रूसको सबैभन्दा जेठो पुस्तकालयले बाइबलमाथि “स्पष्ट ज्योति” छर्छ
रूसको सबैभन्दा जेठो पुस्तकालयले बाइबलमाथि “स्पष्ट ज्योति” छर्छ
दुई शास्त्रविद् पुरातन बाइबल पाण्डुलिपिहरूको खोजीमा छन्। एक्ला-एक्लै मरुभूमिको यात्रा गरेर उनीहरूले गुफा, मठ तथा भीरका पुराना ओडारहरूमा खोज-तलास गर्छन्। खोज-तलासको सिलसिलामा वर्षौंपछि रूसकै सबैभन्दा जेठो सार्वजनिक पुस्तकालयमा उनीहरूको भेट हुन्छ, जहाँ संसारलाई थाह नभएका बाइबलका केही पाण्डुलिपिहरू पाउन सकिन्छ। ती व्यक्तिहरू को थिए? उनीहरूले फेला पारेका बहुमूल्य कुराहरू कसरी रूस आइपुग्यो?
परमेश्वरको वचनको रक्षा गर्ने पुरातन पाण्डुलिपिहरू
यी दुई शास्त्रविद्मध्ये एक जनालाई भेट्न हामी १९ औं शताब्दीको प्रारम्भतिर फर्किनुपर्ने हुन्छ, जतिखेर बौद्धिक व्यक्तिहरूको आन्दोलन सारा युरोपभरि फैलिरहेको थियो। त्यस समयमा वैज्ञानिक तथा सांस्कृतिक दुवै क्षेत्रमा प्रगति भएको थियो। त्यस प्रगतिले गर्दा परम्परागत विचारधाराप्रति मानिसहरू झनै बढी शङ्कालु हुन थालेका थिए। बाइबलका आलोचकहरूले बाइबलको आधिकारिकतालाई नै कमजोर पार्न खोजिरहेका थिए। साँच्चै भन्ने हो भने, शास्त्रविद्हरूले बाइबलको सत्यतामाथि शङ्का व्यक्त गरिरहेका थिए।
अझै फेला परिनसकेका बाइबल पाण्डुलिपिहरूले परमेश्वरको वचनको विशुद्धतालाई अवश्य समर्थन गर्नेछन् भन्ने कुरामा बाइबलका केही निष्कपट समर्थकहरू विश्वस्त थिए। हुन त बाइबल पदहरूले प्रवाह गर्न खोजेको सन्देशलाई धेरै अघिदेखि नामेट पार्ने वा त्यसलाई बङ्ग्याउने प्रयासहरू पटक-पटक गरिए पनि त्यतिखेर अस्तित्वमा भएका पाण्डुलिपिहरूभन्दा पनि पुराना पाण्डुलिपिहरू फेला परेको खण्डमा त्यसले बाइबल पदको विशुद्धताबारे मौन साक्षी दिने थियो। यस्ता पाण्डुलिपिहरूले बाइबल पदमा घुसाइएका गलत अनुवादहरू भएका केही स्थानहरू पनि छर्लङ्ग पार्ने थिए।
बाइबलको सत्यताबारे जर्मनीमा चर्काचर्की बहस भयो। आफ्नो शैक्षिक अध्ययनको लागि उपयुक्त वातावरण छोडेर एक जना जवान प्राध्यापक बाइबलसम्बन्धी आजसम्मकै सबैभन्दा ठूलो खोजतर्फ डोऱ्याउने यात्रामा निस्के। तिनको नाउँ कन्स्टान्टिन भोन टिसेनडोर्फ थियो। तिनी एक जना बाइबलविद् पनि थिए र बाइबलका आलोचकहरूको कुरालाई बेवास्ता गर्दै अघि बढेको कारण बाइबल पदको सत्यतालाई प्रमाणित गर्ने सन्दर्भमा तिनलाई उल्लेख्य सफलता हात लाग्यो। सन् १८४४ मा पहिलो चोटि सीनै पर्वतको उजाडस्थानमा यात्रा गर्दा तिनलाई
अकल्पनीय सफलता प्राप्त भयो। मठको रद्दी टोकरीमा झुलुक्क हेर्दा तिनले त्यहाँ पहिला कहिल्यै पत्ता नलागेको सबैभन्दा पुरानो सेप्टुआजिन्ट-को प्रति अर्थात् हिब्रू धर्मशास्त्रको युनानी अनुवाद फेला पारे!अत्यन्त हर्षित् टिसेनडोर्फ ४३ वटा चर्मपत्र लिन सफल भए। त्यहाँ अझ धेरै चर्मपत्रहरू छन् भन्ने कुरा तिनलाई थाह थियो तर सन् १८५३ मा फेरि फर्केर जाँदा त्यहाँ तिनले चर्मपत्रका टुक्राटुक्री मात्र भेटे। बाँकी पाण्डुलिपिहरू कहाँ गए? पाण्डुलिपि खोजीकार्यको लागि पैसा सिद्धिएको कारण टिसेनडोर्फले एक जना धनाढ्य व्यक्तिबाट आर्थिक सहयोग लिए र पुरातन पाण्डुलिपिहरूको खोजी गर्न तिनले फेरि आफ्नो मातृभूमि छोड्ने निधो गरे। यद्यपि, यस विशेष खोजीकार्यमा निस्कनुअघि तिनले रूसको सम्राट्सित अपिल गरे।
सम्राट्ले चासो देखाउँछन्
आफू एक जना प्रोटेस्टेन्ट शास्त्रविद् भएकोले रूसी अर्थोडक्स धर्म अँगालेको विशाल रूसले कस्तो प्रतिक्रिया जनाउने होला भनेर टिसेनडोर्फलाई निकै चिन्ता लागेको हुनुपर्छ। खुसीको कुरा, रूसमा परिवर्तन र सुधारको अनुकूल युग सुरु भइसकेको थियो। शिक्षामा जोड दिइएको कारण साम्राज्ञी क्याथरिन द्वितीयले (उनलाई महान् क्याथरिन पनि भनिन्छ) सन् १७९५ मा सेन्ट पिटर्सवर्गमा इम्पेरियल लाइब्रेरी स्थापना गरेकी थिइन्। त्यो रूसकै सबैभन्दा जेठो सार्वजनिक पुस्तकालय भएकोले त्यहाँ राखिएको मुद्रित जानकारी लाखौं मानिसहरूको लागि उपलब्ध थियो।
दी इम्पेरियल लाइब्रेरी युरोपकै सबैभन्दा उत्कृष्ट पुस्तकालयहरूमध्ये एकमा गनिए तापनि त्यहाँ एउटा कुराको भने अभाव थियो। स्थापनाकालको पचास वर्ष बितिसक्दा पनि त्यस पुस्तकालयमा छवटा हिब्रू पाण्डुलिपि मात्र थियो। बाइबल भाषा तथा अनुवादहरूको अध्ययन गर्ने सिलसिलमा रूसले देखाएको उत्कट चासोअनुसारको मदत पुस्तकालयबाट प्राप्त हुन सकेन। हिब्रू भाषा अध्ययन गर्न क्याथरिन द्वितीयले शास्त्रविद्हरूलाई युरोपका विश्वविद्यालयहरूमा पठाएकी थिइन्। अध्ययन पूरा गरेर शास्त्रविद्हरू फर्किएपछि प्रमुख रूसी अर्थोडक्स धर्मपीठहरूमा हिब्रू भाषाको पठनपाठन सुरु भयो र पहिलो चोटि रूसी शास्त्रविद्हरूले पुरातन हिब्रूबाट रूसी भाषामा बाइबलको सही अनुवाद गर्ने जमर्को कसे। तर उनीहरूले आर्थिक सहयोगको अभाव र चर्चका कट्टरपन्थी धर्मगुरुहरूको विरोधको सामना गर्नुपऱ्यो। बाइबलको ज्ञान खोजी गर्नेहरूको लागि साँचो ज्योति चम्किन अझ बाँकी नै थियो।
सम्राट् अलेक्जेन्डर द्वितीयले टिसेनडोर्फको विशेष खोजीकार्यको महत्त्व तुरुन्तै बुझिहाले अनि त्यस विशेष कार्यको लागि आर्थिक सहयोग पनि गरे। कसै-कसैले “ईर्ष्या तथा कट्टर विरोध” गरे तापनि सीनै पर्वतबाट सेप्टुआजिन्ट-का बाँकी प्रतिहरू लिएर टिसेनडोर्फ फर्किए। a पछि कोडेक्स साइनाइटिकस नाम दिइएका ती प्रतिहरू बाइबलका आजसम्मकै सबैभन्दा पुराना पाण्डुलिपिहरू हुन्। सेन्ट पिटर्सवर्ग आएपछि टिसेनडोर्फ तुरुन्तै सम्राट्को घर, इम्पेरियल विन्टर प्यालेस गए। “बाइबलको गहन अध्ययनजस्तो ठूलो काममा” सहयोग गर्न तिनले सम्राट्लाई आग्रह गरे। त्यो कोडेक्स भर्खरै फेला परेको पाण्डुलिपिको एउटा प्रकाशित संस्करण थियो, जसलाई पछि दी इम्पेरियल लाइब्रेरीमा राखियो। सहयोग गर्न सम्राट् सहजै राजी भए र खुसीले मक्ख टिसेनडोर्फले पछि यस्तो लेखे: “हाम्रो पुस्ताले ईश्वरीय डोऱ्याइ पाएको छ . . . परमेश्वरको लिखित वचनको पदको मौलिक रूप कस्तो थियो र बाइबल पदको वास्तविक रूपलाई जस्ताको तस्तै राखेर सत्यको समर्थन गर्न सहयोग गर्ने सन्दर्भमा साइनाइटिक बाइबल हाम्रो लागि एउटा पूर्ण तथा स्पष्ट ज्योति साबित भएको छ।”
क्राइमियाबाट ल्याएका बाइबलसम्बन्धी खजाना
बाइबलसम्बन्धी खजाना खोजी गर्ने अर्का शास्त्रविद्बारे सुरुमा उल्लेख गरिएको थियो। तिनी को थिए? टिसेनडोर्फ रूस फर्कनुभन्दा केही वर्षअघि दी इम्पेरियल लाइब्रेरीसमक्ष एउटा यस्तो गजबको प्रस्ताव आयो, जुन प्रस्तावले सम्राट्को चासो जगाउनुका साथै युरोपभरिका शास्त्रविद्हरू रूसमा भेला भए। आफ्नो आँखाअगाडि पाण्डुलिपि तथा अन्य सामग्रीहरूको एउटा विशाल सङ्ग्रह देख्दा तिनीहरू त तीन छक परे। त्यस सङ्ग्रहमा ९७५ वटा पाण्डुलिपि तथा बेरुवा गरेर जम्माजम्मी २,४१२ वटा अचम्म-अचम्मका सामग्री थिए। ती सामग्रीहरूमध्ये ४५ वटा दसौं शताब्दीभन्दा पुराना बाइबल पाण्डुलिपिहरू थिए। सुन्दा पत्याउन गाह्रो भए पनि यी सबै पाण्डुलिपिहरू एब्राहम फिर्कोभिच नाउँको व्यक्ति एक्लैले सङ्ग्रह गरेका थिए। तिनी एक जना ७० वर्ष नाघिसकेका केराइत शास्त्रविद् थिए! तर ती केराइतहरू को थिए? b
यस प्रश्नले सम्राट्को मनमा निकै खुलदुली मच्चायो। पहिला अरू नै देशको अधीनस्थ इलाकालाई आफ्नो बनाउन रूसले आफ्ना सिमानाहरू विस्तार गरेको थियो। यसले गर्दा नयाँ जनजातिहरू रूसी साम्राज्यमा गाभिए। कृष्ण-सागरको किनारमा अवस्थित सुन्दर क्राइमिया प्रान्तमा, हेर्दा यहूदी तर प्रचलनहरूचाहिं तुर्की र टाटरसित मिल्ने भाषा बोल्ने मानिसहरूको बाहुल्य थियो। यी केराइतहरूको पितापुर्खा सा.यु.पू. ६०७ मा यरूशलेमको विनाशपछि बेबिलोनमा निर्वासित भएका यहूदीहरू थिए। तथापि, तिनीहरू रब्बी यहूदीहरूभन्दा फरक थिए किनकि तिनीहरू ताल्मुदलाई मान्दैनथे तर धर्मशास्त्रको पढाइमा चाहिं जोड दिन्थे। रब्बी यहूदीहरूभन्दा आफू एकदमै भिन्न भएको प्रमाण सम्राट्लाई पेस गरेर क्राइमिया केराइतहरू आफ्नो लागि छुट्टै दर्जाको माग गर्न उत्सुक थिए। आफूसित भएका पुरातन पाण्डुलिपिहरू प्रस्तुत गरेर केराइतहरूले आफू यहूदीहरूको सन्तान भएको प्रमाणित गर्ने अपेक्षा राखेका थिए जो बेबिलोनको निर्वासनपछि क्राइमियामा प्रवासी भएका थिए।
फिर्कोभिचले सबैभन्दा पहिला क्राइमियाको चुफुट केल भनिने भीरका ओडारहरूमा पुरातन लेखोट तथा पाण्डुलिपिहरू खोजेका थिए। भीरहरूमा खोपेर बनाइएका ती गुफाहरूमा केराइतहरू बस्दै आएको पुस्तौं-पुस्ता भइसकेको थियो र त्यहीं तिनीहरूले उपासना पनि गर्थे। केराइतहरूले ईश्वरीय नाउँ यहोवा लेखिएका धर्मशास्त्रको थोत्रा प्रतिहरू कहिल्यै नाश गरेनन् किनभने तिनीहरू यस्तो काम गर्नुलाई पवित्र कुराप्रति अनादर देखाउनुझैं ठान्थे। पाण्डुलिपिहरूलाई हिब्रू भाषामा “लुकाउने ठाउँ” अर्थ लाग्ने गेनिजा भनिने एउटा सानो भण्डारमा जतनसाथ राखिएको थियो। केराइतहरूले ईश्वरीय नाउँलाई गहिरो आदर गर्ने भएकोले यस्ता चर्मपत्रहरूलाई यताउता सार्ने काम खासै भएन।
शताब्दीयौंदेखि धूलोमूलो थुप्रिएको भए तापनि फिर्कोभिचले गेनिजामा होसियारीसाथ खोजतलास गर्न थाले। एउटा ठाउँमा तिनले सा.यु. ९१६ को प्रख्यात पाण्डुलिपि भेट्टाए। पछिल्ला अगमवक्ताहरूले पिटर्सवर्ग कोडेक्स नाउँ दिएको यो पाण्डुलिपि अस्तित्वमा भएका हिब्रू धर्मशास्त्रहरूको सबैभन्दा पुराना प्रतिहरूमध्ये एक हो।
धेरैभन्दा धेरै पाण्डुलिपि हात पार्न फिर्कोभिच सफल भए र सन् १८५९ मा तिनले त्यो अथाह सङ्ग्रह दी इम्पेरियल लाइब्रेरीलाई बेच्ने निर्णय गरे। सन् १८६२ मा अलेक्जेन्डर द्वितीयले लाइब्रेरीको लागि त्यो सङ्ग्रह १,२५,००० रूबलमा किन्न मदत गरे र उसबेला त्यो निकै ठूलो रकम थियो। त्यतिखेर लाइब्रेरीको कुल बजेट वर्षेनी १०,००० रूबलभन्दा कमै हुन्थ्यो! यसरी किनेको त्यस सङ्ग्रहमा प्रख्यात लेनिनग्राड कोडेक्स (B 19A) पनि थियो।
त्यो कोडेक्स १००८ सालतिरको हुनुका साथै हिब्रू धर्मशास्त्रको सबैभन्दा पुरानो सिङ्गो प्रति पनि हो। यो “सम्भवतः बाइबलको एक मात्र सबैभन्दा महत्त्वपूर्ण पाण्डुलिपि हो किनभने यसैको आधारमा एउटा यस्तो हिब्रू बाइबल तयार पारियो, जसमा बाइबल पदहरूलाई विभिन्न किसिमले लेखिनुका साथै शास्त्रविद्हरूले गरेका साना-तिना संशोधनहरू पनि समावेश थिए” भनी एक जना शास्त्रविद्ले उल्लेख गरे। (सँगै दिइएको पेटी हेर्नुहोस्।) त्यसै वर्ष अर्थात् सन् १८६२ मा टिसेनडोर्फको कोडेक्स साइनाइटिकस प्रकाशित भयो, जसले विश्वभर निकै ख्याति कमायो।वर्तमान समयमा आध्यात्मिक ज्योति
हाल, द नेसनल लाइब्रेरी अफ रसिया भनेर चिनिने यस पुस्तकालयमा सबैभन्दा धेरै पुरातन पाण्डुलिपिहरू सङ्ग्रह गरिएका छन्। c रूसी इतिहासको परिवर्तनसँगै लाइब्रेरीको नाउँ दुई शताब्दीभित्र सात चोटि परिवर्तन भइसकेको छ। ती नाउँहरूमध्ये एउटा प्रख्यात नाउँ हो, द स्टेट साल्टीकोभ-सेड्रिन पब्लिक लाइब्रेरी। बीसौं शताब्दीमा भएको उथलपुथलले लाइब्रेरीलाई क्षति पुऱ्याए तापनि त्यहाँ भएका पाण्डुलिपिहरू भने दुवै विश्वयुद्ध तथा लेनिनग्राडमाथि भएको आक्रमणबाट जस्ताको तस्तै बच्न सफल भए। यस्ता पाण्डुलिपिहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?
अहिलेका अधिकांश बाइबल अनुवादहरूको लागि पुरातन पाण्डुलिपिहरू भरपर्दा आधार हुन्। ती पाण्डुलिपिहरूकै कारण सत्यको खोजी गर्ने निष्कपट व्यक्तिहरूले पवित्र धर्मशास्त्रको अझ सही अनुवाद प्राप्त गर्न सकेका छन्। यहोवाका साक्षीहरूद्वारा प्रकाशित तथा सन् १९६१ मा सिङ्गो बाइबलको रूपमा विमोचित न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होली स्क्रिप्चर्स तयारी गर्ने काममा साइनाइटिकस र लेनिनग्राड कोडेक्सहरू दुवैले निकै अमूल्य योगदान पुऱ्याएका छन्। उदाहरणका लागि, न्यु वर्ल्ड बाइबल ट्रान्सलेसन कमिटिले प्रयोग गरेका बिब्लिया हिब्राइका स्टटगर्टेनसिया र किटेलको बिब्लिया हिब्राइका, लेनिनग्राड कोडेक्समा आधारित छन् र टेट्राग्रामाटन अर्थात् ईश्वरीय नाउँ मौलिक पदमा ६,८२८ चोटि प्रयोग गरेका छन्।
सेन्ट पिटर्सवर्गमा भएको शान्त पुस्तकालय अनि त्यहाँका पाण्डुलिपिहरूले लगाएको गुनबारे अत्यन्त थोरै बाइबल पाठकहरूलाई मात्र थाह छ, जुन पाण्डुलिपिमध्ये कुनै-कुनैमा सहरको पहिलेको नाउँ लेनिनग्राड लेखिएको छ। यद्यपि, हामी सबैभन्दा बढी ऋणी त बाइबलका लेखक यहोवाप्रति छौं, जसले आध्यात्मिक ज्योति दिनुहुन्छ। त्यसैकारण त भजनहारले उहाँलाई यस्तो बिन्ती गरे: “तपाईंको ज्योति र तपाईंको सत्यता पठाउनुहोस्, तिनैले मलाई डोऱ्याऊन्।”—भजन ४३:३.
[फुटनोट]
a तिनले सा.यु. चौथो शताब्दीको मसीही युनानी धर्मशास्त्रको सिङ्गो प्रति पनि ल्याए।
b केराइतहरूबारे थप जानकारीको लागि जुलाई १५, १९९५ प्रहरीधरहरा अंकको “केराइतहरू र तिनीहरूको सत्यको खोज” भन्ने लेख हेर्नुहोस्।
c अधिकांश कोडेक्स साइनाइटिकस ब्रिटिस म्युजियमलाई बेचियो। द नेसनल लाइब्रेरी अफ रसियामा ती साइनाइटिकसका केही अंश मात्र बाँकी छन्।
[पृष्ठ १३-मा भएको पेटी]
ईश्वरीय नाउँ र त्यसको प्रयोग
आफ्नो बुद्धिले गर्दा यहोवाले आफ्नो वचन बाइबललाई वर्तमान समयसम्मै सुरक्षित राख्नुभएको छ। यसलाई सुरक्षित राख्नुमा युगौंयुगदेखि शास्त्रीहरूले गरेको लगनशील प्रयासलाई पनि भुल्न मिल्दैन। ती शास्त्रीहरूमध्ये पनि सबैभन्दा होसियार शास्त्रीहरू पेसेवर हिब्रू मेसोरेटहरू थिए, जसले सा.यु. छैटौंदेखि दसौं शताब्दीसम्म लगनशील भई काम गरे। पुरातन हिब्रू स्वरवर्णविना लेखिएको थियो। यसले गर्दा कालान्तरमा सही उच्चारण थाह नहुने डर भयो किनकि हिब्रू भाषाको ठाउँ अरामी भाषाले ओगट्न थाल्यो। बाइबल पदमा हिब्रू शब्दहरूको सही उच्चारणको सङ्केत थप्न मेसोरेटहरूले स्वरवर्णसम्बन्धी एउटा प्रणाली विकास गरे।
उल्लेखनीय कुरा के छ भने, लेनिनग्राड कोडेक्समा मेसोरेटहरूले विकास गरेका स्वरवर्णको उच्चारण सङ्केतहरूले टेट्राग्रामाटनमा भएको—चारवटा हिब्रू व्यञ्जनवर्णले बनेको ईश्वरीय नाउँ—Yehwah’, Yehwih’ र Yeho·wah’ को उच्चारणलाई सङ्केत गर्छन्। अहिले यस नाउँको सबैभन्दा प्रचलित उच्चारण “यहोवा” हो। बाइबल लेखक तथा पुरातन समयका अन्य व्यक्तिहरूका लागि यो ईश्वरीय नाउँ एउटा जीवित तथा चिरपरिचित शब्द थियो। आज, यहोवा मात्र “सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ” भनी मानिलिने लाखौं व्यक्तिहरूले परमेश्वरको नाउँ थाह पाउनुका साथै त्यसलाई प्रयोग गर्छन्।—भजन ८३:१८.
[पृष्ठ १०-मा भएको चित्र]
नेसनल लाइब्रेरीको पाण्डुलिपि राखिने कोठा
[पृष्ठ ११-मा भएको चित्र]
साम्राज्ञी क्याथरिन द्वितीय
[पृष्ठ ११-मा भएका चित्रहरू]
कन्स्टान्टिन भोन टिसेनडोर्भ (बीचमा) र रूसका सम्राट्, अलेक्जेन्डर द्वितीय
[पृष्ठ १२-मा भएको चित्र]
एब्राहम फिर्कोभिच
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
Both images: National Library of Russia, St. Petersburg
[पृष्ठ ११-मा भएको चित्रको स्रोत]
Catherine II: National Library of Russia, St. Petersburg; Alexander II: From the book Spamers Illustrierte Weltgeschichte, Leipzig, 1898