कामप्रतिको विरोधाभास यथार्थ
कामप्रतिको विरोधाभास यथार्थ
“काम—काम—काम! हामीसित गर्न बाँकी अझ थुप्रै काम छन् भनी थाह पाउनु साँच्चै असीम आनन्दको कुरा हो।”—क्याथरिन म्यान्स्फिल्ड, लेखिका (१८८८-१९२३)।
के तपाईं पनि कामको सन्दर्भमा माथि भनिएजस्तै आदर्श विचार राख्नुहुन्छ? कामप्रति तपाईंको व्यक्तिगत धारणा कस्तो छ? काम भन्नासाथ फुर्सत हुने सप्ताहन्तबीचको एउटा लामो र झर्कोलाग्दो अवधिजस्तो लाग्छ कि? अथवा कतै तपाईं कामप्रतिको मोहले गर्दा त्यसैमा लग्गू त हुन थाल्नुभएको छैन?
अधिकांश मानिसहरूको जागा रहने धेरैजसो समय काम गर्नमै बित्छ। कहाँ बस्ने र कस्तो किसिमको जीवन शैली अपनाउने भन्ने कुरा कामकै आधारमा निर्धारण गर्नुपर्ने हुन सक्छ। धेरैलाई युवावस्थादेखि अवकाश पाउन्जेल आफ्नो जीवन कामको पछि दौडधूप गर्नुमै बितेझैं लाग्छ। हामीमध्ये कतिपयले आफ्नो कामबाट व्यक्तिगत रूपमा असीम सन्तुष्टि प्राप्त गर्छौं। कतिले आयस्रोत वा प्रतिष्ठाको आधारमा कामको महत्त्व तौलने गर्छन् भने अरू कतिले चाहिं कामलाई समय बिताउने उपाय अथवा समयको बरबादीसमेत ठान्छन्।
बाँच्नका लागि काम गर्ने र काम गर्नका लागि बाँच्ने मानिसहरू पनि छन्; कति जना त काम गर्दा गर्दै अथवा काम गर्ने ठाउँको अवस्थाले गर्दा मर्छन्। उदाहरणका लागि, संयुक्त राष्ट्रसंघबाट हालै प्राप्त रिपोर्टअनुसार “युद्ध अथवा लागूऔषध र रक्सीको दुरुपयोग यी सबैले भन्दा” कामले गर्दा धेरै पीडा र मृत्यु हुनेगर्छ। यस विषयमा टिप्पणी गर्दै लण्डनको द गार्जियन खबरपत्रिकाले यस्तो रिपोर्ट गऱ्यो: “कामसित सम्बन्धित दुर्घटना वा रोगको कारण वर्षेनी बीस लाखभन्दा बढी मानिसहरूको मृत्यु हुन्छ . . . धूलो, रसायनिक पदार्थ, होहल्ला अनि विकिरणले गर्दा क्यान्सर, मुटुको रोग तथा मस्तिष्कघात भइरहेको छ।” अहिलेको काम गर्ने अवस्थाका तीता वास्तविकताहरूमध्ये बालश्रम र श्रम शोषण त दुईवटा उदाहरण मात्र हुन्।
यसबाहेक, मनोवैज्ञानिक स्टिभन बर्गलसले भनेझैं “सुपरनोभा बर्नआउट अर्थात् लखतरान भएर लत्तो छोड्ने” कुरा त छँदैछ। तिनको भनाइअनुसार सबैभन्दा उच्च ओहदामा पुगेका लगनशील कामदारले “कहिल्यै नहट्ने डर, दुःख, दिग्दारी अथवा नैराश्य महसुस गर्छन् किनकि तिनलाई आफू काम अथवा करिअर बनाउने फन्दामा परें जस्तो लाग्छ, जुन कुराबाट तिनी न त उम्कन सक्छन् न मानसिक सन्तुष्टि नै प्राप्त गर्छन्।”
कडा परिश्रम र काम गर्न लग्गू
धेरै लामो समयसम्म मरिमेटी काम गरिने यस संसारमा परिश्रमी र काम गर्न लग्गू अर्थात् वर्कहोलिक् व्यक्तिबीचको भिन्नता छुट्याउनु जरुरी छ। काम गर्न लग्गू धेरै मानिसहरूलाई यस खतरनाक अनि अनिश्चित संसारमा आफ्नो काम गर्ने ठाउँ नै एउटा सुरक्षितस्थलजस्तो लाग्छ; मेहनती व्यक्तिहरू चाहिं कामलाई एउटा अत्यावश्यक र कहिलेकाहीं उद्देश्यपूर्ण
अभिभाराको रूपमा हेर्छन्। काम गर्न लग्गू मानिसहरू आफ्नो काममा चुर्लुम्मै डुबेर आफ्नो जीवनका अन्य सबै पक्षलाई ओझेलमा पर्न दिन्छन्; तर कडा परिश्रम गर्नेहरूलाई कम्प्युटर कहिले बन्द गर्ने, कामबाहेक अरू कुरामा पनि ध्यानकेन्द्रित गर्ने र आफ्नो विवाहको वार्षिकोत्सव मनाउनेजस्ता कुराहरू थाह हुन्छ। काम गर्न लग्गूहरूलाई जति बढी काम भयो त्यति नै मज्जा लाग्छ र यसबाट असीम आनन्द प्राप्त भएको महसुस गर्छन्; कडा परिश्रम गर्नेहरूलाई त्यस्तो महसुस हुँदैन।आधुनिक समाजमा कडा परिश्रम गर्नु र काम गर्न लग्गू हुनुबीचको भिन्नता छुट्याउनै हम्मेहम्मे पर्छ किनभने यहाँ अचाक्ली काम गर्नुलाई आकर्षक कुराजस्तो देखाइन्छ। मोडेम, मोबाइल फोन तथा पेजरहरूले गर्दा काम गर्ने ठाउँ र घर एउटै पो हो कि जस्तो लाग्न सक्छ। जब जुन पायो त्यै स्थान काम गर्ने ठाउँ बन्छ र काम गर्ने समयको सीमा नाघ्छ, तब कतिपय मानिसहरूले आफ्नो हानि हुने हदसम्म काम गर्न पुग्छन्।
यस्तो हानिकारक मनोवृत्तिप्रति कसै-कसैले कस्तो प्रतिक्रिया देखाउँछन्? अचाक्ली कामको बोझले लादिएका र तनावग्रस्त मानिसहरूले आध्यात्मिकतालाई कार्यस्थलमा भित्र्याएर धार्मिक अनि पेसेवर जीवन एक-अर्काका पूरकजस्तो देखाउने प्रयास गरिरहेका छन् भनी समाजशास्त्रीहरू बताउँछन्। सान फ्रान्सिस्को एक्जामिनर-मा यस्तो रिपोर्ट गरिएको थियो, “आध्यात्मिकता र कामलाई एक-अर्कामा गाभ्ने चलन संसारमा व्याप्त हुन थालेको छ।”
संयुक्त राज्य अमेरिकास्थित उच्च प्रविधिको एउटा महत्त्वपूर्ण केन्द्र मानिने सिलिकन भ्यालीको बारेमा हालै प्राप्त रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको थियो: “कामदारहरूको संख्या घटाइएकोले काम गर्ने ठाउँका पार्किङस्थलहरू सुनसानप्रायः बन्दैछन् भने साँझपख बाइबल अध्ययन हुने ठाउँहरूका पार्किङस्थलमा चाहिं गाडी पार्क गर्ने ठाउँ नै हुँदैन।” त्यसको महत्त्व जेसुकै भए पनि विश्वका धेरैभन्दा धेरै मानिसहरूले कामप्रतिको आफ्नो दृष्टिकोणमा बाइबलले सकारात्मक प्रभाव पारेको पाएका छन्। फलतः उनीहरूले अझ सन्तुलित भई जीवन बिताउन सिकेका छन्।
कामप्रति सन्तुलित दृष्टिकोण राख्न बाइबलले हामीलाई कसरी मदत गर्न सक्छ? काम गर्ने वर्तमान ठाउँमा आइपर्ने चुनौतीहरूको सफलतापूर्वक सामना गरेर अघि बढ्न हामीलाई मदत गर्न सक्ने कुनै धर्मशास्त्रीय सिद्धान्तहरू छन् कि? यसपछिको लेखले यिनै प्रश्नहरूको जवाफ दिनेछ।