सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!

युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!

युवाहरू हो, यहोवाको प्रशंसा गर्नुहोस्‌!

“पृथ्वीबाट परमप्रभुको प्रशंसा गर। जवान ठिटा र कुमारीहरू।”—भजन १४८:७, १२.

१, २. (क) थुप्रै युवाहरूले कस्ता प्रतिबन्धहरू महसुस गर्छन्‌? (ख) आमाबाबुले आफूमाथि लगाएका प्रतिबन्धहरूको कारण युवाहरूले किन नमीठो मान्‍नु पर्दैन?

 जवान व्यक्‍तिहरू अक्सर आफूले थुप्रै कुराहरू गर्न नपाएकोमा अत्यन्तै नमीठो महसुस गर्छन्‌। एक्लै बाटो काट्‌न, राती अबेरसम्म घरबाहिर बस्न वा सवारी साधन चलाउन आफू कति वर्षको हुनुपर्छ भनेर तिनीहरूमध्ये थुप्रैले सजिलै बताउन सक्छन्‌। कहिलेकाहीं आफूले कुनै कुराको लागि अनेक बिन्ती गर्दा पनि एक जना युवाले प्रायजसो अवस्थामा यस्तै जवाफ मात्र पाएको महसुस गर्न सक्छन्‌: “अहिले सानै छौ, अलि ठूलो भएपछि चाहेजस्तो गर्न गर्न पाइहाल्छौ नि।”

सायद तपाईंको आफ्नै सुरक्षाको लागि यस्ता प्रतिबन्धहरू लगाउनु बुद्धिमानी कुरा हो भनेर तपाईंका आमाबाबुहरू महसुस गर्छन्‌ भनी तपाईं युवाहरूलाई थाह छ। तपाईंले आफ्ना आमाबाबुको आज्ञा पालन गर्दा यहोवा खुसी हुनुहुन्छ भनेर पनि तपाईंलाई पक्कै थाह छ। (कलस्सी ३:२०) यद्यपि, यी प्रतिबन्धहरूको कारण के तपाईंलाई वास्तवमा आफ्नो जीवन सुरु नै भएको छैन जस्तो लाग्छ? सबै महत्त्वपूर्ण कामहरू के तपाईंले ठूलो नभईकन गर्न पाउनुहुन्‍न? यसो त पक्कै होइन! अहिले एउटा यस्तो काम भइरहेको छ जो तपाईंले गर्न खोजिरहनुभएको अरू कुनै पनि कामभन्दा धेरै महत्त्वपूर्ण छ। के तपाईं युवाहरूलाई यस काममा भाग लिने अनुमति छ? अनुमति मात्र होइन, सर्वोच्च परमेश्‍वर स्वयम्‌ले तपाईंलाई यस कामको लागि निमन्त्रणा समेत दिनुभएको छ!

३. यहोवाले युवाहरूलाई कस्तो सुअवसरमा भाग लिन निमन्त्रणा दिनुहुन्छ र अब हामी कस्ता प्रश्‍नहरूबारे विचार गर्नेछौं?

हामी कस्तो कामबारे कुरा गर्दैछौं? यस लेखको मूल शास्त्रपदका शब्दहरू विचार गर्नुहोस्‌: “पृथ्वीबाट परमप्रभुको प्रशंसा गर। जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटा-केटीहरू।” (भजन १४८:७, १२) तपाईंको महान्‌ सुअवसरबारे यस शास्त्रपदमा बताइएको छ: तपाईं यहोवाको प्रशंसा गर्न सक्नुहुन्छ। एक जना जवान व्यक्‍तिको हैसियतमा के तपाईं त्यस काममा भागमा लिन उत्साहित हुनुहुन्छ? धेरै जना त उत्साहित छन्‌। यसरी उत्साहित हुनुपर्ने उचित कारण बुझ्न हामी तीनवटा प्रश्‍नबारे विचार गरौं। पहिलो, तपाईंले किन यहोवाको प्रशंसा गर्नुपर्छ? दोस्रो, तपाईं कसरी प्रभावकारी ढङ्‌गमा उहाँको प्रशंसा गर्न सक्नुहुन्छ? तेस्रो, कहिलेदेखि यहोवाको प्रशंसा गर्न थाल्नु सबैभन्दा उपयुक्‍त हुन्छ?

किन यहोवाको प्रशंसा गर्ने?

४, ५. (क) भजन १४८ औं अध्यायअनुसार हामी कस्तो अद्‌भुत अवस्थामा छौं? (ख) बोल्न वा तर्क गर्न नसक्ने सृष्टिहरूले समेत कसरी यहोवाको प्रशंसा गर्न सक्छन्‌?

यहोवाको प्रशंसा गर्नुपर्ने एउटा उल्लेखनीय कारण हो, उहाँ सृष्टिकर्ता हुनुहुन्छ। भजनको १४८ औं अध्यायले हामीलाई यस सच्चाइमा ध्यान केन्द्रित गर्न मदत दिन्छ। यसो कल्पना गर्नुहोस्‌ त: मीठो र उत्साहले भरिपूर्ण गीत एकै स्वरमा गाइरहेको एउटा विशाल समूह तपाईंले भेट्‌नुभयो भने तपाईंलाई कस्तो लाग्नेछ? गीतका शब्दहरू सही र तपाईंलाई महत्त्वपूर्ण, आनन्ददायी र प्रोत्साहनदायी लागेका भावनाहरू व्यक्‍त गर्ने खालका छन्‌ भने नि? के तपाईंलाई त्यस गीतको बोल सिकेर सँगै गाउन मन लाग्दैन र? हामीमध्ये अधिकांशलाई त्यस्तै लाग्छ। त्यसैले भजनको १४८ औं अध्यायले तपाईं पनि यस्तै खालको तर योभन्दा पनि अद्‌भुत अवस्थामा हुनुहुन्छ भनेर देखाउँछ। त्यस भजनले एकै स्वरमा यहोवाको प्रशंसा गरिरहेको एउटा विशाल भीडबारे बताउँछ। यद्यपि, त्यो भजन पढ्‌दै जाँदा तपाईंले केही अनौठो कुरा देख्नुहोला। त्यो के हो?

भजन १४८ मा वर्णन गरिएका थुप्रै प्रशंसकहरू न त बोल्न सक्छन्‌ न तर्क गर्न नै। उदाहरणका लागि, हामी घाम, जून, तारा, हिउँ, बतास, पहाड र डाँडाहरूले यहोवाको प्रशंसा गरेको वर्णन पाउँछौं। यी निर्जीव सृष्टिहरूले कसरी यहोवाको प्रशंसा गर्न सक्छन्‌? (पद ३, ८, ९) वास्तवमा, रूख, जलजन्तु र जनावरहरूले जसरी प्रशंसा गर्छन्‌, त्यसरी नै। (पद ७, ९, १०) के तपाईंले कहिल्यै मनोरम सूर्यास्त वा ताराहरूले भरिएको आकाशमा जून तैरिरहेको देख्नुभएको छ? वा जनावरहरू खेलेको देखेर खुसीले हाँस्नुभएको र भव्य प्राकृतिक सौन्दर्य देखेर तीनछक पर्नुभएको पो छ कि? त्यसो हो भने तपाईंले सृष्टिले प्रशंसाको गीत गाएको “सुन्‍नुभएको” रहेछ। यहोवाले बनाउनुभएका सबै कुराहरूले हामीलाई उहाँ नै सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता हुनुहुन्छ र उहाँ जत्तिको शक्‍तिशाली, बुद्धिमान्‌ र मायालु व्यक्‍ति ब्रह्‍माण्डमा अरू कोही पनि छैन भनेर सम्झाउँछ।—रोमी १:२०; प्रकाश ४:११.

६, ७. (क) भजन १४८ औं अध्यायले कस्ता बौद्धिक प्राणीहरूले यहोवाको प्रशंसा गरिरहेको कुरा बताउँछ? (ख) यहोवाको प्रशंसा गर्न हामी किन उत्प्रेरित हुन सक्छौं? उदाहरण दिनुहोस्‌।

भजन १४८ औं अध्यायले बौद्धिक सृष्टिले पनि यहोवाको प्रशंसा गरिरहेको कुरा वर्णन गर्छ। पद २ मा हामी यहोवाको स्वर्गीय “दूतगणले” उहाँको प्रशंसा गरेको विवरण पाउँछौं। पद ११ मा राजा र न्यायाधीशजस्ता शक्‍तिशाली तथा प्रभावशाली मानिसहरूलाई प्रशंसा गर्ने यस काममा भाग लिन निमन्त्रणा दिइएको छ। शक्‍तिशाली स्वर्गदूतहरू त यहोवाको प्रशंसा गर्न रमाउँछन्‌ भने तुच्छ मानिसहरूमध्ये कसलाई चाहिं आफूले यहोवाको प्रशंसा गर्नै पर्दैन भनेर घमन्ड गर्न सुहाउँछ र? अनि पद १२ र १३ मा तपाईं युवाहरूलाई पनि यहोवाको प्रशंसामा सामेल हुन निमन्त्रणा दिइएको छ। के तपाईं त्यसो गर्न उत्प्रेरित हुनुहुन्छ?

एउटा उदाहरण विचार गर्नुहोस्‌। तपाईंको एक जना मिल्ने साथी खेलकुद, चित्रकला वा संगीतमा अत्यन्तै पोख्त छ भने आफ्नो परिवार वा अरू साथीहरूसित के तपाईं उसबारे कुरा गर्नुहुन्‍न र? पक्कै गर्नुहुन्छ। यहोवाले गर्नुभएका सबै कामहरूबारे सिक्दा हामीमा पनि यस्तै प्रभाव पर्न सक्छ। उदाहरणका लागि, भजन १९:१, २ अनुसार ताराहरूले भरिएको आकाशले गर्दा हामी “बात” गर्न उत्प्रेरित हुन्छौं। यहोवाले गर्नुभएका अचम्मका कामहरूबारे विचार गर्दा हाम्रो परमेश्‍वरबारे अरूलाई नबताई हामी सक्दै सक्दैनौं।

८, ९. कुन-कुन कारणले गर्दा हामीले यहोवाको प्रशंसा गरेको उहाँ चाहनुहुन्छ?

यहोवाको प्रशंसा गर्नुपर्ने अर्को उल्लेखनीय कारण हो, हामीले उहाँको प्रशंसा गरेको यहोवा चाहनुहुन्छ। किन? उहाँलाई मानिसहरूबाट प्रशंसा चाहिएर हो? होइन। वास्तवमा हामी मानिसहरूलाई कहिलेकाहीं प्रशंसाको खाँचो पर्ला तर यहोवा हामीभन्दा कता हो कता उच्च हुनुहुन्छ। (यशैया ५५:८) आफ्ना गुणहरू वा आफूबारे उहाँलाई कुनै शङ्‌का छैन। (यशैया ४५:५) तैपनि, हामीले उहाँको प्रशंसा गरेको उहाँ चाहनुहुन्छ र हामीले त्यसो गर्दा उहाँ प्रसन्‍न हुनुहुन्छ। किन? दुइटा कारण विचार गर्नुहोस्‌। पहिलो हो, हामीले उहाँको प्रशंसा गर्नुपर्छ भनेर उहाँलाई थाह छ। उपासना गर्नुपर्ने यस्तो आध्यात्मिक आवश्‍यकतासहित उहाँले हामीलाई सृजनुभयो। (मत्ती ५:३) खानेकुराले तपाईंलाई फाइदा गर्छ भन्‍ने थाह भएकोले जसरी तपाईंले खाना खाएको देख्दा तपाईंका आमाबाबु खुसी हुन्छन्‌, त्यसरी नै हामीले आध्यात्मिक आवश्‍यकता पूरा गरेको देख्दा यहोवा पनि खुसी हुनुहुन्छ।—यूहन्‍ना ४:३४.

दोस्रो हो, हामीले यहोवाको प्रशंसा गरेको अरूले सुन्‍नपर्छ भनेर उहाँलाई थाह छ। प्रेरित पावलले जवान तिमोथीलाई यी शब्दहरू लेखे: “आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार रह। यी कुरामा लागिबस। किनभने यसो गर्नाले तिमीले आफूलाई र तिमीलाई सुन्‍नेलाई समेत उद्धार गर्नेछौ।” (१ तिमोथी ४:१६) हो, यहोवा परमेश्‍वरको प्रशंसा गरेर जब तपाईं उहाँबारे अरूलाई सिकाउनुहुन्छ तिनीहरूले पनि यहोवालाई चिन्‍ने मौका पाउन सक्छन्‌। यस ज्ञानको कारण तिनीहरूले अनन्त उद्धार पाउन सक्छन्‌!—यूहन्‍ना १७:३.

१०. हाम्रा परमेश्‍वरको प्रशंसा गर्न हामी किन उत्प्रेरित हुन्छौं?

१० यहोवाको प्रशंसा गर्नुपर्ने अर्को कारण पनि छ। कुनै कुरामा पोख्त तपाईंको साथीको उदाहरण फेरि एक चोटि सम्झनुहोस्‌ त। अरू कसैले उसको बारेमा झूट कुरा बोलिरहेको र उसको बदनाम गरिरहेको तपाईंले सुन्‍नुभयो भने आफ्नो साथीको अझ बढी प्रशंसा गर्न के तपाईं अझ कटिबद्ध हुनुहुन्‍न र? हो, यस संसारमा जताततै यहोवाको घोर बदनाम गरिएको छ। (यूहन्‍ना ८:४४; प्रकाश १२:९) त्यसैले उहाँलाई प्रेम गर्नेहरू उहाँबारे सत्य कुरा बताएर गलत जानकारीहरू सच्याउन उत्प्रेरित हुन्छन्‌। के तपाईं पनि यहोवाप्रति आफ्नो प्रेम र मूल्याङ्‌कन व्यक्‍त गर्न अनि उहाँको प्रमुख शत्रु शैतानले नभई उहाँले तपाईंमाथि शासन गरेको चाहनुहुन्छ भनेर देखाउन चाहनुहुन्छ? यहोवाको प्रशंसा गरेर तपाईं यी सबै काम गर्न सक्नुहुन्छ। त्यसपछिको अर्को प्रश्‍न हो, यहोवाको प्रशंसा कसरी गर्न सकिन्छ?

केही युवाहरूले यहोवाको प्रशंसा कसरी गरे

११. यहोवाको प्रशंसा गर्नमा युवाहरू असाध्यै प्रभावकारी हुन सक्छन्‌ भनी बाइबलमा भएका कस्ता उदाहरणहरूले देखाउँछ?

११ यहोवाको प्रशंसा गर्नमा युवाहरू अक्सर असाध्यै प्रभावकारी हुन्छन्‌ भनी बाइबलले देखाउँछ। उदाहरणका लागि, एक जना इस्राएली ठिटीलाई अरामीहरूले कैदमा लगेका थिए। तिनले आफ्नी मालिक्नीलाई यहोवाका अगमवक्‍ता एलिशाबारे साहसी भई साक्षी दिइन्‌। तिनले बताएका कुराहरूले गर्दा पछि गएर एउटा चमत्कार भयो र यसले गर्दा प्रभावशाली साक्षी दिइयो। (२ राजा ५:१-१७) बालक छँदा येशूले पनि साहसी भई साक्षी दिनुभयो। येशूको युवावस्थाका सबै घटनाहरूमध्ये एउटा घटना मात्र परमेश्‍वरले धर्मशास्त्रमा लिपिबद्ध गर्न रोज्नुभयो र त्यो घटना थियो, उहाँ १२ वर्षको हुनुहुँदा उहाँले साहसी भई यरूशलेमको मन्दिरमा धर्मगुरुहरूलाई प्रश्‍न सोध्नुभयो र यहोवाको मार्गबारे उहाँको समझ देखेर तिनीहरू छक्क परे।—लूका २:४६-४९.

१२, १३. (क) आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशूले मन्दिरमा के गर्नुभयो र यसले त्यहाँ उपस्थित मानिसहरूमा कस्तो प्रभाव पाऱ्‍यो? (ख) बच्चाहरूले प्रशंसा गरेको सुन्दा येशूलाई कस्तो लाग्यो?

१२ ठूलो भएपछि पनि येशूले बच्चाहरूलाई यहोवाको प्रशंसा गर्न उत्प्रेरित गर्नुभयो। उदाहरणका लागि, आफ्नो मृत्यु हुनुभन्दा केही दिनअघि उहाँले यरूशलेमको मन्दिरमा समय बिताउनुभयो। उहाँले त्यहाँ “अचम्मका काम” गर्नुभयो भनी बाइबल बताउँछ। त्यस पवित्र ठाउँलाई डाँकुको ओडार बनाउनेहरूलाई उहाँले त्यहाँबाट लघार्नुभयो। उहाँले अन्धा र लङ्‌गडाहरूलाई पनि निको पार्नुभयो। त्यहाँ भएकाहरू सबै जना र विशेष गरी धर्मगुरुहरू यहोवा तथा उहाँको पुत्र, मसीहको प्रशंसा गर्न उत्प्रेरित हुनुपर्ने हो। यद्यपि, दुःखको कुरा, त्यतिबेलाका धेरै जनाले यस्तो प्रशंसा पटक्कै गरेनन्‌। येशूलाई परमेश्‍वरले पठाउनुभएको हो भनेर तिनीहरूलाई थाह त थियो तर तिनीहरू धार्मिक नेताहरूदेखि डराउँथे। तथापि, मानिसहरूको एउटा समूहले भने साहसका साथ बोल्यो। तिनीहरू को थिए के तपाईंलाई थाह छ? बाइबल यसो भन्छ: “मुख्य पूजाहारीहरू र शास्त्रीहरू चाहिं [येशूले] गर्नुभएको अचम्मका काम र केटाकेटीहरू मन्दिरमा होसन्‍ना दाऊदका पुत्रलाई भन्दै चिच्याएका देखेर क्रोधित भए, र तिनीहरूले [येशूलाई] भने, ‘के सुन्छौ, यिनीहरूले के भनिरहेका छन्‌?’ ”—मत्ती २१:१५, १६; यूहन्‍ना १२:४२.

१३ उहाँको प्रशंसा गरिरहेका बालकहरूलाई येशूले चुप लगाउनुहुन्छ होला भन्‍ने आशा ती पूजाहारीहरूले गरिरहेका थिए। के उहाँले त्यसो गराउनुभयो? अँह, पटक्कै गराउनुभएन! येशूले ती पूजाहारीहरूलाई यस्तो जवाफ दिनुभयो: “हो, म सुन्दैछ। के तिमीहरूले पढेका छैनौ? ‘दूधे-बालक र काखको बालकहरूका मुखबाट तपाईंले स्तुति पूरा गर्नुभयो।’ ” कुरा स्पष्ट छ, ती ठिटाहरूको प्रशंसाबाट येशू र उहाँको पिता खुसी हुनुहुन्थ्यो। ती बच्चाहरूले यस्तो काम गरिरहेका थिए, जुन काम त्यहाँ उपस्थित सबै वयस्कहरूले पनि गर्नुपर्थ्यो। ती बालकहरूको कलिलो मनले यो कुरा राम्ररी बुझेको हुनुपर्छ। येशूले अचम्मका कामहरू गर्नुभएको, साहस र विश्‍वाससाथ बोल्नुभएको अनि परमेश्‍वर तथा उहाँका जनहरूप्रति गहिरो प्रेम देखाउनुभएको तिनीहरूले देखेका थिए। उहाँ साँच्चै आफूले दाबी गरे अनुरूपै प्रतिज्ञा गरिएको “दाऊदका पुत्र” अर्थात्‌ मसीह हुनुहुन्थ्यो। आफ्नो विश्‍वासको कारण तिनीहरूले आशिष्‌ पाए किनकी ती केटाहरूले भविष्यवाणी पूरा गर्ने काममा भाग लिने सुअवसरसमेत पाए।—भजन ८:२.

१४. युवाहरूसित भएको वरदानले परमेश्‍वरको प्रशंसा गर्न तिनीहरूलाई कसरी सुसज्जित बनाउँछ?

१४ यस्ता उदाहरणहरूबाट हामी के सिक्न सक्छौं? यही कि युवाहरू पनि यहोवाका एकदमै प्रभावकारी प्रशंसकहरू हुन सक्छन्‌। तिनीहरूसित अक्सर साँचो कुरा स्पष्ट र सजिलै देख्ने अनि निष्कपट र जोसिलो भई आफ्नो विश्‍वास व्यक्‍त गर्ने क्षमता हुन्छ। तिनीहरूसित हितोपदेश २०:२९ मा उल्लेख गरिएको वरदान पनि छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो।” हो, तपाईं युवाहरूसित बल र शक्‍ति छ, जो यहोवाको प्रशंसा गर्नको लागि साँच्चै मूल्यवान्‌ सम्पत्ति हो। त्यसो हो भने यस्ता वरदानहरूलाई तपाईं कसरी प्रभावकारी ढङ्‌गमा चलाउन सक्नुहुन्छ?

तपाईं कसरी यहोवाको प्रशंसा गर्न सक्नुहुन्छ?

१५. प्रभावकारी ढङ्‌गमा यहोवाको प्रशंसा गर्न कस्तो उत्प्रेरणा चाहिन्छ?

१५ प्रभावकारी ढङ्‌गमा गरिने प्रशंसा हृदयबाट आउने कुरा हो। अरूको इच्छा पूरा गर्न मात्र तपाईंले यहोवाको प्रशंसा गरिरहनुभएको छ भने प्रभावकारी ढङ्‌गमा गर्न सक्नुहुने छैन। नबिर्सनुहोस्‌, सबैभन्दा ठूलो आज्ञा हो: “तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू।” (मत्ती २२:३७) आफैले परमेश्‍वरको वचन अध्ययन गरेर के तपाईंले यहोवालाई व्यक्‍तिगत रूपमा चिन्‍नुभएको छ? परमेश्‍वरको वचनबाट यसरी सिक्दा यहोवाप्रति प्रेम उत्पन्‍न हुन्छ। उहाँप्रति उक्‍त प्रेम व्यक्‍त गर्ने स्वाभाविक तरिका उहाँको प्रशंसा गरेर हो। तपाईंमा सुस्पष्ट र बलियो उत्प्रेरणा छ भने उत्साहका साथ यहोवाको प्रशंसा गर्न तयार हुनुहुन्छ।

१६, १७. यहोवाको प्रशंसा गर्नमा आचरणले कस्तो भूमिका खेल्छ? उदाहरण दिनुहोस्‌।

१६ आफूले भन्‍ने कुराहरूबारे भन्दा पहिले आफूले गर्ने कुराहरूबारे सोच्नुहोस्‌। एलिशाको समयकी ती इस्राएली ठिटी रूखो, अशिष्ट वा बेइमान स्वभावको भएकी भए तपाईंको विचारमा तिनकी अरामी मालिक्नीले यहोवाको अगमवक्‍ताबारे तिनले बताएको कुरा सुन्‍ने थिइन्‌ होला र? सायद सुन्‍ने थिइनन्‌ होला। त्यसै गरी, तपाईं शिष्ट, इमानदार र असल आचरणको हुनुहुन्छ भन्‍ने कुरा मानिसहरूले देखेका छन्‌ भने तिनीहरूले तपाईंको कुरा सुन्‍ने सम्भावना बढी हुन्छ। (रोमी २:२१) एउटा उदाहरण विचार गर्नुहोस्‌।

१७ पोर्चुगलकी एउटी ११ वर्षीया केटीले स्कूलमा उत्सवहरू मनाउने दबाबको सामना गर्नुपऱ्‍यो जुन कुरा तिनको बाइबल प्रशिक्षित अन्तस्करण विपरीत थियो। आफूले उक्‍त उत्सवहरू नमनाउनुको कारणबारे तिनले आफ्नी शिक्षिकालाई आदरपूर्ण ढङ्‌गमा बताइन्‌ तर शिक्षिकाले तिनको खिसी गरिन्‌। समय बित्दै जाँदा ती शिक्षिकाले तिनको धर्मको धज्जी उडाउँदै बारम्बार तिनलाई लाजमर्दो बनाउने कोसिस गरिन्‌। तैपनि, ती केटीले आफ्नी शिक्षिकाको आदर गर्न छोडिनन्‌। वर्षौंपछिको कुरा हो, ती जवान बहिनीले नियमित अग्रगामीको रूपमा पूर्ण समय सेवा गरिरहेकी थिइन्‌। एउटा अधिवेशनमा ती बहिनीले बप्तिस्मा लिने मानिसहरूलाई हेरिरहेकी थिइन्‌ र तिनीहरूमध्ये एक जनालाई तिनले तुरुन्तै चिनिहालिन्‌। उनी तिनको पहिलेकी शिक्षिका थिइन्‌! अँगालो हालेर रोएपछि आफ्नो विद्यार्थीको भद्र आचरण आफूले जीवनभर भुल्न नसकेको कुरा ती शिक्षिकाले जवान बहिनीलाई बताइन्‌। एउटी साक्षीले ती शिक्षिकालाई भेटिछन्‌ र शिक्षिकाले आफूले पहिला पढाएको विद्यार्थीको आचरणबारे बताइछिन्‌। फलस्वरूप, बाइबल अध्ययन सुरु भयो र ती शिक्षिकाले बाइबल सत्य स्वीकारिन्‌। हो, तपाईंको आचरण यहोवाको प्रशंसा गर्ने अत्यन्तै प्रभावशाली तरिका हुन सक्छ!

१८. कुनै युवा बाइबल र यहोवा परमेश्‍वरबारे कुराकानी थाल्न हिचकिचाउँछन्‌ भने तिनले के गर्न सक्छन्‌?

१८ स्कूलमा आफ्नो विश्‍वासबारे कुराकानी थाल्न के तपाईंलाई कहिलेकाहीं गाह्रो लाग्छ? तपाईंलाई मात्र त्यस्तो लागेको होइन। तथापि, तपाईं एउटा यस्तो परिस्थिति सिर्जना गर्न सक्नुहुन्छ जसको कारण अरूले नै तपाईंको विश्‍वासबारे प्रश्‍न सोध्नेछन्‌। उदाहरणका लागि, कानुनले रोक्दैन र अनुमति छ भने आफूसित बाइबलआधारित साहित्यहरू लगेर खाजा खाने छुट्टीमा वा पढ्‌न मिल्ने अरू खाली समयमा पढे कसो होला? तपाईंसँगै पढ्‌ने साथीहरूले तपाईंले पढिरहनुभएको कुराबारे सोध्न सक्छन्‌। तिनीहरूको प्रश्‍नको जवाफ दिंदा अनि तपाईंको हातमा भएको लेख वा पुस्तकमा तपाईंले भेट्‌नुभएको रोचक कुराबारे बताउँदा चालै नपाई राम्रो कुराकानी सुरु भइसकेको हुन सक्छ। तपाईंका साथीहरूको विश्‍वासबारे थाह पाउन प्रश्‍न सोध्न नबिर्सनुहोस्‌। उसले व्यक्‍त गरेको विचारको सम्मान गर्दै उसको कुरा सुन्‍नुहोस्‌ र तपाईंले बाइबलबाट सिक्नुभएको कुरा बताउनुहोस्‌। पृष्ठ २९ का अनुभवहरूले देखाएझैं थुप्रै युवाहरूले स्कूलमा परमेश्‍वरको प्रशंसा गरिरहेका छन्‌। यसले तिनीहरूलाई ठूलो आनन्द दिन्छ र यहोवाबारे थाह पाउन धेरै जनालाई मदत गर्छ।

१९. ढोका-ढोकाको सेवकाईमा युवाहरू कसरी अझ प्रभावकारी हुन सक्छन्‌?

१९ ढोका-ढोकाको सेवकाई यहोवाको प्रशंसा गर्ने सबैभन्दा प्रभावकारी तरिका हो। तपाईंले यस काममा भाग लिन थाल्नुभएको छैन भने यसलाई आफ्नो लक्ष्य बनाए कसो होला? यो काम गर्न थालिसक्नुभएको छ भने तपाईंले आफ्नो लागि अन्य थप लक्ष्यहरू राख्न सक्नुहुन्छ कि? उदाहरणका लागि, हरेक ढोकामा एउटै कुरा भन्‍नुको सट्टा सेवकाईमा कामलाग्ने बुँदाहरूबारे आफ्नो आमाबाबुसित सोधेर तथा अन्य अनुभवी व्यक्‍तिहरूसित सल्लाह मागेर प्रगति गर्ने तरिकाहरू खोज्नुहोस्‌। बाइबल धेरैभन्दा धेरै प्रयोग गर्ने, प्रभावकारी पुनःभेटहरू गर्ने अनि बाइबल अध्ययन सुरु गर्ने तरिकाहरू सिक्नुहोस्‌। (१ तिमोथी ४:१५) यी तरिकाहरूमा जति धेरै यहोवाको प्रशंसा गर्नुहुन्छ, तपाईं त्यति नै प्रभावकारी हुनुहुनेछ र आफ्नो सेवकाईबाट त्यति नै धेरै आनन्द उठाउनुहुनेछ।

कहिलेदेखि तपाईंले यहोवाको प्रशंसा गर्न थाल्नुपर्छ?

२०. यहोवाको प्रशंसा गर्न आफू बच्चै छु भनी युवाहरूले किन ठान्‍नु पर्दैन?

२० यस छलफलका तीनवटा प्रश्‍नमध्ये यो अन्तिम प्रश्‍नको जवाफ सबैभन्दा सरल छ। बाइबलको स्पष्ट जवाफ ध्यान दिनुहोस्‌: “आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।” (उपदेशक १२:१) हो, यहोवाको प्रशंसा गर्न थाल्ने समय अहिल्यै हो। तपाईंको मनमा यस्तो लाग्ला: “यहोवाको प्रशंसा गर्न अहिले म सानै छु। मलाई केही अनुभवै छैन। अलि ठूलो भएपछि गरौंला नि।” तपाईंलाई मात्र यस्तो लागेको होइन। उदाहरणका लागि, जवान यर्मियाले यहोवालाई यसो भने: “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्‌, मता बोल्नै जान्दिनँ, किनभने मता बच्चै छु।” डराउनुपर्ने कुनै कारण छैन भनी यहोवाले तिनलाई आश्‍वासन दिनुभयो। (यर्मिया १:६, ७) त्यसै गरी, यहोवाको प्रशंसा गर्दा हामी पनि डराउनुपर्ने कुनै कारण छैन। यस्तो कुनै पनि हानि हामीमाथि आइपर्ने छैन जसबाट यहोवाले हामीलाई बचाउन सक्नुहुन्‍न।—भजन ११८:६.

२१, २२. यहोवाको प्रशंसा गर्ने युवाहरूलाई किन शीतको थोपासित तुलना गरिएको छ र यो तुलना किन प्रोत्साहनदायी छ?

२१ त्यसैले तपाईं युवाहरूलाई हामी यस्तो आग्रह गर्छौं: यहोवाको प्रशंसा गर्न नहिचकिचाउनुहोस्‌! पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काममा भाग लिने सबैभन्दा उपयुक्‍त समय अहिले तपाईं युवा हुँदा नै हो। यसो गर्नुहुँदा तपाईं एउटा अति नै अद्‌भुत कुरा अर्थात्‌ यहोवाको प्रशंसा गरिरहेका व्यक्‍तिहरूको विश्‍वव्यापी परिवारको भाग हुनुहुनेछ। तपाईं पनि यस परिवारमा सामेल हुँदा यहोवा खुसी हुनुहुन्छ। यहोवालाई सम्बोधन गर्दै भजनहारले व्यक्‍त गरेका यी प्रेरित शब्दहरू विचार गर्नुहोस्‌: “तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌, पवित्र पोशाकमा बिहानको गर्भबाट, शीतजस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ।”—भजन ११०:३.

२२ बिहानीको घामको किरणमा टल्किरहेका शीतका थोपाहरू एकदमै सुन्दर देखिन्छन्‌ नि, होइन र? ती स्फूर्तिदायी, चम्किला र गन्‍नै नसकिने गरी असंख्य हुन्छन्‌। अहिलेको डरलाग्दो समयमा विश्‍वासीपूर्वक यहोवाको प्रशंसा गरिरहेका तपाईं युवाहरूलाई पनि उहाँले यस्तै दृष्टिकोणले हेर्नुहुन्छ। कुरा स्पष्ट छ, यहोवाको प्रशंसा गर्ने तपाईंको छनोटले उहाँको हृदयलाई आनन्दित तुल्याउँछ। (हितोपदेश २७:११) त्यसैले युवाहरू हो, जसरी भए पनि यहोवाको प्रशंसा गर्नुहोस्‌!

तपाईं कसरी जवाफ दिनुहुन्छ?

• यहोवाको प्रशंसा गर्नुपर्ने केही महत्त्वपूर्ण कारणहरू के-के हुन्‌?

• यहोवाको प्रशंसा गर्नमा युवाहरू असाध्यै प्रभावकारी हुन सक्छन्‌ भनी कस्ता बाइबल उदाहरणहरूले देखाउँछ?

• आज युवाहरूले कसरी यहोवाको प्रशंसा गर्न सक्छन्‌?

• युवाहरूले कुन उमेरदेखि यहोवाको प्रशंसा गर्न थाल्नुपर्छ र किन?

[प्रश्‍नहरू]

[पृष्ठ २५-मा भएका चित्रहरू]

तपाईंको साथी कुनै काममा अत्यन्तै पोख्त छ भने यो कुरा के तपाईं अरूलाई बताउनुहुन्‍न र?

[पृष्ठ २७-मा भएको चित्र]

तपाईंसँगै पढ्‌ने साथीहरूलाई तपाईंको विश्‍वासबारे चासो लाग्न सक्छ

[पृष्ठ २८-मा भएको चित्र]

तपाईं आफ्नो सेवकाईमा प्रगति गर्न चाहनुहुन्छ भने आफूभन्दा अनुभवी साक्षीहरूसित सल्लाह माग्नुहोस्‌