सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ?

के तपाईं परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ?

के तपाईं परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नुहुनेछ?

“हामी . . . [ ऐनाले जस्तै] प्रभुको महिमा प्रतिबिम्बित गर्दछौं।”—२ कोरिन्थी ३:१८, Nrv.

१. मोशाले कुन कुरा देखे र पछि के भयो?

 यो जत्तिको विस्मयकारी दर्शन कुनै पनि मानिसले कहिल्यै देखेको थिएन। सीनै पर्वतको टाकुरामा मोशा एक्लै हुँदा तिनको एउटा अनौठो अनुरोध पूरा गरियो। कुनै पनि मानिसले कहिल्यै नदेखेको कुरा देख्ने मौका तिनलाई दिइयो—त्यो थियो, यहोवाको महिमा। हुन त, मोशाले यहोवालाई मुखामुख देखेनन्‌। परमेश्‍वरको रूप यति भव्य छ कि उहाँलाई हेरेर कोही पनि मानिस जीवित्‌ रहन सक्दैन। आफ्नो प्रतिनिधिको रूपमा स्वर्गदूतलाई चलाएर यहोवा त्यहाँबाट नजाउन्जेल उहाँले मोशालाई आफ्नो “हातले” छोपेर सुरक्षित राख्नुभयो। त्यसपछि यहोवाले मोशालाई उहाँको महिमाको एउटा रूप प्रकट गर्नुभयो। यहोवाले एउटा स्वर्गदूतमार्फत मोशासित कुरा पनि गर्नुभयो। पछि के भयो भनी बाइबल यसरी वर्णन गर्छ: “जब मोशा . . . सीनै पर्वतबाट ओह्रलेर आए, तब परमेश्‍वर तिनीसित बात गर्नुभएकोले आफ्ना मोहडा चम्कँदैछ भन्‍ने कुरा मोशालाई थाह भएन।”—प्रस्थान ३३:१८-३४:७, २९.

२. मसीहीहरूले प्रतिबिम्बित गर्ने महिमाबारे प्रेरित पावलले के लेखे?

तपाईं पनि मोशासितै त्यस पर्वतमा हुनुभएको कल्पना गर्नुहोस्‌। सर्वशक्‍तिमान्‌को तेजिलो रवाफ देख्न र उहाँका शब्दहरू सुन्‍न पाउनु कत्ति रोमाञ्चकारी हुने थियो! व्यवस्थाको करारका मध्यस्थकर्ता मोशा सँगसँगै सीनै पर्वतबाट ओर्लन पाउनु कत्ति ठूलो सम्मानको कुरा! तर कुनै-कुनै तरिकामा साँचो मसीहीहरूले मोशाले भन्दा पनि उत्तम ढङ्‌गमा परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छन्‌ भन्‍ने कुरा के तपाईंलाई थाह थियो? त्यस्तो गहिरो कुरा प्रेरित पावलले लेखेको एउटा पत्रमा पाइन्छ। अभिषिक्‍त मसीहीहरूले ऐनाले जस्तै यहोवाको “महिमा प्रतिबिम्बित” गर्छन्‌ भनी तिनले लेखे। (२ कोरिन्थी ३:७, ८, १८, NRV) एक अर्थमा, पार्थिव आशा भएका मसीहीहरूले पनि परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छन्‌।

मसीहीहरूले कसरी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छन्‌

३. यहोवाबारे मोशालाई जुन कुरा थाह थिएन त्यो हामीले कसरी थाह पाउन सकेका छौं?

हामी कसरी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न सक्छौं? मोशाले जसरी हामीले परमेश्‍वरलाई देखेका वा उहाँको बोली सुनेका त छैनौं। तर यहोवाबारे मोशालाई थाह नभएका थुप्रै कुराहरू हामीलाई थाह छ। मोशाको मृत्यु भएको लगभग १,५०० वर्षपछि मात्रै मसीहको रूपमा येशू देखा पर्नुभयो। त्यसकारण, येशू जो पाप र मृत्युको कठोर दासत्वबाट मानिसहरूलाई छुटाउनको लागि मर्नुभयो, उहाँमा आएर व्यवस्था कसरी पूरा भयो भनी मोशाले थाह पाउन सकेनन्‌। (रोमी ५:२०, २१; गलाती ३:१९) साथै, मसीही राज्य र यस राज्यले ल्याउने पार्थिव प्रमोदवनमा केन्द्रित यहोवाको महान्‌ उद्देश्‍यबारे मोशाले सबै कुरा बुझेका थिएनन्‌। हामी भने आफ्नो साँच्चैको आँखाद्वारा नभई बाइबलको शिक्षामा आधारित विश्‍वासको आँखाद्वारा यहोवाको महिमाबारे बुझ्छौं। साथै, कुनै स्वर्गदूतद्वारा नभई बाइबलद्वारा र विशेष गरी येशूका शिक्षाहरू र सेवकाईबारे सुन्दर ढङ्‌गमा वर्णन गर्ने सुसमाचारका पुस्तकहरूद्वारा हामीले यहोवाको बोली सुनेका छौं।

४. (क) अभिषिक्‍त मसीहीहरूले कसरी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छन्‌? (ख) पार्थिव आशा भएका व्यक्‍तिहरूले कुन-कुन तरिकामा परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न सक्छन्‌?

हुन त मसीहीहरूले परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्दा तिनीहरूको अनुहारबाट तेज निस्कँदैन तर यहोवाको महिमित व्यक्‍तित्व र उद्देश्‍यहरूबारे अरूलाई बताउँदा तिनीहरूको अनुहार उज्यालो हुन्छ। परमेश्‍वरका जनहरूले यहोवाको “महिमा जाति जातिहरूका बीचमा घोषणा गर्नेछन्‌” भनी अगमवक्‍ता यशैयाले हाम्रो दिनको विषयमा भविष्यवाणी गरे। (यशैया ६६:१९) साथै, २ कोरिन्थी ४:१, २ मा हामी यस्तो लेखिएको पाउँछौं: “हामीसँग यो सेवा भएको हुनाले . . . कपटमा नचलेर, परमेश्‍वरको वचनमा छलछाम नगरेर, हामीले शर्मका गुप्त कुराहरू त्यागेका छौं। तर सत्यलाई सफा देखाउँदै, परमेश्‍वरको दृष्टिमा, मानिसहरूका विवेकमा, हामी आफैलाई सह्रनी गर्दछौं।” पावलले विशेष गरी अभिषिक्‍त मसीहीहरूलाई सङ्‌केत गर्दै थिए जो “नयाँ करारको सेवक” हुन्‌। (२ कोरिन्थी ३:६) तर ती दुवै समूहको सेवकाईले असंख्य मानिसहरूलाई असर गरेको छ जसले पृथ्वीमा अनन्त जीवनको आशा प्राप्त गरेका छन्‌। सिकाउने कुराहरूमा मात्र नभई आफ्नो व्यवहारद्वारा पनि अभिषिक्‍त जन तथा अरू भेडाले आफ्नो सेवकाईमा यहोवाको महिमा प्रतिबिम्बित गर्छन्‌। सर्वोच्च परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न पाउनु हाम्रो जिम्मेवारी र सुअवसर पनि हो!

५. हाम्रो आध्यात्मिक संवृद्धिले कुन कुराको प्रमाण दिन्छ?

येशूले अगमवाणी गर्नुभएझैं परमेश्‍वरको राज्यको महिमित सुसमाचार आज सारा संसारमा प्रचार गरिंदैछ। (मत्ती २४:१४) सबै राष्ट्र, कुल, जाति र भाषाका मानिसहरूले सुसमाचारप्रति उत्साहवर्धक प्रतिक्रिया देखाएका छन्‌ र परमेश्‍वरको इच्छा बमोजिम गर्न आफ्नो जीवन परिवर्तन गरेका छन्‌। (रोमी १२:२; प्रकाश ७:९) प्रारम्भिक मसीहीहरू जस्तै तिनीहरू पनि आफूले देखेका र सुनेका कुराहरूबारे नबोली रहनै सक्दैनन्‌। (प्रेरित ४:२०) साठी लाखभन्दा बढी मानिसहरूले आज परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्दैछन्‌ र यसअघि यति धेरै मानिसहरूले यो काम कहिल्यै पनि गरेका थिएनन्‌। के तपाईं पनि यो काम गर्दै हुनुहुन्छ? परमेश्‍वरका जनहरूको आध्यात्मिक संवृद्धिले यहोवाको आशिष्‌ र सुरक्षाको चित्तबुझ्दो प्रमाण दिन्छ। हामी विरुद्ध सक्रिय प्रभावशाली शक्‍तिहरूलाई विचार गर्दा हामीमाथि यहोवाको आत्मा छ भन्‍ने कुरा अझ बढी प्रमाणित हुन्छ। हामी किन त्यसो भन्‍न सक्छौं, अब हेरौं।

परमेश्‍वरका जनहरूलाई चूप लगाउन सकिनेछैन

६. यहोवाको पक्षमा अडान लिन विश्‍वास र साहस किन चाहिन्छ?

मानिलिनुहोस्‌, एउटा कुख्यात अपराधी विरुद्ध बयान दिन तपाईंलाई अदालतमा बोलाइयो। त्यस अपराधीको बलियो संगठन छ र त्यसका कर्तुतहरू उदाङ्‌ग पार्नदेखि तपाईंलाई रोक्न त्यसले भएभरको उपाय लगाउनेछ भनेर तपाईंलाई थाह छ। यस्तो अपराधी विरुद्ध साक्षी दिन तपाईं साहसी हुनुपर्छ अनि अधिकारीहरूले तपाईंलाई त्यस अपराधीबाट सुरक्षा प्रदान गर्नेछन्‌ भन्‍ने कुरामा पनि विश्‍वस्त हुनुपर्छ। हामी पनि यस्तै अवस्थामा छौं। यहोवा र उहाँका उद्देश्‍यहरूबारे साक्षी दिंदा हामीले शैतान अर्थात्‌ दियाबल विरुद्ध बयान दिन्छौं, त्यो सारा संसारलाई ठग्ने हत्यारा र ठगाहा हो भन्‍ने कुरा पर्दाफास गर्छौं। (यूहन्‍ना ८:४४; प्रकाश १२:९) यहोवाको पक्षमा अडान लिन र शैतानको विरुद्धमा खडा हुन तपाईंलाई विश्‍वास र साहस दुवै चाहिन्छ।

७. शैतान कत्तिको प्रभावशाली छ र त्यसले के गर्न खोज्छ?

निस्सन्देह, यहोवा सर्वोच्च हुनुहुन्छ। उहाँ शैतानभन्दा कता हो कता शक्‍तिशाली हुनुहुन्छ। यहोवा सक्षम मात्र होइन तर वफादारपूर्वक उहाँको सेवा गर्दा हामीलाई बचाउन इच्छुक पनि हुनुहुन्छ भनेर हामी पक्का हुन सक्छौं। (२ इतिहास १६:९) शैतान प्रेतहरूको र परमेश्‍वरबाट टाढिएको मानव संसारको शासक हो। (मत्ती १२:२४, २६; यूहन्‍ना १४:३०) पृथ्वीको आसपासमा मात्र सीमित भएको र “ठूलो क्रोध[ले]” चूर भएको शैतानले यहोवाका सेवकहरूको कडा विरोध गर्छ अनि सुसमाचार प्रचार गर्नेहरू सबैको मुख थुन्‍न आफ्नो अधीनमा रहेको संसारलाई चलाउँछ। (प्रकाश १२:७-९, १२, १७) त्यसले कसरी यसो गर्छ? कम्तीमा पनि तीनवटा तरिकामा।

८, ९. शैतानले कसरी गलत प्रकारको प्रेम चलाउँछ र संगत छान्दा हामी किन होसियार हुनुपर्छ?

शैतानले हामीलाई अलमल्याउन खोज्ने एउटा तरिका जीवनका फिक्रीहरूद्वारा हो। आखिरी दिनका मानिसहरू पैसालाई प्रेम गर्छन्‌, आफैलाई मात्र प्रेम गर्छन्‌ र सुखविलास प्रेम गर्छन्‌। तिनीहरू परमेश्‍वरलाई प्रेम गर्दैनन्‌। (२ तिमोथी ३:१-४) प्रायजसो मानिसहरू जीवनका दैनिक क्रियाकलापहरूमा व्यस्त हुन्छन्‌ र हामीले सुनाउने सुसमाचारको वास्तै गर्दैनन्‌। तिनीहरूमा बाइबल सच्चाइ सिक्ने कुनै चासो छैन। (मत्ती २४:३७-३९) यस्तो मनोवृत्तिले हामीलाई सजिलै असर गर्न र आध्यात्मिक भावशून्यताको निद्रातर्फ डोऱ्‍याउन सक्छ। हामीले भौतिक कुराहरू र जीवनका सुखविलासहरूप्रतिको प्रेम खेती गऱ्‍यौं भने परमेश्‍वरप्रतिको हाम्रो प्रेम सेलाउनेछ।—मत्ती २४:१२.

यसैकारण, आफूले संगत गर्ने व्यक्‍तिहरू छान्दा मसीहीहरू होसियार हुन्छन्‌। “बुद्धिमानीहरूको संगत गर्नाले बुद्धिमान होइन्छ, मूर्खहरूसित लागे बरालिन्छ” भनी राजा सुलेमानले लेखे। (हितोपदेश १३:२०) परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्ने व्यक्‍तिहरूसित हामी ‘संगत’ गरौं। यसो गर्नु कत्ति रमाइलो कुरा हो! हाम्रा सभाहरूमा तथा अरू समयमा हाम्रा आध्यात्मिक भाइबहिनीहरूसित भेला हुँदा तिनीहरूको प्रेम, तिनीहरूको विश्‍वास, तिनीहरूको आनन्द र तिनीहरूको बुद्धिबाट हामी प्रोत्साहन पाउँछौं। यस्तो स्वास्थ्यकर संगतिले सेवकाईमा लागिरहने हाम्रो कटिबद्धतालाई अझ बलियो बनाउँछ।

१०. परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नेहरू विरुद्ध शैतानले कसरी खिसी गरेको छ?

१० परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्नदेखि शैतानले सबै मसीहीहरूलाई रोक्न खोज्ने दोस्रो तरिका खिसी हो। यस्तो दाउपेच चलाउँदा हामी छक्क पर्नु पर्दैन। येशू ख्रीष्टको पार्थिव सेवकाईको दौडान उहाँलाई खिसी गरियो, हाँसोमा उडाइयो, नाक चेप्य्राइयो, गिल्ला गरियो, निर्लज्ज व्यवहार गरियो र थुकियो समेत। (मर्कूस ५:४०; लूका १६:१४; १८:३२) प्रारम्भिक मसीहीहरू पनि खिसीको पात्र भएका थिए। (प्रेरित २:१३; १७:३२) यहोवाको अहिलेका सेवकहरूले पनि यस्तै दुर्व्यवहार भोग्छन्‌। प्रेरित पत्रुसका अनुसार तिनीहरूलाई “झूटा अगमवक्‍ताहरू” भन्‍ने नाउँ दिइने थियो। पत्रुसले यस्तो भविष्यवाणी गरे: “पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने . . . सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’ ” (२ पत्रुस ३:३, ४) परमेश्‍वरका जनहरूलाई अव्यावहारिक मानिसहरू भनेर खिसी गरिन्छ। बाइबलका नैतिक स्तरहरूलाई पुरानो जमानाको ठानिन्छ। थुप्रै व्यक्‍तिहरूको लागि हामीले प्रचार गर्ने सन्देश मूर्खता हो। (१ कोरिन्थी १:१८, १९) मसीहीहरू भएको कारण हामीले स्कूलमा, काम गर्ने ठाउँमा र कहिलेकाहीं त परिवारभित्रै समेत खिसीको सामना गर्न सक्छौं। परमेश्‍वरको वचन सत्य हो भन्‍ने कुरा थाह भएकोले गर्दा येशूजस्तै हामी पनि ढलपल नभईकन हाम्रो प्रचारकार्यद्वारा परमेश्‍वरको महिमा प्रतिबिम्बित गरिरहन्छौं।—यूहन्‍ना १७:१७.

११. मसीहीहरूलाई चूप लगाउने कोसिस गर्न शैतानले कसरी सतावटलाई चलाएको छ?

११ हामीलाई चूप गराउने प्रयासमा दियाबलले चलाउने तेस्रो कर्तुत विरोध वा सतावट हो। येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नुभयो: “तिनीहरूले तिमीहरूलाई घोर शासनाको लागि सुम्पिदिनेछन्‌, र तिमीहरूलाई मार्नेछन्‌, औ मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।” (मत्ती २४:९) वास्तवमा, यहोवाका साक्षीहरूको रूपमा पृथ्वीका थुप्रै भागहरूमा हामीले कठोर सतावट भोगेका छौं। परमेश्‍वरको सेवा गर्नेहरू र शैतान अर्थात्‌ दियाबलको सेवा गर्नेहरूबीच घृणा वा शत्रुता विकास हुनेछ भनी यहोवाले धेरै अघि भविष्यवाणी गरिसक्नुभएको थियो भनेर हामीलाई थाह छ। (उत्पत्ति ३:१५) परीक्षासामु निष्ठा कायम गर्दा हामीले यहोवाको विश्‍वव्यापी सार्वभौमिकताको औचित्य प्रमाणित गर्छौं भनेर पनि हामीलाई थाह छ। यो कुरा थाह पाउँदा असाध्यै कठिन परिस्थितिहरूमा समेत हामीलाई बलियो बनाउन सक्छ। परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्न हामी कटिबद्ध रह्‍यौं भने कुनै पनि सतावटले हामीलाई सधैंको लागि चूप गराउनेछैन।

१२. शैतानको विरोधसामु विश्‍वासी रहँदा हामी किन रमाउनुपर्छ?

१२ के तपाईं संसारको आकर्षणलाई तिरस्कार गरेर खिसी र विरोधको बावजुद विश्‍वासी साबित हुनुहुन्छ? त्यसो हो भने तपाईं रमाउनुहोस्‌। आफ्नो पछि लाग्नेहरूलाई येशूले यस्तो आश्‍वासन दिनुभयो: “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्‌, र खेदो गर्नेछन्‌, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरुद्धमा बोल्नेछन्‌। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्‍ताहरूलाई तिनीहरूले खेदो गरेथे।” (मत्ती ५:११, १२) तपाईंको धीरजले यहोवाको शक्‍तिशाली पवित्र आत्मा तपाईंमाथि छ भन्‍ने प्रमाण दिन्छ र उहाँको महिमा प्रतिबिम्बित गर्न तपाईंलाई बलियो बनाउँछ।—२ कोरिन्थी १२:९.

धीरज यहोवाबाट आउँछ

१३. हामीले आफ्नो मसीही सेवकाईमा धैर्य धारण गर्नुको एउटा प्रमुख कारण के हो?

१३ सेवकाईमा हामीले धैर्य धारण गर्नुको एउटा प्रमुख कारण हो, हामी यहोवालाई प्रेम गर्छौं र उहाँको महिमा प्रतिबिम्बित गर्न प्रसन्‍न हुन्छौं। मानिसहरूमा आफूले प्रेम गर्ने र आदर गर्ने व्यक्‍तिको अनुकरण गर्ने झुकाव हुन्छ अनि यहोवा जत्तिको अनुकरण गर्न योग्य व्यक्‍ति अरू कोही छैन। उहाँको ठूलो प्रेमको कारण सत्यको गवाही दिन र आज्ञाकारी मानिसहरूलाई छुटकारा दिन उहाँले आफ्नो पुत्रलाई यस पृथ्वीमा पठाउनुभयो। (यूहन्‍ना ३:१६; १८:३७, NRV) परमेश्‍वरजस्तै हामी पनि सबै मानिसहरूले पश्‍चात्ताप गरून्‌ र उद्धार पाऊन्‌ भन्‍ने इच्छा गर्छौं; त्यसैकारण त हामी तिनीहरूलाई प्रचार गर्छौं नि! (२ पत्रुस ३:९) यस इच्छाका साथै परमेश्‍वरको अनुकरण गर्ने हाम्रो कटिबद्धताले सेवकाईमार्फत उहाँको महिमा प्रतिबिम्बित गरिरहन हामीलाई उत्प्रेरित गर्छ।

१४. हाम्रो सेवकाईमा धैर्य धारण गर्न यहोवाले हामीलाई कसरी बलियो बनाउनुहुन्छ?

१४ वास्तवमा, मसीही सेवकाईमा धैर्य धारण गर्ने शक्‍ति हामीलाई यहोवाबाटै आउँछ। उहाँको आत्मा, उहाँको संगठन र उहाँको वचन बाइबलद्वारा उहाँले हामीलाई सँभाल्नुहुन्छ र बलियो बनाउनुहुन्छ। उहाँको महिमा प्रतिबिम्बित गर्न इच्छुक व्यक्‍तिहरूलाई यहोवाले “धीरज” दिनुहुन्छ। उहाँले हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ र परीक्षाहरूको सामना गर्न बुद्धि दिनुहुन्छ। (रोमी १५:५; याकूब १:५) अझ बढी त यहोवाले हामीलाई सहनै नसक्ने परीक्षामा पर्न दिनुहुन्‍न। हामी यहोवामा भरोसा गर्छौं भने हामीले उहाँको महिमा प्रतिबिम्बित गरिरहन सकोस्‌ भनेर उहाँले हामीलाई ती परीक्षाहरूबाट उम्कने बाटो दिनुहुनेछ।—१ कोरिन्थी १०:१३.

१५. कुन कुराले हामीलाई धैर्य धारण गर्न मदत दिन्छ?

१५ हाम्रो सेवकाईमा धैर्य धारण गर्दा यसले परमेश्‍वरको आत्मा हामीमाथि छ भन्‍ने प्रमाण दिन्छ। उदाहरणका लागि: मानिलिनुहोस्‌ कसैले तपाईंलाई ढोका ढोकामा गएर खास प्रकारको भोजन निश्‍शुल्क बाँड्‌न आग्रह गऱ्‍यो। यस काममा लागेको खर्च तपाईं आफैले व्यहोर्नुपर्छ र आफ्नो दैनिक कामकुराहरूबाट समय निकाल्नुपर्छ भनेर निर्देशन दिइयो। साथै, चाँडै तपाईंले यो कुरा पनि थाह पाउनुहुन्छ कि एकदमै कम व्यक्‍तिहरूले मात्र तपाईंले बाँड्‌नुभएको भोजन लिन चाहन्छन्‌; कतिपयले त भोजन बाँड्‌ने तपाईंको यस प्रयासको विरोध समेत गर्नेछन्‌। के तपाईं यो काम महिनौं वा वर्षौंसम्म गरिरहन सक्नुहुन्छ होला? सायद सक्नुहुन्‍न। तैपनि, सुसमाचार प्रचार गर्ने काममा भने आफ्नो समय चलाएर अनि आफ्नै खर्चमा तपाईंले वर्षौं वा दशकौंसम्म कडा परिश्रम गरिरहनुभएको हुन सक्छ। किन? तपाईंले यहोवालाई प्रेम गर्नुहुने भएकोले र धैर्य धारण गर्न मदत दिएर तपाईंका प्रयत्नहरूमा उहाँको आत्माद्वारा यहोवाले आशिष्‌ दिनुभएकोले गर्दा होइन र? पक्कै हो!

बिर्सन नहुने काम

१६. हाम्रो सेवकाईमा धैर्य धारण गर्दा यसले हाम्रो लागि र हामीलाई सुन्‍नेहरूको लागि कस्तो अर्थ राख्छ?

१६ नयाँ करारसित सम्बन्धित सेवकाई एउटा अतुलनीय वरदान हो। (२ कोरिन्थी ४:७) त्यसै गरी, अरू भेडाहरूले विश्‍वभरि गरिरहेका मसीही सेवकाई एउटा बहुमूल्य सम्पत्ति हो। आफ्नो सेवकाईमा धैर्य धारण गरिरहँदा पावलले तिमोथीलाई लेखेझैं तपाईंले “आफूलाई र [तपाईंलाई] सुन्‍नेलाई समेत उद्धार” गर्न सक्नुहुन्छ। (१ तिमोथी ४:१६) यसको अर्थ के हो, विचार गर्नुहोस्‌ त। तपाईंले प्रचार गर्ने सुसमाचारले अरू मानिसहरूलाई सधैंभरि बाँच्ने मौका दिन्छ। तपाईंले जसलाई आध्यात्मिक तवरमा मदत गर्नुहुन्छ तिनीहरूसित मित्रताको बलियो बन्धन गाँस्न सक्नुहुन्छ। परमेश्‍वरबारे सिक्न तपाईंले मदत गर्नुभएका व्यक्‍तिहरूसित सधैंभरि प्रमोदवनमा बाँच्न पाउनु कत्ति ठूलो आनन्दको कुरा हुनेछ, कल्पना गर्नुहोस्‌ त! तिनीहरूलाई मदत दिन तपाईंले गर्नुभएको प्रयत्न पक्कै पनि तिनीहरूले कहिल्यै बिर्सनेछैनन्‌। सन्तुष्ट हुन सक्ने कत्ति ठूलो कारण!

१७. हाम्रो समय किन मानव इतिहासको एउटा असाधारण समय हो?

१७ तपाईं मानव इतिहासको एउटा विशेष समयमा बाँचिरहनुभएको छ। परमेश्‍वरबाट टाढिएको संसारमा फेरि कहिल्यै सुसमाचार प्रचार गरिने छैन। नूह यस्तै संसारमा थिए र तिनले त्यो बितेर गएको देखे। जहाज बनाउने परमेश्‍वरको इच्छा आफूले विश्‍वासीपूर्वक पूरा गरेको थाह पाउँदा तिनी पक्कै आनन्दित भएको हुनुपर्छ अनि यसको कारण तिनी र तिनको परिवार जोगिए। (हिब्रू ११:७) तपाईं पनि यस्तै आनन्द प्राप्त गर्न सक्नुहुन्छ। नयाँ संसारमा पुगेपछि, यी आखिरी दिनहरूमा तपाईंले गर्नुभएको कामलाई फर्केर हेर्दा अनि परमेश्‍वरको राज्यसम्बन्धी गतिविधिलाई अघि बढाउन तपाईंले पनि सक्दो गर्नुभयो भन्‍ने कुरा थाह पाउँदा तपाईंले कस्तो महसुस गर्नुहुनेछ होला, सोच्नुहोस्‌ त!

१८. यहोवाले आफ्ना सेवकहरूलाई कस्तो आश्‍वासन तथा प्रोत्साहन दिनुहुन्छ?

१८ त्यसैले, हामी परमेश्‍वरको महिमा प्रतिबिम्बित गरिरहौं। हामीले गरेको यो काम सधैंभरि हाम्रो सम्झनामा रहिरहनेछ। यहोवाले पनि हाम्रो काम बिर्सनुहुन्‍न। बाइबल यस्तो प्रोत्साहन दिन्छ: “तिमीहरूको काम र त्यो प्रेम, जो उहाँको नाउँतर्फ, र पवित्र जनहरूको सेवा गरेको र गर्दै रहेकोमा तिमीहरूले देखाएका छौ, सो बिर्सनलाई परमेश्‍वर अधर्मी हुनुहुन्‍न। औ तिमीहरू हरेकले पूरा आशाको निम्ति अन्तसम्मै त्यही किसिमको प्रयत्न देखाउनेछौ भन्‍ने हामी इच्छा गर्दछौं, कि तिमीहरू अल्छी मानिस होइन, तर विश्‍वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा-सिकि गर्ने होओ।”—हिब्रू ६:१०-१२.

के तपाईं बुझाउन सक्नुहुन्छ?

• मसीहीहरूले कसरी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छन्‌?

• परमेश्‍वरका जनहरूलाई चूप लगाउन शैतानले चलाउने केही कर्तुतहरू के-के हुन्‌?

• हामीमाथि परमेश्‍वरको आत्मा छ भन्‍ने के प्रमाण छ?

[प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

मोशाको अनुहारले यहोवाको महिमा प्रतिबिम्बित गऱ्‍यो

[पृष्ठ १६, १७-मा भएका चित्रहरू]

हाम्रो सेवकाईमा हामी परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छौं