सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वव्यापी बाइबल शिक्षामा भाग लिन पाएकोमा आनन्दित

विश्‍वव्यापी बाइबल शिक्षामा भाग लिन पाएकोमा आनन्दित

जीवनी

विश्‍वव्यापी बाइबल शिक्षामा भाग लिन पाएकोमा आनन्दित

आन्‍ना माथियाकिसको वृत्तान्तमा आधारित

जहाजमा आगो लाग्यो। यो १७१ मिटर लामो बडेमाको जहाज डुब्यो भने म पनि सँगसँगै डुब्ने थिएँ। म हत्त न पत्त सुरक्षाको लागि समुद्रमा हाम फालें र उर्लंदो छालहरूको सामना गर्दै पौडी खेल्नुपऱ्‍यो। तैरिने एउटै मात्र उपाय अर्की एउटी आइमाईले लगाएको सुरक्षा ज्याकेट बेस्सरी पक्रिराख्नु थियो। मैले बल र साहसको लागि परमेश्‍वरलाई प्रार्थना गरें। मैले गर्न सक्ने यो सिवाय अरू केही थिएन।

यो कुरा सन्‌ १९७१ को हो। म आफ्नो तेस्रो मिसनरी असाइनमेन्टको लागि इटाली फर्किरहेकी थिएँ। त्यो जहाज डुब्दा मैले आफ्नो सर्वस्व गुमाएँ। तर सबैभन्दा महत्त्वपूर्ण कुराहरू अर्थात्‌ मेरो जीवन, मायालु मसीही भ्रातृत्व र यहोवाको सेवा गर्ने सुअवसर चाहिं गुमाइँन। यसै सेवाको सिलसिलामा म तीन महादेशहरू पुगिसकें र मैले जीवनमा सामना गरेका थुप्रै घटनाहरूमध्ये जहाज डुबेको यो एउटा मात्र हो।

मेरो जन्म सन्‌ १९२२ मा भएको थियो। मेरो परिवार जेरूशलेमदेखि झन्डै १६ किलोमिटर उत्तरमा पर्ने रमल्लामा बसोबास गर्थ्यो। मेरा आमाबाबु दुवै जना क्रेट टापुको हुनुहुन्थ्यो तर बुबाचाहिं नाजरथमा हुर्कनुभएको थियो। तीन छोरा र दुई छोरीहरूमध्ये म सबैभन्दा कान्छी थिएँ। स्कूलले रमाइलोको लागि घुमाउन लगेको बेला मेरो माइलो दाइ यर्दन नदीमा डुबेर बित्नुहुँदा हाम्रो सम्पूर्ण परिवार पूरै मर्माहत भयो। यो दुःखद घटनापछि आमा रमल्लामा बस्न मान्‍नुभएन। त्यसैले म तीन वर्षकी हुँदा हामी ग्रीसको एथेन्समा बसाइँ सऱ्‍यौं।

हाम्रो परिवारले बाइबल सच्चाइबारे सुन्छ

हामी ग्रीस पुगेको केही समयपछि नै बाइबल स्टुडेन्ट्‌ससित मेरो जेठो दाइ निकोसको भेट भयो, त्यतिबेला यहोवाका साक्षीहरू त्यो नाउँले चिनिन्थे। दाइ त्यतिबेला २२ वर्षको हुनुहुन्थ्यो। बाइबलको ज्ञान हासिल गर्दा उहाँ एकदमै आनन्दित हुनुभयो र मसीही सेवकाईको लागि जोसले भरिनुभयो। यसले गर्दा मेरो बुबा असाध्यै रिसाउनुभयो र निकोस दाइलाई घरबाट निकालिदिनुभयो। तर बुबा प्यालेस्टाइन जानुभएको बेला आमा, मेरी दिदी र म, निकोस दाइसँगै मसीही सभाहरूमा जान्थ्यौं। ती सभाहरूमा सिकेका कुराहरूबारे आमाले उत्साहका साथ गर्नुहुने कुराकानी म अझै झलझली सम्झन्छु। तर त्यसको केही समयपछि नै उहाँलाई क्यान्सर भयो र ४२ वर्षको उमेरमा उहाँ बित्नुभयो। त्यस कठिन घडीमा मेरी दिदी आरियाडनेले हाम्रो परिवारलाई मायालुपूर्वक सँभाल्नुभयो। दिदी भर्खरकी हुनुभए तापनि वर्षौंसम्म उहाँ मेरो लागि आमा जत्तिकै हुनुहुन्थ्यो।

बुबा एथेन्समा हुनुहुँदा उहाँले सधैं मलाई अर्थोडक्स चर्च लैजानुहुन्थ्यो र उहाँको मृत्युपछि पनि म चर्च जान्थें तर कहिलेकाहीं मात्र। चर्चमा मानिसहरूले परमेश्‍वरले चाहनुभएअनुसार जीवन बिताएको नदेखेकोले मैले चर्च जानै छोडें।

बुबाको मृत्युपछि मैले अर्थ मन्त्रालयमा स्थायी जागिर पाउन सकें। मेरो दाइले निकै वर्षदेखि ग्रीसमा राज्यको प्रचारकार्यमा आफ्नो जीवन समर्पण गरिरहनुभएको थियो। सन्‌ १९३४ मा उहाँ साइप्रस सर्नुभयो। त्यतिबेला त्यस टापुमा बप्तिस्माप्राप्त यहोवाका साक्षीहरू थिएनन्‌। त्यसैले त्यहाँ प्रचारकार्य अघि बढाउने सुअवसर उहाँले पाउनुभयो। उहाँले बिहे गर्नुभएपछि भाउजू गलातियाले पनि निकै वर्ष पूर्ण-समय सेवकको रूपमा सेवा गर्नुभयो। a निकोस दाइले हामीलाई समय-समयमा बाइबल आधारित पुस्तक तथा पत्रिकाहरू पठाइरहनुहुन्थ्यो तर हामी त्यति पढ्‌दैनथ्यौं। आफ्नो जीवनको अन्तसम्मै उहाँ साइप्रसमै बस्नुभयो।

बाइबल सत्यलाई आफ्नो बनाउँदै

सन्‌ १९४० मा जर्ज डुरास नाउँ गरेको एक जना जोसिलो साक्षी एथेन्समा हामीलाई भेट्‌न आए र तिनको घरमा बाइबल अध्ययनको लागि भेला हुने सानो समूहमा उपस्थित हुन निमन्त्रणा दिए। साथै तिनी निकोस दाइका साथी थिए। हामीले खुसीसाथ तिनको निमन्त्रणा स्वीकाऱ्‍यौं। चाँडै हामीले आफूले सिकेको कुरा अरूलाई बताउन थाल्यौं। बाइबलको ज्ञान हासिल गरेपछि म र मेरी दिदी आफ्नो जीवन यहोवालाई समर्पण गर्न उत्प्रेरित भयौं। दिदी आरियाडनेले सन्‌ १९४२ मा बप्तिस्मा लिनुभयो भने मैले सन्‌ १९४३ मा लिएँ।

दोस्रो विश्‍वयुद्धको अन्तपछि निकोस दाइले हामीलाई साइप्रस बोलाउनुभयो र हामी सन्‌ १९४५ मा निकोसियामा बसाइँ सऱ्‍यौं। साइप्रसमा ग्रीसमा भन्दा फरक परिस्थिति थियो, त्यहाँ खुल्लमखुल्ला प्रचार गर्न सकिन्थ्यो। हामी घर-घरको प्रचारकार्यमा मात्र होइन तर सडक साक्षीकार्यमा पनि भाग लिन्थ्यौं।

दुई वर्षपछि दिदी आरियाडने ग्रीस फर्कनुपऱ्‍यो। त्यहाँ उहाँले यहोवाका सँगी उपासक आफ्नो हुनेवाला श्रीमान्‌ भेट्‌नुभयो। त्यसैले उहाँ एथेन्समै बस्नुभयो। मेरो दिदी र भिनाजुले मलाई ग्रीसमै फर्केर ग्रीसको राजधानीमा पूर्ण-समय सेवकाई गर्न प्रोत्साहन दिन बेर लाउनुभएन। अग्रगामी सेवा मेरो पहिलादेखिकै लक्ष्य भएकोले म आवश्‍यकता बढी भएको एथेन्समै फर्कें।

सुअवसरका नयाँ ढोकाहरू खोलिए

सन्‌ १९४७, नोभेम्बर १ देखि मैले अग्रगामी सेवा सुरु गरें र म प्रत्येक महिना प्रचारकार्यमा १५० घण्टा बिताउँथें। हाम्रो मण्डलीको प्रचार इलाका ठूलो थियो र निकै हिंड्‌नुपर्थ्यो। मैले थुप्रै आशिष्‌हरू पाएँ। प्रचारकार्यमा भाग लिइरहेको वा मसीही सभाहरूमा उपस्थित भइरहेको भेट्टायो कि त अक्सर प्रहरीले पक्रिहाल्थ्यो। त्यसैले म पनि पक्राउमा पर्न धेरै समय लागेन।

ममाथि धर्म परिवर्तनको अभियोग लगाइयो र त्यतिबेला यो एउटा गम्भीर अपराध थियो। मलाई एथेन्समा रहेको अभेरोफ महिला झ्यालखानामा दुई महिनाको जेल सजाय सुनाइयो। अर्की एउटी साक्षी बहिनी त्यहाँ पहिलादेखि नै थिइन्‌ र हामी दुई जेलमै भए तापनि उत्थानदायी मसीही संगतिको आनन्द उठायौं। आफ्नो सजाय पूरा गरिसकेपछि म फेरि अग्रगामी सेवामै फर्कें। मैले त्यतिबेला बाइबल अध्ययन गरेका थुप्रै अहिले पनि यहोवाका विश्‍वासी सेवकहरूकै रूपमा सेवा गरिरहेका छन्‌ र यो देखेर म धेरै आनन्दित हुन्छु।

सन्‌ १९४९ मा मैले संयुक्‍त राज्य अमेरिकामा वाचटावर बाइबल स्कूल अफ गिलियडको १६ औं कक्षामा भाग लिने निमन्त्रणा पाएँ जहाँ पूर्ण-समय सेवकहरूलाई मिसनरी कार्यको लागि प्रशिक्षण दिइन्छ। म र मेरा नातेदारहरू हर्षित भयौं। सन्‌ १९५० को गर्मी महिनामा न्यु योर्क सहरमा हुने अन्तरराष्ट्रिय जिल्ला अधिवेशनमा उपस्थित भएर गिलियड जाने योजना मैले बनाएँ।

संयुक्‍त राज्य अमेरिकामा पुगेपछि न्यु योर्क सहरमा रहेको यहोवाका साक्षीहरूको मुख्यालयमा हाउसकिपरको रूपमा केही महिना सेवा गर्ने सुअवसर मैले पाएँ। त्यहाँको वातावरण स्वच्छ, रमणीय तथा उत्थानदायी थियो र सबै भाइबहिनीहरूको अनुहारमा खुसीको मुस्कान थियो। मैले त्यहाँ बिताएको छ महिना सम्झँदा मलाई अहिले पनि रमाइलो लाग्छ। त्यसपछि गिलियड स्कूलको लागि जाने बेला पनि भयो जहाँ पाँच महिना गहन अध्ययन र निर्देशन कार्यक्रममै व्यस्त भइयो र समय बितेको त चालै पाइएन। धर्मशास्त्रको ज्ञान कत्ति बहुमूल्य र सुन्दर छ भन्‍ने कुरा हामी विद्यार्थीहरूले बुझ्यौं र यसले जीवनदायी सत्यको ज्ञानबारे अरूलाई बताउने हाम्रो इच्छा र आनन्दलाई झनै प्रबल बनायो।

मेरो पहिलो मिसनरी कार्यभार

मिसनरी असाइनमेन्ट प्राप्त गर्नुअघि हामीले गिलियडमा आफ्नो भावी मिसनरी साथी छान्‍न पाउँथ्यौं। एउटी असाध्यै राम्री बहिनी रूथ हेमिग (अहिले बोशहार्ड) मेरो मिसनरी साथी भइन्‌। हाम्रो असाइनमेन्ट एसिया र युरोप दुवैलाई छुने इस्तानबुल, टर्की भनी थाह पाउँदा रूथ र म असाध्यै खुसी भयौं! त्यस देशमा हाम्रो प्रचारकार्यले कानुनी मान्यता पाइसकेको थिएन तर यहोवाले हाम्रो समर्थन गर्नुहुनेछ भनेर हामी ढुक्क थियौं।

इस्तानबुल असाध्यै सुन्दर महानगरपालिका हो। त्यहाँ विभिन्‍न सामानहरूले भरिभराउ चहलपहलपूर्ण बजारहरू, विश्‍वभरिका स्वादिष्ठ भोजनहरू, रमाइला सङ्‌ग्रहालयहरू, हँसिला छरछिमेक र सधैं मन्त्रमुग्ध बनाउने फोहराहरू हामीले पायौं। सबैभन्दा महत्त्वपूर्ण कुरा परमेश्‍वरबारे जान्‍न चाहने निष्कपट व्यक्‍तिहरू हामीले भेट्टायौं। इस्तानबुलमा मुख्यतः आर्मेनियाली, ग्रीक र यहूदी साक्षीहरूको एउटा सानो समूह थियो। तर त्यहाँ अरू थुप्रै देशका मानिसहरू पनि थिए र टुर्कीलगायत अरू विभिन्‍न भाषाहरू अलि-अलि जानिराख्नु मदतकारी थियो। सत्यका लागि तिर्खाएका विभिन्‍न देशका मानिसहरूलाई भेट्‌न पाउनु हाम्रो लागि साँच्चै आनन्दको कुरा थियो। अहिले पनि तीमध्ये थुप्रै जना विश्‍वासीपूर्वक यहोवाको सेवा गर्दैछन्‌।

दुःखको कुरा रूथको आवासीय भिसा नवीकरण नगरिदिएकोले तिनी त्यो देश छोडेर जान बाध्य भइन्‌। तिनी अहिले पनि स्वीजरल्याण्डमा पूर्ण-समय सेवा गरिरहेकी छिन्‌। मलाई अहिले पनि उनको रमाइलो र उत्थानदायी संगतिको अभाव खट्‌किन्छ।

संसारको अर्को छेउमा बसाइँ सराइ

सन्‌ १९६३ मा मेरो पनि टर्कीको आवासीय भिसा नवीकरण भएन। थुप्रै कठिनाइहरू सामना गर्दै आध्यात्मिक तवरमा प्रगति गरिरहेका थुप्रै सँगी मसीहीहरूसित बिछोडिन सजिलो भएन। मलाई प्रोत्साहन दिन मेरा नातेदारहरूले दयालुपूर्वक न्यु योर्कमा हुन लागेको अधिवेशनमा उपस्थित हुन टिकटको पैसा तिरिदिए। त्यतिबेलासम्म मैले आफ्नो अर्को असाइनमेन्ट पाएकी थिइनँ।

अधिवेशनपछि मलाई पेरूको लिमामा खटाइयो। अर्की एउटी जवान बहिनी जो मेरो अग्रगामी साथी थिइन्‌, तिनीसँगै सीधै म न्यु योर्कबाट आफ्नो नयाँ असाइनमेन्टमा गएँ। त्यहाँ मैले स्पेनी भाषा सिकें र यहोवाका साक्षीहरूको शाखा कार्यालयमाथि रहेको मिसनरी घरमा बसें। प्रचार गर्नु र स्थानीय भाइबहिनीहरूलाई चिन्‍नु एउटा असाध्यै राम्रो अनुभव थियो।

अर्को असाइनमेन्ट, अर्को भाषा

समयको अन्तरालमा ग्रीसमा रहेका मेरा नातेदारहरूले बूढ्यौली र खराब स्वास्थ्यका असरहरू सामना गर्न थाले। पूर्ण-समय सेवा छोडेर उनीहरूलाई मदत गर्नको लागि कथित सामान्य जीवनमा फर्कन उनीहरूले मलाई कहिल्यै भनेनन्‌। तथापि, निकै विचार र प्रार्थनापछि मैले आफ्नो परिवार नजिकैको ठाउँमा सेवा गर्नु नै बेस हुने निर्णय गरें। जिम्मेवार भाइहरू मायालुपूर्वक सहमत भए र मलाई इटालीमा खटाइयो र मेरा नातेदारहरूले मेरो यात्राको खर्च बेहोरिदिने कुरा बताए। अनि हुन पनि, इटालीमा सुसमाचारकहरूको ठूलो आवश्‍यकता थियो।

फेरि एक चोटि मैले नयाँ भाषा, इटालेली सिक्नुपऱ्‍यो। मेरो सबैभन्दा पहिलो असाइनमेन्ट फोग्गिया सहरमा थियो। पछि मलाई नेपल्समा खटाइयो जहाँ आवश्‍यकता धेरै थियो। मेरो इलाका पोजिलेपो थियो जुन नेपल्सको सबैभन्दा राम्रो भाग हो। यसले ठूलो भाग ओगटेको थियो र राज्य प्रकाशक जम्मा एक जना थिए। मैले आफ्नो कामबाट धेरै आनन्द उठाएँ र यहोवाले थुप्रै बाइबल अध्ययनहरू सुरु गर्न मदत गर्नुभयो। समयमा त्यस इलाकामा थुप्रै मण्डली स्थापना भए।

मैले बाइबल अध्ययन सुरु गरेको पहिलो स्थानीय व्यक्‍तिहरूमध्ये एउटी आमा र तिनका चार छोराछोरीहरू थिए। तिनी र तिनकी दुइटी छोरीहरू अहिले पनि यहोवाका साक्षीहरू हुन्‌। मैले एक जना सानी छोरी भएको एउटा विवाहित दम्पतीसित पनि अध्ययन सञ्चालन गरें। पूरै परिवारले सच्चाइमा उन्‍नति गऱ्‍यो र पानीको बप्तिस्माद्वारा आफ्नो समर्पणको जनाउ दियो। अहिले त्यो छोरीको यहोवाको एक जना विश्‍वासी सेवकसित विवाह भइसक्यो र तिनीहरू सँगै जोसिलो भई परमेश्‍वरको सेवा गर्दैछन्‌। एउटा ठूलो परिवारसित अध्ययन गर्दा परमेश्‍वरको वचनको शक्‍ति देखेर म प्रभावित भएँ। मूर्तिमार्फत गरिएको उपासना परमेश्‍वरको लागि स्वीकार्य छैन भनी देखाउने केही शास्त्रपदहरू छलफल गर्दा आमा अध्ययनको अन्तसम्मै पर्खेर बसिरहिनन्‌। आमाले त आफ्नो घरमा भएका सबै धार्मिक मूर्तिहरू तुरुन्तै त्यतिखेर नै फालिदिइन्‌।

समुद्रहरूमा जोखिम

इटालीदेखि ग्रीससम्म ओहोरदोहोर गर्दा म सधैं जहाजमा यात्रा गर्थें। यो यात्रा साधारणतया सधैं राम्रो हुन्थ्यो। तर सन्‌ १९७१ मा एउटा यात्रा फरक थियो। म एलियाना नाउँ गरेको जहाजमा इटाली फर्कंदै थिएँ। अगस्त २८ को दिन बिहान सबेरै जहाजको भान्छामा आगलागी भयो। आगो फैलियो र यात्रुहरू सबै आत्तिन थाले। आइमाईहरू मूर्छा परिरहेका थिए, केटाकेटीहरू रोइकराइ गरिरहेका थिए र पुरुषहरू चाहिं गनगन गर्दै कराउँदै धम्कीहरू दिइरहेका थिए। जहाजको दुवै छेउमा राखिएको लाइफबोटको लागि मानिसहरू दौडिन थाले। तर लाइफ-ज्याकेटहरू एकदमै कम थिए र लाइफबोटलाई तल पानीमा झार्ने मेसिनले पनि काम गरिरहेको थिएन। मसित लाइफ-ज्याकेट थिएन तर आगो झन्‌-झनै बढिरहेकोले समुद्रमा हाम फाल्नु नै बुद्धिमानी हुने थियो।

पानीमा हाम फाल्नेबित्तिकै म नजिकै तैरिरहेकी एक जना आइमाईको लाइफ-ज्याकेट भएको मैले याद गरें। तिनलाई पौडी खेल्न आउँदैन जस्तो देखिन्थ्यो त्यसैले मैले तिनलाई डुब्न लागेको जहाजबाट बचाउन च्याप्प समातेर तानें। समुद्रमा पौडी खेल्न झन्‌ झनै गाह्रो भइरहेको थियो र तैरिन नै ठूलो सङ्‌घर्ष गर्नुपऱ्‍यो। परिस्थिति आशाहीन देखिन्थ्यो तर मैले यहोवालाई साहसको लागि पुकारिरहें र यसबाट मैले बल पाएँ। मैले पावलले अनुभव गरेको जहाज दुर्घटनालाई सम्झें।—प्रेरित, अध्याय २७.

लाइफ-ज्याकेट लाएकी ती सहयात्रीलाई समात्दै चार घण्टासम्म छालहरूसित सङ्‌घर्ष गर्दै मैले भएभरको बल लगाई पौडी खेलें र यहोवालाई बलको लागि पुकारा गरें। बल्लतल्ल सानो जहाज आइरहेको मैले देखें। मलाई उद्धार गरियो तर मेरी सहयात्रीको मृत्यु भइसकेको रहेछ। हामी इटालीको बारी सहर पुगेपछि मलाई अस्पताल लगियो जहाँ मैले प्राथमिक उपचार पाएँ। म अस्पतालमा केही दिन बस्नुपऱ्‍यो र थुप्रै साक्षीहरू मलाई भेट्‌न आए र मलाई आवश्‍यक सबै कुरा दयालुपूर्वक प्रबन्ध गरिदिए। उनीहरूले देखाएको प्रेमको कारण मेरो वार्डमा भएका अरू बिरामीहरू एकदमै प्रभावित भए। b

पूरै निको भएपछि मलाई रोममा खटाइयो। सहरको मध्य भागमा पर्ने व्यापारिक इलाकामा मलाई काम गर्न भनियो जुन इलाकामा मैले यहोवाको मदत पाएर पाँच वर्षसम्म सेवा गरें। मैले इटालीमा जम्मा २० वर्ष सेवाको आनन्द उठाएँ र इटालेली मानिसहरूसित मेरो माया बसिसकेको थियो।

जहाँबाट सुरु गरेको त्यहीं फिर्ता

पछि दिदी आरियाडने र भिनाजुको स्वास्थ्यस्थिति झनै खराब हुन थाल्यो। म उहाँहरूको नजिक बस्न पाएको भए उहाँहरूले मलाई लगाउनुभएको त्यति ठूलो गुन थोरै भए पनि तिर्न सक्छु जस्तो लाग्यो। तर इटाली छोड्‌न मलाई असाध्यै गाह्रो भयो भनी मैले स्वीकार्नुपर्छ। तथापि, जिम्मेवार भाइहरूले मलाई अनुमति दिए र सन्‌ १९८५ को ग्रीष्म ऋतुदेखि मैले एथेन्समा अग्रगामी गरिरहेको छु जहाँबाट मैले सन्‌ १९४७ मा पूर्ण-समय सेवा सुरु गरेकी थिएँ।

मेरो मण्डलीलाई खटाइएको इलाकामा नै मैले प्रचार गरें र सहरको मध्य भागमा पर्ने व्यापारिक इलाकामा पनि प्रचार गर्न सकिन्छ कि भनेर शाखा कार्यालयलाई सोधें। अनि मैले एक जना अग्रगामी साथीसँगै तीन वर्षसम्म त्यस इलाकामा प्रचार गरें। घरमा हतपती नभेटिने मानिसहरूलाई हामीले विस्तृत साक्षी दिन सक्यौं।

समय बित्दै जाँदा सेवा गर्ने मेरो जोस रत्तीभर सेलाएको छैन तर मेरो शारीरिक बल भने घट्‌दैछ। अहिले मेरो भिनाजु चिरनिद्रामा परिसक्नुभयो। वर्षौंदेखि मेरी आमाजस्तै मेरी दिदी आरियाडनेले अहिले देख्न सक्नुहुन्‍न। मेरो स्वास्थ्यको कुरा गर्ने हो भने, पूर्ण-समय सेवा गरुन्जेल ठीक थियो। तर हालै मार्बलको भऱ्‍याङबाट लडेर मेरो दायाँ हात भाँचियो। अनि पछि फेरि लडेर कम्मर भाँचियो। मेरो अपरेसन गर्नुपऱ्‍यो र लामो समयसम्म म ओछ्यानमै परें। म अहिले सजिलै यताउता चलहल गर्न सक्दिनँ। अहिले म लौरोको सहायताले हिंड्‌छु र अरू कसैले लगिदियो भने मात्र बाहिर जान सक्छु। तैपनि मेरो स्वास्थ्यमा सुधार हुनेछ भन्‍ने आशा गर्दै म सक्दो गर्छु। बाइबल शैक्षिककार्यमा म पहिले जति भाग लिन सक्दिनँ तैपनि यो मेरो आनन्द र सन्तुष्टिको मुख्य कारण हो।

मैले पूर्ण-समय सेवकाईमा बिताएको आनन्दमय वर्षहरूलाई सम्झँदा यहोवाप्रतिको कृतज्ञताले मेरो हृदय ओतप्रोत हुन्छ। उहाँ अनि उहाँको पार्थिव संगठनले निरन्तर दिएको भरपर्दो निर्देशन र अमूल्य सहयोगको कारण मैले आफ्नो योग्यताले भ्याएसम्म सक्दो उहाँको सेवा गर्न सकेकी छु। यहोवाले अझै पनि उहाँको सेवा गरिरहन मलाई बल दिइरहून्‌ भन्‍ने मेरो हार्दिक इच्छा छ। उहाँले सञ्चालन गर्नुभएको विश्‍वव्यापी बाइबल शैक्षिककार्यमा आफूले सानो भए पनि योगदान पुऱ्‍याउन सकेकोमा म खुसी छु।—मलाकी ३:१०.

[फुटनोटहरू]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित १९९५ यरबूक अफ जेहोभाज्‌ विट्‌नेसेज-को पृष्ठ ७३-८९ हेर्नुहोस्‌।

b थप विवरणको लागि अवेक! फ्रेब्रुअरी ८, १९७२, पृष्ठ १२-१६ हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको चित्र]

म गिलियड जानुअघि मेरी दिदी आरियाडने र भिनाजु मिखालिससित

[पृष्ठ १०-मा भएको चित्र]

रूथ हेमिग र मलाई इस्तानबुल, टर्कीमा खटाइयो

[पृष्ठ ११-मा भएको चित्र]

सन्‌ १९७० दशकको सुरुतिर इटालीमा

[पृष्ठ १२-मा भएको चित्र]

आज मेरी दिदी आरियाडनेसित