सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू”

“धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू”

“धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू”

बिहान निद्राबाट ब्यूँझेपछि चराहरू अक्सर केही बेर चिरबिर-चिरबिर गर्छन्‌ र त्यसपछि खानाको खोजीमा भुर्र उडेर जान्छन्‌। साँझपख तिनीहरू आफ्नो बासस्थान फर्कन्छन्‌, केही बेर चिरबिर-चिरबिर गर्छन्‌ र बास बस्न जान्छन्‌। कुनै एउटा ऋतुमा तिनीहरूको समागम हुन्छ, तिनीहरूले अण्डा पार्छन्‌ र बचेराहरू हुर्काउँछन्‌। अरू जनावरहरूको पनि प्रायः यस्तै-यस्तै खाले जीवनचक्र हुन्छ।

हामी मानवहरू भने फरक छौं। हुन त हो, हामी पनि खान्छौं, सुत्छौं र बच्चाबच्ची जन्माउँछौं तर हामीमध्ये अधिकांश यति कुरामै मात्र सन्तुष्ट हुँदैनौं। आफ्नो अस्तित्वबारे हामी जान्‍न चाहन्छौं। आफ्नो जीवनको उद्देश्‍य खोजी गर्छौं। भविष्यको लागि कुनै आशा होस्‌ भन्‍ने चाहना पनि राख्छौं। यी अत्यन्त आवश्‍यक कुराहरूबाट मानिसमै मात्र हुने एउटा गुण प्रस्ट हुन्छ—त्यो हो, आध्यात्मिकता अर्थात्‌ आध्यात्मिक कुराको आवश्‍यकता महसुस गरेर त्यसलाई पूरा गर्न सक्ने क्षमता।

परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएका

मानिससित आध्यात्मिक कुराको जन्मजात चाहना हुनुको कारण बाइबल यस प्रकार खुलाउँछ: “परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्‍वरकै स्वरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारीनै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो।” (उत्पत्ति १:२७) हामीलाई “परमेश्‍वरको स्वरूपमा” बनाइनुको अर्थ हामीमा पाप र असिद्धताको खोट नै भए पनि हामीसित परमेश्‍वरका कुनै-कुनै गुण झल्काउन सक्ने क्षमता छ। (रोमी ५:१२) उदाहरणका लागि, हामी सृजनशील हुन सक्छौं। हामीसित केही हदसम्म बुद्धि, न्याय गर्ने चेतना अनि एक-अर्काको लागि आत्मत्यागी प्रेम देखाउन सक्ने क्षमता पनि छ। साथै, हामी विगतका कुरा सम्झन सक्छौं र भविष्यको योजना बुन्‍न सक्छौं।—हितोपदेश ४:७; उपदेशक ३:१, ११; मीका ६:८; यूहन्‍ना १३:३४; १ यूहन्‍ना ४:८.

आध्यात्मिक आवश्‍यकता पूरा गर्ने हाम्रो क्षमता परमेश्‍वरको उपासना गर्ने हाम्रो जन्मजात चाहनामा झनै छर्लङ्‌ग हुन्छ। सृष्टिकर्तासित कसिलो सम्बन्ध गाँस्नुपर्ने आवश्‍यकतालाई सही ढङ्‌गमा पूरा नगरुन्जेल हामी साँचो तथा चिरकालीन आनन्द पाउन सक्दैनौं। येशूले यसो भन्‍नुभयो: “धन्य आध्यात्मिक आवश्‍यकताप्रति सजग हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।” (मत्ती ५:३, NW) तथापि परमेश्‍वरबारे तथ्य कुरा, उहाँका स्तरहरू र मानिसजातिको लागि उहाँको उद्देश्‍यजस्ता आध्यात्मिक सत्यद्वारा यो आवश्‍यकता पूरा गर्न हामी होसियार हुनै पर्छ। त्यसोभए, हामी आध्यात्मिक सत्य कहाँ पाउन सक्छौं त? बाइबलमा।

“तपाईंको वचन सत्य हो”

प्रेरित पावलले यस्तो लेखे: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, उचित जीवन यापन गर्नलाई उपयोगी हुन्छ।” (२ तिमोथी ३:१६) पावलका शब्दहरू येशूले परमेश्‍वरलाई गर्नुभएको प्रार्थनामा भन्‍नुभएको कुरासित ठ्याक्क मेल खान्छ: “तपाईंको वचन सत्य हो।” आज हामी त्यस वचनलाई पवित्र बाइबलको रूपमा चिन्छौं र हामीले हाम्रो विश्‍वास तथा स्तरहरू बाइबलमा उल्लिखित कुरासित मेल खान्छ कि खाँदैन भनी जाँचेर हेर्नु बुद्धिमानी हुन्छ।—यूहन्‍ना १७:१७.

आफूले विश्‍वास गरेको कुरालाई परमेश्‍वरको वचनसित तुलना गरेर हामी पुरातन बिरियावासीहरूको अनुसरण गर्छौं, जसले पावलका शिक्षाहरू धर्मशास्त्रसित मेल खान्छन्‌ कि खाँदैनन्‌ भनी पक्का गरेका थिए। बिरियावासीहरूको आलोचना गर्नुको सट्टा लूकाले उनीहरूको मनोभावको सराहना गरे। तिनले यस्तो लेखे: उनीहरूले “हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरित १७:११) आज व्याप्त विवादास्पद धार्मिक तथा नैतिक शिक्षाहरूलाई विचार गर्ने हो भने, हामीले उत्तम बिरियावासीहरूको उदाहरण अनुसरण गर्नु महत्त्वपूर्ण छ।

यस सत्यले मानिसहरूको जीवनमा कस्तो प्रभाव पार्छ सो याद गर्नु आध्यात्मिक सत्य चिन्‍ने अर्को तरिका हो। (मत्ती ७:१७) उदाहरणका लागि, बाइबल सत्यअनुसार जिउँदा कुनै पनि व्यक्‍ति एक असल पति, असल बुबा, असल पत्नी वा असल आमा बन्‍न सक्छन्‌। यसो हुँदा पारिवारिक जीवन आनन्दित हुनुका साथै सन्तुष्टि पनि बढ्‌छ। येशूले यसो भन्‍नुभयो: “तिनीहरू . . . धन्य हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌।”—लूका ११:२८.

येशूले भन्‍नुभएको कुरा सुन्दा स्वर्गमा हुनुहुने उहाँका पिताले पुरातन इस्राएलीहरूलाई भन्‍नुभएको यो कुरा याद आउँछ: “परमप्रभु, जो तेरा उद्धारक र इस्राएलका पवित्र परमप्रभु हुनुहुन्छ, उहाँ भन्‍नुहुन्छ, ‘म परमप्रभु [‘यहोवा,’ NW] तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ। यदि तैंले मेरा आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं र तेरो धार्मिकता समुद्रका छालहरूझैं हुनेथियो!’ ” (यशैया ४८:१७, १८) यस्तो न्यानो आग्रह सुनेपछि भलाइ अनि धार्मिकतालाई प्रेम गर्ने जो कोही पनि अवश्‍य उत्प्रेरित हुने थिए!

कोही-कोही आफ्नो “कान उत्सुक” बनाउन रुचाउँछन्‌

झूटा धार्मिक कुराहरू सुनेर इस्राएलीहरू बहकिन थालेको कारण परमेश्‍वरले तिनीहरूलाई त्यस्तो हार्दिक आह्वान गर्नुभएको थियो। (भजन १०६:३५-४०) झूटा कुराहरूबाट हामी पनि होसियार बस्नै पर्छ। मसीही भनौदाहरूको विषयमा पावलले यस्तो लेखे: “यस्तो समय आउनेछ, जब तिनीहरू पक्का सिद्धान्तलाई नसहने हुनेछन्‌, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌, र सत्यतर्फबाट कान” फर्काउनेछन्‌।—२ तिमोथी ४:३, ४.

पति पत्नीबाहेक अरूसित पनि यौनसम्बन्ध राख्ने, समलैङ्‌गिकता र मतवालापनजस्ता कुइच्छाहरू तृप्त पार्ने बानीप्रति आँखा चिम्लेर धर्मगुरुहरू मानिसहरूको कान उत्सुक बनाउँछन्‌। यस्ता कुरालाई स्वीकार्य ठान्‍ने अनि यस्ता काम गर्नेहरू “परमेश्‍वरको राज्यको हकदार हुनेछैन” भनेर बाइबलमा स्पष्टसित उल्लेख गरिएको छ।—१ कोरिन्थी ६:९, १०; रोमी १:२४-३२.

हुन त हो, विशेष गरी गिल्ला सहनुपर्दा बाइबल स्तरहरू अनुरूप जीवन बिताउन साहस चाहिन्छ तर साहसी हुन भने सकिन्छ। यहोवाका साक्षीहरूमाझ यस्ता कैयौं व्यक्‍तिविशेषहरू छन्‌ जो पहिला लागूऔषध दुर्व्यसनी, मतवाला, व्यभिचारी, गुन्डा, चोर र ढँटुवाहरू थिए। तैपनि, उनीहरूले परमेश्‍वरको वचन हृदयङ्‌गम गरे अनि “प्रभुको [“यहोवाको,” NW] योग्य चालमा चल्न” पवित्र आत्माको मदतद्वारा आफ्नो जीवन शैली परिवर्तन गरे। (कलस्सी १:९, १०; १ कोरिन्थी ६:११) परमेश्‍वरसित शान्ति कायम गरेर उनीहरूले पनि आन्तरिक शान्ति र भविष्यको साँचो आशा प्राप्त गरे, जुन कुराबारे हामी हेर्दै जानेछौं।

राज्य आशा

बाइबलमा प्रतिज्ञा गरिएको वफादार मानिसहरूले पाउने चिरकालीन शान्तिको आशा परमेश्‍वरको राज्यले साकार पार्नेछ। आफ्नो नमुना प्रार्थनामा येशूले यसो भनेर प्रार्थना गर्नुभयो, “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) हो, परमेश्‍वरको इच्छा यस पृथ्वीमा पूरा हुन्छ भन्‍ने कुरा परमेश्‍वरको राज्यले मात्र निश्‍चित गर्न सक्छ। किन? किनभने त्यो स्वर्गीय राज्य अर्थात्‌ येशू ख्रीष्टको नियन्त्रणमा हुने सरकार, पृथ्वीमाथि आफ्नो वैध सार्वभौमिकता व्यक्‍त गर्ने परमेश्‍वरको एउटा माध्यम हो।—भजन २:७-१२; दानियल ७:१३, १४.

त्यो स्वर्गीय राज्यको राजाको हैसियतमा येशू ख्रीष्टले आदमको पापको घातक पकड तथा यसले निम्त्याएका रोगबिमार अनि मृत्युलगायत सबै प्रकारका दासत्वबाट वफादार मानिसहरूलाई मुक्‍त गर्नुहुनेछ। प्रकाश २१:३, ४ यसो भन्छ, “हेर, परमेश्‍वरको बासस्थान मानिसहरूसँग भएको छ। . . . उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीडा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”

सारा पृथ्वीभरि चिरकालीन शान्ति छाउनेछ। यसबारे हामी किन पक्का हुन सक्छौं? यसको कारण यशैया ११:९ मा प्रकट गरिएको छ: “तिनीहरूले [राज्यका प्रजाहरूले] मेरा सबै पवित्र पर्वतमा नता केही हानि न नोक्सानी गर्नेछन्‌, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको [“यहोवाको,” NW] ज्ञानले भरिपूर्ण हुनेछ।” हो, पृथ्वीका सबै मानिसहरूले परमेश्‍वरको सही ज्ञान हासिल गरेका हुनेछन्‌ र उहाँप्रति आज्ञाकारी हुनेछन्‌। के यो प्रत्याशा सुनेर तपाईंको हृदय प्रफुल्ल भयो? यदि भयो भने, ‘यहोवाको अमूल्य ज्ञान’ लिन थाल्ने समय अहिल्यै हो।

के तपाईं राज्यसन्देश सुन्‍नुहुनेछ?

आफ्नो राज्यद्वारा परमेश्‍वरले शैतानका सबै कामकुरा उल्टाउनुहुनेछ र मानिसहरूलाई उहाँको धार्मिक मार्गमा हिंड्‌न सिकाउनुहुनेछ। यस अर्थमा येशूको शिक्षाको केन्द्रबिन्दु त्यो राज्य हुनु कुनै अचम्मलाग्दो कुरा होइन। उहाँले यसो भन्‍नुभयो: “मैले अवश्‍य परमेश्‍वरको राज्यको सुसमाचार अरू शहरहरूमा पनि सुनाउनुपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।” (लूका ४:४३) ख्रीष्टले आफ्ना चेलाहरूलाई त्यही सन्देश अरूलाई पनि सुनाउने आज्ञा दिनुभयो। (मत्ती २८:१९, २०) उहाँले यस्तो भविष्यवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) त्यो अन्त तीव्र गतिमा नजिकिंदैछ। त्यसैकारण इमानदार हृदय भएका व्यक्‍तिहरूले जीवनदायी सुसमाचार सुन्‍नु कत्ति महत्त्वपूर्ण छ!

आफ्नी पत्नी तथा छोराले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि अघिल्लो लेखमा उल्लिखित अर्ल्बटले राज्यसन्देश सुनेका थिए। सुरु-सुरुमा त अल्बर्टलाई शङ्‌का लागेको थियो। पत्नी र छोरालाई साक्षीहरूले सिकाउने कुरा सब झूटा हुन्‌ भनी पर्दाफास गरिदिन तिनले स्थानीय पादरीलाई समेत आग्रह गरेका थिए। तर पादरी त्यस मामिलामा मुछिन चाहेनन्‌। त्यसैकारण गल्ती फेला पार्न अल्बर्ट आफैले बाइबल अध्ययन छलफल भइरहेको बेला चनाखो भई सुन्‍ने निधो गरे। त्यसो गरेको अर्कोपाली त अझ बढी सिक्न चाहेको कारण तिनी आफै पो अध्ययनमा बस्न थाले। त्यसरी आफ्नो मनोवृत्ति एकाएक परिवर्तन हुनुको कारण तिनले पछि बताए। तिनले यसो भने, “मैले धेरै पहिलादेखि खोजिरहेको कुरा यही थियो।”

अन्तमा आएर अल्बर्टले आफ्नो आध्यात्मिक आवश्‍यकता पूरा गर्न थाले र त्यसो गरेकोमा तिनले कहिल्यै पछुताउनु परेन। बाइबल सत्यले तिनलाई जीवनभर खोजी गरेको कुरा अर्थात्‌ अन्याय र धमिराले झैं समाजलाई भित्रभित्रै खोक्रो पार्ने भ्रष्टाचारको समाधान र भविष्यको आशा प्रदान गऱ्‍यो। बाइबल सत्यले तिनलाई आन्तरिक शान्ति दियो। के तपाईंको आध्यात्मिक आवश्‍यकता पूरा हुँदैछ? पृष्ठ ६ को पेटीमा सूचीबद्ध गरिएका प्रश्‍नहरू एकैछिन सरसरती पढ्‌नुभए कसो होला? थप जानकारी चाहनुभएमा तपाईंलाई मदत गर्न यहोवाका साक्षीहरू खुसी हुनेछन्‌।

[पृष्ठ ६-मा भएको पेटी/चित्रहरू]

के तपाईंको आध्यात्मिक आवश्‍यकता पूरा हुँदैछ?

आफूले प्राप्त गरिरहेको आध्यात्मिक खुराकसित के तपाईं सन्तुष्ट हुनुहुन्छ? हामी तपाईंलाई निम्न प्रश्‍नहरू पढ्‌न र सही जवाफ दिन सक्नुहुने जतिमा चिह्न लगाउन आमन्त्रित गर्छौं।

□ परमेश्‍वर को हुनुहुन्छ र उहाँको नाउँ के हो?

□ येशू ख्रीष्ट को हुनुहुन्छ? उहाँ किन मर्नुपऱ्‍यो? उहाँको मृत्युले तपाईंलाई कसरी लाभ पुऱ्‍याउन सक्छ?

□ के दियाबल छ? छ भने, त्यो कसरी दियाबल बन्यो?

□ मरेपछि हामीलाई के हुन्छ?

□ पृथ्वी र मानिसजातिका लागि परमेश्‍वरको उद्देश्‍य के हो?

□ परमेश्‍वरको राज्य के हो?

□ नैतिकताको सन्दर्भमा परमेश्‍वरका स्तरहरू के-के हुन्‌?

□ परिवारमा, पति र पत्नीका ईश्‍वरप्रदत्त भूमिकाहरू के-के हुन्‌? परिवारको आनन्द बढाउने बाइबलका केही सिद्धान्तहरू के-के हुन्‌?

यदि तपाईंलाई यी प्रश्‍नहरूमध्ये कुनैको पनि जवाफ थाह छैन भने, तपाईं परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाको एक प्रति मगाउन सक्नुहुन्छ। यहोवाका साक्षीहरूद्वारा लगभग ३०० भाषामा प्रकाशित यस पुस्तिकामा बाइबलका १६ वटा आधारभूत विषय छलफल गरिनुका साथै माथि सूचीबद्ध सबै प्रश्‍नहरूको धर्मशास्त्रीय जवाफ पनि दिइएको छ।

[पृष्ठ ४-मा भएका चित्रहरू]

पशुहरूको जस्तो नभई मानिसहरूको आध्यात्मिक आवश्‍यकता पनि हुन्छ

[पृष्ठ ५-मा भएको चित्र]

“तिनीहरू[ ले] . . . शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्‌, र जे सुन्‍नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्‍नेछन्‌।”—२ तिमोथी ४:३

[पृष्ठ ७-मा भएको चित्र]

परमेश्‍वरको मसीही राज्यले चिरकालीन शान्ति ल्याउनेछ