सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो?

कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो?

कस्ता अवस्थाहरूमा रिसाउनु उचित हो?

उपदेशक ७:९ मा बाइबल यसो भन्छ: “रीस देखाउन छिटो नगर्‌, किनभने रीस मूर्खको मनमा हुन्छ।” (छड्‌के अक्षर हाम्रो) हामीलाई कसैले रिस उठाउँदा हामी बढ्‌तै संवेदनशील हुनु हुँदैन, बरु क्षमाशील हुनुपर्छ भनेर उक्‍त पदले देखाउँछ।

तर उपदेशक ७:९ को अर्थ कसैले हाम्रो अपमान गर्छ तर त्यो जति नै गम्भीर प्रकारको भए तापनि वा जति नै चोटि अपमान गरे तापनि हामी रिसाउनै हुँदैन वा क्षमा दिनुपर्छ भन्‍ने हो? जसको चित्त दुखेको छ, उसैले क्षमा दिनुपर्छ भनी थाह भएकोले वचन वा कामद्वारा अरू मानिसलाई जथाभावी रिस उठाउनु उचित हो? त्यसो त पक्कै होइन।

यहोवा परमेश्‍वर प्रेम, कृपा, क्षमा र धीरजको मूर्त रूप हुनुहुन्छ। तैपनि उहाँलाई रिस उठाएका थुप्रै व्यक्‍तिहरूसित सम्बन्धित घटनाहरू बाइबलमा उल्लेख गरिएका छन्‌। गम्भीर प्रकारको गल्ती हुँदा उहाँले गल्ती गर्नेहरू विरुद्ध कदम चाल्नुभयो। केही उदाहरणहरू विचार गर्नुहोस्‌।

यहोवा विरुद्ध गल्ती

पहिलो राजा १५:३० को विवरणमा यारोबामका पापबारे बताइएको छ, “तिनले इस्राएललाई गर्नलाएका पाप र तिनले परमप्रभु इस्राएलका परमेश्‍वरलाई रिस उठाएको कारण यो भएको थियो।” दोस्रो इतिहास २८:२५ मा यहूदाका राजा आहाजबारे बाइबल यसो भन्छ: “अरू देवताहरूलाई बलिदान चढाउनको निम्ति डाँडाहरूमा थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्याए।” अर्को उदाहरण न्यायकर्त्ता २:११-१४ मा पाइन्छ: “इस्राएलीहरूले जे परमप्रभुको दृष्टिमा खराब थियो त्यही गर्नलागे, र बाल देवतालाई पूजा गर्नलागे। . . . र परमप्रभुलाई तिनीहरूले क्रोधित तुल्याए। . . . परमप्रभुले आफ्नो क्रोधमा तिनीहरूलाई डाँकूहरू र लुट्‌नेहरूका दलहरूका शिकार तुल्याउनुभयो।”

यहोवा क्रोधित हुनुका अरू कारण पनि थियो र यसको लागि कडा कारबाही गर्नु आवश्‍यक थियो। उदाहरणका लागि, प्रस्थान २२:१८-२० मा यस्तो लेखिएको पाउँछौं: “तन्त्र-मन्त्र गर्ने स्त्रीलाई जीवित नराख। जसले पशुसित कुकर्म गर्छ त्यो निश्‍चय मारिओस्‌। जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढाउला त्यो बिलकुलै नाश पारिओस्‌।”

पुरातन इस्राएलले परमेश्‍वरलाई पटक-पटक रिस उठाउँदा र साँचो पश्‍चात्ताप नदेखाउँदा उहाँले तिनीहरूका ठूलठूला गल्तीहरूको लागि माफी दिनुभएन। साँचो पश्‍चात्ताप गरेको र यहोवाको आज्ञा पालन गर्न परिवर्तन गरेको कुनै सङ्‌केत नदेखिंदा परमेश्‍वरले अन्ततः तिनीहरूमाथि विनाश ल्याउनुभयो। सम्पूर्ण राष्ट्रले नै ई.पू. ६०७ मा बेबिलोनीहरूको हातबाट र इ.सं. ७० मा फेरि रोमीहरूको हातबाट विनाश भोग्नुपऱ्‍यो।

हो, मानिसहरूले भन्‍ने र गर्ने घृणित कुराहरूदेखि यहोवा रिसाउनुहुन्छ र गम्भीर पाप गर्ने अपश्‍चात्तापीहरूलाई उहाँ नाश समेत गर्नुहुन्छ। तर के यसो भन्दैमा, उपदेशक ७:९ मा वर्णन गरिएअनुसार उहाँ रिसाउनु गलत हो? अहँ, पटक्कै होइन। गम्भीर पाप गर्नेहरूसित उहाँ रिसाउनु जायज छ र उहाँले सधैं निष्पक्ष ढङ्‌गमा इन्साफ गर्नुहुन्छ। यहोवाबारे बाइबल यसो भन्छ: “उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:४.

व्यक्‍तिविशेषहरू विरुद्ध गम्भीर गल्ती

पुरातन इस्राएललाई परमेश्‍वरले दिनुभएको व्यवस्थाअन्तर्गत व्यक्‍तिविशेषहरू विरुद्ध गम्भीर गल्ती गर्दा कडा सजाय भोग्नुपर्थ्यो। उदाहरणका लागि, कुनै घरमा राती चोर आयो र घरधनीले तिनलाई माऱ्‍यो भने घरधनी हत्याको दोषी हुँदैनथे। एउटा ठूलो अपराधमा तिनी निर्दोष पात्र हुन्थे। यसकारण हामी यस्तो लेखिएको पाउँछौं: “यदि चोर घर फोर्दै गरेको फेला पऱ्‍यो भने र त्यसलाई पिट्‌दा त्यो मऱ्‍यो भने, त्यसको हत्याको दोष [घरधनीलाई] लाग्नेछैन।”—प्रस्थान २२:२.

बलात्कारको सिकार भएकी स्त्रीले आफ्नो आक्रमणकारी विरुद्ध रिस गर्नु उचित हो किनभने बलात्कार परमेश्‍वरको नजरमा एउटा ठूलो अपराध हो। मोशाको व्यवस्थाअनुसार कुनै स्त्रीलाई बलात्कर गर्ने मान्छेलाई मार्नुपर्थ्यो “किनभने यो चाहिं कुनै मानिसले कसैलाई आक्रमण गरेर मारेको जस्तै हो।” (व्यवस्था २२:२५, २६) हामी अहिले मोशाको व्यवस्थाको अधीनमा नभए तापनि बलात्कार जस्तो जघन्य अपराधबारे यहोवा कस्तो महसुस गर्नुहुन्छ भनी हामी बुझ्न सक्छौं।

अहिले हाम्रो समयमा पनि बलात्कार एउटा गम्भीर अपराध हो जसको लागि कडा सजायहरू तोकिएका छन्‌। बलात्कारको सिकार भएको व्यक्‍तिसित प्रहरीमा रिपोर्ट गर्ने अधिकार छ। यस प्रकार सम्बन्धित अख्तियारवालाहरूले गल्ती गर्नेलाई उचित सजाय दिन सक्छ। अनि कोही नाबालिग बलात्कारको सिकार भएको छ भने आमाबाबुले यस्तो कदम चाल्न सक्छन्‌।

सानातिना गल्ती

तथापि, सबै गल्तीहरूको लागि अख्तियारवालाहरूकहाँ जानु आवश्‍यक छैन। अरूले हामी विरुद्ध सानातिना गल्ती गर्दा वा असमझदारी हुँदा हामी अनावश्‍यक किसिमले रिसाइहाल्नु हुँदैन बरु क्षमाशील हुनुपर्छ। कति पल्टसम्म क्षमा गर्ने? प्रेरित पत्रुसले येशूलाई यस्तो सोधे: “ ‘हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरूँ? के सात पल्टसम्म?’ ” येशूले यस्तो जवाफ दिनुभयो: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म।”—मत्ती १८:२१, २२.

अर्कोतर्फ, अरूलाई रिस उठाउने कामहरू नगर्न हामीले हाम्रो मसीही व्यक्‍तित्वलाई निरन्तर निखार्दै लैजानुपर्छ। उदाहरणका लागि, अरूसित व्यवहार गर्दा के तपाईं कहिलेकाहीं ठाडो, विचारै नपुऱ्‍याई बोल्ने वा अनादर गर्ने गर्नुहुन्छ? यस्तो व्यवहारले प्रायः अरू मानिसलाई रिस उठ्‌छ। रिसाउने व्यक्‍तिलाई दोष लगाउनु र क्षमा दिने काम उसको हो भन्‍नुको सट्टा आफूले गर्दा नै त्यो व्यक्‍तिलाई रिस उठेको हो भनेर रिस उठाउने व्यक्‍तिले बुझ्नुपर्छ। अरूलाई रिस नउठाउन दोषीले आफ्नो काम र वचनलाई नियन्त्रणमा राख्ने प्रयास गर्नुपर्छ। यसो गर्दा हामी अरू मानिसहरूलाई पटक-पटक रिस उठाइरहने छैनौं। बाइबल हामीलाई यसरी सम्झाउँछ: “व्यर्थको गफ तरवारझैं तीखो हुन्छ, तर बुद्धिमानको बोलीले मानिसलाई निको पार्छ।” (हितोपदेश १२:१८) हामीले अरूलाई रिस उठाउँदा चाहे त्यो हामीले अनजानमै गरेको किन नहोस्‌, माफी माग्यौं भने एकअर्कासितको सम्बन्ध राम्रो बनाउन निकै मदत गर्नेछ।

“शान्ति हुने र आपसमा सुधार्ने कुराको पछि” लाग्नुपर्छ भनी परमेश्‍वरको वचनले हामीलाई बताउँछ। (रोमी १४:१९) हामीले कौशलता अपनाउँछौं र दयालु छौं भने यो हितोपदेश लागू हुन्छ: “ठीक बेलामा भनेको ठीक कुरा चाँदीको टोकरीमा सुनका स्याउहरूजस्तै हो।” (हितोपदेश २५:११) अनि यसले पक्कै पनि मनमोहक तथा राम्रो छाप छोड्‌छ! शान्त र कौशलतापूर्ण बोलीले अरू मानिसको कठोर मनोवृत्तिमा परिवर्तन समेत ल्याउन सक्छ: “मीठो बोलीले कडा हड्डीलाई पनि गलाउन सकिन्छ।”—हितोपदेश २५:१५.

त्यसैले, परमेश्‍वरको वचनले यस्तो सल्लाह दिन्छ: “हरेकलाई कसरी जवाफ दिनुपर्छ, सो जान्‍नलाई तिमीहरूको वचन नूनले स्वादिलो पारेको जस्तै अनुग्रहसहितको होस्‌।” (कलस्सी ४:६) “नूनले स्वादिलो पारेको” भन्‍नाले तपाईंको वचन सुन्‍ने मानिसको लागि मीठो होस्‌ भन्‍ने बुझिन्छ जसले गर्दा अरूलाई रिस उठाउने सम्भावना कम हुन्छ। वचन र काम दुवैमा मसीहीहरूले बाइबलको सल्लाह लागू गर्ने कोसिस गर्छन्‌: “शान्तिको खोजी गरोस्‌ र त्यसको पछि लागोस्‌।”—१ पत्रुस ३:११, NRV.

अतः उपदेशक ७:९ को अर्थ हामी अरूका सानातिना गल्तीहरूमा पनि रिसाउने गर्नु हुँदैन। यसको कारण मानव असिद्धता वा जानाजानी पनि हुन सक्ने भए तापनि गम्भीर चाहिं नहुन सक्छ। तर गल्ती गम्भीर हुँदा त्यसको सिकार हुने व्यक्‍ति रिसाउनु र आवश्‍यक कदम चाल्ने निर्णय गर्नुको कारण बुझ्न सक्छौं।—मत्ती १८:१५-१७.

[पृष्ठ १४-मा भएको चित्र]

यहोवाले अपश्‍चात्तापी इस्राएलीहरूलाई इ.सं. ७० मा रोमीहरूको हातबाट विनाश गर्नुभयो

[पृष्ठ १५-मा भएको चित्र]

“ठीक बेलामा भनेको ठीक कुरा . . . सुनका स्याउहरूजस्तै हो”