सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“जसले कल्याणको शुभ समाचार ल्याउँछ”

“जसले कल्याणको शुभ समाचार ल्याउँछ”

“जसले कल्याणको शुभ समाचार ल्याउँछ”

“शुभ समाचार ल्याउनेको खुट्टा डाँडाहरू हुँदो कति सुन्दर छ, . . . जसले कल्याणको शुभ समाचार ल्याउँछ।”—यशैया ५२:७.

१, २. (क) अहिले संसारमा दिनहुँ कस्ता डरलाग्दा कुराहरू भइरहेका छन्‌? (ख) दिनरात नराम्रो समाचार सुन्‍नुपर्दा धेरै जना मानिसहरू कस्तो प्रतिक्रिया देखाउँछन्‌?

 अहिले संसारभरका मानिसहरू नराम्रो समाचार मात्र सुनेर वाक्कै भइसकेका छन्‌। रेडियो खोल्ने बित्तिकै संसारलाई पिरोलिरहेका प्राणघातक रोगहरूबारे डरलाग्दा रिपोर्टहरू सुनिन्छ। टेलिभिजनमा समाचार हेर्न बस्यो कि दयाको भीख मागिरहेका भोका बच्चाहरूको मार्मिक दृश्‍य देखिन्छ। अखबार पल्टाएको मात्र के हुन्छ, बम विस्फोटद्वारा भवन ध्वस्त भई थुप्रै निर्दोष मानिसहरूको ज्यान गएको समाचार हुन्छ।

हो, अहिले संसारमा दिनहुँ डरलाग्दा घटनाहरू भइरहेका छन्‌। यस संसारको रूप साँच्चै परिवर्तन हुँदैछ र झन्‌-झन्‌ कुरूप बन्दैछ। (१ कोरिन्थी ७:३१) कहिलेकाहीं त सारा संसार नै “दनदनी बलेको आगोमा भस्म हुन आँटेको” जस्तो देखिन्छ भनी पश्‍चिमी युरोपबाट प्रकाशित हुने एउटा खबर पत्रिकाले टिप्पणी गऱ्‍यो। यसैकारण झन्‌-झन्‌ धेरै मानिसहरू हतास हुनु कुनै अनौठो कुरा होइन! संयुक्‍त राज्य अमेरिकामा टेलिभिजन समाचारहरूसम्बन्धी एउटा सर्वेक्षणमा एक जना व्यक्‍तिले गरेको यो टिप्पणीले करोडौं मानिसहरूको भावना झल्काउँछ: ‘टिभीमा समाचार हेरेपछि मलाई घोर निराशाले छोप्छ। नराम्रा समाचारहरू सिवाय अरू केही छैन। आङै सिरिङ्‌ङ हुन्छ।’

सबैले सुन्‍नुपर्ने समाचार

३. (क) बाइबलले कस्तो शुभ समाचार घोषणा गर्छ? (ख) परमेश्‍वरको राज्यसम्बन्धी सुसमाचारलाई तपाईं किन मूल्यवान्‌ ठान्‍नुहुन्छ?

यस्तो उराठलाग्दो संसारमा पनि राम्रो समाचार पाउन सकिन्छ र? अवश्‍य पाउन सकिन्छ! बाइबलले शुभ समाचार घोषणा गर्छ भनेर थाह पाउनु सान्त्वनादायी कुरा हो। यो समाचार परमेश्‍वरको राज्यले रोगबिमार, भोक, अपराध, युद्ध र सबै प्रकारका अत्याचार अन्त गर्ने सन्देश हो। (भजन ४६:९; ७२:१२) के यो सबैले सुन्‍नुपर्ने समाचार होइन र? यहोवाका साक्षीहरूलाई यस्तै लाग्छ। त्यसकारण, तिनीहरू सबै राष्ट्रका मानिसहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार सुनाउन अथक प्रयास गरिरहने व्यक्‍तिहरू भनी संसारभरि परिचित छन्‌।—मत्ती २४:१४.

४. यस लेख र अर्को लेखमा हाम्रो सेवकाईका कुन-कुन पक्षहरू छलफल गर्नेछौं?

हामीले सुनाउने यो सुसमाचारलाई त्यति नस्वीकार्ने इलाकाहरूमा समेत अर्थपूर्ण ढङ्‌गमा प्रचार गरिरहन र सन्तुष्टि प्राप्त गरिरहन हामी के गर्न सक्छौं? (लूका ८:१५) यस विषयमा हाम्रो प्रचारकार्यको तीनवटा महत्त्वपूर्ण पक्षलाई छोटकरीमा केलाउँदा हामी पक्कै मदत पाउनेछौं। हामी यी कुराहरू केलाउन सक्छौं: (१) हाम्रो मनोवृत्ति अथवा हामी किन प्रचार गर्छौं; (२) हाम्रो सन्देश अथवा हामी के प्रचार गर्छौं; अनि (३) हामीले अपनाउने तरिकाहरू अथवा हामी कसरी प्रचार गर्छौं। सही मनोवृत्ति राखेर, सन्देशलाई स्पष्ट बनाएर अनि प्रभावकारी तरिकाहरू अपनाएर संसारमा रहेका विभिन्‍न प्रकारका मानिसहरूलाई आज उपलब्ध समाचारहरूमध्ये सर्वोत्तम समाचार अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार सुन्‍ने मौका हामी दिनेछौं। a

सुसमाचार प्रचारकार्यमा हामी किन भाग लिन्छौं

५. (क) हामीलाई सेवकाईमा भाग लिन उत्प्रेरित गर्ने मुख्य कारण के हो? (ख) प्रचार गर भन्‍ने बाइबलको आज्ञा पालन गर्नु नै परमेश्‍वरप्रति हाम्रो प्रेमको अभिव्यक्‍ति हो भनेर किन भन्‍न सकिन्छ?

आउनुहोस्‌, पहिलो पक्ष अर्थात्‌ हाम्रो मनोवृत्तिलाई विचार गरौं। हामी सुसमाचार किन प्रचार गर्छौं? जुन कारणले येशूले प्रचार गर्नुभएको थियो, त्यही कारणले गर्दा। उहाँले यसो भन्‍नुभयो: “म पितालाई प्रेम गर्दछु।” (यूहन्‍ना १४:३१; भजन ४०:८) सबैभन्दा मुख्य कारण, परमेश्‍वरप्रति हाम्रो प्रेमले गर्दा हामी उत्प्रेरित भएका छौं। (मत्ती २२:३७, ३८) परमेश्‍वरप्रति प्रेम र सेवकाईबीच सम्बन्ध देखाउँदै बाइबल यसो भन्छ: “हामीले उहाँका आज्ञा पालन गर्नुनै परमेश्‍वरप्रति प्रेम हो।” (१ यूहन्‍ना ५:३; यूहन्‍ना १४:२१) के परमेश्‍वरका आज्ञाहरूमा ‘गएर चेला बनाउने’ काम पनि समावेश छ? (मत्ती २८:१९) छ। हुन त, यी शब्दहरू येशूले भन्‍नुभएको थियो तर त्यसको मूल स्रोत भने यहोवा नै हुनुहुन्थ्यो। हामी यो कसरी भन्‍न सक्छौं? येशूले यसरी बुझाउनुभयो: “म आफै केही गर्दिनँ, तर जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा बोल्दछु।” (यूहन्‍ना ८:२८; मत्ती १७:५) त्यसैले, प्रचार गर्ने आज्ञा पालन गरेर हामी यहोवालाई प्रेम गर्छौं भनेर देखाउँछौं।

६. परमेश्‍वरप्रतिको प्रेमले हामीलाई प्रचार गर्न कुन-कुन तरिकामा उत्प्रेरित गर्छ?

साथै, यहोवाप्रतिको प्रेमले हामीलाई प्रचार गर्न उत्प्रेरित गर्छ किनभने शैतानले उहाँ विरुद्ध फैलाइरहेको झूटलाई हामी गलत ठहराउन चाहन्छौं। (२ कोरिन्थी ४:४) परमेश्‍वरको शासनको धार्मिकतामाथि शैतानले प्रश्‍न खडा गरेको छ। (उत्पत्ति ३:१-५) यहोवाका साक्षीहरूको हैसियतमा सारा मानिसजातिको सामु शैतानको झूट पर्दाफास गर्न र परमेश्‍वरको नाउँ पवित्र पार्ने काममा भाग लिन हामी तिर्सना गर्छौं। (यशैया ४३:१०-१२) यसबाहेक, यहोवाका गुण तथा उहाँका तौरतरिकाबारे थाह पाएको हुनाले पनि हामी सेवकाईमा भाग लिन्छौं। हामी उहाँसित नजिक महसुस गर्छौं अनि यहोवा परमेश्‍वरबारे अरूलाई बताउने उत्कट चाहना गर्छौं। वास्तवमा, यहोवाको भलाइ र उहाँका धार्मिक मार्गहरूले हामीलाई असीम आनन्द दिने हुँदा हामी उहाँबारे कुरा नगरी चुपो लागेर बस्नै सक्दैनौं। (भजन १४५:७ -१२) सुन्‍न चाहने व्यक्‍तिहरूलाई उहाँको प्रशंसा गर्न अनि उहाँको “सर्वश्रेष्ठता[बारे]” बताउन हामी बाध्य महसुस गर्छौं।—१ पत्रुस २:९; यशैया ४३:२१.

७. परमेश्‍वरप्रतिको प्रेमबाहेक हामीले प्रचारकार्यमा भाग लिनुको अर्को महत्त्वपूर्ण कारण के हो?

सेवकाईमा निरन्तर भाग लिइरहनुको अर्को पनि एउटा महत्त्वपूर्ण कारण छ: नराम्रो समाचार मात्र सुनेर वाक्क भइसकेका अनि कुनै न कुनै कारणले गर्दा दुःख भोगिरहेका व्यक्‍तिहरूलाई हामी साँच्चै सान्त्वना दिन चाहन्छौं। यसरी हामी येशूको अनुकरण गर्ने कोसिस गर्छौं। उदाहरणका लागि, मर्कूस अध्याय ६ मा दिइएको विवरणलाई हेर्नुहोस्‌।

८. मानिसहरूप्रति येशूका भावनाहरूबारे मर्कूस अध्याय ६ को विवरणले के देखाउँछ?

यस विवरणअनुसार प्रेरितहरू प्रचारबाट फर्केपछि आफूले गरेका अनि सिकाएका सबै कुराहरू येशूलाई बताउँछन्‌। प्रेरितहरू थाकेको येशूले देख्नुहुन्छ अनि उहाँसँगै केही बेर ‘थकाइ मार्न’ बोलाउनुहुन्छ। त्यसैले उहाँहरू डुङ्‌गा चढेर एउटा एकान्त ठाउँतिर लाग्नुहुन्छ। मानिसहरू उहाँहरूको पछिपछि किनारै-किनार दौडन थाल्छन्‌ र चाँडै उहाँहरूलाई भेट्टाइहाल्छन्‌। येशू के गर्नुहुन्छ? विवरण यसो भन्छ: उहाँले “एउटा ठूलो भीड देख्नुभयो, र तिनीहरूमाथि टिठाउनुभयो। किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए। र उहाँले तिनीहरूलाई धेरै कुराको शिक्षा दिन लाग्नुभयो।” (छड्‌के अक्षर हाम्रो, मर्कूस ६:३१-३४) भीडलाई देखेर टिठाउनुभएको अर्थात्‌ दयाले भरिनुभएको हुँदा आफू थकित हुनु भए तापनि येशू फेरि सुसमाचार सुनाउन थाल्नुहुन्छ। हो, यी मानिसहरूलाई देखेर येशूको मन साँच्चै पग्लन्छ। तिनीहरूप्रति उहाँ अनुकम्पा महसुस गर्नुहुन्छ।

९. प्रचार गर्नुको सही मनोवृत्तिबारे मर्कूस अध्याय ६ बाट हामी के सिक्छौं?

यस विवरणबाट हामी के सिक्छौं? मसीहीहरूको हैसियतमा हामी सुसमाचार प्रचार गर्ने अनि चेला बनाउने दायित्व महसुस गर्छौं। सुसमाचार घोषणा गर्ने हाम्रो जिम्मेवारीलाई हामीले बुझेका छौं किनभने “सबै मानिसहरूले उद्धार पाऊन्‌” भन्‍ने परमेश्‍वरको इच्छा छ। (१ तिमोथी २:४) तर गर्नै पर्छ भन्‍ने कर्तव्यबोधले गर्दा मात्र नभई अनुकम्पाले गर्दा हामी सेवकाईमा भाग लिन्छौं। येशूजस्तै हामी पनि मानिसहरूप्रति टिठाउँछौं भने उनीहरूलाई सुसमाचार सुनाइरहन जतिसक्दो गर्न हाम्रो हृदयले हामीलाई उत्प्रेरित गर्नेछ। (मत्ती २२:३९) यस्तो असल मनसाय राखेर सेवकाईमा भाग लिंदा ढिलासुस्ती नगरी सुसमाचार प्रचार गरिरहन हामी उत्प्रेरित हुनेछौं।

हाम्रो सन्देश—परमेश्‍वरको राज्यको सुसमाचार

१०, ११. (क) हामीले प्रचार गर्ने सन्देशलाई यशैया कसरी वर्णन गर्छन्‌? (ख) येशूले कसरी कल्याणको शुभ समाचार ल्याउनुभयो अनि आधुनिक समयमा परमेश्‍वरका सेवकहरूले कसरी येशूको उदाहरण पछ्याएका छन्‌?

१० हाम्रो सेवकाईको दोस्रो पक्ष अर्थात्‌ हाम्रो सन्देशबारे के भन्‍न सकिन्छ? हामी के प्रचार गर्छौं? हामीले घोषणा गर्ने सन्देशबारे अगमवक्‍ता यशैयाले यस्तो सुन्दर ढङ्‌गमा वर्णन गरे: “शुभ समाचार ल्याउनेको खुट्टा डाँडाहरू हुँदो कति सुन्दर छ, जसले शान्तिको प्रचार गर्दछ, जसले कल्याणको शुभ समाचार ल्याउँछ, जसले मुक्‍तिको प्रचार गर्दछ, जसले सियोनलाई भन्दछ, ‘तेरा परमेश्‍वर राज्य गर्नुहुन्छ।’ ”—यशैया ५२:७.

११ उक्‍त शास्त्रपदमा दिइएको “तेरा परमेश्‍वर राज्य गर्नुहुन्छ” भन्‍ने मुख्य अभिव्यक्‍तिले हामीले घोषणा नगरी नहुने सन्देशको सम्झना गराउँछ। त्यो हो—परमेश्‍वरको राज्यको सुसमाचार। (मर्कूस १३:१०) याद गर्नुहोस्‌, यस पदले हाम्रो सन्देशको सकारात्मक पक्षलाई पनि प्रकट गर्छ। यशैयाले “मुक्‍ति,” “शुभ समाचार,” “शान्ति” र “कल्याण” जस्ता अभिव्यक्‍तिहरू प्रयोग गरेका छन्‌। यशैयाभन्दा शताब्दीयौंपछि सा.यु. प्रथम शताब्दीमा येशू ख्रीष्टले कल्याणको शुभ समाचार अर्थात्‌ आउँदै गरेको परमेश्‍वरको राज्यबारे प्रचार गर्न जोसिलो उदाहरण बसाल्नुभएर यो भविष्यवाणी अत्यन्तै उल्लेखनीय ढङ्‌गमा पूरा गर्नुभयो। (लूका ४:४३) आधुनिक समयमा विशेष गरी सन्‌ १९१९ देखि यता यहोवाका साक्षीहरूले परमेश्‍वरको स्थापित राज्य र यसले ल्याउने आशिष्‌हरूसित सम्बन्धित सुसमाचार जोसिलो भई घोषणा गरेर येशूको उदाहरण पछ्याएका छन्‌।

१२. परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार्नेहरूलाई यसले कस्तो असर गर्छ?

१२ परमेश्‍वरको राज्यको सुसमाचार स्वीकार्नेहरूलाई यसले कस्तो असर गर्छ? येशूको समयमा जस्तै आज पनि सुसमाचारले आशा र सान्त्वना दिन्छ। (रोमी १२:१२; १५:४) यसले इमानदार हृदय भएका मानिसहरूलाई आशा दिन्छ किनभने भविष्यमा राम्रो समय आउनेछ भनेर विश्‍वास गर्न सकिने ठोस कारणहरू छन्‌ भनेर तिनीहरूले सिक्छन्‌। (मत्ती ६:९, १०; २ पत्रुस ३:१३) यस्तो आशाले ईश्‍वरभीरु मानिसहरूलाई सकारात्मक मनोवृत्ति कायम राख्न निकै मदत गर्छ। भजनहारले भनेझैं तिनीहरू ‘नराम्रो खबरले डराउनेछैनन्‌।’—भजन ११२:१, ७.

“मन भाँचिएकाहरूको हृदयलाई निको” पार्ने सन्देश

१३. सुसमाचार स्वीकार्नेहरूले तत्काल पाउने आशिष्‌हरूबारे अगमवक्‍ता यशैया कसरी वर्णन गर्छन्‌?

१३ साथै, हामीले प्रचार गर्ने सुसमाचार स्वीकार्नेहरूले तत्काल राहत र आशिष्‌हरू पाउँछन्‌। कसरी? केही आशिष्‌हरूबारे सङ्‌केत गर्दै अगमवक्‍ता यशैयाले यस्तो भविष्यवाणी गरे: “परमप्रभु परमेश्‍वरको आत्मा ममाथि छ, किनकि नम्रहरूलाई सुसमाचार सुनाउनलाई परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई निको पार्नलाई, कैदमा परेकाहरूलाई स्वतन्त्रता र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नलाई पठाउनुभएको छ। परमप्रभुको ग्रहणयोग्य वर्ष र हाम्रा परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्नलाई, सबै विलाप गर्नेहरूलाई सान्त्वना दिनलाई।”—यशैया ६१:१, २; लूका ४:१६-२१.

१४. (क) “मन भाँचिएकाहरूको हृदयलाई निको” पार्ने भन्‍ने अभिव्यक्‍तिले परमेश्‍वरको राज्यसन्देशबारे कुन कुरा देखाउँछ? (ख) मन भाँचिएकाहरूप्रति हामी कसरी यहोवाले जस्तै चासो देखाउँछौं?

१४ त्यस भविष्यवाणीअनुसार सुसमाचारको प्रचारकार्यमार्फत येशूले “मन भाँचिएकाहरूको हृदयलाई निको” पार्नुहुनेछ। यशैयाले कस्तो जीवन्त वर्णन गरे! एउटा बाइबल शब्दकोशअनुसार “निको पार्न” भनी अनुवाद गरिएको हिब्रू शब्द “अक्सर ‘पट्टी बाँध्ने’ भन्‍ने अर्थ बुझाउन प्रयोग गरिन्छ अनि यसो गर्दा औषधी लाग्नुका साथै घाउ निको हुन्छ।” एक जना मायालु नर्सले बिरामीको घाउ भएको ठाउँमा आड दिनको लागि पट्टी बाँधिदिन्छिन्‌। त्यसरी नै भावनात्मक, शारीरिक र आध्यात्मिक तवरमा घाइते भएकाहरूलाई राज्यसन्देश प्रचार गर्दा मायालु प्रकाशकहरूले आवश्‍यक सहयोग दिन्छन्‌। अनि खाँचोमा परेकाहरूलाई सहयोग दिंदा यहोवाले देखाउनुहुने जस्तै चासो तिनीहरूले देखाइरहेका हुन्छन्‌। (इजकिएल ३४:१५, १६) परमेश्‍वरबारे भजनहार यसो भन्छन्‌: “उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ, र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ।”—भजन १४७:३.

राज्यसन्देशले कसरी असर गर्छ

१५, १६. मन भाँचिएका व्यक्‍तिहरूलाई राज्यसन्देशले सँभाल्छ र बल दिन्छ भन्‍ने कुरा कस्ता वास्तविक उदाहरणहरूले देखाउँछ?

१५ मन भाँचिएकाहरूको हृदयलाई राज्यसन्देशले साँच्चै सँभाल्छ र बल दिन्छ भनेर देखाउने वास्तविक अनुभवहरू थुप्रै छन्‌। दक्षिण अमेरिकाकी ओरियाना नाउँकी वृद्धालाई विचार गर्नुहोस्‌ जसले जीवनदेखि हरेस खाइसकेकी थिइन्‌। एक जना यहोवाको साक्षीले ओरियानासित भेटेर बाइबल अनि बाइबलका कथाहरू भएको मेरो पुस्तक भन्‍ने प्रकाशनबाट पढेर सुनाउन थालिन्‌। b निराश भएकी यी वृद्धा सुरुमा त ओछ्यानमै ढल्केर आँखा चिम्लेर सुनिरहन्थिन्‌ अनि बेलाबेलामा लामो सुस्केरा हाल्थिन्‌। तर केही समयपछि भने उनले पढुन्जेल ओछ्यानमै टुक्रुक्क बस्ने कोसिस गर्न थालिन्‌। अलि पछि त उनी आफ्नो बाइबल शिक्षकलाई पर्खंदै बैठक कोठाको मेचमा बस्न थालिन्‌। अनि यी वृद्धा राज्यभवनमा हुने मसीही सभाहरूमा उपस्थित हुन थालिन्‌। यी जमघटहरूमा आफूले सिकेका कुराहरूबाट प्रोत्साहित भएर तिनले आफ्नो घरको बाटो भएर जाने बटुवाहरूलाई बाइबल साहित्यहरू दिन थालिन्‌। अनि ९३ वर्षको उमेरमा ओरियानाले यहोवाको साक्षीको रूपमा बप्तिस्मा लिइन्‌। राज्यसन्देशले ओरियानाको जीवनमा फेरि जिउने आशा जगाइदियो।—हितोपदेश १५:३०; १६:२४.

१६ कुनै रोगबिमारले गर्दा आफ्नो जीवन अब धेरै बाँकी छैन भनेर थाह पाएकाहरूलाई समेत राज्यसन्देशले सँभाल्छ। उदाहरणको लागि, पश्‍चिम युरोपकी मारियालाई लिनुहोस्‌। उनलाई एउटा प्राणघातक रोग लागेको थियो र उनले सबै आशा मारिसकेकी थिइन्‌। यहोवाका साक्षीहरूले उनलाई भेट्‌दा, उनी असाध्यै निराश थिइन्‌। तर परमेश्‍वरका उद्देश्‍यहरूबारे सिक्दै गएपछि उनको जीवन फेरि अर्थपूर्ण भयो। उनले बप्तिस्मा लिइन्‌ अनि प्रचारकार्यमा एकदमै सक्रिय भइन्‌। आफ्नो जीवनका अन्तिम दुई वर्षहरूमा उनको आँखामा आशा र आनन्दको एउटा बेग्लै चमक थियो। पुनरुत्थानको दृढ आशा लिएर मारिया मरिन्‌।—रोमी ८:३८, ३९.

१७. (क) राज्यसन्देश स्वीकार्नेहरूको जीवनमा यसले कस्तो असर पारिरहेको छ? (ख) यहोवाले “निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ” भन्‍ने कुरा तपाईंले व्यक्‍तिगत तवरमा कुन-कुन तरिकामा अनुभव गर्नुभएको छ?

१७ यस्ता रिपोर्टहरूले बाइबल सच्चाइको लागि तिर्सना गर्ने व्यक्‍तिहरूको जीवनमा राज्यसन्देशले कत्तिको असर गर्न सक्छ भन्‍ने प्रमाण दिन्छ। आफ्नो प्रियजनको मृत्युले गर्दा शोकमा डुबेका व्यक्‍तिहरूले पुनरुत्थानको आशाबारे सिकेर नयाँ बल प्राप्त गर्छन्‌। (१ थिस्सलोनिकी ४:१३) गरिबीको चपेटामा परेका अनि आफ्नो परिवारको हातमुख जोर्न कडा सङ्‌घर्ष गरिरहेका व्यक्‍तिहरूले यदि तिनीहरू यहोवाप्रति वफादार रहिरहेमा उहाँले तिनीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भनेर सिक्दा आत्मसम्मान र साहस पाउँछन्‌। (भजन ३७:२८) निराशाले गर्दा अति विचलित भएका थुप्रै व्यक्‍तिहरूले पनि यहोवाको मदत पाएर बिस्तारै-बिस्तारै निराशाको सामना गर्ने बल पाउँछन्‌ अनि कुनै कुनै अवस्थामा त आफ्नो निराशालाई हटाउन समेत सकेका छन्‌। (भजन ४०:१, २) निस्सन्देह, यहोवाले आफ्नो वचनमार्फत दिनुहुने शक्‍तिद्वारा उहाँ अहिले “निहुरेकाहरू सबैलाई उठाउनुहुन्छ।” (भजन १४५:१४) हाम्रो इलाका अनि मसीही मण्डलीमा मन भाँचिएकाहरूलाई राज्यको सुसमाचारले दिएको सान्त्वना देख्दा हामीसित अहिले उपलब्ध सर्वोत्तम सन्देश छ भन्‍ने कुरामा हामी फेरि-फेरि पनि विश्‍वस्त हुन्छौं!—भजन ५१:१७.

“तिनीहरूका निम्ति परमेश्‍वरमा मेरो अन्तरबिन्ती”

१८. यहूदीहरूले सुसमाचार नस्वीकार्दा पावललाई कस्तो लाग्यो र किन?

१८ हामीले सुनाउने सन्देशमा सर्वोत्तम समाचार भए तापनि थुप्रैले यसलाई स्वीकार्दैनन्‌। यसले हामीमाथि कस्तो असर पार्न सक्छ? प्रेरित पावललाई जस्तै। तिनले अक्सर यहूदीहरूलाई प्रचार गरे तर उनीहरूमध्ये प्रायजसोले उद्धारको यो सन्देशलाई स्वीकारेनन्‌। यसरी स्वीकार नगर्दा पावललाई निकै असर गऱ्‍यो। तिनले यसरी मानिलिए: “मलाई ठूलो अफसोस छ, र मेरो हृदयमा असह्‍य पीडा छ।” (रोमी ९:२) आफूले प्रचार गरेका यहूदीहरूप्रति पावलले अनुकम्पा महसुस गरे। उनीहरूले सुसमाचार नस्वीकार्दा पावल अत्यन्तै दुःखी भए।

१९. (क) हामीले कहिलेकाहीं निराश महसुस गर्नु किन स्वाभाविकै हो? (ख) प्रचारकार्यमा लागिरहन पावललाई कुन कुराले मदत गऱ्‍यो?

१९ अनुकम्पाले गर्दा हामी पनि मानिसहरूलाई सुसमाचार प्रचार गर्छौं। यसकारण धेरै मानिसहरूले राज्यसन्देशलाई नस्वीकार्दा हामी निराश हुनु स्वाभाविकै हो। यस्तो प्रतिक्रियाले के देखाउँछ भने, हामी ज-जसलाई सुसमाचार प्रचार गर्छौं, उनीहरूको आध्यात्मिक हितमा साँचो चासो राख्छौं। तथापि, हामीले प्रेरित पावलको उदाहरण सम्झनुपर्छ। प्रचारकार्यमा लागिरहन तिनलाई कुन कुराले मदत गऱ्‍यो? यहूदीहरूले सुसमाचार नस्वीकार्दा पावललाई अफसोस लाग्नुका साथै पीडा भए तापनि यहूदीहरू सबैले यस्तै प्रतिक्रिया देखाउनेछन्‌ र उनीहरूलाई कुनै हालतमा मदत गर्न सकिंदैन भनेर पावलले हरेस खाएनन्‌। उनीहरूमध्ये कोही-कोहीले ख्रीष्टलाई स्वीकार्नेछन्‌ भन्‍ने आशा पावलसित थियो। त्यसकारण व्यक्‍तिविशेषको रूपमा यहूदीहरूप्रति आफ्नो भावनालाई पावलले यसरी व्यक्‍त गरे: “मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्‍वरमा मेरो अन्तरबिन्ती यही छ, कि तिनीहरूले उद्धार पाऊन्‌।”—रोमी १०:१.

२०, २१. (क) हाम्रो सेवकाईको सन्दर्भमा हामी कसरी पावलको उदाहरण पछ्याउन सक्छौं? (ख) अर्को लेखमा हाम्रो सेवकाईको कुन पक्षबारे छलफल गरिनेछ?

२० पावलले जोड दिएका दुइटा कुरालाई ध्यान दिनुहोस्‌। कोही-कोही व्यक्‍तिहरूले उद्धार पाऊन्‌ भन्‍ने तिनको हृदयको इच्छा थियो अनि यसको लागि तिनले परमेश्‍वरलाई अन्तरबिन्ती गरे। आज, हामी पनि पावलको उदाहरण पछ्याउँछौं। सुसमाचारप्रति सही मनसाय भएका व्यक्‍तिहरू अझै पनि छन्‌ कि भनेर भेट्टाउन हामी भित्री इच्छा राख्छौं। त्यस्ता व्यक्‍तिहरू भेट्टाउन सकौं भनेर हामी यहोवालाई प्रार्थना गरिरहन्छौं ताकि उद्धारतर्फ लैजाने बाटोमा हिंड्‌न हामी उनीहरूलाई मदत गर्न सक्नेछौं।—हितोपदेश ११:३०; इजकिएल ३३:११; यूहन्‍ना ६:४४.

२१ तैपनि, सकेसम्म धेरै मानिसहरूलाई राज्यसन्देश सुनाउन हामी किनके प्रचार गर्छौं भन्‍ने कुरामा मात्र होइन तर कसरी प्रचार गर्छौं, त्यसमा पनि ध्यान दिनुपर्छ। यस विषयबारे अर्को लेखमा छलफल गरिनेछ।

[फुटनोटहरू]

a यस लेखले सुरुको दुइटा पक्ष छलफल गर्नेछ। दोस्रो लेखले तेस्रो पक्षबारे छलफल गर्नेछ।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

तपाईंले के-के सिक्नुभयो?

• हामीले सेवकाईमा भाग लिनुका कारणहरू के-के हुन्‌?

• हामीले प्रचार गर्ने मुख्य सन्देश के हो?

• राज्यसन्देश स्वीकार्नेहरूले कस्ता आशिष्‌हरू पाउँछन्‌?

• सेवकाईमा लागिरहन हामीलाई कुन कुराले मदत गर्नेछ?

[प्रश्‍नहरू]

[पृष्ठ १८-मा भएका चित्रहरू]

मन भाँचिएकाहरूलाई राज्यसन्देशले बल दिन्छ

[पृष्ठ २०-मा भएका चित्रहरू]

प्रार्थनाले हामीलाई प्रचारकार्यमा लागिरहन मदत गर्छ