सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

आनन्द भेट्टाउन बाइबलले तपाईंलाई मदत गर्न सक्छ

आनन्द भेट्टाउन बाइबलले तपाईंलाई मदत गर्न सक्छ

आनन्द भेट्टाउन बाइबलले तपाईंलाई मदत गर्न सक्छ

बाइबल चिकित्सासम्बन्धी कुनै निर्देशन पुस्तक नभए पनि सकारात्मक वा नकारात्मक भावनाहरूले कुनै व्यक्‍तिको मानसिक तथा शारीरिक स्वास्थ्यमा गर्न सक्ने असरबारे यसले बताउँछ। बाइबल भन्छ, “प्रसन्‍न हृदयले हँसिलो अनुहार देखाउँछ, उदासी मनले मानिसको बल शोषण गर्छ।” यसले अझै यसो भन्छ, “सुदिनमा तेरो बल घट्यो भनेदेखि विपत्‌को दिनमा तँ झन्‌ कति असहाय हुनेछस्‌।” (हितोपदेश १७:२२; २४:१०) निरुत्साहले हाम्रो शक्‍ति शोषण गर्छ, हामीलाई निस्सहाय बनाउँछ र परिवर्तन गर्ने अथवा मदत खोज्ने इच्छालाई मारिदिन्छ।

निरुत्साहले कुनै व्यक्‍तिको आध्यात्मिकतामा पनि असर गर्न सक्छ। आफूलाई निकम्मा ठान्‍नेहरूले अक्सर परमेश्‍वरसित कहिल्यै असल सम्बन्ध गाँस्न र उहाँको अनुमोदन पाउन सकिंदैन भनी सोच्ने गर्छन्‌। अघिल्लो लेखमा उल्लिखित सिमोनले “परमेश्‍वरले आफूलाई स्वीकार्नुहुन्छ कि स्वीकार्नुहुन्‍न” भनी शंका गरिन्‌। तथापि, परमेश्‍वरको वचन बाइबल पढ्‌दा उहाँलाई प्रसन्‍न तुल्याउन खोज्नेहरूप्रति परमेश्‍वर सकारात्मक दृष्टिकोण राख्नुहुन्छ भनी हामी थाह पाउँछौं।

परमेश्‍वरले साँच्चै ख्याल राख्नुहुन्छ

बाइबलले हामीलाई भन्छ, “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।” “चूर्ण र पूरा पश्‍चतापी हृदयलाई” परमेश्‍वरले तुच्छ ठान्‍नुहुन्‍न तर “नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन, म नम्र र चूर्ण मन भएकोसँग पनि बस्तछु” भनी परमेश्‍वर प्रतिज्ञा गर्नुहुन्छ।—भजन ३४:१८; ५१:१७; यशैया ५७:१५.

एक पटक परमेश्‍वरको पुत्र येशूले आफ्ना सेवकहरूमा भएको असल कुरा परमेश्‍वरले हेर्नुहुन्छ भन्‍ने तथ्यमा ध्यान खिच्न आवश्‍यक ठान्‍नुभयो। एउटा दृष्टान्तद्वारा उहाँले भन्‍नुभयो, मानिसहरूले अक्सर त्यति महत्त्व नदिने एउटा भँगेरा भुइँमा खस्दा समेत परमेश्‍वरले याद गर्नुहुन्छ। उहाँले मानिसका ससाना कुराहरू अर्थात्‌ शिरको केशसमेत गन्ती गर्नुहुन्छ भनेर येशूले जोड दिनुभयो। येशूले आफ्नो दृष्टान्त यसरी टुङ्‌ग्याउनुभयो: “यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भँगेराहरूभन्दा बढ्‌ता मूल्यका छौ।” (मत्ती १०:२९-३१) a कुनै व्यक्‍तिले आफूबारे जे सोचे पनि ज-जसले विश्‍वास गर्छ, परमेश्‍वरको नजरमा उसको मोल छ। वास्तवमा, प्रेरित पावल हामीलाई सम्झना दिलाउँछन्‌, परमेश्‍वरले “मानिसहरूको पक्षपात गर्नुहुन्‍न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।”—प्रेरित १०:३४, ३५.

सन्तुलित दृष्टिकोण राख्नुहोस्‌

परमेश्‍वरको वचनले आफूप्रति सन्तुलित दृष्टिकोण विकास गर्न हामीलाई आग्रह गर्छ। परमेश्‍वरको प्रेरणा पाएर प्रेरित पावलले यस्तो लेखे: “मलाई दिइएको अनुग्रहद्वारा तिमीहरूमध्ये हरेकलाई म भन्दछु, जसले आफूलाई जस्तो सम्झनु पर्दछ त्यसभन्दा बढी नसम्झ, तर परमेश्‍वरले हरेकलाई बाँडिदिनुभएको विश्‍वासको नापबमोजिम सुबुद्धिले सम्झ।”—रोमी १२:३.

हो, हामी आफूलाई उच्च ठान्दै न घमन्डी बन्छौं न त निकम्मा नै ठान्छौं। हाम्रो लक्ष्य आफ्नो बल र सीमिततालाई चिनेर व्यावहारिक दृष्टिकोण खेती गर्ने हुनुपर्छ। यसबारे एक जना मसीही स्त्रीले यसो भनिन्‌: “न म संसारकै सबैभन्दा खराब व्यक्‍ति हुँ न त विशेष खालको व्यक्‍ति नै हुँ। मसित अरू सबैसित भए जस्तै असल र खराब दुवै गुणहरू छन्‌।”

हुन त यस्तो सन्तुलित दृष्टिकोण राख्न भन्‍न जति सजिलो छ, गर्न त्यतिनै गाह्रो छ। वर्षौंको दौडान पलाएका आफूप्रतिको बढ्‌तै नकारात्मक दृष्टिकोण हटाउन कडा मेहनत आवश्‍यक पर्न सक्छ। तथापि, परमेश्‍वरको मदत पाएर हामी आफ्नो व्यक्‍तित्व र जीवनप्रति राख्ने दृष्टिकोण परिवर्तन गर्न सक्छौं। वास्तवमा परमेश्‍वरको वचनले हामीलाई यसै गर्ने आग्रह गर्छ। उहाँको वचनले यसो भन्छ: “तिमीहरूले अघिअघिको आचरणअनुसारको पुरानो मानिसलाई जो छलको लालसाअनुसार भ्रष्ट भएर जानेहुन्छ, त्याग, र आफ्नो मनको आत्मामा नयाँ होओ, र नयाँ मानिसलाई धारण गर, जो परमेश्‍वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको छ।”—एफिसी ४:२२-२४.

‘आफ्नो मनको आत्मा’ अर्थात्‌ मनको प्रबल झुकावलाई नै परिवर्तन गर्ने कोसिस गरेर हामी व्यक्‍तित्वलाई अचाक्ली नकारात्मकबाट सकारात्मकमा परिवर्तन गर्न सक्छौं। अघिल्लो लेखमा उल्लिखित लिनाले आफू कसैको प्रेम वा मदत पाउन योग्य छैन भन्‍ने सोचाइ नहटाएसम्म आफ्नो दृष्टिकोणमा कसैले केही गरे पनि परिवर्तन ल्याउन सक्दैन भन्‍ने तथ्यलाई बुझिन्‌। यस्तो परिवर्तन ल्याउन बाइबलमा पाइने कस्ता व्यावहारिक सल्लाहहरूले लिना, सिमोन र अरूलाई मदत गऱ्‍यो?

आनन्द बढाउने बाइबल सिद्धान्तहरू

“तेरो भारी परमप्रभुमा राख्‌, र उहाँले तँलाई सम्हाल्नुहुनेछ।” (भजन ५५:२२) मुख्य कुरा, प्रार्थनाले हामीलाई साँचो आनन्द पाउन मदत गर्छ। सिमोन यसो भन्छिन्‌, “जब-जब म निराश हुन्छु, यहोवालाई पुकार्दै मदत माग्छु। उहाँको बल र डोऱ्‍याइ महसुस नगरेको कुनै क्षण नै छैन।” भजनहारले आफ्नो भारी यहोवामा राख्ने आग्रह गर्दा परमेश्‍वरले हाम्रो ख्याल राख्नुहुन्छ र व्यक्‍तिविशेषको रूपमा उहाँको मदत र सहयोग पाउन योग्य सम्झनुहुन्छ भनी हामीलाई विश्‍वस्त पार्दैछन्‌। येशूले इ.स. ३३ मा निस्तार चाडको रात चेलाहरूलाई छोडेर जाने बेला आउनै लागेको कुरा बताउँदा तिनीहरू दुःखित भए। येशूले पितालाई प्रार्थना गर्न तिनीहरूलाई आग्रह गर्नुभयो र यसो भन्‍नुभयो: “माग त तिमीहरूले पाउनेछौ, र तिमीहरूको आनन्द पूर्ण हुनेछ।”—यूहन्‍ना १६:२३, २४.

“लिनुभन्दा दिनु अझ असल हो।” (प्रेरित २०:३५) दिनु जीवनमा साँचो आनन्द पाउने उपाय हो भनी येशूले सिकाउनुभयो। बाइबलको यो सिद्धान्त लागू गर्दा हामीलाई आफ्नो अयोग्यतामा नभई अरूको आवश्‍यकतामा ध्यान केन्द्रित गर्न उत्प्रेरित गर्छ। जब हामी अरूलाई मदत गर्छौं र तिनीहरूले आफ्नो कृतज्ञता व्यक्‍त गर्छन्‌ तब हामीलाई आफूले केही राम्रो काम गरेजस्तो लाग्छ। आफ्ना छिमेकीहरूलाई बाइबलबाट नियमित तवरमा सुसमाचार सुनाउँदा दुई तरिकामा आफूले मदत पाएको कुरा लिना स्वीकार्छिन्‌। तिनी भन्छिन्‌, “पहिलो, यसले मलाई येशूले बताउनुएको त्यो आनन्द र सन्तुष्टि दिन्छ अनि दोस्रो, अरूबाट मैले धेरै प्रशंसा पाउँछु जसले मलाई आनन्दित हुन मदत गर्छ।” उदारतासाथ दिएर हामी हितोपदेश ११:२५ को सत्यता अनुभव गर्नेछौं: “उदार मानिसको उन्‍नति हुन्छ, अरूलाई सहायता गर्नेले सहायता पाउँछ।”

“अवहेलितको जीवन दिनहुँ दुःखको हुन्छ, तर सुखी हृदय सबै दिन हर्षमय हुन्छ।” (हितोपदेश १५:१५) हामीले आफू स्वयम्‌ अनि आफ्नो परिस्थितिलाई कुन दृष्टिले हेर्छौं, त्यो छनौट गर्न सक्छौं। जुनसुकै कुरा पनि नकारात्मक दृष्टिले हेरेर अवहेलित हुन र सकारात्मक दृष्टिले हेरेर “सुखी हृदय” पाउँदै हरेक दिन हर्षमय बनाउन सक्छौं। सिमोन भन्छिन्‌: “म सकभर सकारात्मक हुने कोसिस गर्छु। म व्यक्‍तिगत अध्ययन र सेवकाईमा व्यस्त रहन्छु र प्रार्थनामा लागिरहन्छु। म सकारात्मक मानिस वरिपरि बस्छु अनि अरूलाई मदत गर्न सधैं आफूलाई तयार राख्छु।” यस्तो मनोवृत्तिले आनन्द दिन्छ र बाइबलले पनि यस्तो आग्रह गर्छ: “हे धर्मात्मा हो, परमप्रभुमा मग्न होओ र रमाओ। र सोझो हृदय भएका हो, तिमीहरू सबै आनन्दसाथ कराओ।”—भजन ३२:११.

“मित्र हर समय एक मायालु साथी हुन्छ र दुःखकष्टमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।” (हितोपदेश १७:१७, NW) कुनै प्रियजन अथवा भरोसायोग्य सल्लाहकारलाई आफ्नो व्यथा पोखाउँदा नकारात्मक भावनाहरूको सामना गर्न मदत पुग्न सक्छ। यसो गर्दा नकारात्मक भावनाले आफूलाई थिच्नुअघि नै हामी त्यसलाई हटाउन सक्छौं। अरूसित कुरा गर्दा कुनै पनि कुरालाई सन्तुलित अर्थात्‌ सकारात्मक दृष्टिकोणले हेर्न हामी मदत पाउँछौं। सिमोन स्वीकार्छिन्‌, “आफ्ना भावनाहरू पोखाउँदा धेरै मदत पाइन्छ, आफूलाई कस्तो भइरहेको छ भनी तपाईंले कसैलाई भन्‍नुपर्छ। अक्सर आफ्ना भावनाहरू अरूलाई बताउनु मात्र पनि पर्याप्त हुन सक्छ।” यसो गर्दा हितोपदेशको यो सत्यता अनुभव गर्न तपाईंले मदत पाउनुहुनेछ: “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ, तर दयालु वचनले त्यसलाई आनन्द दिन्छ।”—हितोपदेश १२:२५.

तपाईं के गर्न सक्नुहुन्छ?

नकारात्मक भावनाहरूलाई जित्न र साँचो आनन्द पाउन मदत गर्ने थुप्रै उत्कृष्ट र व्यावहारिक सिद्धान्तहरूमध्ये हामीले थोरै मात्र विचार गऱ्‍यौं। यदि तपाईं पनि अयोग्यपनको भावनासित सङ्‌घर्ष गरिरहनुभएको छ भने हामी तपाईंलाई परमेश्‍वरको वचन गहिरिएर केलाउन प्रोत्साहित गर्छौं। आफू स्वयम्‌ र परमेश्‍वरसितको सम्बन्धबारे व्यावहारिक र सन्तुलित दृष्टिकोण विकास गर्न सिक्नुहोस्‌। परमेश्‍वरको वचनको डोऱ्‍याइले आफूले गर्ने सबै काममा तपाईंले साँचो आनन्द पाउन सक्नुहुनेछ भन्‍ने हाम्रो आशा छ।

[फुटनोट]

a शास्त्रपदको यो भाग पृष्ठ २२ र २३ मा विस्तृत छलफल गरिएको छ।

[पृष्ठ ७-मा भएको चित्र]

बाइबल सिद्धान्तअनुसार जिउँदा आनन्द बढ्‌छ