सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पहिलो राजाको पुस्तकका विशेषताहरू

पहिलो राजाको पुस्तकका विशेषताहरू

यहोवाको वचन जीवित छ

पहिलो राजाको पुस्तकका विशेषताहरू

“जब धर्मीहरू अधिकारमा हुन्छन्‌ तब मानिसहरू रमाउँछन्‌, तर दुष्टको हातमा अधिकार आउँदा तिनीहरू दुःखी हुन्छन्‌।” (हितोपदेश २९:२) पहिलो राजाको पुस्तकले नीतिवचनको यस सत्यतालाई जीवन्त ढङ्‌गमा पुष्टि गर्छ। यसले सुलेमानको जीवनी बताउँछ जसको शासनकालमा पुरातन इस्राएलले सुरक्षा र अत्यन्तै समृद्धिको आनन्द उठाउँछ। पहिलो राजाको पुस्तकमा सुलेमानको मृत्युपश्‍चात्‌ राष्ट्र विभाजित भएको अनि इस्राएल र यहूदामा उनीपछि राजा बनेका १४ राजाहरूका विवरणहरू पनि समावेश छ। यी राजाहरूमध्ये दुई जना मात्र यहोवाप्रति सधैं विश्‍वासी रहे। साथै, यस पुस्तकले एलिया र अन्य छ जना अगमवक्‍ताका क्रियाकलापबारे पनि बताउँछ।

अगमवक्‍ता यर्मियाले यरूशलेम र यहूदामा लेखेको यस पुस्तकका विवरणले जम्मा १२९ वर्ष अर्थात्‌ सा.यु.पू. १०४० देखि सा.यु.पू ९११ सम्मको समयावधि ढाक्छ। यो पुस्तक सङ्‌ग्रह गर्दा यर्मियाले “सुलेमानको जीवनसित सम्बन्धित पुस्तक” जस्ता रेकर्डहरू पनि पक्कै केलाएका हुन सक्छन्‌। यी छुट्टै रेकर्डहरू हाल अस्तित्वमा छैनन्‌।—१ राजा ११:४१; १४:१९; १५:७.

बुद्धिमान्‌ राजाले शान्ति र समृद्धिको विस्तार गर्छन्‌

(१ राजा १:१–११:४३)

पहिलो राजाको विवरण राजा दाऊदको छोरा अदोनियाहले आफ्नै पिताको राज्यसत्ता हत्याउन खोजेको रोचक विवरणबाट सुरु हुन्छ। अगमवक्‍ता नातानले तुरुन्तै कदम चालेकोले त्यो षड्यन्त्र उल्टिन्छ र दाऊदको छोरा सुलेमानलाई राजा बनाइन्छ। गद्दीमा बसेका नयाँ राजाले जुन कुरा माग्छन्‌, त्यसबाट यहोवा प्रसन्‍न हुनुहुन्छ र उनलाई यहोवाले “धन-सम्पत्ति र मान” अनि “बुद्धि र समझ भएको मन” दिनुहुन्छ। (१ राजा ३:१२, १३) राजाको अतुलनीय बुद्धि र अथाह सम्पत्ति हुन्छ। इस्राएलले शान्ति र संवृद्ध कालको आनन्द उठाउँछ।

सुलेमानले सम्पन्‍न गरेका निर्माण-कार्यहरूमा यहोवाको मन्दिरलगायत अन्य धेरै सरकारी भवनहरू पर्छन्‌। यहोवा यस्तो आश्‍वासन दिनुहुन्छ: “तेरो शासन इस्राएलमाथि सदासर्वदा स्थिर राख्नेछु” तर राजा आज्ञाकारी भएमा मात्र। (१ राजा ९:४, ५) अनाज्ञाकारिताले निम्त्याउने परिणामहरूबारे पनि साँचो परमेश्‍वरले उनलाई सचेत गराउनुहुन्छ। यद्यपि, सुलेमानका धेरै विदेशी पत्नीहरू हुन्छन्‌। तिनीहरूको प्रभावमा परेर बुढेसकालमा सुलेमान झूटो उपासनातिर लाग्छन्‌। उनको राज्य विभाजित हुनेछ भनी यहोवा भविष्यवाणी गर्नुहुन्छ। सा.यू.पू. ९९७ मा सुलेमानको मृत्युसँगै उनको ४० वर्षे शासनको पनि अन्त्य हुन्छ। राजगद्दीमा उनको छोरा रहबाम बस्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१:५—दाऊद जीवितै हुँदा अदोनियाहले किन राजगद्दी हत्याउन खोजे? यस विषयमा बाइबलले केही पनि बताउँदैन। तथापि, अदोनियाहका जेठा दाज्यूहरू अम्मोन र अब्शालोम र सम्भवतः दाऊदको छोरा किलाबको पनि मृत्यु भइसकेकोले गर्दा दाऊदका बाँकी छोराहरूमा आफू सबैभन्दा जेठो भएकोले सिंहासनमाथि आफ्नो अधिकार भएको कुरा अदोनियाहले सोचेको हुन सक्छ भन्‍ने निष्कर्षमा पुग्नु उचित हुन्छ। (२ शमूएल ३:२-४; १३:२८, २९; १८:१४-१७) शक्‍तिशाली सेनापति योआब र प्रभावशाली प्रधान पुजाहारी एबीयातारको आड पाएको कारण आफ्नो प्रयास सफल हुनेछ भन्‍ने कुरामा तिनले ढुक्क महसुस गरेको हुनुपर्छ। राजगद्दी सुलेमानलाई दिने दाऊदको योजनाबारे तिनलाई थाह थियो कि थिएन, सो बाइबलमा केही पनि उल्लेख गरिएको छैन। यद्यपि, अदोनियाहले सुलेमान र दाऊदका वफादार मानिसहरूलाई “बलिदान[मा]” निम्तो दिएनन्‌। (१ राजा १:९, १०) यस तथ्यबाट तिनले सुलेमानलाई प्रतिद्वन्द्वी ठानेका थिए भन्‍ने कुरा स्पष्ट हुन्छ।

१:४९-५३; २:१३-२५—अदोनियाहलाई माफी दिइसकेपछि पनि सुलेमानले किन तिनलाई मारे? अबीशगलाई आफ्नी पत्नीको रूपमा दिन सुलेमानलाई भनिदिनु भनी अदोनियाहले बेतशेबालाई आग्रह गर्दा बेतशेबाले त्यस आग्रहको मनसाय नबुझे तापनि सुलेमानले भने बुझे। अबीशगसित दाऊदको यौनसम्बन्ध नभए पनि रूपवती अबीशगलाई दाऊदकै उपपत्नीमा गनिन्थ्यो। त्यतिखेरको प्रचलनअनुसार दाऊदको वैध उत्तराधिकारको मात्र तिनीमाथि अधिकार हुने थियो। अबीशगलाई आफ्नी पत्नी बनाउँदा राजगद्दीको पुनः दाबी गर्न सक्छु भनेर अदोनियाहले सोचेको हुन सक्छ। अदोनियाहको त्यस आग्रहलाई राज्यसत्ता हत्याउने तिनको महत्त्वाकाङ्‌क्षा ठानी सुलेमानले आफ्नो माफी रद्द गरे।

६:३७–८:२—मन्दिरको उद्‌घाटन कहिले गरियो? मन्दिर बनाउन सा.यु.पू. १०२७ मा अर्थात्‌ सुलेमानको शासनको ११ औं वर्षमा सिध्याइयो। साजसज्जालगायत अरू तयारीका लागि ११ महिना लागेजस्तो देखिन्छ। उद्‌घाटन पक्कै पनि सा.यु.पू. १०२६ को सातौं महिनामा भएको हुनुपर्छ। निर्माणकार्यबारे थप जानकारी दिन विवरणले मन्दिरको निर्माणपछि र मन्दिरको उद्‌घाटन हुनुभन्दा अघि भएका अन्य निर्माण परियोजनाहरूबारे बताउँछ।—२ इतिहास ५:१-३.

९:१०-१३—सुलेमानले गालील भूमिका २० वटा सहर टायरका राजा हीरामलाई दिनु के मोशालाई दिइएको व्यवस्था अनुरूप थियो?लेवी २५:२३, २४ मा उल्लिखित व्यवस्था इस्राएलीहरू बसोबास गर्ने इलाकामा मात्र लागू हुने गरी बनाइएको थियो भनेर भन्‍न सकिन्छ। सुलेमानले हीरामलाई दिएका सहरहरू प्रतिज्ञा गरिएको भूमिभित्रै परे पनि त्यहाँ गैर-इस्राएलीहरू बसोबास गरेका हुन सक्छन्‌। (प्रस्थान २३:३१) ‘आफ्नो लागि असंख्य घोडाहरू थुपार्नु’ अनि धेरै पत्नीहरू विवाह गर्नु जस्ता सुलेमानको काम उनी पूर्णतया व्यवस्थाअनुसार चल्न नसकेको सङ्‌केत पनि हुन सक्छ। (व्यवस्था १७:१६, १७) जेहोस्‌, हीराम त्यस सौगातबाट खुसी थिएनन्‌। हुनसक्छ गैर-मसीही बासिन्दाहरूले ती सहरहरूलाई राम्रो अवस्थामा राखेका थिएनन्‌ अथवा ती सहरहरू जुन स्थानमा थिए, त्यो स्थान नै तिनलाई मन परेन।

११:४—उमेर ढल्कँदै जाँदा के बुढ्यौलीले गर्दा सुलेमान अविश्‍वासी भएका थिए? यसो नहुन सक्छ। शासन गर्न थाल्दा सुलेमान अत्यन्तै जवान थिए र उनले ४० वर्षसम्म शासन गरे तापनि उनलाई बुढेसकालले छोएको थिएन। अनि उनले पूर्णतया यहोवालाई त्यागेनन्‌। उनले बेग्लै धर्मका केही कुराहरू अपनाउने मात्र कोसिस गरेका हुन सक्छन्‌।

हाम्रो लागि पाठ:

२:२६, २७, ३५. यहोवा जे अगमवाणी गर्नुहुन्छ, त्यो अवश्‍य पूरा हुन्छ। एलीको वंशका एबीयातारलाई हटाउँदा “एलीको घरानाको विरुद्धमा परमप्रभुले दिनुभएको दण्डाज्ञा” पूरा भयो। एबीयातारको ठाउँमा पीनहासको वंशबाट सादोकलाई राख्नु गन्ती २५:१०-१३ को पूर्ति अनुरूप थियो।—प्रस्थान ६:२५; १ शमूएल २:३१; १ इतिहास २४:३.

२:३७, ४१-४६. परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर पनि दण्ड पाइँदैन भनेर सोच्नु कत्ति खतरनाक कुरा हो! ‘जीवनमा पुऱ्‍याउने साँघुरो ढोकाबाट’ जानाजानी तर्कनेहरूले त्यस मूर्खतापूर्ण निर्णयका नतिजाहरू भोग्नेछन्‌।—मत्ती ७:१४.

३:९, १२-१४. यहोवाको सेवा पूरा गर्न बुद्धि, समझशक्‍ति र डोऱ्‍याइको लागि गरिएका निष्कपट प्रार्थनाहरूको जवाफ उहाँ दिनुहुन्छ।—याकूब १:५.

८:२२-५३. करुणामय, प्रतिज्ञाहरू पूरा गर्नुहुने र प्रार्थना सुन्‍नुहुने परमेश्‍वरको रूपमा सुलेमानले यहोवाप्रति कत्ति हृदयस्पर्शी कृतज्ञता व्यक्‍त गरे! उद्‌घाटनको बेला सुलेमानले गरेका प्रार्थनाका शब्दहरूमा मनन गर्दा त्यसले हामीलाई परमेश्‍वरको व्यक्‍तित्वका यी तथा अन्य पक्षहरूप्रति अझ कृतज्ञ हुन मदत गर्नेछ।

११:९-१४, २३, २६. जीवनका पछिल्ला वर्षहरूमा सुलेमान अनाज्ञाकारी भएपछि यहोवाले विरोधीहरू खडा गर्नुभयो। प्रेरित पत्रुस यसो भन्छन्‌, “परमेश्‍वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।”—१ पत्रुस ५:५.

११:३०-४०. अहियाहले यारोबामको विषयमा गरेको भविष्यवाणीले गर्दा राजा सुलेमानले यारोबामलाई मार्न खोजे। चालीस वर्षअघि अदोनियाह र अरू षड्यन्त्रकारीहरूलाई बदला लिन इन्कार गर्दा राजा सुलेमानको प्रतिक्रिया कत्ति भिन्‍न थियो! (१ राजा १:५०-५३) यहोवाबाट तर्किएको कारण नै उनको मनोवृत्तिमा यस्तो परिवर्तन आएको थियो।

एउटा संयुक्‍त राज्य विभाजित हुन्छ

(१ राजा १२:१–२२:५३)

यारोबाम र मानिसहरू राजा रहबामकहाँ आउँछन्‌ र तिनका पिता सुलेमानले लादेका बोझ हल्का गरिदिन आग्रह गर्छन्‌। तिनीहरूको कुरा सुन्‍नुको सट्टा रहबामले तिनीहरूको बोझ झनै बढाइदिने चेतावनी दिन्छन्‌। दस कुलले विद्रोह गर्छन्‌ र यारोबामलाई आफ्नो राजा बनाउँछन्‌। राज्य टुक्रिन्छ। रहबामले यहूदा र बिन्यामिन कुल मिलेर बनेको दक्षिणी भागमा शासन गर्छन्‌ भने यारोबामले चाहिं इस्राएलको उत्तरी दस कुलमा शासन गर्छन्‌।

मानिसहरूलाई उपासनाको लागि यरूशलेम जान निरुत्साहित गर्न यारोबामले दुईवटा सुनको बाछा खडा गर्छन्‌—एउटा दानको लागि र अर्को बेतेलको लागि। यारोबामपछि इस्राएलमा शासन गर्ने राजाहरू नादाब, बाशा, एला, जिम्री, तिब्नी, ओम्री र आहाब र अहियाह हुन्‌। यहूदामा रहबामपछि क्रमशः अबियाम, आसा, यहोशापात र योराम राजा हुन्छन्‌। त्यसबेलाका यी राजाहरूको समयका सक्रिय अगमवक्‍ताहरूमा अहियाह, शमायाह र नाउँ नदिएका परमेश्‍वरका एक जना जन र येहू, एलिया, मीकाया पर्छन्‌।

धर्मशास्त्रीय प्रश्‍नहरूको जवाफ:

१८:२१—एलियाले यहोवा अथवा बाललाई पछ्याऊ भन्दा मानिसहरू किन मौन बसे? यहोवाले पाउनुपर्ने ऐकान्तिक भक्‍ति उहाँलाई चढाउन नसकेको कुरा बुझेर तिनीहरूले दोषी महसुस गरेका हुन सक्छन्‌। अथवा हुनसक्छ, तिनीहरूको अन्तस्करण यत्ति कठोर भइसकेको थियो कि यहोवाका उपासकहरू हौं भन्दै बाल उपासना गर्नुमा तिनीहरूले कुनै खराबी देखेनन्‌। यहोवाले आफ्नो शक्‍ति प्रदर्शन गर्नुभएपछि मात्र तिनीहरूले यसो भने: “परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ, परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ।”—१ राजा १८:३९.

२०:३४—यहोवाले आहाबलाई अरामीहरूमाथि विजयी तुल्याउनुभएपछि आहाबले किन तिनीहरूका राजा बेनहददलाई त्यत्तिकै छोडिदिए? बेनहददलाई मार्नुको सट्टा आहाबले सिरियाको राजधानी दमीशकमा बजार स्थापना गर्ने जिम्मा आहाबलाई सुम्पने करार बाँधे। धेरै पहिला बेनहददको पिताले पनि सामरियाका सडकहरूमा त्यसरी नै व्यापारिक प्रयोजनको काम गरेका थिए। यसरी दमीशकमा व्यापारिक गतिविधि स्थापित गर्न आहाबले बेनहददलाई मुक्‍त गरिदिए।

हाम्रो लागि पाठ:

१२:१३,१४. जीवनमा महत्त्वपूर्ण निर्णयहरू गर्दा हामीले धर्मशास्त्रको ज्ञान हुने र ईश्‍वरीय सिद्धान्तहरूलाई उच्च मोल गर्ने बुद्धिमान्‌ तथा परिपक्व व्यक्‍तिहरूको सरसल्लाह खोज्नुपर्छ।

१३:११-२४. आपत्तिजनकजस्तो देखिने सरसल्लाह अथवा सुझाव निष्कपट सँगी विश्‍वासीहरूले नै दिए तापनि परमेश्‍वरको वचनको असल निर्देशनसित ती मेल खान्छन्‌ कि खाँदैनन्‌ भनेर हामीले केलाउनुपर्छ।—१ यूहन्‍ना ४:१.

१४:१३. हामीमा असल कुरा हेर्नको लागि यहोवाले हाम्रो हृदय पूर्णतः खोतल्नुहुन्छ। त्यो असल कुरा जति नै नगण्य भए तापनि उहाँको सेवा गर्न यथाशक्य गऱ्‍यौं भने उहाँले त्यसलाई विकास गर्न सक्नुहुन्छ।

१५:१०-१३. हामीले साहसपूर्वक धर्मत्यागलाई तिरस्कार गरेर साँचो उपासनाको प्रवर्धन गर्नै पर्छ।

१७:१०-१६. सारपातकी विधवाले एलियालाई एक अगमवक्‍ता भनेर चिनिन्‌ र आतिथ्य गरिन्‌, यहोवाले उनको यस विश्‍वासको कामलाई आशिष्‌ दिनुभयो। आज पनि यहोवाले हाम्रो विश्‍वासका कामहरूलाई ध्यान दिनुहुन्छ र राज्य गतिविधिमा सहयोग गर्नेहरूलाई विभिन्‍न तरिकाबाट इनाम दिनुहुन्छ।—मत्ती ६:३३; १०:४१, ४२; हिब्रू ६:१०.

१९:१-८. उग्र सतावटको सामना गर्दा हामी यहोवाको आड पाउने कुरामा विश्‍वस्त हुन सक्छौं।—२ कोरिन्थी ४:७-९.

१९:१०, १४, १८. साँचो उपासकहरू कहिल्यै एक्लो हुँदैनन्‌। तिनीहरूको साथमा यहोवा र विश्‍वव्यापी भातृत्त्व छ।

१९:११-१३. यहोवा न प्रकृति देव न त प्राकृतिक शक्‍तिको मूर्तरूप नै हुनुहुन्छ।

२०:११, NRV. बेनहददले सामरियालाई नष्ट गर्नेबारे फाइँफुट्टी लगाउँदा इस्राएलका राजाले यस्तो जवाफ दिए: “[लडाइँको तयारी गर्दा] कवच भिर्ने मानिसले त्यो फुकाल्ने मानिसले झैं घमन्ड गर्नुहुँदैन है।” कुनै नयाँ काम गर्दा हामीले बढ्‌ता आत्म-विश्‍वास र फाइँफुट्टी लगाउनु हुँदैन।—हितोपदेश २७:१; याकूब ४:१३-१६.

हाम्रो लागि ठूलो मोलको कुरा

सीनै पर्वतमा व्यवस्था दिइएको कुराबारे बताउँदै मोशाले इस्राएलीहरूलाई यसो भने: “हेर, आज म तिमीहरूका सामने आशिष र अभिशाप राख्तैछु। आज मैले तिमीहरूलाई आदेश गरेका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गऱ्‍यौ भने आशिष पाउनेछौ। औ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नसुनेर . . . आज मैले आदेश गरेका मार्गबाट तर्क्यौ भने तिमीहरूले सराप पाउनेछौ।”—व्यवस्था ११:२६-२८.

पहिलो राजाको पुस्तकमा यस महत्त्वपूर्ण सत्यलाई कत्ति स्पष्टसित प्रकाश पारिएको छ! हामीले देख्यौं, यो पुस्तकले पनि अरू मूल्यवान्‌ पाठहरू सिकाउँछ। यसको सन्देश साँच्चै जीवित र प्रबल छ।—हिब्रू ४:१२.

[पृष्ठ २९-मा भएको चित्र]

सुलेमानले निर्माण गरेका मन्दिर र अरू भवनहरू

[पृष्ठ ३०-मा भएको चित्र]

यहोवाले आफ्नो शक्‍ति प्रदर्शन गर्नुभएपछि मानिसहरू यसरी कराए: “परमप्रभुनै परमेश्‍वर हुनुहुँदो रहेछ!”