सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार

सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार

सारा राष्ट्रका मानिसहरूको लागि सुसमाचार

“तिमीहरू . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।”—प्रेरित १:८.

१. बाइबल शिक्षकहरूको हैसियतमा हामी कुन कुरामा ध्यान दिन्छौं र किन?

 दक्ष शिक्षकहरू आफूले विद्यार्थीलाई कुन कुरा बताउँछन्‌ त्यसमा मात्र होइन तर कसरी बताउँछन्‌ भन्‍ने कुरामा पनि ध्यान दिन्छन्‌। बाइबल सच्चाइका शिक्षकहरूको हैसियतमा हामी पनि त्यसै गर्छौं। हामीले प्रचार गर्ने सन्देश र प्रयोग गर्ने तरिका दुवैलाई हामी ध्यान दिन्छौं। हामीले सुनाउने सन्देश अर्थात्‌ परमेश्‍वरको राज्यको सुसमाचार परिवर्तन हुँदैन तर हामी आफ्नो तरिका भने कहिलेकाहीं छाँटकाँट गर्छौं। किन? सकेसम्म धेरै मानिसहरूलाई सुनाउन।

२. हामीले प्रचार गर्ने तरिका छाँटकाँट गर्दा कसको अनुकरण गरिरहेका हुन्छौं?

प्रचार गर्ने हाम्रो तरिका छाँटकाँट गर्दा हामीले पुरातन समयका परमेश्‍वरका सेवकहरूको अनुकरण गरिरहेका हुन्छौं। उदाहरणका लागि प्रेरित पावललाई विचार गर्नुहोस्‌। तिनले यसो भने: “म यहूदीहरूका बीचमा यहूदीजस्तै भएँ, . . . व्यवस्थाको अधीनका नभएकाहरूका निम्ति म व्यवस्था नभएजस्तै भएँ। . . . कमजोरीहरूलाई हात पारूँ भनेर कमजोरीहरूका निम्ति म कमजोरीनै भएँ। कुनै किसिमले कसै कसैलाई बचाइहालूँ भनेर सबैका निम्ति म सबै कुरा भएँ।” (१ कोरिन्थी ९:१९-२३) प्रत्येक व्यक्‍तिको परिस्थितिअनुसार प्रचार गर्ने तरिका छाँटकाँट गर्दा पावलले राम्रो परिणाम प्राप्त गर्न सके। हामीले कुरा गरिरहेको व्यक्‍तिको परिस्थितिअनुसार हाम्रो तरिका छाँटकाँट गऱ्‍यौं भने हामीले पनि राम्रो परिणाम प्राप्त गर्न सक्नेछौं।

‘पृथ्वीको टाढा-टाढासम्म’

३. (क) प्रचारकार्यमा हाम्रो सामु कस्तो चुनौती छ? (ख) यशैया ४५:२२ का शब्दहरू अहिले कसरी पूरा भइरहेका छन्‌?

सुसमाचार प्रचार गर्नेहरूले सामना गर्ने एउटा प्रमुख चुनौती भनेको प्रचार गर्नुपर्ने इलाका हो र हाम्रो यो इलाकामा “सारा संसार” नै पर्छ। (मत्ती २४:१४) गत शताब्दीको दौडान यहोवाका थुप्रै सेवकहरूले नयाँ-नयाँ ठाउँहरूसम्म सुसमाचार सुनाउन कडा मेहनत गरे। यसको परिणाम कस्तो भयो? अत्यन्तै अपत्यारिलो ढङ्‌गमा सारा संसारभरि सुसमाचार फैलिएको छ। बीसौं शताब्दीको सुरुतिर प्रचारकार्य थोरै मुलुकहरूमा मात्र सीमित थियो तर अहिले यहोवाका साक्षीहरू २३५ वटा मुलुकमा सक्रिय छन्‌! साँच्चै, परमेश्‍वरको राज्यसन्देश ‘पृथ्वीको टाढा-टाढासम्म’ घोषणा गरिंदैछ।—यशैया ४५:२२.

४, ५.(क) सुसमाचार फैलाउने काममा कसले महत्त्वपूर्ण भूमिका खेलेका छन्‌? (ख) विदेशबाट आएर आफ्नो शाखाको इलाकामा सेवा गरिरहेका व्यक्‍तिहरूबारे कुनै-कुनै शाखा कार्यालयले के भने?

यत्तिका प्रगति हुनुको कारण के हो? यसका थुप्रै कारणहरू छन्‌। वाचटावर बाइबल स्कूल अफ गिलियडमा प्रशिक्षित मिसनरीहरू र हालैका वर्षहरूमा मिनिस्टेरियल ट्रेनिङ स्कूलका २०,००० भन्दा बढी स्नातकहरूले ठूलो योगदान पुऱ्‍याएका छन्‌। साथै, आफैले खर्च बेहोरेर राज्य प्रकाशकहरूको आवश्‍यकता बढी भएका मुलुकहरूमा बसाइँ सर्ने थुप्रै साक्षीहरूले पुऱ्‍याएको योगदान पनि कम उल्लेखनीय छैन। यस्ता आत्मत्यागी मसीहीहरू—पुरुष तथा स्त्री, जवान तथा वृद्ध, अविवाहित तथा विवाहित सबैले नै संसारभरि राज्यको सन्देश प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्‌। (भजन ११०:३; रोमी १०:१८) यिनीहरूको निकै कदर गरिन्छ। आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न विदेशबाट आफ्नो शाखाको इलाकामा आएका व्यक्‍तिहरूबारे कुनै-कुनै शाखा कार्यालयहरूले के लेखे, त्यसलाई ध्यान दिनुहोस्‌।

“एकदमै दुर्गम इलाकाहरूमा प्रचार गर्न यी प्यारा साक्षीहरूले नेतृत्व लिन्छन्‌, नयाँ मण्डलीहरू स्थापना गर्न मदत गर्छन्‌ अनि स्थानीय भाइबहिनीहरूको आध्यात्मिक वृद्धिमा योगदान पुऱ्‍याउँछन्‌।” (इक्वेडर) “यहाँ सेवा गरिरहेका सयौं विदेशीहरूले छोडेर गए भने यहाँका मण्डलीहरूको स्थायित्वलाई नै असर गर्नेछ। उनीहरू हामीमाझ हुनु आशिष्‌को कुरा हो।” (डोमिनिकन गणतन्त्र) “हाम्रा धेरैजसो मण्डलीहरूमा बहिनीहरूको संख्या एकदम धेरै छ, कहिलेकाहीं त ७० प्रतिशतसम्म बहिनीहरूको संख्या हुन्छ। (भजन ६८:११) तिनीहरूमध्ये धेरैजसो सच्चाइमा नयाँ छन्‌ तर अरू मुलुकबाट आएका अविवाहित बहिनीहरूले यी नयाँ व्यक्‍तिहरूलाई प्रशिक्षण दिन मूल्यवान्‌ सहयोग गरिरहेका छन्‌। विदेशबाट आएका यी बहिनीहरू हाम्रो लागि साँच्चै वरदान हुन्‌!” (एउटा पूर्वी युरोपेली मुलुक) के तपाईंले पनि अर्को देशमा गएर सेवा गर्नेबारे कहिल्यै विचार गर्नुभएको छ? aप्रेरित १६:९, १०.

“विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिस”

६. हाम्रो प्रचारकार्यमा सामना गर्नुपर्ने भाषासम्बन्धी चुनौतीलाई जकरिया ८:२३ ले कसरी सङ्‌केत गर्छ?

सारा राष्ट्रका मानिसहरूलाई प्रचार गर्नुमा अर्को ठूलो चुनौती, पृथ्वीमा बोलिने विभिन्‍न भाषाहरू हुन्‌। परमेश्‍वरको वचनले यस्तो भविष्यवाणी गऱ्‍यो: “ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) यस भविष्यवाणीको आधुनिक पूर्तिमा “दश जना मानिसले” ठूलो भीडलाई प्रतिनिधित्व गर्छ जसबारे प्रकाश ७:९ मा भविष्यवाणी गरिएको थियो। यद्यपि, जकरियाको भविष्यवाणीका यी “दश जना मानिस” सारा राष्ट्रहरूबाट मात्र नआई “सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्येबाट]” आउनेछन्‌ भन्‍ने कुरालाई ध्यान दिनुहोस्‌। यस भविष्यवाणीको यो महत्त्वपूर्ण विवरण पूरा भएको के हामीले देखेका छौं? अवश्‍य देखेका छौं।

७. “विभिन्‍न भाषा बोल्ने” मानिसहरूलाई सुसमाचार सुनाइँदैछ भनेर कस्तो तथ्याङ्‌कले देखाउँछ?

केही तथ्याङ्‌कहरू विचार गर्नुहोस्‌। पचास वर्ष पहिले हाम्रा साहित्यहरू ९० वटा भाषामा प्रकाशित हुन्थे तर आज त्यो संख्या ४०० भन्दा बढी पुगेको छ। एकदमै थोरै मानिसहरूले बोल्ने भाषाहरूमा समेत साहित्यहरू प्रकाशित गर्नको लागि “विश्‍वासी र बुद्धिमान दास[ले]” कुनै कसर बाँकी छोडेको छैन। (मत्ती २४:४५) उदाहरणका लागि, अहिले ग्रीनलैन्डी (४७,००० मानिसहरूले बोल्ने), पलाअन (१५,००० मानिसहरूले बोल्ने) र यापिज (७,००० भन्दा कम मानिसहरूले मात्र बोल्ने) भाषाहरूमा बाइबल साहित्यहरू उपलब्ध छन्‌।

नयाँ मौकाहरूको ‘ठूलो ढोका’

८, ९. कस्तो अवस्थाले गर्दा हाम्रो सामु ‘ठूलो ढोका’ खुलेको छ अनि हजारौं साक्षीहरूले कस्तो प्रतिक्रिया देखाएका छन्‌?

हुन त आज हामीले बेग्लै भाषा बोल्नेहरूलाई सुसमाचार सुनाउन विदेशी मुलुकमा जानु पर्दैन होला। तर हालैका वर्षहरूमा आर्थिक तवरमा सम्पन्‍न मुलुकहरूमा लाखौं प्रवासी तथा शरणार्थीहरूको ओइरो लागेको छ। यसले गर्दा विभिन्‍न भाषा बोल्ने थुप्रै प्रवासी समुदायहरू स्थापना भएका छन्‌। उदाहरणका लागि, फ्रान्सको पेरिसमा करिब १०० भाषाहरू बोलिन्छन्‌। क्यानाडाको टोरोन्टोमा १२५ अनि इङ्‌गल्याण्डको लन्डनमा ३०० भन्दा धेरै विदेशी भाषाहरू बोलिन्छन्‌! थुप्रै मण्डलीका इलाकाहरूमा अरू मुलुकबाट आएका व्यक्‍तिहरूको संख्या बढिरहेको हुँदा सारा राष्ट्रका मानिसहरूलाई सुसमाचार प्रचार गर्ने नयाँ मौकाहरूको ‘ठूलो ढोका’ खुलेको छ।—१ कोरिन्थी १६:९.

अर्को भाषा सिकेर हजारौं साक्षीहरूले सबै राष्ट्रका मानिसहरूलाई सुसमाचार सुनाउने चुनौती स्वीकारिरहेका छन्‌। प्रायजसोको लागि यसो गर्नु सजिलो भएको छैन तर प्रवासी तथा शरणार्थीहरूलाई परमेश्‍वरको वचनमा पाइने सत्य सिक्ने मदत दिंदा प्राप्त हुने आनन्द, भाषा सिक्दाको सङ्‌घर्षभन्दा कता हो कता बढी छ। हालैको वर्षमा एउटा पश्‍चिम यूरोपेली मुलुकमा सम्पन्‍न जिल्ला अधिवेशनहरूमा बप्तिस्मा लिनेहरूमध्ये झन्डै ४० प्रतिशत अरू मुलुकबाट आएका व्यक्‍तिहरू थिए।

१०. तपाईंले गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ पुस्तिका कसरी चलाउनुभएको छ? (पृष्ठ २६ मा दिइएको “गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ पुस्तिकाका विशेषताहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।)

१० हुन त, हामीमध्ये धेरै जना विदेशी भाषा सिक्न सक्ने अवस्थामा छैनौं। तैपनि, हालै विमोचन भएको गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ b भन्‍ने पुस्तिकाको सदुपयोग गरेर प्रवासीहरूलाई मदत गर्न सक्छौं किनभने यो पुस्तिकामा विभिन्‍न भाषाहरूमा बाइबलको मनमोहक सन्देश छापिएको छ। (यूहन्‍ना ४:३७) के तपाईंले सेवकाईमा यो पुस्तिका चलाइरहनुभएको छ?

जब मानिसहरूले राम्रो प्रतिक्रिया देखाउँदैनन्‌

११. कुनै-कुनै इलाकामा अर्को एउटा कस्तो चुनौती छ?

११ पृथ्वीमाथि शैतानको प्रभाव बढ्‌दै जाँदा हामीले अक्सर सामना गर्नुपर्ने अर्को एउटा चुनौती पनि छ। त्यो हो, राम्रो प्रतिक्रिया देखाउने मानिसहरू कम मात्र भेटिने इलाकाहरू। हुन त, यस्तो अवस्था देखेर हामी छक्क पर्दैनौं किनभने यस्तो अवस्था हुनेछ भनेर येशूले भविष्यवाणी गर्नुभएको थियो। हाम्रो समयबारे बताउँदै उहाँले यसो भन्‍नुभयो: “धेरैका प्रेम सेलाएर जानेछ।” (मत्ती २४:१२) धेरै मानिसहरूमा परमेश्‍वरमाथिको विश्‍वास र बाइबलप्रतिको आदर घट्‌दै गइरहेको छ। (२ पत्रुस ३:३, ४) यसको फलस्वरूप संसारका कुनै-कुनै ठाउँमा एकदम थोरै मानिसहरू मात्र ख्रीष्टका नयाँ चेलाहरू बनेका छन्‌। तथापि, त्यसको मतलब राम्रो प्रतिक्रिया नदेखाउने ती इलाकाहरूमा दिनरात प्रचार गरिरहेका हाम्रा प्रिय मसीही भाइबहिनीहरूको प्रयास बेकार गएको छ भन्‍ने चाहिं होइन। (हिब्रू ६:१०) किन? तल दिइएको कुरालाई विचार गर्नुहोस्‌।

१२. हाम्रो प्रचारकार्यका दुइटा प्रमुख उद्देश्‍य के-के हुन्‌?

१२ मत्तीले लेखेका सुसमाचारको पुस्तकले हाम्रो प्रचार गतिविधिको दुइटा प्रमुख उद्देश्‍यलाई प्रकाश पार्छ। एउटा हो, हामी “सबै देशका जातिहरूलाई चेला” बनाउँछौं। (मत्ती २८:१९) दोस्रो, राज्यसन्देश “साक्षीको निम्ति” हो। (मत्ती २४:१४) यी दुवै उद्देश्‍य महत्त्वपूर्ण छन्‌ तर दोस्रो उद्देश्‍यको अझ विशेष अर्थ छ। किन?

१३, १४. (क) ख्रीष्टको उपस्थितिको चिह्नको एउटा उल्लेखनीय पक्ष के हो? (ख) राम्रो प्रतिक्रिया देखाउने मानिसहरू त्यति धेरै नभएका इलाकाहरूमा प्रचार गर्दा खास गरी कुन कुरा हामीले बिर्सनु हुँदैन?

१३ प्रेरितहरूले येशूलाई सोधेको यो प्रश्‍न बाइबल लेखक मत्तीले यसरी लेखे: “तपाईंको आगमन [“उपस्थिति,” NW] र जगत्‌को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) यस चिह्नको एउटा उल्लेखनीय पक्ष, विश्‍वव्यापी प्रचारकार्य हुनेछ भनेर येशूले जवाफ दिनुभयो। के उहाँले चेला बनाउने कार्यबारे बताइरहनुभएको थियो? अहँ, थिएन। उहाँले यसो भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” (छड्‌के अक्षर हाम्रो, मत्ती २४:१४) यसरी राज्य प्रचारकार्य नै त्यस चिह्नको एउटा महत्त्वपूर्ण भाग हुनेछ भनेर येशूले देखाउनुभयो।

१४ यसकारण राज्यको सुसमाचार सुनाउने क्रममा चेला बनाउन सधैं सफल भएनौं भने पनि हामीले “साक्षी” भने दिइरहेकै हुन्छौं भनेर बिर्सनु हुँदैन। मानिसहरूले जस्तोसुकै प्रतिक्रिया देखाए तापनि हामीले के गरिरेहका छौं भनेर तिनीहरूलाई थाह छ अनि यसो गर्दा येशूको भविष्यवाणीको पूर्तिमा हामीले भाग लिइरहेका हुन्छौं। (यशैया ५२:७; प्रकाश १४:६, ७) पश्‍चिम युरोपका जवान साक्षी, जोर्डीले यसो भने: “मत्ती २४:१४ को पूर्तिमा यहोवाले मलाई चलाइरहनुभएको छ भनेर थाह पाउँदा मलाई अत्यन्तै खुसी लाग्छ।” (२ कोरिन्थी २:१५-१७) तपाईंलाई पनि पक्कै यस्तै लाग्छ होला।

जब हाम्रो सन्देशको विरोध गरिन्छ

१५. (क) कुन कुराबारे येशूले आफ्ना अनुयायीहरूलाई पहिल्यै सजग गराउनुभयो? (ख) विरोधको बावजुद प्रचार गरिरहन हामीलाई कुन कुराले बल दिन्छ?

१५ राज्यको सुसमाचार प्रचार गर्ने काममा अर्को चुनौती भनेको विरोध हो। येशूले आफ्ना अनुयायीहरूलाई पहिल्यै यसरी सजग गराउनुभयो: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) प्रारम्भिक मसीहीहरूजस्तै येशूका अहिलेका अनुयायीहरूलाई घृणा गरिएको छ, विरोध गरिएको छ अनि सताइएको छ। (प्रेरित ५:१७, १८, ४०; २ तिमोथी ३:१२; प्रकाश १२:१२, १७) कुनै-कुनै मुलुकमा अहिले तिनीहरू सरकारबाट प्रतिबन्धित भएका छन्‌। तैपनि, त्यस्ता मुलुकका साँचो मसीहीहरूले परमेश्‍वरप्रति आज्ञाकारी हुँदै राज्यको सुसमाचार प्रचार गरी नै रहेका छन्‌। (आमोस ३:८; प्रेरित ५:२९; १ पत्रुस २:२१) तिनीहरू अनि संसारभरिका यहोवाका साक्षीहरूलाई यसो गर्न कुन कुराले बल प्रदान गर्छ? आफ्नो पवित्र आत्माद्वारा यहोवाले तिनीहरूलाई शक्‍ति प्रदान गर्नुहुन्छ।—जकरिया ४:६; एफिसी ३:१६; २ तिमोथी ४:१७.

१६. येशूले प्रचारकार्य र परमेश्‍वरको आत्माबीचको सम्बन्ध कसरी देखाउनुभयो?

१६ परमेश्‍वरको पवित्र आत्मा र प्रचारकार्यबीचको नजिकको सम्बन्धलाई जोड दिंदै येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्‍ति पाउनेछौ, . . . पृथ्वीको अन्तसम्म मेरा गवाही हुनेछौ।” (छड्‌के अक्षर हाम्रो, प्रेरित १:८; प्रकाश २२:१७) यस शास्त्रपदमा बताइएको घटनाक्रम महत्त्वपूर्ण छ। पहिला, चेलाहरूले पवित्र आत्मा पाए अनि त्यसपछि तिनीहरूले पृथ्वीभरि साक्षी दिन थाले। परमेश्‍वरको पवित्र आत्माको मदत पाएपछि मात्र तिनीहरूले “सब जातिहरूलाई साक्षी” दिने काममा लागिरहन बल पाउने थिए। (मत्ती २४:१३, १४; यशैया ६१:१, २) यसैकारण येशूले पवित्र आत्मालाई “शान्तिदाता” अर्थात्‌ मदतगार भन्‍नुभयो। (यूहन्‍ना १५:२६) पवित्र आत्माले आफ्ना चेलाहरूलाई सिकाउनेछ र बाटो देखाउनेछ भनी येशूले भन्‍नुभयो।—यूहन्‍ना १४:१६, २६; १६:१३.

१७. घोर विरोधको सामना गर्नुपर्दा पवित्र आत्माले हामीलाई कसरी मदत गर्छ?

१७ सुसमाचार प्रचार गर्ने सिलसिलामा घोर विरोधको सामना गर्नुपर्दा आज परमेश्‍वरको आत्माले हामीलाई कुन-कुन तरिकामा मदत गर्छ? परमेश्‍वरको आत्माले हामीलाई बलियो बनाउँछ अनि हामीलाई सताउनेहरूको यसले विरोध गर्छ। यो कुरा बुझ्न राजा शाऊलको जीवनमा घटेको एउटा घटना विचार गर्नुहोस्‌।

परमेश्‍वरको आत्माले विरोध गर्दा

१८. (क) शाऊलको जीवनमा कस्तो नराम्रो परिवर्तन भयो? (ख) दाऊदलाई सताउन शाऊलले कस्ता तरिकाहरू अपनाए?

१८ इस्राएलका प्रथम राजा शाऊल सुरुमा एक जना असल राजा थिए तर पछि तिनी यहोवाप्रति अनाज्ञाकारी भए। (१ शमूएल १०:१, २४; ११:१४, १५; १५:१७-२३) यसो हुँदा परमेश्‍वरको आत्माले राजा शाऊललाई साथ दिन छोड्यो। अनि तिनी दाऊदसित असाध्यै रिसाए जो तिनीपछि राजा बन्‍न अभिषिक्‍त भएका थिए अनि परमेश्‍वरको आत्माको साथ पाएका थिए। (१ शमूएल १६:१, १३, १४) दाऊद सजिलै विरोधको सिकार बन्‍न सक्ने अवस्थामा थिए। आखिर नहोस्‌ पनि कसरी, दाऊदसित वीणा मात्र थियो भने शाऊलसित भाला थियो। एक दिन दाऊदले वीणा बजाइरहेको बेला शाऊलले “दाऊदलाई भित्तैमा उनिने गरी त्यो हानिपठायो, तर दाऊद दुइपल्ट एकातिर तर्के।” (१ शमूएल १८:१०, ११) पछि शाऊलले आफ्नो छोरा जोनाथनको कुरा सुने, जो दाऊदका साथी थिए र यस्तो शपथ खाए: “परमप्रभु जीवित हुनुभएझैं [दाऊद] मारिनेछैन।” त्यसपछि शाऊलले फेरि “दाऊदलाई भित्तैमा उनिने गरी भाला हाने, तर दाऊदले त्यस भालाको प्रहारलाई छले अनि त्यो भाला भित्तामा गाडियो।” दाऊद त्यहाँबाट भागे तर शाऊल लखेट्‌दै आए। यस्तो निर्णायक घडीमा परमेश्‍वरको आत्माले नै शाऊलको विरोध गऱ्‍यो। कसरी?—१ शमूएल १९:६, १०, NRV.

१९. परमेश्‍वरको आत्माले दाऊदलाई कसरी बचायो?

१९ दाऊद भागेर अगमवक्‍ता शमूएलकहाँ गए तर दाऊदलाई पक्रन शाऊलले आफ्ना मान्छेहरू पठाए। तर तिनीहरू दाऊद लुकेको ठाउँमा पुगेपछि “तिनीहरूमाथि परमेश्‍वरको आत्मा आउनुभयो, र तिनीहरू पनि अगमवक्‍ताको जोशमा मग्न भए।” परमेश्‍वरको आत्माले गर्दा तिनीहरू यतिविघ्न मग्न भए कि तिनीहरूले आफू त्यहाँ आउनुको मुख्य कारण नै बिर्से। दाऊदलाई समातेर ल्याउन शाऊलले अर्को दुई चोटि मान्छे पठाए तर हरेक चोटि त्यस्तै भयो। अन्तमा राजा शाऊल आफै दाऊदलाई समात्न गए तर परमेश्‍वरको आत्माको अगाडि तिनले केही गर्न सकेनन्‌। साँच्चै भन्‍ने हो भने, पवित्र आत्माले गर्दा शाऊल “दिनभरि र रातभरि” केही गर्न नसक्ने भए र दाऊदले भाग्न यथेष्ट समय पाए।—१ शमूएल १९:२०-२४.

२०. शाऊलले दाऊदलाई सताएको विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

२० शाऊल र दाऊदको यो विवरणले सिकाउने पाठले हामीलाई बलियो बनाउँछ: परमेश्‍वरको आत्माले विरोध गरेको छ भने परमेश्‍वरका सेवकहरूलाई सताउनेहरू सफल हुन सक्दैनन्‌। (भजन ४६:११; १२५:२) दाऊद इस्राएलको राजा हुनेछन्‌ भनेर यहोवाले निर्णय गरिसक्नुभएको थियो। कुनै पनि व्यक्‍तिले परमेश्‍वरको निर्णयलाई परिवर्तन गर्न सक्दैनथ्यो। हाम्रो समयमा “राज्यको यो सुसमाचार . . . प्रचार गरिनेछ” भनी यहोवाले निर्णय गरिसक्नुभएको छ। यो काम पूरा हुनदेखि कसैले पनि रोक्न सक्दैन।—छड्‌के अक्षर हाम्रो, प्रेरित ५:४०, ४२.

२१. (क) आज कोही-कोही विरोधीहरू कस्तो व्यवहार गर्छन्‌? (ख) हामी कुन कुरामा विश्‍वस्त छौं?

२१ हामीलाई बाधा पुऱ्‍याउने कोसिस गर्न कोही-कोही धार्मिक तथा राजनैतिक नेताहरूले झूट तथा हिंसासमेत प्रयोग गर्छन्‌। तथापि, यहोवाले दाऊदलाई आध्यात्मिक तवरमा जोगाउनुभएझैं उहाँले आज आफ्ना जनहरूलाई पनि जोगाउनुहुनेछ। (मलाकी ३:६) त्यसकारण दाऊदजस्तै हामी पनि विश्‍वस्त हुँदै यसो भन्छौं: “परमेश्‍वरमा मैले मेरो भरोसा राखेको छु, म डराउनेछैनँ। मानिसले मलाई के गर्नसक्छ र?” (भजन ५६:११; १२१:१-८; रोमी ८:३१) यहोवाको मदत पाएर सारा राष्ट्रका मानिसहरूलाई सुसमाचार प्रचार गर्न परमेश्‍वरले दिनुभएको आज्ञा पूरा गर्ने क्रममा आइपर्ने सबै चुनौतीहरू सामना गरिरहन सकौं।

[फुटनोटहरू]

a पृष्ठ २२ को “गहिरो सन्तुष्टिको महसुस” भन्‍ने पेटी हेर्नुहोस्‌।

b यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

के तपाईं याद गर्न सक्नुहुन्छ?

• प्रचार गर्ने तरिकामा हामी किन छाँटकाँट गर्छौं?

• कस्ता नयाँ मौकाहरूको ‘ठूलो ढोका’ खुलेको छ?

• त्यत्ति राम्रो प्रतिक्रिया नदेखाउने इलाकाहरूमा समेत हाम्रो प्रचारकार्यद्वारा कुन कुरा पूरा भइरहेको छ?

• राज्यको सुसमाचार प्रचार गर्ने कामलाई किन कुनै पनि विरोधीले रोक्न सक्दैनन्‌?

[प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको पेटी]

गहिरो सन्तुष्टिको महसुस

“यहोवाको सेवामा आनन्दित अनि सपरिवार मिलेर यहोवाको सेवा गरिरहेका।” यस अभिव्यक्‍तिले स्पेनबाट बोलिभियामा बसाइँ सरेको एउटा परिवारको वर्णन गर्छ। यस परिवारको छोरा बोलिभियाको एउटा पृथक समूहलाई मदत गर्न त्यहाँ गएका थिए। तिनको आनन्द देखेर परिवार अत्यन्तै प्रभावित भएको हुँदा चाँडै सम्पूर्ण परिवार बसाइँ सरे। यस परिवारमा १४ देखि २५ वर्षबीचका ४ जना छोरा पनि छन्‌। तीन जना छोराले अहिले अग्रगामी गर्दैछन्‌ अनि सुरुमा बोलिभिया जाने छोराले हालै मिनिस्टेरियल ट्रेनिङ स्कूलमा भाग लिए।

क्यानाडाबाट आएकी ३० वर्षीया एन्जेलिका जो पूर्वी युरोपमा सेवा गर्दैछिन, यसो भन्छिन्‌: “थुप्रै कठिनाइहरू छन्‌ तर सेवकाईमा मानिसहरूलाई मदत गर्दा म सन्तुष्टि पाउँछु। विदेशबाट यहाँ मदत गर्न आएकोमा स्थानीय साक्षीहरूले धेरै पटक आफ्नो मूल्याङ्‌कन व्यक्‍त गर्दा पनि मेरो मन छोएको छ।”

संयुक्‍त राज्य अमेरिकाबाट आएर डोमिनिकन गणतन्त्रमा सेवा गरिरहेका र लगभग ३० वर्ष पुग्न लागेका साक्खै दिदी-बहिनी यसो भन्छन्‌: “हामीलाई बानी पर्न समय लागेका थुप्रै चलनहरू थिए। तैपनि हामी आफ्नो असाइनमेन्टमा लागिरह्‍यौं र अहिले हाम्रा सात जना बाइबल विद्यार्थी सभा धाउँदैछन्‌।” एउटै पनि मण्डली नभएको सहरमा राज्य प्रकाशकहरूको समूह स्थापना गर्न यी दुई जना बहिनीले महत्त्वपूर्ण भूमिका खेले।

लगभग ३० वर्ष पुग्न लागेकी लराले विदेशमा सेवा गरेको चार वर्षभन्दा बढी भइसक्यो। उनी यसो भन्छिन्‌: “म जानाजानी आफ्नो जीवन सरल बनाउँछु। यसो गर्दा प्रकाशकहरूले सरल जीवन भनेको गरिबीको चिह्न नभई आफ्नो छनौट र सुबुद्धिको कुरा हो भनेर बुझ्ने मदत पाउँछन्‌। अरूलाई र अझ विशेष गरी युवाहरूलाई मदत गर्न सक्नु मेरो लागि ठूलो आनन्दको स्रोत हो र यो आनन्दले विदेशी भूमिमा सेवा गर्दा आइपर्ने ठूठूला कठिनाइहरूलाई समेत नगण्य बनाउँछ। अरू कुनै पनि कुराको लागि म यहाँ गरिरहेको सेवा छोड्‌न चाहन्‍नँ र यहोवाले जतिन्जेलसम्म दिनुहुन्छ, त्यतिन्जेल यहीं नै सेवा गरिरहनेछु।”

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ पुस्तिकाका विशेषताहरू

गुड न्युज फर पिपल अफ अल नेसन्स्‌ पुस्तिकामा ९२ भाषामा एक पृष्ठे सन्देश छ। यसको सन्देश पढ्‌ने व्यक्‍तिलाई नै सम्बोधन गरेर प्रथम पुरुषमा लेखिएको छ। त्यसैले, घरधनीले सन्देश पढ्‌दा तपाईं स्वयम्‌ घरधनीसित कुरा गरिरहेको जस्तो लाग्छ।

आवरणको भित्रपट्टि विश्‍वको नक्सा छ। यही नक्सा चलाएर घरधनीसित कुराकानी गर्ने आधार बसाल्नुहोस्‌। सायद तपाईंले आफ्नो देश कुन हो भनेर देखाउन सक्नुहुन्छ अनि तिनी कुन देशबाट आएका हुन्‌ भनेर म जान्‍न चाहन्छु भनेर तपाईं इसारा गर्न सक्नुहुन्छ। यसो गर्दा तपाईंले तिनको कुरा थाह पाउन सक्नुहुन्छ र एउटा मित्रैलो तथा सौहार्द वातावरण बनाउन सक्नुहुन्छ।

यस पुस्तिकाको प्राक्कथनमा, हामीले नबुझ्ने भाषा बोल्ने व्यक्‍तिहरूलाई प्रभावकारी ढङ्‌गमा मदत दिनको लागि हामीले अपनाउनुपर्ने विभिन्‍न कदमहरूबारे बताइएको छ। कृपया यी कदमहरू ध्यान दिएर पढ्‌नुहोस्‌ अनि व्यवहारमा उतार्न सजग हुनुहोस्‌।

विषयसूचीमा भाषाहरूको सूची मात्र नभई भाषा नजिकै उक्‍त भाषाको सङ्‌केत पनि उल्लेख गरिएको छ। यसले गर्दा विभिन्‍न भाषाका पर्चा र अरू प्रकाशनहरूमा छापिएको भाषाको सङ्‌केत तपाईं चिन्‍न सक्नुहुन्छ।

[चित्र]

के तपाईंले सेवकाईमा यो पुस्तिका चलाइरहनुभएको छ?

[पृष्ठ २३-मा भएका चित्रहरू]

हाम्रा बाइबल प्रकाशनहरू अहिले ४०० भन्दा बढी भाषामा उपलब्ध छन्‌

घाना

फिलिपिन्स

ल्यापल्याण्ड (स्वीडेन)

[पृष्ठ २४, २५-मा भएका चित्रहरू]

के तपाईं राज्य उद्‌घोषकहरूको आवश्‍यकता बढी भएको ठाउँमा सेवा गर्न सक्नुहुन्छ?

इक्वेडर

डोमिनिकन गणतन्त्र