सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ”

“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ”

“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ”

“तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।”—२ कोरिन्थी १३:५.

१, २. (क) हाम्रो विश्‍वासप्रतिको अनिश्‍चितताले हामीलाई कसरी असर गर्न सक्छ? (ख) कस्तो अवस्थाले गर्दा प्रथम शताब्दीको कोरिन्थका कोही-कोही कसरी हिंड्‌नुपर्छ भन्‍नेबारे अलमलमा परेका हुन सक्छन्‌?

 गाउँको बाटो भएर यात्रा गरिरहेको एक जना मानिस दोबाटोमा आइपुग्छन्‌। आफू पुग्नुपर्ने ठाउँ जाने बाटो कुन हो भन्‍ने कुरा पक्का नभएको कारण तिनले अरू बटुवाहरूलाई सोध्छन्‌ तर कसैको पनि जवाफ एकअर्कासित मिल्दैन। तिनी अलमलमा पर्छन्‌ र आफ्नो यात्रा अघि बढाउन सक्दैनन्‌। आफ्नो विश्‍वासबारे शङ्‌का हुँदा हुँदा हामीलाई पनि यस्तै लाग्न सक्छ। यस्तो अनिश्‍चितताले निर्णयहरू गर्ने हाम्रो क्षमतामा बाधा पुऱ्‍याउन सक्छ र कुन बाटो जाने हो भनेर हामी अलमलमा पर्न सक्छौं।

प्रथम शताब्दीमा, ग्रीसको कोरिन्थमा भएको मसीही मण्डलीका केही सदस्यहरूलाई पनि यस्तै असर पार्न सक्ने अवस्था सिर्जना भएको थियो। “मुख्य प्रेरितहरू[ले]” यसो भन्दै प्रेरित पावलको अख्तियारलाई चुनौती दिइरहेका थिए: “त्यसका चिट्ठीहरू गहकिला र प्रभावशाली हुन्छन्‌, तर सामनेमा शरीरको निर्धो र बोलीचाहिं केही कामको छैन।” (२ कोरिन्थी १०:७-१२; ११:५, ६) यस्तो दृष्टिकोणले कोरिन्थ मण्डलीका कोही-कोहीलाई कसरी हिंड्‌नुपर्छ भन्‍नेबारे अलमलमा पारेको हुन सक्छ।

३, ४. पावलले कोरिन्थका मसीहीहरूलाई दिएको सल्लाह हाम्रो लागि किन चासोको विषय हुनुपर्छ?

सा.यु. ५० मा कोरिन्थको भ्रमण गर्दा पावलले त्यहाँ मण्डली स्थापना गरेका थिए। “उनीहरूका बीचमा सिकाउँदै, तिनी डेढ वर्षसम्म” कोरिन्थमा बसे। वास्तवमा, “कोरिन्थीहरूमध्ये पनि धेरै जनाले विश्‍वास गरे, र बप्तिस्मा लिए।” (प्रेरित १८:५-११) कोरिन्थमा भएका आफ्ना सँगी विश्‍वासीहरूको आध्यात्मिक भलाइमा पावल गहिरो चासो राख्थे। साथै, कुनै-कुनै खास विषयहरूमा सल्लाह माग्दै कोरिन्थका मसीहीहरूले पावललाई पत्र लेखेका थिए। (१ कोरिन्थी ७:१) त्यसैले तिनले उनीहरूलाई राम्रो सल्लाह दिए।

पावलले यस्तो लेखे: “तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) यो सल्लाह पालन गर्दा यसले कोरिन्थका ती भाइहरूलाई कुन मार्गमा हिंड्‌ने भनी अलमलमा पर्नदेखि जोगाउने थियो। यस सल्लाहले आज हामीलाई पनि त्यसरी नै जोगाउन सक्छ। त्यसोभए, पावलको सल्लाह हामी कसरी पछ्याउन सक्छौं? हामी विश्‍वासमा छौं कि छैनौं भनेर कसरी जाँच्न सक्छौं? अनि आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनुमा कुन-कुन कुरा समावेश छ?

“तिमीहरू विश्‍वासमा छौ कि छैनौ” भनेर जाँच

५, ६. हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्न हामीसित कस्तो स्तर छ र त्यो किन उत्कृष्ट स्तर हो?

कुनै परीक्षणमा अक्सर व्यक्‍ति वा वस्तुमाथि परीक्षण गरिन्छ र कुनै एउटा मापदण्ड वा स्तर तोकेर त्यसको आधारमा परीक्षण गरिन्छ। यहाँ परीक्षण गरिने वस्तु हामीले अँगालेको हाम्रो विश्‍वास होइन। परीक्षण गरिने व्यक्‍ति हामी प्रत्येक व्यक्‍तिविशेष हौं। परीक्षणको लागि हाम्रो सामु एउटा सिद्ध स्तर छ। भजनहार दाऊदले रचेको एउटा भजन यसो भन्छ: “परमप्रभुको व्यवस्था निर्दोष छ, आत्मालाई जागृत गराउने। परमप्रभुको साक्षीवचन पक्का छ, निर्बोधहरूलाई बुद्धिमान तुल्याउने। परमप्रभुका आदेश ठीक छन्‌, हृदयलाई आनन्द गराउने। परमप्रभुको आशा निर्मल छ, आँखालाई उज्ज्वल तुल्याउने।” (भजन १९:७, ८) बाइबलमा यहोवाको निर्दोष व्यवस्था, ठीक आदेश, पक्का साक्षीवचन र निर्मल आशा पाइन्छ। त्यहाँ पाइने सन्देश परीक्षणको लागि उत्कृष्ट स्तर हो।

ईश्‍वर-प्रेरित सन्देशबारे प्रेरित पावल यसो भन्छन्‌: “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुई-धारे तरवारभन्दा पनि धारिलो, औ प्राण र आत्मालाई जोर्नी जोर्नी र हड्डीका मासीलाई भाग भाग पारुञ्जेलसम्म वारपार छेंड्‌ने, र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) हो, परमेश्‍वरको वचनले हाम्रो हृदय अर्थात्‌ हामी भित्र वास्तवमा कस्तो छौं भनेर जाँच्न सक्छ। यो धारिलो र प्रबल सन्देशलाई हामी आफ्नो व्यक्‍तिगत जीवनमा कसरी लागू गर्न सक्छौं? हामी कसरी यसो गर्न सक्छौं भन्‍नेबारे भजनहारले स्पष्टसित बताएका छन्‌। तिनले यसरी गाए: “त्यो मानिस धन्य हो, जो . . . परमप्रभुको व्यवस्थामानै . . . प्रसन्‍न रहन्छ, र दिनरात उहाँकै व्यवस्थामा त्यसले ध्यान दिन्छ।” (भजन १:१, २) “परमप्रभुको व्यवस्था” परमेश्‍वरको लिखित वचन बाइबलमा पाइन्छ। यहोवाको वचन पढ्‌न हामी रमाउनै पर्छ। वास्तवमा, यसमा ध्यान दिन वा मनन गर्न हामीले समय छुट्याउनै पर्छ। यसो गर्दा त्यहाँ लेखिएका कुराहरूको आधारमा आफ्नो परीक्षण हुन दिनुपर्छ किनभने परीक्षण गरिने वस्तु हामी नै हौं।

७. हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्ने सबैभन्दा प्रमुख तरिका के हो?

त्यसैले हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्ने सबैभन्दा प्रमुख तरिका प्रार्थनापूर्वक परमेश्‍वरको वचन पढ्‌नु र मनन गर्नु अनि हाम्रो आचरण हामीले सिकेको कुरासित कत्तिको मेल खान्छ भनेर केलाउनु हो। परमेश्‍वरको वचन बुझ्नको लागि हामीसित थुप्रै मदतहरू भएकोमा हामी खुसी हुन सक्छौं।

८. हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्न “विश्‍वासी र बुद्धिमान दास[का]” प्रकाशनहरूले हामीलाई कसरी मदत गर्न सक्छ?

“विश्‍वासी र बुद्धिमान दास[का]” प्रकाशनहरूद्वारा यहोवाले शिक्षा तथा निर्देशनहरू उपलब्ध गराउनुभएको छ अनि ती प्रकाशनहरूले धर्मशास्त्रको व्याख्या गर्छ। (मत्ती २४:४५) उदाहरणका लागि, ड्र क्लोज टु जेहोभा a पुस्तकको अधिकांश अध्यायको अन्तमा दिइएको “मननका लागि प्रश्‍नहरू” भन्‍ने शीर्षक भएको पेटीलाई विचार गर्नुहोस्‌। यस पुस्तकको यो पेटीले व्यक्‍तिगत तवरमा मनन गर्ने कस्तो राम्रो सुअवसर दिन्छ! हाम्रा पत्रिकाहरू, प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-मा छलफल गरिएका विभिन्‍न विषयहरूले पनि हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्न मदत दिन्छ। प्रहरीधरहरा-को हालैका अंकहरूमा प्रकाशित हितोपदेशको पुस्तकसम्बन्धी लेखहरूबारे एउटी मसीही स्त्रीले यसो भनिन्‌: “यी लेखहरू मलाई असाध्यै व्यावहारिक लाग्छ। यी लेखहरूले मेरो बोली, आचरण र मनोवृत्ति साँच्चै यहोवाका धार्मिक स्तरहरू अनुरूप छन्‌ कि छैनन्‌ भनेर जाँच्न मदत दिन्छ।”

९, १०. यहोवाले गर्नुभएका कस्ता प्रबन्धहरूले हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँचिरहन मदत गर्छ?

मण्डलीका सभा, सम्मेलन र अधिवेशनहरूमा पनि हामी प्रशस्त निर्देशन तथा प्रोत्साहन पाउँछौं। यी सबै कुराहरू ती व्यक्‍तिहरूको लागि परमेश्‍वरले गर्नुभएको आध्यात्मिक प्रबन्ध हो जसबारे यशैयाले यस्तो अगमवाणी गरे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। डाँडाहरूभन्दा माथि त्यो उच्च उठाइनेछ। सबै जातिहरू त्यहीतर्फ ओइरिएर आउनेछन्‌। जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं।” (यशैया २:२, ३) यहोवाको मार्गबारे यस्तो निर्देशन पाउनु साँच्चै आशिष्‌को कुरा हो।

१० मसीही प्राचीनहरू लगायत आध्यात्मिक योग्यता भएकाहरूबाट पाइने सल्लाहलाई पनि बेवास्ता गर्नु हुँदैन। तिनीहरूबारे बाइबल यसो भन्छ: “हे भाइ हो, यदि मानिस कुनै अपराधमा पक्राउ पऱ्‍यो भने पनि तिमी आत्मिकीहरूले चाहिं नम्रताको आत्माले आफै परीक्षामा नपरौं भनी आफ्नो पनि विचार राख्तै यस्ताको सुधार गर।” (गलाती ६:१) हामीलाई सुधार्नको लागि मिलाइएको यस प्रबन्धको लागि हामी कत्ति धेरै कृतज्ञ हुन सक्छौं!

११. हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्नुमा के-के समावेश छ?

११ हाम्रा प्रकाशनहरू, मसीही सभाहरू अनि नियुक्‍त पुरुषहरू—यी सबै यहोवाले हामीलाई दिनुभएका अद्‌भुत वरदानहरू हुन्‌। यद्यपि, हामी विश्‍वासमा छौं कि छैनौं भनेर जाँच्नको लागि आत्म-परीक्षण गर्नुपर्छ। त्यसैले हाम्रा प्रकाशनहरू पढ्‌दा वा धर्मशास्त्रीय सल्लाहहरू सुन्दा हामीले आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुपर्छ: ‘कतै यो कुरा मलाई नै भनिरहेको त होइन? के म यसै गर्छु? के म मसीही विश्‍वास अनुरूप चलिरहेको छु?’ यी प्रबन्धहरू मार्फत हामीले प्राप्त गर्ने जानकारीहरूप्रति हाम्रो मनोवृत्तिले पनि हाम्रो आध्यात्मिक अवस्थामा असर गर्छ। बाइबल यसो भन्छ: “शारीरिक मानिसले परमेश्‍वरका आत्माका कुरा ग्रहण गर्दैन, किनकि ती त्यसको निम्ति मूर्खता हुन्छन्‌। . . . तर आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ।” (१ कोरिन्थी २:१४, १५) हाम्रा पुस्तक, पत्रिका र अरू प्रकाशनहरूमा हामीले पढ्‌ने अनि हाम्रा सभाहरूमा तथा प्राचीनहरूद्वारा सुन्‍ने कुराहरूप्रति के हामीले सकारात्मक र आध्यात्मिक दृष्टिकोण राख्ने कोसिस गर्नु पर्दैन र?

“आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ”

१२. आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनुमा कुन कुरा समावेश छ?

१२ आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनुमा आफ्नो लेखाजोखा गर्नु समावेश छ। हो, हामी सच्चाइमा त हौंला तर हामी कत्तिको सच्चाइ अनुरूप जीवन बिताउँछौं? आफैलाई जाँचेर प्रमाण दिनुमा परिपक्वता र आध्यात्मिक प्रबन्धहरूप्रति साँचो मूल्याङ्‌कनको प्रमाण दिनु समावेश छ।

१३. हिब्रू ५:१४ अनुसार कुन कुराले हाम्रो परिपक्वताको प्रमाण दिन्छ?

१३ हामी आफूमा मसीही परिपक्वताको कस्तो प्रमाण खोज्न सक्छौं? प्रेरित पावलले यस्तो लेखे: “खँदिलो खानेकुराचाहिं पूरा बढेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्‌।” (हिब्रू ५:१४) आफ्नो ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिएर हामी परिपक्वताको प्रमाण दिन्छौं। जसरी एक जना खेलाडी आफ्नो खेलमा दक्ष हुनको लागि शरीरको कुनै भागको मांसपेशीलाई बारम्बार प्रयोग गरेर प्रशिक्षण दिनुपर्छ, त्यसरी नै बाइबल सिद्धान्तहरू लागू गरेर हाम्रो ज्ञानेन्द्रिय शक्‍ति पनि प्रशिक्षित हुनुपर्छ।

१४, १५. परमेश्‍वरको वचनका गहिरा कुराहरू अध्ययन गर्न हामीले किन लगनशील प्रयत्न गर्नुपर्छ?

१४ यद्यपि, पहिला त ज्ञान हासिल गर्नुपर्छ अनि त्यसपछि मात्र हामी ज्ञानेन्द्रिय शक्‍तिलाई प्रशिक्षण दिन सक्छौं। यसको लागि लगनशील भई व्यक्‍तिगत अध्ययन गर्नु आवश्‍यक छ। नियमित तवरमा व्यक्‍तिगत अध्ययन गर्दा र विशेष गरी परमेश्‍वरको वचनका गहिरा कुराहरू अध्ययन गर्दा हाम्रो ज्ञानेन्द्रिय शक्‍ति तिखारिन्छ। वर्षौंको दौडान, प्रहरीधरहरा-मा थुप्रै गहिरा-गहिरा विषयहरूमा छलफल गरिएको छ। सच्चाइसम्बन्धी गहिरा कुराहरू छलफल गर्ने लेखहरू पढ्‌दा हामी कस्तो प्रतिक्रिया देखाउँछौं? त्यसमा भएका “कुनै कुनै कुराहरू बुझ्न कठिन छन्‌” भन्दैमा के हामी ती लेखहरू पढ्‌दै नपढी त्यत्तिकै थन्काउँछौं? (२ पत्रुस ३:१६) यसो गर्नुको सट्टा, त्यहाँ बताइएको कुरा बुझ्नको लागि हामी थप मेहनत गर्छौं।—एफिसी ३:१८.

१५ हामीलाई व्यक्‍तिगत अध्ययन गर्न गाह्रो लाग्छ भने नि? हामीले यसबाट आनन्द उठाउने कोसिस गर्न सिक्नु महत्त्वपूर्ण छ। b (१ पत्रुस २:२) परिपक्वतातर्फ बढ्‌नको लागि हामीले खँदिलो खानेकुरा अर्थात्‌ परमेश्‍वरको वचनका गहिरा सच्चाइहरूबाट पोषण प्राप्त गर्न सिक्नुपर्छ। यसो गरेनौं भने हाम्रो ज्ञानेन्द्रिय शक्‍ति सीमित रहनेछ। तथापि, परिपक्वताको प्रमाण दिनुमा ज्ञानेन्द्रिय शक्‍ति हासिल गर्नु मात्र समावेश छैन। लगनशील व्यक्‍तिगत अध्ययन गरेर हामीले हासिल गरेको ज्ञानलाई दैनिक जीवनमा पनि प्रयोगमा ल्याउनै पर्छ।

१६, १७. “वचन पालन गर्ने[हरू]” हुनेबारे चेला याकूब कस्तो सल्लाह दिन्छन्‌?

१६ आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनुमा सच्चाइप्रति मूल्याङ्‌कन प्रकट गर्नु अनि विश्‍वासका कामहरू गर्नु समावेश छ। यसरी आफ्नो लेखाजोखा गर्ने सन्दर्भमा, चेला याकूबले एउटा प्रभावशाली दृष्टान्त चलाउँदै यसो भने: “वचन पालन गर्ने होओ। आफैलाई धोका दिएर सुन्‍ने मात्र होइन। किनभने यदि कसैले वचन सुनेर त्यसबमोजिम गरेन भनेता त्यो आफ्नो स्वाभाविक मुख ऐनामा हेर्ने मानिस जस्तो मात्र हुनेछ। किनकि त्यसले आफूले आफूलाई देख्तछ र आफ्नो बाटो लाग्छ, तर कस्तो किसिमको मानिस थिएँ भनी तुरुन्तै बिर्सिहाल्छ। तर जसले स्वतन्त्रताको सिद्ध व्यवस्थामा ध्यान दिएर हेर्दछ, र सुनेर नबिर्सने भई काम गर्नेसमेत भएर त्यसैमा लागिरहन्छ, त्यही मानिसले उसको काममा श्‍याबासी पाउनेछ।”—याकूब १:२२-२५.

१७ याकूबले यसो भनिरहेका छन्‌: ‘परमेश्‍वरको वचनको ऐनामा हेरेर आफ्नो लेखाजोखा गर। यो काम लगातार गरिरहो अनि परमेश्‍वरको वचनमा पाइने कुराहरूको आधारमा आफ्नो परीक्षण गर। अनि आफूले देखेको कुरा तुरुन्तै नबिर्स। आवश्‍यक छाँटकाँट गर।’ यो सल्लाह पालन गर्न कहिलेकाहीं गाह्रो हुन सक्छ।

१८. याकूबको सल्लाह पालन गर्न किन गाह्रो हुन्छ?

१८ उदाहरणका लागि, राज्यको प्रचारकार्यमा भाग लिने आवश्‍यकतालाई विचार गर्नुहोस्‌। पावलले यस्तो लेखे: “मानिसले हृदयबाट धार्मिकतालाई विश्‍वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।” (रोमी १०:१०) हाम्रो मुखले उद्धारको निम्ति स्वीकार गर्न अर्थात्‌ जनघोषणा गर्न थुप्रै छाँटकाँटहरू गर्नुपर्ने हुन्छ। हामीमध्ये थुप्रैलाई प्रचारकार्यमा भाग लिन सजिलो लाग्दैन। प्रचारकार्यमा जोसिलो हुन अनि यसलाई हाम्रो जीवनमा महत्त्वपूर्ण स्थान दिन झनै धेरै परिवर्तन तथा त्यागहरू गर्नुपर्ने हुन्छ। (मत्ती ६:३३) तर एक पटक हामीले यो ईश्‍वर-प्रदत्त काम गरिसकेपछि यसले यहोवाको नाउँमा ल्याउने प्रशंसाको कारण हामी आनन्दित हुन्छौं। त्यसोभए, के हामी परमेश्‍वरको राज्यका जोसिला उद्‌घोषकहरू हौं?

१९. हाम्रो विश्‍वासका कामहरूमा कुन-कुन कुरा समावेश हुनुपर्छ?

१९ हाम्रो विश्‍वासका कामहरू कत्तिको विस्तृत हुनुपर्छ? पावल यसो भन्छन्‌: “तिमीहरूले जुन कुरा सिक्यौ, र ग्रहण पनि गऱ्‍यौ, सुन्यौ र ममा देख्यौ, तिनै काम गर, औ शान्तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:९) हामीले सिकेका, ग्रहण गरेका, सुनेका अनि देखेका कुराहरू अर्थात्‌ मसीही समर्पण र चेला हुनुको पूर्ण अर्थअनुसार काम गऱ्‍यौं भने हामीले आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिइरहेका हुनेछौं। “बाटो यही हो, यसैमा तिमीहरू हिंड” भनी अगमवक्‍ता यशैयामार्फत यहोवा निर्देशन दिनुहुन्छ।—यशैया ३०:२१.

२०. कस्ता व्यक्‍तिहरू मण्डलीको लागि ठूलो आशिष्‌ हुन्‌?

२० त्यस्ता पुरुष तथा स्त्रीहरू जो परमेश्‍वरको वचनका लगनशील विद्यार्थीहरू हुन्‌, सुसमाचारका जोसिला प्रचारकहरू हुन्‌, आफ्नो निष्ठामा अटल छन्‌ अनि परमेश्‍वरको राज्यका वफादार समर्थकहरू हुन्‌, तिनीहरू मण्डलीको लागि ठूलो आशिष्‌ हुन्‌। तिनीहरूको उपस्थितिले तिनीहरूले संगत गर्ने मण्डलीमा स्थायित्व थप्छ। तिनीहरू एकदमै मदतकारी साबित हुन्छन्‌ किनभने विशेष गरी हेरविचार गर्नुपर्ने नयाँ व्यक्‍तिहरू धेरै छन्‌। ‘हामीहरू विश्‍वासमा छौं कि छैनौं भनी आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनू’ भन्‍ने पावलको सल्लाह मनमा राख्दा हामीले पनि अरूमा असल प्रभाव पार्न सक्छौं।

परमेश्‍वरको इच्छाबमोजिम गर्न प्रसन्‍न हुनुहोस्‌

२१, २२. परमेश्‍वरको इच्छाबमोजिम गर्न हामी कसरी प्रसन्‍न हुन सक्छौं?

२१ पुरातन इस्राएलका राजा दाऊदले यसरी गाए: “हे मेरा परमेश्‍वर, तपाईंको इच्छाबमोजिम गर्न म प्रसन्‍न छु। तपाईंको व्यवस्था मेरो हृदयमा छ।” (भजन ४०:८) यहोवाको इच्छाबमोजिम गर्न दाऊद प्रसन्‍न भए। किन? किनभने यहोवाको व्यवस्था दाऊदको हृदयमा थियो। कुन बाटो हिंड्‌नुपर्छ भन्‍ने कुराबारे दाऊद दोधारमा थिएनन्‌।

२२ परमेश्‍वरको व्यवस्था हाम्रो भित्री हृदयमा छ भने कुन बाटो हिंड्‌ने हो भनेर हामी अलमलमा पर्दैनौं। परमेश्‍वरको इच्छाबमोजिम गर्न हामी प्रसन्‍न हुन्छौं। त्यसैले भित्री हृदयदेखि यहोवाको सेवा गर्दा हामी कडा “प्रयत्न” गरौं।—लूका १३:२४.

[फुटनोट]

a यहोवाका साक्षीहरूद्वारा प्रकाशित।

b कसरी अध्ययन गर्ने भन्‍ने सन्दर्भमा मदतकारी सुझावहरूका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बेनिफिट फ्रम थियोक्राटिक मिनिस्ट्री स्कूल एजुकेशन पुस्तकको पृष्ठ २७-३२ हेर्नुहोस्‌।

के तपाईंलाई याद छ?

• हामी विश्‍वासमा छौं कि छैनौं भनेर कसरी जाँच्न सक्छौं?

• आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिनुमा कुन-कुन कुरा समावेश छ?

• हामी मसीही परिपक्वताको कस्तो प्रमाण दिन सक्छौं?

• आफ्नो लेखाजोखा गर्न हाम्रो विश्‍वासका कामहरूले हामीलाई कसरी मदत दिन्छ?

[प्रश्‍नहरू]

[पृष्ठ २३-मा भएको चित्र]

तपाईं विश्‍वासमा हुनुहुन्छ कि हुनुहुन्‍न भनेर जाँच्ने सबैभन्दा प्रमुख तरिका के तपाईंलाई थाह छ?

[पृष्ठ २४-मा भएको चित्र]

ज्ञानेन्द्रिय शक्‍ति अभ्यास गरेर हामी आफ्नो मसीही परिपक्वताको प्रमाण दिन्छौं

[पृष्ठ २५-मा भएका चित्रहरू]

‘सुनेर नबिर्सने भई काम समेत गरेर’ हामी आफैले आफैलाई जाँचेर आफ्नो प्रमाण दिन्छौं