सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

उत्कटतासाथ “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ”

उत्कटतासाथ “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ”

उत्कटतासाथ “उहाँलाई खोज्नेहरूलाई” यहोवाले “प्रतिफल दिनुहुन्छ”

“जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

१, २. यहोवाका कोही-कोही सेवकहरूले नकारात्मक भावनासित सङ्‌घर्ष गर्नुको कारण के हुन सक्छ?

 “म यहोवाको साक्षी भएको झण्डै ३० वर्ष भइसक्यो तर म यस नाउँले बोलाइन योग्यको छु जस्तो भने कहिल्यै लागेन” भनी बार्बरा बताउँछिन्‌। a उनी अझ यसो भन्छिन्‌: “अग्रगामी गर्नुका साथै मैले अरू थुप्रै सुअवसरहरू पनि पाएकी छु तैपनि म साक्षी कहलिन योग्यको छु जस्तो चाहिं पटक्कै लाग्दैन।” किथको सोचाइ पनि यस्तै छ। तिनी यसो भन्छन्‌: “मैले कहिलेकाहीं आफूलाई अयोग्य महसुस गरेको छु किनभने यहोवाका सेवकहरू आनन्दित हुनुपर्ने थुप्रै कारण छन्‌ तर म भने आनन्दित थिइनँ। यसले गर्दा ममा दोषी भावनाहरू जाग्यो र यसले मलाई झनै दुःखी बनायो।”

पहिले र अहिलेका यहोवाका थुप्रै विश्‍वासी सेवकहरूले यस्तै भावनाहरूसित सङ्‌घर्ष गरेका छन्‌। के तपाईंले पनि कहिलेकाहीं यस्तो महसुस गर्नुभएको छ? तपाईंलाई आफू भने एकपछि अर्को समस्याको बोझले दबिएको अनि आफ्ना सँगी उपासकहरूको जीवन भने चिन्तामुक्‍त अनि आनन्ददायी जस्तो लाग्न सक्छ। यसले गर्दा तपाईंले यहोवाको अनुमोदन पाउनुभएको छैन वा तपाईं उहाँको ध्यान पाउन योग्यको हुनुहुन्‍न जस्तो लाग्न सक्छ। यस्तो निष्कर्षमा तुरुन्तै नपुग्नुहोस्‌। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “[यहोवाले] दुःखीको दुःखलाई तुच्छ गर्नुभएको र घिनाउनुभएको छैन। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनुभएको छैन। तर त्यसले पुकारा गर्दा उहाँले सुन्‍नुभयो।” (भजन २२:२४) मसीहबारे यो भविष्यसूचक विवरणले के देखाउँछ भने, यहोवाले आफ्ना जनहरूको पुकारा सुन्‍नुहुन्छ र इनाम पनि दिनुहुन्छ।

३. यस रीतिरिवाजले ल्याउने दबाबहरूबाट हामी किन मुक्‍त छैनौं?

यस संसारको रीतिरिवाजले ल्याउने दबाबहरूबाट कोही पनि, अझ भनौं भने यहोवाका जनहरू पनि मुक्‍त छैनन्‌। यहोवाको प्रमुख शत्रु, शैतान अर्थात्‌ दियाबलले शासन गरिरहेको संसारमा हामी बाँचिरहेका छौं। (२ कोरिन्थी ४:४; १ यूहन्‍ना ५:१९) यहोवाका जनहरू कुनै चमत्कारपूर्ण ढङ्‌गमा सुरक्षित हुनुको साटो शैतानको प्रमुख तारो हुन्‌। (अय्यूब १:७-१२; प्रकाश २:१०) त्यसकारण परमेश्‍वरको तोकिएको समय नआउन्जेल “सङ्‌कष्टमा स्थिर” रहनुपर्छ अनि यहोवाले हाम्रो चासो राख्नुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुँदै “प्रार्थनामा अटुटसँग” लागिरहनुपर्छ। (रोमी १२:१२) यहोवा परमेश्‍वरले हामीलाई प्रेम गर्नुहुन्‍न भन्‍ने सोचाइमा डुब्नु हुँदैन!

पुरातन समयमा धैर्य धारण गरेका व्यक्‍तिहरूको उदाहरण

४. कष्टप्रद अवस्था सहेका यहोवाका कोही-कोही विश्‍वासी सेवकहरूको उदाहरण बताउनुहोस्‌।

यहोवाका थुप्रै पुरातन सेवकहरूले कष्टप्रद अवस्था सहनुपरेको थियो। उदाहरणका लागि, आफू निस्सन्तान भएकीले हन्‍नाको “मनमा ठूलो पीर” थियो र परमेश्‍वरले बिर्सनुभएकोले नै उनले आफू निस्सन्तान भएको भन्ठानिन्‌। (१ शमूएल १:९-११, NRV) हत्यारा रानी ईजबेलले अत्यन्तै खेदेको हुँदा एलिया डराए अनि यहोवालाई यस्तो प्रार्थना गरे: “बस भयो! हे परमप्रभु, अब मेरो प्राण लिनुहोस्‌, किनभने म मेरा अघिअघिका पिता-पुर्खाहरूभन्दा असल छैनँ!” (१ राजा १९:४) प्रेरित पावल आफ्नो असिद्धताको कारण अति विचलित भएको हुनुपर्छ। त्यसैकारण तिनले यसो भने: “असल गर्न इच्छा मलाई हुँदाहुँदै पनि खराबी मसित हाजिरै हुँदो रहेछ।” तिनले अझ यसो भने: “हाय, म कस्तो दुःखी मानिस!”—रोमी ७:२१-२४.

५. (क) हन्‍ना, एलिया र पावलले कस्तो इनाम पाए? (ख) नकारात्मक भावनाहरूसित सङ्‌घर्ष गर्नुपर्दा परमेश्‍वरको वचनबाट हामी कस्तो सान्त्वना पाउन सक्छौं?

हन्‍ना, एलिया र पावलले यहोवाको सेवा गर्दा धैर्य धारण गर्नुपऱ्‍यो अनि उहाँले तिनीहरूलाई प्रचुर मात्रामा आशिष्‌ दिनुभयो भनेर हामीलाई थाह छ। (१ शमूएल १:२०; २:२१; १ राजा १९:५-१८; २ तिमोथी ४:८) तैपनि तिनीहरूले दुःख, निराशा र डरजस्ता विभिन्‍न किसिमका मानव भावनाहरूसित सङ्‌घर्ष गरे। त्यसकारण कहिलेकाहीं हामीमा पनि यस्ता नकारात्मक भावनाहरू आउँदा अचम्म मान्‍नु पर्दैन। जीवनमा आइपर्ने चिन्ताहरूले गर्दा कतै यहोवाले मलाई प्रेम गर्नुहुन्‍न कि भन्‍ने सोचाइ मनमा आयो भने तपाईं के गर्न सक्नुहुन्छ? परमेश्‍वरको वचनबाट तपाईं सान्त्वना पाउन सक्नुहुन्छ। उदाहरणका लागि, यहोवाले तपाईंका “शिरका केशहरू समेत पनि सबै गन्ती” गर्नुभएको छ भन्‍ने येशूको भनाइबारे हामीले अघिल्लो लेखमा छलफल गरिसक्यौं। (मत्ती १०:३०) यहोवाले आफ्ना प्रत्येक सेवकप्रति गहिरो चासो राख्नुहुन्छ भनेर ती प्रोत्साहनदायी शब्दहरूले देखाउँछ। भँगेराहरूबारे येशूको दृष्टान्त पनि सम्झनुहोस्‌। एउटा सानो चरा भुइँमा खसेको त यहोवाले याद गर्नुहुन्छ भने के तपाईंको दुःखदायी अवस्थालाई उहाँले नदेखेझैं गर्नुहोला र?

६. नकारात्मक भावनाहरूसित सङ्‌घर्ष गरिरहेका व्यक्‍तिहरूका लागि बाइबल किन सान्त्वनाको स्रोत हुन सक्छ?

के हामी असिद्ध मानिसहरू सर्वशक्‍तिमान्‌ सृष्टिकर्ता, यहोवा परमेश्‍वरको नजरमा बहुमूल्य ठहरिन सक्छौं र? अवश्‍य सक्छौं! यसबारे हामीलाई आश्‍वासन दिने थुप्रै विवरणहरू बाइबलमा छन्‌। यी कुराहरूलाई गहिरिएर विचार गर्दा भजनहारले व्यक्‍त गरेझैं हामी पनि यसो भन्‍न सक्छौं: “मेरो मनमा ज्यादा फिक्री हुँदा तपाईंका सान्त्वनाहरूले मलाई आनन्दित तुल्याउँछन्‌।” (भजन ९४:१९) परमेश्‍वरले हामीलाई मूल्यवान्‌ ठान्‍नुहुन्छ र उहाँको इच्छा गरिरह्‍यौं भने उहाँले हामीलाई इनाम दिनुहुन्छ भनी बुझ्न मदत गर्ने परमेश्‍वरको वचनमा पाइने केही सान्त्वनादायी विवरणहरू विचार गरौं।

यहोवाको “निजी धन”

७. भ्रष्ट राष्ट्रलाई यहोवाले मलाकीमार्फत कस्तो प्रोत्साहनदायी भविष्यवाणी सुनाउनुभयो?

ई.पू. पाँचौं शताब्दीमा यहूदीहरूमाझ अत्यन्तै निन्दनीय अवस्था थियो। पूजाहारीहरूले लङ्‌गडा अनि बेथा लागेका जनावरहरू स्वीकारेर यहोवाको वेदीमा पशुबलि चढाइरहेका थिए। न्यायकर्ताहरूले पक्षपातपूर्ण व्यवहार गरिरहेका थिए। मन्त्र-तन्त्र गर्नेहरू, झूटो बोल्नेहरू, ठगहरू अनि व्यभिचारीहरूको बिगबिगी थियो। (मलाकी १:८; २:९; ३:५) यस अति भ्रष्ट राष्ट्रलाई मलाकीले एउटा अचम्मको भविष्यवाणी सुनाए। समयमा यहोवाले आफ्ना जनहरूलाई फेरि अनुमोदनप्राप्त अवस्थामा फर्काउनुहुने थियो। हामी यस्तो लेखिएको पाउँछौं: “ ‘जुन दिन म मेरो निजी धन बनाउनेछु, तिनीहरू मेरा हुनेछन्‌,’ सर्वशक्‍तिमान्‌ परमप्रभु भन्‍नुहुन्छ। जसरी कुनै मानिसले आफ्नो सेवा गर्ने छोरालाई बाँकी राख्तछ, त्यसरी नै म तिनीहरूलाई बाँकी राख्नेछु।”—मलाकी ३:१७, NRV.

८. मलाकी ३:१७ सैद्धान्तिक रूपमा ठूलो भीडलाई किन लागू गर्न सकिन्छ?

मलाकीको भविष्यवाणीको वर्तमान पूर्ति आत्मा-अभिषिक्‍त मसीहीहरूमा हुन्छ र यिनीहरू मिलेर १,४४,००० को आत्मिक राष्ट्र बनेको छ। यो राष्ट्र साँच्चै “निजी धन” अर्थात्‌ यहोवाको निम्ति “निजी प्रजा” हो। (१ पत्रुस २:९) “सिंहासन र थुमाको अगाडि सेता लुगा लगाएर . . . उभिरहेका” “ठूलो भीड[को]” लागि पनि मलाकीको भविष्यवाणी प्रोत्साहनदायी हुन सक्छ। (प्रकाश ७:४, ९) एउटै गोठालो येशू ख्रीष्टको अधीनमा यो ठूलो भीड र अभिषिक्‍त जनहरू एउटै बगाल हुन्छन्‌।—यूहन्‍ना १०:१६.

९. यहोवाका जनहरू किन उहाँको लागि “निजी धन” हुन्‌?

उहाँको सेवा गर्न छनौट गर्नेहरूलाई यहोवाले कुन दृष्टिकोणले हेर्नुहुन्छ? मलाकी ३:१७ मा बताइएझैं एक जना मायालु बुबाले आफ्नो छोरालाई जस्तो ठान्छ, उहाँले पनि आफ्ना जनहरूप्रति त्यस्तै दृष्टिकोण राख्नुहुन्छ अर्थात्‌ अनुकम्पा देखाउनुहुन्छ। अनि उहाँले आफ्ना जनहरूलाई कस्तो न्यानो ढङ्‌गमा प्रशंसा गर्नुभएको छ, याद गर्नुहोस्‌ त—उहाँले मेरो “निजी धन” भन्‍नुभएको छ। अरू अनुवादहरूले यस अभिव्यक्‍तिलाई “मेरो आफ्नै,” “मेरो सबैभन्दा बहुमूल्य सम्पत्ति” र “मेरो रत्न” भनेका छन्‌। उहाँको सेवा गर्ने व्यक्‍तिहरूलाई यहोवाले यत्तिको बहुमूल्य ठान्‍नुको कारण के हो? एउटा कारण हो, उहाँ कृतज्ञ परमेश्‍वर हुनुहुन्छ। (हिब्रू ६:१०) हृदयदेखि उहाँको सेवा गर्ने व्यक्‍तिहरूको उहाँ नजिक आउनुहुन्छ र तिनीहरूलाई बहुमूल्य ठान्‍नुहुन्छ।

१०. यहोवाले आफ्ना जनहरूलाई कसरी सुरक्षित राख्नुहुन्छ?

१० के तपाईंसित एउटा अत्यन्तै बहुमूल्य सम्पत्ति छ जसलाई तपाईं आफ्नो निजी धन ठान्‍नुहुन्छ? के तपाईं यसलाई हरहालतमा सुरक्षित राख्ने प्रयास गर्नुहुन्‍न र? आफ्नो “निजी धन[लाई]” यहोवाले पनि त्यसरी नै सुरक्षित राख्नुहुन्छ। हुन त हो, उहाँले आफ्ना जनहरूलाई सबै किसिमको परीक्षा तथा विपत्तिहरूबाट जोगाउनुहुन्‍न। (उपदेशक ९:११) तर यहोवाले आफ्ना विश्‍वासी सेवकहरूलाई आध्यात्मिक तवरमा जोगाउन सक्नुहुन्छ र अवश्‍य जोगाउनुहुनेछ। जस्तोसुकै परीक्षा सहने बल उहाँले दिनुहुन्छ। (१ कोरिन्थी १०:१३) यसकारण परमेश्‍वरका पुरातन जनहरू अर्थात्‌ इस्राएलीहरूलाई मोशाले यसो भने: “बलियो र साहसी होओ! . . . परमप्रभु परमेश्‍वरनै तिमीहरूसँग जानुहुन्छ। उहाँले तिमीहरूलाई धोखा दिनुहुनेछैन, निराश तुल्याउनुहुनेछैन उहाँले तिमीहरूलाई त्याग्नुहुनेछैन।” (व्यवस्था ३१:६) यहोवाले आफ्ना जनहरूलाई इनाम दिनुहुन्छ। तिनीहरू उहाँका “निजी धन” हुन्‌।

“प्रतिफल दिनुहुने” यहोवा

११, १२. यहोवा, हामीलाई प्रतिफल दिनुहुने व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्दा कसरी शङ्‌का उपशङ्‌काहरू हटाउन मदत पाउँछौं?

११ यहोवाले आफ्ना सेवकहरूलाई बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने अर्को प्रमाण हो, उहाँले तिनीहरूलाई इनाम दिनुहुन्छ। उहाँले इस्राएलीहरूलाई यसो भन्‍नुभयो: “ ‘मलाई जाँचेर हेर कि म स्वर्गका झ्यालहरू उघारेर अटाउने ठाउँ पनि नहुने सम्मका आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ’ सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ।” (मलाकी ३:१०) अन्ततः यहोवाले आफ्ना सेवकहरूलाई अनन्त जीवनको इनाम अवश्‍य दिनुहुनेछ। (यूहन्‍ना ५:२४; प्रकाश २१:४) यहोवाको प्रेम र उदारता कत्तिको विशाल छ भनेर यस अमूल्य इनामले देखाउँछ। अनि उहाँको सेवा गर्न छनौट गर्नेहरूलाई उहाँले साँच्चै बहुमूल्य ठान्‍नुहुन्छ भनेर पनि देखाउँछ। यहोवा, उदारचित्त भई प्रतिफल दिनुहुने व्यक्‍ति हुनुहुन्छ भन्‍ने दृष्टिकोण राख्न सिक्दा यहोवासितको हाम्रो सम्बन्धबारे मनमा उब्जन सक्ने अनेकन्‌ शङ्‌का उपशङ्‌काहरू हटाउने मदत पाउन सक्छौं। वास्तवमा भनौं भने, उहाँ प्रतिफल दिनुहुने व्यक्‍ति हुनुहुन्छ भन्‍ने दृष्टिकोण राख्न यहोवा हामीलाई आग्रह गर्नुहुन्छ! पावलले यस्तो लेखे: “जो परमेश्‍वरकहाँ आउँछ, त्यसले उहाँको अस्तित्व छ भन्‍ने, र उहाँलाई खोज्नेहरूलाई प्रतिफल दिनुहुन्छ भन्‍ने अवश्‍य विश्‍वास गर्नुपर्छ।”—हिब्रू ११:६.

१२ हामीलाई इनाम दिने प्रतिज्ञा गर्नुभएकोले मात्र होइन तर उहाँप्रतिको प्रेमले गर्दा हामी यहोवाको सेवा गर्छौं। तैपनि, इनामको आशालाई हाम्रो हृदयमा सँगाल्नु अनुचित वा स्वार्थी कुरा होइन। (कलस्सी ३:२३, २४) उत्कटतासाथ उहाँलाई खोज्नेहरूलाई प्रेम गर्नुहुने र तिनीहरूलाई अत्यन्तै बहुमूल्य ठान्‍नुहुने हुँदा यहोवा आफै अग्रसर भएर इनाम दिनुहुन्छ।

१३. छुडौतीको बलिदानको प्रबन्ध यहोवाले हामीप्रति देखाउनुभएको प्रेमको सबैभन्दा ठूलो प्रमाण किन हो?

१३ यहोवाको नजरमा मानिसहरू कत्तिको बहुमूल्य छन्‌ भन्‍ने सबैभन्दा ठूलो प्रमाण, छुडौतीको बलिदानको प्रबन्ध हो। प्रेरित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) येशू ख्रीष्टको छुडौतीको बलिदानको प्रबन्ध र हामी यहोवाको नजरमा मूल्यहीन छौं वा प्रेम गर्न योग्यका छैनौं भन्‍ने सोचाइ एकआपसमा पटक्कै मेल खाँदैन। यहोवाले हाम्रो लागि आफ्नो एक मात्र प्रिय पुत्र दिनुभएर यति ठूलो मोल त चुकाउनुभयो भने उहाँले अवश्‍य पनि हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ।

१४. छुडौतीप्रति पावलको दृष्टिकोण कस्तो थियो भनेर कुन कुराले देखाउँछ?

१४ यसकारण तपाईंको मनमा नकारात्मक भावनाहरू खेल्न थाल्यो भने छुडौतीको बलिदानमा मनन गर्नुहोस्‌। हो, यस उपहारलाई यहोवाले तपाईंको लागि दिनुभएको व्यक्‍तिगत उपहार ठान्‍नुहोस्‌। प्रेरित पावलले पनि यस्तै ठाने। तिनले के भने, सम्झनुहोस्‌ त: “हाय, म कस्तो दुःखी मानिस!” तर पावलले अझ यसो भने: “येशू ख्रीष्ट, हाम्रा प्रभुद्वारा परमेश्‍वरमा धन्यवाद होस्‌” जसले “मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई समर्पण गर्नुभयो।” (छड्‌के अक्षर हाम्रो, रोमी ७:२४, २५; गलाती २:२०) यसो भनेर पावल अहङ्‌कारी भइरहेका थिएनन्‌। बरु यहोवाले तिनलाई व्यक्‍तिगत तवरमा बहुमूल्य ठान्‍नुहुन्छ भन्‍ने आफ्नो विश्‍वस्तता व्यक्‍त गरिरहेका थिए। पावलले जस्तै तपाईंले पनि यस छुडौतीको बलिदानलाई परमेश्‍वरले दिनुभएको व्यक्‍तिगत उपहार ठान्‍न सिक्नुपर्छ। यहोवा एक जना शक्‍तिशाली उद्धारक मात्र होइन तर प्रतिफल दिनुहुने मायालु व्यक्‍ति पनि हुनुहुन्छ।

शैतानका धूर्त चालहरूदेखि होसियार रहनुहोस्‌

१५-१७. (क) शैतानले कसरी नकारात्मक भावनाहरूको नाजायज फाइदा उठाउँछ? (ख) अय्यूबको अनुभवबाट हामी कस्तो प्रोत्साहन पाउन सक्छौं?

१५ यी सबै कुरा थाह पाए तापनि परमेश्‍वरको वचनमा पाइने प्रेरित सान्त्वनाहरू तपाईंलाई साँच्चै लागू हुन्छ भनेर विश्‍वास गर्न गाह्रो हुन सक्छ। परमेश्‍वरको नयाँ संसारमा सधैंभरि बाँच्ने इनाम अरूले त प्राप्त गर्न सक्लान्‌ तर तपाईंचाहिं यसको लागि योग्य हुनुहुन्‍न जस्तो लाग्न सक्छ। तपाईंलाई यस्तो लाग्छ भने के गर्न सक्नुहुन्छ?

१६ पावलले एफिसीका मसीहीहरूलाई दिएको यो सल्लाह तपाईंलाई पक्कै थाह छ होला: “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नलाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।” (एफिसी ६:११) मानिसहरूलाई पासोमा पार्ने शैतानका तरिकाहरूबारे विचार गर्दा तपाईंको मनमा भौतिकवाद र अनैतिकताजस्ता कुराहरू तुरुन्तै आइहाल्न सक्छ र यो कुनै अनौठो कुरा होइन। यी प्रलोभनहरूले पहिले र अहिले परमेश्‍वरका थुप्रै जनहरूलाई पासोमा पारेका छन्‌। तर शैतानले चलाउने अर्को धूर्त चाल पनि हामीले बिर्सनु हुँदैन। त्यो हो, यहोवा परमेश्‍वरले मलाई प्रेम गर्नुहुन्‍न भनेर मानिसहरूलाई पत्याउन लगाउने शैतानको प्रयास।

१७ मानिसहरूलाई यहोवाको सेवा गर्नदेखि तर्काउन यस्ता भावनाहरूको नाजायज फाइदा उठाउन शैतान खप्पिस छ। बिल्ददले अय्यूबलाई भनेको कुरा सम्झनुहोस्‌ त: “परमेश्‍वरको दृष्टिमा मानिस कसरी धर्मी हुनसक्छ र? अथवा स्त्रीबाट जन्मेको मानिस निर्दोष हुनसक्छ र? उहाँको दृष्टिमा त जून पनि चहकिलो छैन, अथवा ताराहरू पनि निर्मल छैनन्‌ भने त झन्‌ मानिस, जो कीरा मात्र हो, परमेश्‍वरको दृष्टिमा के मोलको छ र?” (अय्यूब २५:४-६; यूहन्‍ना ८:४४) यी शब्दहरूले अय्यूबलाई कत्तिको निरुत्साहित बनायो होला, के तपाई कल्पना गर्न सक्नुहुन्छ? तपाईंलाई हतोत्साहित बनाउने मौका शैतानलाई नदिनुहोस्‌। तर अर्कोतर्फ, शैतानका युक्‍तिहरूबारे सजग हुनुहोस्‌ किनभने यसो गर्दा तपाईं सही कुरा गर्नको लागि साहसी हुनुहुनेछ र अझ सङ्‌घर्ष गरिरहन बल पाउनुहुनेछ। (२ कोरिन्थी २:११) अय्यूबको सन्दर्भमा भन्‍ने हो भने, अय्यूबले जे-जति गुमाएका थिए, त्यसको दुइगुणा दिनुभएर यहोवाले तिनको धैर्यको इनाम दिनुभयो।—अय्यूब ४२:१०.

यहोवा “हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ”

१८, १९. परमेश्‍वर कसरी “हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ” अनि कुन अर्थमा उहाँले “सबै कुरा जान्‍नुहुन्छ”?

१८ हुन त, निराशाका भावनाहरूले भित्रसम्म जरा गाडिसकेको छ भने ती भावनाहरू नियन्त्रणमा राख्न गाह्रो हुन सक्छ। तर ‘परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा भएका किल्ला’ बिस्तारै भत्काउँदै लैजान यहोवाको आत्माले तपाईंलाई मदत गर्न सक्छ। (२ कोरिन्थी १०:४, ५) नकारात्मक सोचाइले तपाईंलाई विचलित बनाउन खोज्दा प्रेरित यूहन्‍नाका यी शब्दहरूमा चिन्तन गर्नुहोस्‌: “यसैमा हामी जान्दछौं, कि हामी सत्यका छौं, र जुन कुरामा हाम्रो हृदयले हामीलाई दोष लाउँछ, त्यस विषयमा हामीले हाम्रो हृदयलाई परमेश्‍वरको सामने निश्‍चय गराऔं। किनभने परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ, र सबै कुरा जान्‍नुहुन्छ।”—१ यूहन्‍ना ३:१९, २०.

१९ “परमेश्‍वर हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ” भन्‍ने अभिव्यक्‍तिको अर्थ के हो? आफ्नो असिद्धता तथा कमीकमजोरीबारे अत्यन्तै सजग हुँदा कहिलेकाहीं हामीले आफूलाई अयोग्य ठान्‍न सक्छौं। अथवा हुनसक्छ, हाम्रो पृष्ठभूमिले गर्दा आफूप्रति अति नै नकारात्मक सोचाइ राख्ने झुकाव छ र हामीले गर्ने कुनै पनि कुरा यहोवाले स्वीकार्नुहुने छैन भन्ठान्‍न सक्छौं। यी सबै कुराहरूभन्दा यहोवा महान्‌ हुनुहुन्छ भनेर प्रेरित यूहन्‍नाका शब्दहरूले हामीलाई आश्‍वासन दिन्छ! उहाँले हाम्रो असिद्धतालाई घोरिएर हेरिरहनुहुन्‍न, बरु हामी के गर्न सक्छौं, त्यो हेर्नुहुन्छ। उहाँ हाम्रो मनसाय र झुकाव पनि जान्‍नुहुन्छ। दाऊदले यस्तो लेखे: “उहाँले हाम्रो बनोट जान्‍नुहुन्छ। मानिसहरू माटोनै हुन्‌ भनी उहाँ सम्झनुहुन्छ।” (भजन १०३:१४) हो, हाम्रो विषयमा हामीलाई भन्दा बढी यहोवालाई थाह छ!

“सुन्दरताको मुकुट” र “राजकीय शिरपेच”

२०. यहोवाले आफ्ना सेवकहरूप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्‍ने सन्दर्भमा पुनर्स्थापनासम्बन्धी यशैयाको भविष्यवाणीले कुन कुरा प्रकट गर्छ?

२० अगमवक्‍ता यशैयामार्फत यहोवाले आफ्ना पुरातन जनहरूलाई पुनर्स्थापनाको आशा दिनुभयो। बेबिलोनमा निर्वासित जीवन बिताइरहेको बेला निराश भएका ती व्यक्‍तिहरूलाई यस्तै सान्त्वना र आश्‍वासन चाहिएको थियो! तिनीहरू आफ्नो मातृभूमिमा फर्कने समयबारे यहोवाले यसो भन्‍नुभयो: “तँचाहिं परमप्रभुको हातमा सुन्दरताको मुकुट पनि हुनेछस्‌, र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।” (यशैया ६२:३) यी शब्दहरूमार्फत यहोवाले आफ्ना जनहरूलाई मर्यादा र सुन्दरताले सुशोभित पार्नुभयो। आज आफ्नो आध्यात्मिक इस्राएल राष्ट्रलाई पनि उहाँले यस्तै गर्नुभएको छ। मानौं, सबैले आदर गर्न सकोस्‌ भनेर तिनीहरूलाई उच्च पार्नुभएको छ।

२१. विश्‍वासी भई तपाईंले देखाउनुभएको धैर्यलाई यहोवाले इनाम दिनुहुनेछ भनेर तपाईं कसरी विश्‍वस्त हुन सक्नुहुन्छ?

२१ यस भविष्यवाणीको प्रमुख पूर्ति अभिषिक्‍त जनहरूमा हुन्छ तर उहाँको सेवा गर्ने सबैमाथि यहोवाले देखाउनुहुने मर्यादा पनि यसले झल्काउँछ। यसकारण मनमा शङ्‌का उपशङ्‌काहरू उब्जँदा आफू असिद्ध भए तापनि यहोवाको लागि तपाईं “सुन्दरताको मुकुट” र “राजकीय शिरपेच” जत्तिकै मूल्यवान्‌ हुन सक्नुहुन्छ भन्‍ने कुरा नबिर्सनुहोस्‌। त्यसैले उत्कटतासाथ उहाँको इच्छा गर्न खोजेर यहोवाको हृदय आनन्दित तुल्याइरहनुहोस्‌। (हितोपदेश २७:११) यसो गर्नुभएको खण्डमा विश्‍वासी भई तपाईंले देखाउनुभएको धैर्यलाई यहोवाले इनाम दिनुहुनेछ भनेर विश्‍वस्त हुन सक्नुहुन्छ!

[फुटनोट]

a नाउँहरू परिवर्तन गरिएका छन्‌।

के तपाईंले सम्झनुभएको छ?

• कुन अर्थमा हामी यहोवाका “निजी धन” हौं?

• यहोवालाई प्रतिफल दिनुहुने व्यक्‍ति ठान्‍नु किन महत्त्वपूर्ण छ?

• शैतानका कस्ता धूर्त चालहरूदेखि हामी होसियार हुनुपर्छ?

• कुन अर्थमा परमेश्‍वर “हाम्रो हृदयभन्दा महान्‌ हुनुहुन्छ”?

[प्रश्‍नहरू]

[पृष्ठ २६-मा भएको चित्र]

पावल

[पृष्ठ २६-मा भएको चित्र]

एलिया

[पृष्ठ २६-मा भएको चित्र]

हन्‍ना

[पृष्ठ २८-मा भएको चित्र]

परमेश्‍वरको वचनमा आश्‍वासनदायी विचारहरू प्रशस्त पाइन्छ