कुनै समय प्रारम्भिक मसीहीधर्म फस्टाएको देशमा प्रचारकार्य विस्तार गर्दै
कुनै समय प्रारम्भिक मसीहीधर्म फस्टाएको देशमा प्रचारकार्य विस्तार गर्दै
भूमध्यसागरसम्म फैलिएको बुट आकारको प्रायद्वीप इटाली एउटा यस्तो ठाउँ हो जहाँको धार्मिक तथा सांस्कृतिक घटनाहरूले विश्व इतिहासलाई प्रभाव पारेको छ। यहाँको विभिन्न भूदृश्य, प्रख्यात कला र स्वादिष्ट भोजनले लाखौं पर्यटकहरूलाई मन्त्रमुग्ध तुल्याएको छ। साथै यस देशमा बाइबल शिक्षा पनि फस्टाएको छ।
सा.यु. ३३ पेन्तिकोसमा मसीही बनेका यहूदी तथा यहूदी मत मान्नेहरू यरूशलेमबाट आ-आफ्नो घर फर्कंदा रोम अर्थात् त्यतिबेलाको विश्वशक्तिको राजधानीमा साँचो मसीहीधर्म पुगेको हुन सक्छ। सा.यु. ५९ तिर प्रेरित पावल पहिलो चोटि इटालीमा पुगेका थिए। समुद्री किनारमा अवस्थित पटिओली भन्ने ठाउँमा तिनले विश्वासमा रहेका “भाइहरू” भेट्टाए।—प्रेरित २:५-११; २८:११-१६.
येशू र प्रेरितहरूले अगमवाणी गरेझैं सा.यु. प्रथम शताब्दीको अन्त हुनुअघि धर्मत्यागीहरूको समूह साँचो मसीहीधर्मबाट बिस्तारै अलग्गिन थाल्यो। तथापि, यस दुष्ट रीतिरिवाजको अन्तअघि येशूका साँचो चेलाहरूले इटालीलगायत सारा विश्वमा सुसमाचारको प्रचारकार्य जोडतोडका साथ अघि बढाएका छन्।—मत्ती १३:३६-४३; प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३-८; २ पत्रुस २:१-३.
निराशालाग्दो सुरुवात
बाइबल स्टुडेन्ट्सको (त्यतिबेला यहोवाका साक्षीहरूलाई चिनाउने नाउँ) विश्वव्यापी प्रचारकार्यमा नेतृत्व लिइरहेका चार्ल्स टेज रसलले सन् १८९१ मा पहिलो चोटि इटालीका केही सहरहरूको भ्रमण गरे। त्यहाँ तिनको सेवकाईको परिणाम त्यति आशालाग्दो थिएन भनी तिनले स्वीकार्नुपऱ्यो: “इटालीमा कटनीको कुनै आशा हामीले देखेनौं।” सन् १९१० को वसन्त ऋतुमा भाइ रसल फेरि इटाली आए र रोमको मध्य भागको एउटा व्यायामशालामा बाइबल भाषण दिए। नतिजा कस्तो भयो? तिनले यसो भने: “समष्टिगत रूपमा भन्ने हो भने, सभा निराशालाग्दो भयो।”
वास्तवमा, केही दशकसम्म इटालीमा सुसमाचारको प्रचारकार्य सुस्त गतिमा चलिरहेको थियो र यसको एउटा कारण, यहोवाका साक्षीहरू फासिस्ट तानाशाहीद्वारा सताइनु थियो। त्यस समयताका इटालीमा पुग-नपुग १५० जना यहोवाका साक्षी मात्र थिए र त्यसमध्ये अधिकांशले विदेशमा बसेका आफ्ना नातेदार वा साथीभाइबाट बाइबल सत्य सिकेका थिए।
उल्लेखनीय प्रगति
दोस्रो विश्वयुद्धपछि इटालीमा थुप्रै मिसनरीहरू पठाइयो। तर सरकारी अभिलेखमा पाइएका पत्रहरूले देखाएझैं भ्याटिकनका उच्च अधिकारीहरूले मिसनरीहरूलाई देश निकाला गर्न सरकारलाई भने। कोही-कोही बाहेक प्रायजसो मिसनरीहरू देश छोड्न बाध्य भए।
अवरोधहरूको बावजुद यहोवाको उपासनाको “पर्वतमा” इटालीका मानिसहरू ओइरिन थाले। (यशैया २:२-४) साक्षीहरूको संख्यामा देखिएको वृद्धि उल्लेखनीय छ। सन् २००४ मा २,३३,५२७ जना सुसमाचारका प्रकाशकहरूको नयाँ शिखर पुग्यो, यसको अर्थ प्रत्येक २४८ जना बासिन्दाको लागि १ जना साक्षी र ख्रीष्टको मृत्युको स्मरणार्थमा ४,३३,२४२ जना उपस्थित भए। सुविधाजनक राज्यभवनहरूमा भेला हुने यहोवाका साक्षीहरूको मण्डलीको संख्या ३,०४९ पुगेको थियो। हालका वर्षहरूमा खास गरी कुनै-कुनै समूहका मानिसहरूले यस्तो उल्लेखनीय वृद्धि अनुभव गरिरहेका छन्।
विभिन्न भाषाहरूमा प्रचार गर्दै
अफ्रिका, एसिया र पूर्वी युरोपका मानिसहरू जागिरको खोजी वा आफ्नो जीवन उकास्न वा कहिलेकाहीं विपत्तिजनक अवस्थाबाट भागेर इटाली आइपुग्छन्। ती लाखौं मानिसहरूलाई आध्यात्मिक तवरमा कसरी मदत गर्न सकिन्छ?
इटालीका थुप्रै साक्षीहरूले अरबी, अल्बेनियाली, आम्हारिक, चिनियाँ, टगालोग, पंजाबी, बंगाली र सिंहलाजस्ता विदेशी भाषाहरू सिक्ने कठिन चुनौती स्वीकारेका छन्। विदेशी भाषामा साक्षी दिन इच्छुक व्यक्तिहरूलाई सिकाउन सन् २००१ देखि भाषा कक्षाहरू सुरु गरियो। विगत तीन वर्षमा १७ विभिन्न भाषामा सञ्चालन गरिएको ७९ कक्षामा ३,७११ साक्षीहरूले भाग लिए। यसले गर्दा २५ वटा भाषामा १४६ मण्डली र २७४ समूहहरू स्थापना गर्न र सुदृढ बनाउन सम्भव भएको छ। यसरी थुप्रै निष्कपट व्यक्तिहरूले सुसमाचार सुनेका छन् र बाइबल अध्ययन गर्न थालेका छन्। अक्सर उल्लेखनीय नतिजाहरू प्राप्त भएको छ।
एक जना यहोवाको साक्षीले भारतको मल्यालम भाषा बोल्ने जर्ज नाउँ गरेका मानिससित बाइबलबारे कुरा गरे। काममा निकै समस्याहरू झेलिरहेको भए तापनि जर्जले खुसीसाथ बाइबल अध्ययनको प्रस्ताव स्वीकारे। केही दिनपछि जर्जको साथी गिल, जो पंजाबी भाषा बोल्ने भारतीय मूलका थिए, तिनी राज्यभवन आए र तिनीसित पनि बाइबल अध्ययन सुरु गरियो। त्यसपछि गिलले तेलगु भाषा बोल्ने डेविड भन्ने साथीलाई साक्षीहरूसँग भेटाइदिए। डेविडले पनि बाइबल अध्ययन गर्न थालिहाले। सनी र सुभाश भन्ने अर्का दुई जना भारतीय डेविडसँगै एउटै घरमा बस्थे। तिनीहरू दुवै जना पनि बाइबल अध्ययनमा बस्न थाले।
केही हप्तापछि मराठी भाषा बोल्ने दलिप भन्ने व्यक्तिले साक्षीहरूलाई फोन गरे। तिनले यसो भने: “म जर्जको साथी हुँ। के तपाईं मलाई बाइबल सिकाउन सक्नुहुन्छ?” त्यसपछि तामिल भाषा बोल्ने सुमित नाउँ गरेका मानिस पनि अध्ययन गर्न चाहन्थे। पछि फेरि जर्जको अर्को एक जना साथीले बाइबल अध्ययनको लागि आग्रह गर्दै फोन गरे। त्यसपछि जर्जले म्याक्स नाउँ गरेका अर्का एक जना जवान मानिसलाई राज्यभवनमा ल्याए। तिनले पनि बाइबल अध्ययनको लागि आग्रह गरे। हालसम्म छवटा बाइबल अध्ययन सञ्चालन भइरहेका छन् र थप चारवटाको लागि प्रबन्ध मिलाइएको छ। उर्दू, तामिल, तेलगु, पंजाबी, मराठी, मल्यालम र हिन्दी भाषाका प्रकाशनहरू प्रयोग गरिए तापनि अङ्ग्रेजी भाषामा अध्ययन सञ्चालन भइरहेका छन्।
बहिराहरूले सुसमाचार “सुन्छन्”
इटालीमा ९०,००० भन्दा धेरै बहिराहरू छन्। सन् १९७० दशकको बीचतिर साक्षीहरूले तिनीहरूलाई पनि बाइबल सत्य सिकाउनेतर्फ ध्यान दिन थाले। सुरुमा, केही बहिरा साक्षीहरूले तिनीहरूको क्षेत्रमा मदत गर्न इच्छुक सँगी सेवकहरूलाई इटालेली साङ्केतिक भाषा सिकाए। त्यसपछि अझ धेरै बहिरा व्यक्तिहरूले बाइबलमा चासो देखाउन थाले। आज, इटालेली साङ्केतिक भाषा प्रयोग गर्ने १,४०० भन्दा धेरै व्यक्तिहरू मसीही सभाहरूमा उपस्थित भइरहेका छन्। पन्ध्रवटा मण्डली र ५२ वटा समूहले इटालेली साङ्केतिक भाषामा सभाहरू सञ्चालन गर्छन्।
सुरु-सुरुमा बहिराहरूलाई साक्षी दिने कुरा मुख्यतया कोही-कोही साक्षीहरूको अग्रसरतामा निर्भर हुन्थ्यो। तर सन् १९७८ मा यहोवाका साक्षीहरूको इटालीस्थित शाखा कार्यालयले बहिराहरूको लागि अधिवेशनहरू आयोजना गर्न थाल्यो। त्यस वर्षको मे महिनामा मिलानमा आयोजना गरिने अन्तरराष्ट्रिय अधिवेशनमा बहिराहरूको लागि पनि कार्यक्रम हुने घोषणा गरियो। सन् १९७९ को फेब्रुअरी महिनामा मिलानको सम्मेलन भवनमा बहिराहरूको लागि पहिलो क्षेत्रीय सम्मेलन आयोजना गरियो।
त्यतिबेलादेखि शाखा कार्यालयले बहिराहरूको आध्यात्मिक पोषणमा विशेष ध्यान दिंदै आएको छ अनि यस भाषामा आफ्नो दक्षतालाई तिखार्न अझ बढी सुसमाचारकहरूलाई प्रोत्साहन दिइँदैछ। सन् १९९५ देखि बहिरा साक्षीहरूलाई सेवकाईमा प्रशिक्षण दिन र मसीही सभाहरूको प्रबन्ध मिलाउन विशेष अग्रगामीहरू (पूर्ण-समय सुसमाचारकहरू) केही समूहहरूमा पठाइएका छन्। भिडियो कार्यक्रमको गुणस्तर बढाउन तीनवटा सम्मेलन भवनमा सबैभन्दा अत्याधुनिक प्रविधियुक्त भिडियो सिस्टम जडान गरिएको छ। अनि बहिराहरूलाई आध्यात्मिक भोजन प्रबन्ध गर्न भिडियो क्यासेटहरूमा मसीही प्रकाशनहरू उपलब्ध छन्।
साक्षीहरूले बहिराहरूको आध्यात्मिक आवश्यकताहरूको राम्रो हेरचाह गर्दा रहेछन् भनेर अरू मानिसहरूले याद गरेका छन्। इटालेली बहिरा समाजद्वारा प्रकाशित पारोल आ सान्ये भन्ने पत्रिकामा क्याथोलिक धार्मिक अधिकारीले पठाएको पत्र उद्धृत गरिएको थियो: “बहिराहरूलाई निरन्तर ध्यान चाहिरहने भएकोले बहिरा हुँदा अनेकन् कठिनाइहरू झेल्नुपर्छ। उदाहरणका लागि, बहिरो व्यक्ति कुनै कठिनाइविना चर्चमा एक्लै आउन सक्छन् तर त्यहाँ पढिने, भनिने र गाइने सबै कुरा बुझ्न तिनलाई दोभासेको जरुरत हुन्छ।” उक्त पत्रिका अझ यसो भन्छ: “पादरीले कुन कुरा स्वीकार्छन् भने, दुःखको कुरा चर्च अहिलेसम्म पनि बहिराहरूलाई सेवा पुऱ्याउन सक्षम भइसकेको छैन र चर्चमा भन्दा यहोवाका साक्षीहरूको राज्यभवनमा बहिराहरूले राम्रो हेरचाह पाएको कुरा तिनी औंल्याउँछन्।”
कैदीहरूलाई सुसमाचार प्रचार गर्दै
के कुनै व्यक्तिले झ्यालखानामै बसेर स्वतन्त्रता अनुभव गर्न सक्छ? सक्छ, किनभने परमेश्वरको वचन स्वीकार्ने र यसलाई आफ्नो जीवनमा उतार्नेहरूलाई “स्वतन्त्र तुल्याउने” शक्ति बाइबलमा छ। येशूले “कैदीहरूलाई” पाप अनि झूटो धर्मबाट छुटकारा दिने सन्देश सुनाउनुभयो। (यूहन्ना ८:३२; लूका ४:१६-१९) झ्यालखानाहरूमा प्रचार गर्दा इटालीमा एकदमै राम्रा नतिजाहरू प्राप्त भइरहेका छन्। कैदीहरूलाई आध्यात्मिक सहयोग दिन सरकारले यहोवाका ४०० जना साक्षीलाई झ्यालखानाहरूमा जाने अनुमति दिएको छ। त्यस्तो अनुमति माग्ने र प्राप्त गर्ने पहिलो गैर-क्याथोलिक संगठन यहोवाका साक्षीहरूकै थियो।
बाइबल सन्देश सोच्दै नसोचेको तरिकामा पनि फैलिन सक्छ। कैदीहरूले सँगी कैदीहरूसित यहोवाका साक्षीहरूले गर्ने बाइबल शिक्षाको कार्यबारे बताउँछन्। फलस्वरूप तीमध्ये केही कैदीहरूले साक्षीहरूसित भेट्ने आग्रह गरेका छन्। वा बाइबल अध्ययन गर्न थालेका परिवारका सदस्यहरूले कैदीहरूलाई साक्षीहरूसित भेट्ने प्रबन्ध मिलाउन प्रोत्साहन दिन्छन्। हत्या वा अन्य गम्भीर अपराधको लागि जन्मकैद भोगिरहेका केही कैदीहरूले पश्चात्ताप गरेर आफ्नो जीवनमा आमूल परिवर्तन ल्याएका छन्। यसले तिनीहरूलाई यहोवा परमेश्वरको समक्ष आफ्नो जीवन समर्पण र बप्तिस्माको लागि तयार बनाउँछ।
विभिन्न झ्यालखानाहरूमा बाइबल विषयहरूमा जनभाषण दिन, येशूको मृत्युको स्मरणार्थ मनाउन र यहोवाका साक्षीहरूले तयार पारेका बाइबलसम्बन्धी भिडियोहरू देखाउन प्रबन्धहरू मिलाइएका छन्। अक्सर यस्ता सभाहरूमा थुप्रै कैदीहरू उपस्थित हुन्छन्।
व्यावहारिक तरिकामा कैदीहरूलाई मदत गर्न साक्षीहरूले कैदीहरूलाई मदत गर्ने खालका विषयहरू भएका पत्रिकाहरू विस्तृत रूपमा वितरण गरेका छन्। त्यस्तै विषय भएको एउटा पत्रिका मे ८, २००१ को अवेक! थियो जसको शीर्षक थियो “के कैदीहरूलाई सुधार्न सकिन्छ?” र अप्रिल ८, २००३ को अवेक!-मा “परिवारमा लागूपदार्थको दुर्व्यसन—तपाईं के गर्न सक्नुहुन्छ?” भन्ने विषयमा छलफल गरिएको थियो। कैदीहरूलाई यसको हजारौं प्रति वितरण गरियो। फलस्वरूप सयौं बाइबल अध्ययन सुरु भएको छ। बाइबल सन्देशप्रति झ्यालखानाका कोही-कोही सुरक्षाकर्मीहरूले पनि चासो देखाएका छन्।
अख्तियारवालाहरूबाट विशेष अनुमति प्राप्त गरेपछि कन्सट्यानटिनो नाउँ गरेका कैदीले सान रेमोको राज्यभवनमा १३८ जना स्थानीय साक्षीहरूको उपस्थितिमा बप्तिस्मा लिए। बप्तिस्मापछि पूरै भावुक बनेका कन्सट्यानटिनोले यसो भने: “ममाथि मायाको वर्षा भएजस्तो लाग्यो।” एक जना जेलरका शब्दहरू स्थानीय अखबारमा रिपोर्ट गरिएको थियो: “यस्तो अनुमति दिन पाएकोमा . . . हामीलाई एकदमै खुसी लागेको छ। कैदीको सामाजिक, व्यक्तिगत र आध्यात्मिक पुनर्स्थापनामा मदत गर्ने कुराहरूलाई हामीले बेवास्ता गर्नु हुँदैन।” बाइबलको सही ज्ञानले कन्सट्यानटिनोको जीवनमा पारेको असर देखेर तिनकी श्रीमती र छोरी प्रभावित भए: “उहाँले गर्नुभएको परिवर्तनहरू देख्दा हामी गर्व गर्छौं। उहाँ शान्त स्वभावको हुनुभएको छ र हाम्रो धेरै चासो राख्नुहुन्छ। उहाँप्रतिको भरोसा र आदर पुनः जागृत भएको छ।” उनीहरूले पनि बाइबल अध्ययन सुरु गर्नुका साथै मसीही सभाहरूमा धाउन थालेका छन्।
चोरी, डकैती, लागूपदार्थको अवैध व्यापार र हत्याको अभियोगमा सर्जियोलाई सन् २०२४ सम्मको लागि कैद सजाय सुनाइएको थियो। तीन वर्षसम्म धर्मशास्त्रको जाँच गरेर आफ्नो जीवनमा आमूल परिवर्तनहरू गरिसकेपछि सर्जियोले बप्तिस्मा लिने निर्णय गरे। एल्बा टापूमा अवस्थित पोर्टो आत्सुरो झ्यालखानामा यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिने तिनी १५ औं कैदी हुन्। केही सँगी
कैदीहरूको उपस्थितिमा तिनको बप्तिस्मा झ्यालखानाको खेलकुद मैदानमा अस्थायी पोखरी बनाएर गरिएको थियो।बीस वर्षको कैद सजाय भोगिरहेका लियोनार्डोले पार्माको एउटा राज्यभवनमा बप्तिस्मा लिन विशेष अनुमति प्राप्त गरे। स्थानीय अखबारले लिएको अन्तरवार्तामा लियोनार्डोले “आफू झ्यालखानाको अन्धकारबाट मुक्त हुनको लागि होइन तर आफूले महसुस गरेको गहिरो आध्यात्मिक आवश्यकता पूरा गर्न यहोवाको साक्षी हुने निर्णय गरेको” बताए। लियोनार्डोले यसो भने: “मैले जिन्दगीमा कैयौं गल्तीहरू गरेको छु तर अब म ती सबैलाई पछाडि छोड्न चाहन्छु। ममा परिवर्तन आएको छ तर यो रातारात भएको त होइन। सोझो बाटोमा हिंड्न मैले प्रयास गरिरहनु पर्नेछ।”
हत्याको अभियोगमा दोषी ठहराइएका साल्भाटोरे कडा सुरक्षा व्यवस्था भएको स्पोलेटो झ्यालखानामा छन्। झ्यालखानाभित्रै गरिएको तिनको बप्तिस्मा देखेर थुप्रै प्रभावित भए। त्यहाँका जेलरले यसो भने: “सबैप्रति असल व्यवहार गर्न मदत पुऱ्याउने छनौट गर्दा यसको सामाजिक महत्त्व हुन्छ र यसो गर्न प्रोत्साहन दिनुपर्छ। अनि यसले झ्यालखानाको वातावरण र समाजमा नै पनि लाभ पुऱ्याउँछ।” साल्भाटोरेले गरेका परिवर्तनहरूले गर्दा तिनकी पत्नी र छोरी अहिले यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित हुन थालेका छन्। साल्भाटोरेले साक्षी दिएको अर्का कैदीले यहोवाको समर्पित सेवकको रूपमा बप्तिस्मा लिए।
प्रारम्भिक मसीहीधर्मको विस्तार तथा वृद्धि इटालीमै भएको थियो। (प्रेरित २:१०; रोमी १:७) पावल र तिनका सँगी मसीहीहरूले सुसमाचार प्रचार गर्न जुन इलाकामा मेहनत गरेका थिए, अहिले कटनीको समयमा त्यहीं नै वृद्धि र विस्तार भइरहेको छ।—प्रेरित २३:११; २८:१४-१६.
[पृष्ठ १३-मा भएको नक्सा]
इटाली
रोम
[पृष्ठ १५-मा भएका चित्रहरू]
बिटोन्टो सम्मेलन भवन र रोमको इटालेली साङ्केतिक भाषाको मण्डली
[पृष्ठ १६-मा भएको चित्र]
बाइबल सत्यले कैदीहरूलाई ‘स्वतन्त्र तुल्याएको’ छ
[पृष्ठ १७-मा भएका चित्रहरू]
कुनै समय प्रारम्भिक मसीहीधर्म फस्टाएको देशमा अहिले पनि आध्यात्मिक वृद्धि भइरहेको छ