सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तिनीहरू राजी-खुसी आफूलाई अर्पण गर्दैछन्‌

तिनीहरू राजी-खुसी आफूलाई अर्पण गर्दैछन्‌

तिनीहरू राजी-खुसी आफूलाई अर्पण गर्दैछन्‌

“तिम्रो प्रजाले राजी-खुशीले आफैलाई अर्पण गर्नेछन्‌।” (भजन ११०:३) वाचटावर बाइबल स्कूल अफ गिलियडका ११८ औं कक्षाका ४६ विद्यार्थीहरूका लागि यी शब्दहरूले विशेष अर्थ राख्छ। विदेशी भूमिका मानिसहरूको आध्यात्मिक आवश्‍यकता पूरा गर्न सम्भाव्य मिसनरीहरूलाई प्रशिक्षण दिने यस स्कूलमा भाग लिन तिनीहरूले कसरी आफूलाई तयार पारे? यस ११८ औं कक्षाका सदस्यहरू माइक र स्टेसीले यसो भने: “सरल जीवन जीउने हाम्रो निर्णयले आफ्नो ध्यान यताउता नअलमल्याउन र आध्यात्मिकतामा केन्द्रित गर्न हामीलाई मदत गऱ्‍यो। व्यापारजगत्‌मा हामीले पाएको सफलतालाई आध्यात्मिक लक्ष्यहरूमा बाधा बन्‍न नदिन हामी कटिबद्ध थियौं।” माइक र स्टेसी जस्तै यस कक्षाका अरू विद्यार्थीहरूले राजी-खुसी आफैलाई अर्पण गरे र हाल तिनीहरू चारवटा महादेशमा राज्य उद्‌घोषकको रूपमा सेवा गर्न तयार छन्‌।

शनिबार, मार्च १२ २००५ मा ६,८४३ स्रोताहरूले प्रसन्‍नचित्त भएर दीक्षान्त कार्यक्रम सुने। यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य थिओडर जारासले कार्यक्रमको अध्यक्षता गरे। विभिन्‍न २८ मुलुकबाट आएका अतिथिहरूलाई न्यानो स्वागत गरिसकेपछि उनले बाइबल शिक्षाको महत्त्वमा ध्यान केन्द्रित गरे। एक अमेरिकी शिक्षाविद्‌ विलियम लिओन फेल्प्स्‌को भनाइ उद्धृत गर्दै उनले भने: “बाइबलको विस्तृत ज्ञान हुने व्यक्‍तिहरूलाई साँचो अर्थमा शिक्षित भन्‍न सकिन्छ।” अरू शिक्षाहरू उपयोगी हुन सक्ने भए तापनि बाइबलको शिक्षा सर्वोत्कृष्ट छ। यसले मानिसहरूलाई अनन्त जीवनतर्फ लैजाने परमेश्‍वरको ज्ञान प्राप्त गर्न मदत गर्छ। (यूहन्‍ना १७:३) विश्‍वभर रहेका यहोवाका साक्षीहरूका ९८,००० भन्दा धेरै मण्डलीहरूमा सञ्चालन हुने विश्‍वव्यापी बाइबल शैक्षिक कार्यक्रममा ठूलो योगदान दिन स्नातकहरूले देखाएको इच्छुकताको भाइ जारासले प्रशंसा गरे।

स्नातकहरूका लागि सामयिक प्रोत्साहन

अध्यक्षको स्वागत मन्तव्यपछि विलियम स्यामूएल्सनले “तपाईं कसरी परमेश्‍वरको भवनमा हरियो भद्राक्षको बोटजस्तै हुन सक्नुहुन्छ” भन्‍ने विषयमा भाषण दिए जुन भजन ५२:८ मा आधारित थियो। बाइबलमा भद्राक्षको रूखलाई फलदायी, सुन्दरता र मर्यादाको प्रतीकको रूपमा प्रयोग गरिएको छ भनी उनले औंल्याए। (यर्मिया ११:१६) विद्यार्थीहरूलाई भद्राक्षको रूखसित तुलना गर्दै वक्‍ताले यसो भने: “आफ्नो मिसनरी कार्यभारमा राज्यप्रचारको कामलाई विश्‍वासी भई सँभाल्दा यहोवाले तपाईंहरूलाई सुन्दर र मर्यादित ठान्‍नुहुनेछ।” खडेरीको बेला जीवित रहन जसरी भद्राक्षको रूखको जरा एकदमै फैलिएको हुनुपर्छ, त्यसरी नै विदेशी सेवामा सामना गर्नुपर्ने भावशून्यता, विरोध अथवा अन्य परीक्षाहरू सहन विद्यार्थीहरूले आफ्ना आध्यात्मिक जराहरूलाई बलियो बनाउनु आवश्‍यक छ।—मत्ती १३:२१; कलस्सी २:६, ७.

कार्यक्रममा सहभागी परिचालक निकायका तीन सदस्यहरू मध्येका एक जोन इ. बारले “तिमीहरू पृथ्वीका नून हौ” शीर्षकमा भाषण दिए। (मत्ती ५:१३) जसरी नुनले भोजन कुहिन दिंदैन त्यसरी नै परमेश्‍वरको राज्यबारे मिसनरीहरूको प्रचारकार्यले सुन्‍नेहरूलाई नैतिक र आध्यात्मिक रूपमा कुहिनदेखि जोगाएर तिनीहरूको जीवन बचाउनेछ। त्यसपछि मायालु भावमा भाइ बारले स्नातकहरूलाई आपसमा ‘मिलिरहनुहोस्‌’ भनेर आग्रह गरे। (मर्कूस ९:५०) उनले यस्तो सल्लाह दिए, “आत्माको फल खेती गर्नुहोस्‌ र तपाईंको आचरण तथा बोली सधैं दयालु र विचारशील छ कि छैन निश्‍चित गर्नुहोस्‌।”

गिलियडका एक प्रशिक्षक वालेस लिभरेन्सले दिएको भाषणको विषय थियो, “गहिरो पानी भएको ठाउँमा डुङ्‌गा खियाउनुहोस्‌।” गहिरो पानी भएको ठाउँमा खियाइएको डुङ्‌गालाई सजिलै सही दिशामा मोड्‌न सकिएझैं “परमेश्‍वरका गहिरा गहिरा कुराहरू” अर्थात्‌ परमेश्‍वरको उद्देश्‍य र यो कसरी पूरा हुन्छ भन्‍नेबारे सत्य कुरा बुझ्दा कुनै पनि व्यक्‍तिले आध्यात्मिक प्रगति गर्न मदत पाउन सक्छ। (१ कोरिन्थी २:१०) “परमेश्‍वरका वचनको शुरूका शिक्षाहरू[मा]” चित्त बुझाएर छिपछिपे पानीमा रहँदा हाम्रो प्रगतिमा बाधा पुग्छ र ‘[हाम्रो] विश्‍वासको जहाज डुब्न’ समेत सक्छ। (हिब्रू ५:१२, १३; १ तिमोथी १:१९) भाइ लिभरेन्सको निष्कर्ष यस्तो थियो, “परमेश्‍वरका बुद्धि र ज्ञानको सम्पत्तिको गहिराइले तपाईंलाई आफ्नो मिसनरी कार्यभारमा सँभालोस्‌।”—रोमी ११:३३.

गिलियडका अर्का प्रशिक्षक मार्क न्यूमरले “के तपाईं आफ्नो सम्पदा अनुरूप जिउनुहुनेछ?” भन्‍ने विषयमा भाषण दिए। स्कूलका स्नातकहरूले दिएको ‘थुप्रो असल साक्षीले’ गर्दा वाचटावर बाइबल स्कूल अफ गिलियडले ६० वर्षभन्दा लामो समयदेखि विश्‍वसनीयता र उत्कृष्ट ख्याति कमाएको छ। (उत्पत्ति ३१:४८) गिलियडको यही सम्पदा यस ११८ औं कक्षाका विद्यार्थीहरूलाई सुम्पिएको छ। भाइ न्यूमरले विद्यार्थीहरूलाई नहेम्याहको दिनका पुरातन तकोका मानिसहरूको अनुकरण गर्न र स्थानीय मण्डली र सँगी मिसनरीहरूलाई नम्र भई साथ दिन प्रोत्साहित गरे। तिनीहरूलाई नहेम्याहले बताएका “भारदाहरू[को]” घमन्डी मनोभाव त्याग्न र चुपचाप अनि अरूको आकर्षणको केन्द्र नबनेर काम गर्न इच्छुकता देखाउन सल्लाह दिए।—नहेम्याह ३:५.

जानकारीमूलक अनुभव र अन्तरवार्ताहरू

कार्यक्रमको अर्को भागको विषय थियो, “परमेश्‍वरको वचन बढ्‌दै गयो।” (प्रेरित ६:७) गिलियड प्रशिक्षक लरेन्स बोवेनको निर्देशनमा विद्यार्थीहरूले स्कूलमा भाग लिंदा क्षेत्र सेवकाईमा आनन्द उठाएका अनुभवहरू पुनः अभिनय गरेर देखाए। विद्यार्थीहरूले जोसका साथ परमेश्‍वरको वचनको घोषणा गरेका थिए अनि यहोवाले तिनीहरूको प्रयासलाई प्रचुर आशिष्‌ दिनुभएको थियो भन्‍ने कुरा ती अनुभवहरूले देखायो।

स्कूलसित नजिक रहेर काम गरेका बेथेल परिवारका सदस्यहरूसित रिचार्ड एशले अन्तरवार्ता लिए। ती अन्तरवार्ताहरूले स्कूलबाट सकेसम्म धेरै लाभ उठाउन विद्यार्थीहरूलाई बेथेल परिवारले पुऱ्‍याएको मदतबारे अझ गहिरिएर बुझ्न मदत गऱ्‍यो। त्यसपछि, जेफ्री ज्याकसनले गिलियडका केही पुराना स्नातकहरूसित कुरा गरे। मिसनरी जीवनले मिसनरीहरूलाई यहोवाको प्रशंसा र आदर गर्ने धेरै अवसरहरू प्रदान गर्ने कुरा तिनीहरूले प्रकाश पारे। एक जनाले यस्तो टिप्पणी गरे: “तपाईंहरूले मिसनरीको रूपमा गर्नुभएको जुनसुकै कुरालाई मानिसहरू नियाल्छन्‌। तिनीहरूले सुन्छन्‌, हेर्छन्‌ र सम्झिराख्छन्‌।” अतः हरबखत असल उदाहरण बसाल्ने कुरामा सजग रहन विद्यार्थीहरूलाई प्रोत्साहन दिइयो। आउँदा दिनहरूमा यी उपयोगी सल्लाहहरू बहुमूल्य साबित हुनेछन्‌ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

परिचालक निकायका सदस्य स्टिभन लेट्‌को समापन भाषणको विषय यस्तो थियो, “ ‘जीवित पानी’ बोकेका व्यक्‍तिहरूको हैसियतमा अघि बढ्‌नुहोस्‌।” (यूहन्‍ना ७:३८) विगत पाँच महिनादेखि विद्यार्थीहरूले परमेश्‍वरको वचनको सत्यबाट मनग्गे पिएर अतुलनीय लाभ उठाएको कुरा उनले बताए। तर आफूले पाएको जानकारीलाई नयाँ मिसनरीहरूले के गर्नेछन्‌? भाइ लेट्‌ले स्नातकहरूलाई यो आध्यात्मिक पानी निःस्वार्थपूर्वक बाँड्‌न आग्रह गरे जसले गर्दा अरूहरू “अनन्त जीवनसम्म उम्रिरहने पानीको मूल[मा]” आउनेछन्‌। (यूहन्‍ना ४:१४) वक्‍ताले अझै यसो भने: “ ‘जीवित पानीको मूल’ यहोवालाई आदर र महिमा दिन कहिल्यै नबिर्सनुहोस्‌ जसको उहाँ योग्य हुनुहुन्छ। खडेरीबाट पीडित महान्‌ बेबिलोन छोडेर आउनेहरूलाई सिकाउँदा धीरजी हुनुहोस्‌।” (यर्मिया २:१३) भाइ लेट्‌ले जोसिलो भई आत्मा र दुलहीको अनुकरण गर्न र यसो भन्दै रहन प्रोत्साहन दिंदै आफ्नो भाषण टुङ्‌ग्याए: “जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।”—प्रकाश २२:१७.

विभिन्‍न मुलुकहरूबाट प्राप्त शुभकामनाहरू पढेर भाइ जारासले कार्यक्रमको समापन गरे। त्यसपछि यस गिलियड कक्षाका एक जना सदस्यले कृतज्ञताको पत्र पढेर सुनाए।

आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न के तपाईं आफूलाई उपलब्ध गराउन सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने, यी स्नातक विद्यार्थीहरू जस्तै आध्यात्मिक लक्ष्यहरूको पछि लाग्नुहोस्‌। चाहे विदेशी मुलुकमा मिसनरी भएर होस्‌ वा आफ्नो घर नजिकै सेवा गरेर, परमेश्‍वरको सेवामा आफूलाई राजी-खुसी अर्पण गर्दा पाउने आनन्द र सन्तुष्टिको आनन्द उठाउनुहोस्‌।

[पृष्ठ १३-मा भएको पेटी]

कक्षाको तथ्याङ्‌क

प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ८

मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १९

विद्यार्थीहरूको संख्या: ४६

औसत उमेर: ३३.०

सच्चाइमा बिताएको औसत वर्ष: १६.५

पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२.९

[पृष्ठ १५-मा भएको चित्र]

वाचटावर बाइबल स्कूल अफ गिलियडको ११८ औं स्नातक कक्षा

देहायबमोजिम सूचीमा दिइएको लहर क्रमश: अगाडिबाट पछाडि र नाउँहरू बायाँबाट दायाँतर्फ हुन्‌।

(१) ब्राकमिर, ए., मलोनी, एस.; साइमन्ड्‌स, एन.; लोपेज, वाई.; होवार्ड, सी. (२) जाजड्रेब्स्की, टी.; ब्राऊन, डी.; हर्नानडेज, एच.; मलागोन, आई.; जोन्स्‌, ए.; कन्‍नेल, एल. (३) होवार्ड, जे.; लरू, ई.; साम्स्‌, बी., हायेस, एस.; ब्राऊन, ओ. (४) बरेल, जे.; ह्‍मामर, एम.; मायर, ए.; किम, के.; स्ट्यान्ली, आर.; रेनी, आर. (५) जाजड्रेब्स्की, पी.; जिलाभेज, के.; फेरिस, एस.; टोरेस; बी.; टोरेस, एफ. (६) कन्‍नेल, जे.; हर्नानडेज, आर.; मलोनी, एम.; मलागोन, जे.; साम्स्‌, आर.; हायेस, जे. (७) फेरिस, ए.; ह्‍यामर, जे.; स्ट्यान्ली, जी.; किम, सी.; साइमन्ड्‌स, एस.; लोपेज, डी.; बरेल, डी. (८) ब्राकमिर, डी.; मायर, जे.; रेनी, एस.; जिलाभेज, एस.; जोन्स्‌, आर.; लरू, जे.