सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

काम आशिष्‌ कि श्राप?

काम आशिष्‌ कि श्राप?

काम आशिष्‌ कि श्राप?

“मानिसको निम्ति आफ्नो परिश्रम . . . गर्नुभन्दा अरू बढी केही छैन।”—उपदेशक २:२४.

“दिनभरि काम गरेपछि थाकेर फतक्क गल्छु।” हालै गरिएको सर्वेक्षणमा ३ जना कामदारमध्ये १ जनाले अक्सर यस्तो महसुस गरेको कुरा व्यक्‍त गरे। कामले गर्दा तनावग्रस्त हुनेहरूलाई त्यस्तो लाग्नु स्वाभाविकै हो। त्यस्ता मानिसहरू धेरै घण्टा काम गर्छन्‌ र घरमा पनि तीनथुप्रो काम लिएर आउँछन्‌—तर त्यति गर्दागर्दै पनि उनीहरूले आफ्नो हाकिमको मुखबाट धन्यवादको एक शब्द सुन्‍न पाउँदैनन्‌।

बृहत्‌ उत्पादनको होडसँगै थुप्रै कामदारले आफू विशाल मेसिनको पाटपुर्जाभन्दा खासै फरक नभएको महसुस गर्छन्‌। यस्तो वातावरणमा न त काम गर्ने जोस-जाँगर चल्छ न केही गरेर देखाउने अवसर नै मिल्छ। यसले कामप्रतिको मानिसहरूको मनोवृत्तिमा असर त पार्ने नै भयो। कसैको काममा व्यक्‍तिगत चासो लिने उत्प्रेरणा सेलाउन कति बेर पनि लाग्दैन। काममा दक्षता हासिल गर्ने कुनै शिल्पकारीको रहर त्यसै-त्यसै मरेर जान सक्छ। यस्तो भयो भने कामप्रति वितृष्णा जाग्नुका साथै आफ्नो कामबारे सोच्नासाथ मानिसको नाक खुम्चिन सक्छ।

आफ्नो मनोवृत्ति जाँच्ने

हो, हामी आफ्नो परिस्थितिलाई सधैं आफूले चाहेजस्तो बनाउन सक्दैनौं। तैपनि, हामी आफ्नो मनोवृत्तिमा भने छाँटकाँट गर्न सक्छौं भन्‍ने कुरामा के तपाईं सहमत हुनुहुन्‍न र? कामप्रतिको नकारात्मक मनोवृत्तिले आफूलाई केही हदसम्म प्रभाव पारेको छ भनी थाह पाउनुभयो भने तपाईंले यस विषयमा परमेश्‍वरको दृष्टिकोण तथा सिद्धान्तहरू केलाएर हेर्नु बेस हुनेछ। (उपदेशक ५:१८) यी कुराहरू केलाएर हेरेपछि थुप्रैले आफ्नो कामबाट केही हदसम्म आनन्द अनि सन्तुष्टि प्राप्त गर्न सकेका छन्‌।

परमेश्‍वर सर्वोच्च कामदार हुनुहुन्छ। परमेश्‍वर एक जना कामदार हुनुहुन्छ। हामीले उहाँको बारेमा यस प्रकार सोचेका थिएनौं होला तर बाइबलमा सबैभन्दा पहिला उहाँले आफूलाई त्यसरी नै चिनाउनुहुन्छ। उत्पत्तिको विवरणको सुरुमा यहोवाले आकाश र पृथ्वी सृष्टि गर्नुभयो भनी बताइएको छ। (उत्पत्ति १:१) यसरी सृष्टि गर्न थाल्नुहुँदा परमेश्‍वरले खेल्नुभएको विभिन्‍न भूमिकाबारे सोच्नुहोस्‌—डिजाइनर, अर्गनाइजर, इन्जिनियर, कलाकार, सरसामान विशेषज्ञ, प्रोजेक्ट डेभ्लोपर, रसायनविद्‌, जीवविज्ञानी, जीवशास्त्री, प्रोग्रामर, भाषाविद्‌ इत्यादि।—हितोपदेश ८:१२, २२-३१.

परमेश्‍वरले गर्नुभएको कामको गुणस्तर कस्तो थियो? बाइबल विवरण भन्छ, त्यो “असल,” “साह्रै राम्रो” थियो। (उत्पत्ति १:४, ३१) साँच्चै भन्‍ने हो भने, सृष्टिले “परमेश्‍वरको महिमाको वर्णन” गरिरहेको छ र हामीले पनि उहाँको प्रशंसा गर्नुपर्छ!—भजन १९:१; १४८:१.

तथापि, परमेश्‍वरले गर्नुभएको काम भौतिक आकाश तथा पृथ्वी अनि पहिलो मानव जोडी सृष्टि गर्नुमा मात्र सीमित थिएन। यहोवाको पुत्र येशू ख्रीष्टले यसो भन्‍नुभयो: “मेरा पिताले अझसम्म काम गर्नुहुन्छ।” (यूहन्‍ना ५:१७) हो, आफूले सृष्टि गरेका प्राणीहरूका लागि यावत्‌ थोकको प्रबन्ध मिलाएर, आफ्नो सृष्टिको ख्याल गरेर अनि आफ्ना विश्‍वासी उपासकहरूलाई बचाएर यहोवाले अझै पनि काम गरिरहनुभएको छ। (नहेम्याह ९:६; भजन ३६:६; १४५:१५, १६) कुनै-कुनै काम पूरा गर्ने सन्दर्भमा सहयोग जुटाउन “परमेश्‍वरका सहकर्मी” अर्थात्‌ मानिसहरूलाई समेत उहाँ प्रयोग गर्नुहुन्छ।—१ कोरिन्थी ३:९.

काम आशिष्‌ साबित हुन सक्छ। के बाइबलमा कामलाई श्राप भनिएको छैन र? उत्पत्ति ३:१७-१९ को विवरण पढ्‌दा आदम र हव्वाले गरेको विद्रोहको कारण उनीहरूमाथि कामको बोझ लाद्‌नुभएर परमेश्‍वरले उनीहरूलाई सजाय दिनुभयो जस्तो लाग्न सक्छ। ती प्रथम मानव जोडीलाई दण्डाज्ञा सुनाउनुहुँदा परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो: “माटोमा नफर्कुञ्जेल तेरो निधारको पसिनाले कमाएको भोजन तैंले खानेछस्‌।” के त्यो कामको बारेमा गरिएको घोर निन्दा थियो?

अहँ, थिएन। वास्तवमा, आदम र हव्वाको अवफादारीले गर्दा अदनको प्रमोदवनरूपी अवस्था तत्काल विस्तार हुने थिएन। भूमिमा परमेश्‍वरको श्राप परेको थियो। भूमि खनजोत गरेर गुजारा चलाउन मानिसले पसिना बगाएर कडा परिश्रम गर्नुपर्ने थियो।—रोमी ८:२०, २१.

कामलाई श्रापको रूपमा वर्णन गर्नुको सट्टा बाइबलले यसलाई कदर गर्नुपर्ने एउटा आशिष्‌ हो भनी बताउँछ। माथि उल्लेख गरिएझैं स्वयम्‌ परमेश्‍वर एक जना परिश्रमी कामदार हुनुहुन्छ। आफ्नै स्वरूपमा मानिसलाई सृष्टि गर्नुभएर यहोवाले उनीहरूलाई आफ्नो पार्थिव सृष्टिलाई हेरचाह गर्ने क्षमता तथा अख्तियार दिनुभएको छ। (उत्पत्ति १:२६, २८; २:१५) परमेश्‍वरले उत्पत्ति ३:१९ मा लिपिबद्ध शब्दहरू भन्‍नुभन्दा अघि नै यो काम उहाँले प्रथम जोडीलाई दिइसक्नुभएको थियो। काम, श्राप र दुष्ट कुरा भएको भए यहोवाले मानिसहरूलाई काम गर्ने प्रोत्साहन कदापि दिनुहुने थिएन। जलप्रलयअघि र पछि नूह अनि तिनको परिवारले गर्नुपर्ने कामहरू थुप्रै थिए। येशू यस पृथ्वीमा हुनुहुँदा उहाँका चेलाहरूलाई पनि काम गर्न आग्रह गरिएको थियो।—१ थिस्सलोनिकी ४:११.

तैपनि, हिजोआजको काम बोझिलो हुन सक्छ भन्‍ने कुरा त हामी सबैलाई थाह भएकै कुरा हो। तनाव, जोखिम, उराठ, नैराश्‍य, प्रतिस्पर्धा, छल र अन्याय त कामसित सम्बन्धित केही “काँढा र सिउँडीहरू” हुन्‌। तर काम आफैमा एउटा श्राप होइन। उपदेशक ३:१३ मा बाइबलले काम अनि कामबाट प्राप्त हुने प्रतिफललाई परमेश्‍वरले दिनुहुने वरदान भनी वर्णन गरेको छ।—“कामले गर्दा हुने तनावको सामना गर्ने” भन्‍ने पेटी हेर्नुहोस्‌।

आफ्नो कामद्वारा तपाईं परमेश्‍वरको महिमा गर्न सक्नुहुन्छ। काम गर्ने ठाउँमा गरिने गुणस्तरीय तथा उत्कृष्ट कामको सधैं प्रशंसा गरिंदै आएको छ। बाइबलको दृष्टिकोणअनुसार कामको एउटा महत्त्वपूर्ण पक्ष गुणस्तर हो। स्वयम्‌ परमेश्‍वरले आफ्नो काम उत्कृष्ट ढङ्‌गमा गर्नुहुन्छ। उहाँले हामीलाई खुबी तथा क्षमता दिनुभएको छ र हामीले ती क्षमतालाई राम्रो उद्देश्‍यको लागि प्रयोग गरेको उहाँ चाहनुहुन्छ। उदाहरणका लागि, पुरातन इस्राएलमा बासस्थान बनाएको बेला यहोवाले बजलेल र ओहोलीआबलाई बुद्धि, समझ र ज्ञानले परिपूर्ण पार्नुभयो जसले गर्दा उनीहरूले खास-खास कारिगरी तथा अन्य आवश्‍यक कामहरू पूरा गर्न सके। (प्रस्थान ३१:१-११) यसबाट उनीहरूले गर्ने कारिगरी काम, डिजाइन तथा अन्य विस्तृत कामहरू सुचारु रूपले चलाउन परमेश्‍वरले विशेष चासो लिनुभयो भन्‍ने कुरा प्रस्ट हुन्छ।

व्यक्‍तिगत दक्षता अनि काम गर्ने बानीप्रतिको हाम्रो दृष्टिकोणको सन्दर्भमा यसले गहिरो अर्थ राख्छ। यसले यी कुरालाई परमेश्‍वरले दिनुभएको उपहारको रूपमा हेर्न हामीलाई मदत गर्छ, जसलाई हामीले खेलाँची ठान्‍नु हुँदैन। त्यसकारण आफूले गर्ने कामको लेखा स्वयम्‌ परमेश्‍वरले लिनुहुन्छ भन्‍ने सोचाइ राख्दै आफ्नो काम गर्न मसीहीहरूलाई सल्लाह दिइएको छ: “जे जे तिमीहरू गर्दछौ, मानिसलाई जस्तो होइन, तर प्रभुको [“यहोवाको,” NW] निम्ति जस्तैगरी मनतनले गर।” (कलस्सी ३:२३) परमेश्‍वरका सेवकहरूलाई लगनशील भई मेहनत गर्ने आज्ञा दिइएको छ किनभने यसो गर्दा सहकर्मी तथा अरू व्यक्‍तिहरू मसीही सन्देशप्रति झनै आकर्षित हुन सक्छन्‌।—“काम गर्ने ठाउँमा बाइबल सिद्धान्तहरू लागू गर्ने” भन्‍ने पेटी हेर्नुहोस्‌।

हाम्रो कामले परमेश्‍वरको महिमा गर्न सक्छ भन्‍ने यथार्थलाई ध्यानमा राख्दै हामी आफ्नो कामलाई कत्तिको गुणस्तरीय बनाइरहेका छौं र आफ्नो कामप्रति हामी कत्तिको लगनशील छौं भनेर आफूले आफैलाई प्रश्‍न सोध्नु बेस हुन्छ। के परमेश्‍वर हाम्रो कामसित प्रसन्‍न हुनुहोला? आफूलाई सुम्पिएका कामहरू हामी जसरी पूरा गर्छौं के त्यसमा हामी पूर्ण सन्तुष्ट छौं? यदि छैनौं भने, उन्‍नति गर्ने ठाउँ छ।—हितोपदेश १०:४; २२:२९.

काम र आध्यात्मिक कुराबीच सन्तुलन कायम गर्नुहोस्‌। कडा परिश्रम गर्नु सराहनीय कुरा भए तापनि काम र जीवनबाट सन्तुष्टि प्राप्त गर्ने सन्दर्भमा अर्को एउटा महत्त्वपूर्ण पक्ष पनि छ। त्यो हो आध्यात्मिकता। कडा परिश्रम गर्नुका साथै जीवनमा प्राप्त गर्न सकिने धनसम्पत्तिदेखि लिएर सुखसयल सबै उपभोग गरेका राजा सुलेमान यस्तो निष्कर्षमा पुगे: “परमेश्‍वरको भय राख्‌, र उहाँका आज्ञा पालन गर्‌। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.

कुरा स्पष्ट छ, जुनसुकै काम गरे पनि हामीले परमेश्‍वरको इच्छा बुझ्नै पर्छ। के हामी उहाँको इच्छा अनुरूप काम गरिरहेका छौं अथवा कतै उहाँको इच्छा विपरीत पो गरिरहेका छौं कि? के हामी परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने कोसिस गरिरहेका छौं वा आफैलाई मात्र खुसी पार्ने यत्न गरिरहेका छौं? हामीले परमेश्‍वरको इच्छा गरेनौं भने, अन्ततः नैराश्‍य, एकाकीपन अनि खोक्रोपनको पीडाले हामीलाई चिमोट्‌नेछ।

‘कामप्रतिको बढी मोह अनि कामलाई नै आफ्नो जीवन बनाएकोले’ प्रशासकहरू लखतरान हुन्छन्‌ भनी स्टिभन बर्गलास बताउँछन्‌। अर्थपूर्ण काम गर्न हामीलाई विभिन्‍न खुबी तथा दक्षता प्रदान गर्नुहुने व्यक्‍तिको सेवा गर्नुभन्दा अर्को ठूलो काम हुन सक्दैन। सृष्टिकर्तालाई प्रसन्‍न तुल्याउने काम गर्दा हामी असन्तुष्ट हुनुपर्ने छैन। यहोवाले आफूलाई सुम्पनुभएको काम गर्नु येशूको लागि भोजन जत्तिकै पोसिलो, सन्तोषप्रद अनि स्फूर्तिदायी थियो। (यूहन्‍ना ४:३४; ५:३६) साथै, सर्वोच्च कामदार परमेश्‍वर हामीलाई उहाँका “सहकर्मी” हुने निम्तो दिनुहुन्छ।”—१ कोरिन्थी ३:९.

परमेश्‍वरको उपासना गर्नुका साथै आध्यात्मिक तवरमा बलियो हुँदा हामी इनामदायी काम र जिम्मेवारीका लागि सुसज्जित हुन सक्छौं। काम गर्ने ठाउँमा अक्सर दबाब, कलह अनि अनेकन्‌ मागहरू हुने भएकोले असल कामदार अथवा हाकिमहरू हुने यत्न गर्दा हाम्रो दरिलो विश्‍वास र आध्यात्मिकताले हामीलाई अत्यावश्‍यक बल प्रदान गर्न सक्छ। अर्कोतर्फ, यस अभक्‍त संसारमा जीवनका वास्तविकताहरूले हामीलाई विश्‍वासका कुन-कुन क्षेत्रमा उन्‍नति गर्नुपर्ने हो त्यसबारे सजग हुन मदत गर्न सक्छ।—१ कोरिन्थी १६:१३, १४.

जब काम आशिष्‌ साबित हुनेछ

अहिले परमेश्‍वरको सेवा गर्न कडा परिश्रम गरिरहेका व्यक्‍तिहरूले परमेश्‍वरले प्रमोदवन पुनर्स्थापित गर्नुहुने र सारा पृथ्वी अर्थपूर्ण कामले भरिने समयको बाटो हेर्न सक्छन्‌। यहोवाका अगमवक्‍ता यशैयाले त्यतिखेर हुने जीवनको विषयमा यस्तो अगमवाणी गरे: “तिनीहरूले घर बनाएर तिनमा बास गर्नेछन्‌, र तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्‌। तिनीहरूले बनाएर अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने चाहिँ हुनेछैन, . . . छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्‌।”—यशैया ६५:२१-२३.

त्यतिबेला जुनै काम गरे पनि आशिष्‌ साबित हुनेछ! तपाईंको लागि परमेश्‍वरको इच्छा के हो, त्यसबारे सिकेर अनि उहाँको इच्छाअनुसार काम गरेर तपाईं पनि यहोवाका आशिषित्‌ जनहरूमध्ये एक हुनुहोस्‌ र ‘आफ्नो सारा परिश्रमको फलस्वरूप आनन्द उपभोग’ गर्नुहोस्‌।—उपदेशक ३:१३.

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

परमेश्‍वर सर्वोच्च कामदार हुनुहुन्छ: उत्पत्ति १:१, ४, ३१; यूहन्‍ना ५:१७

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

काम आशिष्‌ साबित हुन सक्छ: उत्पत्ति १:२८; २:१५; १ थिस्सलोनिकी ४:११

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

आफ्नो कामद्वारा तपाईं परमेश्‍वरको महिमा गर्न सक्नुहुन्छ: प्रस्थान ३१:१-११; कलस्सी ३:२३

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

काम र आध्यात्मिक कुराबीच सन्तुलन कायम गर्नुहोस्‌: उपदेशक १२:१३; १ कोरिन्थी ३:९

[पृष्ठ ६-मा भएको पेटी/चित्र]

कामले गर्दा हुने तनावको सामना गर्ने

चिकित्सा पेसामा संलग्न व्यक्‍तिहरू कामको कारण हुने तनावलाई कामले निम्त्याउने खतराको संज्ञा दिन्छन्‌। यसले गर्दा अल्सर र नैराश्‍य उत्पन्‍न हुनुका साथै यसको कारण मानिसहरूले आत्महत्यासमेत गर्न सक्छन्‌। जापानी भाषामा यसलाई बुझाउने एउटा शब्द छ— कारोसी, जसको अर्थ हुन्छ “अत्यधिक कामको बोझले गर्दा मृत्यु।”

कामसित सम्बन्धित विभिन्‍न कारणहरूले गर्दा तनाव हुन सक्छ। यसमा काम गर्ने समय अथवा अवस्था परिवर्तन हुनु, हाकिमसित ठ्याक नमिल्नु, जिम्मेवारी वा कामको प्रकारमा भएको परिवर्तन, अवकाश र बर्खास्त आदि समावेश छन्‌। यस्तो तनावको सिकार नहुन कोही-कोही आफ्नो काम अथवा काम गर्ने ठाउँको वातावरण परिवर्तन गरेर त्यसबाट उम्कने कोसिस गर्छन्‌। अरू कतिले चाहिं यस्तो तनाव दबाउन खोज्छन्‌ तर जतिसुकै दबाए पनि जीवनका अन्य क्षेत्रहरूमा, विशेष गरी पारिवारिक जीवनमा त्यो देखापरिहाल्छ। कतिपयले त भावनात्मक पीडासमेत भोग्छन्‌ जसको कारण उनीहरू निराश हुनुका साथै हरेस खान्छन्‌।

कामले गर्दा हुने तनावको सामना गर्न मसीहीहरू सुसज्जित छन्‌। बाइबलमा यस्ता अनगन्ती मूलभूत सिद्धान्तहरू दिइएका छन्‌ जसले हाम्रो आध्यात्मिक तथा मानसिक सुस्वास्थ्यमा सकारात्मक प्रभाव पारेर हामीलाई कठिन समयबाट गुज्रनुपर्दा समेत सँभाल्न सक्छन्‌। उदाहरणका लागि, येशूले यसो भन्‍नुभयो: “भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको बुराइ आजको निम्ति यथेष्ट छ।” यहाँ हामीलाई भोलिको होइन तर आजका समस्याहरूमा ध्यान दिन प्रोत्साहन दिइएको छ। यसो गर्दा हामी आफ्ना समस्याहरूलाई ठूलो बनाउँदैनौं किनभने समस्यालाई जति ठूलो बनायो उति नै तनाव बढ्‌छ।—मत्ती ६:२५-३४.

मसीहीहरू आफ्नो बल-बर्कतमा नभई यहोवाको बलमा भर पर्नु आवश्‍यक छ। अब सहन सक्दिनँ जस्तो लाग्दा परमेश्‍वरले हामीलाई शान्ति दिन सक्नुहुन्छ र हाम्रो हृदय उमङ्‌गले भर्न सक्नुहुन्छ र कुनै पनि किसिमको कठिनाइसित जुझ्ने बुद्धि दिन सक्नुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “प्रभुमा र उहाँको शक्‍तिको सामर्थ्यमा बलवान्‌ होओ।”—एफिसी ६:१०; फिलिप्पी ४:७.

यसबाहेक, तनावपूर्ण परिस्थितिबाट समेत सकारात्मक नतिजा निस्कन सक्छ। परीक्षाहरूले हामीलाई यहोवाको खोजी गर्दै अनि उहाँमा भरोसा राख्दै उहाँको मदत खोज्न जुरमुऱ्‍याउन सक्छ। परीक्षाहरूले हामीलाई मसीही व्यक्‍तित्व विकास गर्न र दबाबमा पर्दा लत्तो नछाड्‌ने क्षमता विकास गरिरहन पनि उत्प्रेरित गर्न सक्छ। पावल हामीलाई यस्तो सल्लाह दिन्छन्‌: “सङ्‌कष्टले धीरज उत्पन्‍न गराउँछ भनी जानेर, हामी सङ्‌कष्टहरूमा पनि आनन्दित होऔं, औ धीरजले सदाचार, र सदाचारले आशा।”—रोमी ५:३, ४.

यस प्रकार, तनावसमेत नैराश्‍य र दिग्दारीको कारण बन्‍नुको सट्टा आध्यात्मिक उन्‍नतिको लागि सहायकसिद्ध हुन सक्छ।

[पृष्ठ ७-मा भएको पेटी/चित्र]

काम गर्ने ठाउँमा बाइबल सिद्धान्तहरू लागू गर्ने

काम गर्ने ठाउँमा एक जना मसीहीले देखाउने मनोवृत्ति तथा चालचलनले सहकर्मी तथा अन्य व्यक्‍तिहरूको नजरमा बाइबल सन्देश अझ आकर्षक बन्‍न सक्छ। तीतसलाई लेखेको पत्रमा प्रेरित पावलले जागिरेजस्तै अवस्थामा काम गरिरहेका व्यक्‍तिहरूलाई “सबै कुरामा आफ्ना आफ्ना [हाकिमको] अधीनमा भईकन [हाकिमहरूलाई] सबै कुरामा खुशी तुल्याउनालाई र ओठे जवाफ नदिनालाई अर्ती दिनू। चोरी नगरेर, तर हर तरहबाट पूरा विश्‍वास देखाएर तिनीहरूले सब कुराबाट परमेश्‍वर हाम्रा उद्धारकर्ताको सिद्धान्तको शोभा बढाऊन्‌” भनी सल्लाह दिन्छन्‌।—तीतस २:९, १०.

उदाहरणका लागि, एक जना व्यापारीले यहोवाका साक्षीहरूको मुख्यालयलाई के लेखे विचार गर्नुहोस्‌: “यहोवाका साक्षीहरूलाई आफ्नो काममा लगाउन अनुमतिको लागि म यो पत्र लेख्दैछु। म उनीहरूलाई आफ्नो काममा लगाउन चाहन्छु किनभने उनीहरू इमानदार, निष्कपट अनि भरोसायोग्य हुनुका साथै ठगी गर्दैनन्‌ भनेर मलाई पक्का विश्‍वास छ। मैले साँच्चै भरोसा गर्न सक्ने व्यक्‍तिहरू यहोवाका साक्षीहरू मात्र हुन्‌। कृपया मलाई मदत गर्नुहोस्‌।”

काइल एउटी मसीही स्त्री हुन्‌ र तिनी एउटा निजी विद्यालयमा रिसेप्सनिस्टको काम गर्छिन्‌। कुरा राम्रोसँग नबुझेको कारण सहकर्मीले तिनलाई केही विद्यार्थीहरूकै अगाडि भन्‍नु-नभन्‍नु भनिन्‌। त्यतिबेलाको कुरा सम्झिंदै काइल यसो भन्छिन्‌, “यहोवाको नाउँमा कलङ्‌क लाग्न नदिन म होसियार हुनुपरेको थियो।” यस्तो अवस्थामा बाइबल सिद्धान्तहरू कसरी लागू गर्न सक्छु भनी काइलले पाँच दिनसम्म विचार गरिन्‌। ती बाइबल सिद्धान्तहरूमध्ये एउटा रोमी १२:१८ मा पाइन्छ: “हुनसक्छ भने, सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रहो।” उनले आफ्नी सहकर्मीलाई इ-मेल पठाइन्‌ र आफूहरूबीच भएको मनमुटावको लागि क्षमा मागिन्‌। काइलले इ-मेलमा आफ्नी सहकर्मीलाई काम सकेपछि केही समय बसेर कुरा गर्नुका साथै समस्या सुल्झाउने विषयमा पनि लेखिन्‌। समस्या सुल्झेपछि काइलकी सहकर्मी नम्र भइन्‌ र काइलले बुद्धिमानीसाथ त्यस्तो तरिका अपनाएकोमा उनको तारिफ गरिन्‌। तिनले काइललाई यसो भनिन्‌, “यसो गर्नुको पछाडि पक्कै तिम्रो धर्मको केही न केही हात होला।” पछि छुट्‌ने बेला तिनले काइललाई न्यानो अँगालो हालिन्‌। काइल कस्तो निष्कर्षमा पुगिन्‌? “बाइबलका सिद्धान्तहरू लागू गऱ्‍यौं भने समाधान हुन नसक्ने त्यस्तो कुनै कुरा नै छैन।”

[पृष्ठ ४, ५-मा भएको चित्र]

थुप्रै कामदारले आफू विशाल मेसिनका पाटपुर्जाभन्दा खासै फरक नभएको महसुस गर्छन्‌