एलेक्जान्ड्रियाका फिलो धर्मशास्त्रलाई अस्पष्ट बनाउँछन्
एलेक्जान्ड्रियाका फिलो धर्मशास्त्रलाई अस्पष्ट बनाउँछन्
सा.यु.पू. ३३२ मा महान् सिकन्दर मिश्रतिर लागे। विश्वमाथि विजय हासिल गर्ने सुरमा पूर्वतिर लाग्नुअघि तिनले एलेक्जान्ड्रिया नाउँको एउटा सहर स्थापना गरे। यो सहर युनानी संस्कृतिको केन्द्रबिन्दु बन्यो। त्यहाँ सा.यु.पू. २० तिर अर्को विजेताको जन्म भयो तर तिनको हतियार तरबार र भाला नभई दार्शनिक तर्कहरू थिए। तिनी एलेक्जान्ड्रियाका फिलो वा फिलो जुडेयस भनेर चिनिन्छन्।
सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशपछि यहूदीहरू छरपस्ट हुँदा धेरै जना मिश्रमा बसोबास गर्न थाले। हजारौं एलेक्जान्ड्रियामा बसोबास गरे। तथापि, यी यहूदी र यिनीहरूका युनानी छिमेकीहरूबीच समस्याहरू थिए। यहूदीहरूले युनानी देवहरूको उपासना गर्न इन्कार गरे भने युनानीहरूले हिब्रू धर्मशास्त्रको उपहास गर्थे। युनानी शिक्षादीक्षा र यहूदी लालनपालनले गर्दा फिलोलाई यस विवादबारे थाह थियो। तिनी यहूदीधर्म साँचो धर्म हो भनेर विश्वास गर्थे। तर अरू थुप्रै मानिसहरूजस्तो नभएर तिनी शान्तिमय ढङ्गमा अन्यजातिहरूलाई परमेश्वरतर्फ डोऱ्याउन चाहन्थे। तिनी यहूदीधर्म मानिसहरूको लागि स्वीकार्य बनाउन चाहन्थे।
पुराना लेखोटहरूको नयाँ अर्थ
एलेक्जान्ड्रियाका थुप्रै यहूदीहरूको जस्तै फिलोको पनि मातृभाषा युनानी थियो। त्यसैले हिब्रू धर्मशास्त्रको युनानी सेप्टुआजिन्ट संस्करण फिलोको अध्ययनको आधार थियो। सेप्टुआजिन्ट पदलाई केलाउँदा यसमा दर्शनशास्त्रका तत्त्वहरू भएको अनि मोशा “एक जना दक्ष दार्शनिक” थिए भनी फिलो विश्वस्त भए।
शताब्दीयौंअघि युनानी बुद्धिजीवीहरूलाई तिनीहरूको युनानी पौराणिक कथामा भएका देवीदेवता अनि दैत्य तथा प्रेतहरू भएको कथा स्वीकार्न गाह्रो लागेको थियो। तिनीहरूले ती पुराना कथाहरूको फेरि अर्थ खुलाउन थाले। पुरातन युनानी तथा रोमी कलासित सम्बन्धित शास्त्रविद् जेम्स ड्रमन्डले तिनीहरूको तरिकाबारे यसो भने: “दार्शनिकले पौराणिक कथाहरूमा लुकेका अस्पष्ट अर्थ खुलाउन खोज्थे अनि ती कथाहरूको विषयवस्तु अति घिनलाग्दो तथा अनौठो भएको हुँदा तिनीहरूका लेखकहरूले उत्तेजनात्मक लाक्षणिक भाषा प्रयोग गरेर केही गहनता वा ज्योति थप्न खोजेको हुनुपर्छ।” यसलाई कुनै पवित्र पदको शाब्दिक रूपमा लुकेको लाक्षणिक अर्थ खुलाउने प्रक्रिया भनिन्छ अनि फिलोले यही तरिका अपनाएर धर्मशास्त्रको अर्थ खुलाउन खोजे।
उदाहरणका लागि, सेप्टुआजिन्ट-को बाग्स्टर संस्करणमा पाइने उत्पत्ति ३:२२ लाई विचार गर्नुहोस् जहाँ यसो भनिएको छ: “प्रभु परमेश्वरले आदम र तिनकी पत्नीको लागि छालाको लुगा बनाउनुभयो र तिनीहरूलाई त्यो लुगा लगाइदिनुभयो।” युनानीहरूको सोचाइमा सर्वोच्च परमेश्वरले लुगा बनाउने जस्तो तुच्छ काम गर्न सुहाउँदैन भन्ने थियो। त्यसकारण फिलोले त्यस पदलाई प्रतीकात्मक रूप दिंदै यसो भने: “छालाको लुगा भनेको छाला अर्थात् हाम्रो शरीरलाई बुझाउने प्रतीकात्मक अभिव्यक्ति हो; किनभने परमेश्वरले सबैभन्दा पहिला बौद्धिक भाग बनाउनुभयो जसलाई आदम भनियो अनि उहाँले सृजना गर्नुभएको बाह्य रूपलाई जीवन भन्ने नाउँ दिनुभयो। अन्तमा आवश्यक परेको हुँदा उहाँले शरीर पनि बनाउनुभयो र त्यसलाई प्रतीकात्मक भाषामा छालाको लुगा भनिन्छ।” यसरी परमेश्वरले आदम र हव्वालाई पहिराउनुभएको कार्यलाई फिलोले एउटा दार्शनिक विषयवस्तु बनाउने प्रयास गरे।
उत्पत्ति २:१०-१४ पनि विचार गर्नुहोस् जहाँ अदनको बगैंचातर्फ बग्ने पानीको मूलबारे वर्णन गर्नुका साथै अदनको बगैंचाबाट बाहिर बग्ने चारवटा नदीबारे उल्लेख गरिएको छ। फिलोले अदनको बगैंचाको वर्णनको पछाडि कस्तो अर्थ लुकेको छ, त्यो हेर्ने प्रयास गरे। त्यस भूमिबारे टिप्पणी गरिसकेपछि तिनले यसो भने: “सायद यस परिच्छेदको पनि लाक्षणिक अर्थ छ; किनभने चारवटा नदी भनेको चारवटा सद्गुणका चिह्न हुन्।” पीशोन नदीले बुद्धिलाई, गीहोन नदीले गम्भीरतालाई, टिग्रीस अर्थात् हिद्दकेलले बललाई अनि यूफ्रेटिसले न्यायलाई सङ्केत गर्छ भनी तिनले अनुमान लगाए। यसरी लाक्षणिक अर्थले भूगोलको ठाउँ लिन्छ।
सृष्टिसम्बन्धी विवरण, कयिनले हाबिलको हत्या गरेको घटना, नूहको समयको जलप्रलय, बाबेलमा भाषाहरूको गोलमाल र मोशाको व्यवस्थाका अरू थुप्रै सिद्धान्तहरू केलाउन फिलोले लाक्षणिक अर्थ खुलाउने तरिका प्रयोग गरेका छन्। अघिल्लो अनुच्छेदको उदाहरणले देखाएझैं तिनले बाइबल पदको शाब्दिक अर्थलाई अक्सर मानिलिए अनि त्यसको लाक्षणिक अर्थलाई यस्ता शब्दहरूले
बुझाउन खोजे: “हामीले यी शब्दहरूलाई लाक्षणिक अर्थमा बताइएको जस्तो गरी हेर्नुपर्ने पो हो कि।” फिलोका लेखोटहरूमा लाक्षणिक रूप प्रस्टै देखिन्छ तर दुःखको कुरा धर्मशास्त्रको खास अर्थ भने ओझेलमा परेको छ।परमेश्वर को हुनुहुन्छ?
फिलोले जोडदार उदाहरण दिएर परमेश्वरको अस्तित्वको पक्षमा तर्क गरे। जमिन, नदी, ग्रह तथा ताराहरूबारे वर्णन गरिसकेपछि तिनले निष्कर्षमा यसो भने: “पृथ्वी सबैभन्दा कलात्मक तथा निपुण ढङ्गमा सृष्टि गरिएको छ र यो सृजनुहुने व्यक्ति एकदमै निपुण तथा ज्ञानमा सिद्ध हुनुपर्छ। यसरी नै हामीले परमेश्वरको अस्तित्वबारे बुझ्न सकेका हौं।” यो मनासिब तर्क थियो।—रोमी १:२०.
तर फिलोले सर्वशक्तिमान् परमेश्वरको स्वभावबारे वर्णन गर्दा भने सत्यबाट एकदमै पर पुगे। परमेश्वरलाई चिनाउने “विशेष गुणहरू छैनन्” अनि परमेश्वर “बुझ्नै नसकिने हुनुहुन्छ” भनी फिलोले बताए। “परमेश्वरको सार वा उहाँका विशेष गुणहरूबारे बुझ्नको लागि योभन्दा बढ्ता प्रयास गर्नु भनेको पूर्णतया मूर्खता हो” भनी फिलोले परमेश्वरलाई चिन्ने प्रयास गर्नदेखि निरुत्साहित गरे। यस्तो सोचाइ बाइबलबाट नभई गैरमसीही दार्शनिक प्लेटोबाट आएको थियो।
परमेश्वरलाई बुझ्नै नसकिने हुँदा उहाँलाई एउटा व्यक्तिगत नाउँले बोलाउनु असम्भव छ भनी फिलोले बताए। फिलोले यसो भने: “यो वास्तवमा जीवित परमेश्वरलाई एउटा व्यक्तिगत नाउँ दिनु तर्कसंगत हुँदैन भन्ने कुरासित मेल खान्थ्यो।” तथ्यभन्दा कस्तो उल्टो!
परमेश्वरको एउटा व्यक्तिगत नाउँ छ भनेर बाइबलले स्पष्टसित बताएको छ। भजन ८३:१८ यसो भन्छ: “तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।” परमेश्वरले भन्नुभएको कुरालाई उद्धरण गर्दै यशैया ४२:८ यसो भन्छ: “म परमप्रभु [“यहोवा,” NW] हुँ, मेरो नाउँ त्यही हो।” फिलो जो एक जना यहूदी थिए अनि जससित यी बाइबल पदहरूको ज्ञान थियो, तिनले किन परमेश्वर बेनामी हुनुहुन्छ भनेर सिकाए? किनभने तिनले हाम्रोजस्तै भावना भएका बाइबलको परमेश्वरको नभई युनानी दर्शनको बेनामी, बुझ्नै नसकिने परमेश्वरबारे वर्णन गरिरहेका थिए।
प्राण के हो?
फिलोले प्राण र शरीर भनेको छुट्टाछुट्टै कुरा हो भनेर सिकाए। तिनले बताएअनुसार मानिस भनेको “शरीर र प्राण मिलेर बनेको हुन्छ।” के प्राण मर्न सक्छ? फिलोको वर्णनलाई ध्यान दिनुहोस्: “हामी जीवित हुँदा हाम्रो शरीर जीवित भए तापनि हाम्रो प्राण भने मरेको अनि चिहानमा जस्तै हाम्रो शरीरमा गाडिएको हुन्छ। तर शरीर मरेको खण्डमा भने दुष्टबाट छुटकारा पाएर अनि आफू बाँधिएको मृत शरीरबाट छुटकारा पाएर जसरी जिउनुपर्ने हो, त्यसरी जिउनेछ।” फिलोको लागि प्राणको मृत्यु लाक्षणिक थियो। यो वास्तवमा कहिल्यै मर्दैन अनि यो अमर हुन्छ भन्ने धारणा थियो।
यद्यपि, प्राणबारे बाइबलले के सिकाउँछ? उत्पत्ति २:७ यसो भन्छ: “परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो, र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो, र मानिस जीवित प्राणी भयो।” बाइबलअनुसार मानिससित प्राण छैन तर मानिस नै प्राण हो।
प्राण अमर होइन भनेर पनि बाइबलले सिकाउँछ। इजकिएल १८:४ यसो भन्छ: “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” यी शास्त्रपदहरूबाट हामी यस्तो सही निष्कर्षमा पुग्न सक्छौं: मानिस एउटा प्राण हो। त्यसकारण मानिस मर्दा, एउटा प्राण मर्छ।—उत्पत्ति १९:१९. a
फिलोको मृत्युपछि यहूदीहरूले तिनको कुरालाई ध्यान दिन छोडे। तथापि, मसीहीधर्मले भने तिनको शिक्षालाई अँगाल्यो। युसिबियस र चर्चका अन्य नेताहरूको सोचाइमा फिलोले मसीहीधर्म स्वीकारिसकेका थिए। जेरोमले तिनलाई चर्चका पिताहरूको सूचीमा राखे। यहूदीहरूले नभई धर्मत्यागी मसीहीहरूले फिलोका लेखोटहरूलाई जोगाए।
फिलोका लेखोटहरूले गर्दा धार्मिक क्रान्ति भयो। तिनको प्रभावले गर्दा नाउँ मात्रका मसीहीहरूले प्राणको अमरतासम्बन्धी गैरशास्त्रीय सिद्धान्तलाई स्वीकारे। अनि
लोगोसबारे (वा वचन) फिलोको शिक्षाले गर्दा त्रिएक शिक्षाको विकास भयो जुन शिक्षा धर्मत्यागी मसीहीधर्मको उपज हो र बाइबलमा यसको कुनै आधार छैन।नबहकिनुहोस्
हिब्रू धर्मशास्त्रको अध्ययन गर्ने सिलसिलामा “सरल भाषामा सायद लुकेको हुन सक्ने कुनै पनि लाक्षणिक अर्थ नछुटाउन” फिलो एकदमै होसियार थिए। तथापि, व्यवस्था ४:२ मा लेखिएझैं मोशाले परमेश्वरको व्यवस्थाबारे यसो भनेका थिए: “मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि घटबढ नगर्नू। मैले तिमीहरूलाई दएका परमप्रभु परमेश्वरका आज्ञा पालन गर्नू।” फिलोको असल मनसायको बावजुद तिनले एकपछि अर्को गर्दै थुप्रै अनुमानहरू गरे जुन एउटा बाक्लो तुवाँलोजस्तै भयो र यसले परमेश्वरको प्रेरित वचनको स्पष्ट निर्देशनलाई ओझेलमा परिदियो।
प्रेरित पत्रुसले यसो भने, “हामीले तिमीहरूलाई हाम्रा प्रभु येशू ख्रीष्टको महाशक्ति र आगमनको समाचार दिंदा धूर्त्याइँसित अज्माएका दन्त्यकथाहरूको हामीले अनुकरण गरेनौं।” (२ पत्रुस १:१६) फिलोका लेखोटहरूजस्तो नभई प्रारम्भिक मसीही मण्डलीलाई पत्रुसले दिएका निर्देशनहरू तथ्य अनि “सत्यका आत्मा” अर्थात् परमेश्वरको आत्माका निर्देशनमा आधारित थियो जसले तिनीहरूलाई सत्यतर्फ डोऱ्याउँथ्यो।—यूहन्ना १६:१३.
तपाईं बाइबलको परमेश्वरलाई उपासना गर्न चाहनुहुन्छ भने तपाईंलाई साँचो डोऱ्याइ चाहिन्छ, मानव सोचाइमा आधारित अर्थहरू होइन। तपाईंलाई यहोवा र उहाँको इच्छाबारे सही ज्ञान चाहिन्छ अनि एउटा निष्कपट विद्यार्थी बन्ने नम्रता चाहिन्छ। यस्तो स्वास्थ्यकर मनोवृत्ति राखेर तपाईंले बाइबल अध्ययन गर्नुभयो भने तपाईंले ‘पवित्र लेखोटहरू जान्नुहुनेछ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तपाईंलाई बुद्धिमान तुल्याउन सक्तछ।’ परमेश्वरको वचनले तपाईंलाई “हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध” बनाएको पाउनुहुनेछ।—२ तिमोथी ३:१५-१७.
[फुटनोट]
a प्राणबारे सन् १९१० को द जुविश इन्साइक्लोपीडिया यस्तो टिप्पणी गर्छ: “शरीर कुहिसकेपछि पनि प्राणको अस्तित्व रहिरहन्छ भन्ने विश्वास आधारभूत सत्य नभई दार्शनिक वा धर्मविज्ञानको अनुमान मात्र हो अनि पवित्र धर्मशास्त्रमा यस्तो शिक्षा कतै पनि सिकाइएको पाइँदैन।”
[पृष्ठ १०-मा भएको पेटी/चित्र]
फिलोको सहर
फिलो, मिश्रको एलेक्जान्ड्रियामा बस्थे र त्यहीं काम गर्थे। शताब्दीयौंको लागि यो सहर पुस्तकहरू तथा शास्त्रविद्हरूबीच छलफल हुने विश्वकै राजधानी थियो।
त्यस सहरका स्कूलहरूमा पढाउने प्रख्यात शास्त्रविद्हरूबाट विद्यार्थीहरूले सिक्थे। एलेक्जान्ड्रियाको पुस्तकालय विश्व प्रख्यात बन्यो। यसका पुस्तकहरूको संख्या लाखौं पुग्यो किनभने यहाँका पुस्तकालयाध्यक्षहरूले सबै लिखित कागजातको प्रति हासिल गर्ने प्रयास गरे।
पछि, एलेक्जान्ड्रिया र यसको ज्ञानको भण्डारप्रतिको विश्वव्यापी सम्मान बिस्तारै घट्न थाल्यो। रोमका सम्राट्हरूले आफ्नै सहरलाई महत्त्व दिन थाले अनि यस्तो सांस्कृतिक केन्द्र युरोप बन्न पुग्यो। एलेक्जान्ड्रियाको पतनको चरमोत्कर्ष सा.यु. सातौं शताब्दीमा भयो जब आक्रमणकारीहरूले यो सहरमाथि कब्जा जमाए। आजसम्म पनि इतिहासकाहरू त्यो क्षतिमा दुःख मान्छन् किनभने कसै-कसैको विचारमा त्यसले गर्दा सभ्यताको विकासको गति १,००० वर्षले पछि सऱ्यो।
[स्रोत]
L. Chapons/Illustrirte Familien-Bibel nach der deutschen Uebersetzung Dr. Martin Luthers
[पृष्ठ १२-मा भएको पेटी/चित्र]
आज लाक्षणिक अर्थ
लाक्षणिक भन्नाले अक्सर “मानव अस्तित्वबारे सत्य वा सामान्य कुराहरूलाई प्रतीकात्मक काल्पनिक आकृति र व्यवहारले अर्थ खुलाउने अभिव्यक्ति” हो भनिन्छ। लाक्षणिक विवरणहरू भन्नाले बढी महत्त्वपूर्ण कुराहरूमा लुकेका कुराहरूको लाक्षणिक रूप” भनिन्छ। एलेक्जान्ड्रियाको फिलोजस्तै वर्तमान समयका धार्मिक नेताहरूले बाइबलको लाक्षणिक अर्थ बताउन खोज्छन्।
उत्पत्ति अध्याय १-११ विचार गर्नुहोस् जहाँ सृष्टिदेखि बाबेलको धरहरा निर्माण गर्दा मानिसहरू तितरबितर भएको मानव इतिहाससम्मको विवरण रेकर्ड गरिएको छ। द न्यु अमेरिकन बाइबल जुन एउटा क्याथोलिक अनुवाद हो, त्यसले बाइबलको त्यस भागबारे यसो भन्छ: “इस्राएलीहरू, जसलाई यी अध्यायहरूमा दिइएका सत्यहरू जगेर्ना गर्ने जिम्मा दिइएको थियो, तिनीहरूले बुझ्न सक्ने बनाउनको लागि त्यतिबेलाका मानिसहरूको समयमा भएका कुराहरू चलाउनु पर्थ्यो। यसैकारण, सत्य स्वयम् नै त्यसको साहित्यिक रूपबाट अलग्गै छुट्याउन सकिने हुनुपर्छ।” यसले उत्पत्ति अध्याय १-११ लाई शाब्दिक रूपमा लिनु हुँदैन भनेको हो। तर जसरी लुगाले शरीरलाई ढाक्छ, त्यसरी नै शब्दहरूमा गहिरो अर्थ लुकेको हुन्छ।
तथापि, उत्पत्तिको पुस्तकका ती सुरुका अध्यायहरू शाब्दिक तवरमा सत्य हुन् भनेर येशूले सिकाउनुभयो। (मत्ती १९:४-६; मत्ती २४:३७-३९) प्रेरित पावल र पत्रुसले पनि त्यही कुरा बताए। (प्रेरित १७:२४-२६; २ पत्रुस २:५; ३:६, ७) निष्कपट बाइबल विद्यार्थीहरूले परमेश्वरको सिङ्गो वचनसित नमिल्ने व्याख्याहरू तिरस्कार गर्छन्।
[पृष्ठ ९-मा भएको चित्र]
एलेक्जान्ड्रियाको ठूलो लाइटहाउस
[स्रोत]
Archives Charmet/Bridgeman Art Library