सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट

अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट

“मलाई गुहार यहोवाबाट नै आउँछ”

अविवाहित तर यहोवाको सेवामा सन्तुष्ट

“स्पेनकी एउटी मसीही स्त्रीले भनिन्‌, “हामीहरू धेरैले विवाह गरेको छैनौं तर पनि हामी एकदमै खुसी छौं। उनको सन्तुष्टिको कारण के हो? “हाम्रा परमेश्‍वर यहोवाको सेवा पूर्णरूपले गर्न सकौं भनेर हामी धेरै टन्टाहरूबाट मुक्‍त रहन चाहन्छौं।”

यी भावनाहरू अविवाहित रहनेबारे परमेश्‍वरको वचनले भनेका शब्दहरूअनुरूप छन्‌। विवाहबारे प्रेरित पावलले यस्तो ईश्‍वर-प्रेरित अन्तरदृष्टि दिए: “तिनीहरू मजस्तै भएर रहे तिनीहरूका निम्ति बढिया हुनेछ।” पावल स्वयम्‌ अविवाहित थिए। तर उनले अविवाहित रहने सल्लाह किन दिए? विवाहित व्यक्‍तिका धेरै जिम्मेवारीहरू हुन्छन्‌ तर अविवाहित पुरुष र स्त्रीले भने “प्रभुकै कुराको विषयमा फिक्री गर्दछ” भनी उनले बताए। (१ कोरिन्थी ७:८, ३२-३४) अविवाहित व्यक्‍तिलाई आनन्दित र सन्तुष्ट राख्ने मुख्य कुञ्जी यहोवाको सेवा नै हो।

असल कारणले अविवाहित

विवाह र घरबार बसाउनुलाई ज्यादै महत्त्व दिने संस्कारमा पावलका यी भनाइहरू बुझ्न गाह्रो होला। अविवाहित रहेर पनि आनन्दित र सन्तुष्ट रहनुभएका येशू ख्रीष्टले अविवाहित मसीहीहरूको लागि अविवाहित रहनुको एउटा असल कारण बताउनुभयो। उहाँले भन्‍नुभयो: “कति चाहिं स्वर्गराज्यको निम्ति अविवाहित रहन्छन्‌। ग्रहण गर्नसक्नेले त्यो ग्रहण गरोस्‌।”—मत्ती १९:१२.

यी शब्दहरूले भने जस्तै अविवाहित रहँदा धेरैले विवाहित मानिसले सामना गर्ने अड्‌चनबिना परमेश्‍वरको सेवा गर्ने अवसर पाएका छन्‌। (१ कोरिन्थी ७:३५) विवाहित जोडीबिना हजारौं मसीहीहरूले खुसीसाथ यहोवाको उपासना गरिरहेका छन्‌ र अरूलाई मदत गर्न सक्रिय भएर लाग्दा तिनीहरूले आनन्द पाउँछन्‌। a

सुख केवल विवाहितहरूले पाउने र दुःखचाहिं सबै अविवाहितहरूले पाउने कुरा गलत हो भनेर धेरै अविवाहित मसीहीहरूले बुझेका छन्‌। कहिले सुख त कहिले दुःख दुवै वर्गले भोग्छन्‌। वास्तवमा विवाहले ‘शरीरमा कष्ट ल्याउनेछ’ भन्‍ने व्यावहारिक कुरा बाइबलले बताउँछ।—१ कोरिन्थी ७:२८.

परिस्थितिले गर्दा अविवाहित बस्ने

धेरै जना चाहेर होइन तर परिस्थितिले गर्दा अविवाहित बन्छन्‌। वैवाहिक प्रबन्धभित्रको आत्मीयता, मित्रता र स्नेहको तिनीहरूलाई पनि चाह हुन सक्छ। तैपनि, आर्थिक अथवा अरू परिस्थितिहरूले गर्दा कसै-कसैले तुरुन्तै विवाह गर्दैनन्‌। अरू कतिपय प्यारा आध्यात्मिक बहिनीहरू “प्रभुमा मात्र” विवाह गर्ने बाइबलको सल्लाह पालन गर्न कटिबद्ध भएकोले अविवाहित बस्छन्‌। (१ कोरिन्थी ७:३९) वफादार भई तिनीहरू यहोवाका बप्तिस्मा प्राप्त समर्पित जनहरूबीच मात्र आफ्नो वैवाहिक जोडी खोज्छन्‌।

कहिलेकाहीं तिनीहरूमध्ये कसै-कसैले एक्लो महसुस गर्न सक्छन्‌। आफू एक्लो भएको स्वीकार्दै एक जना अविवाहित मसीहीले यसो भनिन्‌: “हामीलाई यहोवाको व्यवस्था थाह छ र हामी कुनै पनि हालतमा यहोवालाई अप्रसन्‍न तुल्याउन चाहँदैनौं। हामीलाई पनि कुनै जोडीको चाहना हुन सक्छ तर संसारका मानिसले ‘जति नै पटक हाम्रो जोडी मिलाउन’ खोजे तापनि हामी दृढ भएका छौं। बेग्लै विश्‍वास हुने पुरुष अथवा स्त्रीको संगति समेत हामी चाहँदैनौं।” जस्तोसुकै भावनात्मक पीडा सहनुपरे तापनि यहोवालाई प्रसन्‍न तुल्याउन बाइबलको सल्लाह व्यवहारमा उतार्ने र उच्च नैतिक स्तर कायम राख्ने यी मसीहीहरू प्रशंसाका योग्य छन्‌।

यहोवाको मदतको कुनै कमी छैन

यहोवाको सेवा नगर्नेहरूसित विवाह गर्न इन्कार गरेर वफादारिता देखाउनेहरूसित यहोवा पनि वफादार नै रहनुहुन्छ। आफ्नो अनुभवबाट राजा दाऊदले यसो भन्‍न सके: “वफादारप्रति तपाईं वफादार हुनुहुन्छ।” (भजन १८:२५, NRV) अनि वफादार भई उहाँको आज्ञा पालन गर्नेहरूलाई परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड्‌नेछैन।” (हिब्रू १३:५) यहोवाको अनुकरण गर्दै हामी पनि यहोवाको वचनप्रति वफादार हर उमेरका अविवाहित मसीहीहरूको कुनै कन्जुस्याइँ नगरी प्रशंसा गर्न सक्छौं। चुनौती सामना गर्न तिनीहरूलाई बल दिनुहोस्‌ भनी यहोवालाई प्रार्थना पनि गर्न सक्छौं।—न्यायकर्त्ता ११:३०-४०.

धेरै अविवाहित मसीहीहरूले पूर्णतः यहोवाको सेवामा लाग्नु मै आफ्नो जीवनको अर्थ भेट्टाउँछन्‌। उदाहरणको लागि, लगभग ३५/३६ वर्षकी एक अविवाहित मसीही बहिनी प्याट्रिसियालाई लिनुहोस्‌, जो अग्रगामी अर्थात्‌ पूर्ण-समय प्रचारक हुन्‌। उनी भन्छिन्‌: “अविवाहित रहँदा परीक्षाहरू त धेरै आउँछन्‌ तर यसले मलाई नियमित अग्रागामी बन्‍ने मौका दिएको छ। अविवाहित भएकीले मेरो तालिका लचकदार छ जसले मलाई अध्ययनको लागि धेरै समय दिन्छ। विशेष गरी कठिन समयमा मैले यहोवामा अझ धेरै भर पर्न पनि सिकेकी छु।”

यस्ता भावनाहरू बाइबलको यस आश्‍वासनदायी प्रतिज्ञामा आधारित छ: “आफ्नो मार्ग परमप्रभुलाई सुम्पी। उहाँमानै भरोसा राख्‌, अनि उहाँले सो पुऱ्‍याइदिनुहुनेछ।” (भजन ३७:५) चाहे विवाहित होऊन्‌ या अविवाहित, वास्तवमा यहोवाका सबै विश्‍वासी उपासकहरूले यस प्रेरित शब्दहरूबाट सान्त्वना र बल पाउन सक्छन्‌: “मलाई गुहार यहोवाबाट नै आउँछ।”—भजन १२१:२, NW.

[फुटनोट]

a सन्‌ २००५ यहोवाका साक्षीहरूको क्यालेन्डर, जुलाई/अगस्त हेर्नुहोस्‌।

[पृष्ठ ९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“विवाह नभएकोले म प्रभुलाई कसरी खुशी राखूँ भन्‍ने प्रभुकै कुराको विषयमा फिक्री गर्दछ।”—१ कोरिन्थी ७:३२

[पृष्ठ ८-मा भएको ठूलो अक्षरको क्याप्सन]

अविवाहित जीवनलाई इनामदायी बनाउने

जीवनभर अविवाहित रहनुभएका येशूले भन्‍नुभयो: “मलाई पठाउनेको इच्छा पूरा गर्नु, र उहाँको काम पूरा गर्नुनै मेरो भोजन हो।”—यूहन्‍ना ४:३४.

फिलिपका चार अविवाहित छोरीहरूले ‘अगमवाणी गर्ने’ काममा आफूलाई व्यस्त राखे।—प्रेरित २१:८, ९.

राज्यसन्देश घोषणा गर्ने अविवाहित बहिनीहरू ‘सुसमाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल’ हुन्‌।—भजन ६८:११.