ। यसैले येशूले आफ्नो सेवकाईमा धेरै कुराहरू दोहोऱ्‍याएर सिकाउनुभयो। उदाहरणका लागि, घमन्डी र प्रतिस्पर्धी हुनुको सट्टा नम्र हुनेबारे आफ्ना चेलाहरूलाई सिकाउनुहुँदा, यही एउटा सिद्धान्त उहाँले विभिन्‍न तरिकामा दोहोऱ्‍याउनुभयो। उहाँले तर्क गरेर, दृष्टान्त चलाएर अनि आफैले उदाहरण बसालेर सिकाउनुभयो। (मत्ती १८:१-४; २०:२५-२७; यूहन्‍ना १३:१२-१५) यद्यपि, उल्लेखनीय कुरा, उहाँ कहिल्यै पनि अधीर हुनुभएन। त्यसै गरी, आमाबाबुले पनि आफ्ना छोराछोरीहरूलाई आधारभूत सत्य सिकाउन विभिन्‍न तरिकाहरू चलाउनुपर्छ र तिनीहरूले यहोवाका सिद्धान्तहरू बुझेर यसलाई लागू नगरेसम्म धैर्यतापूर्वक बारम्बार दोहोऱ्‍याउनुपर्छ।

१३, १४. के-कस्ता अवसरहरूमा आमाबाबुले आफ्ना छोराछोरीहरूलाई होसियारीसाथ बाइबल सत्य सिकाउन सक्छन्‌ र यसको लागि कस्ता सहायकहरू प्रयोग गर्न सकिन्छ?

१३ पारिवारिक अध्ययनको समय यसरी सिकाउनको लागि सबैभन्दा उपयुक्‍त समय हो। वास्तवमा, नियमित, उत्थानदायी र आनन्दसाथ गरिएको पारिवारिक बाइबल अध्ययन परिवारको आध्यात्मिकताको मुख्य कडी हो। यहोवाको संगठनद्वारा प्रबन्ध गरिएका साहित्यहरूलाई प्रयोगमा ल्याएर अनि यसलाई छोराछोरीहरूको आवश्‍यकताअनुसार छाँटकाँट गरेर अध्ययन गर्दा संसारभरका मसीही परिवारहरूले आनन्द उठाइरहेका छन्‌। युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफलर्न फ्रम द ग्रेट टिचर पुस्तकहरू यस सन्दर्भमा निकै लाभकारी साबित भएका छन्‌। b तथापि, पारिवारिक अध्ययनको बेलामा मात्र नभई अरू समयमा पनि छोराछोरीहरूलाई सिकाउन सकिन्छ।

१४ व्यवस्था ६:७ ले देखाएअनुसार, आमाबाबुले आफ्ना छोराछोरीहरूसित आध्यात्मिक कुराहरूबारे छलफल गर्न सक्ने अन्य थुप्रै अवसरहरू छन्‌। सँगै यात्रा गर्दा, घरको काम सँगै गर्दा वा सँगै आराम गर्दा तपाईंले आफ्ना छोराछोरीहरूलाई आध्यात्मिक तवरमा पालनपोषण गर्ने मौका पाउन सक्नुहुन्छ। यसको अर्थ तपाईंले आफ्ना छोराछोरीहरूलाई चौबीसै घण्टा बाइबल सत्यबारे “भाषण छाँटिरहनुपर्छ” भनेको होइन। बरु, पारिवारिक वार्तालापलाई उत्थानदायी र आध्यात्मिकता बलियो पार्ने किसिमको बनाउने कोसिस गर्नुहोस्‌। उदाहरणका लागि, ब्यूँझनुहोस्‌! पत्रिकामा विभिन्‍न विषयका लेखहरू दिइएका हुन्छन्‌। यस्ता लेखहरूले यहोवाले सृष्टि गर्नुभएका जनावरहरू, प्राकृतिक सुन्दरताले भरिएका संसारका विभिन्‍न ठाउँहरू अनि मानिसहरूको संस्कृति तथा रहनसहनमा पाइने अचम्मलाग्दा विविधताहरूबारे कुरा गर्ने बाटो खोलिदिन सक्छ। यस्ता वार्तालापहरूले केटाकेटीहरूलाई विश्‍वासी र बुद्धिमान्‌ दास वर्गद्वारा प्रबन्ध गरिएका अरू साहित्यहरू पनि पढ्‌न उत्प्रेरित गर्न सक्छ।—मत्ती २४:४५-४७.

१५. मसीही सेवकाईलाई रमाइलो र आनन्ददायी कामको रूपमा हेर्न आमाबाबुले आफ्ना छोराछोरीहरूलाई कसरी मदत दिन सक्छन्‌?

१५ आफ्ना छोराछोरीहरूसित उत्थानदायी कुराकानी गर्दा यसले तिनीहरूको अर्को आध्यात्मिक आवश्‍यकता पूरा गर्न पनि तपाईंलाई मदत दिनेछ। मसीही छोराछोरीहरूले आफ्नो विश्‍वासबारे प्रभावकारी ढङ्‌गमा अरूलाई बताउन सिक्नु पनि आवश्‍यक छ। प्रहरीधरहरा वा ब्यूँझनुहोस्‌!-को कुनै रोचक बुँदाबारे कुराकानी गर्दा तपाईंले त्यस विषयवस्तुलाई सेवकाईसित जोड्‌ने मौका खोज्न सक्नुहुन्छ। उदाहरणका लागि, तपाईं यसरी सोध्न सक्नुहुन्छ: “अझ धेरै मानिसहरूले यहोवाबारे यो कुरा थाह पाए कत्ति राम्रो हुन्थ्यो नि, होइन र? तिम्रो विचारमा यस विषयप्रति कसरी मानिसहरूको चासो जगाउन सकिन्छ होला?” यस्तो छलफलले आफूले सिकिरहेको कुराबारे अरूलाई बताउने इच्छुकता अझ बढाउन केटाकेटीहरूलाई मदत गर्न सक्छ। अनि तपाईंका छोराछोरीहरू तपाईंसँगै सेवकाईमा जाँदा यस्तो वार्तालाप कसरी गर्न सकिन्छ भन्‍ने कुरा प्रत्यक्ष उदाहरणद्वारा देख्नेछन्‌। सेवकाई एउटा रमाइलो र आनन्ददायी काम हो अनि यसबाट ठूलो सन्तुष्टि र खुसी प्राप्त गर्न सकिन्छ भनेर पनि तिनीहरूले सिक्न सक्छन्‌।—प्रेरित २०:३५.

१६. आफ्ना आमाबाबुका प्रार्थनाहरू सुनेर छोराछोरीहरूले के सिक्न सक्छन्‌?

१६ प्रार्थना गर्दा पनि आमाबाबुले आफ्ना छोराछोरीहरूको आध्यात्मिक पालनपोषण गर्छन्‌। येशूले आफ्ना चेलाहरूलाई प्रार्थना कसरी गर्ने भनेर सिकाउनुभयो अनि उहाँले धेरै चोटि तिनीहरूसित प्रार्थना गर्नुभयो। (लूका ११:१-१३) यहोवाको आफ्नै पुत्रसँग प्रार्थना गर्दा तिनीहरूले कत्ति धेरै कुराहरू सिके होलान्‌, कल्पना गर्नुहोस्‌ त! त्यसै गरी, तपाईंका छोराछोरीहरूले पनि तपाईंको प्रार्थनाबाट धेरै कुरा सिक्न सक्छन्‌। उदाहरणका लागि, हामीले नहिचकिचाई हृदयदेखि कुरा गरेको र आफ्ना सबै पीर-व्यथाहरू उहाँलाई पोखेको यहोवा चाहनुहुन्छ भनेर तिनीहरूले सिक्न सक्छन्‌। हो, तपाईंका प्रार्थनाहरूले तपाईंका छोराछोरीहरूलाई एउटा महत्त्वपूर्ण आध्यात्मिक सच्चाइ सिक्न मदत दिन सक्छ: तिनीहरूले स्वर्गमा बस्नुहुने आफ्नो पितासित सम्बन्ध गाँस्न सक्छन्‌।—१ पत्रुस ५:७.

भावनात्मक तवरमा पालनपोषण गर्ने

१७, १८. (क) छोराछोरीहरूलाई प्रेम देखाउनुको महत्त्व बाइबलले कसरी प्रकट गर्छ? (ख) आफ्ना छोराछोरीहरूप्रति प्रेम व्यक्‍त गर्ने सन्दर्भमा बुबाहरूले कसरी यहोवाको उदाहरण अनुकरण गर्नुपर्छ?

१७ निस्सन्देह, बच्चाहरूका पूरा नगरी नहुने भावनात्मक आवश्‍यकताहरू पनि हुन्छन्‌। यी आवश्‍यकताहरू पूरा गर्नु कत्तिको महत्त्वपूर्ण छ भनेर परमेश्‍वरको वचनले आमाबाबुहरूलाई बताउँछ। उदाहरणका लागि, “आफ्ना बाल-बच्चाहरूलाई माया गर्न” तरूणीहरूलाई आग्रह गरिएको छ। (तीतस २:४) वास्तवमा, यसो गर्नु बुद्धिमानी काम हो। यसले बच्चालाई पनि अरूलाई प्रेम गर्न सिकाउँछ र तिनीहरूले जिन्दगीभर लाभहरू उठाउन सक्छन्‌। अर्कोतर्फ, बच्चालाई माया नदेखाउनु भनेको मूर्खता हो। यसले ठूलो पीडा ल्याउँछ र यहोवाको अनुकरण गर्न नसकेको कुरा देखाउँछ, जसले हाम्रा असिद्धताहरूको बावजुद हामीलाई अगाध प्रेम देखाउनुहुन्छ।—भजन १०३:८-१४.

१८ आफ्ना पार्थिव छोराछोरीहरूलाई प्रेम गर्न समेत यहोवा अग्रसरता लिनुहुन्छ। “पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो” भनी १ यूहन्‍ना ४:१९ बताउँछ। आफ्ना छोराछोरीहरूसित मायालु बन्धन विकास गर्न अग्रसर हुने सन्दर्भमा विशेष गरी बुबाहरूले यहोवाको उदाहरण अनुकरण गर्नुपर्छ। आफ्ना छोराछोरीहरूलाई रिस नउठाउन बाइबलले बुबाहरूलाई सल्लाह दिन्छ ताकि “तिनीहरू खिन्‍न नहोऊन्‌।” (कलस्सी ३:२१) आफ्ना आमाबाबुले आफूलाई माया गर्दैनन्‌ वा कुनै महत्त्वको ठान्दैनन्‌ भन्‍ने महसुस गर्नुभन्दा रिस उठ्‌ने कुरा छोराछोरीहरूका लागि सायद अरू नहुन सक्छ। आफ्ना भावनाहरू व्यक्‍त गर्न हिचकिचाउने बुबाले यहोवाको उदाहरण सम्झनु बेस हुन्छ। आफ्नो पुत्रप्रति अनुमोदन र प्रेम व्यक्‍त गर्न यहोवा स्वर्गबाट समेत बोल्नुभयो। (मत्ती ३:१७; १७:५) यो कुरा येशूको लागि कत्ति प्रोत्साहनदायी भएको हुनुपर्छ! त्यसै गरी आमाबाबुले पनि साँचो मनले आफ्नो प्रेम र अनुमोदन व्यक्‍त गर्दा छोराछोरीहरूले बल र साहस पाउन सक्छन्‌।

१९. अनुशासन किन महत्त्वपूर्ण छ र मसीही आमाबाबुहरूले कस्तो सन्तुलन कायम राख्न प्रयास गर्छन्‌?

१९ निस्सन्देह, आमाबाबुले प्रेम गर्छु भनेर बताउनु मात्र पर्याप्त छैन। मुख्यतया प्रेम कामद्वारा प्रकट हुनुपर्छ। विशेष गरी प्रेमद्वारा उत्प्रेरित भएर गरिएको छ भने भौतिक र आध्यात्मिक तवरमा पालनपोषण गर्नु आमाबाबुको प्रेमको अभिव्यक्‍ति हुन सक्छ। साथै, अनुशासन आमाबाबुको प्रेमको महत्त्वपूर्ण अभिव्यक्‍ति हो। वास्तवमा, “जसलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ, त्यसैलाई अनुशासन गर्नुहुन्छ।” (हिब्रू १२:६) अर्कोतर्फ, अनुशासन नदिंदा आमाबाबुले वास्तवमा आफ्ना छोराछोरीहरूलाई घृणा गर्छन्‌ भन्‍ने देखिन्छ! (हितोपदेश १३:२४) “ठीकसँग” अनुशासन दिएर यहोवा सधैं सही सन्तुलन देखाउनुहुन्छ। (यर्मिया ४६:२८) यस्तो सन्तुलन कायम राख्न असिद्ध आमाबाबुहरूलाई सधैं सजिलो हुँदैन। तैपनि, यस्तो सन्तुलन कायम राख्न तपाईंले गर्नुभएको कुनै पनि प्रयास व्यर्थ हुनेछैन। दृढ र मायालु अनुशासनले ठूलो भएपछि आनन्दित र इनामदायी जीवन बिताउन बच्चालाई मदत दिन्छ। (हितोपदेश २२:६) हरेक मसीही आमाबाबुले आफ्नो बच्चा यस्तै होस्‌ भन्‍ने चाहन्छन्‌ नि, होइन र?

२०. आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई ‘जीवन रोज्ने’ सर्वोत्तम मौका कसरी दिन सक्छन्‌?

२० आफ्ना छोराछोरीहरूलाई भौतिक, आध्यात्मिक र भावनात्मक तवरमा पालनपोषण गर्न यहोवाले तपाईंहरूलाई सुम्पनुभएको जिम्मेवारी पूरा गर्नुहुँदा तपाईं आमाबाबुहरूले ठूलो इनाम पाउनुहुनेछ। यसरी तपाईंहरूले आफ्ना छोराछोरीहरूलाई ‘जीवन रोज्ने’ र सधैंभरि ‘जिउने’ सर्वोत्तम मौका दिनुहुनेछ। (व्यवस्था ३०:१९) यहोवाको सेवा गर्न रोज्ने र परिपक्व हुँदै जाँदा जीवनको मार्गमा हिंडिरहने छोराछोरीहरू देख्न पाउँदा आमाबाबुहरूको हर्षको सीमै हुँदैन। (भजन १२७:३-५) यस्तो हर्ष सधैंभरि रहिरहनेछ! तर अहिले जवान व्यक्‍तिहरूले कसरी यहोवाको प्रशंसा गर्न सक्छन्‌? अर्को लेखमा यस विषयबारे छलफल गरिनेछ।

[फुटनोटहरू]

a यस छलफलमा, पालनपोषण गर्ने व्यक्‍तिलाई साधारणतया पुरुषको रूपमा सम्बोधन गरिनेछ। तथापि, यसमा दिइएका सिद्धान्तहरू पालनपोषण गर्ने प्रमुख भूमिका निर्वाह गरिरहेका मसीही स्त्रीहरूलाई पनि लागू हुन्छ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईं कसरी जवाफ दिनुहुन्छ?

निम्न तरिकामा आफ्ना छोराछोरीहरूको पालनपोषण गर्न आमाबाबुले के गर्न सक्छन्‌?

• भौतिक तवरमा

• आध्यात्मिक तवरमा

• भावनात्मक तवरमा

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएको चित्र]

आफ्ना बचेराहरूलाई खुवाउन थुप्रै चराहरूले अथक परिश्रम गर्छन्‌

[पृष्ठ २०-मा भएको चित्र]

आमाबाबुहरूले पहिला आफ्नै आध्यात्मिकता बलियो बनाउनुपर्छ

[पृष्ठ २१-मा भएका चित्रहरू]

थुप्रै अवसरमा आमाबाबुले आफ्ना छोराछोरीहरूलाई सृष्टिकर्ताबारे सिकाउन सक्छन्‌

[पृष्ठ २२-मा भएको चित्र]

आमाबाबुको अनुमोदन पाउँदा छोराछोरीहरूले बल र साहस पाउँछन्‌