सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं आफूलाई धिक्कार्नुहुन्छ?

के तपाईं आफूलाई धिक्कार्नुहुन्छ?

के तपाईं आफूलाई धिक्कार्नुहुन्छ?

लिनाले आफ्नो जीवनमा धेरैजसो समय आफूबारे उब्जिएका नकारात्मक भावनाहरूसित सङ्‌घर्ष गरकी छिन्‌। तिनले भनिन्‌, “बाल्यकालको दौडान वर्षौंको यौन दुर्व्यवहारले मेरो आत्म-सम्मान नराम्ररी खस्कियो, म आफूलाई निकम्मा ठान्थें।” आफ्नो युवावस्थाका दिनहरू सिमोन यसरी सम्झिन्छिन्‌, “मभित्र एउटा खोक्रोपन थियो र आफू अयोग्य छु भन्‍ने भावनाले मलाई भित्र-भित्रै खान्थ्यो।” लाग्छ, यस्ता भावनाहरूले उब्जने गहिरो पीडा आज व्याप्त छ। किशोर-किशोरीहरूको लागि एउटा टेलिफोन परामर्श सेवाले बताएअनुसार फोन गर्ने आधाजसोले “आत्म-सम्मान निरन्तर खस्किरहने समस्याले पिरोलेको” बताए।

केही विज्ञहरूका अनुसार अरूले आफूलाई अयोग्य महसुस गराउँदा अयोग्यपनका भावनाहरू उब्जन्छन्‌। बारम्बारको हप्काइ, तिखो र बिझ्ने आलोचना वा दुर्व्यवहारपूर्ण शोषणले यस्तो मानसिकता विकास हुन्छ। जे होस्‌, यस्ता भावनाहरूले निस्सहाय बनाउँछ र हानिकारक समेत हुन सक्छन्‌। चिकित्सासम्बन्धी हालैको एउटा अध्ययनले पत्ता लगाएअनुसार आफूबारे नकारात्मक भावना राख्नेहरूमा आफू स्वयम्‌ र अरूमाथि विश्‍वास नगर्ने झुकाव हुन्छ र यसले चालै नपाई घनिष्ठ सम्बन्ध र मित्रता तोडिरहेको हुन्छ। उक्‍त अध्ययनबारे गरिएको रिपोर्टले भन्छ, “तिनीहरू स्वयम्‌ले त्रसित वातावरणको सृजना गर्छन्‌।”

यस्ता मानिसहरू बाइबलले भने जस्तै अक्सर ‘ज्यादै फिक्रीका’ सिकार हुन्छन्‌। (भजन ९४:१९) आफ्नो कुनै पनि काम राम्रो हुन्छ जस्तो तिनीहरूलाई लाग्दैन। कुनै काम बिग्रँदा केही नसोची तिनीहरू सीधै त्यसको दोष आफैमाथि थुपार्छन्‌। कसैले तिनीहरूको उपलब्धिको प्रशंसा त गर्ला तर तिनीहरूलाई लाग्छ, आफूले तिनीहरूलाई ठगिरहेको छु र कुनै दिन आफ्नो वास्तविक रूप तिनीहरू सामु प्रकट हुन्छ। आफू कहिल्यै आनन्दित हुन नसक्ने महसुस गर्दै तिनीहरू आफैलाई हानि पुऱ्‍याउँछन्‌ र आफूलाई सुधार्ने बल रित्तिएको महसुस गर्छन्‌। माथि उल्लेख गरिएकी लिनाले आत्म-सम्मानको कमीले गर्दा खानपानमा गम्भीर हेलचेक्य्राइँ गर्न थालिन्‌। तिनी यसो भन्छिन्‌, “मलाई लाग्थ्यो, म अब कुनै कुरा परिवर्तन गर्न सक्दिनँ।”

मनमा आउने ‘ज्यादै फिक्रीसित’ सङ्‌घर्ष गर्नेहरू के बाँकी जीवन यस्तै भावनाहरू लिएर बाँच्न बाध्य छन्‌? यस्ता भावनाहरूसित सङ्‌घर्ष गर्न केही गर्न सकिन्छ कि? बाइबलमा सिद्धान्त र व्यावहारिक सल्लाहहरू पाइन्छ जसले धेरैलाई यस सङ्‌घर्षमा सफल हुन मदत गरेको छ। यस्ता केही सिद्धान्तहरू के-के हुन्‌ अनि कसरी यसले नकारात्मक भावनाहरूले सताइरहेकाहरूलाई आनन्दित हुन मदत गरेको छ? अर्को लेखले यी प्रश्‍नहरूको जवाफ दिनेछ।